Category Archives: नेपाल समाचार

मैना सुनारकी आमाले राष्ट्रसंघ गुहारेपछि सेनाले सम्झायो टिआरसी


११ फागुन, काठमाडौं । सशस्त्र द्वन्द्वकालमा सेनाको यातनाबाट मारिएकी थिइन् काभ्रेकी १५ वर्षीया किशोरी मैना सुनार । उनै मैनाकी आमा देवी सुनारले संयुक्त राष्ट्रसंघलाई उक्त घटनामा न्याय हुनुपर्ने माग राख्दै लेखेको पत्रप्रति नेपाली सेनाले असन्तुष्टि जनाएको छ ।

सुनारको हत्यामा नेपाली सेनालाई जिम्मेवार बनाउन दबाब दिन आग्रह गर्दै संयुक्त राष्ट्रसंघका उपमहासचिव जीन पिएर लेक्रोइक्सलाई आमा देवीले हालै चिठी पठाएको प्रति जंगीअड्डा बेखुश देखिएको हो ।

सेना दिवसको पूर्वसन्ध्यामा जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा प्राड विवाक (सेनाको कानून हेर्ने निकाय) का सहायक रथी ओमबहादुर भट्टले ‘अहिले आएर सुनारको परिवारले फैसला कम भयो, बढी भयो भनेर जसरी मुद्दा मामिला गरिरहेको छ, त्यसको उद्देश्य बुझ्न नसकेको’ बताए ।

‘…जसरी जिल्ला अदालतबाट फैसला गराएर ल्याउनु भएको छ, राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय हिसाबले जसरी प्रेसर दिने काम गर्नुभएको छ, उहाँको उद्देश्य थाहा हुने कुरा भएन’, भट्टले भने, ‘त्यसबेला सैनिक ऐन, २०१६ अनुसार सैनिक अदालतलाई यो मुद्दा हेर्ने क्षेत्राधिकार थियो र त्यसमा रहेर फैसला भइसकेको थियो ।’

काभ्रेको तत्कालीन खरेलथोक गाविस–६, कटुञ्जेकी १५ वर्षीया सुनारलाई ५ फागुन २०६० मा नेपाली सेनाका सेनानी निरन्जन बस्नेतको कमाण्डमा खटिएको टोलीले घरबाट नियन्त्रणमा लिएको थियो । पछि उनी सैनिक अधिकारीहरुको चरम यातनाबाट मारिएकी थिइन् ।

पत्रकार सम्मेलनमा बोल्दै सहायक रथी भट्टले यो घटनाको हल सत्य निरुपण तथा मेलमेलाप आयोग (टीआरसी) मार्फत हुने अपेक्षा रहेको भनेका छन् । ‘अहिलेको अवस्थामा टिआरसी – सत्य निरुपण तथा मेलमेलाप आयोग छ, त्यसको ऐन आइसकेको छ’, उनले भने, ‘आयोग गठन भयो भने त्यसले केही बोल्छ कि भन्ने लाग्छ ।’

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकाले त्यस विषयमा विस्तृत नबताउने भन्दै उनले भने, ‘त्यो त्यहाँको (टीआरसी) को कुरा हो, त्यसको क्षेत्राधिकारको कुरा आयो । भोलि टीआरसीको कुरा आउला, त्यहीँबाट सम्बोधन होला ।’

अदालतमा मुद्दा मामिला चलिरहेका बेला सेनाका तर्फबाट मेलमिलापको लागि प्रस्ताव गएको सुनारको पारिवारिक स्रोत बताउँछ । अनौपचारिक रुपमा जंगीअड्डाबाट मैनाको शालिक बनाउने, क्षतिपूर्ति लगायतका प्रस्ताव राखिएको उनीहरू बताउँछन्

मेलमिलापको प्रयास

सैनिक अदालतले २०६१ सालमा मैना सुनार प्रकरणमा मानव अधिकार तथा मानवीय कानूनको पालना सम्बन्धी निर्देशिका विपरित कार्य गरेको भन्दै तीन सैनिक अधिकृतलाई ६ महिना कैद र एक वर्ष बढुवा रोक्काको फैसला गरेको थियो ।

तत्कालीन उपरथी मोहनबहादुर बस्नेतको अध्यक्षतामा गठित ‘कोर्ट अफ इन्क्वायरी बोर्ड’ले १ चैत २०६१ मा मार्ने उद्देश्यले नभए पनि अरु विकल्पहरु हुँदा हुँदै अपरिपक्व र लापरबाही ढंगले चरम यातना दिएका कारण मैनाको मृत्यु भएको देखिएको भन्दै सैनिक ऐन बमोजिम कारबाही गर्न प्रतिवेदन दिएको थियो ।

पछि सैनिक अदालतले कैद सजायसँगै उनीहरुबाट क्षतिपूर्तिवापत २ लाख ५० हजार रुपैयाँ दिन समेत सिफारिस गरेको थियो । तर, सेनाको फैसलामा चित्त नबुझाएकी मैनाकी आमा देवीले २१ मंसिर २०६२ मा जिल्ला प्रहरी कार्यालय, काभ्रेमा चार जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

त्यसबेला सैनिक अधिकृतहरुविरुद्धको जाहेरी प्रहरीले लिन नमानेपछि उनले सर्वोच्च अदालतमा समेत निवेदन दिएकी थिइन् । सर्वोच्चले २०६४ असोजमा जाहेरी दर्ता गरेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो ।

अदालतले अभियुक्तहरुलाई समात्न आदेश दिए पनि कारबाही प्रक्रिया अघि बढेन । पछि २०७० असोजमा न्यायाधीश ईश्वराज आचार्यको इजलासले मुद्दालाई मुल्तबीमा राख्ने निर्णय गर्‍यो । तर, फेरि त्यसविरुद्ध अदालतमा मुद्दा पर्‍यो र कारबाही प्रक्रिया अघि बढाउन आदेश भयो ।

यसपछि जिल्ला अदालत, काभ्रेले ३ वैशाख २०७३ मा गैरन्यायिक हत्यामा सेनाका तीन अधिकृतलाई जन्मकैदको फैसला सुनाएको थियो ।

द्वन्द्वकालीन मुद्दामा अदालतले सेनालाई दोषी ठहर गरेको यो पहिलो घटना थियो । उच्च अदालतले समेत यसमा सुनुवाइ गर्दै जिल्लाको आदेश सदर गर्‍यो । तर, नेपाली सेना त्यसविरुद्ध भ्याकेट निवेदन लिएर सर्वोच्च अदालत गएको थियो ।

‘जो व्यक्ति प्रतिवादी छ, ऊ निवेदन लिएर जानुपर्नेमा यो घटनामा नेपाली सेना संस्था आफैं उच्च र जिल्लाको आदेश बदर गर्न माग गर्दै अदालत गएको छ’, एड्भोकेसी फोरममा समेत आबद्ध अधिवक्ता पुष्प पौडेल भन्छन्, ‘अदालतमा विचाराधीन मुद्दामा टीआरसीले फरक नपर्ने नजिर छ, त्यसैले सेनाले भनेजस्तो यो टीआरसी मात्रको क्षेत्राधिकारको विषय होइन ।’

अदालतमा मुद्दा मामिला चलिरहेका बेला सेनाका तर्फबाट समेत मेलमिलापको लागि प्रस्ताव गएको सुनारको पारिवारिक स्रोत बताउँछ । ‘अनौपचारिक रुपमा जंगीअड्डाबाट मैनाको शालिक बनाउने, क्षतिपूर्ति लगायतका प्रस्ताव राखिएको थियो’, यसबारे जानकार स्रोतले भन्यो, ‘तर, मैनाकी आमा देवी मान्नु भएन, उहाँले आफूलाई न्याय चाहिएको हो भन्ने जवाफ दिनुभयो ।’

नेपाली सेनाको युद्धकार्य विभागका महानिर्देशक प्रेमध्वज अधिकारी चाहिँ जंगीअड्डाको तर्फबाट औपचारिक रुपमा त्यस्तो प्रस्ताव नगरिएको बताउँछन् । ‘बरु त्यहीँ पालिकाबाट समाधान हुन्छ भने स्मारक बनाउने भनेर छलफल भएको सुनेको थिएँ’, उनले भने, ‘यो काभ्रेको पाँचखालका मेयरको पहलमा स्मारक राख्न सकिन्छ भन्ने कुरा भएको भन्ने बुझेको छु ।’

सेनासँग स्मारक बनाउनलाई जमिन पनि नहुने भन्दै उनले भने, ‘स्थानीय स्तरमा त्यसलाई समाधान गर्न सकिन्छ कि भनेर मेयरको प्रयास भएको त्यो पहल भएको हो भन्ने मलाई लाग्छ ।’

संयुक्त राष्ट्र संघमा चिठी पठाएको कुरा सुनेको भए पनि यो मामलामा राज्यले टीआरसी समेत बनाइसकेको अवस्थामा त्यहीँबाट ‘सोलोडोलो सम्बोधन होला’ भन्ने लागेको उनले बताए ।

अदालतमा विचाराधीन मुद्दामा टीआरसीले फरक नपर्ने नजिर छ, त्यसैले सेनाले भनेजस्तो यो टीआरसी मात्रको क्षेत्राधिकारको विषय होइन – पुष्प पौडेल, अधिवक्ता, एड्भोकेसी फोरम

अहिले संलग्न सैनिक अधिकारीहरुले एक किसिमको सजाय समेत पाइसकेको अवस्थामा यो विषय विचाराधीन रहेको अवस्थामा सुनार प्रकरण यथास्थितिमै रहेको समेत उनले बताए ।

‘आमा खोज्न गएका सैनिकले छोरीलाई लगे’

मानवअधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिवेदन अनुसार, त्यसबेला सैनिक अधिकारीहरु आमा देवीलाई नियन्त्रणमा लिन उनको घरसम्म पुगेका थिए । तर, देवीलाई नभेटेपछि छोरी मैनालाई पक्राउ गरेर ब्यारेकतिर लगेका थिए ।

प्रतिवेदनअनुसार, पोखरीचौरी गाविस–४ की १७ वर्षीया रिना रसाइली र सुभद्रा चौलागाईंलाई १ फागुन २०६० सालमा सेनाले घरबाट उठाएर गोली हानेको थियो ।

त्यो घटनाको प्रत्यक्षदर्शी मैनाकी आमा देवी थिइन् । त्यसैले उनलाई खोज्दै घरमा गएको टोलीले देवीलाई नभेटेपछि छोरीलाई लगेर पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा यातना चरम दिएका थिए ।

त्यसबेला सेनाले आमासँगै मैना पनि आतंककारी गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै उनलाई फिर्ता लाने हो भने श्रीमतीलाई लिएर पाँचखाल ब्यारेकमा आउनु भनेर बुबा पूर्णलाई भनेको मानवअधिकारवादी संस्था एड्भोकेसी फोरमको प्रतिवेदनमा उल्लेख छ ।

मैनालाई घरबाट समातेर लगे पनि २०६१ साल वैशाखसम्म सेनाले उनलाई पक्राउ गरेकोबारे अस्वीकार गर्दै आएको थियो । पछि तीब्र दबाबपछि सेनाले उनको मृत्यु भएको बताएको थियो । अन्तर्राष्ट्रिय दबाबपछि २ वर्ष ८ महिनापछि उनको वीरेन्द्र शान्ति तालिम केन्द्रभित्र कंकाल भेटिएको थियो ।

दबाबबीच यो प्रकरणमा छानबिन गर्न सेनाले कोर्ट अफ इक्वायरी बोर्ड समेत गठन गर्‍यो ।

कोर्ट अफ इक्वायरीको प्रतिवेदनमा त्यसबेला मैना सुनारलाई ‘पानीमा चोबल्ने र निकाल्ने गर्दा पनि कुनै कुरा बकाउन नसकेपछि सहसेनानी सुनिल र अमितले सिपाही श्रीकृष्ण श्रेष्ठलाई करेन्ट लगाउन अह्राएको’ भनिएको छ । सिपाहीले गिजरको लाइनबाट तार जडान गरेर पैतला र हातमा करेन्ट लगाउँदा सुनारको मृत्यु भएको थियो ।

‘करिब डेढ घन्टाको यातनापछि मैना सुनारबाट खास उल्लेखनीय कुरा नखुलेपछि खाना खुवाएर सोधपुछ गर्ने भनेर मन्दिरनिरको हावाघरतर्फ पठाइएको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘आँखामा पट्टी लगाएको र हात पछाडिपट्टी बाँधिएको अवस्थामा राखिएकी सुनार दिनको करिब ११ बजेतिर बान्ता गरी मुखबाट फिँज निकालेर गम्भीर अवस्थामा पुगेकी थिइन् ।’

कोर्ट अफ इक्वायरीकै प्रतिवेदनमा महासेनानी बबी खत्रीले सहसेनानी अमित पुनलाई उनको शवलाई गोप्य रुपमा गाड्न निर्देशन दिएको खुलेको भनिएको छ ।

‘उनलाई दफन गर्नुभन्दा पहिले हिरासतबाट भाग्न खोजेको भान पार्न मैनाको शरीरमा गोली पनि हानिएको तथ्य पनि खुल्दछ’, एड्भोकेसी फोरमको प्रतिवेदनमा उल्लेखित कोर्ट अफ इक्वायरीको अंशमा भनिएको छ, ‘लाशलाई गाडिसकेपछि सम्पूर्ण घटनालाई छोप्ने प्रयास गर्नका लागि सैनिक अधिकारीहरुले मैनाको हत्यालाई भिडन्तमा मृत्यु भएको हौवा खडा गर्न षड्यन्त्र रचे ।’

खत्रीको निर्देशन अनुसार सहसेनानी बस्नेतले पाँचखाल प्रहरी चौकीबाट प्रहरी बोलाएर गलत मुचुल्का तयार पारेको भनिएको छ ।

सोही दिन सेनाले प्रेस वक्तव्य जारी गरेर होक्से जंगलको नजिक एउटा आतंककारी सैनिकको गाडीबाट हाम फालेर जंगलतर्फ जाँदा र चेतावनी दिँदा पनि नफर्किएपछि गरिएको कारबाहीमा उनी मारिएको भनिएको थियो ।





Source link

सशस्त्रकी इन्सपेक्टर झुण्डिएको अवस्थामा मृत भेटिए


११ फागुन, काठमाडौं । शसस्त्र प्रहरी बल नेपालका एक महिला इन्सपेक्टर झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् ।

मृत भेटिनेमा पोखरामा तालिमरत इन्सपेक्टर सन्तोषी महत छिन् । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्सपेक्टर हुन् । इन्सपेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

उनको शव पोस्टमार्टम गर्ने तयारी गरिएको छ । २०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्सपेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।

पारिवारिका स्रोतकाअनुसार महतको सशस्त्रै १६ बेसिकको एक इन्सपेक्टरसँग प्रेम सम्बन्ध थियो । तर प्रेममा दरार आएपछि उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । परिवारले ती इन्सपेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिने तयारी गरेका छन् ।

 





Source link

प्रदेशका संरचना थपघट हुनसक्छ, रुवाबासी गर्नु पर्दैन : प्रधानमन्त्री – Online Khabar


१० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका संरचनाहरू थपघट हुनसक्ने बताएका छन् । शनिबार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा हेरफेर हुनसक्ने कुरालाई सामान्य मान्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा पनि हेरफेर र सुधार हुनसक्छ तर अझ त्यसका संरचनागत पक्षहरू बढी सुधार हेरफेर हुनसक्दछन्,’ प्रधानमन्त्री ओलीले भने, ‘सात वटा प्रदेश ९ वटा पनि हुनसक्छ, सात वटा प्रदेश पाँच वटा पनि हुनसक्छ । त्यसो भयो भने पनि कुनै रुवाबासी गर्नुपर्ने अवश्यक छैन । ६ वटा पनि हुनसक्छ ।’

देश, विकास र जनताको आवश्यकता हेरेर त्यसअनुसार हेरफेर गर्नुपर्ने उनको जिकिर छ ।

‘देशलाई आवश्यकता, विकासलाई आवश्यकता, जनतालाई आवश्यकता कस्तो हुन्छ, त्यसअनुसार गर्ने कुरा हो,’ प्रधानमन्त्री ओलीले भने ।

अब राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्न आवश्यक नरहेको भन्दै सुधारहरू गर्ने कुरालाई सामान्य रुपमा लिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘अब त्यस्तो ठूलो केही राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्नुपर्ने केही छैन, रिफर्महरू गर्नुपर्ने हुनसक्छ । सुधारहरू गर्नुपर्ने हुनसक्छ । सुधार गर्दै अघि बढ्छौँ,’ प्रधानमन्त्री ओलीले भने ।





Source link

माउन्टेन मुभर्स फाइनलमा – Online Khabar


१० फागुन, काठमाडौं । खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ माउन्टेन मुभर्स फाइनलमा प्रवेश गरेको छ ।

३ टिम सहभागी राउन्ड रोविन लिगमा माउन्टेन मुभर्स अपराजित रहँदै फाइनलमा पुगेको हो । नखिपोट युथ क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुरद्वारा संयुक्त आयोजित प्रतियोगितामा माउन्टेन मुभर्सले लिगको अन्तिम खेलमा आईएसए नेपाललाई ४७–२८ ले पराजित गर्‍यो ।

माउन्टेन मुभर्सकी छिरिङ शेर्पाले १२ अंक जोडिन् । शीर्ष स्थानमा रहँदै फाइनल पुगेको माउन्टेन मुभर्सले सुरुका तीन क्वाटरमा लिएको अग्रतानै जितको आधार बन्यो ।

माउन्टेन मुभर्सले पहिलोमा ८–०, दोश्रोमा १८–८ र तेश्रोमा ११–६ को प्रदर्शन गर्‍यो ।

चौथोमा आईएसए नेपालले १४–१० को सान्त्वना अग्रता हासिल गर्‍यो । लिगको पहिलो खेलमा माउन्टेन मुभर्सले कीर्तिपुरलाई ६८–५२ ले हराएको थियो ।

लगातार दोश्रो हारसँगै आईएस नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । फाइनलमा माउन्टेन मुभर्सको भेट कीर्तिपुरसँग हुनेछ । कीर्तिपुरले आफ्नो पहिलो लिग खेलमा आईएसए नेपाललाई ५२–४९ ले हराएको थियो ।

नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमा प्लेबक्स फाइनलमा पुगेको छ ।

प्लेबक्सले शनिबार भएको सेमिफाइनलमा रोयललाई ८२–६२ ले हरायो । प्लेबक्सको जितमा आशिष महर्जनले सर्वाधिक २४ अंक जोडिन् । अब प्लेबक्सले उपाधिका लागि आर्मी र टाइम्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

फाइनल खेल आइतबार हुनेछ । पुरुषमा पहिलो हुनेले १ लाख र दोश्रोले ५० हजार नगद पुरस्कार पाउने छन् । महिलाको उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

दुवै समूहको ‘मोस्ट भेलुएबल प्लेयर’ लाई समान २०–२० हजार तथा उदीयमान खेलाडीलाई समान १०–१० हजार नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।





Source link

‘नेपालमा हाब्रे’ पुस्तक विमोचन – Online Khabar


१० फागुन, इलाम । राताे हाब्रे (रेडपाण्डा) बारे जानकारी गराउन तयार गरिएको ‘नेपालमा हाब्रे’ पुस्तक विमोचन गरिएको छ । गिरिराज बाँस्कोटाले सम्पादन गरेको पुस्तक शनिबार इलाममा आयोजित एक कार्यक्रममा विमोचन गरिएको हो ।

इलाम जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, कोशी प्रदेश वन मन्त्रालयका सचिव विशाल घिमिरे, रेड पाण्डा नेटर्वकका नेपाल निर्देशक आङफुरी शेर्पा, वन तथा भूमि विभागका उपनिर्देशक धनञ्जय रेग्मीले संयुक्त रूपमा पस्तक विमोचन गरे ।

पुस्तक रेड पाण्डा नेटवर्क र दीप ज्योती युवा क्लबले संयुक्त रूपमा प्रकाशन गरेका हुन् । पुस्तकमा नेपालमा पाइने हाब्रेको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समाविष्ट छन् ।

पुस्तकमा मोहन मैनाली, यादव उप्रेती, संग्राम कार्की, मुकेश पोखरेल, युवराज गौतम, गोविन्द पोखरेल, सिताराम गुरागाई, विप्लव भट्टराई, भीम चापागाई, आनन्द गौतम, सरोज शर्मा, एलिना दियाली लगायतको लेख छ ।

कार्यक्रमका अतिथिहरूले पुस्तकले रेडपाण्डाबारे नीति निर्माण र संरक्षणमा सघाउ पुर्‍याउने बताएका थिए ।





Source link

भारतमा डान्स र ड्रामाको जादु – Online Khabar


करिब दश वर्ष अगाडि भारतको लखनऊबाट कत्थक नृत्यमा स्नातकोत्तर गरेर नेपाल फर्केपछि नम्रता केसीले सरुभक्तको खण्डकाव्य ज्यानमायामाथि एउटा नृत्य नाटिका बनाउँदै थिइन् । त्यतिबेलाका सक्रिय अनि आत्मीय कला पत्रकार कला अनुरागी (अहिले उहाँ शोधार्थी हुनुभएको छ र यो हामीलाई एकदमै मन परिरहेको छ) ले एउटा अन्तर्वार्ता गर्दा नम्रताले भनेकी थिइन्– ‘डान्स र ड्रामा मिलेपछि म्याजिक हुन्छ !’

नेपाली मौलिक लोक नाट्य परम्परामा नृत्य र नाट्य जतिसुकै मिले तापनि हामीले गरिरहेको आधुनिक रंगमञ्च अभ्यासमा नृत्यलाई कथावाचनसँग नजोडेर सौन्दर्य तत्वका रूपमा मात्रै प्रयोग गरिंदै आएको सन्दर्भमा ‘डान्स र ड्रामा’ मिलाएर जादु गर्ने सपना देखेकी एउटी केटी रंगकर्मीको साथी र साक्षीको रूपमा यो यात्राको एउटा मीठो संस्मरण समीक्षा अतिशयोक्ति नलाग्ला, त्यसै पनि लेख्नु त छँदैछ ।

– – –

विश्वप्रसिद्ध भारत रंग महोत्सवको २४औं संस्करणका लागि छानिएका अन्तिम नाटकहरूको सूचीमा ‘जून– मोर द्यान अ फे(इ)री टेल’ को नाम पनि छ है भनेर आदरणीय रंगकर्मी देव न्यौपाने दाइले सुनाउँदा म सुदूरपश्चिम बझाङ जिल्लाको मष्टा गाउँपालिकामा कचहरी नाटक देखाएर काठमाडौं फर्किंदै थिएँ । सुसमाचार नै भएतापनि मेरा लागि यो खबर एउटा सुखद् र दुःखद् आश्चर्यको सम्मिश्रण बनेको थियो । दुःखद् हुनुको कारण थियो आफूले लेखेको र अत्यन्तै आशा गरेको अर्को एउटा नाटक नछानिनु (सायद आफैंले लेखेको भएर अत्यन्तै आशा गरेको हुनसक्छ) ।

joonखबर सुखद् आश्चर्य बन्नका लागि आवश्यक तथ्यहरू त धेरै अनि छर्लङ्गै थिए । ‘जून– मोर द्यान अ फे(इ)री टेल’की परिकल्पनाकार तथा निर्देशक नम्रता केसी मेरो रंगमञ्च अनि जीवनकै सहयात्री हुनु मात्रै खुशीको एउटा प्रसंग थिएन, म स्वयम् उक्त गीति नृत्य नाटिकाको निर्माता हुनु र दुई वर्षअघि नृत्य नाटिका निर्माण र मञ्चनका क्रममा बनेका अनेक अविस्मरणीय पलहरू आँखाभरि झल्झल्ती आउनुले खुशी पनि आँखाबाटै खस्न खोजिरहेको थियो । उसो त रंगकर्मीहरू अलि बढी नै भावुक हुन्छन् तर पनि आधिकारिक इमेल नआइसकेको हुनाले खुशी प्रकट गर्ने हतारो देखाउन मनले मानिरहेको थिएन ।
– – –

भारतमा २५ वर्षअघि अन्तर्राष्ट्रिय नाटकहरू देखाउने मेलाको रूपमा सरकारी तवरबाट शुरू भएको भारत रंग महोत्सवप्रति संसारभरिकै रंगकर्मीहरू आकर्षित छन् । विश्वका उत्कृष्ट नाट्य विद्यालयहरूमध्येको एक भनेर दाबी गरिने राष्ट्रिय नाट्य विद्यालयको आयोजनामा हुने महोत्सवमा सहभागी हुन युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिकादेखि एशियासम्मका देशहरूबाट आवेदन आउने आयोजकले बेलाबेला बताइरहन्छन् ।

नेपालबाट शुरुआती समयमा सुनील पोखरेल र अनुप बरालका नाटकहरू सहभागी हुने गरेको महोत्सवमा पछिल्लो समय थुप्रै युवा निर्देशकका नाटकहरू छनोट अनि मञ्चन हुन थालेका छन् ।

सायद यसै कारण हुनसक्छ, भारत रंग महोत्सवमा सहभागी हुन नेपाली रंगकर्मीहरूले आवेदन दिने क्रम बढेको छ । र, यही कारण हुन सक्छ, भारत रंग महोत्सवलाई पहिलो पटक भारत बाहेक दुई देशहरू नेपाल अनि श्रीलंकामा पनि आयोजना गरियो ।

२४औं भारत रंग महोत्सवमा नेपालबाट छानिएका दुई प्रस्तुतिहरू मध्ये दिया मास्केको निर्देशनमा बनेको ‘कथा कस्तूरी’ समेत दुई वटै नाटक महिला निर्देशकहरूबाट पर्नुले समकालीन नेपाली रंगमञ्चमा अर्को तरंग ल्याएको थियो । छानिएका दुवै नाटकहरूमा भेटिएको अर्को एउटा समानता थियो– कथावाचनका लागि गीत–संगीत र नृत्यको प्रधानता । बहुजातीय सांस्कृतिक अनुष्ठानको जगमा बनेको मौलिक नेपाली नाट्य परम्परा हेर्ने हो भने संगीत र नृत्यसँगै गरिने कथावाचन नेपाली नाटकको एउटा प्रमुख मौलिक तत्वको रूपमा देखिन्छ ।

भलै, हाम्रो रंगमञ्चको व्यावसायिक धारमा र दर्शकहरूको नाटक हेर्ने अवधारणामा संवाद र यथार्थवादी अभिनय प्रधान हुने आधुनिक युरोपेली नाट्यशैलीको प्रभाव छ, पछिल्लो समय नेपाली नाटकहरूमा मौलिकताको खोजी भइनैरहेको छ । विभिन्न जातजातिका मिथकीय कथाहरू मञ्चमा ल्याउनेदेखि लिएर संस्कृतिमा भएका सामाजिक समस्याहरूमाथि नाटक मार्फत छलफल गराउनेसम्मका प्रयत्नहरू नेपाली रंगकर्मीबाट हुँदै आएका छन् ।

यही कसीमा हेर्दा दिया मास्केको नाटक ‘कथा कस्तूरी’ले नयनराज पाण्डेद्वारा लिखित कथा सर्पदंशमा आधारित भएर पश्चिम नेपालमा बसोबास गर्ने आदिवासी सपेरा जातिहरूको कथालाई रैथाने संगीत, नृत्य र कथावाचन मार्फत देखाएको थियो भने नम्रता केसीको ‘जून– मोर द्यान अ फे(इ)री टेल’ले विश्वप्रसिद्ध सिन्द्रेलाको कथालाई गीत, संगीत र नृत्यको कलेवरमा पुनर्कथन गरेको थियो । महोत्सवअन्तर्गत यी दुवै नाटक भारत र नेपालमा मञ्चन गरिए ।

यी दुई नाटकसँगै यसपालि भारत रंग महोत्सवमा अन्य दुई नेपाली नाटकहरू प्रदर्शन भए । सुनील पोखरेलको निर्देशन रहेको ‘गच्छामि’लाई नेपाल भारत रंग महोत्सवको आयोजक प्रस्तुतिको रूपमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले काठमाडौं र दिल्लीमा मञ्चन गर्‍यो भने अन्तिम समयमा आएर छनोटको सूचना दिइएको नर्वे र नेपालको सहकार्यात्मक प्रस्तुति रहेको रामहरि ढकालद्वारा लिखित निर्देशित नाटक ‘गुलाफ’ भारतको दिल्ली र जयपुरमा मञ्चन भए ।

भव्य मञ्च सहितको प्रेक्षागृहमा सजाइएका नाट्य उपकरण तथा सामग्रीहरूसँगै प्रवेशद्वारहरूमा बनाइएका रंगोली तथा जीव–जनावरका मूर्तिहरू अनि लस्करै टाँसिएका नाटकका पोस्टरहरूले महोत्सवको रौनक बढाएको थियो ।

संयोग हुनसक्छ, यी दुई नाटकबीचको समानता भने तथागत बुद्धको जीवन र दर्शनसँग गाँसिएका थिए । ‘गच्छामि’ले बुद्धको बारेमा सुनिएको परम्परागत जीवनीको कथा भन्थ्यो भने ‘गुलाफ’ले बुद्धपत्नी यशोधराको दृष्टिकोणबाट बुद्धको जीवनीमाथि प्रश्न गर्थ्यो । यसरी समग्रमा हेर्दा २४औं भारत रंग महोत्सवमा नेपालले मूल रूपमा दुई वटा कुरा प्रस्तुत गर्‍यो– बुद्ध अनि उनको जीवन र यहाँको गीत–संगीत अनि नृत्यमा आधारित मौलिकताउन्मुख तर आधुनिक नाट्यशैली ।

– – –

आयोजकबाट आधिकारिक इमेल आउँदा ‘जून– मोर द्यान अ फे(इ)री टेल’लाई भारतको गोरखपुर र नेपालको काठमाडौंमा मञ्चन गर्ने खबर आउँदा हामी रुनु न हाँस्नु भएका थियौं । यसभन्दा अघि भारत रंग महोत्सवमा छनोट हुने नाटकहरूले दिल्ली लगायत भारतको अर्को कुनै शहरमा मञ्चनको अवसर पाउने गरेकोमा हामी त्यसरी नै आशातीत थियौं । आवेदन दिंदादेखि नै आशा गरिएकाले होला, हाम्रो कलात्मक प्रस्तुतिलाई एउटा अन्तर्राष्ट्रिय महोत्सवमा भन्दा बढी भारतीय रंगमञ्चका हस्तीहरू पढेको नेशनल स्कुल अफ ड्रामामा देखाउने अवसरका रूपमा हामीले लिएका थियौं ।

व्यावसायिक नेपाली रंगमञ्चको मूलप्रवाहमा नअटाइसकेका हाम्रा नृत्य कलाकारहरू पनि सोही कारणले बढी उत्साहित थिए । तर अचानक त्यो अवसर छैन भनेर भनिदिंदा हामी रनभुल्लमा परेका थियौं । काठमाडौंमा यो प्रस्तुति हामीले लामै समय देखाइसकेका थियौं र प्रशस्तै दर्शकहरू (धेरै रंगकर्मीहरू बाहेक)ले यसलाई हेरिसकेका थिए । नेपालसँग सिमाना जोडिएको गोरखपुरमा प्रस्तुति देखाउन हामीलाई समस्या थिएन तर सधैं दिल्ली जाँदा रेल चढ्न जाने ठाउँको रूपमा मात्र चिनिएको त्यो भूमिमा एउटा यस्तो नाटक देखाउन लिएर जानुथियो जुन नाटकलाई स्वयम् नेपाली नाट्यकर्मीहरूले हेरिसकेका थिएनन् । यसरी एउटा अनावश्यक वैधानिकताको खोजीले हामीलाई रन्थनाएको थियो ।

त्यसबाहेक महोत्सवमा सहभागी हुँदा सधैं पाइने गरेको सेवा–सुविधामा पनि कटौती गरेको सुन्दा बाँदर र कान्छाबाउको अनुहार जोडिएको एउटा नेपाली उखानले सताइरहेको थियो । ‘हामीले हाम्रो सृजना प्रस्तुति गर्ने अवसर पाएका छौं, योभन्दा सुन्दर कुरा कुनै स्थान, सेवा वा सुविधा हुन सक्दैन’ अन्योलताकै बीचमा बसेको तयारी बैठकमा नाटककी निर्देशक नम्रता केसीले भनिन्, ‘मलाई लाग्छ गोरखपुर र काठमाडौंका दर्शकहरूको भागमा यो नाटक परिसक्यो, अनि कुनै पनि असल कलाकारले दर्शकको भाग खोस्दैनन् ।’ असल कलाकार बन्ने उत्साह यस्तो भइदियो, एस्थेटिक डान्स स्टुडियोको २५ सदस्यीय टोली जोरजामले नाटकको तयारी गर्न थाल्यो ।

हरेक कुरा हुँदा त्यसले पार्ने प्रभावको दुई पक्ष हुन्छ । गोरखपुरमा प्रस्तुति लिएर जानु त्यस्तै एउटा अवसर बन्यो जहाँ हाम्रा लागि सकारात्मक असरहरूको तौल बढी थियो । विशेष मेरा लागि, कुनै पनि स्थानलाई लिएर हेरिने एकपक्षीय दृष्टिकोणलाई बदल्न यसले सघाउ पुर्‍यायो । अगाडि भनिए झैं भारतका समृद्ध शहरहरू जान रेल चढ्ने ठाउँको रूपमा मात्रै मैले चिनेको यो ठाउँमा नाटक गर्न जाँदै गर्दा सोही शहरको सांस्कृतिक, सामाजिक र पर्यटकीय समृद्धता देख्न पाउनु एउटा अभूतपूर्व अवसर थियो ।

रेल स्टेशनभन्दा अलि पर रहेको नौकाबिहार भनेर चिनिने रामगढ ताल यस शहरका थोरैमध्ये एक आकर्षण केन्द्र रहेछ । हाम्रा लागि भने त्योभन्दा आकर्षणको केन्द्र थियो– त्यसै तालको किनारमा रहेको योगीराज बाबा गम्भीरनाथ प्रेक्षागृह एवं सांस्कृतिक केन्द्र जहाँ स्थानीय नाट्यकर्मीहरूको समूह अभियान थिएटरको सक्रियतामा पहिलोपल्ट भारत रंग महोत्सवको आयोजना भइरहेको थियो । अभियान थिएटरका निर्देशक श्रीनारायण पाण्डेको संयोजकत्वमा भइरहेको महोत्सवका सक्रिय कार्यकर्ताहरूमा अधिकांश स्थानीय युवायुवती थिए जो नाटक र अभिनयप्रति ज्यादै समर्पित थिए ।

समूहका कलाकारहरूले सृजना गरेका विभिन्न प्रतिस्थापन कला, पेन्टिङ, फोटो प्रदर्शनीबाट त्यहाँका नाट्यकर्मीहरू कति सृजनशील र मिहिनेती छन् भन्ने थाहा हुन्थ्यो । भव्य मञ्च सहितको प्रेक्षागृहमा सजाइएका नाट्य उपकरण तथा सामग्रीहरूसँगै प्रवेशद्वारहरूमा बनाइएका रंगोली तथा जीव–जनावरका मूर्तिहरू अनि लस्करै टाँसिएका नाटकका पोस्टरहरूले महोत्सवको रौनक बढाएको थियो ।

मिडिया कभरेजका सन्दर्भमा पनि गोरखपुर उदार नै रहेछ । हामीले नाटक प्रस्तुत गरेको अर्को बिहान हामी नेपालतर्फ प्रस्थान गरिसकेका थियौं । नेपाल आइपुगेर ह्वाट्सएप चेक गर्दा स्थानीय आयोजकले पठाएका हाम्रा नाटक सम्बन्धी स्थानीय अखबारमा छापिएका समाचार तथा फोटो फिचरहरूको लामो लिस्ट देखिन्थ्यो ।

संख्या उल्लेख्य नभए पनि गोरखपुरमा विविध किसिमका दर्शकहरूको कमि देखिएन । नाटकलाई समालोचनात्मक रूपमा कसरी हेर्नुपर्छ भन्ने चेत भएका देखि मञ्चतिर नभई दर्शकदीर्घातिर फर्केर प्रतिक्रिया दिन उत्सुक दर्शक कलाकारहरूको उत्साह देखेर नेपाली कलाकार भावविह्वल भइहाले । ‘स्ट्याण्डिङ ओभिएसन’ लगायत कलाकार निर्देशकले सोचेभन्दा बढी प्रशंसा र मानसम्मान ‘जून– मोर द्यान अ फे(इ)री टेल’ले पायो ।

उसो त प्रेक्षालयभित्र नाटक हेर्ने अनुशासन भने नेपालको भन्दा फरक पनि देखिएको थियो । दर्शकहरू नाटकको बीचमै निर्वाध आउजाउ गरिरहनु र फोटो पत्रकारहरूले फ्ल्यास प्रयोग गरेर फोटो खिच्नुले कतिपय शालीन दर्शकहरूलाई बाधा पुर्‍याइरहेको भान हुन्थ्यो, भलै कसैले विरोध गरेनन् । ठूलो प्रेक्षागृह र कम दर्शक भएर हुनसक्छ, प्रत्यक्ष मञ्चन भइरहेको नाटकलाई भिडियोकल मार्फत ‘प्रवद्र्धन’ गर्ने कार्यमा संलग्न पछिल्लो पंक्तिमा बसेका दर्शकहरू भेट्नु पनि हाम्रा लागि नौला अनुभव रहे ।

मिडिया कभरेजका सन्दर्भमा पनि गोरखपुर उदार नै रहेछ । हामीले नाटक प्रस्तुत गरेको अर्को बिहान हामी नेपालतर्फ प्रस्थान गरिसकेका थियौं । नेपाल आइपुगेर ह्वाट्सएप चेक गर्दा स्थानीय आयोजकले पठाएका हाम्रा नाटक सम्बन्धी स्थानीय अखबारमा छापिएका समाचार तथा फोटो फिचरहरूको लामो लिस्ट देखिन्थ्यो । एकदमै प्रशंसा गरिएका फरक–फरक शीर्षकका ती समाचार फिचरहरूको मूल आलेख भने लगभग उस्तै रहेछ । सायद आयोजकले पठाएको प्रेस विज्ञप्तिलाई जस्ताको तस्तै छापेको भएर होला, सबैजसो मिडिया सामग्रीमा एउटै गल्ती भेटिन्थ्यो– कलाकारहरूको नाम ।

सरकारी तवरबाट विरलै गरिने यस किसिमको कार्यक्रमका उल्लेख्य प्रभाव र सुधार्नुपर्ने पक्ष दुवैका विषयमा मिडियाले मन खोलेर लेखिदिए ‘नाटक हेर्ने र गर्ने’ दुवै संस्कार बसाउन सजिलो हुन्छ ।

पछिल्लो समय नाटकमा थपिएका केही कलाकारहरूको नाम (जसलाई हामीले आयोजकको अनुरोधमा थप तीनपटक पठाएका थियौं)को सट्टा हामीले आवेदन गर्दा पठाएका नामहरूलाई आयोजकले बाँडेछन् र मिडियाकर्मीहरूले पनि नाटक सकिएपछि कलाकार परिचयको खण्डमा बस्न नभ्याएर हुनसक्छ, आयोजकले जे पठायो त्यसैलाई छापेछन् । आजकल नेपालमा पनि नाटक समीक्षा गर्न नभ्याएको खण्डमा आयोजकले पठाएको प्रेस विज्ञप्ति सार्ने क्रम बढिरहेको देख्न सकिन्छ । यसले सृजनात्मक रंगकर्म र पत्रकारिता दुवैलाई हानि गर्छ भन्ने त जगजाहेर नै छ । यद्यपि, नेपाली पत्रकारिताले रंगमञ्चलाई जुन आकारको स्पेस दिइरहेको छ, त्यही आकार–प्रकारको गम्भीरता र संवेदनशीलता पनि दिने नै छ भन्ने आशा गर्न सकिन्छ ।

महोत्सव अन्तर्गत नै काठमाडौंमा भएको प्रस्तुति हाम्रो लागि विशेष अर्थको रह्यो । आयोजकले हामीसँग नै सल्लाह गरेर नामलाई नेपालीकरण गरिदिएको थियो । ‘जूनः परिकथा मात्रै होइन’ भनेर आयोजकले नै भनिदिएपछि सायद यसपटक दर्शकहरूलाई यसले उत्सुकता जगाएको थियो, त्यही भएर हुनसक्छ राष्ट्रिय नाचघरको प्रेक्षालय यसपटक खचाखच थियो । खासगरी अघिल्लो पटक छुटेका थुप्रै नेपाली रंगकर्मीहरूले महोत्सवमा यो नाटक हेरे र प्रतिक्रिया दिए । पहिल्यै हेरेकाहरू पनि दोहोर्‍याउन–तेहेर्‍याउन नाचघरमा जम्मा भएका थिए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेपाल भारत रंग महोत्सव नाम दिइएको काठमाडौंको कार्यक्रमप्रति केही रंगकर्मीहरू तथा सांस्कृतिक अभियन्ताहरूको फरक मत भएतापनि यसमा मञ्चन भएका तीन नेपाली र तीन भारतीय नाटक हेर्ने दर्शकको अभाव भएन । राष्ट्रिय नाट्य विद्यालय, नयाँदिल्लीको रिपोर्टरी क्लब भनेर चिनिने रंगमण्डलको प्रस्तुति तीनै वटा भारतीय नाटकहरू बेजोडका थिए । सायद तिनका बारे विस्तृतमा नेपाली मिडियाले लेखे वा लेख्ने नै छन् । दोस्रो दिनको भारतीय नाटक हेरिसकेपछि कलाकारको सम्मानमा ताली बजाएर नबसी घर जान हतार गर्ने दर्शकहरूले ‘नाटक हेर्ने संस्कार नदेखाएको’ भनेर कुलपतिको गुनासो भेटेको प्रसंग धन्न कतै आएन ।

‘डान्स र ड्रामा मिलेपछि हुने जादु’ वास्तवमै कस्तो हुन्छ थाहा छैन । तर त्यसले अपार आश्चर्य देखाउनुका साथै सम्भावनाका केही खुड्किलाहरू पक्कै देखाउँछ होला ।

तर सरकारी तवरबाट विरलै गरिने यस किसिमको कार्यक्रमका उल्लेख्य प्रभाव र सुधार्नुपर्ने पक्ष दुवैका विषयमा मिडियाले मन खोलेर लेखिदिए ‘नाटक हेर्ने र गर्ने’ दुवै संस्कार बसाउन सजिलो हुन्छ । खासगरी, काठमाडौंमा मञ्चन भइसकेका नाटकहरू फेरि काठमाडौंमा नै देखाउनुको सट्टा तिनलाई अन्यत्र पठाएर थप विदेशी नाटकहरू (भारत र श्रीलंकाका) ल्याएर देखाउन सकिएको भए वा नेपाली नै नाटक देखाउँदा पनि त्यसमा भारतीय कलाकारहरूलाई दर्शकको रूपमा उपस्थित गराउन सकेको भए त्यसले सही अर्थमा सांस्कृतिक आदानप्रदान र अन्तरक्रियालाई बढावा दिन्थ्यो । किनभने नेपालको (र प्रायः अन्य देशहरूको पनि) सन्दर्भमा यस्ता आग्रहहरू रंगकर्मी भएर लेख्नुभन्दा मिडियाको तर्फबाट उठ्दा ज्यादा ‘समभावना’ प्रकट हुने सम्भावना हुन्छ ।
– – –

‘डान्स र ड्रामा मिलेपछि हुने जादु’ वास्तवमै कस्तो हुन्छ थाहा छैन । तर त्यसले अपार आश्चर्य देखाउनुका साथै सम्भावनाका केही खुड्किलाहरू पक्कै देखाउँछ होला । यो महोत्सवसँगै राष्ट्रिय नाट्य विद्यालयको एउटा च्याप्टर नेपालमा खोल्ने भन्ने पहल गर्न नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र यसकी कुलपति निशा शर्मा लागेका छन् । स्वयम् आफ्नो नाटक लिएर महोत्सवमा उपस्थित राष्ट्रिय नाट्य विद्यालयका निर्देशक तथा प्रसिद्ध कलाकार चित्तरञ्जन त्रिपाठीले त्यो दिशातर्फ जान सकिने संकेत गरेका छन् । दुई देशको सरकारको संलग्नता चाहिने भएकाले तत्कालै क्याम्पस नै खोल्न सकिएन भने पनि आफ्नोतर्फबाट पहल गरेर कार्यशाला तथा तालिमहरू ल्याउने प्रतिबद्धता जाहेर गरेका छन् ।

जाँदाजाँदै उनले नेपालको रंगमञ्चमा प्रदान गरिने जुनसुकै शिक्षाले पनि मौलिक महत्व चैं बोकेकै हुनुपर्ने बताएका छन् । त्यसबाट नेपाली रंगमञ्च शिक्षाको क्षेत्रमा पक्कै पनि सकारात्मक असरको आशा राख्न सकिन्छ । खुशी हुने अर्को एउटा पर्याप्त कारण त यो पनि हो !





Source link

ओडिसाका मुख्यमन्त्रीलाई परराष्ट्रमन्त्री राणाको फोन


१० फागुन, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग फोन वार्ता गरेकी छन् ।

केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे जानकारी लिन उनले शनिबार माझीसँग टेलिफोनमा कुराकानी गरेकी हुन् ।

परराष्ट्रमन्त्री राणाले मुख्यमन्त्री माझीसँग लम्सालको शंकास्पद मृत्यु प्रकरणको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरेकी जानकारी दिएकी छन् ।

टेलिफोन वार्ताको क्रममा मन्त्री राणाले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

aaju deuba phone

नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरूलाई अस्थायी नभएर स्थायी रूपमा नै हटाउन ओडिसा सरकारले नै पहल गरिदिनका लागि मन्त्री राणाले आग्रह गरेकी छन् ।

यस विषयमा कलेजमा समिति बनेको र त्यहाँ नयाँदिल्लीस्थित नेपाली राजदूतावासका कूटनीतिक कर्मचारी खटिएकाले समन्वयका लागि मन्त्री देउवाले मुख्यमन्त्री माझीसँग आग्रह पनि गरेकी छन् ।

मुख्यमन्त्री माझीले घटनालाई ओडिसा राज्यले नै गम्भीर रुपमा लिएको र लम्साललाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेर काम सुरु गरिएको जानकारी गराएका परराष्ट्रमन्त्री सचिवालयले जनाएको छ ।

साथै, उनले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रूपमा पठनपाठनको व्यवस्थाका लागि ओडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन् ।





Source link

विराटनगरमा नबिल बैंकको ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवर्द्धन’ कार्यशाला  


विराटनगर । नबिल बैंक लिमिटेडले विराटनगरमा ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवर्द्धन’ विषयक कार्यशाला आयोजना गरेको छ ।

नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत ७ फागुनमा कार्याशाला आयोजना गरिएको बैंकले जनाएको छ ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा सम्पन्न कार्यशालामा उद्यमी, उद्योग तथा वाणिज्य संघका प्रतिनिधि, शैक्षिक संस्थाका नेतृत्वकर्ता र सरकारी पदाधिकारीबीच उद्यमशीलताका क्षेत्रमा सहकार्य, मार्गदर्शन, नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका अवसर तथा चुनौतीबारे छलफल भएको थियो ।

प्रदेश स्तरमा उद्यमशीलता प्रवर्द्धन गर्दै स्थानीय समुदायलाई सशक्त बनाउने तथा उद्यमशीलता वातावरणलाई थप मजबुद बनाउने उद्देश्य अनुरूप कार्यशाला आयोजना गरिएको बैंकले जनाएको छ ।

बैंकले कार्यशालामार्फत उद्यमशीलता विकासलाई प्रवर्द्धन गर्दै नबिल एसएसई अन्तर्गतको प्रमाणपत्र कोर्सलाई मुलुकभर विस्तार गर्ने उद्देश्य लिएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्यक्रमका सहभागीलाई सम्बोधन गर्दै नबिल एसएसईबारे जानकारी गराएका थिए ।

‘बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम सुरुवात गरेको हो, यो समाज प्रति उत्तरदायित्व बहन गर्ने एक माध्यम पनि हो,’ सीईओ ढुंगानाले भने ।

उनले यस कार्यक्रममा सहभागीलाई थप उद्यम स्थापना गर्नका लागि प्रोत्साहन गर्दै कार्यक्रमको उद्देश्य मुलुकमा रोजगारी सिर्जना र युवा पलायन रोक्नु रहेको बताए ।

सोही अवसरमा ‘प्रदेशीय विकासमा उद्यमशीलताको भूमिका’ विषयको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

अन्तरक्रियामा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले स्वदेशमै पूँजी तथा श्रम राख्न सक्नुपर्नेमा जोड दिए ।

उनले सरकारले पनि उद्यमशीलता प्रवर्द्धन गर्ने नीति तथा नियम निर्माणमा समन्वय गर्नुपर्ने आवश्यकतांऔँल्याए ।

उद्यमशीलताका क्रियाकलापले जनजीवनलाई सहज बनाउनुपर्नेमा जोड दिँदै उनले लगानी प्रवर्द्धन तथा व्यवसाय वृद्धिका लागि सरकारले लगानी सम्मेलन आयोजना गर्नुपर्ने बताए ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले बैंक सामाजिक उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित रहेको जानकारी दिँदै उद्यमशीलताको इकोसिस्टम विकास गर्नुपर्नेमा जोड दिए ।

उनले नयाँ क्षेत्रमा प्रवेश गर्दा बजारको माग, लगानी र उद्यमीका क्षमताबारे विचार गर्न आवश्यक रहेको उल्लेख गरे । उनले नबिल एसएसईको अवधारणाबारे चर्चा गर्दै बैंक दिगो उद्यमी विकासमा प्रतिबद्ध रहेको बताए ।

पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठले विश्वविद्यालयले व्यावसायिक संस्थाहरूसँगको सहकार्यमा रोजगारी तथा नयाँ  व्यवसाय सृजना गर्दै आएको बताए । उनले सोहीअनुसार विश्वविद्यालयले कार्यक्रम तथा पाठ्यक्रम विकास गरिरहेको जानकारी दिए ।

नेपाल लघु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरौलाले स्थानीय व्यवसाय प्रवर्द्धन गर्दै स्वदेशी बजारको विकास गर्नुपर्नेमा जोड दिए । उनले महासंघले नव उद्यमी र बजारबीचको दूरी घटाउने गरी पहल गरिरहेको समेत बताए ।

नबिल एसएसई कोशी प्रदेशका संयोजक बेद संग्रौलाले उद्यमशीलता प्रवर्द्धनमा निरन्तर सहयोगका लागि नबिल बैंकप्रति आभार व्यक्त गरे । उक्त अवसरमा नबिल एसएसई कार्यक्रमका सहभागीहरुले आफ्‌नो उद्यमशीलता यात्रा र नबिल एसएसईमार्फत प्राप्त ज्ञानले पुर्‍याएको सहयोगबारे चर्चा गरेका थिए ।

नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल स्कुल अफ सोसल इन्टरप्रेनेसरसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

फेलोसिप कार्यक्रम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँग सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातै प्रदेशका ११ शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालन भइरहेको छ ।

हालसम्म नबिल एसएसई सर्टिफिकेट कोर्सले ५४३ सहभागीलाई सफलतापूर्वक प्रशिक्षण प्रदान गरेको छ । जसले ७२ उद्यम स्थापना गर्न सफल भएका छन् । दुवै कार्यक्रममार्फत हालसम्म कुल ११७ उद्यम स्थापना भएका छन् भने एक हजार २०० भन्दा बढी रोजगारीका अवसर सिर्जना भएको बैंकले जनाएको छ ।





Source link

फिल्म ‘११ः५५’को गीत ‘रोक्ने छैन’मा रोमान्टिक सृष्टि


काठमाडौं । केशव पाण्डे निर्देशित फिल्म ‘११ः५५- डु नट ट्रस्ट एनिवन’को पहिलो गीत ‘रोक्ने छैन’ सार्वजनिक भएको छ । अल्मोडा राना उप्रेतीको शब्द, संगीत र स्वर गीतमा छ ।

गायनमा अल्मोडासँग सुमन परियारले पनि साथ दिएका छन् । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा कलाकार सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल फिचर्ड छन् ।

अडियो तथा भिडियोले दर्शकले रुचाउन सक्ने देखिन्छ । सार्वजनिक टिजरले दर्शकमाझ राम्रो छाप छोडेकाले गीतले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाउने विश्वास निर्माण टिमको छ ।

फिल्ममा एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारीको पनि अभिनय छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको लेखनमा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवाली सहकार्य गरेका छन् ।

विचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । कार्यकारी निर्माता एमएस अग्रज हुन् । कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।





Source link

गतिलो नेता र पार्टी छैन भन्ने भाष्य स्थापित गर्न खोजिँदैछ : प्रचण्ड – Online Khabar


८ फागुन, गोरखा । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बनाउन सभंव छ र हामीले नै बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताएका छन् ।

गोरखाको पालुङटार नगरपालिका १० मा आजदेखि सुरु भएको चौथो मिरकोट कोटगढी महोत्सव २०८१ को उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘एकथरी मानिसले देशमा केही पनि छैन, कोही गतिलो नेता छैन, गतिलो पार्टी छैन भन्ने गलत भाष्य निर्माण गर्न थालेको देखिन्छ,’ प्रचण्डले भने, ‘यो सही होइन, स्पष्ट दृष्टिकोणका साथ काम गर्ने हो भने हाम्रै जीवनमा परिवर्तन संभव छ भन्ने हामीले धेरै क्षेत्रमा थालनी गरेका छौं । यसलाई आगामी दिनमा अझ बढाएर लैजान आवश्यक छ ।’

आफूले छोटो समयमै सरकारको नेतृत्व गर्दा महत्त्वपूर्ण कामको थालनी गरेर नेपाली जनतालाई आशावादको बाटोमा अघि बढाउन सफल भएको उल्लेख गरे ।

‘मैले सरकारले नेतृत्व गर्दा जलविद्युत विकासमा जे योगदान गरें, त्यसले यो पुस्तालाई मात्र होइन, अर्को पिंढीलाई पनि समृद्ध बनाउने खाका तयार पारेको छ,’ प्रचण्डले भने, ‘नेपाललाई लोडसेडिङमुक्त बनाउने मात्र होइन, दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात सम्झौतादेखि देशभित्र निजी क्षेत्रसँग विद्युत उत्पादनको सम्झौता मैले थालेका नमुना काम थिए ।’

गोरखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका अध्यक्ष प्रचण्डले गोरखाली जनताको विकास निर्माणको आकांक्षालाई सम्बोधन गर्नु आफ्नो प्राथमिकताको विषय हुने बताए ।





Source link

हावा भर्नेलाई मुद्दा लगाएर व्यवस्थापनको कमजोरी छोप्ने प्रयास


८ फागुन, पोखरा । पहिलोपटक नेपाल आउँदा भारत मोतिहारी घर भएका कमलेश कुमार १३ वर्षका थिए । चरम आर्थिक संकट झेलिरहेको परिवारका सदस्य कमलेश यतै भुलिए ।

कमलेश अहिले ४१ वर्षका भए । नेपाल बस्न थालेको २८ वर्ष भयो । २३ वर्षदेखि उनी पोखरामा छन् । चिसो चढेपछि बेलुनमा हावा भरेर बेच्दै हिँड्छन्, गर्मी बढेपछि आइसक्रिम ।

उसै पनि पोखरामा मेला–महोत्सव चलिरहन्छ । बेलुन बेच्दै हिँड्ने यिनलाई मेला–महोत्सवका आयोजकले बेलुनमा हावा भर्ने काम दिइरहन्छन् । यसलाई उनले गुजाराको बाटो बनाएका छन् ।

३ फागुनमा ‘पोखरा भ्रमण वर्ष २०२५’ को उद्घाटन हुँदै थियो । २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको भ्रमण वर्षलाई सफल बनाउन आयोजक पोखरा महानगरपालिकाले उद्घाटन समारोहलाई भव्य बनाउने निधो गरेको थियो ।

‘पोखरा भ्रमण वर्ष २०२५’ लेखिएको बेलुनको झुप्पो प्रमुख अतिथिको हातबाट उडाएर उद्घाटन गर्ने तयारी थियो । त्यसैले जिम्मा पाएको परिचय एड्भर्टाइजिङले मञ्चमा सजाइने अन्य बेलुन र पोखरा भ्रमण वर्ष २०२५ लेखिएको बेलुनको आकर्षक झुप्पो बनाउने जिम्मा तिनै कमलेशलाई दियो ।

प्रहरी नियन्त्रणमा रहेका कमलेशले बेलुन भरेर दिन भनिएअनुसार आफूले दिएको, त्यसपछि कहाँ लगियो, कसरी पड्कियो भन्ने थाहा नभएको लिखित बयान दिएका छन् ।

कमलेशले आलमुनियमको धुलो, कास्टिक सोडा, पानी सिलिन्डिरमा हालेर ग्याँस तयार पारे, बेलुनमा भरे । परिचय एड्भर्टाइजिङले भनेजस्तै आकर्षक झुप्पो बनाएर जिम्मा लगाए ।

३ फागुनको दिन भव्य समारोह आयोजना हुँदै थियो । उद्घोषकले प्रमुख अतिथि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज लाई बेलुनको त्यही झुप्पो उडाएर कार्यक्रम उद्घाटन गर्न आग्रह गरे ।

अर्थमन्त्री पौडेल र नगर प्रमुख आचार्य मञ्चबाट ओर्लिए, उनीहरूलाई बेलुन दिइयो । छेउमै फायर क्यान्डिल बालिएका थिए । पौडेल र आचार्यले समाउने बित्तिकै फायर क्यान्डिलबाट निस्किरहेका झिल्का (स्पार्कल्स) ले बेलुन भेट्यो । क्षणभरमै सबै बेलुनलाई आगोले टिप्यो । एकैपटक निस्किएको आगोको मुस्लोले पौडेल र आचार्यलाई भेट्यो

Pokhara balloons blast

अकस्मात भएको यो दुर्घटनाले तामझामसहित थालिएको भ्रमण वर्षको पहिलो गाँसमै ढुंगो लागेजस्तो भयो । पोखरामै प्राथमिक उपचारपछि हेलिकप्टरबाट दुवैलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याइयो ।

यता, घटनापछि व्यवस्थापनको चर्को आलोचना भयो । सुरक्षा प्रोटोकलदेखि कार्यक्रम व्यवस्थापनमा भएका कमजोरीको आयोजक र स्थानीय प्रशासन आलोचिन बन्यो । भीभीआइपी सहभागी कार्यक्रमहरूमा अपनाइने सुरक्षा मापदण्ड नअपनाइएको विषयले सुरक्षा निकायकै आलोचना बढी सुनियो ।

आलोचनाबाट आत्तिएको प्रशासनले सोही दिन बैदाम प्रहरी चौकी बोलाएर बेलुनमा हावा भर्ने कमलेशलाई नियन्त्रणमा लियो । र, अभद्र व्यवहार मुद्दामा अनुसन्धान अगाडि बढायो । घटनाको भोलिपल्ट छानबिन गर्न कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयको नेतृत्वमा छानबिन समिति बनेको छ ।

समितिका संयोजक कास्कीका प्रजिअ पाण्डेयले उनीमाथि अनुसन्धानका लागि थुनामा राख्न म्याद थप भएको बताए । ‘घटनाको दिन होइन कि घटनापछि प्रहरीले उनीसँग सोधपुछ गर्न जाँदा अभद्र व्यवहार गरेको भन्ने कुरा आएको छ,’ प्रजिअ पाण्डेयले अनलाइनखबरसँग भने, ‘प्रहरीले प्रारम्भिक रूपमा गरेको अनुसन्धानमा त्यही व्यहोरा देखिएको छ । बाँकी विवरण त अनुसन्धान गर्ने प्रहरीलाई नै सोध्नुपर्छ ।’

जिल्ला प्रहरी प्रमुख एसपी श्यामबाबु आलियाले भने घटनाको अनुसन्धानको सुरुवात बुलेन कहाँबाट आयो, के भरिएको थियो भन्नेबाटै गरिएको बताए । ‘उनीबाटै अनुसन्धान थाल्दा सजिलो हुने भएकाले यसो गरिएको हो । तर, उनीसँग बयान लिएर लामो समय नराख्ने निश्कर्षमा हामी पुगेका छौं,’ ओलियाले भने, ‘अनुसन्धान त चलिरहन्छ ।’

प्रहरी नियन्त्रणमा रहेका कमलेशले बेलुन भरेर दिन भनिएअनुसार आफूले दिएको, त्यसपछि कहाँ लगियो, कसरी पड्कियो भन्ने थाहा नभएको लिखित बयान दिएका छन् । ‘पहिले पहिले जसरी बेलुन भरेर पठाउने गरेको थिएँ, यसपटक पनि त्यसै गरेको हुँ,’ उनको बयानमा उल्लेख छ ।

उनले बेलुनमा हावा भरेर बाटोमा, महोत्सवमा, कार्यक्रमहरूका बेच्दै आएको बताएका छन् ।

भ्रमण वर्ष सम्पन्न गर्न मेयर आचार्यकै संयोजकत्वमा एक हजार ५५५ मूल समारोह समिति बनेको थियो । पर्यटन व्यवसायी गोपिबहादुर भट्टराईको संयोजकत्वमा २५ सदस्यीय कार्यसम्पादन समिति गठन भएको थियो । सुरक्षा, मञ्च व्यवस्थापन, स्वागत, अतिथि, सत्कार, र्‍याली, झाँकी व्यवस्थापनलगायत विभिन्न ४३ उपसमिति गठन भएका थिए । यीबाहेक पनि ३९ सदस्यीय निर्देशन समिति, ७२ सदस्यीय सल्लाहकार समितिसमेत गठन भएका थिए ।

ती समिति, उपसमितिले आफ्नो व्यवस्थापन समयमै नगर्दा भएको दुर्घटनाको भागिदार देखाउँदै बेलुन भरेर बेच्नेलाई समाएर अभद्र मुद्दा चलाइएको छ ।

कार्यक्रम सुरु गर्नुअगाडि नै गरिने तयारी, कार्यक्रमका दौरान अपनाउनुपर्ने सतर्कता, उद्घाटन तथा कार्यक्रममा प्रयोग गरिने सामाग्री र त्यसको जाँच, कार्यक्रमको पूर्वडेमोलगायतका कुनै पनि तयारी नगरी भएको समारोहमा असावधानीका कारण बेलुन पड्किएको महानगरकै जनप्रतिनिधिले बताइरहेका छन् ।

कमलेसले गर्मीमा आइसिक्रिम बेच्ने र जाडोमा बेलुन भरेर बेच्ने गर्दै आएका छन् । गर्र्मीमा बेलुन बेच्दा फुटेर घाटा पर्ने भएकाले आइसक्रिम बेच्ने गरेको उनको बयान छ । ‘जाडोमा बेलुन भरेर मेला, महोत्सवमा, बाटोमा बेच्दै हिँड्ने र गर्मीमा उनले आइक्रिम बिक्री गर्छन् । उसलाई जस्तो बेलुन बनाउन भन्यो, उस्तै बनाइदियो, उसको के दोष ?,’ पोखरा–१४ चाउथेमा सँगै बस्दै आएका कमलेसका साथी मोतिहारकै हबेन्द्र प्रसादले भने, ‘निमुखालाई के आइलाग्यो यस्तो ।’

बेलुनमा हाइड्रोजन ग्याँस गरिएको हुन्छ भन्ने धेरैलाई थाहा भएको तर कार्यक्रममा आगोनजिक लैजाँदा पड्किएको हबेन्द्रले बताए । ‘गर्मीमा बेलुन फुटेर घाटा पर्छ भनेर उसले आइसक्रिम बेच्ने गथ्र्यो । आगोकै छेउ लगेपछि त बेलुन फटिहाल्छ नि,’ उनले भने ।





Source link

दाङकी महिलाको शव रुपन्देहीमा भेटियो, हत्याको आशंका


८ फागुन, बुटवल । दाङको लमही नगरपाकिला ७ की ४५ वर्षीया संगिता चौधरीको शव रुपन्देहीको सियारीमा फेला परेको छ । सियारी गाउँपालिका–२ भगदरीमा सडक किनारमा परालले ढोकेको अवस्थामा संगीताको शव फेला परेको प्रहरीले जनाएको छ ।

टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेर परालले ढोकेर राखेको देखिएकाले हत्या नै गरेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले बताए ।

घटनामा संलग्नको पहिचान हुन बाँकी रहेको र घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको डीएसपी कार्कीले बताए । बिहीबार बिहान साढे ११ बजे परालले ढाकेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।





Source link

नक्कली सुन देखाएर ठगेको आरोपमा २ जना पक्राउ – Online Khabar


प्रहरीले बरामद गरेको नक्कली सुन ।


८ फागुन, काठमाडौं । नक्कली सुन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ६२ वर्षीय धनजित तामाङ र सोही नगरपालिका–४ घर भएका ४८ वर्षीय दलबहादुर तामाङ छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो ।

उनीहरूले सक्कली सुन भन्दै एक किलो नक्कली सुन देखाएर ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले बताए ।

मूलपानीबाट पक्राउ परेका उनीहरूबाट नक्कली सुन समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरूलाई कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।





Source link

एकीकृत समाजवादीको निष्कर्ष : अध्यादेशले भूमाफियालाई मात्रै फाइदा पुग्छ


७ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसद्‍मा विचाराधीन अध्यादेशहरूबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्ष निकालेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा बसेको पोलिटब्यूरोको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले संसद् अधिवेशनको संघारमा संसद्‍लाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गरेको बताएको छ ।…



Source link

ट्रम्पको आदेशपछि नेपालमा एमसीसी परियोजना स्थगित

काठमाडौं : अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले तत्कालका लागि नेपालमा सञ्चालित परियोजना स्थगित भएको बताएको छ । एमसीसी अन्तर्गत सञ्चालित आयोजनाहरु स्थगन भएको हो । 

एमसीसी कर्पोृरेसनको २०८१ फागुन २ गतेको इमेल पत्रमार्फत् नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने कृयाकलापहरु रोकिएको जानकारी आएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

अमेरिकी राष्ट्रपतिको गत जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको अर्थ मन्त्रालयको भनाई छ । 

SOURCE: https://www.nepalipaisa.com/news-detail/78913

फेयनोर्डसँग स्तब्ध हुँदै एसी मिलान च्याम्पियन्स लिगबाट बाहिरियो


७ फागुन, काठमाडौं । इटालियन क्लब एसी मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको प्लेअफ चरणबाटै बाहिरिएको छ । दोस्रो लेगको खेलमा डच क्लब फेयनोर्डसँग १-१ गोलको बराबरी खेलेको मिलान समग्रमा २-१ को हार व्यहोर्दै बाहिरिएको हो ।

फेयनोर्ड भने पहिलोपटक अन्तिम १६ मा प्रवेश गरेको हो । गएराति घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमै अग्रता लिएको भएपनि त्यसपछि गोल थप्न नसक्दा र अग्रता जोगाउन नसक्दा मिलान स्तब्ध बन्यो ।

पहिलो मिनेटमै सान्टियागो जिमेनेजले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५१औं मिनेटमा थिओ हर्नान्डेजले रातो कार्ड पाएपछि मिलान १० खेलाडीमा सीमित भएको थियो ।

७३औं मिनेटमा जुलियन कारानाजाले गोल गर्दै पाहुना टोलीका लागि बराबरी गरे । त्यसपछि थप गोल नहुँदा बराबरीमा सकिएको खेलपछि समग्रमा २-१ को जित निकाल्दै फेयनोर्ड अन्तिम १६ मा पुग्न सफल भयो । खेल सकिने क्रममा फेयोनोर्डका गिभाइरो रिडले पनि रातो कार्ड पाएका थिए ।

यसअघि पहिलो लेगको खेलमा फेयनोर्ड १-० ले विजयी भएको थियो । मिलानले घरेलु मैदानमै प्रभावशाली प्रदर्शन गर्न नसक्दा अन्तिम १६ मा पुग्नबाट वञ्चित भयो ।

गएराति भएका अन्य खेलमा बार्यनले सेल्टिकसँग १-१ को बराबरी खेलेपनि समग्रमा ३-२ को जितसहित अघिल्लो चरणमा पुगेको छ । त्यस्तै क्लब ब्रुग र बेनफिका पनि अन्तिम १६ मा पुगेका छन् ।





Source link

अपराध अनुसन्धानमा सूत्र परिचालन गर्ने प्रहरीको तयारी, गृहमा पुग्यो फाइल


७ फागुन, काठमाडौं । अपराध अनुसन्धानमा सूत्र (सुराकी) परिचालन गर्ने गरी नेपाल प्रहरीले प्रक्रिया अघि बढाएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले यसबारे गृहकार्य गरी आवश्यक कागजात समेत तयार पारेको छ ।

सूत्र परिचालन कस्तो अवस्थामा, कसरी गर्ने लगायतका विषयहरु समेटेर अपराध अनुसन्धान विभागले एक निर्देशिकाको ड्राफ्ट समेत बनाइसकेको छ ।

सूत्र परिचालन निर्देशिकाको ड्राफ्ट तयार पारिएको अपराध अनुसन्धान विभागका प्रमुख तथा एआईजी कुवेर कडायतले पुष्टि गरे । ‘सूत्र परिचालन निर्देशिका २०८१ तयार पारेर गृह मन्त्रालयमा पठाएका छौं,’ एआईजी कडायतले भने, ‘पास भएपछि कार्यान्वयनमा जानेछ ।’

निर्देशिकाको हकमा गृह मन्त्रालयबाट पास गराउनुपर्ने भएकाले गृहमा फाइल पठाइएको प्रहरीको भनाइ छ । गृहले उक्त फाइल अध्ययनकै क्रममा रहेको जवाफ प्रहरी प्रधान कार्यालयलाई दिएको छ ।

नेपाल प्रहरीमा अहिले लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) सूत्र परिचालन गर्दै आएको छ । त्यसका लागि केही रकम समेत छुट्याइएको हुन्छ । तर अन्य युनिटका लागि सूत्र परिचालन भनेर रकम छुट्याइएको हुँदैन ।

अपराध अनुसन्धानमा सूचना महत्वपूर्ण हुने तर बिना लगानी सूचना आउन गाह्रो हुने भन्दै अपराध अनुसन्धान विभागले सूत्र परिचालनको आवश्यकता रहेको औंल्याएको छ ।

‘कतिपय गोप्य कोभर्ड अपरेसनदेखि अन्य अपराध अनुसन्धानहरुमा पनि सूचना महत्वपूर्ण मानिन्छ । तर सूत्र परिचालन निर्देशिका नहुँदा यसमा समस्या हुने गरेको छ,’ एआईजी कडायत भन्छन्, ‘आगामी दिनमा यस्तो बाधा नहोस् भन्ने हिसाबले सूत्र परिचालन निर्देशिका बनाइएको हो ।’

निर्देशिकाले कस्तो अवस्थामा सूत्र परिचालन गर्ने, कसले परिचालन गर्नसक्ने, त्यसको गोपनीयता के हुने जस्ता विषयहरु समेटेर निर्देशिकाको ड्राफ्ट तयार पारिएको छ । यदि उक्त निर्देशिका पारित भएर कार्यान्वयनमा आएको अवस्थामा कोभर्ड अपरेसनमा सहज हुने अपेक्षा प्रहरी प्रधान कार्यालयको छ ।

यसअघि कोभर्ड अपरेसनमा खटिएका अनुसन्धान अधिकृतहरु नै एम्बुस (कारबाही)मा पर्दै आएका थिए । सूत्र परिचालन निर्देशिका भने बाहिरी व्यक्तिलाई प्रयोग गर्न सकिने र कोभर्ड अपरेसनको प्रकृति समेत उल्लेख भएकाले अनुसन्धानमा खटिएका प्रहरी कारबाहीमा पर्न सम्भावना पनि कम हुने बताइएको छ ।

बाह्य तथा आपराधिक व्यक्तिसँग साँठगाँठ भएको भन्दै यसअघि ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा प्रहरी अधिकारी नै कारबाहीमा परेका थिए ।

चुडामणि उप्रेती ‘गोरे’ जोडिएको बहुचर्चित सुन तस्करीमा तस्करकै समूहसँग नेक्सस देखिएको भन्दै प्रहरीलाई विभागीय कारबाही मात्रै नभएर पक्राउ गरी फौजदारी मुद्दा नै चलाइएको थियो ।

मोरङ, उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धानका क्रममा प्रहरीले ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन हराएपछि भरियाका रुपमा प्रयोग भएका शाक्यको हत्या भएको पत्ता लगाएको थियो ।

निर्देशिकाको हकमा गृह मन्त्रालयबाट पास गराउनुपर्ने भएकाले गृहमा फाइल पठाइएको प्रहरीको भनाइ छ । गृहले उक्त फाइल अध्ययनकै क्रममा रहेको जवाफ प्रहरी प्रधान कार्यालयलाई दिएको छ ।

यसको अनुसन्धानमा खटिएका अधिकृतहरुको कनेक्सन गोरेदेखि अन्य व्यक्तिसँग पनि देखिएको थियो । यो प्रकरणको छानबिन गर्न भन्दै ‘कोभर्ड अपरेसन’ नै नबुझेका गृह मन्त्रालयका कर्मचारी (तत्कालीन सहसचिव) ईश्वरराज पौडेल नेतृत्वको छानबिन समिति बनाइएको थियो । उक्त समितिले अनुसन्धानमा खटिएका प्रहरीलाई नै कारबाहीका लागि सिफारिस गरेको थियो ।

त्यसपछि पूर्वडीआईजी गोविन्द निरौला, बहालवाला एसएसपीसहित ७ प्रहरी गरी ६३ जनाविरुद्ध मुद्दा दायर भएको थियो । त्यतिबेला प्रहरीले सूत्र परिचालन गरी तस्करीमा संलग्नहरुसँग सम्बन्ध बनाएको थियो । तर त्यही सम्बन्धका कारण उनीहरुले मुद्दा खेप्नु परेको थियो । यद्यपि, प्रहरी आरोपित सबै प्रहरी कर्मचारीलाई जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको १९ असोज २०७८ को इजलासले सफाइ दिएको थियो ।

यदि सूत्र परिचालन निर्देशिका स्वीकृत भएर कार्यान्वयनमा आएको अवस्थामा भने प्रहरीमाथि हुने यस्तो दुर्घटनाबाट बच्न सकिने अपराध अनुसन्धान विभागका एक अधिकृत बताउँछन् । ‘अपराध अनुसन्धानका लागि सुराकी परिचालन गर्न पाउनुका साथै कोभर्ड अपरेसन गर्ने प्रहरीको सुरक्षाको हितका लागि समेत निर्देशिका आवश्यक देखिएकाले बनाएका हौं,’ ती अधिकृत भन्छन् ।

यसका साथै विशेष अनुसन्धान पद्धति सञ्चालन कार्यविधि २०८१ पनि अपराध अनुसन्धान विभागले तयार पारेको छ । जसमा अनुसन्धानका दायरा र कोभर्ट अपरेसनको पद्दति र प्रहरीले त्यसका लागि प्रयोग गर्न सक्ने सूत्रहरुको बारेमा समेत उल्लेख गरिएको छ । यो कार्यविधि पनि कार्यान्वयनको चरणमा रहेको एआईजी कडायतले बताए ।

यसअघि गृहमन्त्री र गृहसचिवले समेत सूत्र परिचालन गर्न पाउने व्यवस्था थियो । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएपछि उनले पहिलो निर्णय नै बेहिसाब खर्च गर्न पाउने सुराकी रकम कटौती गर्ने घोषणा गरेका थिए । उनै गृहमन्त्री श्रेष्ठले सुराकी खर्च कटौतीको प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए ।

२० चैत २०७९ को मन्त्रिपरिषद् बैठकले श्रेष्ठको प्रस्ताव स्वीकृत गर्दै सुराकी खर्च कटौती गरेको थियो । यसअघिसम्म गृहमन्त्री र गृह सचिवले बिना हिसाब-किताब सुराकी खर्च गर्न पाउने व्यवस्था थियो ।

सूत्र परिचालन कार्यविधि २०७८ अनुसार गृहमन्त्रीले दैनिक ५० हजार रुपैयाँ र गृहसचिवले दैनिक २५ हजार रुपैयाँसम्म सूत्र परिचालन भनेर खर्च गर्न पाउने व्यवस्था थियो ।

२०४६ सालपछि गृहमन्त्री बनेका कृष्णप्रसाद भट्टराईले सूत्र परिचालनको व्यवस्था ल्याएका थिए । १३ जेठ २०५० गतेको मन्त्रिपरिषद्ले शान्ति सुरक्षा कायम राख्ने प्रयोजनका लागि भनेर गृहमन्त्रीले दैनिक ५० हजार, गृहसचिवले २५ हजार र सीडीओले २ हजार रुपैयाँ एक पटकमा खर्च गर्न सक्ने प्रावधान तय गरेको थियो । त्यसको स्रोत खुलाउन नपर्ने भएकाले दुरुपयोग हुँदै आएको थियो ।





Source link

प्रवासीलाई नेपाली नागरिकता : बोलीमा अधिकार, व्यवहारमा ‘टुरिस्ट’


प्रवासी नेपालीहरूले नागरिकता त पाए तर मालपोतदेखि एयरपोर्टसम्मले नचिन्ने ‘टुरिस्ट भिसावाला नागरिकता’ को कतै पनि प्रयोग नदेखिएपछि यतिबेला चौतर्फी विरोध भइरहेको छ।



Source link