Category Archives: अर्थ

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति, संसद्मा निदाउनेहरुको प्रतिस्पर्धा ! 


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम  प्रस्तुत गरिरहेका छन् । 

तर, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसदमा निदाउनेहरुको प्रतिस्पर्धा चलिरहेको छ । 

नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा संसदमा धेरैजसो निदाइरहेका छन् । अझ केही त उपरखुट्टी लगाएर सुतिरहेका देखिएका छन् ।



Source link

डिजिटल बैंक स्थापना गर्ने सरकारको घोषणा


काठमाडौँ। सरकारले डिजिटल बैंक स्थापना गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

राष्ट्रपति पौडेलले सूचना प्रविधिको पूर्वाधार विस्तार गर्दै डिजिटल कारोबारलाई थप प्रभावकारी बनाइने जनाएका छन्। सरकारको यो योजनाले डिजिटल कारोबारलाई थप व्यवस्थित बनाउँदै देशलाई आधुनिक वित्तीय प्रणालीतर्फ उन्मुख गराउने प्रयासका रूपमा लिइएको छ।

योसँगै सरकारले बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनको लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ।



Source link

कांग्रेस सांसद राईलाई थप ५ दिन हिरासतमा राख्न आदलतको अनुमति


काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई थप ५ दिन हिरासतमा राख्न आदलतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

राईलाई गत शनिबार साँझ बुढानीलकण्ठ-१० कपनबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४ सय ९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

उनीबिरुद्ध पूरक अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।



Source link

सरकारको नीति तथा कार्यक्रमः सरकारी खर्चमा विनियोजन कुशलता वृद्धि गरिने


काठमाडौँ । सरकारले सरकारी खर्चमा विनियोजन कुशलता वृद्धि गरी उच्च प्रतिफलयुक्त आयोजनामा लगानी केन्द्रित गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले भने, ‘अनावश्यक सार्वजनिक संरचना खारेज गर्ने, गाभ्ने वा पुनर्संरचना गरिनेछ । चालु खर्च वाञ्छित सीमामा राखी, सार्वजनिक क्षेत्रको लगानीलाई निजी क्षेत्रको लगानी प्रवर्द्धन तथा परिपूरक हुने गरी केन्द्रित गरिनेछ ।’
सरकारले औद्योगिकीकरण, लगानी प्रवर्द्धन र अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नेगरी कर प्रणालीमा संरचनात्मक रूपान्तरण गर्नाका साथै कर प्रशासन सुधार र सूचना प्रविधिको प्रयोगबाट करदातामैत्री राजस्व प्रणाली विकास गर्ने भएको छ ।
नीति तथा कार्यक्रममा भनिएको छ, ‘वैदेशिक सहायतालाई विकासको आवश्यकता र प्राथमिकताका आधारमा राष्ट्रिय प्रणालीमार्फत परिचालन गरिनेछ । वैदेशिक लगानीलाई उच्च प्रतिफलयुक्त औद्योगिक तथा भौतिक पूर्वाधार आयोजनामा केन्द्रित गरिनेछ ।’
राष्ट्रपति पौडेलले जलवायु वित्त कोषमा नेपालको पहुँच, नवीन प्रविधिको विकास, निजी क्षेत्रको लगानी तथा अर्थतन्त्रको उत्पादनशीलता अभिवृद्धि हुनेगरी सहायता परिचालन गरिने उल्लेख गरे । यस्तै, परियोजना लगानीको आवश्यकता पूरा गर्न वैकल्पिक वित्त कोष स्थापना गरिने उल्लेख गरे ।
सरकारले वित्त परिचालनसम्बन्धी विधेयकलाई संसद्को यसै अधिवेशनबाट पारित गर्नाका साथै सोह्रौँ योजनाको रणनीतिअनुरूप सूचना प्रविधि, पर्यटन, कृषि, ऊर्जा र हरित औद्योगिकीकरणलाई रोजगारीमुखी आर्थिक वृद्धि एवम् संरचनात्मक रूपान्तरणका नयाँ आधारका रूपमा कार्यान्वयन गर्दै सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्नेतर्फ जोड दिइने जनाइएको छ ।
सन् २०२६ मा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको सङ्क्रमणलाई सहज तुल्याउने रणनीति पनि लागू गर्ने भनिएको छ । ‘व्यापार सम्झौता विस्तार, वैकल्पिक वित्त र वस्तु विनिमयसम्बन्धी कानुन निर्माण गरिनेछ । नवीन वित्तीय उपकरणमार्फत सम्भावना भएका सार्वजनिक पूर्वाधारमा निजी पुँजी आकर्षित गर्ने र धितोपत्र बोर्ड सुदृढीकरण तथा स्टक एक्सचेन्ज पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिने छ’, राष्ट्रपति पौडेलले उल्लेख गरे ।
उनले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गरिने पनि उल्लेख गर्नुभयो । ‘दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गरिनेछ । बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिनेछ । सूचना प्रविधि पूर्वाधार विस्तार गरी ‘डिजिटल’ अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ’, राष्ट्रपति पौडेलले भने ।



Source link

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, के-के छन् योजना ? (पूर्णपाठ)




Source link

बैंक ब्यालेन्स देखाउन भन्दै ६१ लाख ट्रान्सफर गर्न लगाएर फरार हुने दुईजना पक्राउ 


काठमाडौँ । बैंक ब्यालेन्स देखाउ भन्दै ६१ लाख खातामा हाल्न लगाएर भाग्ने दुई जना पक्राउ परेका छन् । प्रहरीले काभ्रेको बनेपा नगरपालिका-२ घर भई भक्तपुर बस्दै आएका २० वर्षीय विशाल घिमिरे र रौतहटको गरुडा नगरपालिका-४ का १८ वर्षीय प्रिन्स कुमारलाई पक्राउ गरेको हो । 

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनीहरुले एक व्यक्तिलाई विद्यार्थी भिसामा अमेरिका जान लागेको भन्दै झुक्याएर बैंक ब्यालेन्स देखाउन लगाएर र खातामा पैसा देखेपछि आफ्नो खातामा जम्मा गर्न लगाएका थिए । तर, खातामा पैसा आएपछि उनीहरुले सो रकम अर्को खातामा ट्रान्सफर गरेर फरार भएको प्रहरीले जनाएको छ ।

काठमाडौँको सुनधाराबाट पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।



Source link

नयाँ वर्ष २०८२ लाई सेयर बजारको ‘ग्रिन सिग्नल’, नेप्से २७.१४ अंकले बढ्यो, कारोबार रकम ८ अर्बमाथि


काठमाडौँ । नयाँ वर्षको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ बिन्दुमा पुगेको हो ।

मंगलबार नेप्सेमा ३ सय २० कम्पनीको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ५४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार बलेफी हाइड्रोपावरको भएको छ । यस कम्पनीको २ अर्ब १ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मंगलबारको बजारमा कर्पोरेटसहित ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, बलेफी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।



Source link

सर्वोच्चको आदेशपछि गभर्नरको रेसबाट देउवाका उम्मेदवार ‘आउट’ !


काठमाडौँ । गभर्नरको उमेरहद हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले गभर्नर नियुक्तिमा उमेरहद हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । 

गभर्नरको नियुक्तिका लागि उमेरदह हटाउने सरकारको निर्णय बदनियतपूर्ण रहेको भन्दै उक्त निर्णय खारेज गर्न अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले गत आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले निर्णय तत्काल कार्यान्वयन नगर्न अर्थ मन्त्रालयका नाममा आदेश दिएको छ । रिटमा ‘अर्थसम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३’ संशोधन गर्दै गरिएको उमेरहद हटाउने सरकारको निर्णय नियतबस गरिएको दाबी गरिएको थियो । 

यसअघि राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि न्यूनतम ३० वर्ष र अधिकतम ६५ वर्ष उमेरहद तोकिएको थियो । तर, हालै सरकारले उक्त उमेरहद हटाउने निर्णय गरेको थियो । उमेरहद हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिँदै अदालतले पक्ष विपक्षसँग लिखित जवाफ माग गरेको छ । 

अदालतको यस्तो आदेशसँगै गभर्नरको रेसबाट नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाका उम्मेदवारसमेत रहेका राजेन्द्रकिशोर क्षेत्री ‘आउट’ भएका छन् । 



Source link

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपैयाँ १२ पैसा र बिक्रीदर १८१ रुपैयाँ ९१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९९ रुपैयाँ १६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४ रुपैयाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७७ पैसा र बिक्रीदर २० रुपैयाँ ८६ पैसा तोकिएको छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७ रुपैयाँ ७३ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

विदेशी मुद्राको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।



Source link

ह्याकरसँगको मिलेमतोमा इजी सर्भिस नामक कम्पनीको गैरकानूनी धन्दा, पोल खुलेपछी माफी मागेर उम्कन खोज्दै !  


काठमाडौँ । ह्याकरसँगको मिलेमतोमा इजी सर्भिस नामक कम्पनीले गैरकानूनी धन्दा चलाइरहेको पाइएको छ । कम्पनीले प्रयोगकर्ताको मोबाइलमा असम्बन्धित लिङ्क पठाएर गैरकानूनी काम गरिरहेको पाइएको हो ।

हाल कम्पनीले ‘इएस अलर्ट’ बाट प्रयोगकर्ताको मोबाइलमा असम्बन्धित र शंका लाग्दो लिंक पठाइरहेको छ । 

कम्पनीले आधिकारिक दाबी गर्ने ‘इएस अलर्ट’बाट खल्ती खाता ‘सस्पेन्ड’ हुन लागेको जानकारी दिँदै आफ्नो पहिचान सुचिश्चित गर्न शंका लाग्दो लिंक पठाइरहेको छ । बैशाख २ गते मात्रै यस्तो म्यासेज सय बढी प्रयोगकर्तालाई पठाइएको भेटिएको छ । 

तर, इजी सर्भिस नामक कम्पनीबाट आएको उक्त म्यासेजमाथि शंका लागेपछि केहीले प्रहरीमा उजुरीसमेत गरेका थिए । त्यसपश्चात् आफ्नो गैरकानूनी धन्दाको पोल खुल्ने देखेपछि कम्पनीले पुनः सचेत गराएको शैलीमा प्रयोगकर्ताहरुलाई दोस्रो म्यासेज पठाइरहेको छ । जसमा लेखिएको छ, ‘हालै आएको एसएमएस सन्देशमा शंका लाग्दो लिंक भएकोले कृपया क्लिक नगर्नुहोस् । हामी यो समस्यामाथि कारवाही गरिरहेका छौँ ।’  

यता प्रविधिविज्ञ अझ स्वयम्‌ प्रहरीले पनि यसलाई ‘स्क्याम’ भनेका छन् । यसरी पठाइएको उक्त लिंक क्लिक गर्ने बित्तिकै मोबाइलमा भएको सम्पूर्ण विवरण ह्याकरको कब्जामा पुग्ने र वालेट वा बैंक खाताबाट पैसा चोरी हुने प्रहरीले जनाएको छ । यसर्थ यस्ता शंका लाग्ने कुनै पनि लिंक नखोल्न वा क्लिक नगर्न प्रहरीले अपिलसमेत गरेको छ ।

केही दिनअघि यसरी नै इसेवाका नाममा यस्तै म्यासेजमा लिंक पठाएर ह्याकरले लाखौँ चोरी गरेको घटना बाहिरिएको थियो । हाल इजि सर्भिसले पठाएको म्यासेज र लिंक पनि सोही प्रकृतिको भेटिएकोले यसमा ह्याकरको संलग्नता प्रष्ट देखिन्छ । हाल प्रहरीले उक्त कार्यमा कम्पनीकोसमेत मिलेमतोको आशंकामा अनुसन्धान अघि बढाएको बुझिएको छ ।



Source link

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौँ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तीन रुपैयाँ १५ पैसा र डिजेलमा दुई रुपैयाँ ६२ पैसाले घटेर आएकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।



Source link

करेन्ट गुट्खा, भोला गुट्खा र सुर्ती बिक्रीमा रोक, २ डिलर कार्वाहीमा


काठमाडौँ । उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागका अनुसार अनुगमनलाई तीव्रता दिँदै करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरण रोक्का गरिएको छ । 

उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लङ्घन गरेको भन्दै विभागले उपत्यकाकै डिलरका रूपमा रहेको ललितपुर स्थित पशुपति इन्टरनेसनल बिजनेस प्रा.ली. लाई कारबाही गरी ३ दिनभित्र कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । 

उक्त प्रा.ली.ले बिक्री वितरण गर्ने गुट्खा तथा खैनीको कारोबार रोक्का गरिएको हो । यस प्रा.ली.का सामग्रीहरूमा तौलमा समेत कैफियत देखिएकाले देशैभर कारोबार रोक्का गर्न निर्देशन गरिएको विभागले जनाएको छ । त्यस्तै, पशुपति ट्रेडिङ्ग कन्सर्न काठमाडौँलाई पनि कागजात सहित ३ दिन भित्र विभागमा उपस्थित हुन सूचना दिएको छ । 

यसअघि आइतबार गरिएको अनुगमनका क्रममा काठमाडौँ-२२ स्थित आनन्द ट्रेडर्सलाई २ लाख रकम जरिवाना गरिएको छ । उक्त फर्मलाई उद्योगबाट उत्पादित बस्तुमा एमआरपी सहित लेबल लगाएर बिक्री गर्न निर्देशन दिइएको छ । त्यसै गरी बुढानिलकण्ठ स्थित ट्रियु फामेशियास्किन फार्मेशीको नमुना सङ्कलन गरी बिक्री वितरण रोक्का गरेको छ । आइतबार नै गरिएको अनुगमनमा मधुगंगा इन्टरप्राइजेज, मित्रलाल पौडेल र सजिलो रेन्टल प्रालिलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा विभागले उपभोक्ताको अधिकारको संरक्षणका लागि निरन्तर अनुगमन तथा कारबाहीलाई प्रभावकारी बनाइरहेको जनाएको छ । सरकारले बजारमा बिक्री गरिने सबै सामग्रीहरूमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य गरेको छ । एमआरपी बिनै सामग्री बेच्नेलाई कारवाही गर्न सुरु गरिएको हो ।



Source link

ट्रकमा भेटिएको २५ करोडका मालिकविरुद्ध अदालतमा मुद्दा दायर, पक्राउको टुँगो छैन !  


काठमाडौँ । काठमाडौँको टोखास्थित झोर क्षेत्रमा ट्रकबाट बरामद गरिएको २५ करोड रुपैयाँ बराबरका डलर र युरोका मालिकविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले २५ करोडका मालिक ठहर गरेका नारायण पौडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । 

उक्त मुद्दामा पक्राउ परेका ट्रक चालक कुसाङ लामा र पौडेललाई प्रतिवादी बनाइएको छ । तर, प्रतिवादी बनाइएका पौडेल भने प्रहरीको फरार सूचीमा छन् । 

उनीहरुविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । विभागले गरेको अनुसन्धानबाट लामा भरिया र पौडेल मालिक भन्ने निष्कर्ष निकालेको छ । उनीहरुविरुद्ध विभागले २५ करोड ३४ लाख ७८ हजार ८ सय ४२ रुपैयाँ बिगो कायम गरेको छ । 

त्यस्तै, अदालतमा दायर गरेको मुद्दामा विभागले बरामद गरेको १३ लाख ७५ हजार १ सय ५० युरो र ३ लाख २० हजार ८ सय ५० अमेरिकी डलरसहित डलर तस्करीमा प्रयोग भएको ना ७ खा १६५२ नम्बरको कन्टेनर पनि जफत गर्न माग गरिएको छ ।



Source link

सुनको मूल्यमा रेकर्डमाथि रेकर्ड, बैशाखमा विवाह गर्दै गरेका जोडी महँगीको मारमा 


काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ८४ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २७ सय रुपैयाँले बढेर एक लाख ८७ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

सुनको मूल्यमा दिनानु दिन नयाँ रेकर्ड कायम हुँदा बैशाख महिनामा विवाह गर्दै गरेका जोडी महँगीको मारमा पर्ने भएका छन् ।

यता चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १९५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ६० हजार ३ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६७६ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।



Source link

बुधबार अमला प्रतिकिलो १२० रुपैयाँमा किनबेच हुँदै, अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ


काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

बुधबार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ५५, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ९० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ६०, रायो साग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरी प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ३५, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ८०, ब्रकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ९०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ११०, लसुन हरियो प्रतिकिलो रु ९०, हरियो धनिया प्रतिकिलो रु १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४० र राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।



Source link

ऋणबापत नेपाल एयरलाइन्सले भुक्तानी गर्यो ५३ करोड रुपैयाँ 


काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज खरिदका लागि लिएको ऋणको किस्ता भुक्तानी गरेको छ । 

कम्पनीले अन्तराष्ट्रिय उडानका लागि दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गर्दा लिएको ऋणको किस्ता तिरेको हो । 

कम्पनीले ऋण दायित्वमध्ये न्यारोबडी जहाजको २०८१ चैत महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजको आंशिक गरी कुल ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको छ । 

कम्पनीले २०८१ चैत सम्म किस्ताबापत ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ भुक्तानी गरिसकेको छ । निगमले जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । 



Source link

नयाँ वर्ष २०८२ मा ८८ दिन सार्वजनिक बिदा ! 


काठमाडौँ । नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा परेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार यो वर्ष (२०८२ साल) ८८ दिन सार्वजनिक बिदा हुने भएको हो ।

जसमध्ये यो वर्ष ५२ दिन शनिबार र ३६ दिन विभिन्न चाडपर्व र दिवसको बिदा रहेको सूचनामा उल्लेख छ । 

राजपत्रमा प्रकाशित सूचना अनुसार दशैँमा सात दिन र तिहारमा पाँच दिन बिदा गरी अन्य विभिन्न पर्वहरुमा कुल २८ दिन सार्वजनिक बिदा हुनेछ । त्यसबाहेक अन्तराष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तराष्ट्रिय महिला दिवस गरी ६ दिन सार्वजनिक बिदा हुनेछ  ।

त्यस्तै, भूगोलका आधारमा मनाइने विशेष चाडपर्वका अवसरमा स्थानीय पालिकाहरुले बिदा दिन पाउनेछन् । त्यसबाहेक विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले दिन सक्नेछन् । ती बाहेक विभिन्न पालिकाहरुले स्थान विशेष मनाइने चाडपर्वको बिदा दिन पाउने छन् । 



Source link

वर्ष २०८२ को पहिलो दिन: पशुपतिमा दर्शन गर्नेहरुको भीड (तस्विरहरू)


काठमाडौँ । नयाँ वर्ष २०८२ को पहिलो दिन पशुपतिनाथ मन्दिर दर्शन गर्नेको घुइँचो लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको हो ।

नेपाल एवम भारतका दर्शनार्थीहरु बैशाख १ गते विहानैदेखि पशुपतिनाथको दर्शनका लागि लाइनमा बसेका थिए ।

नयाँ वर्षमा  बिहानै नुहाउने, घरकोठा-आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले बैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । बाँकी तस्विरमा हेर्नुहोस्:



Source link