Category Archives: नेपाल समाचार

आन्दोलन जारी राख्ने शिक्षक महासंघको निर्णय – Online Khabar


नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुली


४ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघले ऐन जारी गर्ने विश्वासिलो आधार सरकारले नदिएकाले आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

महासंघको आज बसेको बैठकले आन्दोलनलाई थप व्यवस्थित गर्ने निर्णय गरेको सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । ‘ऐन जारी गर्ने सुनिश्चतता खोजेका हौँ । सरकारबाट विश्वासिलो अपेक्षा राखेका थियौं तर भएन,’ उनले भनिन्, ‘आन्दोलनलाई सरकारले जिम्मेवार भएर हेरेको पाइएको छैन ।’

सरकारले १२ वैशाखमा संसदको बर्खे अधिवेशन बोलाएपनि सभामुख देबराज घिमिरेबाट फरक कुरा आएकाले महासंघ विश्वस्त हुन नसकेको हो ।

‘सभामुखले त्यस्तो अभिव्यक्ति दिनु भएको छ । यो अधिवेशनमा शिक्षा विधेयक टेबल गर्न नसकिने कुरा आयो,’ पराजुलीले भनिन्, ‘१२ गते वर्षे अधिवेशन बोलाउनु भयो । ६–७ गते नै बोलाउन सकिन्थ्यो । यसले सरकार जिम्मेवार नभएको देखाउँछ ।’

शिक्षक कर्मचारीको सेवा सुविधाको विषय मन्त्रिपरिद्बाट निर्णय गराउने भनेपनि सरकारले सर्त राखेकाले सहमत हुन नसकेको उनले बताइन् ।

‘क्याबिनेटले गर्ने निर्णयमा मन्त्रालय तयार भएको हो । तर सर्त राखियो । निर्सत हुनुपर्छ । मन्त्रिपरिषद्ले गर्ने निर्णय गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न सकिन्छ,’ सहअध्यक्ष पराजुलीले भनिन्, ‘मन्त्रिपरिषद्ले गर्ने निर्णयमा सर्त होइन निसर्त हुनुपर्‍यो ।’

आन्दोलन छोडे मात्र मन्त्रिपरिषद्बाट निर्णय गराउने सर्त मन्त्रालयले राखेको गुनासो शिक्षकहरूको छ ।

‘सरकारले रित्तै घर फर्काउन खोजेको छ । अब झन् ७७ जिल्लाबाट शिक्षकहरू काठमाडौं आउनुहुन्छ । विद्यालयमा कोही पनि रहनु हुन्न । सरकारले थाम्न सक्दैन,’ उनले भनिन् ।

शिक्षकहरूले काठमाडौंमा आन्दोलन थालेको १६ दिन बित्यो तर सहमति हुन सकेको छैन ।





Source link

फर्कने भए अन्तरिक्षमा अड्किएका वैज्ञानिक


नयाँ अन्तरिक्ष यात्री टोली बोकेर स्पेसएक्सको रकेट क्याप्सुल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा पुगेको छ। अब लामो समयसम्म अन्तरीक्षमा अड्किएका दुई जना वैज्ञानिक बुच विल्मोर र सुनिता विलियम्सलाई घर फर्कन सजिलो हुने भएको छ। उनीहरू जम्माजम्मी आठ दिनका लागि आइएसएसमा बस्ने गरी पुगेका थिए तर उनीहरूलाई फर्काउने अन्तरिक्षयानमा आएको प्राविधिक समस्याका कारण उनीहरू त्यहाँ नौ महिनाभन्दा बढी समय बस्नुपर्‍यो।

अन्तरिक्ष यात्रीहरू यस हप्ताको अन्त्यतिर पृथ्वीमा फर्कने तयारी गर्दै छन्। नासाको कमर्सियल क्रू प्रोग्रामका व्यवस्थापक स्टिभ स्टिचले उनीहरू फर्कने निधो भएपछि खुशी व्यक्त गरेका छन्। उनले भने, ‘बुच र सुनिताले उत्कृष्ट काम गरे। हामी उनीहरूलाई घर फर्काउन निकै उत्साहित छौं।’ बुच र सुनितालाई फर्काउन पुगेको स्पेसएक्सको रकेट ड्रयागनको प्रत्यक्ष प्रशारण गरिएको थियो। नयाँ साथीहरू पुगेकामा आइएसएसका अन्य वैज्ञानिक खुशी देखिएका थिए भने एकअर्कासँग अँगालो मारेका थिए।

आइएसएसमा कार्यरत् नासाका निक हेग र रोसकोस्मोसका अन्तरिक्ष यात्री अलेक्जान्डर गोर्बुनोभसँगै उनीहरूलाई रुस, जापान र अमेरिकाका दुई नयाँ अन्तरिक्ष यात्रीहरूले प्रतिस्थापन गर्नेछन्। दुई दिनको हस्तान्तरण प्रक्रियापछि पुराना टोली पृथ्वी फर्कने बताइएको छ। आइएसएसकी कार्यक्रमकी व्यवस्थापक डाना वेइगेलले भने मौसमको अवस्था अनुकूल नदेखिएकाले उनीहरू पृथ्वीमा फर्कन केही ढिलाइ हुन सक्ने बताएकी छन्। अन्तरिक्ष यात्रीहरूले आइएसएसमा बसेर खुशी भएको बताइरहेका छन्। सुनिता विलियम्सले यसलाई ‘खुसीको ठाउँ’ भनेकी छन् तर ओपन युनिभर्सिटीका डा. सिमोन बार्बरका अनुसार यो लामो बसाइले उनलाई व्यक्तिगत रूपमा असर पार्न सक्थ्यो।

‘जब तपाईंलाई एक हप्ताको लागि काममा पठाइन्छ तर त्यो करिब एक वर्षसम्म लम्बिन्छ भने त्यो निकै अप्रत्याशित हुन्छ,’ उनले भने, ‘यस्तो लामो बसाइले पारिवारिक जीवन अव्यवस्थित बनाएको हुन सक्छ।’ उनीहरूलाई चाँडै पृथ्वीमा फर्काउने तयारी गरिरहेका रकेटमा अनेक समस्या देखिएपछि उनीहरू फर्कने समय लम्बिँदै गरेको थियो। नासाले कुनै जोखिम लिन नचाहँदा बुच र सुनितालाई स्टारलाइनरबाट नभई स्पेसएक्सको ड्रयागन क्याप्सुलबाट फर्काउने निर्णय गरिएको हो।
प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ४ चैत्र २०८१ ०९:३४ सोमबार





Source link

संसद्‌मा नीति तथा कार्यक्रमपछि प्रि–बजेट छलफलको तयारी


फाइल तस्वीर


४ वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) छलफल अगाडि संसद्‌मा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

संघीय संसदको बर्खे अधिवेशन यही वैशाख १२ गतेबाट सुरु हुँदैछ । अधिवेशन सुरु भएपछि सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको हो ।

नीति तथा कार्यक्रम संयुक्त सभामा प्रस्तुत हुन्छ । नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्छन । नीति तथा कार्यक्रम कहिले ल्याउने भनेर सरकारले निर्णय गर्छ । सरकारको निर्णय अनुसार राष्ट्रपतिले संसद्मा उपस्थित भएर सरकारको नीति तथा कार्यक्रम वाचन गर्छन् ।

नीति तथा कार्यक्रम ल्याएर त्यसमाथि छलफल गरेर पास गरेपछि संसदमा प्रिबजेट छलफल गर्ने गरी प्रतिनिधि सभाको क्यालेन्डर बनाउने तयारी छ । सरकारले नै नीति तथा कार्यक्रम पहिले ल्याउने भनेपछि सोही अनुसार प्रतिनिधि सभाको क्यालेन्डर बनाउन लागिएको हो ।

२० गते नीति तथा कार्यक्रम ल्याउने तयारी रहेको एक सांसदले बताए । उनका अनुसार यसको केही दिन अगाडि ल्याउने कि भन्ने पनि छलफल छ ।

प्रतिनिधि सभाको क्यालेन्डरबारे कार्यव्यवस्था परामर्श समितिले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग समेत छलफल गर्दैछ । सभामुख र उपसभामुख सहितको उपस्थितिमा हुने उक्त छलफलले प्रतिनिधि सभाको क्यालेन्डर तयार पार्नेछ ।

अधिकारीहरूका अनुसार संसदमा प्रि बजेट छलफल तीन दिन देखि पाँच दिनसम्म वा बढीमा सात दिन सम्म हुने गरी कार्यक्रम तय गरिँदैछ । यी लगायतका कार्य वैशाख महिनाभर सक्नुपर्छ । किनभने बजेट आउनु भन्दा १५ दिन अगाडि प्रि बजेट छलफल गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

सामान्यतः प्रिबजेटपछि नीति तथा कार्यक्रम ल्याउने अभ्यास छ । तर, यस्तो अभ्यासमा विगतमा तोडिएको पनि छ ।

संसद सचिवालयको अभिलेखअनुसार तत्कालीन सरकारले आर्थिक वर्ष २०७६/२०७७ मा प्रि बजेट छलफल पहिले चलाउने अभ्यास तोडेको हो ।

त्यसबेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री थिए । अर्थमन्त्रीमा युवराज खतिवडा थिए ।

त्यसबेला २०७६ बैशाख २० गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएको थियो । वैशाख २७ गते प्रि–बजेट छलफल सुरु भएको थियो ।

यस्तो अभ्यासलाई कानुन नै बदलेर अघिल्लो सरकारले प्रिबजेट छलफल पहिले गर्ने नीति अवलम्बन गर्‍यो ।

तत्कालीन सरकारले आर्थिक वर्ष २०८१/८२ मा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश ल्याएर बजेट ल्याउनुभन्दा तीन महिना अघि संसदमा प्रि–बजेट छलफल गरिसक्नुपर्ने व्यवस्था लागू गर्‍यो ।

सामान्यतः प्रिबजेटपछि नीति तथा कार्यक्रम ल्याउने अभ्यास छ । तर, यस्तो अभ्यासमा विगतमा तोडिएको पनि छ ।

यसअनुसार तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले फागुन १५ गते प्रि–बजेट प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७९/८० मा जेठ १ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा वैशाख २४ गते प्रि–बजेट र जेठ ५ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएको थियो ।

हाल तीन महिना अघि संसदमा प्रिबजेट छलफल गर्ने व्यवस्था बदलिसकेको छ । यस्तो व्यवस्थालाई संशोधन गरेर वर्तमान सरकारले बजेट आउनुभन्दा १५ दिन अघि मात्रै संसदमा प्रि–बजेट प्रस्तुत गरे हुने व्यवस्था कायम गरेको छ ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था संविधानमै छ । बजेट आउनु भन्दा १५ दिन अगाडि प्रि बजेट छलफल गरिसक्नुपर्ने व्यवस्था आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनमा छ ।

१५ दन अगाडि प्रि बजेट छलफल हुने गरी पुरानै व्यवस्था ब्युताउने गरी यो ऐन संघीय संसदको अघिल्लो अधिवेशनले बनाएको हो ।

यसअनुसार यसवर्ष प्रिबजेट छलफल वैशाख अन्तिमतिर केही दिन हुने गरी प्रतिनिधि सभाको क्यालेन्डर बनाउन लागिएको हो ।





Source link

सुनिता र बुचको अन्तरिक्षयात्राले हामीलाई के सिकायो?


आठ दिनका लागि मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) पुगेका बुच विल्मोर र सुनिता विलियम्सको यात्रा करिब नौ महिनासम्म तन्कियो। लामो रस्साकस्सी र मिहिनेतपछि अन्ततः उनीहरू दुई जनासँगै अन्य दुई सदस्यहरू निक हेग र रुसी कस्मोनट एलेक्सान्द्र गोर्बुनोभ पनि अमेरिकाको फ्लोरिडास्थित समुद्रमा अवतरण गरे।

२०२४ जुन ५ मा बुच र सुनिता बोइङको नयाँ स्टारलाइनर अन्तरिक्षयानबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) पुगेका थिए। यो यात्रा जम्माजम्मी एक हप्ते भनिए पनि उनीहरूलाई पृथ्वीमा फर्काउने स्टारलाइनर रकेटमा इन्धन शक्ति दिने यन्त्र (थ्रस्टर) मा समस्या देखिएपछि फिर्ती लम्बिन पुगेको थियो।

यति मात्र होइन, उक्त रकेटमा इन्धनका रूपमा हिलियम चुहिएका कारण बुच र सुनिताको पृथ्वी फर्कने यात्रा अनिश्चित बनाएको थियो। रकेटमा जुन इन्धन प्रयोग हुन्छ, त्यो हिलियम ग्यासका रूपमा हुन्छ। त्यो ग्यास चुहिएको देखिएपछि थ्रस्टर बन्द गरियो। रकेटमा २८ वटा थ्रस्टर थिए। हिलियम चुहावटपछि ६ वटा थ्रस्टर बन्द गर्नुपरेको थियो। पछि अन्य दुई ठाउँमा पनि हिलियम चुहावट भएको पाइएको थियो।

सुनिताले यसअघि पनि दुई पटक अन्तरिक्षको यात्रा गरिसकेकी थिइन्। सन् २००६ र २०१२ मा पनि उनले अन्तरिक्ष यात्रा गरेकी थिइन्। पहिलो यात्रामा उनले ६ महिना १३ दिन बिताएकी थिइन् भने सन् २०१२ मा चार महिना पाँच दिन बिताएकी थिइन्।

त्यसैले पनि उनको यो यात्रा लम्बिएको भए पनि उनी त्यति धेरै आत्तिएकी थिइनन्। त्यसो त उनीसँगै अन्य अन्तरिक्षयात्रुहरू पनि आत्तिएका थिएनन्। उनीहरू मानसिक र शारीरिक रूपमा त्यसैका लागि तयार पारिएर पठाइएका हुन्छन्। उनीहरू त्यहाँ अड्किनुमा स्टारलाइनरको समस्या समाधान हुन नसक्नु मुख्य कारण थियो। त्यसपछि स्टारलाइनरलाई बिनाचालकदल नै पृथ्वीमा फिर्ता पठाइयो। यसपछि उनीहरूको फिर्ती अनिश्चित भएपछि एक दिन पनि नबिराई अन्य प्रयोगमा सुनिता र बुचले आफूलाई व्यस्त बनाउन थाले। पछि उनीहरूलाई स्पेस एक्सको क्र्यु ड्रागन विमानमार्फत पृथ्वीमा फिर्ता ल्याइएको थियो।

लामो समयसम्म अन्तरिक्षमा बिताउँदा विभिन्न किसिमका भावनात्मक समस्या देखिने अध्ययनहरूले देखाएको छ। उनीहरू यहाँ फर्किएपछि यहाँको वातावरणमा पुनः समायोजन हुन पनि निकै गाह्रो हुन्छ। अन्तरिक्षमा लामो समय बिताउँदा मानव शरीरले पृथ्वीको गुरुत्वाकर्षण, सूर्यको प्रकाश, ताजा हावा र परिवारसँगको दूरीका कारण विभिन्न शारीरिक तथा मानसिक समस्याहरू झेल्नुपर्ने उनीहरूले बुझेकै थिए।

यस्तो परिस्थितिमा खगोलयात्रीहरूले पृथ्वी र अन्तरिक्षको बीचको दुई भिन्दाभिन्दै अनुभवको प्रभाव महसुस गर्ने गर्छन्। त्यसले विभिन्न मानसिक तथा शारीरिक समस्याहरू ल्याउँछन् भन्ने विभिन्न अनुसन्धानले देखाएका छन्।

सन् १९६५ मा जेमिनी सातौं यानमा दुई हप्ता पृथ्वीको परिक्रमा गरेका जिम लेभल पृथ्वीमा फर्किएपछि केही दिन त उनलाई खाना खाइसकेपछि चम्चा सही ठाउँमा राख्नै सक्तैनथे। उनले टेबुलमा चम्चा राख्दा एक फिट माथिबाट नै छाडिदिन्थे। चम्चा ढुनमुनिँदै जमिनमा खस्थ्यो। उनी अन्तरिक्षमै छु भन्ने भ्रमका कारण शून्य गुरुत्वमा सामानहरूलाई यत्तिकै छाड्न अभ्यस्त भएका थिए।

पृथ्वीमा फर्किएपछि खगोलशास्त्रीहरूलाई गुरुत्वाकर्षणसँग तालमेल मिलाउनु ज्यादै कठिन हुने गरेको छ। तालमेल मिलाउनका लागि दैनिक व्यायामको प्रमुख भूमिका रहने गरेको यसमा संलग्न वैज्ञानिकहरूको अनुभव छ। शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि पृथ्वीमा फर्किंदा अनेकन् समस्या देखिने गरेका छन्। तर एउटा वैज्ञानिकको जीवन अन्तरिक्षमा भन्दा पनि पृथ्वीमा नै बढी हुने हुनाले उनीहरूमा देखिएका अनेक समस्या क्रमशः सामान्य हुँदै जाने र त्यसका लागि अनेक मनोवैज्ञानिक उपचारहरू समेत गरिने बताइन्छ।

सुनिताको जीवनमा अहिलेको यात्रा इतिहासकै सबैभन्दा छैटौं लामो यात्रा हो। लामो समयसम्म अन्तरिक्षमा रहँदा पनि उनीहरूमा कुनै पनि गम्भीर किसिमको मानसिक तथा शारीरिक समस्या नदेखिएको नासाले जनाएको छ तर लामो समयसम्म अन्तरिक्षमा बस्नेहरूबीच कैयौं समस्या देखिने अमेरिकाको बेलर कलेजस्थित सेन्टर फर स्पेस मेडिसिनकी प्राध्यापक रिहाना बोखारीको भनाइ छ।

आइएसएसको मिसन सामान्यतः ६ महिनाको हुन्छ तर केही अन्तरिक्षयात्रीहरू त्यहाँ एक वर्ष र त्योभन्दा पनि बढी अवधिसम्म बस्नुपर्ने समस्या हुनसक्छ। त्यसका लागि अन्तरिक्ष यात्रीहरूले आफ्नो शारीरिक र मानसिक स्वास्थ्य चुस्त राख्नका लागि विभिन्न कसरत र अभ्यासहरू गरिरहनुपर्छ।

वैज्ञानिकहरूका अनुसार अन्तरिक्षमा दुई घण्टा विभिन्न किसिमका कसरत र अभ्यास गर्दा उनीहरूको स्वास्थ्य चुस्त हुने बोखारीको भनाइ छ। यसको अर्थ अन्तरिक्षयात्रीको शरीरमा केही फरक नपर्ने होइन। केही हाडको मात्रामा थोरै फरक देखिने, कसैको हड्डीको आकार बढ्ने, मासुको आकार घट्नेजस्ता समस्या पनि देखिन्छन्।

अन्तरिक्षमा लामो समय बस्नेहरूलाई पिसाबमा क्याल्सियमको स्तर बढ्छ। यसले पत्थरी हुने सम्भावना पनि बढ्छ। अन्तरिक्षमा परावैजनी किरण बढी हुन्छ। त्यसका अतिरिक्त शरीरलाई हानि पुर्‍याउने रेडिएसनको मात्रा पनि ज्यादै बढी हुन्छ। अधिकांश अन्तरिक्षयात्रीहरूमा यिनै रेडिएसनका कारण क्यान्सरको जोखिम अन्यको तुलनामा बढी हुने देखिएको छ। अहिले उनीहरूमा क्यान्सरको जोखिमलाई तीन प्रतिशतभन्दा कम बनाउनेतर्फ नासाले काम गरिरहेको छ। भविष्यमा हुने चन्द्रयात्रा र मंगलयात्राका बेला यस्ता समस्या अहिलेको तुलनामा अझ बढी देखिने एस्ट्रोफिजिसिस्ट जिगफ्रिड इग्लको भनाइ छ।

यसैगरी शरीरका अंगहरूमा गुरुत्वाकर्षणको निरन्तर तनाव र खिँचाव भएन भने मांसपेशी र हड्डीको मात्रा छिटो घट्न थाल्छ। भनाइको अर्थ, हड्डी र मांसपेशीहरू सुक्न थाल्छ। सुके भने ढाड, घाँटी र क्वाड्रिसेप्समार्फत् गरिने काम गर्न असहज हुन थाल्छ। तीनदेखि ६ महिनासम्म अन्तरिक्षमा बस्नेहरूको हड्डी र मासु २० देखि ३० प्रतिशतसम्म घट्न थाल्छ। सुरुवाती चरणमा मान्छेको शरीरबाट चाँडो चाँडो मासु घट्ने गर्छ र पछि त्यो घट्ने क्रम अलि कम हुन्छ।

यसैगरी, अन्तरिक्ष यात्रीहरूले पृथ्वीको गुरुत्वाकर्षणमा हुने जस्तो यान्त्रिक तनाव हड्डीहरूमा हुँदैन। यसले हड्डीमा पाइने खनिज तत्त्वहरू क्रमशः घट्दै जान थाल्छ। यसले मान्छेको उभिने र अन्य काम गर्ने शक्ति गुमाउन थाल्छ। एउटा अध्ययनअनुसार अन्तरिक्षमा बिताएको हरेक महिनामा उनीहरूको हड्डीको मात्राको एकदुई प्रतिशतसम्म गुमाउन सक्छन्। ६ महिनाको अवधिमा १० प्रतिशतसम्म गुमाउन सक्छन्। पृथ्वीमा भने हाडको गुम्ने दर वृद्धवृद्धाहरूमा हरेक वर्ष ०.५ देखि एक प्रतिशतको दरमा गुम्ने गर्छ।

त्यसैले पनि कुनै अन्तरिक्षयात्रु पृथ्वीमा झर्‍यो भने र ऊ तत्काल हिँड्ने जिद्दी गर्न थाल्यो भने एक त ऊ हिँड्न अक्षम हुन्छ। हिँड्ने प्रयास नै गर्‍यो भने पनि उसको हड्डी भाँचिने जोखिम हुन्छ। त्यसैले उसलाई एउटा सानो बच्चालाई जस्तो गोडा नटेकाई ह्विल चेयरमा राखिन्छ।

अन्तरिक्षमा लामो समय बस्ने वैज्ञानिकहरू पृथ्वीमा फर्किएपछि हड्डीको मात्रा सामान्य हुन चार वर्षसम्म लाग्ने देखिएको छ। त्यसैले पनि शारीरिक कमजोरी हुन दिन अन्तरिक्ष यात्रीहरूले आइएसएसमा प्रतिदिन अढाई घण्टा व्यायाम र गहन प्रशिक्षण गर्छन्। हड्डीलाई यथासम्भव स्वस्थ राख्न मद्दत गर्न आहार र औषधीहरू पनि खाने गरिन्छ।

आइएसएसमा लामो समय बिताउँदा त्यहाँका वैज्ञानिकको ढाडको हड्डी अलिकति लामो हुने देखिएको छ। त्यसरी हड्डी लामो भएका वैज्ञानिकहरू अलि अग्लो पनि देखिन्छन्। यसले अन्तरिक्षयात्रुमा ढाड दुख्ने समस्या हुन्छ भने पृथ्वीमा फर्किएपछि स्लिप डिस्क जस्ता समस्याहरू हुन्छन्।

स्लिप डिस्कका कारण ढाडका नसामा दबाब बढ्छ र ढाड, खुट्टा, हात दुख्न थाल्छ। त्यस्तै कमजोरी र हातगोडा झम्झमाउने समस्या पनि देखिन्छ। यसैगरी अन्तरिक्षमा लामो समय बिताउने वैज्ञानिकहरूको वजन निकै घट्ने देखिएको छ। त्यसो त अन्तरिक्षमा कसको तौल कति छ भन्ने कुराको उति धेरै चासो हुँदैन।

माइक्रोग्राभिटीको वातावरणले आइएसएसमा रहँदा बस्दा नगाँसिएको वा नटाँगिएको कुनै पनि चीज स्वतन्त्र रूपमा तैरन सक्छ। मान्छे पनि तैरिन्छ। यस्तो बेलामा कक्षमा स्वस्थ तौल वा मान्छेको वजनलाई पहिलेकै अवस्थामा कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ। त्यसो त नासाले आइएसएसका वैज्ञानिकहरूका लागि पौष्टिक खानाको विविधतापूर्ण श्रृंखला तयार पारेको छ।

खान्कीमा हालै आइएसएसमा उमारिएका केही सागपातहरू पनि समावेश गरिएका छन्। तर यस्ता सलादले अन्तरिक्ष यात्रीको शरीरलाई असर गर्न सक्छ। नासा अन्तरिक्ष यात्री स्कट केलीले आइएसएसमा तीन सय ४० दिन बिताउँदा उनको वजन ७ प्रतिशतले घटेको थियो।  

मूलतः गुरुत्वशून्यताको अवस्थामा शरीरका तरल पदार्थहरू सर्दै टाउको माथि पुग्ने गर्छन्। रगत र अन्य तरल पदार्थहरू टाउकोमा नै थुप्रिने समस्या (फ्ल्युइड सिफ्ट) हुनाले यसले आँखाको समस्या निम्त्याउने पनि देखिएको छ। खासगरी यसले आँखाको पुतलीको आकार बढाउने र एसएएनएस सिन्ड्रोम देखिने बताइन्छ।

यसले वैज्ञानिकहरूको आँखाको तीक्ष्णतालाई हानि पु¥याउने गर्छ। पृथ्वीमा, गुरुत्वाकर्षणले हाम्रो शरीरमा रगतलाई तलतिर धकेल्न मद्दत गर्छ जबकि मुटुले यसलाई फेरि माथि पम्प गर्छ। अन्तरिक्षमा भने यो प्रक्रिया गडबड हुन्छ (यद्यपि शरीरले केही अनुकूलन भने गर्छ नै)। अन्तरिक्षमा रहँदा रगत सामान्यभन्दा बढी मात्रामा टाउकोमा जम्मा हुन सक्छ।

 आवश्यकताभन्दा बढी रगत टाउकोमा पुग्दा केही रगत आँखाको पछाडि र अप्टिक नर्भ वरिपरि जम्मा हुन सक्छ। यस्तो अवस्थामा मान्छेको हेर्ने क्षमता ह्रास हुने सम्भावना देखिन्छ। खासगरी मान्छेको हेर्ने तीक्ष्णताको कमी र आँखामा संरचनात्मक परिवर्तनहरू पनि आउन सक्छ भनी वैज्ञानिकहरूले चेताएका छन्।

यी परिवर्तनहरू अन्तरिक्षमा दुई हप्तापछि सुरु हुन सक्छन् तर लामो समयसम्म बस्नेहरूमा यही कारणले उनीहरूको आँखाको समस्या बढ्न थाल्छ। पृथ्वीमा फर्किएको करिब एक वर्षभित्र प्रायः आँखाका समस्याहरू पुनःस्थापित भएको पनि छ तर कतिपय समस्याहरू स्थायी रूपमै रहिरहन सक्नेसमेत देखिएको छ।

अन्तरिक्षमा पाइने कस्मिक किरणहरू, परावैजनी किरण तथा कतिपय सौर्य कणहरूका कारण मानिसमा आँखाका विभिन्न समस्याहरू पनि देखिने गरेको छ। हामी पृथ्वीबासीलाई भने पृथ्वीको चुम्बकीय शक्ति, किरण परावर्तन गर्ने क्षमताका कारण अन्तरिक्षको दाँजोमा हामीले विविध सुरक्षा पाउँछौं तर आइएसएसमा कक्षमा भने हाम्रा लागि ती सुरक्षा हुँदैनन्। त्यसैले अन्तरिक्ष यानले अतिरिक्त विकिरणबाट बच्न विभिन्न सुरक्षा उपकरणहरू पनि सँगै लगेको हुन्छ।

आइएसएसमा रहेका अन्तरिक्ष यात्रीहरूले कस्मिक किरणहरू र सौर्य कणहरूबाट बच्न विभिन्न पहिरन, चस्मा र सुरक्षाका अन्य उपकरणहरू उपलब्ध गराइन्छन्। तर कतिपय सुरक्षा उपकरणहरूको उपयोग गर्न नजान्दा वा ती उपकरण नहुँदा यसले उनीहरूको रेटिना र अप्टिक नर्भमा क्षति पुर्‍याउने गरेको गुनासो वैज्ञानिकहरूले गर्ने गरेका छन्।

कतिपय संज्ञानात्मक प्रयोगहरू पनि नासाले गर्ने गरेको छ। यस्तो प्रयोगमा प्रायः जुम्ल्याहाहरूलाई प्रयोग गरिन्छ। एक पटक अन्तरिक्षयात्री केली र उनका भाइलाई पनि यस्तो प्रयोगमा सहभागी गराइएको थियो। केली अन्तरिक्षमा रहँदा उनको संज्ञानात्मक प्रदर्शनमा केही परिवर्तन भएको पाइयो। उता पृथ्वीमा रहेका उनका भाइको भने संज्ञानात्मक (बुद्धिमता) अपेक्षाकृत उस्तै रह्यो।

अन्तरिक्षमा केलीको संज्ञानात्मक प्रदर्शनको तीव्रता र सटिकतामा कमी देखिएको थियो। त्यस्तो कमी भने उनी पृथ्वीमा फर्किएको लगभग छ महिनासम्म जारी थियो। २०१४ मा आइएसएसमा एक सय ६० दिन बिताएका रुसी अन्तरिक्ष यात्रीको अध्ययनले पनि मस्तिष्कमा केही परिवर्तनहरू भएको देखाएको छ। जसका कारण मस्तिष्कको न्युरल कनेक्टिभिटीमा केही परिवर्तनहरू देखियो। त्यो परिवर्तनले बुझ्ने क्षमतामा समेत परिवर्तन हुने गरेको देखाएको छ।

हालैको एक अध्ययनले दीर्घकालीन अन्तरिक्ष मिसनहरूमा हुन सक्ने मस्तिष्क संरचनामा अन्य परिवर्तनहरूबारे चिन्ता गर्न थालिएको छ। मस्तिष्कमा राइट ल्याटरल र थर्ड भेन्ट्रिकल (सेरेब्रोस्पाइनल तरल भण्डारण गर्न, मस्तिष्कलाई पोषण प्रदान गर्न र फोहोर फाल्न जिम्मेवार) सुन्निने गरेको पाइएको छ। र, त्यो सामान्य अवस्थामा फर्किन तीन वर्षसम्म लाग्न सक्ने देखिएको छ।

पछिल्ला वर्षहरूमा गरिएको अनुसन्धानले के पनि देखाएको छ भने राम्रो स्वास्थ्यका लागि महŒवपूर्ण कुन्जी भनेको हाम्रो शरीरमा हुने सूक्ष्मजीवहरूको संरचना र विविधता पनि एक हो। माइक्रोबायोटा भनिने सूक्ष्मजीवीहरूले हाम्रो खाना पचाउने तरिका, हाम्रो शरीरका घाउ वा सुन्निने प्रक्रियाको र हाम्रो मस्तिष्कले कसरी काम गर्छ भन्ने कुरामा पनि असर गर्न सक्छ भनी देखाएको छ।

केलीलाई आइएसएसमा यात्रा गरेपछि जाँच गर्दा शोधकर्ताहरूले उनको आन्द्रामा पाइने ब्याक्टेरिया र फंगसमा अन्तरिक्षमा जानुअघि भन्दा निकै परिवर्तन भएको पाए। यो कुराले वैज्ञानिकहरू चकित भएनन् किनभने उनले खाने खान्की धेरै फरक हुन्छ। उनले जति दिन अन्तरिक्षमा बिताइन्, ती दिनका कारण मानिसहरूमा परिवर्तन हुन्छ नै। साथै अन्तरिक्षमा विकिरणको सम्पर्कमा रहनु पर्ने हुन्छ। पानी प्रयोग गर्दा पनि त्यो रिसाइकल गरिएको हुन्छ। यी यावत कारणले हाम्रो पेटमा रहेका असल ब्याक्टेरियाहरूको कमी हुन पुग्छ। यस्तै यसबीचमा हुने शारीरिक गतिविधिमा परिवर्तनले पनि भूमिका खेल्न सक्छ।

हालसम्म पाँच जना नासाका अन्तरिक्ष यात्रीहरूले ३०० दिनभन्दा बढी समय कक्षमा बिताएका छन्। तीमध्ये केलीमाथि गरिएको अध्ययनले अन्तरिक्षमा छालाको अवस्था कस्तो हुँदोरहेछ भन्ने देखाएको छ। उनी अन्तरिक्ष स्टेसनबाट फर्किएको लगभग छ दिनसम्म उनको छालामा संवेदनशीलता कायम थियो।

शोधकर्ताहरूको अनुमान छ, उनी अन्तरिक्षमा रहँदा छालाको कुनै एक्सरसाइज नभएका कारण छाला ज्यादै संवेदनशील भएको हुनसक्छ। अन्तरिक्षमा लामो समय रहँदा हाम्रो डिएनए र जीनमा केही फरक पर्छ भन्ने अध्ययन गर्नु पनि महत्त्वपूर्ण कुरा थियो। डिएनएको प्रत्येक स्ट्रान्डको अन्त्यमा टेलोमेयर भनिने संरचनाहरू हुन्छन्। तिनले हाम्रो जीनहरूलाई क्षतिबाट बचाउन मद्दत गर्छ भन्ने विश्वास गरिन्छ। हामी बूढो हुँदै जाँदा यी टेलोमेयरहरू छोटा हुन्छन्। तर केली र अन्य अन्तरिक्ष यात्रीहरूमा गरिएको अनुसन्धानले अन्तरिक्ष यात्राले यी टेलोमेयरहरूको लम्बाइ परिवर्तन गर्ने देखाएको छ।

‘सबैभन्दा आश्चर्यजनक कुरा त अन्तरिक्ष यात्राको समयमा टेलोमेयरहरू निकै लामो भएको पाइएको थियो,’ कोलोराडो राज्य विश्वविद्यालयमा पर्यावरणीय र रेडियोलोजिकल स्वास्थ्यका प्रोफेसर सुसान बेलीले भनिन्। उनी केली र उनका भाइको अध्ययन गर्ने टोलीको अगुवा थिइन्। उनले अन्य १० असम्बन्धित अन्तरिक्ष यात्रीहरूसँग छ महिनाको छोटो मिसनमा सहभागी भएर छुट्टै अध्ययन पनि गरेकी छिन्।

सबै चालक दल सदस्यहरूका लागि पृथ्वीमा फर्किएपछि टेलोमेयरको लम्बाइ चाँडै छोटो हुनु बडो आश्चर्यको कुरा रहेको उनी बताउँछिन्। लामो समयसम्म अन्तरिक्षमा बिताउनेहरूको डिएनएमा क्षति पुग्न थाल्ने देखिएको छ। जुन २०२४ मा पुरुष र महिला अन्तरिक्ष यात्रीहरूको प्रतिरक्षा प्रणालीले अन्तरिक्ष यात्रालाई कसरी प्रतिक्रिया जनाउँदो रहेछ भनी अध्ययन गरिएको थियो। सो अध्ययनले केही सम्भावित भिन्नताहरू देखाएको थियो।

स्पेसएक्स इन्स्पिरेसन ४ मिसनको चालक दलबाट प्राप्त नमुनाहरूबाट जिन अभिव्यक्ति डाटा प्रयोग गरेर, यसले प्रतिरक्षा प्रणाली, उमेर बढ्ने र मांसपेशी वृद्धिसँग सम्बन्धित १८ प्रोटिनहरूमा परिवर्तनहरू भएको देखिएको थियो।

विशेष गरी, शोधकर्ताहरूले इन्टरल्युकिन–६ भनिने दुई प्रोटिनहरूको जीन गतिविधि बढेको पाए। यसले शरीरका विभिन्न भागमा सुन्निएको खण्डमा त्यसको स्तर नियन्त्रण गर्न मद्दत गर्छ। इन्टरल्युकिन–८ ले संक्रमण स्थलहरूमा प्रतिरक्षा कोषहरूलाई मार्गदर्शन गर्न उत्पादन गर्छ। ती प्रोटिनले महिलाहरू भन्दा पुरुषहरूलाई बढी प्रभावित गरेको देखियो। फाइब्रिनोजेन भनिने अर्को प्रोटिनले रगत जमाउन भूमिका खेल्छ।

यसरी कसैले अन्तरिक्षयात्रा गर्नु भनेको जीवन र जगत्का अनेक पहलुबारे अध्ययन गर्नु, तिनलाई गहन छलफलमा ल्याउनु र विश्लेषण गर्दै अर्को नयाँ अनुसन्धानमा जुट्नु हो। सुनिता र बुचको यो यात्राले यसतर्फ सचेतना जगाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।

प्रकाशित: ९ चैत्र २०८१ १०:२९ शनिबार





Source link

निर्माणाधीन दाउन्ने सडक अनुगमनमा भौतिकमन्त्री, मनसुनअघि सक्न निर्देशन


४ वैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बुटवल–नारायणगढ सडकको स्थलगत निरीक्षण गरेका छन् ।

विस्तार क्रममा रहेको उक्त सडक खण्डको निरीक्षण क्रममा दाहाल सहित टोलीले दाउन्ने क्षेत्रमा जारी निर्माण कार्यबारे समेत जानकारी लिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल–नारायणगढ खण्डमा पर्ने दाउन्ने क्षेत्रको जटिल भूधरातलका कारण सवारीसाधन केही समय बन्द गराएर विस्तारको काम भइरहेको छ ।

सवारी आवागमन रोकेर काम गर्दा यात्रुले सास्ती खेप्नुपरेको गुनासो समेत आउने गरेको छ । तर, सकेसम्म कम समस्या हुने गरी समय व्यवस्थापन गरेर निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा विस्तार भइरहेको सडकको उक्त खण्डलाई प्राथमिकतासाथ निर्माणको काम अघि बढाइएको आयोजनाको भनाइ छ ।

दाउन्ने क्षेत्रको निरीक्षण क्रममा मन्त्री दाहालले सवारीसाधन तथा यात्रुलाई सकेसम्म कम समस्या हुने गरी निर्माणलाई गति दिन निर्देशन दिए । झरी पर्ने सुरु हुन लागेकाले त्यसतर्फ ध्यान दिँदै उनले वर्षायाम अघि नै निर्माण कार्य सकेर सवारी आवागमन सहज बनाउन उनको निर्देशन छ ।

सडक विस्तार तथा निर्माणको कार्य गरिरहेको एडीबी आयोजनाले उक्त जटिल सडक खण्डलाई परम्परागत भन्दा फरक शैलीबाट द्रुत र दिगो बनाउने गरी काम भइरहेको जनाएको छ ।

आयोजना निर्देशक चुडाराज ढकालले उक्त स्थानमा धरातलीय विशिष्टता र जटिलताका कारण कालोपत्र भन्दा ढलान प्रविधि उपयुक्त हुने बताए । सोही कारण त्यस खण्डमा जतिसक्दो छिटो सडक ढलान गरी सवारी आवागमन सहज बनाउने प्रयास भइरहेको उनले बताए ।





Source link

व्हाट्सएपमा अब एन्ड्रोइड प्रयोगकर्ताले पनि शेयर गर्न सक्नेछन् मोशन फोटो


इन्स्ट्यान्ट मेसेजिङ एप व्हाट्सएपले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई व्यक्तिगत च्याट, समूह र च्यानलमा ‘मोशन फोटो’ शेयर गर्न सक्ने नयाँ सुविधा ल्याउने तयारी गरिरहेको छ। 

मोशन फोटो भनेको एउटा यस्तो मिडिया ढाँचा हो, जसले फोटो खिच्नुअघि र पछिको केही सेकेन्डको गति र आवाज कैद गर्छ। यो परम्परागत स्थिर तस्बिरभन्दा फरक छ, किनभने यसमा छोटो भिडियो र अडियो पनि समावेश हुन्छ।

‘वाबीटाइन्फो’ का अनुसार व्हाट्सएपले आफ्नो मिडिया शेयर गर्ने क्षमतालाई विस्तार गर्न यो फिचर ल्याउन लागेको हो। फोटो वा भिडियो ग्यालरी खोल्दा प्रयोगकर्ताले मोशन फोटोका लागि छुट्टै बटन देख्नेछन्। यो बटनले स्थिर तस्बिर वा त्यसको गति संस्करण पठाउने विकल्प दिन्छ।

यो सुविधा खासगरी केही स्मार्टफोनमा निकै रुचाइएको छ, जसले स्थिर तस्बिरमा गतिको झल्को थपेर फोटो र भिडियोबीचको दूरी घटाउँछ। सामसुङ ग्यालेक्सी जस्ता स्मार्टफोनमा यो सुविधा पहिलेदेखि नै उपलब्ध छ। हाल आइफोन प्रयोगकर्ताले आइओएसमा यो सुविधा प्रयोग गरिरहेका छन्, तर एन्ड्रोइडका लागि भने यो अझै विकासको चरणमा छ। क्युएनए

प्रकाशित: १० चैत्र २०८१ १२:२८ आइतबार





Source link

नेपालको तथ्यांक सम्बन्धी पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक


४ वैशाख, काठमाडौं । फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स (फ्याक्ट्स नेपाल) ले नेपालका विभिन्न क्षेत्रको जानकारी र तथ्यांक संकलन गरी तयार पारेको १०औं संस्करणको वार्षिक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक गरेको छ ।

नेपालका प्रमुख क्षेत्र तथा प्रवृत्तिको गहिरो अध्ययन र विश्लेषण गरी संकलन गरिएको तथ्यांकको यस संग्रहले पाठकलाई विभिन्न क्षेत्रगत विषयमा गहिरो अन्तरदृष्टि प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

डेटा र इन्फोग्राफिक केन्द्रित यस पुस्तकमा क्षेत्रगत तथ्यांकको अन्तरदृष्टि र विश्लेषण समावेश गरिएको प्रकाशकले जनाएको छ ।

पुस्तकमा नेपाल प्रोफाइल, प्रादेशिक प्रोफाइल, समष्टिगत आर्थिक परिदृश्य, प्रमुख आर्थिक क्षेत्र, पूर्वाधार र सञ्चार, सामाजिक आयाम, सार्वजनिक सुरक्षा, लगायतका ८ खण्ड तथा ६४ उपखण्ड समेटिएका छन् ।

यस संस्करणको पुस्तकमा नेपाल प्रोफाइल र प्रादेशिक प्रोफाइल खण्ड तथा २०७२ सालको भूकम्प र कोभिड–१९ माहामारीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई छुट्टै खण्डमा विभिन्न क्षेत्रगत तथ्यांकबाट चित्रित गरिएको छ ।

स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीका रूपमा रहेको फ्याक्ट्स नेपालले अनुसन्धान र विश्लेषणात्मक परियोजना सञ्चालन गर्नुका साथै आफ्नो स्थापनाकाल (सन३ २०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यममार्फत आमजनताका लागि दैनिक, साप्ताहिक र मासिक सूचनामूलक तथ्यांकीय चित्र प्रस्तुत गरिरहेको छ ।

संस्थाले नेपालको अनुसन्धान क्षेत्र तथा संस्कृतिमा उल्लेखनीय भूमिका निर्वाह गरेको जनाएको छ । संस्थाले विभिन्न छलफल र इन्फोग्राफिक्स मार्फत राष्ट्रिय टेलिभिजन, समाचारपत्र, जर्नल र अनलाइन समाचार पोर्टल जस्ता विभिन्न मिडिया आउटलेटसँग सहकार्य गरी तथ्यांक र तथ्य सार्वजनिक गर्ने गर्दछ ।

पुस्तकको मूल्य ५ सय रुपैयाँ तोकिएको छ । पाठकका लागि ‘फ्याक्ट्स अफ नेपाल २०२५’ पुस्तक अनलाइन प्लेटफर्म मार्फत खरिदका लागि उपलब्ध हुनेछ भने पुस्तकको वितरण साझेदार कथालय छ । प्रक्षेपण सम्झौताका रूपमा यसमा निश्चित समयका लागि ३० प्रतिशत छुट पनि उपलब्ध छ ।





Source link

सामसुङका सहायक सीईओ हानको हृदयघातबाट निधन


दक्षिण कोरियाली टेक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका सहायक सीईओ हान जोङ–हीको निधन भएको छ। ६३ वर्षको उमेरमा मंगलबार हृदयघातबाट उनको निधन भएको हो। 

सन् १९६२ मा जन्मिएका हानले २०२२ देखि उपभोक्ता इलेक्ट्रोनिक्स र मोबाइल उपकरण विभाग सम्हाल्दै आएका थिए। उनलाई २०२२ मा उपाध्यक्ष र सहायक सीईओ बनाइएको थियो। 

सामसुङका अनुसार हानले ३७ वर्षभन्दा बढी समय कम्पनीको टिभी व्यवसायलाई विश्वमा अग्रणी बनाउन काम गरे। कम्पनीले भनेको छ, ‘यो कठिन समयमा हाम्रो समवेदना उनको परिवार र नजिकका मानिसहरूसँग छ।’ हानको उत्तराधिकारीबारे अहिलेसम्म कुनै जानकारी दिइएको छैन।

हानले इन्हा विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेर १९८८ मा सामसुङमा काम शुरू गरेका थिए। इलेक्ट्रोनिक्स र उपकरण विभाग सम्हाल्नुअघि उनी डिस्प्ले सञ्चालनको जिम्मेवारीमा थिए। सामसुङको एलईडी टिभी ल्याउन उनको मुख्य भूमिका थियो। 

प्रकाशित: १२ चैत्र २०८१ १०:५७ मंगलबार





Source link

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्ड तोडफोडको आरोपमा ६ पक्राउ


४ वैशाख, काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको बोर्ड तोडफोडको आरोपमा मकवानपुर प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरे छन् ।

हेटौंडा अस्पतालको नाम हटाएर राजनीतिक पार्टीका नेताको नाम राखिएको भन्दै असन्तुष्ट युवाले ३० चैतमा प्रतिष्ठानको बोर्ड तोडफोड गरेका थिए ।

अस्पतालको छतमा चढेर उनीहरूले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मेटाएर हेटौंडा अस्पताल राखेका थिए ।

एमालेले आफ्ना नेताको नाम राखेर हेटौंडा अस्पतालको अस्तित्व मेट्न खोजेको भन्दै उनीहरूले आफूहरूको काममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको समर्थन रहेको दावी गरेका थिए । पछि केही राजनीतिक दलले समर्थनको दावी झुठो भएको प्रतिक्रिया दिएका थिए ।

घटनापछि प्रतिष्ठानले प्रहरीमा निवेदन दिएपछि प्रहरीले उनीहरूको खोजी गरेको थियो । बिहीबार छलफलका लागि भन्दै जिल्ला प्रहरी कार्यालय बोलाएर उनीहरूलाई हिरासतमा लिएको हो ।

६ युवा पक्राउ परेपछि समथर्क युवाहरूले पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका– १ मा पर्ने खण्डमा केहीबेर प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा उनीहरूले पूर्व–पश्चिम राजमार्गमा पर्ने मुख्य सडकखण्ड केहीबेर अवरुद्ध पारेका थिए । प्रहरीले युवालाई हटाएर अहिले राजमार्ग खुलाइसकेको छ ।





Source link

‘च्याटबटमाथि विश्वास गरिहाल्नु मूर्खता’ | Nagarik News


पछिल्लो समय एआईका विभिन्न वेबसाइटहरू सूचना र जानकारी खोज्न निकै प्रयोग हुन थालेका छन्। खासगरी ओपनएआईको च्याटजिपिटी बजारमा सार्वजनिक प्रयोग हुन थालेपछि च्याटबटहरू लोकप्रिय हुन थालेका हुन्। 

यसको लोकप्रियता कतिसम्म चुलिएको छ भने यही रापतापमा हात सेक्न कम्पनीहरूसमेत लागिपरेका छन्। अहिले च्याटबटको संख्या दिनदिनै बढ्न थालेको छ।

पछिल्लो समय सामाजिक सञ्जाल एक्समा प्रयोग गर्न पाइने एक्सएआईको ग्रोक च्याटबटले कसरी बिनासेन्सरको सूचना दिन सक्छ भन्ने उदाहरण भाइरल भइरहेको छ। बिनासेन्सर ग्रोकले दिने जानकारीलाई आधार बनाएर राजनीतिज्ञहरूमाथि गिज्याउने (ट्रोल गर्ने) क्रम पनि बढेर गएको छ। तर सूचना तथा जानकारी खोज्ने उद्देश्यले प्रयोग गरिने एआई बटहरूले गलत सूचना तथा जानकारीहरू पनि दिनु गम्भीर समस्या भएको कोलम्बिया विश्वविद्यालयस्थित टोभ सेन्टर फर डिजिटल जर्नालिजमले जनाएको छ। 

कोलम्बिया विश्वविद्यालयको स्कुल अफ जर्नालिजमले निकाल्ने त्रैमासिक पत्रिका कोलम्बिया जर्नालिजम रिभ्युका लागि टोभ सेन्टर फर डिजिटल जर्नालिजमले यस विषयमा अनुसन्धान गरेको थियो। 

सो अनुसन्धानअनुसार सटीक जानकारीका अभावमा एआई बटहरूले गलत सूचनाहरू दिने, त्यसबारे गुनासो गर्दा माफी माग्नेजस्ता समस्या देखिएको छ। अनुसन्धानकर्ताहरूले आठ वटा एआई बटहरूको परीक्षण गरेका थिए। परीक्षणका क्रममा च्याटबटहरूलाई प्रत्येक लेखको मूल शीर्षक, प्रकाशक, प्रकाशन मिति र वेबसाइट (युआरएल) पहिचान गर्न भनिएको थियो। 

तर एआई बटहरूले ६० प्रतिशतभन्दा बढी प्रश्नमा गलत स्रोतहरू उल्लेख गरेका थिए। अनुसन्धानकर्ता क्लाउडिया जाज्विन्स्का र ऐश्वर्या चन्द्रशेकरले आफ्नो प्रतिवेदनमा उल्लेख गरेअनुसार लगभग चारमध्ये एक जना अमेरिकीले पारम्परिक खोज सर्च इन्जिनको विकल्पका रूपमा एआई मोडेलहरू प्रयोग गरिरहेका छन्। 

नेपालमा भने एआई बटहरू रमाइलोका लागि प्रयोग भइरहेका छन् र कतिपय अवस्थामा सूचनाको स्रोतका रूपमा पनि प्रयोग भइरहेको छ। ती सूचनाका स्रोतहरूको आधिकारिकता के हो भन्नेबारे सोध्दा च्याटबटहरूले गोलमाल उत्तर दिने गरेको पनि देखिएकाले तिनको विश्वसनीयतामा प्रश्न उठेको अनुसन्धाताहरू बताउँछन्।

परीक्षण गरिएका प्लेटफर्महरूमा स्रोत उल्लेख गर्दा भिन्नता देखिएको छ। परप्लेक्सिटीले ३७ प्रतिशत सोधनीमा गलत जानकारी दिएको थियो। त्यस्तै च्याटजिपिटी सर्चले २०० सोधनीमध्ये १३४ (६७ प्रतिशत) लेखहरूको गलत जानकारी दिएको थियो। त्यस्तै एक्सको ग्रोक थ्रीले ९४ प्रतिशतको सबैभन्दा उच्च गलत दर देखाएको थियो। 

त्यसो त ग्रोक सबैभन्दा नयाँ र परीक्षणकै अवधिमा छ। जम्मा आठ वटा एआई बट उपकरणमा १६ सय जिज्ञासा चलाइएका थिए। यस अध्ययनले एआई मोडेलहरूका साझा प्रवृत्ति के–कस्ता छन् भन्ने खोज गरेको थियो। विश्वसनीय जानकारी नहुँदा पनि तिनले अधिकांश अवस्थामा जवाफ दिँदा ‘मलाई थाहा छैन’ भन्नुको साटो अड्कलबाजी गरेर उत्तरहरू दिएका थिए। 

अड्कलबाजीमा सबै च्याटबट र एआई सर्चबटहरूमा समानता रहेको पनि देखिएको छ। अनुसन्धाताहरूका अनुसार एआई बटहरूका पैसा तिरिने संस्करणहरूमा त अझ ठुलो गल्ती पाइने गरेको छ। गणित र विज्ञानमा निकै उम्दा मानिएको पर्लप्लेक्सिटी प्रो चलाउन प्रतिमहिना २० डलर तिर्नुपर्छ। 

त्यस्तै इलन मस्कको कम्पनी ग्रोक थ्री चलाउन ४० डलर प्रतिमहिना तिर्नुपर्छ। यी दुवैले गलत जवाफ पनि बडो आत्मविश्वासका साथ दिने गरेको पाइएको छ। त्यसो त प्रिमियम मोडलहरूले धेरै प्रश्नका सही उत्तर दिएका थिए तर दुविधाको अवस्थामा उनीहरूले ‘मलाई थाहा छैन’ भनेर जवाफ दिनुको साटो बढी जान्ने हुँदा समग्र गलत दर बढाएको अध्येताहरूले बताएका छन्।

अनुसन्धाताहरूले केही एआई उपकरणहरूले रोबोट एक्सक्लुजन प्रोटोकल (प्रकाशकहरूले वेब क्रोलरहरूलाई विशिष्ट सामग्रीबाट टाढा रहन अनुरोध गर्ने स्वैच्छिक मानक) लाई बेवास्ता गरेको प्रमाण पनि पत्ता लगाए। उदाहरणका लागि नेसनल जियोग्राफिकले परप्लेक्सिटीका क्रोलरहरू प्रतिबन्धित गरेता पनि यसको निःशुल्क संस्करणले पैसा तिरिने (पे–वाल्ड) सामग्रीबाट १० वटा उद्धरण चोर्ने गरेको पनि देखिएको छ। 

एआई खोज उपकरणहरूले स्रोत उल्लेख गरे पनि प्रायः याहु न्युजजस्ता प्लेटफर्महरूमा सिन्डिकेटेड सामग्रीबाट बढी स्रोत लिएको देखाएको थियो। प्रायः एआई कम्पनीहरूले औपचारिक लाइसेन्सिङ सम्झौता लिएका प्रकाशकहरूका सूचना, जानकारी तथा समाचारहरूलाई पनि प्रयोग गरेको देखिएको छ। त्यसैगरी कहिलेकाहीँ समाचार स्रोतको आधिकारिकता गोप्य राख्ने गरेको पनि पाइएको छ। 

एआई च्याटबट तथा सर्चबटहरूले आधिकारिता नदेखाउने सूचना तथा जानकारीहरूलाई झट्ट विश्वास गरिहाल्न उचित नहुने विज्ञहरूको सुझाव छ। खासगरी सर्वसाधारणले च्याटबटले जे सूचना दियो, त्यसैमाथि विश्वास गर्नु आफैं मूर्ख हुनु रहेको उनीहरूको भनाइ छ। सर्चबट वा च्याटबटहरू बहकिने, गलत सूचना तथा जानकारीहरू दिने समस्या समाधानतर्फ के–कस्ता काम भइरहेका छन् भन्नेबारे ठुला कम्पनीहरूले कुनै प्रस्ट योजना बनाउन सकिरहेका छैनन्। 

टोव सेन्टरले यसअघि पनि गएको नोभेम्बर २०२४ मा च्याटजिपिटीद्वारा समाचार सामग्री प्रस्तुत गर्दा हुने सटीकताको समस्या उल्लेख गरेको थियो। अहिले त्यो सूचीमा नयाँ र लोकप्रिय च्याटबटहरूसमेत थपिएपछि मिडिया अनुसन्धाताहरू चिन्तित हुन थालेका छन्।

प्रकाशित: १३ चैत्र २०८१ ०६:५२ बुधबार





Source link

रामबहादुर बम्जनले दुई अदालतबाट कसरी पाए सफाइ ? – Online Khabar


४ वैशाख, काठमाडौं । रामबहादुर बम्जन भनिने रामलाल बम्जन करिब एक महिनाअघि सिन्धुपाल्चोक कारागारबाट रिहा भए ।

२४ पुस २०८० मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई पक्राउ गर्दा ठूलो चर्चा भएको थियो । हाई प्रोफाइल अभियुक्त बम्जनलाई पक्राउ गर्न प्रहरीलाई लामो समय लागेको थियो ।

उनै बम्जन करिब एक महिनाअघि ७ चैतमा कारागारबाट रिहा हुँदा एक महिनासम्म भने घटना गुपचुपमै रह्यो ।

७ चैत बिहान उनकी श्रीमती दीप शिखाले बम्जनलाई लगेको सिन्धुपाल्चोक कारागारका निमित्त कारागार प्रशासक निरजराम दमाई बताउँछन् । ‘अदालतले सफाइ दिएको कागजात लिएर उहाँकी श्रीमती ७ चैत बिहान कारागार आउनुभएको थियो । उहाँले नै बुझेर बम्जनलाई लानुभएको हो ।’

कारागारबाट छुटेको एक महिना भए पनि बम्जनको गतिविधि भने सार्वजनिक रूपमा देखिएको छैन । प्रहरी अधिकारीहरू पनि अदालतले नै सफाइ दिएपछि उहाँको बारेमा बुझ्न नमिल्ने भएकाले यसबारे केही जानकारी नभएको बताउँछन् ।

२४ पुस २०८० मा पक्राउ परेका बम्जनलाई जिल्ला अदालत सर्लाहीले दोषी ठहर गरेको थियो । यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषणको कसुरमा बम्जनलाई १० असार २०८१ मा सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले दोषी ठहर गरेको थियो । त्यतिबेला उनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो ।

उक्त फैसलाविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेका थिए । उच्च अदालत जनकपुरकै न्यायाधीशद्वय नरिश्वर भण्डारी र खेमराज भट्टको ६ चैतको इजलासले बम्जनलाई सफाइ दिएको हो ।

उच्च अदालत जनकपुरले बम्जनलाई सफाइ दिनुको मुख्य कारणमा हदम्यादको विषय उठाएको छ । बम्जनविरुद्ध बलात्कार कसुर नभई बाल यौन शोषण (दुरुपयोग) को कसुरमा मुद्दा दर्ता भएको थियो ।

बम्जनलाई बालबालिकासम्बन्धी ऐन,२०७५ अन्तर्गत रहेका सम्बद्ध कसुरमा आवद्ध गर्ने र यसमा रहेको हदम्यादको व्यवस्था लागू गर्ने भन्ने नै प्रष्ट हुन आउँछ ।

बम्जनविरुद्ध फूलमाया रुम्बालाई बेपत्ता पारेको जाहेरी परेको थियो । तर अदालतले फूलमायालाई बेपत्ता पारेको वस्तुनिष्ठ आधार र प्रमाण नभेटिएको भन्दै बम्जनलाई सफाइ दियो ।

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६(३)(छ) र (ज) बमोजिमको कसुर गरेकोले बम्जनलाई सोही ऐनको दफा ७२ को उपदफा (३)(छ) मा पारिभाषित मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (३) (ग) बमोजिम सजाय हुने भन्ने उल्लेख भएको देखिन्छ ।

हदम्यादको हकमा दफा ६६ अन्तर्गतको कसुरको सम्बन्धमा प्रचलित कानुनमा कुनै हदम्याद तोकिएकोमा त्यस्तो हदम्यादभित्र र हदम्याद नतोकिएकोमा सो कसुर भए/गरेको मितिले एक वर्षभित्र मुद्दा दायर गरिसक्नुपर्ने उल्लेख छ ।

यो मुद्दामा भने बालबालिका विरुद्धका कसुरको सम्बन्धमा मुद्दा दायर गर्ने हदम्याद त्यस्तो बालबालिका १८ वर्ष पूरा भएको मितिले एक वर्षसम्म कायम रहने भन्ने व्यवस्थालाई टेकी मुद्दा दायर भएको थियो ।

यो व्यवस्था नयाँ बालबालिका ऐन,२०७५ को दफा ६६ मा उल्लिखित कसुरका हकमा मुद्दा दायर गर्नुपर्ने भएमा लागू हुने हो । ‘२०७३ साउन २० मा बालबालिकासम्बन्धी ऐन, २०४८ लागू रहेको, त्यसमा यौन सन्तुष्टि प्राप्त गर्ने र बालयौन दुरुपयोग गर्ने कसुरका परिभाषित व्यवस्था नरहेको र बालबालिकासम्बन्धी ऐन,२०७५ लागू भएपश्चात् उक्त ऐनको दफा ६६ अन्तर्गत त्यस प्रकृतिका कसुरको कानुनी व्यवस्था भई ती कसुरका सम्बन्धमा उक्त दफा ७४ को हदम्यादको व्यवस्था रहे भएकोले उक्त हदम्यादको व्यवस्था प्रस्तुत मुद्दामा आकर्षित हुन सक्दैन,’ फैसलामा व्याख्या गरिएको छ ।

Ram bahadur Bamjan3

यो मुद्दामा वारदात हुँदाका बखतको प्रचलित कानुनबमोजिम तोकिएको हदम्यादभित्र अभियोगपत्र दायर हुन नसकेको फैसलामा उल्लेख गरिएको छ ।

हदम्यादविहीन अभियोगपत्रको विषयवस्तुमा प्रवेश गरी अभियोग दाबी पुग्ने वा नपुग्ने भनी व्याख्या र विश्लेषण हुन आवश्यक नै छैन । सुरु अदालतले प्रस्तुत मुद्दामा लागू नै हुन नसक्ने बालबालिकासम्बन्धी ऐन,२०७५ को दफा ७४ अनुसार हदम्याद कायम गरी अभियोगको विषयवस्तुमा प्रवेश गरी इन्साफ गरेको भए पनि उक्त नमिलेको उच्चको फैसलामा उल्लेख छ ।

कुनै विषयवस्तुमा प्रवेश गर्ने प्रस्थान विन्दु(हदम्याद) नै गलत छ भने त्यसपछि गरिएका र गर्न खोजिएका सबै काम/कारबाही कानुनसम्मत नभई त्रुटिपूर्ण हुने अदालतले व्याख्या गरेको छ । यही हदम्यादलाई देखाउँदै बम्जनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको छ ।

उच्च अदालत जनकपुरले सफाइ दिँदा बम्जन भने सिन्धुपाल्चोक कारागारमा थिए । उनलाई करिब ८ महिनाअघि नै सरुवा गर्दै सिन्धुपाल्चोक कारागारमा पठाइएको जलेश्वरका कारागारका सूचना अधिकारी रविन ठाकुरले बताए ।

बम्जनविरुद्ध सिन्धुपाल्चोक जिल्ला अदालतमा पनि मुद्दा थियो । त्यहाँ भने बम्जनविरुद्ध व्यक्ति बेपत्ता पारेको आरोप थियो । सिन्धुपाल्चोक आश्रममा भिक्षु फूलमाया रुम्बालाई बेपत्ता पारिएको आरोप उनीमाथि थियो । यो अभियोगमा उनी सुरुमा ३ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । पछि फैसलामा भने यसमा समेत बम्जनले सफाइ पाएको खुलेको छ ।

२५ कात्तिकमा सिन्धुपाल्चोक जिल्ला अदालतका न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले बम्जनलाई व्यक्ति बेपत्ता आरोपमा सफाइ दिएको हो ।

फूलमाया रुम्बालाई बेपत्ता पारेको भन्दै वीरबहादुर रुम्बाले जाहेरी दिएका थिए । तर फूलमाया रुम्बालाई बेपत्ता पारेको भन्ने वस्तुनिष्ठ आधार र प्रमाण नभेटिएको भन्दै बम्जनलाई सफाइ दिइएको छ ।

फूलमाया रुम्बालाई बेपत्ता पारेको भन्ने वस्तुनिष्ठ प्रमाणको अभाव रहेको, बाडेगाउँ आश्रममा देखेको हुँ भनी सरोज तितुङले मौकामा घटना विवरण कागज गरे पनि अदालतसमक्ष फूलमायालाई चिनेको छैन भनी बकपत्र गरेको, सुन्तली गोले, सुनबहादुर रुम्बा समेतले बकपत्र गर्दा प्रतिवादीले नै बेपत्ता पारेको हो भन्नसम्म नसकेको फैसलामा उल्लेख गरिएको छ ।

‘प्रतिवादीसँग फूलमाया रुम्बाको फोटो पेस भएको भए पनि उक्त फोटो कहिले र कहाँ खिचेको हो भन्नेसमेत खुल्न सकेको नदेखिएको यस अवस्थामा प्रतिवादी उपरको अभियोग दाबी शंकारहित तवरबाट पुष्टि हुन सकेको नदेखिँदा केवल शंका र अनुमानको भरमा मात्र प्रतिवादीलाई दोषी ठहर गर्नु न्यायोचित नहुँदा प्रतिवादी रामबहादुर बम्जनलाई अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ,’ फैसलामा उल्लेख छ ।





Source link

अन्तरिक्ष मिसनका लागि नासाद्वारा नयाँ चालक दल सार्वजनिक


नासाले शुक्रबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा आफ्नो आगामी अभियानका लागि चार सदस्यीय चालक दलको अनावरण गरेको छ।

‘क्रू–११’ मिसनमा नासाका अन्तरिक्ष यात्री जेना कार्डम्यान र पाइलट माइक फिन्के रहेको नासाले जनाएको छ।  

मिसनमा जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी अन्तरिक्ष यात्री मिसन विशेषज्ञ किमिया युई र रोस्कोसमोस अन्तरिक्ष यात्री मिसन विशेषज्ञ ओलेग प्लेटोनोभ सामेल हुनेछन् ।

नासाका अनुसार यो मिसन जुलाई सन् २०२५ भन्दा पहिले प्रक्षेपण हुने तय गरिएको छ।

यो उडान नासाको व्यावसायिक क्रू कार्यक्रमको एक भागको रूपमा स्पेसएक्ससँग स्टेशनमा ११ औं क्रू रोटेशन हो।

नासा चालक दलले वैज्ञानिक अनुसन्धान र टेक्नोलोजी प्रदर्शनहरू सञ्चालन गर्ने जनाएको छ। यसले मानवहरूलाई भविष्यको चन्द्रमा मिसनहरूको लागि तयार गर्न मद्दत गर्नेछ, साथै पृथ्वीका मानिसहरूलाई पनि फाइदा पु¥याउँछ। सिन्ह्वा

प्रकाशित: १७ चैत्र २०८१ ०९:०० आइतबार





Source link

एक वर्षमा कति बढ्यो फलफूलको मूल्य ? – Online Khabar


४ वैशाख, काठमाडौं । एक वर्षमा उपभोक्ताले फलफूलमा महँगो मूल्य तिरेका छन् ।

मुलुकको सबैभन्दा ठूलो फलफूल तथा तरकारी बिक्री केन्द्र कालीमाटी फलफूल तथा तरकारी बजारको तथ्यांकले फलफूलको मूल्य औसतमा ३१ प्रतिशतसम्म बढेको देखाएको छ ।

कालीमाटी बजारको तथ्यांकअनुसार १२ प्रकारका फलफूलको मूल्यवृद्धि भएको छ । सबैभन्दा बढी मूल्यवृद्धि हुने फलम मौसम रहेको छ ।

१ वैशाख २०८१ मा किलोको १ सय ४५ रुपैयाँ रहेको मौसम चैतमा १ सय ९० रुपैयाँ पुगेको कालीमाटी तरकारी बजारको तथ्यांकले देखाएको छ । यो मूल्य एक वर्ष अवधिमा ३१ प्रतिशत बढेको हो ।

यस्तै एक वर्षमा झोले स्याउको मूल्य १४ प्रतिशत बढेको छ भने फुजी स्याउ ०.५१ प्रतिशतले बढेको छ । १ वैशाखमा झोले स्याउको मूल्य किलोको २ सय १० रुपैयाँ रहेकामा ३१ चैत आइपुग्दा २ सय ४० रुपैयाँ कायम छ । यस्तै फुजी स्याउ ३ सय २५ रुपैयाँ रहेकामा चैतमा ३ सय २६ रुपैयाँ छ ।

मूल्यवृद्धि हुने अरू फलफूलमा केरा, अनार, हरियो अंगुर, तरबुजा हरियो, भुइँकटहर, रुख कटहर, नास्पाती (चाइनिज), भारतीय मेवा, किवी र एभोकाडो छन् ।

१ वैशाखमा १ सय ३६ रुपैयाँ दर्जनमा बिक्री भएको केरा ३१ चैतमा आइपुग्दा दर्जनमा १ सय ५० रुपैयाँ पुगेको थियो । एक वर्षमा केरा ९.७५ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ ।

यस्तै एक वर्षमा अनारको १८.७९ प्रतिशत मूल्यवृद्धि भएको छ । वैशाखमा प्रतिकिलो २ सय ७५ रुपैयाँ मूल्य रहेको अनार चैतमा ३ सय २६ रुपैयाँ पुगेको छ ।

वैशाखमा हरियो अंगुर १ सय ६० रुपैयाँ किलो रहेकोमा चैतमा १ सय ९० रुपैयाँ कायम छ । हरियो अंगुर एक वर्षमा १८.७५ प्रतिशतले बढेको हो ।

यसैगरी हरियो तरबुजामा ३० प्रतिशत मूल्यवृद्धि भएको छ । वैशाखमा ५० रुपैयाँ किलोमा किनबेच भएको तरबुजा चैतमा ६५ रुपैयाँ पुगेको कालीमाटी बजारको तथ्यांकले देखाउँछ ।

मूल्यवृद्धि हुने अरू फलफूलमा केरा, अनार, हरियो अंगुर, तरबुजा हरियो, भुइँकटहर, रुख कटहर, नास्पाती (चाइनिज), भारतीय मेवा, किवी र एभोकाडो छन् ।

एक वर्ष अवधिमा भुइँकटहर पनि १५.१५ प्रतिशतले बढेको छ । वैशाखमा प्रतिगोटा १ सय ६५ रुपैयाँ रहेकोमा चैतमा आउँदा उक्त मूल्य बढेर १ सय ९० रुपैयाँ कायम छ ।

यस्तै नास्पाती (चाइनिज) को मूल्य पनि १९ प्रतिशतले बढेको छ । वैशाखमा प्रतिकिलो २ सय १० रुपैयाँमा किनबेच भएको नास्पाती चैतमा २ सय ५० रुपैयाँ पुगेको तथ्यांकले देखाउँछ ।

भारतीय मेवा प्रतिकिलो ९६ रुपैयाँ भएकामा त्यसको मूल्य बढेर चैतमा १ सय १० रुपैयाँ कायम छ । यस्तै एक वर्ष अवधिमा एभोकाडो करिब ८.९९ प्रतिशतले बढेको छ । वैशाखमा ५ सय ७५ रुपैयाँ किलोमा किनबेच भएको एभोकाडो चैतमा ६ सय २६ रुपैयाँमा किनबेच भएको थियो ।

किवीको मूल्य गत वर्ष वैशाखमा प्रतिकिलो ४ सय २५ रुपैयाँ रहेकोमा चैतमा ४ सय २६ रुपैयाँमा कारोबार भएको तथ्यांकमा उल्लेख छ ।

कालीमाटी बजारको तथ्यांक केलाउँदा ३ वटा फलफूलको मूल्य भने घटेको छ ।

वैशाखमा प्रतिकिलो २ सय ५५ रुपैयाँ रहेको कालो अंगुरको मूल्य चैतमा घटेर २ सय ४० रुपैयाँमा किनबेच भएको थियो । एक वर्ष अवधिमा कालो अंगुरको मूल्य ५.८८ प्रतिशत घटेको छ ।

यस्तै भारतीय सुन्तलाको मूल्य पनि २१.५७ प्रतिशतले घटेको छ । वैशाखमा भारतीय सुन्तला प्रतिकिलो १ सय ७० रुपैयाँमा कारोबार भएकामा चैतमा १ सय ३३ रुपैयाँमा कारोबार भइरहेको तथ्यांकले देखाउँछ ।

वैशाखमा २ सय ५५ रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको जुनार चैतमा १ सय ९० रुपैयाँ कायम छ । एक वर्षमा जुनारको मूल्य २५.४९ प्रतिशतले घटेको कालीमाटी बजारको तथ्यांकमा उल्लेख छ ।





Source link

च्याटबटमा के नगर्ने? | Nagarik News


अहिले नेपाली च्याटजिपिटी प्रयोगकर्ताहरूले आफ्नो नाम हालेर म को हुँ भनेर सोधिरहेका पाइन्छन्। अधिकांश अवस्थामा तिनका बारेमा गलत सूचना आउने हुनाले रमाइलो मानिरहेका हुन्छन्।

एक जना व्यवसायीले त आफू र आफ्नो कम्पनीबारे च्याटजिपिटीलाई सच्याइरहेका थिए। तर च्याटजिपिटी चलाउने कम्पनी भन्छ, ‘कृपया, कुनै पनि गम्भीर किसिमका, संवेदनशील सूचनाहरू हामीलाई नबताउनुहोला।’

उता जेमिनाई च्याटबटको सञ्चालक गूगलको भनाइ छ, ‘कुनै पनि समीक्षकले हेर्ने गरी संवेदनशील सूचना वा तथ्यांक यहाँ नपस्किनु होला।’

मानौं तपाईंले आफ्नो वा आफू कार्यरत कम्पनीको गम्भीरतम सूचनाहरू चुहाउनुभयो भने भोलिका दिनमा कम्पनी र तपाईं स्वयंलाई अप्ठेरो पर्न सक्छ। उसो भए के गर्ने त? विशेषज्ञहरू यसका लागि केही जानकारी दिएका छन्।

तपाईंको ड्राइभिङ लाइसेन्स, परिचयपत्र, पासपोर्ट, नागरिकता नम्बर, जन्मदिन, ठेगाना, फोन नम्बर, निजी सूचनाहरू कुनै पनि राख्नु हुँदैन। ओपन एआईले लेख्छ, ‘हामीलाई तपाईंको निजी सूचनाको मतलब छैन। हामीलाई त संसारबारे मतलब छ।’

त्यस्तै स्वास्थ्य सम्बन्धी कुनै पनि सूचना सोध्नु हुँदैन। ल्याबका कुनै पनि परिणाम काटेर पेस्ट गर्नु उचित हुन्छ। कुन ल्याबबाट यो परिणाम आयो र कसको हो भन्ने जस्ता सूचना दिनु हुँदैन। यसैगरी कुनै आर्थिक वा पैसासम्बन्धी सूचना र जानकारीहरू सोध्नु हुँदैन। खासगरी बैंकका खाताबारे त कसैगरी खुलाइनु हुँदैन।

त्यस्तै कुनै ठूला कम्पनीका गोप्य जानकारी पनि राखिनु हुँदैन। केही समयअघि सामसङ कम्पनीका इन्जिनियरहरूले गम्भीर सूचना चुहाएको पाइएपछि अहिले उसले आफ्ना कर्मचारीहरूलाई कर्पोरेट सूचना प्रयोग नगर्न आदेश दिएको छ। तपाईले कुनै जानकारी मन पर्‍यो भने थम्स अप वा थम्स डाउनमा बताउनु ठीक हुन्छ।

रोचकचाहिँ, केही व्यक्तिले सूचना लिएपिच्छे सारा सूचना डिलिट गर्ने गर्छन्। कतिपय च्याटबटले आफूले स्टोर गरेका सूचना ३० दिनसम्म राखेर स्वतः डिलिट गर्ने गर्छन्। तर डिपसीकले भने तपाईंले सोध्नुभएका र राख्नु भएका सूचना आफूलाई चाहिएको बेला असीमित समयसम्म प्रयोग गर्न सक्छ। त्यसैले अधिकांश अवस्थामा एआई च्याटहरू गेस्ट मोड वा इन्कग्निटो मोडमा लिनु राम्रो हुन्छ।

प्रस्तुतिः अच्युत काेइराला

प्रकाशित: २२ चैत्र २०८१ ०८:२४ शुक्रबार





Source link

आईओसीले निर्वाचनलाई आधिकारिकता दिएको एनओसीको दावी


४ वैशाख, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले मान्यता प्रदान गरेको छ ।

आइओसीले बिहीबार एनओसीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठलाई पत्र लेख्दै ओलम्पिकको निर्वाचनलाई आधिकारिकता दिएको उल्लेख गरेको हो ।

गत पुस १३ गते अनलाइनमार्फत गरिएको एनओसीको निर्वाचनबाट जीवनराम तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए । एनओसीका महासचिव राजीव श्रेष्ठले पनि बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै आइओसीले आधिकारिकाता दिएको जनाएका छन् ।

आइओसीका एनओसी सम्बन्ध, ओलम्पिक एकता र ओलम्पिज्म ३६५ का निर्देशक समेत रहनुभएका जेम्स म्याक्लोडद्वारा हस्ताक्षरित पत्रमा नवनिर्वाचित एनओसी नेतृत्वलाई समावेशी र एकताबद्ध रूपमा सबै सदस्यहरूसँग सहकार्य गर्न र सम्बन्धित सरकारी निकायहरूसँग ओलम्पिक चार्टर अनुसार पारस्परिक समझदारी, सम्मान र विश्वासका साथ सुमधुर सम्बन्ध पुनर्स्थापित गर्न आग्रह पनि गरिएको छ ।

noc bigyapti





Source link

अन्तरिक्षमा चीनको अर्को फड्को : अत्याधुनिक सञ्चार उपग्रह सफल प्रक्षेपण


चीनले अत्याधुनिक प्रविधियुक्त सञ्चार उपग्रहलाई सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। शुक्रबार बिहान १२:४७ बजे (बेइजिङ समय) सिचुआन प्रान्तको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च-३बी’ रकेटमार्फत यो उपग्रह प्रक्षेपित गरिएको हो। 

उक्त उपग्रहले निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको सिचाङ केन्द्रले पुष्टि गरेको छ। यो उपग्रह बहु-तरंगदैर्ध्य (मल्टि-ब्यान्ड) र उच्च गतिको सञ्चार प्रविधिको परीक्षणका लागि डिजाइन गरिएको छ, जसले भविष्यमा सुरक्षित, छरितो र विश्वसनीय सञ्चार सेवाको विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। 

यो प्रक्षेपण ‘लङ मार्च’ रकेट शृङ्खलाको ५६९औँ सफल अभियान हो, जुन चीनको अन्तरिक्ष प्रविधिको भरपर्दो र अग्रणी आधारस्तम्भ मानिन्छ। यस उपलब्धिसँगै चीनले विश्वव्यापी सञ्चार र अन्तरिक्ष प्रविधिको क्षेत्रमा आफ्नो अग्रणी स्थानलाई थप पक्का गरेको छ। सिन्ह्वा

प्रकाशित: २९ चैत्र २०८१ २१:४० शुक्रबार





Source link

५२ संवैधानिक पदाधिकारीविरुद्ध आज संवैधानिक इजलासमा सुनुवाइ


३ वैशाख, काठमाडौं । ५२ संवैधानिक पदाधिकारी विरुद्ध परेका रिट निवेदनमाथि बुधबार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासमा करिव एक दर्जन रिट निवेदनहरुको एकसाथ सुनुवाइ हुनेछ ।

यसअघि नै अधिवक्ताहरु ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, समृत खरेलको रिट निवेदनमाथिको बहस सकिएको छ । बाँकी रिट निवेदक र तिनका कानून व्यवसायीले बुधबारदेखि बहस गर्नेछन् ।

३० माघ, २०८१ देखि ५२ संवैधानिक पदाधिकारीहरु विरुद्धको रिट निवेदनमाथि निरन्तर सुनुवाइ भइरहेको हो । तर सर्वोच्च अदालतको संवैधानिक इजलासले नियमित रुपमा नभई केही साताको फरकमा पेशी तोक्ने गरेको छ । माघयता दुई पटक मात्रै मुद्दामा सुनुवाइ भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालका बेलामा संवैधानिक परिषदबाट ५२ पदाधिकारीहरुको सिफारिस गराएका थिए ।

२०७७ र ७८ सालमा अध्यादेशको भरमा भएको सिफारिसपछि उनीहरु संसदिय सुनुवाइविना नै नियुक्त भएका थिए । त्यतिबेला दर्ता भएको रिट निवेदनमाथि अहिले सुनुवाइ भइरहेको हो ।





Source link

‘हामी हाम्रा सपना मर्न दिने छैनौँ’


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूहरूको सपना मर्न नदिने बताएका छन्।

तराई-मधेस जागरण अभियानअन्तर्वत मङ्गलबार (आज) नवलपुरका विभिन्न स्थान पुगेर सहीद तथा बेपत्ता परिवारसँग भेटेपछि उनले यस्तो बताएका हुन्।

‘जनतासँगको सम्बन्ध अझ बलियो बनाउँदै सङ्घर्ष र सपना सँगै साझा गर्दै अघि बढिरहेछौँ। हामी हाम्रा सपना मर्न दिने छैनौँ। हामी समाजवादी नेपालको स्थापना गरि छाड्नेछौँ,’ उनले भनेका छन।

अगाडि उनले भनेका छन्, ‘भावुकताको त्यो क्षणमा मैले यो समग्र अवधिको मानसिक दृश्यावलोकन गरेँ। यसैगरी कावासोतीमा शहीद तथा बेपत्ता परिवारजनसँग आत्मीय भेट भयो।देवचुली नगरपालिका कुजौलीमा थारू–दराइ समुदाय बसोबास गरेको बस्तीमा पुगेर राप्ती नदीको कटानले अतिक्रमण गरेको क्षेत्रको स्थलगत अनुगमन पनि गरियो।’

प्रकाशित: २ वैशाख २०८२ २१:२६ मंगलबार





Source link