Category Archives: अर्थ

राजनीतिमा आउने संकेत गर्दै कुलमान घिसिङले भने, ‘देश गम्भिर संकटमा छ, गर्नुपर्ने काम धेरै छन्’ 


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देश संकटमा रहेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले देश संकटमा रहेको बताएका हुन् । 

उर्जा क्षेत्रमा राजनीतिकरण भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै कुलमानले अहिले देशको उर्जा मात्रै नभएर हरेक क्षेत्रमा राजनीति प्रवेश गरेको भन्दै अहिले देश गम्भिर अवस्थामा रहेको बताएका छन् । 

यद्यपि उर्जा क्षेत्रकै कारण देशले विकासतर्फ अघि बढेको दाबी गर्दै कुलमानले उर्जा क्षेत्रकै योगदानका कारण देश अँध्यारो युगबाट उज्यालो युगमा आएको बताएका छन् । 

तथापि अझै देशका धेरै क्षेत्र अँध्यारोमा रहेको कुलमानले बताएका छन् । ती क्षेत्र उज्यालो बनाउन देशको नेतृत्वले धेरै काम गर्नुपर्ने कुलमानले बताएका छन् । उनले आफूले काम गर्दागर्दै सरकारले गरेको बर्खास्तीको निर्णयप्रति आपत्ति जनाएका छन् । 

त्यस्तै, अब आफू आम सर्वसाधारणको बीचमा रहेको खबरदारी गर्ने घोषणका गरेका कुलमानले राजनीतिमा आउने संकेत समेत गरेका छन् । अब तपाईंको आगामी योजना के छ ? राजनीतिमा आउने हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै कुलमानले भने, ‘छिट्टै अर्को पत्रकार सम्मेलन गरेर सबै योजनाका विषयमा जानकारी दिन्छु ।’



Source link

कैलाली जिल्लाभरमै सर्वोत्कृष्ट बन्यो धनगढी उपमहानगरपालिका 


धनगढी । धनगढी उपमहानगरपालिका कैलाली जिल्लाभरमै उत्कृष्ट पालिका बनेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा विभिन्न १७ वटा सूचकमा आधारित रहेर गरिएको कार्यसम्पादन मूल्याङ्कनमा धनगढी जिल्लाकै उत्कृष्ट पालिका बनेको हो ।  

जिल्ला समन्वय समिति कैलालीद्वारा शुक्रबार आयोजित नवौँ जिल्ला सभामा जिल्लाभरमै उत्कृष्ट बनेको धनगढी उपमहानगरपालिकालाई सम्मान पत्र प्रदान गरिएको छ । 

सम्मान पत्र धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानालाई सभाका प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदान गरेका थिए । सम्मान पत्र प्रदान गर्दै जिल्ला समन्वय समिति कैलालीकी प्रमुख टिका कुमारी चौधरी (भुल)ले उपप्रमुख रानालाई बधाई दिएकी छिन् । 

त्यस्तै, उक्त सम्मान पत्रले आफूहरुलाई थप उर्जा मिलेको धनगढी उपमहानगरपालिकाकी उपप्रमुख रानाले बताएकी छिन् । उनले आगामी दिनमा पनि धनगढी उपमहानगरपालिका उत्कृष्ट हुने प्रतिवद्धता व्यक्त गरेकी छिन् । 



Source link

डिएफटिक्युसीलाई भारतले दियो खाद्य नमुना परीक्षणको मान्यता


काठमाडौँ । भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले खाद्य नमुना परीक्षणको लागि डिएफटिक्युसीको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालालाई मान्यता दिएको छ ।

एनएफएफआरएल काठमाडौंद्वारा जारी गरिएको विश्लेषण प्रमाणपत्रहरू खाद्य आयातको लागि भारतका सम्बन्धित अधिकारीहरूले स्वीकार गर्नेछन् ।

स्वीकृत उत्पादनहरूको सूचीमा जुस, जाम, जेली अचार, क्यान्डी, अदुवा, ताजा फलफूल, तरकारी र चाउचाउ समावेश छन् ।

यसले यी वस्तुहरूको नेपाली निर्यात बढाउन मद्दत गर्ने छ ।



Source link

एनसेलले ल्यायो आकर्षक एनएसएल अफर, सधैं अन रिन्युअल प्याकहरुमा दोब्बर डेटा पाइने


काठमाडौँ । एनसेलले दुई आकर्षक अफरहरु संचालनमा ल्याएको छ । हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू संचालनमा ल्याएको हो ।

यी अफरहरु अन्तर्गत ग्राहकहरूले सधैं अन रिन्युअल प्याकहरुमा दोब्बर डेटा र साना डेटा प्याकहरूमा बोनस सेवाहरु पाउनेछन् । यी दुवै अफरहरू चैत्र २१ गते बिहीबारबाट लागू भएका छन् र वैशाख १६ सम्म मान्य रहने कम्पनीले जनाएको छ ।

एनएसएल डबल डेटा अफरअन्तर्गत, कर सहित रु. ३९९ बाट सुरु हुने सधैं अन रिन्यूअल प्याकहरू ग्राहकहरूले दोब्बर डेटा बोनसका रूपमा प्राप्त गर्नेछन् । उदाहरणका लागि, रु.७९९ को मासिक सधैं अन रिन्यूअल प्याक लिने ग्राहकहरूले प्याकमा पाइने मुख्य सेवाहरु ३० जीबी डेटा, सबै नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने सुविधा, र ७९ वटा सबै नेटवर्कमा पठाउन सकिने एसएमएस सेवा बाहेक थप ३० जीबी बोनस डेटा प्राप्त गर्नेछन् ।

यो डबल डेटा बोनस अफर हाल संचालनमा रहेका सबै सधैं अन रिन्यूअल प्याकका प्रयोगकर्ताहरूका साथै यो अफर अवधिभित्र यी प्याकहरू लिने नयाँ ग्राहकहरूलाई लागू हुनेछ । यो अफर ग्राहकहरुका लागि निकै फाइदाजनक रहेको छ, किनभने बोनस डेटा पहिले प्रयोग हुने भएकोले प्याकमा पाइने डेटा लगायतका बाँकी सेवाहरु क्यारीओभर अर्थात थपिएर अर्को महिनामा पाइने कम्पनीले जनाएको छ ।

हाल एनसेलले सधैं अन रिन्यूअल योजनाअन्तर्गत डेटा, भ्वाइस, र एसएमएस सेवाहरू बन्डल भएको ६ वटा मासिक रिन्यूअल प्याकहरू प्रदान गरिरहेको छ । प्रत्येक प्याकमा निःशुल्क अनलिमिटेड यूट्यूब डेटा र राति ११ बजे देखि बिहान ७ बजेसम्म अनलिमिटेड इन्टरनेट चलाउन मिल्ने नाइट डेटा पनि समावेश रहेका छन् । कर सहित रु. ७९९, रु. ९९९, र रु. १,४९९ को रिन्यूअल प्याकहरूमा ग्राहकहरूले ३० दिनसम्म मान्य रहने प्रतिदिन रु. १,००० का दरले अधिकतम रु.  १०,००० सम्मको अस्पताल भर्ना बीमा सुविधा पनि प्राप्त गर्दछन् ।

अर्को एनएसएल विशेष अफर एनसेल एपमा मात्र उपलब्ध रहने एनएसएल फ्ल्यास सेल रहेको छ । यस अफरअन्तर्गत, रु. ५० मा २४ घण्टा लागि मान्य ५० अनलिमिटेड डेटा लिने ग्राहकले बोनस स्वरुप २० मिनेट एनसेलबाट अन्य एनसेल नम्बरमा कल गर्न सकिने टक टाइम प्राप्त गर्दछन् । त्यस्तै, रु. १५० मा ७ दिनसम्म मान्य हुने ७ जीबी डबल मजा प्याक किन्दा ग्राहकहरूले बोनसका रुपमा थप २ जीबी डेटा बोनस प्राप्त गर्दछन् ।



Source link

कुमारी बैंकले विभिन्न कार्यक्रम आयोजना गरी मनायो २४औं वार्षिकोत्सव


काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव मनाएको छ । बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरेर २४औं वार्षिकोत्सव मनाएको हो ।

बैंकले वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई आ-आफ्नो परम्परा र सांस्कृतिको महत्व दर्शाउन ‘परम्परागत भेषभुषा’ पहिरन गर्न प्रोत्साहित गरेको छ । यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो परम्परागत पृष्ठभूमिको प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान तथा सम्बर्धन गर्न मद्दत पुर्याएको विश्वास लिएको छ ।

विविध सांस्कृतिक परम्परालाई अंगाल्दै, बैंकले आफ्नो कार्यक्षेत्रमा ‘बिबिधतामा एकता’ लाई जोड दिएको छ । यस पहल मार्फत, बैंकले ‘सबैका लागि सधैंका लागि’ भन्ने मूल उद्देश्य भित्र रहि आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, संस्थागत संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ ।

साथै, वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न स्थानहरुबाट रक्तदान कार्यक्रम आयोजना भएको छ । यसले स्थानीय स्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको छ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।



Source link

ग्लोबल आइएमई बैंकका कार्ड होल्डरले सेल्सवेरीमा १० प्रतिशतसम्म क्यासब्याक पाउने


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् ।

क्यासब्याक सम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट ट्रान्जेक्शन बैंकिङ विभागका सेल्स एण्ड विजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत शुशिलमान प्रधानाङ्गले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले मुलुकभर रहेका सेल्सबेरीका ३७ वटै स्टोरहरुमा पोइन्ट अफ सेल (पस) मेशिनमार्फत गरिने कारोबारमा प्रत्येक हप्ताको शुक्रबार १० प्रतिशत वा अधिकतम रु. २०० सम्मको क्यासब्याक पाउनेछन् ।

बैंकले ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २२१ शाखा रहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।



Source link

सर्बिया पठाउने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै रु ३२ लाख ठगी गरेको अभियोगमा पक्राउ गरी एक जनालाई सार्वजनिक गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने भक्तपुरको भक्तपुर नगरपालिका-५ घर भएका २८ वर्षीय सुरेश माकलाई सर्बिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिएका छन् ।

‘सुरेशले सर्बिया पठाइदिने भन्छु भन्दै पाँचजना पीडितहरूबाट रु ३२ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौँको बौद्धबाट पक्राउ गरिएको हो ।’, उनले भने ।

पक्राउ परेका सुरेशलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जिसीले बताएका छन् ।



Source link

दार्चुलामा भूकम्पको धक्का


काठमाडौँ । दार्चुलामा भूकम्पको धक्का गएको छ । बिहीबार अपराह्न दार्चुलामा भूकम्को धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहीबार अपराह्न ५ बजेर ४ मिनेटमा भूकम्पको धक्का गएको हो । भूकम्पको केन्द्रबिन्दु अपि हिमाल आसपास रहेको केन्द्रले जनाएको छ ।



Source link

‘भिजिबिलिटी’ कम हुँदा हवाई उडान प्रभावित


काठमाडौँ । केही दिनयतादेखि काठमाडौँमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित बन्न थालेका छन् ।

केही दिनदेखि काठमाडौँको आकाशमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम भएर ‘आइएफआर’ प्रविधिबाट उडान, अवतरण भइरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख एवं महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनले भने, ‘बाक्लो तुवाँलोले भिजिबिलिटीमा कमी आएपछि आइएफआर प्रविधिबाट उडान/अवतरण भइरहेको छ । सोही कारणले साबिकको तुलनामा जहाजको व्यवस्थापनमा केही ढिला हुँदै आएको छ । उडान तथा अवतरण भने हालसम्म रद्द गरिएको छैन ।’

विमानस्थलमा अहिले तीन हजार मिटरको भिजिबिलिटी रहेको महाप्रबन्धक निरौलाले जानकारी दिए । उनका अनुसार बाक्लो तुवाँलोका कारण आज बुद्ध एयरका तीन माउन्टेन फ्लाइटमध्ये दुईवटा भैरहवा, एउटा जनकपुर तथा यती एयरलाइन्स र श्री एयरलाइन्सका एक–एक माउन्टेन फ्लाइट भैरहवा ‘डाइभर्ट’ भएका छन् ।



Source link

एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति 


काठमाडौँ । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सिइओ एलन मस्क विश्वकै धनी व्यक्ति बनेका छन् । मस्क सन् २०२५ मा विश्वकै सर्वाधिक सम्पत्ति हुने व्यक्ति बनेका हुन् । 

अमेरिकी म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको सन् २०२५ को विश्वका धनाढ्यको सूचीमा मस्क पहिलो नम्बरमा परेका छन् । फोर्ब्सका अनुसार हाल मस्कको कुल सम्पत्ति ३ खर्ब ४२ अर्ब अमेरिकी डलर रहेको छ ।

यसो त मस्क यसअघि पनि विश्वको धनाढ्य व्यक्तिको सूचीमा पहिलो नम्बरमा परिसकेका थिए । तर, केही महिनाअघि अमेरिकामा टेस्ला कारको बजार प्रभावित हुँदा उनले केही हप्तामै ठूलो सम्पत्ति गुमाउनुपरेको थियो । तर, हाल भने मस्कको सम्पत्ति पुनः बढ्न थालेको छ । 

टेस्लाको सेयर भाउ बढ्न थालेपछि मस्क पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनी टेस्लासँगै रकेट निर्माता कम्पनी स्पेस एक्स, आर्टिफिसियल इन्टिलिजेन्स स्टार्टअप एक्सएआई लगायत सात कम्पनीका सञ्चालक समेत हुन् ।



Source link

बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६०० रुपैयाँले घटेर एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला २०२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।



Source link

लोकल काँक्रो प्रतिकिलो ६० रुपैयाँमा किनबेच हुँदै, अन्य तरकारी तथा फलफूलको मूल्य कति ?


काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भइरहेको छ ।

बुधबार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५०, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु १२, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु १२, काउली (स्थानीय) प्रतिकिलो रु ५०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३५ तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ७० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु १०० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरीको साग प्रतिकिलो रु ६०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु २००, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २७०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १२०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १२०, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु २००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।



Source link

नेपाल राष्ट्र बैंक र आइएफसीद्वारा नेपालमा डिजिटल वित्तीय सेवाहरूको प्रभावसम्बन्धी प्रतिवेदन सार्वजनिक


काठमाडौँ । डिजिटल वित्तीय सेवाहरूले नेपालको वित्तीय क्षेत्रमा परिवर्तन ल्याउँदै वित्तीय समावेशीकरण र आर्थिक वृद्धिलाई अगाडि बढाइरहेको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको प्रतिवेदनले उल्लेख गरेको छ ।

प्रतिवेदनले दुई प्रमुख परियोजनाहरू, जापान र संयुक्त अधिराज्यका सरकारहरुको सहयोगमा सञ्चालित वित्तीय सेवाहरूमा पहुँच, र कोरियाली सरकारको सहयोगमा सञ्चालित नेपालमा डिजिटल वित्तीय सेवाहरूमार्फत नेपालको डिजिटल वित्तीय सेवाहरूको विस्तारमा भएको उल्लेखनीय प्रगतिमाथि प्रकाश पार्दछ । प्रतिवेदनले राष्ट्रिय भुक्तानी प्रणाली विकास रणनीति (एनपीएसडीएस), खुद्रा भुक्तानी रणनीतिको कार्यान्वयन र प्रभावकारी विद्युतीय भुक्तानी कारोबारलाई, विशेषगरी सेवाबाट बञ्चित समुदायहरूका लागि सहज बनाएको डिजिटल भुक्तानी प्लेटफर्महरूको वृद्धि लगायतका प्रमुख कोसेढुङ्गाहरूमाथि प्रकाश पार्दछ ।

‘डिजिटल वित्त एउटा गतिशील र द्रुत गतिमा विकसित हुँदै गइरहेको क्षेत्र हो । यस प्रतिवेदनले वित्तीय संस्था र नियामकहरूलाई डिजिटल वित्त विकासको सिंहावलोकन प्रदान गर्दछ, साथै नेपालको वित्तीय सेवा उद्योगका लागि स्वस्थ र दिगो डिजिटलाइजेसन यात्रालाई प्रवद्र्धन गर्न मद्दत गर्ने अन्तर्दृष्टिहरू प्रदान गर्दछ,’ दक्षिण एसियाका लागि आइएफसीका प्रबन्धक ग्रेगरी स्मिथले भने, ‘राष्ट्र बैंकसँगको साझेदारीमा हाम्रो लक्ष्य डिजिटल वित्तीय प्रणालीलाई सुदृढ पार्नु, वित्तमा पहुँच बढाउनु र सबैका लागि आर्थिक वृद्धिलाई अगाडि बढाउनु हो।’

विगतको एक दशकमा द्रुत इन्टरनेट विस्तार, प्राविधिक नवप्रवर्तन र विद्युतीय भुक्तानीको बढ्दो प्रयोगका कारण नेपालको वित्तीय प्रविधिमा प्रगति देखिएको छ । यी विकासक्रमहरूले वित्तीय परिदृश्यलाई नयाँ आकार दिने काम गरेका छन्, जसले गर्दा व्यवसाय र व्यक्ति दुवैका लागि नयाँ अवसरहरू सिर्जना भइररहेका छन् । उदाहरणका लागि, आर्थिक वर्ष २०१९-२० र आर्थिक वर्ष २०२१-२२ को अन्तिम महिनाका तथ्याङ्कहरूलाई तुलना गरेर हेर्दा डिजिटल भुक्तानी १२५ प्रतिशतले बढेको देखिन्छ, जुन रु २८० खर्ब (२१ बिलियन अमेरिकी डलर) बाट बढेर रु ६२० खर्ब (४७ बिलियन अमेरिकी डलर) पुगेको थियो ।

‘डिजिटल वित्तीय सेवाहरूले वित्तीय समावेशीकरण सम्भव बनाउन, लागत घटाउन र दक्षतामा सुधार ल्याउन ठूलो सम्भावना प्रदान गर्दछन् । आइएफसीसँगको हाम्रो लामो समयदेखिको साझेदारीले यी अत्यावश्यक सेवाहरूलाई प्रत्यक्ष रूपमा र प्रशासन तथा निजी क्षेत्रसँगको साझेदारी मार्फत सबै नेपालीहरूका लागि थप समतामूलक वित्तीय भविष्य सिर्जना गर्न धेरै व्यक्तिहरुसम्म पुर्‍याउन मद्दत गर्नेछ,’ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने ।

प्रतिवेदनले डिजिटल वित्तीय सेवाहरूमा भएको उल्लेखनीय प्रगतिमाथि प्रकाश पार्दै डिजिटल पूर्वाधार, वित्तीय साक्षरता र साइबर सुरक्षामा बढ्दो लगानी सहित विकासका अवसरहरू पहिचान गरेको छ । यो प्रगतिले प्रत्येक नागरिक डिजिटल वित्तीय सेवाहरूको प्रयोगमा आत्मविश्वासका साथ संलग्न भई त्यसबाट लाभ उठाउन सक्ने कुरा सुनिश्चित गर्नेछ ।



Source link

जडीबुटी कम्पनीमा २८ करोडको क्षति, उत्पादन सबै ठप्प ! 


काठमाडौँ । चैत १५ गते (शुक्रबार) राजावादीको आन्दोलनमा गएका आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा २८ करोड बराबरको क्षति भएको पाइएको छ । कम्पनीले गरेको क्षतिको प्रारम्भिक मूल्यांकन अनुसार सो दिन कम्पनीमा २८ करोड बराबरको क्षति भएको पाइएको हो । 

सो दिन कम्पनीको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएपपी) सुविधासहितका दुई भवनमा क्षति पुगेको छ । 

त्यसबाहेक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, उपकरण, फर्निचर, कागजात, प्याकेजिङमा प्रयोग हुने सिसि लगायतका सामाग्री नष्ट भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कम्पनी परिसरमा रहेका एक दर्जन बढी गाडी र मोटरसाइकलसमेत जलेर नष्ट भएका छन् ।

२०३८ सालमा स्थापित भएर सरकारको स्वामित्वमा रहेको उक्त कम्पनीले सन्चो लगायत विभिन्न औषधि उत्पादन गर्ने र जडीबुटीहरुको संकलन र प्रशोधन गर्दै आएको थियो । तर, १५ गते आन्दोलनका क्रममा भएको क्षतिले हाल कम्पनीको सबै उत्पादन बन्द भएको छ । क्षतिपछि कम्पनी पुरानै लयमा फर्कने आशाका साथमा सरसफाइ तथा पुनर्स्थापनाको काम भइरहेको कम्पनीले जनाएको छ ।



Source link

तीनकुने घटनाः ज्यान गुमाएका रजक र महर्जनको परिवारलाई मीन बहादुर गुरुङद्वारा आर्थिक सहयोगको घोषणा


काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले चैत १५ गतेको ‘तीनकुने घटना’ मा ज्यान गुमाएका दुईजनाको परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन् । गुरुङले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजक र सविन महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् । 

गुरुङले सुरेश रजकको परिवारलाई ५ लाख रुपैयाँ र सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ आर्थिक राहत प्रदान गर्ने घोषणा गरेका छन् । 

चैत १५ गते आन्दोलनका क्रममा तोडफोड र लुटपाट गर्नेबाट थप क्षति हुनबाट कोटेश्वरको भाटभटेनीलाई जोगाउने सुरक्षा गार्डसहित ५० बढी कर्मचारीलाई सम्मान गर्दै गुरुङले रजक र महर्जनको परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका हुन् ।

सोही कार्यक्रममा भाटभटेनीले १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई ५ लाख रुपैयाँ नगद पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरेको छ । त्यसबाहेक भाटभटेनीले लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अन्य कर्मचारीहरुलाई पनि पुरस्कार र सम्मान प्रदान गरेको छ ।



Source link

एक्यानको दुई दिने ‘प्रि बजेट डिस्कसन अन ट्याक्सेसन’ कार्यक्रम सम्पन्न (तस्विरहरू)


काठमाडौँ । नेपाल चार्टर्ड एकाउण्टेण्टस् संघ (एक्यान)को दुई दिने ‘प्रि बजेट डिस्कसन अन ट्याक्सेसन’ कार्यक्रम सम्पन्न भएको छ । चैत १८ र १९ गते आयोजना गरिएको उक्त कार्यक्रम सम्पन्न भएको हो ।

पहिलो दिन आइटि आउट सोर्सिङ्ग एण्ड डिजिटल सेक्टर र दोश्रो दिन फाइनान्सिएल सेक्टरका विषयमा छलफल भएको थियो । कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्था, लाइफ/नन लाइफ इन्स्योरेन्स, ब्रोकर कम्पनी र एक्यानका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । बाँकी तस्विरमा हेर्नुहोस्: 

 



Source link

लघुवित्त वित्तीय संस्थाको यात्रा र लघुवित्तमा जोखिम वृद्धि हुनुको कारण


काठमाडौँ । नेपालका लघुवित्तका पिता डा. हरिहर देव पन्त भनेर चिनिन्छन् । ग्रामीण क्षेत्रका विपन्न गरीव घरपरिवारहरुमा लघुवित्त कार्यक्रम मार्फत आर्थिक विकास, सामाजिक विकास तथा मानसिक विकास गराउन विगत ३ दशकदेखि विकट ग्रामीण क्षेत्रमा वित्तीय कार्यक्रम विस्तार गर्नका लागि डा. हरिहर देव पन्तले वि. सं. २०४३ सालमा बंगलादेशको ग्रामीण बैंकको अवलोकन भ्रमण गर्नु भएको थियो ।

त्यहाँ उहाँले मोहम्मद युनुसद्वारा प्रतिपादन गरी संचालन गरिएको ग्रामीण बैंक वित्तीय प्रणाली कार्यक्रमको अवलोकन गर्ने अवसर प्राप्त गर्नु भएको थियो । यो भ्रमणले उहाँमा नेपालमा पनि गरीव विपन्न परिवारहरु रहेको हुँदा यो कार्यक्रम नेपालमा पनि संचालन गर्न सकिने निक्र्यौल गर्नु भयो । यसै भ्रमणले नै उहाँमा नेपालमा पनि लघुवित्त कार्यक्रम संचालन गर्ने ईच्छा जागृत भयो ।

सोहि इच्छा अनुसार वि. सं.  २०४७ साल चैत्र १७ गते निर्धन नामक गैर सरकारी संस्थाको समाज कल्याण परिषदमा दर्ता गर्नु भयो । त्यसै समयमा निर्धन संस्थाले रुपन्देही जिल्लाको सिक्टहन गा. वि. स. को बिर्ता भन्ने गाउँमा देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी पहिलो शाखा कार्यालय खोली वि. सं.  २०४९ साल माघ १७ गतेदेखि २ जना कर्मचारीहरु फिल्डमा राखी कार्यक्रम सुरु गर्नु भयो । यो संस्थाले वि. सं. २०४९ साल चैत्र १ गते रुपन्देही जिल्लाको सिक्टहनमा बिना धितो सामुहिक जमानीमा प्रथम कर्जा वितरण गरी देशमै पहिलो लघुवित्त संस्थाको रुपमा स्थापित गर्नु भएको थियो ।

त्यसपछि देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरी वि.सं.  २०४९ साल चैत्रमा नेपालमा पहिलो पटक विधिवत रुपमा लघुवित्त कार्यक्रमको प्रादुर्भाव भयो । ‘लघुवित्त कार्यक्रमको मूल मर्म अनुसार गरीबभन्दा गरीबमा जानु पर्ने, दोहोरोपना हुने गरी कार्य गर्न नहुने र उद्यमशीलता विकासमा जोड दिँदै गएमा एक हदसम्म गरीबी कम गर्न सकिन्छ ।’ भन्ने भनाई अनुरुप बैंक तथा वित्तीय संस्थाहरुसँग पहुँच नभएका र अत्यन्त विपन्न परिवारका महिलाहरुलाई आफ्नो लक्षित वर्ग बनाई बिना धितो सामूहिक जमानीमा आय आर्जन गर्न कर्जा उपलब्ध गराई नेपालमा ग्रामीण बैंक वित्तीय प्रणालीको सुरुवात भएको थियो ।

त्यसपछि देशभरिका गरिबलाई लघुकर्जा सेवा पुर्याउने उद्देश्यले नेपालको ५ वटै विकास क्षेत्रमा २०४९-२०५३ सालसम्म ५ वटा ग्रामीण विकास बैंक स्थापना भयो । २०५० साल पश्चात ग्रामीण बैंक बंगलादेशको अनुशरण गर्दै ४७ वित्तीय मध्यस्थताको कार्य गर्ने गैरसरकारी संस्थाहरु नेपाल राष्ट्र बैंकमा दर्ता गरी लघुवित्त कार्यक्रम शुरु भयो । २०६३ सालमा वाफिया पश्चात वित्तीय मध्यस्थता कार्य गर्ने गैर संस्थालाई अनुमति दिन रोकियो ।

नेपाल सरकारले २०६५ बैशाख २२ गते राष्ट्रिय लघुवित्त नीति,२०६४ जारी गर्यो जसमा लघुवित्त सेवालाई परिभाषित गरेको छ । दीर्घकालीन रुपमा लघुवित्त सेवाको सहज आपूर्तिका लागि स्रोत साधन उपलब्ध गराउन राष्ट्रिय लघुवित्त विकास कोषको स्थापना गर्ने, लघु वित्तप्रदायक संघ/संस्थाको संस्थागत विकासका लागि समयानुकूल नियमन तथा सुपरिवेक्षण गर्न छुट्टै निकायको गठन गर्ने विषय उल्लेख भयो ।

२०७०/०७१ को मौद्रीक नीतिमार्फत् वित्तीय मध्यस्थताको कारोबार गर्ने गैह्रसरकारी संस्थालाई २०७२ को असारमसान्तसम्म ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थामा परिवर्तन भइसक्नुपर्ने व्यवस्था गर्यो । तर २०७२ सालको विनासकारी भूकम्पको कारण त्यसलाई २०७२ पुससम्मलाई समय थपियो । अन्ततः २०७६ असार मसान्तसम्म सम्पूर्ण वित्तीय मध्यस्थताको कारोबार गर्ने गैरसरकारी संस्था ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थामा परिणत भईसकेका थिए ।

२०७६ पुस मसान्तसम्म ४ थोक लघुवित्त कारोबार गर्ने लघुवित्त वित्तीय संस्था र खुद्रा लघुवित्तको कार्य गर्ने ८६ लघुवित्त वित्तीय संस्था गरी राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्था ९० पुगिसकेका थिए । त्यपछि नेपाल राष्ट्र बैकले वित्तीय संस्थाको पुंँजि र कार्यक्षेलाई दृष्ट्रिकोण गर्दै आगामी २ वर्षभित्र लघुवित्त संस्था मर्जर/प्राप्ती भएर सबल सक्षम संस्थाको रुपमा स्थापना हुनुपर्ने निति कायम गरको थियो ।

हाल लघुवित्त वित्तीय संस्थामा जोखिम वृद्धि हुनुको कारण र समयावधि

जब नेपालमा भएका ग्रैरवित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले भटाभट ईजाजत लिइ दर्ताको लागी वि. स. २०७६ पुस मसान्तसम्म गरिएको निर्देशन नै घातक भएको मानिन्छ भने अर्को तर्फ लघुवित्त वित्तीय संस्थामा आवद्ध भएका तथा ऋण कारोबार गरिरहेका सदस्यहरुको पूर्ण विवरण सहितको सुचना केन्द्रको समयमा नभएको व्यवस्थापनले पनि लघुवित्त क्षेत्रको नियन्त्रण नभएको देखिन्छ । यस अवधिमा जव नेपालमा ८६ वटा खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाले आफ्नो व्यावसाय अस्वस्थ रुपमा विस्तार गर्न र सञ्चालक समितिलाई खुसि बनाउन प्रतिस्पर्धात्मक तरिकाले कर्मचारीलाई लक्ष्य दिई ऋण लिने सदस्यको ऋणको भार वा के कति संस्थाबाट ऋण लिएको छ भन्ने विवरण नलिने, निजले सञ्चालन गरिरहेको परियोजना, निजको नगद प्रवाह वा ऋण तिर्न सक्ने क्षमता र निजको वित्तीय अनुशासन जस्ता कुनै पनि कुराहरु गम्भिरतका साथ विश्लेषण तथा वास्तविक रुपमा मुल्याङ्कन नगरी कर्जा लगानी गरियो र ऋण लिने सदस्यले पनि प्राप्त भएको रकम अनुदान तथा पछि तिरौला नि भनेर आफ्नो कुनै व्यावसायको क्षमता तथा भविष्यको निक्यौल नगरी जब सदस्यता दिने होडबाजी चल्यो त्यसले गर्दा आज लघुवित्त वित्तीय संस्थाको व्यावसाय सिथिल र जोखिमपूर्ण देखिएको छ ।

यो व्यावसाय बिग्रनुको अर्को मुख्य कारण भनेको नेपालमा सरकार अस्थिीर भई बजारमा सामाग्रीको मुल्यदरमा भएको परिवर्तन तथा बिक्रिमा आएको उतारचढाब पनि हो भने, अर्को तर्फ व्यावसाय तथा कुनै न कुनै कार्य गरी आफ्नो ऋणको दायित्व घटाउछु भनि लागिपरेका ग्राहक सदस्य तथा निजका परिवारलाई केही सिमित अमुख व्यक्तिले लघुवित्त वित्तीय संस्थाबाट वित्तीय सेवा लिइरहेका गरिब तथा सोझा जनताको जमातलाई अनुमान गरी व्याक्तिगत स्वार्थ पुरा हुने र आफु हाबि भई राजनैतिक नेतृत्व गर्ने सपनामा विभिन्न संघर्ष समितिको स्थापना गरी निज ग्रामिण क्षेत्रमा बसोबास गरीरहेका सदस्यहरुलाई चरम शुल्क लिई आफ्नो सदस्यता लिएमा निजको ऋण मिनाह गरिदिने भन्ने भरमपूर्ण अभिव्यक्तिले सोझा जनता तथा निजका लाभान्वित व्याक्तिहरु पनि व्यावसाय तथा रोजगार छाडेर उक्त संघर्ष समितिमा आवद्ध भएका कारणले आज ऋणको भार अधिक भई निज ग्राहक दोधारमा परेको वा व्यावसाय नियमित नभएको र खाली हात बसिरहेको पाईन्छ ।

गाउँघरतिरका कतिपय सन्दर्भ यस्ता पनि थिए कि लघुवित्तका कर्मचारीहरूले भन्दा समूहमा बस्ने सदस्यहरूले लघुवित्तबारे बढी बुझे-जानेका भेटिन्थे । अनि गाउँघरका टाठाबाठा समूह सदस्यहरूले दर्जनौं लघुवित्तबाट कर्जा लिन सफल पनि भए । त्यही प्रवृत्तिको चेपुवामा सीधा-साधा मानिस परेका छन् । फेरि लघुवित्त आफैँमा चुनौतीपूर्ण व्यवसाय पनि हो । किनभने अरू बैंक तथा वित्तीय संस्थाहरूले पर्याप्त धितो सुरक्षण गरेर कर्जा प्रवाह गर्दछन् । अनि उनीहरूले सकार गर्ने धितोको दोहोरो प्रयोगको कुनै गुञ्जायसै हुँदैन । तर, लघुवित्तमा बिना धितो कर्जा प्रवाह गरिने हुँदा एउटै व्यक्तिले धेरै लघुवित्तबाट कर्जा लिने सम्भावना रहन्छ । जसलाई दोहोरोपना भनिन्छ । यो दोहोरोपना नै लघुवित्तको मुख्य समस्या हो । विगतमा यस्तो दोहोरोपनालाई नियन्त्रण गर्ने परिपक्व संयन्त्र पनि थिएन र कर्जा सूचनाको व्यवस्थालाई पनि कडाइ गरिएको थिएन । यो डाटा सेन्टरमा आधारित नभई केवल कागजीपत्रमै सीमित थियो । फलस्वरूप अस्वस्थ प्रतिस्पर्धाको चंगुलमा लघुवित्त कम्पनीहरू आफैँ अल्झिंदै गईरहेका छन् । त्यसैलै गर्दा आजभोली लघुवित्तमा काम गर्ने जनशक्तिको निष्ठा, नियत र क्षमतामा पनि विभिन्न प्रश्नहरु उब्जिएको पाईन्छ । यो क्षेत्र बिग्रिनुलाई पनि के भन्न सकिन्छ भने नेपाल राष्ट्र बैंकले समय समयमा निर्देशन गरी परिवर्तन गर्ने बचत तथा कर्जाको सिमा, ब्याजदर तथा अन्य नितिगत व्यवस्था पनि यसको जोखिमको अंश हो ।

के लघुवित्तको अवस्था दिनानुदिन जोखिम हुँदै छ त ?

हो यदि लघुवित्त वित्तीय संस्था भनेको सामाजिक बैंकिङ प्रणाली भएकाले र यसको समाजका हरेका क्षेत्रमा महत्वपूर्ण भुमिका तथा आवश्यकता हुने भएकाले यदि समय यस्तै हुने हो र सरकार तथा नेपाल राष्ट्र बैंकले यसको समयमा उपचार नगर्ने हो भने लघुवित्त क्षेत्र दिनानुदिन जोखिमको सिकार बन्न सक्छ तथापी उसले जनताको बचत तथा कर्जाको प्रत्याभुति गर्नका लागी आफ्नो कानुनी प्रक्रियामा जान सक्छ र जसले धेरै जना व्याक्तिहरु कालोसुचिमा पर्नेछन् र जसले नेपालको वित्तीय क्षेत्रको अनुशासनलाई पनि भंँग गरि नेपाली जनताको इज्जत तथा देशको अन्तराष्ट्रिय मुलुकले हेर्ने दृष्ट्रिकोणमा पनि नकारात्मक असर पर्न सक्छ ।

आगामि दिनमा लघुवित्त वित्तीय संस्थाको यात्रा वा सुधारात्मक कदम के हुन सक्छ ?

साँच्चिकै लघुवित्त वित्तीय संस्थालाई सुधार गर्ने हो र यसको मर्म तथा उद्देश्य अनुरूप विपन्न वर्गमा वित्तीय पहुँच विस्तारको भरपर्दो र दरिलो माध्यम मान्ने हो भने अव लघुवित्त र अन्य बैंकिङ सेवामा विशिष्टीकरण गर्नु अति जरूरी छ । लघुवित्तको संख्यात्मक वृद्धिसँगै लघुवित्त कम्पनीहरूलाई व्यवसाय वृद्धिको चुनौती पनि थपिँदै गएको छ जसले नयांँ व्यावसाय थप गर्न असहज भई वित्तीय विवरणहरु ऋणात्मक संकेतमा परेका छन् ।

यसरी हेर्दा अहिले लघुवित्तको ब्याजदरलाई महँगो भन्न मिल्ने अवस्था छैन । यद्यपि लघुवित्तहरूले लिन पाउने ब्याजदर तथा सेवा शुल्कलाई पनि राष्ट्र बैंकले क्याप लगाएकाले उनीहरूको औसत लागतमा निश्चित प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्ने हो भने पनि धेरै लघुवित्त अझै नोक्सानमा रहन्छन् ।

अहिलेको विद्यमान ब्याजदरकै तुलना गर्ने हो भने लघुवित्तको ब्याजदर ठुला विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदरभन्दा कम देखिन्छ । त्यसैले केही अमूक लघुवित्त कम्पनीहरूको व्यवहारलाई नै आधार मानेर विना धितो कर्जा प्रवाह गर्ने लघुवित्तहरूलाई साहुकार वा मिटरब्याजी सुदखोरको व्यवहार गरिनु वाञ्छित हुँदैन । किनकि लघुवित्तले घरघरमा पुगेर वित्तीय सेवा प्रवाह गरेको हुन्छ भने लघुवित्तको लगानी स-सानो रूपमा छरिने लगानीमा भौगोलिक दूरी बढी हुने भएकोले संचालन लागत पनि अन्य वित्तीय संस्थाहरूको तुलनामा बढ्न जान्छ । त्यसैले अन्य बैंकहरूको तुलनामा लघुवित्तको ब्याजदर केही बढी हुन पुग्छ । तथापि नियामक निकायले पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरूले लिने ब्याजदर १५ प्रतिशतमा सीमित गरिएको छ । त्यसमा थप १.३ प्रतिशतसम्म सेवाशुल्क लिन पाउने व्यवस्था गरिएको छ ।

विश्वभरका लघुवित्त संस्थाहरुको उद्देश्य, कार्यपद्धति र विभिन्न अभ्यासकर्ताको अध्ययन गर्ने हो भने निम्नानुसारको दृष्टिकोण तथा अवधारणाबाट लक्षित वर्गमा आर्थिक, सामाजिक तथा वातावरणीय प्रभाव हुने गरी लघुवित्त सेवा प्रवाह भएको पाउँछौं ।

१. साना कर्जा लगानीको माध्यमबाट गरिबी निवारण ।
२. कृषि वित्त, ग्रामीण वित्त तथा मूल्य श्रृंखला आधारित वित्तीय सेवा ।
३. महिला सशक्तिकरणका लागि वित्तीय सेवा ।
४. लघु उद्यम लगानीका लागि वित्तीय सेवा ।
५. दिगो वित्तीय प्रणालीमा आधारीत लघुवित्त सेवा ।
६. समूदायमा आधारीत लघुवित्त सेवा ।
७. दिगो विकासको लक्ष्य, वित्तीय समावेशिकरण र समानता सहितको सेवा । आदी ।

यदि लघुवित्तको जोखिमलाई समयमै सेफ लेन्डिङ्ग गर्ने हो भने सरोकारवाला निकायले गम्भिर रुपमा सोच्नपर्ने बेला आएको छ । लघुवित्तको प्रभावकारीता मापन गर्न सम्पत्तिको वित्तीय प्रतिफल जस्तै लगानीको सामाजिक प्रतिफल हेर्ने तथा मुल्यांकन गरिनुका साथै वार्षिक प्रतिवेदनमा समावेश गरी लघुवित्त वित्तीय संस्था समाजप्रति उत्तरदायी रहेको प्रमाणित गर्न आवश्यक छ । र ग्राहकको बचत तथा जोखिममा रहेको कर्जालाई समयमै व्यवस्थापन गर्ने नितिको निर्माण गरी जोखिम न्युनिकरण गर्नुपर्ने देखिन्छ ।

लघुवित्त क्षेत्र सुधारमा नेपाल राष्ट्र बैकले गर्नुपर्ने नितिगत व्यवस्था 

जब नेपालमा लघुवित्त वित्तीय सस्थको संख्या बृद्धि भई प्रतिस्पर्धात्मक रुपमा ग्राहक सदस्यले सदस्यता लिई बचत तथा ऋणको कारोबार गरिरहेका थिए । उक्त समयमा नेपाल राष्ट्र बैकले कर्जाको सिमा पनि १५ लाख बनाएको थियो । त्यस अवधिमा सदस्यहरु दोहोरोपना भए र लगत्तै नेपाल राष्ट्र बैकले कर्जाको सिमा ७ लाखमा कायम ग¥यो र सदस्य बढीमा २ वटा लघुवित्तमा मात्र कारोबार गर्न पाउने प्रावधानको व्यवस्था गरेपछि बिगतदेखि दोहोरोपन भई एक अर्का विभिन्न लघुवित्त वित्तीय संस्थाबाट कारोबार भएमा सदस्यको रोटेशन बन्द भएको कारणले सदस्यले व्यावसायमा थप लगानी गर्न नसक्नु र बजारमा भएको मन्दीले गर्दा यो क्षेत्र प्रभावित भएको देखिन्छ । नेपाल राष्ट्र बैंकको अदूरदर्शिताका कारण पछिल्लो समय लघुवित्त संस्थाहरूमा मनोवैज्ञानिक पीडा सृजना भएको देखिन्छ खासगरी गाभिन दबाब र हकप्रद शेयर निष्काशनमा लगाएको रोक्काका कारण ।

अब आगामि नितिमा नेपालमा वित्तीय क्षेत्रलाई सुधार गर्ने हो भने नेपालमा दुई प्रकारका बैक तथा वित्तीय संस्थाको स्थापना हुन जरुरी छ । पहिलो नम्बरमा क,ख,ग वर्गका बैक तथा वित्तीय संस्थाको कारोबारको प्रकृति मिल्ने भएकाले निजलाई मर्ज गरी क वर्षको वाणिज्य बैक बढीमा १० वटा जती र हालका घ वर्गका लघुवित्त वित्तीय संस्थालाई मर्ज गरी बढीमा १५ वटासम्म मात्र बनाई घ वर्गका लघुवित्त वित्तीय संस्थालाई १० लाख सम्म बिना धितो र २० लाखसम्म धितोमा कर्जा दिन पाउने र २० लाख भन्दा माथिको सम्पूर्ण कर्जा क वर्गको वाणिज्य बैंकले लगानी गर्न पाउने र ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई बचतमा क्याप नलगाई ग्रामिण क्षेत्रमा संकलन भएको सबै बचत संकलन गर्न पाउने नितिगत व्यवस्था गर्ने हो भने लघुवित्त वित्तीय संस्थाका दोहोरोपना भई दोधारमा परेका सदस्यहरुको ऋण एकै संस्थाले सकार गरी कर्जाको भार,व्यावसायको आम्दानी अनुसार किस्ता निर्धारण गर्ने व्यवस्था भएमा यो वित्तीय क्षेत्रको सुधार भई हालको वित्तीय मन्दिमा सहजता कायम हुन सक्ने देखिन्छ र जसले गर्दा बिगतमा ४/५ लाखको व्यावसाय गर्न धेरै संस्था धाउनु नपर्ने र दोहोरोपना पनि नभई ग्राहकले एउटै संस्थाबाट वित्तीय सेवा प्राप्त गरी एकल किस्तामा ढुक्क संग कारोबार गर्न सक्ने र हाल दोहोरोपना भएका ग्राहक सदस्यले पनि आपःनौ ऋण एउटै संस्थाले सकारेमा किस्ता तिर्न सहज भई कानुनी प्रक्रियमा पनि नगई कालो सुचीमा पर्ने सम्भवना कम हुने देखिन्छ । तर हाल बजारमा सदस्यको बहु कर्जा भार भई सानो सानो रकम विभिन्न संस्थालाई बांँडफांँड गरी भुक्तानी गर्दा न त कुनै संस्थाको किस्ता पूर्णता हुन्छ न त संस्थाको पार्टफोलियो एट रिस्क कभर हुन्छ ।

लघुवित्त क्षेत्रमा मौद्रिक नीति मार्फत सम्बोधन हुनुपर्ने विषयहरु

प्रत्येक बर्षमा नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुन्छ । वित्तीय सेवा प्रदायकको लागि यो नीति अति नै महत्वपूर्ण हुन्छ किनकि वित्तीय क्षेत्र संचालनका आधारभूत नीति यसमा उल्लेख गरिएको हुन्छ । तसर्थ कोरोना कहरको सबैभन्दा बढी प्रभाव परेको क्षेत्र लघुवित्तलाई मौद्रिक नीतिले विशेष सम्बोधन हुने नै छ भन्ने अपेक्षा गरिएको छ । मूलभूत रूपमा वित्तीय पहुँच बढाउनु त छँदैछ कोभिड-१९ बाट प्रभावित स-साना उद्यमी व्यवसायी वा स्वरोजगारहरूको जीविकोपार्जन पुनरुत्थान गर्न आवश्यक नीतिगत उपकरण अब जारी हुने मौद्रिक नीतिको मूल विषय बन्नुपर्छ ।

क. लघुवित्तको वित्तीय सहुलितमा सम्बोधन गर्ने सम्बन्धी

-लघुवित्त वित्तीय संस्थालाई सहुलियत ब्याजदरमा फण्डको व्यवस्था गर्ने र लघुवित्त वित्तीय संस्थाले पनि अन्तराष्ट्रिय वित्तीय संस्था तथा निकायबाट सहुलियत दरमा कर्जा लिन पाउने व्यवस्था मिलाउने ।

-सहुलियत दरमा प्राप्त भएको फण्डलाई लगानी गर्दा सोही अनुसारको मार्जिन राखेर गरिब तथा विपन्न व्याक्तिलाई सहुलियत दरमा कर्जा लगानी गर्न पाउने व्यावस्था मिलाउने ।

-विभिन्न समयमा भैपरी आउने प्राकृतिक प्रकोपलाई मध्यनजर गरी सहुलियत दरमा पुनर्कर्जा उपलब्ध गराउने ।

-कर्जा जोखिमलाई मध्यनजर गरी ग्राहक र निजको आम्दानीको स्रोत व्याक्तिहरु तथा लगानी भएको परियोजनाको समेतको विमा गरी जोखिम भार न्युनिकरण गर्ने व्यवस्था मिलाउने ।

-लघुवित्त संस्थाबाट संस्थागत सामाजिक उत्तरदायित्वको रकम सदस्यको हितग्राही कार्यक्रम अनुसार खर्च गर्नुपर्ने ।

-सरकारबाट लक्षित समूहका लागि उपलब्ध गराइने विभिन्न अनुदान,राहत प्याकेज तथा अन्य सहुलियतहरु लघुवित्त प्रदायक संस्था मार्फत उपलब्ध गराउने ।

ख. लगानीयोग्य कोष बढाउने सम्बन्धमा

-नेपाल सरकारले जारी गरेको राष्ट्रिय लघुवित्त नीति २०६४ मा व्यवस्था भए बमोजिम राष्ट्रिय लघुवित्त कोष स्थापना गर्ने ।

-गैरबैंकिङ्ग वित्तीय संस्थाहरुले लगानी गर्दा पनि विपन्न क्षेत्र कर्जाको व्यवस्था गर्नुपर्ने र विपन्न क्षेत्र कर्जाको परिचालन लघुवित्त सेवा प्रदायकहहरुबाट मात्र गर्ने व्यवस्था गर्ने । यसो गर्दा संस्थागत लगानी हुने हुँदा बैंक तथा वित्तीय संस्थाले लघुवित्त प्रदायकलाई आधार दरमा नबढ्ने गरी लगानी गर्ने व्यवस्था गर्ने ।

-एउटा लघुवित्त संस्थासँग बचतमा रहेको वित्तीय स्रोत अर्को लघुवित्त प्रदायकमा छोटो अवधिको लागि अन्तर संस्था लगानी गर्न पाउने सुविधा हुनुपर्ने ।

-पेन्सन बचत तथा अन्य आवधिक बचतको निरन्तरताका साथै व्यक्तिगत ऋण दिन सकिने व्यवस्था र व्यक्तिगत बचत पनि संकलन गर्ने व्यवस्था हुनुपर्ने ।

-पूँजीको आकार र वृद्धि आवश्यकता र व्यावसायिक योजना अनुसार संस्थाले तय गर्ने हुँदा सो अनुसार हकप्रद शेयर तथा अन्य वित्तीय उपकरणको निष्काशनमा सहयोग गर्नुपर्ने ।

ग. लघुवित्त सेवा प्रबर्द्धनसम्बन्धी

-समूह सदस्य तथा व्यक्तिलाई प्रदान गरिने कर्जाको सीमा समसामयिक बनाउनुपर्ने ।

-लघुवित्त क्षेत्रमा काम गर्ने कर्मचारीहरु तथा निजका परिवारलाई विमा र सहुलियत दरमा कर्जाको व्यवस्था गरी अवकाश पश्चात पेन्सनको सुरक्षित व्यवस्था मिलाउने ।

-गाभिने तथा प्राप्तिलाई अनिवार्य गरी एकद्धार प्रणलीबाट वित्तीय पहुँच बढाउन आवश्यक विविधीकरणलाई प्रबर्द्धन गर्दै उपयुक्त मिल्दा संस्थाहरु गाभिन प्रोत्साहन गर्ने ।

-अति विपन्न परिवारलाई वित्तीय पहुँचमा ल्याउन क्रेडिट फस्ट प्लस सहित व्यक्तिगत व्यवहार (अनिवार्य बचत र अनिवार्य समूह आवश्यक नपर्ने) गर्न सहुलियतपूर्ण व्यवस्था सहितको नीतिगत व्यवस्था गर्ने ।

-लघुवित्त संस्थाहरुको कार्य प्रकृति नै अन्य बैंक नपुगेका तथा अति विपन्नलाई सामाजिक मध्यस्थता सहित सेवा पुर्याउने रहेकोले यसमा लाग्ने संस्थागत कर लाई लाग्नेको आधा र समूह सदस्यको बचतको व्याज आयमा कर नलाग्ने व्यवस्था हुनुपर्ने ।

-लघुवित्तको कामको प्रकृतिसँग मिल्ने विद्युतीय कारोबारको लागि आवश्यक उपकरण तयार गरिदिने ।

-लघु बीमा लघु वित्त सेवाको एउटा महत्वपूर्ण र अभिन्न हिस्सा हो । बीमा समितिले बीमा कम्पनीहरुलाई आफूले गरेको बीमाङ्कको कम्तीमा ५ प्रतिशत लघु बीमा हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तसर्थ संस्थामा आवद्ध व्यक्तिको जीवनरक्षा र जीविकोपार्जनको सुरक्षाका लागि लघु वित्त संस्थाले बीमा गर्ने र बीमा कम्पनीहरूले लघु बीमाको पुनर्बीमा गर्ने व्यवस्था मिलाउनुपर्ने ।

-कृषि तथा अन्य सहुलियतपूर्ण कर्जा लघुवित्त संस्थाहरु मार्फत लगानी गर्दा लक्षित समूहमा पुग्न सक्ने तथा सामाजिक मध्यस्थताका माध्यमबाट क्रेडिट प्लस सेवा प्राप्त गर्ने हुँदा उपयोगी हुने ।

-सामाजिक सुरक्षा भत्ता वितरण तथा सरकारका कल्याणकारी योजनाहरु लघुवित्त संस्था मार्फत संचालन गर्ने व्यवस्था हुन ।

-सामुदायिक स्वामित्वका लागि लघुवित्तको मुख्य मर्म र अन्तर्राष्ट्रिय मान्यता अनुसार यसमा संलग्न ग्राहक सदस्यहरुको स्वामित्व कायम गर्ने नीतिगत व्यवस्था ।

-राष्ट्रिय लघुवित्त नीति, २०६४ को बुँदा ११ बमोजिम लघुवित्त सेवा प्रदायकहरुको नियमन तथा सुपरीवेक्षणका लागि अलग्गै निकाय स्थापना हुन ।
-समसामयिक परिस्थितिमा राष्ट्रिय लघुवित्त नीतिको पुनरावलोकन हुन । आदी ।

निष्कर्ष

अन्तिममा लघुवित्त वित्तीय संस्थाले वित्तीय पहुँच बढाउन तथा हालको जोखिमलाई न्युनिकरण गरी वित्तीय सेवाको विविधीकरण गर्न जरुरी छ । लघुवित्त पूर्णतः विश्वासमा आधारित वित्तीय सेवा भएकोले लक्षित वर्गको विश्वास जित्न वा कायम राख्न हाम्रो जस्तो बहुल समाजमा विविध किसिमका विश्वासयोग्य वित्तीय सेवा प्रदायक जरूरी छ जसमा सामाजिक आयाम समेत जोडिएको हुन्छ । कतिपय लघुवित्त संस्थाहरू परम्परागत सामुदायिक अभ्यासबाट उठेका छन् जुन कुरा नै विश्वासका लागि ठूलो पूँजी हो । त्यसैले लघुवित्तलाई सामाजिक बैंकिङ तथा सामुदायिक लगानी पनि भनिएको हो । अब आगामि दिनमा ग्राहक सदस्यलाई समस्या मात्र नराखी निजहरुको समस्या यथाशिघ्र समाधान तिर लागी वित्तीय क्षेत्रको समग्र जोखिमलाई न्यूनिकरण गरी यो क्षेत्रको पुर्नस्थापना गर्नुपर्ने देखिन्छ ,यदि यस कार्यमा सम्बन्धित निकाय ढिलासुस्ति तथा समयमा चांँसो नदिने हो भने संस्था,कर्मचारी,ग्राहक सदस्य तथा अन्य सम्बन्धित निकायहरु पनि जोखिममा जाने र जसले प्राकृतिक व्याक्ति पनि मानसिक बन्ने समेतको संकेत गर्दछ ।

-मातृभुमि लघुवित्त वित्तीय संस्थाका कर्मचारी प्रेम बहादुर थापाको लेख । 



Source link

एक वर्षमै ३० अर्बले बढ्यो विनोद चौधरीको सम्पत्ति 


काठमाडौँ । एक वर्षमा विनोद चौधरीको सम्पत्ति ३० अर्बले बढेको छ । नेपालका एकमात्र डलर अर्बपति चौधरी ग्रुपका अध्यक्षसमेत रहेका चौधरीको सम्पत्ति एक वर्षमा ३० अर्बले बढेको हो । 

अमेरिकी म्यागजिन फोर्ब्सका अनुसार एक वर्षमै चौधरीको सम्पत्ति सो दरमा बढेको हो । उनी फोर्ब्सको सूचीमा १७६३औँ नम्बरमा छन् । 

एक वर्षमै कुल सम्पत्ति ३० अर्बले बढेपछि चौधरीको कुल सम्पत्ति २ खर्ब ७५ अर्ब पुगेको फोर्ब्सले सार्वजनिक गरेको सन् २०२५ को धनीहरुको सूचीमा उल्लेख गरिएको छ । 

यसो त फोर्ब्सको उक्त सूचीमा चौधरीको सम्पत्ति सन् २०१८ मै १.७० अर्ब अमेरिकी डलर थियो । तर, कोरोना महामारीका कारणले चौधरीको सम्पत्ति घटेर १.४० अर्ब डलरमा पुगेको थियो । हाल भने चौधरीको सम्पत्ति २ खर्ब ७५ अर्ब पुगेको छ । 

एक वर्षमै बिनोद चौधरीको सम्पत्ति ३० अर्बले बढेको छ । योसँगै चौधरीको कुल सम्पत्ति २ खर्ब ७५ अर्ब पुगेको छ । उनी विश्वकै धनाढ्य व्यक्तिको सूचीमा १७ सय ६३औँ स्थानमा छन् । 



Source link