All posts by

रोकिएन नेप्सेको उकालो यात्रा, बजारलाई यी कुराहरुले सपोर्ट गरिरहेको देखिन्छ


Source : नेपाली पैसा

काठमाडौं : सेयर बजार बढ्नेक्रमले सोमबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक २.४१ विन्दुले बढेर २७३० अंकमा आइपुगेको छ । ११ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७ वटा समूहका सूचक बढेका छन् । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिन भारी अंकले वृद्धि भएको नेप्से सोमबार भने सामान्य बढेको हो ।

समग्रमा हेर्दा २७ सयको लेबलमा आएको नेप्सेले अझै अघि बढ्ने प्रयास गरिरहेको देखिन्छ । सूचकसँगै कारोबार रकममा निरन्तर तेजी आउन सक्यो भने बजारको माथिल्लो यात्रा सहज हुने जानकारहरु बताउँछन् । यसअघि पटकपटक प्रयास गर्दा पनि सफल हुन नसकेको २७८० को तहलाई पार गर्न कारोबार रकममा तेजी आउनुपर्ने हुन्छ । साथै, फराकिलो अंकसहित सूचकको वृद्धि पनि आवश्यक देखिन्छ ।

पछिल्ला दिनहरुमा कारोबार रकममा तेजी आइरहेको छ । लार्ज क्यापका कम्पनीहरु पनि चलिरहेका छन् । आम लगानीकर्ताको मनोबलसमेत वृद्धि हुँदै गएको देखिन्छ । बजारमा सहभागीहरुको संख्या बढेको नेप्सेको तथ्यांकले देखाएको छ । यता, सेयर धितो कर्जा लिएर लगानी गर्नेहरु पनि बढिरहेका छन् ।

यी तथ्यहरुका आधारमा केही करेक्सनहरुका बाबजुत पनि नेप्सेले २७ सयको लेबललाई पार गरेर २८ सयतर्फ अघि बढ्न सक्ने पर्याप्त सम्भावना रहेको जानकारहरु बताउँछन् । बजार अघि बढ्नका लागि नेप्से प्रत्येक दिन बढ्नैपर्छ भन्ने हुँदैन । तर कारोबार रकमले साथ दिंदै गयो भने केही करेक्सनहरु हुँदै समग्रमा बजारले माथिल्लो विन्दुहरु तय गर्न पनि सक्नेछ । कतिपय बजार वृद्धिलाई गभर्नरको बर्हिगमन हुन लागेको विषयसँग पनि जोडेर हेरेको पाइन्छ ।

यसअघि बजार लामो समयसम्म घटेकाले अब माथि जानका लागि आधारहरु तय भएको देखिन्छ । लामो समयसम्म करेक्सन हुँदा भाउ सस्तो भएको छ । समयका हिसाबले पनि करेक्सन र साइडवेज अवधि पूरा भएको अनुमान गर्न सकिन्छ ।

यस्तै, बजारले करेक्सन र साइडवेज हुँदै करिब ६ महिना समय व्यतीत गरिसकेको छ । यसबीचमा ३ हजारको तहमा पुगेको नेप्से घटेर २४ सयकै लेबलमा आयो । पछिल्लो समय नेप्से २७८० को तहसम्म आए पनि त्यसभन्दा माथि जान सकेन ।

अब नेप्सेले पुनः २७८० को लेबललाई पार गर्छ कि गर्दैन, त्यो महत्वपूर्ण हुने देखिन्छ । त्यसो त समग्रमा हेर्दा सेयर बजारले करिब साढे ३ वर्षको वियरिस चक्र पूरा गरिसकेको छ । यसअघिको बुल रनमा ३२ सय पुगेको नेप्से यसबीचमा घटेर १८ सयको तहसम्म पनि आयो । निकै लामो समय बजार वियरिस ट्रेन्डमा रहेकाले अब यसले क्रमशः बुलिस बाटो समाउने विश्लेषणहरु भइरहेका छन् ।

यतिबेला अधिकांश कम्पनीको दोस्रो त्रैमासको रिपोर्ट पनि आइसकेको छ । धेरैजसो सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरी साधारण सभासमेत सम्पन्न गरिसकेका छन् । सेयरधनीको खातामा धमाधम लाभांश पठाउनेक्रम चलिरहेको छ । कम्पनीहरुको दोस्रो त्रैमासको रिपोर्टहरु आइरहेका छन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता र निकै सस्तो ब्याजदर रहेको अवस्था छ । यी सबै कुराहरुले सेयर बजारमा अब सकारात्मक माहोल आउन सक्ने विश्लेषणहरु भइरहेका छन् । नेप्से सूचकसँगै कारोबार रकमसमेत बढ्दा बजार बलियो हुँदै गएको अर्थमा बुझ्न सकिन्छ ।

कारोबार रकम क्रमशः बढ्दा क्रेताहरु सक्रिय भएको अनुमान लगाउन सकिन्छ । बजारले बुल रन समायो भने होल्ड गर्नेहरुले नै बढी लाभ लिन सक्नेछन् । सेयर बजारमा फराकिलो वृद्धिका लागि लार्ज क्याप तथा फन्डामेन्टल कम्पनीहरुले लीड गर्नुपर्ने जानकारहरु बताउँछन् ।

सस्तो ब्याजदरका कारण यतिबेला आम लगानीकर्ताले कर्जा लिएर सेयर बजारमा प्रवेश गर्नेक्रम समेत बढेको तथ्यांकले देखाएको छ । ठूला लगानीकर्ताहरु कर्जा लिएर सेयर बजार प्रवेश गर्नेक्रम अझै बढी रहेको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकले पुष्टि गरेको छ । ठूला तथा संस्थागत लगानीकर्ताको सक्रियता बढ्दा बजारले गति लिन सक्ने अनुमान लगाउन सकिन्छ ।

तर सर्वसाधारण लगानीकर्ताले भने जहिले पनि सबल वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहेका कम्पनीहरु छानेरै योजनाबद्ध ढंगले लगानी गर्दा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने देखिन्छ ।

यस दिन ३ सय १९ कम्पनीको २ करोड ३७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३५ करोड ३० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः सप्कोशी डेभलपमेन्ट बैंक र बरुण हाइड्रोपावर परेका छन् ।

पाथीभरा केबलकार विवाद : आन्दोलनरत पक्षले पनि बनायो वार्ता समिति

मुक्कुमलुङ संरक्षक संस्था तथा मुक्कुमलुङ संरक्षण आन्दोलनको सर्मथित राजनीतिक दलहरूको तर्फबाट पनि वार्ता सहजीकरण समिति गठन भएको छ।

प्राज्ञ अमर तुम्याहाङ संयोजक रहेको सहजीकरण समितिमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंघक (सरू) सदस्य रहेको मुक्कुमलुङ संरक्षक संस्थाहरूका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ।

मुक्कुमलुङमा भइरहेको आन्दोलन, संघर्षको स्थायी समाधान तथा वार्ताका लागि न्यूनतम वातावरण बनाउन सहजीकरण समिति गठन गरिएको विज्ञप्तिमा भनिएको छ।

सरकारले ताप्लेजुङको पाथीभरा क्षेत्रका केवलकार निर्माणका क्रममा उत्पन्न विवाद देखा परेका समस्या समाधानका लागि सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा आइतबार राति वार्ता समिति बनाएको छ।

भट्टराईको नेतृत्वमा रहेको समितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र शहरी विकास मन्त्रालयका प्रतिनिधि रहने गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
(SOURCE: NAGARIKNEWS)

रविसहित १४ विरुद्ध चितवनमा भोलि मात्रै मुद्दा दर्ता हुने

२१ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता नहुने भएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा अदालतमा आजै मुद्दा दर्ता गर्ने तयारी थियो । तर, वकिलहरूको कार्यव्यस्तताका कारण भोलिमात्रै रविसहित १४ जनाको मुद्दा दर्ता हुने भएको हो ।

सरकारी वकिल कार्यालयले लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गर्ने तयारी गरेकाे छ ।

सर्वोच्चका अदालतका न्यायाधीश हरि फुयाँलसहितको उपस्थितिमा चितवनमा आयोजित कार्यक्रममा जिल्ला अदालत र सरकारी वकिल कार्यालयका वकिलहरू सहभागी भएका थिए ।

‘केही वकिलहरूको कार्यव्यस्तताका कारण भोलिमात्रै मुद्दा दर्ता हुने भएको छ,’ सरकारी वकिल कार्यालय स्रोतले भन्यो ।

चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि तथ्यतथ्यांक नमिलेको भन्दैं पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न भनेर फाइल प्रहरीको फर्काएपछि प्रहरीले प्रक्रिया मिलाएर सरकारी वकिल कार्यालयमा एक साता अगाडिमात्रै फाइल पठाएको थियो ।

प्रहरीले पठाएको अनुसन्धान प्रतिवदेन र तिनका प्रमाणहरुको आधारलाई लिएर सरकारी वकिल कार्यालयले आज उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।

रविसहितलाई ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता गर्न लागिएको सरकारी वकिल कार्यालयका एक कर्मचारीले बताए ।

विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दा धरौटी बुझाएका लामिछानेलाई मुद्दा दर्ता भएपछि चितवन झिकाइने छ ।

प्रहरीको अनुसन्धानमा ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटी तिरेर लामिछाने छुटेका थिए ।
(Source : Onlinekhabar)

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कुन प्रदेशमा को ?

काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन गर्ने निर्णय गरेको छ । प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार प्रदेश इन्चार्जहरु तोक्ने निर्णय भएको छ ।

जसमा हरिबोल गजुरेल कोशी, मातृका यादव मधेस, हितमान शाक्य बागमती, दिनानाथ शर्मा गण्डकी, चक्रपाणि खनाल लुम्बिनी, कालीबहादुर मल्ल कर्णाली, गिरिराजमणि पोखरेल सुदूरपश्चिम र जयपुरी घर्ती विशेष प्रदेश इन्चार्ज तोकिएका छन् ।
source :- onlinekhabar