काठमाडौं । वर्ष २०१६ मा रिलिज भएको बलिउड फिल्म ‘सनम तेरी कसम’बारे धेरैलाई थाहा छ । बक्सअफिसमा फिल्म फ्लप भयो तर यसको चर्चा सकिएको छैन ।
९ वर्षपछि पुनः हलमा आएको यो फिल्मले यतिबेला नयाँजीवन प्राप्त गरेको छ । यसले बक्सअफिसमा पहिलेभन्दा धेरै कमाइ गरेर सबैलाई चकित तुल्याएको छ । झण्डै दशकपछि हलमा फर्किएको फिल्मले भारतीय बक्सअफिसमा सफलता प्राप्त गरेको छ, जसलाई लिएर कसैले पनि अपेक्षा गरेका थिएनन् ।
राधिका राव र विनय सापरु निर्देशित फिल्मले अहिले पनि दर्शकको माया पाएको छ । फिल्ममा हर्षवर्धन राणे र मावरा होकान मुख्य भूमिकामा छन् ।
गत शुक्रबार भारतका हलमा पुनः रिलिज भएको फिल्मले पाँचौ दिन मंगलबार २.८५ करोड भारु कमायो । योसँगै फिल्मले रि-रिलिजमा २१ करोड भारु कमायो । शुक्रबार मात्रै ४ करोडको ओपनिङ गरेको थियो ।
शनिबार ५.२५ करोड भारु र आइतबार ५.७५ करोड भारु कमायो । बक्सअफिसमा नयाँ फिल्मको भीडन्त चल्दा पनि ‘सनम तेरी कसम’ले बक्सअफिसको स्थान बलियो राखेको छ । फिल्मले अहिले पनि दर्शकलाई हलसम्म तान्न सकेको छ ।
विशेषगरि, यसको प्रेमकथाले अहिले पनि दर्शकको मन जितिरहेको छ । फिल्म हेर्न पुराना र नयाँपुस्ताका दर्शक पनि हलमा पुगेको बलिउड संचारमाध्यमले जनाएका छन् । यसको कथाले भ्यालेन्टाइन्स मुड जगाउने मद्दत गर्ने जनाइएको छ । प्रणय दिवसको छेकोमा फिल्मले अझै कमाइ गर्ने प्रक्षेपण छ । जसले गर्दा प्रदर्शरत अन्य फिल्मको कमाइमा थप दबाब पर्ने अपेक्षा छ ।
३० माघ, काठमाडौं । न्याय परिषद्को बैठक बसिरहेको छ । परिषद्मा नयाँ सदस्य थपिएपछि पहिलोपटक बैठक बसेको हो ।
करिब दुई महिनाको रिक्ततापछि गत २१ माघमा वरिष्ठ अधिवक्ता दामोदर खड्का सदस्यमा नियुक्त भएका थिए ।
आजको बैठकबाट नयाँ सदस्य लगायतको कार्यविभाजनको निर्णय हुने एक सदस्यले जानकारी दिए । बैठकमा सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका विषयमा पनि छलफल हुने बताइएको छ ।
सर्वोच्च अदालतमा २१ न्यायाधीशको दरबन्दी रहेकोमा चार रिक्त छ । न्याय परिषद् ऐनमा न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअगावै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइसक्नुपर्ने व्यवस्था भए पनि सर्वोच्चले न्यायाधीश पाउन सकेको छैन ।
बैठकले केही न्यायाधीशको सरुवा तथा काज सम्बन्धी निर्णय लिन सक्ने पनि बताइएको छ ।
३० माघ, मोरङ । कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको संख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएको गणनामा विगतको तुलनामा यो वर्ष चराको संख्या बढेको हो ।
कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार गत पुस २६ देखि माघ १ गतेसम्म ‘मिडविन्टर वाटर वर्ड सेन्सस २०२५’ अन्तर्गत आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ७६ प्रजातिका नौ हजार दुई सय ५० को चरा फेला परेका छन् ।
गत वर्ष ५३ प्रजातिका ५ हजार ५२७ चरा फेला परेका थिए । गणनाका क्रममा यस वर्ष सबैभन्दा धेरै चखेवा जातका चरा एक हजार ६८ र सबैभन्दा कम सेतोकण्ठे गरुड, पानीचाहा, चित्राङ्गद र फुस्रो टिकटिके चरा एउटा–एउटा मात्र फेला परेको आरक्षका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।
सन् १९८७ देखि हुँदै आएको गणनामा जलपक्षीका प्रजाति, तिनको संख्या र बासस्थानमा देखिएका समस्याजस्ता जानकारीको अभिलेख राखिने उनले बताए । सुरक्षित बासस्थान, पर्याप्त आहारा, सिमसारको संरक्षण अनि मनाव चहलपहल कम गर्नसके सिमसार खोलानालामा आगन्तुक चराको संख्या बढ्ने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए ।
उनले असोजदेखि अन्यत्रबाट पर्यटक चरा पुससम्म आउने क्रम जारी रहन्छ र चैत लागेसँगै फर्कने बताउनुभयो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानी बनेको छ ।
करिब ५० प्रजातिका बटुवा चरा कोशीटप्पु, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी क्षेत्रमा रहने केन्द्रप्रमुख गौतमले बताए ।
३० माघ, काठमाडौं । संघीय संसद् सचिवालयले आगामी फागुन १५ गते सम्मको प्रस्तावित संसदीय क्यालेन्डर तयार पारेको छ ।
जसमा संसद्मा विचाराधीन विधेयकहरू अगाडि बढाउने र संसदीय विषयगत समितिमा प्रतिवेदन पेस गर्ने लगायतका कार्यसूची छ । फागुन ४ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ । मन्त्रीहरूसँग प्रश्नोत्तर लगायतका कार्यक्रम पनि प्रस्तावित छन् । तर, अध्यादेश अगाडि बढाउने विषय प्रस्तावित कार्यसूचीमा छैन ।
संसद् अधिवेशन नरहेका बेला सरकारले गत पुस र माघ महिनामा गरेर विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ति सबै अध्यादेश सदनको दुवै सभामा प्रस्तुत भइसकेको छ ।
अध्यादेश अधिवेशन सुरु भएको पहिलो बैठकमा नै प्रस्तुत गर्नुपर्ने र त्यसको ६० दिन भित्र प्रतिस्थापन विधेयक ल्याएर पास गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रतिस्थापन विधेयक ल्याउनका लागि दुवै सदनबाट अध्यादेश स्वीकृत हुनुपर्छ ।
तर, अध्यादेश सदनबाट स्वीकृत हुन बाँकी छ । यसअघि माघ २४ गते दुवै सभामा अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची थियो । अन्तिममा सरकारको आग्रहमा दुवै सभाको कार्यसूचीबाट अध्यादेशसम्बन्धी कार्यक्रम झिकिएको थियो । त्यसयता बसेको दुवै सभामा अध्यादेश अगाडि बढ्न सकेको छैन ।
प्रतिनिधि सभाले १५/१५ दिनको पाक्षिक क्यालेन्डर बनाउँदै आएको छ । यसअनुुसार संसद सचिवालयले फागुन १ गतेदेखि १५ गते सम्मको क्यालेन्डर प्रस्ताव गरेको हो । क्यालेन्डर अनुसार फागुन ४ गते, ५ गते, ६ गते, ११ गते, १२ गते र १३ गते प्रतिनिधि सभाको बैठक बस्नेछ । ती बैठकमा कार्यसूची अगाडि बढाउने सम्बन्धी कार्यक्रम प्रस्ताव गरिएको छैन ।
तर, राजनीतिक सहमति भएमा वा सरकारले अगाडि बढाउन चाहेमा सभामुखले कार्यसूचीमा आवश्यक हेरफेर गरेर अगाडि जान सक्ने संसद् सचिवालयका अधिकारीहरू बताउँछन् ।
३० माघ, काठमाडौं । पछिल्ला महिना ब्याजदर घट्ने क्रम रोकिएको छ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि सार्वजनिक गरेको सूचीअनुसार १८ को ब्याजदर स्थिर छ । ग्लोबल आईएमई बैंकको ब्याजदर बढेको छ भने लक्ष्मी सनराइजको घटेको छ ।
यसअघि माघ महिनामा पनि १८ बैंकको ब्याजदर स्थिर थियो । पुस महिनामा १४ बैंकको स्थिर थियो भने मंसिर महिनामा ८ बैंकले स्थिर राख्दा ११ बैंकले घटाएका थिए । विगतका महिना अत्याधिक घट्दै गएको ब्याजदर पछिल्ला २ महिनादेखि घट्ने क्रम रोकिएको छ ।
समग्रमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर माघ र फागुनको बराबर छ । बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.० प्रतिशत छ । माघमा पनि ६.० प्रतिशत नै थियो ।
व्यक्तिगत मुद्दतीमा ५ वर्षमाथिको अवधिका लागि केही बढी ब्याजदर तोकिएको छ भने न्यून अवधिको ब्याजदर पनि कम छ । फागुन महिनाका लागि व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर एनएमबी र एनआईसी एसियाको सबैभन्दा धेरै ६.६ प्रतिशत छ । जुन लामो अवधिका लागि हो ।
पछिल्लो पटक बैंकहरुबाट जाने कर्जा रकम भने बढ्न थालेको छ । यहीं कारण बैंकहरूले ब्याजदर घटाउन रोकेका छन् ।
राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ ।
संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ । त्यस्तै व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्छन् ।
बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेकाले बैंकहरूले ब्याजदर स्थिर राखेका छन् । अबका केही महिना नै ब्याजदर प्रायः स्थिर नै रहने अनुमान गरिएको छ । पछिल्लो पटक बैंकहरुबाट जाने कर्जा रकम भने बढ्न थालेको छ । यहीं कारण बैंकहरूले ब्याजदर घटाउन रोकेका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष साउनदेखि पुस मसान्तसम्म कुल २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
फागुन महिनाका लागि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा तोकेको अधिकतम ब्याजदर
मंगलबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा (तस्वीर : चन्द्रबहादुर आले)
२९ माघ, काठमाडौं । प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ । स्थगित हुनु अगाडि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा बोलेका थिए ।
प्रतिनिधि सभामा जब आकस्मिक र शून्य समय सकिएर विशेष समय सुरु हुन लाग्दै थियो तब खतिवडाले उठेर समय मागे ।
आफूले बोल्नका लागि समय पाएको तर नपाएको बताए ।
सभाध्यक्षको आसनमा रहेकी उपसभामुख इन्दिरा रानाले आकस्मिक र शून्य समय दुवै सकिएको बताइन् । तर, आफूले समय मागेको खतिवडाले दोहोर्याए । त्यसबेला सभामुखको आसनको दायाँ बायाँ रहेका संसद् सचिवालयका अधिकारीहरूले नाम टिपाएको तर, नाम बोलाउन बिर्सिएको स्मरण गराए ।
त्यसपछि उपसभामुख रानाले दुई मिनेट समय दिइन् ।
त्यसपछि खतिवडा बोल्न थाले । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लक्षित गर्दै अभिव्यक्ति दिए ।
नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने समाचार सुन्नमा आएको उल्लेख गर्दै उनले भने, ‘तर, हामीले को गृहमन्त्री हुँदा देखेका थियौं– एक नम्बरकोलाई नबनाएर १५ नम्बरकोलाई प्रमोशन गरेको हामीले हिजो देख्यौं ।’
खतिवडाले अगाडि भने, ‘आईजीलाई समितिमा बोलाएर निर्दोष छ भन्देन भनेर कानेखुसी गरेको पनि सुन्यौं । कल्ले सदुपयोग गर्यो, कल्ले दुरुयोग गर्यो ? हामीले हेर्नुपर्ने बेला भएको छ ।’
तर, खतिवडाले नाम भने कसैको लिएनन् । उनले विगतका गृहमन्त्रीको कार्यका स्मरण गर्दै भने, ‘प्रहरीमा हाइजम्प, लङजम्प लागू गरियो । दुई ब्याच पछाडिकोलाई प्रमोसन गरियो ।’
यति मात्रै नभएर प्रहरीमा ५२ दिन नपुगी सरुवा गरेर आफ्ना मान्छे लाने काम भएको भनेर उनले यसको पनि जवाफ खोजिनुपर्ने बताए । बहस गर्ने वकिलाई गालामा हानिएको भनेर कटाक्ष गरे ।
अदालतमा मुद्दा चलिरहँदा बाहिर जिन्दावाद र मुर्दावाद भन्ने प्रचलन सुरु भएको उल्लेख गर्दै उनले यो कसले गरेको हो भनेर जवाफ खोजिनुपर्ने बताए ।
सदनमा एउटा कुरा, बाहिर अर्को कुरा गर्ने, सरकारमा हुँदा एउटा कुरा गर्ने र सरकारमा नहुँदा अर्को कुरा गर्ने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताए ।
खतिवडा बोलिरहँदा रास्वपाका सांसद गणेश पराजुलीले प्रश्न उठाए । खतिवडालाई कुन समयमा बोल्न दिइएको भनेर सोध । उपसभामुख रानाले आकस्मिक समयमा बोल्न दिन नाम छुटेकाले पछि समय दिइएको बताए । तर, यो विधि अनुसार नभएको भनेर रास्वपाका सांसदहरू उठे । त्यसपछि रास्वपालाई प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसदहरूले साथ दिए ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले खतिवडालाई कुन नियमावली अनुसार बोल्न दिइयो भनेर सोधे । यसको जवाफ नआए आफूहरुले नमान्ने बताए ।
उपसभामुख रानाले संसद सचिवालयलाई अध्ययन गर्न आदेश गरिन् । तर, विपक्षी दलहरूले मानेनन् ।
लिस्ट लामो भएकाले झुक्किएर नाम छुटेकाले खतिवडालाई बोल्न दिइएको र नियतवश नगरिएको प्रष्टीकरण दिइन् । फेरि पनि विपक्षी दलहरूले मानेनन् ।
त्यसपछि ड्यासमा सभामुख देवराज घिमिरे आए । घिमिरेले खतिवडालाई बोल्न दिइएकोबारे अध्ययन गर्न आदेश दिइएकाले यसअनुसार अगाडि जान आग्रह गरे । संसद सचिवालयको रिर्पोटपछि आगामी दिनमा के गरेर जाने भन्ने समेत तय गर्न सकिने भनेर कन्भिन्स गराउन खोजे ।
तर, विपक्षी दलहरूले बोल्न समय मागे । त्यसपछि सभामुख घिमिरे पनि झोक्किए, ‘यहाँहरूलाई समय दिँदा प्रश्न उठ्छ कि उठ्दैन ? यहाँहरूले ख्याल गर्नुस् ।’
विपक्षी दलका सांसदहरूलाई सभामुख घिमिरेले प्रश्न गरे, ‘यहाँहरुलाई समय दिँदा प्रश्न नउठ्ने, अरुलाई समय दिँदा प्रश्न उठ्ने यस्तो हुन सक्दैन ।’
यत्ति भनेर सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक १५ मिनेटकालागि स्थगित गरिदिए ।
२९ माघ, काठमाडौं । काठमाडौं हाँडीगाउँका विभिन्न रुट अब महानगरपालिकाले एकतर्फी बनाउने भएको छ ।
फागुन ७ गतेबाट लागू हुने गरी महानगरको भवन व्यवस्था समितिको बैठकले उक्त निर्णय गरेको महानगरले जनाएको छ । समितिको बैठकले एकतर्फी बाटो सञ्चालन गर्नेबारे पुस ५ गते निर्णय गरेको थियो ।
कुन-कुन रुट बन्यो एकतर्फी ?
१) काठमाडौँ महानगरपालिका-५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग-हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने ।
२) विशालनगरतर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महांकाल तर्फमात्र प्रवेश गर्न पाउने ।
३ ) हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट पठाउने ।
४) नक्साल भाटभटेनीतर्फबाट आउने सवारी साधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने ।
५) ढुंगेधाराबाट हात्ती महांकालतर्फ प्रवेश निषेध ।
६) वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध ।
७) बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिरतर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध ।
२९ माघ, काठमाडौं । अघिल्ला पाँच कारोबार दिनसम्म लगातार झरेको सेयर बजार मंगलबार बढेको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५४ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६८३ अंकमा कायम भएको छ । कारोबार रकम पनि केही बढेको छ ।
अघिल्लो दिन ६ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ७ अर्ब २४ करोडको भयो । १३४ कम्पनीको मूल्य बढ्दा ९८ को घट्यो भने ११ को स्थिर रह्यो ।
यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै २.३७ प्रतिशत बढ्यो । हाइड्रोपावर १.५७, लगानी ०.४८ तथा उत्पादन ०.०१ प्रतिशत बढे । व्यापार समूह सबैभन्दा धेरै १.०५ प्रतिशत घट्यो ।
अन्य ०.०१, निर्जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.०४, जीवन बीमा ०.०८, होटल तथा पर्यटन ०.४७, फाइनान्स ०.२९ तथा बैंकिङ ०.२० प्रतिशत घटे ।
चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स छन् । त्यस्तै सप्तकोशी विकास बैंकको ८.५, इमर्जिङ नेपालको ७.५ प्रतिशत मूल्य बढ्यो ।
भूगोल इनर्जीको १० तथा उपकार लघुवित्तको मूल्य ८ प्रतिशत घट्यो । कारोबार रकमकाम आधारमा सीईडीबी होल्डिङ्स, न्यादी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।
इन्टरनेट ब्राउजिङका बेला प्राइभेसी कायम राख्नु हरेक प्रयोगकर्ताका लागि महत्वपूर्ण हुन्छ । यही उद्देश्यले वेब ब्राउजरमा इनकग्निटो मोड वा प्राइभेट ब्राउजिङ मोडको सुविधा रहेको हुन्छ । वेब ब्राउजरमा इनकग्निटो मोडमा ब्राउज गर्दा ब्राउजर सर्च हिस्ट्री, कुकिज तथा ब्राउजिङ डेटा सेभ हुँदैनन् ।
यदि तपाईंले कुनै सार्वजनिक वा साझा डिभाइसमा इन्टरनेट चलाइरहनु भएको छ र आफ्नो अनलाइन गतिविधि गोप्य राख्न चाहनुहुन्छ भने त्यस्तो बेला इनकग्निटो मोड निकै उपयोगी हुन्छ ।
यद्यपि कतिपय मानिसहरुलाई के थाहा हुँदैन भने इनकग्निटो मोडमा ब्राउज गर्दा समेत केही डेटाहरु डिभाइस वा इन्टरनेट सेवा प्रदायक (आईएसपी) को सर्भरमा सेभ हुने गर्दछन् । त्यसैले यदि तपाईंले इनकग्निटो मोडको सर्च हिस्ट्रीलाई पूर्ण रुपमा डिलिट गर्न चाहुनुहुन्छ भने तपाईंले केही अतिरिक्त कदम चाल्नुपर्ने हुन्छ ।
इनकग्निटो सर्च हिस्ट्री कसरी डिलिट गर्ने ?
एन्ड्रोइडमा इनकग्निटो हिस्ट्री डिलिट गर्ने तरिका :
वास्तवमा इनकग्निटो मोडमा ब्राउजरले प्रयोगकर्ताको ब्राउजिङ हिस्ट्री सेभ गर्दैन । तर केही डेटाहरु DNS Cache वा Google Activity मा सेभ हुन सक्छन् । यसलाई हटाउनका लागि :
क्रोम ब्राउजर वा कुनै अन्य ब्राउजरमा Google My Activity खोल्नुहोस्
त्यसपछि Delete Activity by मा जानुहोस्
All time अप्सनलाई छान्नुहोस् र Delete बटन थिच्नुहोस्
अर्को तरिका चाहिं यस्तो छ :
फोनको Settings खोल्नुहोस्
Connections वा Wifi and Internet अप्सनमा जानुहोस्
Private DNS अप्सनमा ट्याप गर्नुहोस् र त्यसलाई Automatic बाट Off गर्नुहोस्
त्यसपछि फोनलाई restart गर्नुहोस्
तेस्रो तरिका यस्तो छ :
क्रोम खोल्नुहोस् र तीनवटा थोप्लावाला आइकनमा ट्याप गर्नुहोस्
त्यसपछि History खण्डमा गएर Clear browsing data अप्सन छान्नुहोस्
अन्तिममा Cookies, Cached Images & Files सबैलाई सेलेक्ट गर्नुहोस् र Clear Data अप्सनमा ट्याप गर्नुहोस्
आइफोनमा इनकग्निटो हिस्ट्री डिलिट गर्ने तरिका यस्तो छ :
Setting मा जानुहोस्
Safari मा ट्याप गर्नुहोस्
तल स्क्रोल गर्नुहोस् र Clear History and Website Data मा ट्याप गर्नुहोस्
त्यसपछि Confirm गरेसँगै सफारी ब्राउजरको ब्राउजिङ हिस्ट्री पूर्णरुपमा डिलिट हुनेछ ।
काठमाडौं । वैज्ञानिकहरूले अण्डा उसिन्ने सही तरिका पत्ता लगाएको दाबी गरेका छन् । तर अनौठो त के छ भने सही तरिकाले अण्डा पकाउन आधा घण्टाको समय लाग्ने देखिएको छ । यसको अर्थ के हो भने कुनैपनि राम्रो अर्थात् परिपूर्ण अण्डालाई उसिन्न व्यस्त जीवनशैली जिउनेहरुलाई गाह्रो हुन्छ ।
जब तपाईंले पकाइसकेको अण्डाको बोक्रा हटाउनुहुन्छ तब भित्रको पहेँलो भाग नरम रहेको होस् भन्ने आशा गर्नुहुन्छ, जसले अण्डाको परिकार गज्जब बन्दछ । तर कहिलेकाहीँ त्यसको साटो अण्डाको पहेँलो भाग सुख्खा तथा बिग्रिएको वा त्यसभन्दा पनि अण्डा पूरै नपाकेको हुनसक्छ ।
कति छन् अण्डा पकाउने तरिका ?
अण्डा पकाउनमा सबैभन्दा खास समस्या यो छ कि अण्डाको पहेँलो भाग र सेतो भाग अलग–अलग तापक्रममा पकाइन्छन् ।
पहेँलो भागलाई पाक्नका लागि ६५ डिग्री सेल्सियस (१४९ फारेनहाइट) तापक्रमको आवश्यकता पर्छ भने सेतो भाग अर्थात् एल्बुमिनलाई यसभन्दा थोरै बढी तापक्रम अर्थात् ८५ डिग्री सेल्सियस (१८५ फारेनहाइट) तापक्रमको आवश्यकता पर्छ ।
त्यसकारण पारम्परिक तरिकाले पकाउँदा अण्डाको पहेँलो भाग र सेतो भागका लागि दुई अलग–अलग तापक्रमहरूको बीचमा सन्तुलन कायम राख्न गाह्रो हुन्छ ।
यदि अण्डालाई १०० डिग्री सेल्सियस (२१२ फारेनहाइट) मा उमालियो भने यसको सेतो भाग राम्ररी पाक्छ र नरम हुन्छ ।
तर त्यस्तो तापक्रममा पहेँलो भाग भने पुरै कडा हुन्छ । यस्तो अण्डा केवल उनीहरूको लागि ठीक लाग्छ जसलाई कडा सेतो भाग मन पर्छ, तर यदि तपाईंलाई पहेँलो भाग नरम चाहिन्छ भने यो तरीका तपाईंको लागि उपयुक्त हुँदैन ।
अण्डा पकाउने अर्को तरीका ‘सू वीडे’ हो, जसमा अण्डालाई ६० देखि ७० डिग्री सेल्सियसको बीचमा हल्का तातो पानीमा एक घण्टासम्म राखिन्छ । यसले पहेँलो भागलाई पकाएर नरम राख्छ, तर सेतो भाग चाहिँ पुरै पाक्दैन र गिलो रहन्छ ।
तर अब चिन्ता गर्नु पर्दैन । किनकि अनुसन्धानकर्ताले अण्डा उसिन्ने एक सही तरीका पत्ता लगाएका छन् । यसरी अण्डा पकाउनाले अण्डाको स्वादलाई राम्रो बनाउने मात्र होइन यो स्वास्थ्यको लागि पनि अधिक फाइदाजनक साबित हुन्छ ।
वैज्ञानिकहरूको अण्डा उसिन्ने सही तरीका के हो ?
इटलीको पोजुओलीस्थित नेशनल रिसर्च काउन्सिलका वैज्ञानिक पेल्लेग्रीनो मुस्तो र उनको टोलीले आफ्नो नयाँ अनुसन्धानमा सबैभन्दा पहिले कम्प्युटरको मद्दतले अण्डा पकाउने प्रक्रियामा कसरी काम हुन्छ भन्ने बुझ्ने प्रयास गरेका छन् ।
उनीहरूले यसका लागि एउटा प्रविधि प्रयोग गरेका छन्, जसलाई कम्प्युटेसनल फ्लुइड डायनेमिक्स (सीएफडी) भनिन्छ ।
सीएफडी एउटा प्रविधि हो जसमा कम्प्युटरको मद्दतले तरल पदार्थ र ग्यासहरूको बहाव कसरी हुन्छ भन्ने पत्ता लगाइन्छ । यो प्रक्रिया केही वैज्ञानिक नियमहरूमा आधारित हुन्छ, जस्तै द्रव्यमान, गति र ऊर्जाको सन्तुलन ।
यस अनुसन्धानमा वैज्ञानिकहरूले अण्डा पकाउने एउटा नयाँ तरिका पत्ता लगाएका छन्, जुन अधिकांश शेफ तथा घरेलु भान्सेहरुका लागि नयाँ हुनसक्छ, तर यसको नतिजा राम्रो हुनसक्छ ।
यस प्रविधिलाई ‘पिरियोडिक कुकिङ’ भनिन्छ । यसमा अण्डालाई पहिले उम्लिरहेको पानी (१०० सेल्सियस/२१२ फारेनहाइट) मा राखिन्छ र त्यसपछि हल्का मनतातो पानी (३० सेल्सियस/८६ फारेनहाइट) मा राखिन्छ ।
राम्रो नतिजा हासिल गर्नका लागि अण्डालाई प्रत्येक दुई मिनेटमा दुबै तापक्रम बीच बदल्नुपर्छ र यो प्रक्रिया कुल ३२ मिनेटसम्म चल्छ । त्यसैले, यो तरिका ती व्यक्तिहरूको लागि सही छैन जसले अण्डालाई उमाल्नका लागि भाँडोमा राखेर अरू कामहरूमा व्यस्त हुनुपर्छ ।
तर यदि तपाईं यो तरिका अपनाउनका लागि तयार हुनुहुन्छ भने, यसको नतिजा गज्जबको हुनेछ ।
जब वैज्ञानिकहरूले यस तरिकालाई परीक्षण गरे, तब उनीहरूले पत्ता लगाए कि यसले अण्डाको स्वाद र बनावटलाई राम्रो बनाउँछ ।
उनीहरूले न्युक्लियर म्याग्नेटिक रेजोनन्स (एनएमआर) र हाई–रिजोल्युुसन मास स्पेक्ट्रोमेट्री (एचआरएमएस) जस्ता उन्नत प्राविधिहरूको प्रयोग गरेर अण्डाको बनावट, स्वाद र रासायनिक संरचनाको जाँच गरे ।
परिणाममा पत्ता लाग्यो कि यस तरिकाले पकाएका अण्डाको पहेँलो भाग ‘सू विडे’ तरिकाले बनाएको अण्डाजस्तो नरम र क्रिमी रहन्छ ।
तर ‘सू विडे’ अण्डाको विपरीत, यसको ऐल्बुमेन गिलो र अर्धपाकेको थिएन, बरु परम्परागत तरिकाले उमालेको अण्डाजस्तो मुलायम र सही बनावटको थियो ।
वैज्ञानिकहरूको विश्वास छ कि यस्तो यसैले भएको हो कि यस तरिकामा ऐल्बुमेनको तापक्रम ३५ सेल्सियस (९५ फरेनहाइट) देखि १०० सेल्सियस (२१२ फरेनहाइट) बीच सर्छ, जबकि पहेँलो भागको तापक्रम स्थिर रूपमा ६७ सेल्सियस (१५३ फारेनहाइट) मा रहन्छ ।
वैज्ञानिकहरुले सबैभन्दा रोचक कुरा के पत्ता लगाए भने पेरियोडिक कुकिङको तरिकाले पकाइएका अण्डाको पहेँलो भागमा अन्य तरिकाले पकाइएका अअण्डाको तुलनामा धेरै पोलिफेनोल्स पाइन्छन् ।
पोलिफेनोल्स सूक्ष्म पोषक तत्व हो, जुन प्रायः बिरुवामा पाइन्छ र स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।
यी तत्वहरू एन्टिअक्सिडेन्ट र एण्टी–इन्फ्लेमेटरी गुणहरूले युक्त हुन्छन् ।
वनस्पतीहरुले आफूलाई सूर्यको तीव्र किरणहरू, सुख्खा वा कीटबाट बचाउनका लागि यी तत्व उत्पादन गर्दछन् । यी मानवीय स्वास्थ्यका लागि पनि अत्यन्त फाइदाजनक हुने वैज्ञानिकहरुको भनाइ छ ।
अनुसन्धानबाट के पत्ता लागेको छ भने हाम्रो आहारमा पोलिफेनोल्सको मात्रा बढी भएमा यसले हृदय रोग, विभिन्न प्रकारका क्यान्सर र मस्तिष्कसँग सम्बन्धित रोगहरू (जस्तै अल्जाइमर) को जोखिम घटाउन सक्छ ।
त्यसैले यदि तपाईंले यस्तो गुणकारी पौष्टिक तत्व सहित उसिनेको अण्डा खान चाहनुहुन्छ भने वैज्ञानिक विधिको पिरियोडिक कुकिङ विधि अपनाउन सक्नुहुन्छ ।
२९ माघ, काठमाडौं । नेपाल अडिटर्स एशोसिएसन (अडान)को सातौं महाधिवेशन २०८२ जेठमा हुने भएको छ ।
केन्द्रीय सचिवालयको पूर्ण बैठकले महाधिवेशन आगामी जेठ १६ र १७ गते काठमाडौंमा गर्ने निर्णय गरेको प्रथम उपाध्यक्ष एवम् प्रचार प्रसार विभाग संयोजक डिपी दाहालले जानकारी दिए ।
बैठकले आगामी सातौं राष्ट्रिय महाधिबेशनको तयारीका लागि आगामी चैत १० गतेभित्र जिल्ला अधिवेशन र २०८२ वैशाख १० गतेभित्र प्रदेश अधिवेशन सम्पन्न गर्न सम्पूर्ण जिल्ला कार्य समिति एवम् प्रदेश कार्य समितिलाई समय सीमा तोकेको छ ।
सचिवालय बैठकले चैत १५ गते काठमाडौंमै केन्द्रीय कार्य समितिको बैठक पनि बोलाइएको संयोजक डिपी दाहालले जानकारी दिए ।
२९ माघ, काठमाडौं । नेपाल अडिटर्स एशोसिएसन (अडान)को सातौं महाधिवेशन २०८२ जेठमा हुने भएको छ ।
केन्द्रीय सचिवालयको पूर्ण बैठकले महाधिवेशन आगामी जेठ १६ र १७ गते काठमाडौंमा गर्ने निर्णय गरेको प्रथम उपाध्यक्ष एवम् प्रचार प्रसार विभाग संयोजक डिपी दाहालले जानकारी दिए ।
बैठकले आगामी सातौं राष्ट्रिय महाधिबेशनको तयारीका लागि आगामी चैत १० गतेभित्र जिल्ला अधिवेशन र २०८२ वैशाख १० गतेभित्र प्रदेश अधिवेशन सम्पन्न गर्न सम्पूर्ण जिल्ला कार्य समिति एवम् प्रदेश कार्य समितिलाई समय सीमा तोकेको छ ।
सचिवालय बैठकले चैत १५ गते काठमाडौंमै केन्द्रीय कार्य समितिको बैठक पनि बोलाइएको संयोजक डिपी दाहालले जानकारी दिए ।
२८ माघ, काठमाडौं । नेपालकी सरिना घलेले डब्लुएमएसी इंग्लिस ओपन च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै सरिनाले स्वर्ण जितेकी हुन् ।
इंग्ल्याण्डको क्यानोकस्थित चेस लिजर सेन्टरमा भएको प्रतियोगिताको ट्रेडिसनल वेपन फममा सरिनाले स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् ।
इंग्ल्याण्डकी एमिली जेन दोस्रो भइन् भने तेस्रोमा डान सरिनाले ९.१ अंक जोडिन् ।
प्रतियोगितामा करिब ८ सय खेलाडीको सहभागित रहेको बताइएको छ । अध्यक्ष राईका अनुसार सरिना विगत १ वर्षदेखि उतै अध्ययनरत छिन् ।
गत हप्ता यो पङ्तिकारलाई कोशी प्रदेशका केही ठाउँहरू घुम्ने अवसर मिल्यो । “केही विद्यालय, क्याम्पस र विश्वविद्यालयका कार्यक्रमहरूमा सहभागी हुन पूर्व जानुछ, तपाईं जाने हो? तपाईँसँग सम्बन्धित इन्जिनियरिङ क्याम्पस पनि हेर्नु छ । तपाईँलाई पनि उपयोगी हुन सक्छ, मिल्छ भने समय मिलाउनुस् ।” पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यूसँगको एक भेटमा उहाँले यो कुरा मलाई बताउनु भएको थियो ।
शिक्षा क्षेत्र र त्यसमा पनि प्राविधिक क्षेत्रका विद्यार्थीहरू, ग्र्याजुएटहरू र सम्बन्धित स्टार्टअपहरूले भोगिरहेका समस्याहरूको सन्दर्भमा मेरो भेट थियो, उहाँसँग । समस्याहरू ध्यानपूर्वक सुन्ने र सानो–सानो कुराहरूमा समेत गहिरो चासो राख्ने उहाँको बानी रहेछ । उहाँले आफ्नो यात्रामा सँगै हिंड्न गर्नुभएको प्रस्ताव मेरो लागि एक हिसाबले अभूतपूर्व थियो ।
खिम पन्थी
१४ माघको एक धमिलो अपरान्ह हामी विराटनगर ओर्लियौँ । विराटनगर धुम्म थियो । पूर्व राष्ट्रपतिको विराटनगरसँग गहिरो सम्बन्ध रहेछ भन्ने कुराको झलक विराटनगर एयरपोर्टमा देख्न पाइयो । उहाँलाई स्वागत गर्न आतुर देखिन्थे स्थानीय ।
त्यही दिन उहाँको त्यस क्षेत्रका विज्ञान तथा प्रविधि क्षेत्रका युवा वैज्ञानिक, युवा प्राध्यापक र युवा विद्यार्थीहरूसँग भेटघाट कार्यक्रम रहेछ । ठिक समयमा सुरु भएको कार्यक्रममा तीनवटा उमेर समूहका महिला र पुरुष उस्तै उस्तै सङ्ख्यामा उपस्थिति देखिन्थ्यो । १५ देखि २० वर्ष, २५ देखि ३० वर्ष र ३० देखि ४० वर्षतिरका देखिने समूह समग्र युवाहरूको प्रतिनिधित्व गर्ने खालको देखिन्थ्यो ।
अधिकांश समय उनीहरूकै कुरा सुन्नु भएकी पूर्व राष्ट्रपतिले अन्तिममा छोटो भनाइ राख्नु भएको थियो । मूलत: अनुसन्धानमा रकम नभएको, गतिलो प्रयोगशाला नभएको, स्नातकोत्तर गरेपछि पनि गतिलो जागिर नपाइने र पाए पनि जीवन धान्नै मुश्किल भएकोले आफ्ना साथीहरू जस्तै आफूहरू पनि मुलुक छोड्ने कि जस्तो लागिरहने, तर अवसर पाउँदा यतै सेवा गर्न मन लाग्ने पीडाहरू पोखिरहेका देखिन्थे ।
विज्ञानमा स्नातकोत्तर गरेपछि पनि लोकसेवा गरेर खरिदारको जागिर खानु पर्ने, निजी विद्यालयमा पढाउन जाँदा न्यून तलब दिने, सरकारीमा पढाउन लाइसेन्स चाहिने । यो कस्तो खालको परिस्थिति हो ? उनीहरूका भावनाहरू मार्मिक थिए ।
पूर्व राष्ट्रपतिज्यूले छोटोमा भन्नुभयो, “हामी सबैको सामुहिक प्रयत्नमा सबै समस्याको समाधान सम्भव छ । त्यसमा आफ्नो यथेष्ट चासो र सरोकार छ । म तपाईँहरूसँगै छु । तपाईँहरू निराश नहुनुस् र आफ्ना पहलहरूलाई निरन्तरता दिनुहोस् । ‘
त्यहाँका उठेका सवालहरू कहिले र कसरी सम्बोधित होलान् ? उहाँको अनुहारमा यस्तै भावहरू छचल्किरहेको अनुमान गर्न सकिन्थ्यो ।
दोस्रो दिन, उहाँको भेट त्यही क्षेत्रका बुद्धिजीवी र प्राध्यापकहरूसँग थियो । उहाँले अघिल्लो दिनको जस्तै महेन्द्र मोरङ क्याम्पसको प्रसङ्ग निकाल्नु भयो । हजारौँ विद्यार्थी रहेको क्याम्पसबाट कसरी विद्यार्थीहरू सयौँको सङ्ख्यामा झरे र कसरी फेरि त्यहाँ विद्यार्थी सङ्ख्या हजारौँमा पुगे भन्ने कुरा उहाँले बताइरहनु भएको थियो ।
शिक्षामा रुपान्तरण त भनियो, क्याम्पस / विश्वविद्यालय पनि बनाइयो । तर हाम्रा उत्पादित जनशक्तिले देशभित्रै आशा देख्न नसक्ने कस्तो शिक्षा बनेछ? अब समीक्षा गरौँ । उहाँको बुद्धिजीवीहरूसँगको अपिल थियो ।
पूर्वाधार बनाउन रकम माग्दा पनि रकम नपाइने, रकम पाउँदा पनि काम गर्न नसक्ने र काम गर्न अत्यन्तै धेरै समय लाग्ने यो `डेड लक´ तोड्नु पर्छ भन्ने उहाँको आशय देखिन्थ्यो । कतिपय बुद्धिजीवीहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमहरूमा चासो देखिन्थ्यो । तर उहाँको ध्यान त्यतै महेन्द्र मोरङ क्याम्पस, त्यहाँका पुराना भवन, विद्यार्थी सङ्ख्या किन घटे, त्यतै त्यतै केन्द्रित देखिन्थ्यो । लाग्थ्यो, उहाँ अहिले त्यही क्याम्पसको स्ववियुको कोषाध्यक्ष हो ।
बुद्धिजीवीहरूका कुरा ध्यानसँग सुनेपछिको उहाँको प्रतिक्रिया थियो, आजभन्दा ४० वर्ष अगाडिका कतिपय सवालहरू अझै पेचिला भएछन् । हामी कहाँ कहाँ पुग्यौँ, मुद्दाहरू जहाँको त्यहीँ । हामीले भौतिक पूर्वाधारमा त फड्को मारेका छौँ, तर मानव विकास र उत्पादनमा हामी कति चिप्लेका रहेछौँ । हाम्रा क्याम्पस / स्कुल नबन्ने, तर पुल र बाटो मात्र बन्ने भएछन् । पुल र बाटो बन्दा त राम्रै भयो, तर त्यहाँ गुड्ने ट्रकले बोक्ने सामान हाम्रो आफ्नो नहुने । हामीले खाने अन्न, फलफुल, तरकारी पनि अरबौँको किन्नु पर्ने, कस्तो विकास गरिएछ? उहाँको दिक्दारी थियो ।
शिक्षामा रुपान्तरण त भनियो, क्याम्पस / विश्वविद्यालय पनि बनाइयो । तर हाम्रा उत्पादित जनशक्तिले देशभित्रै आशा देख्न नसक्ने कस्तो शिक्षा बनेछ? अब समीक्षा गरौँ । उहाँको बुद्धिजीवीहरूसँगको अपिल थियो ।
अर्को दिन, एक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा उहाँको सहभागिता थियो । इटहरीको जनता मा.वि.ले आफ्नो ६८ औ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिको रूपमा उहाँलाई आमन्त्रण गरेको रहेछ । कार्यक्रममा अतिथि र वक्ताको भिडले मञ्च भरिएको थियो । विद्यार्थीहरूका प्रतिभाहरू प्रस्तुत भएका थिए, त्यहाँ ।
करिब ३००० विद्यार्थी सङ्ख्या रहेको पूर्व क्षेत्रकै अब्बल सामुदायिक विद्यालयहरूमा पर्दोरहेछ, इटहरीको जनता माध्यमिक विद्यालय । त्यहाँ उपस्थित विद्यार्थीहरूको अनुहार हेर्दा लाग्थ्यो, यिनीहरूको प्रतिभा र क्षमता देशले उपयोग गर्न पाउला? पूर्व राष्ट्रपतिको मन्तव्यको सार त्यस्तै थियो । आजका यी कोपिलाहरू फुल्न र फक्रन पाउनु पर्दछ । त्यसको लागि के के नीतिगत र संरचनात्मक परिवर्तन आवश्यक पर्ने हो, सबै मिलेर गरौँ ।
उहाँले आफ्नो मन्तव्यमा मुख्य गरी शिक्षा, रोजगार, स्वास्थ्य र जलवायु परिवर्तन अहिलेका ज्वलन्त मुद्दा भएकाले सबैको ध्यान यिनमा केन्द्रित हुनु पर्नेमा जोड दिनुभयो । यी साझा मुद्दाका लागि साझा पहल, व्यक्तिगत इमानदारी र प्रयत्नको जोड मिल्नु पर्ने उहाँको निचोड थियो ।
सोही दिनको अपरान्ह, कोशी प्रदेश सरकार मातहत सञ्चालित मनमोहन बहुप्राविधिक विश्वविद्यालयको अवलोकन भ्रमणको कार्यक्रम रहेको थियो । त्यहाँको पूर्वाधार र शैक्षिक कार्यक्रमको जानकारी लिएपश्चात् उहाँले प्राविधिक क्षेत्रको पढाइलाई स्थानीय माग र आवश्यकताका आधारमा परिमार्जन गर्दै लानुपर्ने कुरा व्यक्त गर्नुभयो । प्रविधि पढ्नेले समाज पनि बुझ्नुपर्ने भन्दै समाजलाई कसरी प्रविधिसँग जोड्ने, त्यतातिर विश्वविद्यालयको ध्यान जानुपर्ने उहाँको भनाइ थियो ।
अर्को दिन दुईवटा कार्यक्रम तय रहेछन्, उर्लाबारीमा– जननेता मदन भण्डारीको नाममा सञ्चालित प्रदेश सरकारको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर र मदन भण्डारी प्रतिष्ठानको अवलोकन । पूर्व–पश्चिम राजमार्गको उर्लाबारीमा स्थापना भएको ट्रमा सेन्टरमा बिरामीको चाप थेगी नसक्नु देखिन्थ्यो । सानो ठाउँमा, सिमित स्रोत साधनका बिच सञ्चालन भएको ट्रमा सेन्टर, त्यो क्षेत्रको लागि साँच्चिकै लाइफलाइन रहेछ भन्ने कुरा त्यहाँ देखिएको विरामीको घुइँचोबाट प्रष्ट हुन्थ्यो ।
त्यसको भौतिक पूर्वाधार विकास र सेवा विस्तारमा पूर्व क्षेत्र कस्सिएर लागेको कुरा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बताउनुभयो । त्यहाँबाट फर्कने बेला पूर्व राष्ट्रपतिको चासो अस्पताललाई विस्तार गर्ने र क्षमता बढाउन खुद्राभन्दा पनि प्रष्ट खाका बनाएर काम गर्दा खर्च पनि मितव्ययी हुने र काम पनि दिगो हुने भन्ने रहेछ । जुन कुरा उहाँले त्यहाँका सरोकारवालाहरूसँग व्यक्त गरिरहनु भएको थियो ।
त्यस क्षेत्रमा गरिएको एक सर्वेक्षणको तथ्याङ्कअनुसार ट्रमा सेन्टरको आसपासमा रहेका तीनवटा पालिकाभित्र ४०० जना मिर्गौलाका बिरामीहरू रहेछन् । त्यसैले उक्त ट्रमा सेन्टरमा डायलासिस मेसिन राख्ने हो भने सयौँ मृगौलाका बिरामीहरूको ज्यान बचाउन सकिने रहेछ । तसर्थ हेर्दा सानो देखिने, तर यति ठूलो र महत्वपूर्ण कामका लागि उहाँले राज्यको ध्यान आकृष्ट गर्नुभयो ।
उर्लाबारीमै रहेछ, मदन भण्डारी प्रतिष्ठानको केन्द्रिय कार्यालय । जननेता मदन भण्डारीको राजनीतिक जीवनको सबैभन्दा उर्वर ठाउँ मोरङ र सुनसरी क्षेत्रनै रहेछ भन्ने कुराको छनक त जहाँ जहाँ पुगियो, त्यहाँ त्यहाँ उहाँलाई जनताले सम्झिएको देख्दा प्रष्ट देखिन्थ्यो नै, मदन भण्डारीको स्मरणलाई चिरस्थायी बनाउन जनतासँग जोड्ने प्रतिष्ठानको अभियान अन्तर्गत नै उर्लाबारीमा प्राविधिक क्याम्पस सञ्चालनमा रहेछ ।
ठूलो क्षेत्रफलमा फैलिएको प्रतिष्ठानको हाताभित्र प्रवेश गर्दा देखिएको मदनको शालिकले उहाँ यतै कतै हुनु हुन्छ भन्ने छनक दिइरहेको आभास हुँदो रहेछ । त्यहाँभित्र मदन भण्डारी सङ्ग्रहालय पनि रहेछ । मदनका व्यक्तिगत सरसामानदेखि अध्ययन सामग्री, अडियो–भिजुअल रेकर्डहरू, तस्वीरहरू, विभिन्न राजनैतिक दस्तावेज, उहाँले सेल्टर लिएका ठाउँहरूका डमी कपि, उहाँले प्रयोग गर्ने साइकल लगायतका सामग्रीहरूले सङ्ग्रहालयलाई जीवन्त र पुग्नैपर्ने गन्तव्य बनाउन सफल भएको आभास हुन्थ्यो ।
सङ्ग्रहालयको अवलोकनपश्चात पूर्व राष्ट्रपतिको अनुहारमा भावुकता र एक प्रतिवद्धताको सम्मिश्रण जस्तो भाव देखिन्थ्यो । लाग्थ्यो, उहाँको सङ्कल्प छ, मदनका अपूरा सपनाहरू पूरा गर्ने । मदन भण्डारी सङ्ग्रहालयको बाहिर रहेको बगैँचा, वाटर पार्क, बाल खेलमैदानले त्यस क्षेत्रका जनतालाई मदनसँग सामिप्यताका लागि उम्दा वातावरण बनाएको रहेछ भन्ने अनुभूति भयो ।
यसैगरी, प्राविधिक क्याम्पसले त्यस क्षेत्रका मात्र नभई देशभरका विद्यार्थीहरूलाई इन्जिनियरिङ, कृषि, पशु विज्ञान लगायतका विषयमा शिक्षा दिइरहेको रहेछ । शुल्क तिर्न सक्नेले पनि र तिर्न नसक्नेले पनि प्राविधिक विषय पढ्न पाउने उक्त विद्यालयले प्राविधिक शिक्षामा महत्वपूर्ण योगदान पुर्याएको सहजै अनुमान गर्न सकिन्थ्यो । पूर्व–पश्चिम राजमार्गमा रहेको उक्त प्रतिष्ठान, क्याम्पस, सङ्ग्राहलय र वाटर पार्क देशकै अब्बल शैक्षिक र राजनैतिक भ्रमण केन्द्रको रूपमा विकसित भइरहेको देख्न सकिन्थ्यो ।
करिब एक हप्ता लामो बसाइ सकिनै लाग्दा अरु एक विद्यालय र एक साहित्यिक प्रतिष्ठानले आयोजना गरेका शैक्षिक कार्यक्रमहरूमा पूर्व राष्ट्रपतिसँग विद्यार्थीहरूले भेटघाट गर्ने कार्यक्रमहरू थिए नै, महत्वपूर्ण कार्यक्रम थियो, पूर्व क्षेत्रको सबैभन्दा ठूलो इन्जिनियरिङ क्याम्पस, धरान स्थित पूर्वाञ्चल क्याम्पसको । त्यहाँका विद्यार्थीहरूले आयोजना गरेको राष्ट्रिय प्राविधिक महोत्सव (डेल्टा ५.०) को उद्घाटन कार्यक्रम ।
नेपाली इन्जिनियरिङ विद्यार्थीहरूको कल्पना, सिप र क्षमता विश्वका कुनै मुलुकसँग तुलना गर्न लायक रहेको कुरामा सन्देह थिएन । तुलना गर्न नसकिने थियो त पूर्वाधार र लगानीमा ।
नेपाली इन्जिनियरिङ विद्यार्थीहरूको कल्पना, सिप र क्षमता विश्वका कुनै मुलुकसँग तुलना गर्न लायक रहेको कुरामा सन्देह थिएन । तुलना गर्न नसकिने थियो त पूर्वाधार र लगानीमा । कार्यक्रममा त्यहाँका क्याम्पस प्रमुखको मन्तव्य मार्मिक थियो । पैसाको अभावमा चुहिएका भवन टाल्न गाह्रो छ, जग्गा छ, छात्रावास र प्रयोगशाला व्यवस्थित गर्न पैसा छैन ।
त्यहाँको अवस्था देख्दा लाग्थ्यो, यस्तोमा त यति गर्न सक्ने हाम्रा इन्जिनियरहरू, स्रोत हुँदा के गर्थे होलान्? पूर्व राष्ट्रपतिज्यू नेपालका क्याम्पसहरूको यस्तै अवस्थासँग परिचित हुनुहुन्थ्यो नै । अन्यत्र जस्तै त्यहाँ पनि उहाँले पूर्वाधार र गुणस्तरमा राज्यको लगानी बढाउनु आवश्यक रहेको र स्थानीय र प्रदेस सरकारले पनि क्याम्पस र विश्वविद्यालयहरूलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
क्याम्पस र विश्वविद्यालयलाई जनता र उद्यमसँग जोड्न आवश्यक रहेकोले त्यस काममा सबै मिलेर लाग्नु पर्ने उहाँको जोड थियो । कार्यक्रमबाट निस्कदै गर्दा हामीले रोबो वार हेर्यौँ । मौजुदा स्रोतमा यति बनाउन सक्ने हाम्रा प्रतिभाहरू साँच्चिकै फुल्न र फक्रन पाउँदा कस्तो हुन्थ्यो होला ? पूर्व राष्ट्रपतिको चासो, चिन्तन र सरोकार यस्तै थियो ।
करिब एक हप्ताको बसाइ, कहिले धुम्म बादल लागेको, कहिले आकाश खुलेको, कहिले अलिक चिसो र कहिले अलिक न्यानो थियो । यस अवधिमा उहाँले त्यस क्षेत्रका आफ्ना समकालिन, अग्रज पुस्ता र नयाँ पुस्ताका मानिसहरूलाई भेट्नुभयो ।
उहाँसँग भेट्नेहरूका अनेक जिज्ञासा थिए । कोही तस्वीरका लागि मात्र भए पनि भेट्न पाए हुन्थ्यो भन्ने थिए । कोही मुलुक बिग्रियो, लौन अगाडि सर्नुस् भन्नेहरू थिए । कोही पूर्व राष्ट्रपति राष्ट्रकै अभिभावक हो, त्यही भूमिकामा रहनु पर्दछ भन्नेहरू थिए । कोही राष्ट्रपति पद पनि त राजनैतिक पद नै हो, त्यसैले पूर्व राष्ट्रपति गैरराजनैतिक कसरी हुन सक्दछ भन्नेहरू थिए ।
उहाँले तिनलाई सुन्ने र मनन गर्ने काम त पक्कै गर्नु भएकै होला, तर उहाँको ध्यान राष्ट्रिय मुद्दाहरूको रूपमा शिक्षा, रोजगारी, स्वास्थ्य र जलवायु परिवर्तनका चुनौतिहरूलाई कसरी सामना गर्ने र त्यसको लागि सामुहिक रूपमा लाग्नु पर्ने कुरामा जोड यत्र तत्र अभिव्यक्त भएको थियो ।
विद्यालयमा पोषण कार्यक्रमलाई स्थानीय उत्पादनसँग जोड्न सक्दा कृषि उत्पादन प्रणालीलाई पुनर्स्थास्थापित गर्न सकिन्छ कि भन्ने उहाँको अपेक्षा रहेछ । शिक्षामा पाठ्यक्रम, संरचना र स्रोत साधनको सिंहावलोकन गर्नु पर्दछ भन्ने मत उहाँमा देखिन्थ्यो । राष्ट्रिय अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउनका लागि कम्तीमा स्वदेशमै उत्पादन गर्न सकिने चिज मुलुकभित्रै उत्पादन गर्नका लागि आवश्यक नीति, प्राविधिक ज्ञान र सिपमा पुनरावलोकन गर्नु पर्दछ भन्ने उहाँको ठहर रहेछ ।
स्वास्थ्य सेवा विस्तारमा लगानी र पूर्वाधार मात्र होइन, जनशक्ति उत्पादनमा नीतिगत उल्झनहरू छन्, तिनलाई सच्याउनु पर्दछ भन्ने उहाँको मान्यता देखिन्थ्यो । समग्रमा शिक्षामा तत्काल सुधार प्रारम्भ गर्दा त्यसले सिर्जना गर्ने सीप र प्रविधिमार्फत उद्यम र रोजगारी सिर्जना हुन्छ भन्ने आत्मविश्वास उहाँमा देखिन्थ्यो ।
यसैगरी, जलवायु परिवर्तनको कारकका रूपमा रहेको हरित गृह ग्यास उत्सर्जनमा नेपालको भूमिका नगण्य रहेता पनि यसको नकारात्मक असरबाट प्रभावित हुने प्रमुख देशहरूमा नेपाल परेको हुनाले हामीले अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्ना कुराहरू बलियोसँग राख्नुपर्दछ भन्ने मान्यताहरू अभिव्यक्त गर्दै हुनुहुन्थ्यो ।
उहाँको समग्र देशको चासो र चिन्तामा व्यक्त अव्यक्त भावहरूको सार भनेको समयानुकूल शैक्षिक प्रणालीमा सुधार, उपलब्ध प्राकृतिक स्रोतको दिगो उपयोग गरी उद्योग र उद्यमशीलताको विकास, रोजगारीको सिर्जना गरी सबल र सुदृढ राष्ट्रिय अर्थतन्त्रको निर्माण गरी जनताको जीवनमा समृद्धि ल्याउँने कुरामा केन्द्रित देखिन्थ्यो ।
उहाँको प्राथमिकतामा साना साना बालबालिका र विद्यार्थीहरू देखिन्थे । लाग्थ्यो, उहाँको यात्राको उद्देश्य बिग्रिएका, छोडिएका, परित्यक्त अथवा ओझेलमा परेका सा–साना कुराहरू, जसको राष्ट्रिय जीवनमा ठूलो महत्व हुन्छ, तिनलाई ब्युँताउनु हो ।
यो यात्राले जनजीवनलाई अझै गहिरोसँग बुझ्ने अवसर मेरो लागि पनि महत्वपूर्ण हुने नै भयो । साना साना कुराको सम्बोधन मार्फत ठूलो लक्ष्य प्राप्त हुन्छ र अबको ध्यान त्यसमा केन्द्रित हुनुपर्दछ भन्ने गहिरो अनुभूति सहित हामीले यय पटकको यात्रालाई बिट मार्यौँ ।
२८ माघ, काठमाडौं । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पहिलो पटक प्रतिऔंस २९ सय अमेरिकी डलर नाघेको छ । जुन हालसम्मकै उच्च हो ।
अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दै जाँदा नेपाली बजारमा पनि यसको प्रभाव परेको छ । सोमबार प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा सुन कारोबार भएको थियो ।
यद्यपि नेपाली बजारमा भने यसअघि भन्सार दर १५ बाट २० प्रतिशत पुर्याइँदा १५ कात्तिकमै भाउ १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो ।
बीचमै भन्सार दर घटाएर १० प्रतिशत कायम गरिएपछि ११ असोजमा समायोजन गरियो, जसले गर्दा भाउ तोलामा करिब १६ हजार रुपैयाँ सस्तियो ।
यता भन्सार दर धेरै हुँदा भारतमा सुन सस्तिन पुग्यो । यसले तस्करीको सुन बढी भित्रिने र वैधानिक आयात घट्ने अवस्था आएपछि सरकारले बीचमै भन्सार दर घटाएको थियो ।
भन्सार दर घटेकै कारण नेपालमा यसअघिको रेकर्ड तोडिएको छैन । तर, अमेरिकासँग अन्य राष्ट्रको ‘ट्रेडवार’ देखिएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको माग ह्वात्तै बढेको छ । यहीं कारण अहिले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यले बताए ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्टिल र आल्मुनियम आयातमा २५ प्रतिशत ट्यारिफ लगाउने भएसँगै यसले क्यानडा, ब्राजिल, मेक्सिको, दक्षिण कोरिया, भियतनामलाई बढी प्रभाव पार्नेछ । अमेरिकामा स्टिल तथा आल्मुनियम निर्यातकर्तामा यी ५ क्रमशः ठूला मुलुक हुन् । तीबाहेक जर्मनी, जापानलाई पनि प्रभाव पर्नेछ ।
यो मात्रै होइन, यसअघि ट्रम्पले चिनियाँ सामान आयातमा लगाएको ट्यारिफविरुद्ध चीनले पनि कदम चाल्यो । ट्रम्पको यिनै कदमका कारण सुनको भाउमा प्रभाव परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ ।
अमेरिका र चीनबीच ‘ट्रेड वार’ (व्यापार युद्ध) को संकेत देखिएकै कारण पछिल्लो पटक सुनको भाउ अत्यधिक वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।
ट्रम्पले चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा यसअघि २५ प्रतिशतसम्मको ट्यारिफ शुल्क लगाउने घोषणा गरेलगत्तै क्यानडा र चीनले पनि प्रतीकात्मक घोषणा गरेका थिए । यद्यपि, ट्रम्पले ३० दिनका लागि क्यानडा र मेक्सिकोलाई लगाएको ट्यारिफ शुल्क रोकेका छन् ।
तर, चीनका लागि घोषणा गरेको १५ प्रतिशतसम्मको ट्यारिफ रोकेका छैनन् ।
त्यस्तै अमेरिकाले हालै सार्वजनिक गरेको सन् २०२४ को चौथो त्रैमासिक रिपोर्टले अर्थतन्त्रमा सुस्तता रहेको संकेत देखाएको छ ।
कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुमान गरिएको २.५ प्रतिशतभन्दा कम २.३ प्रतिशतमा झरेको छ । त्यस्तै नयाँ रोजगारी पनि अनुमान गरिएभन्दा झरेको तथ्यांक छ । यही कारण पनि सुनको माग बढेको छ ।
अमेरिका र चीनबीच ‘ट्रेड वार’ (व्यापार युद्ध) कै कारण पछिल्लो पटक सुनको भाउ अत्यधिक वृद्धि भएको महासंघका पूर्व अध्यक्ष शाक्य बताउँछन् ।
नेपाल बैंकर्स संघका अनुसार करिब १ सय ४५ किलो सुन बैंकमा मौज्दात छ । चालु आर्थिक वर्ष हालसम्म बैंकहरूले ७ सय ३२ किलो सुन आयात गरेका छन् ।
‘दुई शक्तिशाली मुलुकबीच नै ट्रेड वार देखिएपछि लगानीकर्ता मात्र नभई अन्य मुलुकका केन्द्रीय बैंकले पनि सुन भण्डारण बढाउँछन्,’ उनले भने, ‘जसले ठूलो माग सिर्जना भई लगातार मूल्य बढेको देखिन्छ ।’
नेपालमा डेढ महिनामा सुनको भाउ प्रतितोला १९ हजार रुपैयाँसम्म बढेको छ । १५ पुसमा सुनको भाउ तोलाको १ लाख ५० हजार ६ सय रुपैयाँ रहेकोमा २८ माघमा १ लाख ६९ हजार ६ सय रुपैयाँ पुगेको छ ।
सुनको भाउ बढ्दा नेपाली बजारमा माग पनि केही घटेको शाक्य बताउँछन् । नेपाल राष्ट्र बैंकले बैंकहरूले दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने सीमा कायम गरेको छ । बैंकहरूले सुन आयात गरी व्यवसायीलाई बिक्री वितरण गर्छन् ।
नेपाल बैंकर्स संघका अनुसार करिब १ सय ४५ किलो सुन बैंकमा मौज्दात छ । चालु आर्थिक वर्ष हालसम्म बैंकहरूले ७ सय ३२ किलो सुन आयात गरेका छन् ।
त्यसमध्ये ५ सय ८७ किलो सुन व्यवासायीलाई वितरण भइसकेको छ भने १ सय ४५ किलो अझै मौज्दात रहेको संघका एक अधिकारीले जानकारी दिए ।
कति पुग्ला भाउ ?
हालको अमेरिकी प्रशासनले अनिश्चितता सिर्जना गरेकाले विभिन्न देशका केन्द्रीय बैंकले पनि सुन खरिद बढाएको किटको मेटल्सका विश्लेषक जिम विकफले रोयटर्ससँग बताएका छन् ।
यसले गर्दा केही महिनामा सुनको मूल्य प्रतिऔंस ३ हजार अमेरिकी डलर पुग्ने उनको अनुमान छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार अमेरिकी डलर पुग्दा नेपाली बजारमा प्रतितोला करिब १ लाख ८० हजार पुग्ने शाक्य बताउँछन् ।
‘अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार अमेरिकी डलर पुग्ने अनुमान भइरहेका छन्, त्यो भनेको यहाँ प्रतितोला १ लाख ८० हजार हाराहारी हुन्छ,’ उनले भने ।
अन्तर्राष्ट्रिय बजारमा सन् २०२४ मा सुनको भाउ २७ प्रतिशत बढ्यो । सन् २०२५ मा पनि सोही हाराहारीमा वृद्धि हुने अनुमान छ ।
नेपालमा सुनलाई लगानीको क्षेत्र बनाइएन
लगानीकर्ता तथा कारोबारीले विश्वभरि सुन कारोबार गरेर नाफा लिइरहेका छन् । दुर्भाग्य, नेपालमा कमोडिटी बजार छैन । केही वर्षअघि सञ्चालनमा रहेको कमोडिटी बजार समेत बन्द गरिएको छ ।
नीतिगत व्यवस्था गरी व्यवस्थित रूपमा कमोडिटी बजार सञ्चालन गर्ने भनेर यो बन्द गरिएको हो । तर, कमोडिटी बजार सञ्चालन तथा नियमन जिम्मेवारी पाएको धितोपत्र बोर्डले ठोस काम गर्न सकेको छैन ।
राज्यले कमोडिटी बजार सञ्चालन नगर्ने, ढिक्का सुन खरिदलाई अवैध मान्नेजस्ता नियन्त्रित अभ्यासले नै यस्ता अवैध कारोबार फस्टाउँदै जाने जोखिम बढेको छ ।
‘कमोडिटी बजार भएको भए सुनमा लगानीको अवसर हुन्थ्यो, त्यसबाट हुने नाफा/घाटा लगानीकर्ताले नै बेहोर्थे, राज्यले पनि धेरैथोरै कर पाउँथ्यो,’ राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट भन्छन्, ‘तर, यहाँ कमोडिटी बजार सञ्चालनको संयन्त्र नै बनेको छैन ।’
भित्री रूपमा भने बाहिरका कमोडिटी बजारमा नेपालीले एजेन्ट मार्फत कारोबार गरिरहेका छन् । कैयौँ कारोबारी छन्, जसले नेपालमै बसेर अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको मूल्य तथा सूचकमा अवैधानिक कारोबार गरिरहेका छन् ।
राज्यले कमोडिटी बजार सञ्चालन नगर्ने, ढिक्का सुन खरिदलाई अवैध मान्नेजस्ता नियन्त्रित अभ्यासले नै यस्ता अवैध कारोबार फस्टाउँदै जाने जोखिम बढेको छ ।
नेपालमा काँचो वा ढिक्का सुन खरिद गर्न पनि पाइँदैन । यदि त्यस्तो सुन खरिद–बिक्री भए अवैधानिक मानिन्छ । तर, गहनाका रूपमा भौतिक रूपमा खरिद गरेर राख्न सकिन्छ ।
गहना नै खरिद गरेर राख्दा जर्ती तथा ज्याला शुल्क, सुरक्षणका लागि अनावश्यक खर्च बढ्न जान्छ । गहनाका रूपमा सुन खरिद गर्दा व्यवसायीले कुल मूल्यको थप १२ प्रतिशतसम्म ज्याला तथा जर्ती शुल्क लिने गरेका छन् । तर, त्यही गहना पछि बेच्दा ज्याला तथा जर्तीको रकम पूर्णनोक्सानी हुन्छ ।
२७ माघ, काठमाडौं । नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो शिखरको सफल आरोहण गरेका छन् ।
पाण्डेले यही फेब्रुअरी ६ तारिखमा अर्जेन्टिना स्थित माउन्ट अकोन्कागुआको सफलतापूर्वक आरोहण गरेका हुन् । उनले अकोन्कागुआको शिखरमा स्थानीय समय अनुसार बिहान ७ः५० बजे चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएका थिए ।
सातै महादेशका सर्वोच्च शिखरको आरोहण गर्ने अभियान अन्तर्गत पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय झण्डा लिई जनवरी २१ मा अर्जेन्टिनाको ब्युनस आयर्सतर्फ प्रस्थान गरेका थिए ।
पर्वतारोहणको क्षेत्रमा विशेष मानिने सेभन समिट अभियानमा उनको यो चौथो हिमाल आरोहण हो भने समग्रमा उनको यो ११ औं आरोहण हो । उनी २०२२ देखि यस अभियानमा रहेका छन् ।
यस अभियानमा उनीसँग कीर्तिमानी पर्वतारोही चतुर तामाङ्ग पनि छन् । अन्य मुलुकमा पनि पर्वतारोहणमा सक्रिय रहेका पर्वतारोही तामाङ्गले सातपटक सगरमाथा आरोहण गरिसकेका छन् ।
आरोही पाण्डेले यसअघि आरोही तामाङ्गसँगै रुसमा रहेको सर्वोच्च युरोपेली हिमाल माउण्ट एलब्रुस चढेका थिए भने पाण्डेले तान्जानियामा रहेको अफ्रिकी महादेशको उच्च हिमशिखर किलिमन्जारोको पनि सफल आरोहण गरिसकेका छन् । उनले स्वदेशमै रहेको किलर माउन्टेन भनिने मनास्लु हिमाल र टेक्निकल मानिएको आमादब्लम हिमालको पनि सफल आरोहण गरिसकेका छन् ।
उचाइ धेरै नभए पनि यो आरोहण निकै चुनौतीपूर्ण रहेको आरोही पाण्डेले बताए । उक्त क्षेत्रमा छिटो छिटो परिवर्तन भइरहने मौसमका कारण यो आरोहण सगरमाथा चढे जतिकै कठिन महशुश गरेको उनले बताए ।
पाण्डेले मकालु आउटफिटको ब्राण्डमा हिमाल आरोहण गर्दै आइरहेका छन् । संसारमै विशेष झण्डाको रूपमा रहेको त्रिकोणकार नेपाली झण्डा सहित आफु संलग्न युवा अभियान नेपाल स्काउट र रोटरी इन्टरनेशनल समेतका सामाजिक संस्थाहरूको झण्डा पनि ती संस्थाहरूको प्रतिनिधित्व गर्दै आफूले फहराउन पाउँदा खुसी लागेको उनले बताए ।
हिमाल आरोहण अभियानकै क्रममा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने बताएका पाण्डेले सो सम्बन्धमा स्थानीय सरोकारवालाहरूसँग अन्तरक्रिया पनि गरेको बताए । जलवायु परिवर्तनका कारणले नेपाल सहित जैविक विविधिता युक्त तथा विशिष्ट भौगोलिक अवस्थिति भएका मुलुकले अनपेक्षित क्षति र समस्याहरु व्यहोर्नु परिरहेको उनले बताए ।
सेभेन समिट अभियानमा अब उत्तर अमेरिकी महादेशको हिमाल आरोहण गर्ने लक्ष्य रहेको पाण्डेले बताए । ‘संयुक्त राज्य अमेरिकामा रहेको डेनाली हिमालको आरोहण मेरो लक्ष्य हो,’ पाण्डेले सगर्व सुनाए । सन् २०१८ मा पहिलोपटक सगरमाथा चढेका पाण्डेले क्रमशः अन्य महादेश तथा क्षेत्रका हिमाल आरोहण गर्दै नेपालमै आएर सगरमाथामा सेभेन समिट अभियानको समापन गर्ने योजना पनि सुनाए ।
काठमाडौं । फिल्म ‘एक्टर : टेक वन’को अस्ट्रेलिया प्रदर्शन मिति तय भएको छ । राजन भुसाल निर्देशित फिल्मलाई इस्सा भाइब इभेन्टले ९ फागुन (२१ फेब्रुअरी)मा रिलिज गर्न लागेको हो ।
पहिलो प्रदर्शन सिड्नीमा हुनेछ । क्यानबेरासहितका अन्य राज्यमा समेत फिल्म प्रदर्शन गरिने वितरक राजजङ्ग क्षेत्रीले बताए । यसका लागि उनले पार्टी टाइम नेपालका सुरज विष्ट र अजय राजवंशीसँग सहकार्य गर्नेछन् ।
केही सहरमा रिलिज तयारी भएको र केहीले बुकिङ समेत थालेको उनले जनाए । प्रदीप खड्का, राजवल्लभ कोइराला स्टारर फिल्म अहिले नेपालमा दोसो सातामा चलिरहेको छ ।
निर्माता मोती कार्कीले अस्ट्रेलियाबाहेकका अन्य मुलुकमा प्रदर्शनको तयारी भैरहेको बताए । उनका अनुसार जापानमा ५ शो सम्पन्न भएको छ । शो थप गर्ने जानकारी आफूले पाएको उनले बताए ।
युरोपेली मुलुकमा भ्यालेन्टाइन्स डेको अवसरमा १४ फेब्रुअरीदेखि रिलिज हुनेछ । अमेरिका र क्यानडामा फेब्रुअरी १८ देखि रिलिज हुनेछ । मध्यपूर्व, बेलायत, न्यूजिल्याण्ड, मलेसिया, दक्षिण कोरिया लगायतका बजारमा मिति तय हुन बाँकी रहेको उनले जनाए । भारतमा भने सेन्सर प्रक्रिया सुरु भएको उनले जनाए । अधृत फिल्म्स् र अ मोती फिल्मले संयुक्तरुपमा फिल्म निर्माण गरेका हुन् ।
२७ माघ, काठमाडौं । नेपाली कांग्रेसले विदेशबाट फर्केकाहरुका लागि संगठित गर्ने भएको छ । नेकपा एमाले र माओवादी केन्द्रले विदेशबाट फर्केकाहरुको छुट्टै संगठन बनाएपछि कांग्रेसले पनि विभाग थपेर संगठित गर्न लागेको हो ।
पूर्व आप्रवासी समन्वय विभाग थपेर केन्द्रीय सदस्य दिनेश कोइरालाई विदेशबाट फर्केकाहरुलाई संगठित गर्न लागिएको हो । विभागले सातै प्रदेशमा भेला गरी पूर्व आप्रवासीलाई संगठित गर्ने भएको छ ।
विभागले लुम्बिनी र बागमतीमा पूर्व आप्रवासीको भेला सकेको छ भने अन्य प्रदेशमा क्रमशः कार्यक्रम राखिने विभाग प्रमुख कोइरालाले जानकारी गराए । विदेशबाट फर्केका कांग्रेसका शुभेच्छुकलाई संगठित गर्न भ्रातृ संस्थाकै रुपमा अघि बढाउनुपर्ने भेलामा धारणाहरु आएको कोइरालाले बताए ।
विभागले विदेशबाट फर्कनेहरुको तथ्यांक संकलन, संरचना निर्माण, आप्रवासीहरुको समस्या, सुझाव लगायतमा कार्य गरिरहेको कोइरालाले जानकारी गराए ।
सातवटै प्रदेशको छलफलबाट प्राप्त निश्कर्षलाई दस्तावेजका रुपमा पार्टी केन्द्रलाई बुझाउने विभाग प्रमुख कोइरालाले जानकारी गराए । विभागले लुम्बिनीको भेला १२ र १३ माघमा गरेको थियो भने बागमतीको भेला हिजो गरेको थियो ।