Category Archives: नेपाल समाचार

पाथीभरा केबलकारको निर्माण स्थगित, आन्दोलन फिर्ता – Online Khabar


२२ माघ, काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ ९पाथीभरा०मा निर्माणाधीन केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्कालका लागि स्थगित गर्न सरकार सहमत भएको छ। यस सहमतिसँगै ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेका पक्षबीच मंगलबार भएको वार्तामा ६ बुँदे सहमति भएको हो।

हिजो र आज भएको वार्तापछि दुई पक्षबीच ६ बुँदे सहमति भएको हो । सहमति अनुसार पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य हाललाई स्थगन हुनेछ । स्टेसनका सन्दर्भमा आउँदो २७ माघमा हुने वार्तामा विस्तृत छलफल हुनेछ ।

यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने छ ।

यसैगरी, गत १२ माघको घटनाको विषयमा छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्ने सहमति भएको छ ।

आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने पनि सहमतिमा उल्लेख छ ।

यससँगै मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने, मुक्कुमलुङ संरक्षक पक्षधरहरूबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न आगामी २७ माघमा पुनः वार्तामा बस्ने सहमति भएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

सहमतिका मुख्य बुँदा

१. पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य स्थगित गर्ने र फागुन २७ गते विस्तृत छलफल गर्ने।

२. आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क तथा प्रभावकारी स्वास्थ्य उपचार सरकारले गर्ने।

३. माघ १२ गतेको घटनामा छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने ।

४. आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई विना शर्त रिहा गर्ने प्रक्रिया अघि बढाउने।

५. मुक्कुमलुङ संरक्षक पक्षले घोषणा गरेको यातायात बन्द फिर्ता लिने।

६. केबलकार निर्माणसँग सम्बन्धित असहमति तथा अन्य विषयमा फागुन २७ गते पुनः वार्ता गर्ने।

सरकारी वार्ता टोली संयोजक सहसचिव प्रेम प्रसाद भट्टराई र वार्ता सहजीकरण समितिका सरस्वता सिंगक ९सरु० ले सहमतिमा हस्ताक्षर गरेका छन्।

फागुन २७ गते हुने अर्को चरणको वार्ताले पाथीभरा केबलकारको भविष्यबारे थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।





Source link

अब अनलाइनबाटै यसरी लिनुहोस् नेपाल टेलिकमको ई-सिम – Online Khabar


२२ माघ, काठमाडौं । नेपाल टेलिकमको ई-सिम अब एप र वेबसाइटबाटै पाइने भएको छ । नेपाल टेलिकमले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा आजदेखि ई-सिम सेवा लिन सकिने टेलिकमले जनाएको छ ।

मंगलबार भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित  २१ औं वार्षिकोत्सवको अवसर पारेर उक्त सेवा सुरु गरेको टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीले बताइन् ।

उनले भनिन्, ‘अहिलेसम्म ग्राहकहरूले ई-सिम लिनका लागि काउन्टरमा जानुपर्ने बाध्यता थियो । अब ग्राहकहरूले यो सेवा नेपाल टेलिकम एप र वेबसाइटमार्फत् सहजै प्राप्त गर्न सक्नेछन् ।’

E sim Cover

ई-सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।

यसका लागि ई-सिम सपोर्ट गर्ने ह्यान्डसेट भने आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ। ई-सिम प्रयोगमा आए पश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।

अनलाइनबाटै ई-सिम कसरी लिने ? 

१. तपाईं नेपाल टेलिकमको वेबसाइट https://esim.ntc.net.np जानुहोस् वा यसको एप डाउनलोड गर्नुहोस् । वेब ब्राउजर खोल्दा यो पेज खुल्छ । मोबाइल नम्बर राख्ने स्थानमा १० अंकको मोबाइल नम्बर राखी ‘सेन्ड ओटीपी’ मा क्लिक गर्नुहोस् । मोबाइलमा ओटीपी आउनेछ र दोस्रो पेज खुल्नेछ ।

२. मोबाइलमा आएको ओटीपी राख्नुहोस् । त्‍यसपछि भेरिफाई एण्ड कन्टिन्यूमा क्लिक गर्नुहोस् ।

३. अब Verify My Details मा Click गर्नुहोस् ।

४.  यसपछि Verification Successfully भन्ने Pop Up Message Display हुन्छ ।

५. अब Apply for e-SIM मा Click गर्नुहोस् ।

६. तपाईंले आफ्नो आवश्यक विवरण भरी नागरिकताको प्रमाणपत्रको अगाडि र पछाडिको भाग देखिने गरी एउटा Image Format (Max. size 300kb) तयार गरी Upload गर्नुहोस् र Next मा Click गर्नुहोस् ।

७. अब Camera खुल्नेछ । तपाईंले आफ्नो सक्कली नागरिकता बोकेर फोटो लिनुहोस् र अपलोड गर्नुस् । त्यसपछि ok/Submit गर्नुहोस् ।

८ . तपाईंले पेस गर्नुभएको विवरण, फोटो, नागरिकताको कपीसहितको Review Page Display हुनेछ । सबै विवरण ठिक भएमा Submit मा Click गर्नुहोस् ।

९.त्यसपछि Success भन्ने pop Up Message आउँछ ।

१०. योसँगै Request Pending को यो Screen देखिनेछ ।

११. यो Request नेपाल टेलिकमको सम्बन्धित विभागबाट विवरण Verify गरी Approved भएपश्चात यहि पेजमा “Activate MY ESIM” भन्ने Option आउनेछ र त्यसपश्चात तपाईंले e-SIM QR Download गर्न सक्नुहुनेछ ।

१२.Physical SIM लाई eSIM मा परिवर्तन गर्दा  ५० रुपैयाँ शुल्क लाग्नेछ र उक्त शुल्क सम्बन्धित मोबाइलको ब्यालेन्सबाट काटिनेछ । यसपछि तपाईले ई-सिम स्वःस्फूर्त रूपमा चलाउन सक्नुहुनेछ ।





Source link

प्रहरीले गोली चलाएर २ जना लागुऔषध कारोबारी पक्रियो, एकजना घाइते


फाइल फोटो


२३ माघ, झापा । झापाको कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

गएराति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाइ १९ वर्षीय यूसुब आलमलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए।

मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । घाइते अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार उनीहरुले बीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेका थिए ।

रोकेर जाँच गर्ने क्रममा दुवै जना भाग्न खोजेपछि उनीहरुमाथि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । प्रहरीले चार राउण्ड हवाई फायर गरी दुवैजनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ६३ मिलिग्राम बरामद भएको सूचना अधिकारी चन्दले बताए ।





Source link

घट्यो अमेरिकी डलरको भाउ


२३ माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६२ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज घटेको हो । युरोपियन युरो एकको खरिदर १४३ रूपैयाँ ५२…



Source link

हिउँदे वर्षा नहुँदा मर्कामा महोत्तरीका किसान – Online Khabar


२३ माघ, महोत्तरी । यसपालि सिंगो हिउँद पानी नपरी बित्नै लाग्दा किसान निरास छन् । वसन्तपञ्चमी पर्व मनाइसक्दासम्म पानी पर्ने चालचुल नदेखेपछि महोत्तरीका किसान अहिले अपेक्षित हिउँदेबाली नहुने चिन्ताले पिरोलिएका छन् ।

‘हिउँद पानी नपरी बित्यो’, बर्दिवास–९ टोकीटोलका ६० वर्षीय किसान रामचन्द्र थापामगर भन्छन्, ‘खै हिउँदे बाली राम्ररी भित्रयाउन पाइएला जस्तो छैन ।’

कुलोको स्थायी सिँचाइको प्रबन्ध नभएको आफ्नो ठाउँमा इनारको पानी मोटरले तानेर बाली सेचन गर्ने गरिएको उनले बताए । यसपालि अहिलेसम्म हिउँदे वर्षा नहुँदा इनारमा पानीको सतह गहिरिँदै गएर मोटरबाट पानी तान्न नसकिने अवस्था बनेको थापासहित टोकीटोलका किसानको चिन्ता छ ।

माघ अन्तिम साता लागि सक्दा हुस्सुले छाडेको छैन । हिउँदमा हुस्सु लाग्नु स्वभाविक भए पनि माघ लागेपछि घाम तात्दै जाने पुरानो मौसमको थिति खलबलिएको किसान बताउँछन् । ‘आकास धुम्मिएको धुम्मियै छ, पानी पर्न सकेको छैन’, बर्दिवास–७ का ७० वर्षीय विन्देश्वर यादवले भने ।

खेतबारीमा तरकारी बाली हुस्सुले कक्रदै तथा पानी नपरेर माटो रुखिएको उनले बताए । भङ्गाहा–४ रामनगरका ७५ वर्षीय इस्लाम राइन भन्छन्, ‘यो हामीले पहिले देखे भोगेभन्दा फरक हुँदैछ ।’

एक दशक अघिसम्मका ऋतुपिच्छेका मौसममा गरिने अड्कल अब मेल खान छाडेको राइनकै छिमेकी जव्वार शेष बताउनुहुन्छ । हिउँदे पानी नपर्दा गहुँ, उखु र दलहन बाली राम्ररी बढ्न सकेको छैन ।

यसैगरी भण्टा, रामतोरीया, खुर्सानीलगायत तरकारी पानी नपर्दा ओइलिन लागेका छन् । माटोमा चिस्यान नहुँदा पर्खनुको विकल्प नरहेको गौशाला–११ का भोगेन्द्र महतो बताउँछन् । हिउँदे वर्षा जमिन भिजाउने मात्र नभई बालीनालीका लागि अत्यन्त पोसिलो हुने पाका किसान बताउँछन् ।

भर्खरै हुर्कदै गरेका वैशाखी लहरे तरकारी, उखु , आँपसहितका फलका रुख हिउँदे वर्षा पाएपछि लहलहाउने पाका किसानको अनुभव छ । तर, यसपाली वर्षा नै नभई हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने किसानमा चिन्ता बढेको छ ।

हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोतहरु इनार, चापाकल गर्मी चढेसँगै चाँडै सुक्ने छन् । हिउँदे वर्षा नहुँदा खानेपानीको हाहाकार पर्नसक्ने बर्दिवास–१२ बिजलपुराका ६५ वर्षीय किसान रामविलास सिंह बताउँछन् ।

हिउँदमा पानी नपरेपछि अहिले माघ नसकिँदै खोल्साखोल्सी सुकी सकेका छन् । सदाबहार भुल्के (जरुवा) पानीको मुहानमा पानी देखिन छाडेको छ । हिउँदे वर्षा नभएपछि फलका रुखमा मज्जर (मञ्जरी) कम लाग्ने, मज्जर धेरै झर्ने र मधुवारोगको प्रकोप बढ्ने चिन्ता छ ।

हिउँदमा पानी पर्दा बालीनालीमा रोगको प्रकोप कम हुने र बाली हलक्क बढ्ने किसानको अनुभव छ । हिउँदे सम्यक वर्षा बालीनालीलाई अमृत नै हुने औरही–७ का मोहन महतो बताउँछन् । ‘हिउँदे वर्षा सिँचाइ मात्र हैन, बालीको पोषण र रोग प्रतिरोधका लागि रामवाण (बिस्तुर नजाने) हुन्छ’, उनी भन्छन् ।

महोत्तरीको कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये १० प्रतिशत मात्र कुलो लाग्ने छ । यस्ता जग्गामा पुगेका कुलोको पानीका स्रोतका मुहान पनि हिउँदे वर्षा नभएपछि सुक्दै गएका छन् ।





Source link

कोशी बन्दप्रति निजी क्षेत्रको ध्यानाकर्षण, लगानीमैत्री वातावरण बिथोलिने चिन्ता


२२ माघ, काठमाडौं । निजी क्षेत्रका छाता संगठनहरूले पाथीभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्द्धन गर्न केबुलकार निर्माण परियोजना अघि बढिरहेका सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरूले बन्द–हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह समेत गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै परियोजनाको विषय लिएर कोशी प्रदेशका जिल्लामा भइरहेको बन्द–हडतालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवन समेत अस्तव्यस्त भएको र सर्वसाधारणले सास्ती भोग्नुपरेको बताएका छन् ।

यस्ता गतिविधिले देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने अवस्था सिर्जना हुने ती संगठनको भनाइ छ ।

‘नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको सर्वविदितै छ । उद्योग, व्यापार, बैंकिङ, ऊर्जा, कृषि, पर्यटन, सञ्चार लगायत अन्य पूर्वाधार विकास तथा सेवा क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीले देशको समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको छ,’ संयुक्त विज्ञप्तिमा छ, ‘तर, विकासका कार्य रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्तालाई नकारात्मक सन्देश प्रवाह गर्ने हुनाले सम्बन्धित सरोकारवालालाई यस विषयमा गम्भीर बन्न, विकास निर्माण कार्य सहज र निर्वाध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्दछौं ।’

केबुलकार निर्माणका लागि स्थानीय तह र स्थानीयवासिन्दा सहमत हुनुपर्छ भन्ने धारणा राखिरहेका सन्दर्भमा केबुलकार बन्न दिनु हुँदैन भनेर वाह्य हस्तक्षेप सहित निर्माण कार्यमा अवरोध हुनु दुःखद हो ।

पर्यटनमा निजी क्षेत्रले अर्बौं रुपैयाँ लगानी गरिसकेको, हजारौं नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको अवस्थामा पाथीभरा (मक्कुम्लुङ) मा बन्ने पर्यटकीय पूर्वाधारले त्यहाँ जान चाहने वृद्धवृद्धा, अशक्त, बालबालिका सहित अन्यलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रा उपलब्ध गराउनुका साथै पूर्वाधार निर्माणले त्यहाँको धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटन प्रवर्द्धन, कृषि, हस्तकला विकास मार्फत व्यवसाय प्रवर्द्धनका साथै स्थानीयका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुने र देशकै पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै केबुलकार निर्माणका लागि स्थानीय तह र स्थानीयवासिन्दा सहमत हुनुपर्छ भन्ने धारणा राखिरहेका सन्दर्भमा केबुलकार बन्न दिनु हुँदैन भनेर वाह्य हस्तक्षेप सहित निर्माण कार्यमा अवरोध हुनुलाई दुःखद मात्र नभई विकासको प्रवाह रोक्ने प्रयासका रूपमा निजी क्षेत्रले लिएको समेत विज्ञप्तिमा छ ।

उनीहरूले विकासमा देखिएको यो अवरोध कुनै एउटा परियोजनाको विरोध मात्रै नभएर देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने अवस्था सिर्जना हुनुका साथै नेपालमा लगानी गर्ने लगानीकर्तालाई यसले नकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् ।

यस्तै उनीहरूले समस्या समाधान वार्ताबाट गर्न सकिने जनाउँदै विकासको यो प्रयासलाई सकारात्मक रूपमा ग्रहण गर्न र पाथीभरा (मक्कुम्लुङ) केबुलकार परियोजना सहज र निर्वाध अघि बढाउन स्थानीय समुदाय, सम्बन्धित निकाय तथा सरोकारवालालाई अपिल गरेका छन् ।

उता, उद्योग वाणिज्य महासंघ कोशी, गण्डकी र कर्णाली प्रदेशका सभापतिहरूले पनि आज छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यसबारे महासंघ प्रदेश समितिको ध्यानाकर्षण भएको जनाएका छन् ।

देशको व्यावसायिक ग्रुपको अगुवाईमा निर्माण हुन लागेको केबुलकार आयोजना विरुद्ध भएका क्रियाकलापले देशमा लगानीको वातावरण बनाउने नभएर भत्काउने काम गरिरहेको निजी क्षेत्रको धारणा छ ।

उनीहरूले कोभिड महामारी लगायत कारण संकटमा परेको अर्थतन्त्रको विकास गरी पुरानै अवस्थामा ल्याउन नेपाल सरकार र निजी क्षेत्र लागिपरिरहेको अवस्थामा विकासका लागि भइरहेका प्रयासमा अवरोध हट्नुपर्ने धारणा राखेका छन् ।

‘राज्यको नियम, कानुन तथा प्रणालीले स्वीकृति तथा अनुमति प्रदान गरेर तथा स्थानीयवासिन्दाको भावना र चाहना बमोजिम नै निर्माणको काम सुरु गर्दैगर्दा उत्पन्न भएको वाह्य परिस्थितिले यो आयोजनालाई जे जसरी अवरोध उत्पन्न गर्न खोजिएको छ । यसबाट नेपालको आर्थिक विकासका लागि अत्यावश्यक स्वदेशी एवं विदेशी लगानीका क्षेत्रमा पक्कै पनि सकारात्मक सन्देश दिएको छैन,’ । उनीहरूको संयुक्त विज्ञप्तिमा छ ।

देशका कैयौँ स्थानमा पर्यटन पूर्वाधार निर्माण गरी दसौं हजारलाई रोजगारी प्रदान गरिरहेको तथा राजस्वका माध्यमबाट मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याइरहेको देशको व्यावसायिक ग्रुपको अगुवाईमा निर्माण हुन लागेको केबुलकार आयोजना विरुद्ध भएका क्रियाकलापले देशमा लगानीको वातावरण बनाउने नभएर भत्काउने काम गरिरहेको निजी क्षेत्रको धारणा छ ।





Source link

उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेमाथिको कैद सजाय उच्च अदालतबाट सदर


२२ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुमाथि जिल्ला अदालतले गरेको २ वर्ष कैद सजायको फैसला उच्च अदालतले पनि सदर गरेको छ ।

तर, क्षतिपूर्तिको रकम भने चार लाख रुपैयाँ घटाएको छ । मंगलबार उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले जिल्ला अदालतको फैसला नै सदर गर्दै क्षतिपूर्ति भने घटाएको हो ।

काठमाडौं जिल्ला अदालतले ७ मंसिर २०८० मा चलाउनेलाई आक्रमणमा संलग्न योगेन्द्र रावल, हरि आचार्य, निरज राना मगर, रुपेश शाह, रविनकुमार लामा र सयुस भनिने सयुज श्रेष्ठलाई दोषी ठहर गरेको थियो ।

अदालतले उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ अनुसार २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

त्यसबेला अदालतले उपप्राध्यापक चलाउनेलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो । घटनामा मतियारको अभियोग लागेका दीपकराज ओझाले भने सफाइ पाएका थिए । उनलाई सफाइ दिने आदेशलाई उच्च अदालतले पनि सदर गरेको छ ।

उपप्राध्यापक चलाउनेमाथि २०७७ सालमा त्रिवि परिसरमै मरणासन्न हुने गरी आक्रमण भएको थियो । आक्रमणका मुख्य योजनाकार हरिप्रसाद आचार्य हालसम्म फरार छन् । उनी हाल अमेरिकामा छन् भने अर्का आरोपी निरज राना मगर अष्ट्रेलिया छन् ।

उनीहरुलाई फिर्ता ल्याउन माग गर्दै उपप्राध्यापक चलाउनेले नेपालस्थित अमेरिकी र अष्ट्रेलियन दूतावासमा निवेदन समेत दिएका थिए । चलाउनेले अनलाइनखबरसँग भने, ‘दुई तहको अदालतले उनीहरुलाई दोषी ठहर गरेसँगै तिनीहरुलाई राज्यले फिर्ता ल्याउँछ भन्ने आशा पलाएको छ ।’





Source link

‘जनकपुर साहित्य महोत्सव’ २४ माघदेखि – Online Khabar


२२ माघ, जनकपुरधाम । ‘जनकपुर साहित्य महोत्सव’ २४ माघदेखि हुने भएको छ ।

नव मिथिला फाउन्डेसनले विगत पाँच वर्षदेखि निरन्तर रूपमा आयोजना गर्दै आएको साहित्य महोत्सव २४, २५ र २६ माघमा हुने भएको हो  ।

जनकपुरधामस्थित राम मन्दिरको पार्कमा आयोजना हुने महोत्सवमा साहित्य, संस्कृति र समाजको चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको फाउन्डेसनले जनाएको छ ।

यस वर्षको महोत्सवलाई थप व्यापक बनाउन १७ सत्रमा गहन बहस र संवाद राखिएको फाउन्डेसनका अध्यक्ष अमित साहले जानकारी दिए ।

साहका अनुसार महोत्सवमा साहित्य, शिक्षा, पर्यटन, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कार लगायतका विषयमा १७ वटा विभिन्न सत्रहरू राखिएको छ ।

महोत्सवमा १४ वटा प्यानल डिस्कसन र ३ वटा एकल प्रवचन समावेश गरिएको उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए ।

उनका अनुसार  महोत्सवमा अमित झा साहित्य संगीत पुरस्कार’ प्रदान गर्ने कार्यक्रम समेत राखिएको छ ।





Source link

पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन प्रस्ताव


२२ माघ, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन प्रस्ताव प्रवेश भएको छ ।

मंगलबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकको दफावार छलफलमा कांग्रेस सांसद डा. चन्द्र भण्डारीले बहालवाला प्रधानमन्त्रीलाई कुलपति बनाउँदा समय दिन नभ्याउने भएकाले पूर्वराष्ट्रपति वा पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउन प्रस्ताव राखेका हुन् ।

‘परिवर्तन गर्ने हो भने पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरू हुनुहुन्छ । गरिमामय पदमा बसेको व्यक्तिलाई एक–एकवटा विश्वविद्यालय दिइयो भने समाज रुपान्तरण गर्न सकिन्छ । एक कदम फड्को मार्न सकिन्छ । यो आँखाबाट पनि हेरौं,’ उनले भने ।

विश्वमा यस्तो चलन रहेको बताउँदै सांसद भण्डारीले पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्न समितिमा प्रस्ताव राखे । ‘उहाँहरू खाली हुनुहुन्छ । एकपटक कुरा गरौं । यो बाटोलाई बन्द नगरौं । कुलपति हुन चाहेमा उहाँहरूलाई दिऔँ । उहाँहरूसँग ज्ञान छ । पढेको हुनुहुन्छ । बाबुरामजीहरू हुनुहुन्छ,’ भण्डारीले भने ।

माओवादीका सांसद महिन्द्र राय यादवले भने फरक मत राखे । पूर्वराष्ट्रप्रमुखहरू नै पार्टी बैठकमा आउन खोजिरहेको अवस्थामा कुलपति बनाउँदा विश्वविद्यालयलाई राजनीतिबाट बाहिर राख्न नसकिने तर्क गरे ।

‘देशको राष्ट्रपतिको उपराष्ट्रपतिको गरिमा कति छ ? पार्टीभन्दा माथि हुने हो भने ठीक छ । तर, राष्ट्रपति नै पार्टी बैठकमा आउन खोजेको हो भने विश्वविद्यालयलाई राजनीतिबाट बाहिर राख्न सकिँदैन । दलप्रति नरम हुन्छ,’ उनले भने, ‘शिक्षामन्त्रीलाई कुलपति राखेर विज्ञहरूको प्रतिस्पर्धाबाट उपकुलपति राखौं ।’

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमा कुलपति प्रधानमन्त्री हुने प्रावधान राखिएको छ । यसमा सांसदहरूले फरक–फरक प्रस्ताव राखेका छन् ।

माओवादी सांसद रेखा शर्माले प्रधानमन्त्रीलाई संरक्षक राखेर शिक्षामन्त्रीलाई बढी जिम्मेवार बनाएर जान सकिने प्रस्ताव राखिन् । ‘सबै विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने व्यवस्था छ । धेरै ठाउँमा प्रधानमन्त्रीलाई जिम्मा दिने, त्यस्तै परे प्रधानामन्त्रीलाई थाहा नहुने स्थिति छ । शिक्षामन्त्रीलाई बढी जिम्मेवारी बनाएर जाने र प्रधानमन्त्रीलाई संरक्षक बनाउन सकिन्छ,’ उनले भनिन् । उपकुलपति चाहिँ विज्ञलाई नै बनाउनुपर्ने राय उनको छ ।

samiteee
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिकाे म‍ंगलबार बसेकाे बैठक ।

एमाले सांसद सरिता भुसालले भने राष्ट्रिय सभाबाट पारित गरेकोलाई नै स्वीकार गर्न सकिने बताइन् । राष्ट्रिय सभाले कुलपति प्रधानमन्त्री रहने पारित गरेको छ । एमाले सांसद दीपा शर्माले सबै विश्वविद्यलयमा एकरूपता हुने गरी बनाउन प्रस्ताव राखिन् ।

‘विश्वविद्यालय अनुसार फरक नगरौं, एउटै बनाएर जाऔं,’ उनले भनिन्, ‘एउटै साझा धारणा बनाऔं । सबैमा एकरूपता कायम गरौं । प्रधानमन्त्री हुनैपर्छ भन्ने पनि होइन, हुनै नहुने भन्ने पनि होइन ।’

विधेयकको दफा ६ मा विश्वविद्यालयको पदाधिकारीमा कुलपति, सहकुलपति, उपकुलपति, रजिस्ट्रार, डीन, प्रिन्सिपल र अस्पतालको निर्देशक हुने भनिएको छ । प्रमुख पदाधिकारी कसलाई बनाउने भन्नेमा समितिमा फरक–फरक प्रस्ताव आयो ।

समिति सभापति अम्बरबहादुर थापा पनि प्रधानमन्त्रीलाई संरक्षक बनाएर शिक्षामन्त्रीलाई कुलपति बनाएर जानुपर्नेमा उभिए । ‘हिजो एक दुईवटा विश्वविद्यालय थियो ठिकै भयो । अब २०–३० वटा विश्वविद्यालय हुने भयो । प्रधानमन्त्रीलाई संरक्षकको रूपमा राख्ने र शिक्षामन्त्रीलाई कुलपति बनाउने । विज्ञबाट उपकुलपति बनाउने वातवरण बनायौं भने दलीय भावना कमजोर हुन्छ,’ उनले भने । कुलपति कसलाई बनाउने भन्नेमा समिति निचोडमा पुग्न नसकेपछि थप परामर्श गर्ने भन्दै दफा ६ लाई होल्ड गरियो ।

विधेयकको दफा ७ मा सभाको गठनको व्यवस्था छ । उक्त दफाको उपदफा २ को उपदफा क र ख मा कुलपति सभाको अध्यक्ष र सहकुलपति उपाध्यक्ष हुने भनिएको छ । यसमा पनि समितिले निर्णय गर्न सकेन । यो दफालाई पनि अन्तिममा टुंगो लगाउने निर्णय समितिले गर्‍यो । तर, सभा २५ सदस्यीयको हुने समितिले पारित गरेको छ । जसमा ९ जना महिला अनिवार्य हुने व्यवस्था समितले पारित गरेको छ । बौद्धिक चोरी गरेको व्यक्ति सभाको सदस्य हुन नपाउने पनि समितिले पारित गरेको छ ।

विश्वविद्यालयको सभा सदस्यमा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षलाई राख्ने कि नराख्ने भन्नेमा सांसदहरूबीच मतभेद भयो । रास्वपाकी सांसद डा. तोसिमा कार्कीले दलका विद्यार्थीका कारण विश्वविद्यालयमा दलीयकरण बढेकाले स्वतन्त्र विद्यार्थी युनियन राख्न नहुने मत राखिन् ।

‘नाम स्वतन्त्र विद्यार्थी युनियन भनेको छ, तर दलीयकरण भएको छ । दलदलको प्यानल बनाएर उठ्छन् । दलको दलदलमा विश्वविद्यालय फसेको छ,’ उनले भनिन् ।

एमाले सांसद दीपा शर्माले भने स्वतन्त्र विद्यार्थी युनियनको प्रतिनिधि आवश्यक रहेकोमा जोड दिइन् । ‘स्वतन्त्र विद्यार्थी युनियन कुनै पार्टीको हुँदैन । साझा संस्थाको रूपमा काम गर्ने हो । विद्यार्थीबाट अनुमोदित भएर आएको हो । स्ववियु सभापतिलाई छुटाउनु हुँदैन,’ उनले भनिन् ।

समिति सभापति अम्बरबहादुर थापाले पनि स्ववियुलाई समावेश गर्न चाहेका थिए । तर, समितिका अधिकांश सदस्यले स्ववियुको सट्टा विद्यार्थी प्रतिनिधि राख्न सकिने प्रस्ताव राखे ।

शिक्षामन्त्री विद्या भट्टराईले पनि विद्यार्थी प्रतिनिधि राख्दा उपयुक्त हुने राय राखिन् । ‘विद्यार्थी प्रतिनिधिको विषय उठ्यो । स्वतन्त्र विद्यार्थी युनियन नराखौं । विद्यार्थी प्रतिनिधि राखांै राष्ट्रिय सभाबाट आएकोलाई मानेर जाऔं,’ मन्त्री भट्टराईले भनिन्, ‘स्वतन्त्र विद्यार्थी युनियन कस्तो हुने मोडालिटी बनाउनुपर्छ ।’

राष्ट्रिय सभाले ख्यातिप्राप्त विद्वान, विषय विज्ञ, विश्वविद्यालयमा कार्यरत प्राध्यापक वा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी प्रतिनिधिलाई सभाको बैठकमा आमन्त्रण गर्न सकिने भनेर पारित गरेको छ । प्रतिनिधिसभाको शिक्षा समितिले पनि यसैलाई अनुमोदन गरेको हो । शिक्षा समितिले विधेयकको दफा ३, ४, ५, ७, ८, ९, १० र ११ दफा पारित गरेको छ ।





Source link

विभिन्न खेल आयोजना गर्न चेम्बरको सहकार्य – Online Khabar


२२ माघ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र सम्बन्धित सामग्री प्रर्दशनी आयोजना गर्न विविध संस्थासँग सहकार्य सम्झौता गरेको छ ।

चेम्बरको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माइस इन्टरनेसनल सर्भिस प्रालि, नेपाल स्पोर्ट्स एन्ड फिटनेस इन्डस्ट्री तथा नेपाल स्पोर्ट्स एसोसिएसनसँग सहकार्यका लागि सम्झौता गरेको हो ।

‘नेपाल स्पोर्ट्स कन्क्लेभ २०२५’, ‘नेपाल दोस्रो स्पोर्टस्  एन्ड फिटनेस एक्स्पो २०२५’ एवं पाँचौं ‘स्पोर्ट्स च्याम्पियनसिप एन्ड एक्स्पो’ का लागि सहकार्य सम्झौता गरिएको चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतामा चेम्बरको शिक्षा एवं खेलकुद समितिका सभापति रुपक राजवंशी, नेपाल स्पोर्टस एन्ड फिटनेस इन्डस्ट्रीका अध्यक्ष सुरज डंगोल, यस्तै नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य निरञ्जन राजवंशी र माइस इन्टरनेसनलका निर्देशक दीपक थापाले हस्ताक्षर गरेका छन् । कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको सहभागिता थियो ।

चेम्बर र खेलकुदका विभिन्न निकायबीच भएको सम्झौताले नेपालमा खेल क्षेत्रको विकास, अवसर सिर्जना एवं नीतिगत तवरमा सहकार्य हुने विश्वास गरिएको छ ।

चेम्बरसँग गरिएको सम्झौतापछि सरोकारवाला सबै निकायलाई एकीकृत गरी खेलकुद क्षेत्रको विकास गर्न रणनीतिक साझेदारीमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।

दोस्रो नेपाल स्पोटर्स कन्क्लेभमा समूहगत छलफल, कार्यपत्र प्रस्तुति लगायत कार्यका लागि चेम्बर अफ कमर्सले सहकार्य गर्ने छ । दोस्रो नेपाल फिटनेस एक्स्पोमा खेलाडी एवं फिटनेस उद्योगी, नयाँ खोज एवं फिटनेस क्षेत्रबारे बृहत जानकारी दिने उद्देश्य राखिएको छ ।

यस्तै चेम्बसँगको सहकार्यमा पाँचौं स्पोर्ट्स च्याम्पियनसिपको समेत आयोजना तयारी भएको छ । चेम्बर र विभिन्न खेलकुद संस्थाबीच आगामी तीन वर्षका लागि सहकार्यको सम्झौता भएको चेम्बरले जनाएको छ । यो सहकार्यले नेपालको खेल क्षेत्र र अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।





Source link

७ उपसचिवको बढुवा, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय


२२ माघ, काठमाडौं । सरकारले सात उपसचिवको एकैपटक बढुवा गरेको छ ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवाका सात उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा समितिको सिफारिसबमोजिम निजामती सेवाका विभिन्न सेवा, समूह तथा उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणीका सात अधिकृतहरूलाई सम्बन्धित सेवा, समूह तथा उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सोसरहको पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै, मन्त्रिपरिषद्ले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ३ बमोजिमको कार्य गृह मन्त्रालयका सचिवबाट सम्पादन गर्नेगरी अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू :

१. ऊर्जा, जलस्रोत तथा नेपाल–भारत सीमादेखि भारतको मुजफ्फरपुरसम्म (भारतीय खण्ड) को प्रशारण लाइन निर्माणको लागि स्थापित क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको बिक्रीमा रहेको आईएल एण्ड एफएस/इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको नेपाल विद्युत प्राधिकरणको हिस्सामा पर्ने २९,७३,१६३ कित्ता संस्थापक शेयर खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिने ।

२. काठमाडौं उपत्यका मुकाम रहने गरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने ।

३. राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ३ बमोजिमको कार्य गृह मन्त्रालयका सचिवबाट सम्पादन गर्नेगरी अधिकार प्रत्यायोजन गर्ने ।

४.२०८१ फागुन ६ देखि ८ गतेसम्म मोरक्कोको माराकेशमा आयोजना हुन सडक सुरक्षा सम्बन्धी चौथो विश्वव्यापी मन्त्रीस्तरीय सम्मेलन विषयक कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

५. बालसुधार गृह भक्तपुर, मोरङ, कास्की र बाँकेको सञ्चालन र व्यवस्थापनको तथा ज्येष्ठ नागरिक लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप नेपाल) बीच भएको सम्झौताको अवधि २०८२ साल असार मसान्तसम्मको लागि थप गर्ने ।

६. सैनामैना नगरपालिका रुपन्देहीलाई सैनामैना फोहर व्यवस्थापन केन्द्र निर्माणको लागि रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. १० मा रहेको राष्ट्रिय वनको ३.५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

७. वन तथा वातावरण आगामी २०८२ साल जेठ २, ३ र ४ गते क्लाइमेट चेञ्ज माउन्टेन्स् एण्ड द फ्युचर अफ् ह्युमानिटी विषयमा काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने ।

८. भेरी पम्पिङ्ग उपआयोजना निर्माणको लागि सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नं. ८, ११ र १२ तथा लेकवेसी नगरपालिका वडा नं. १० मा रहेको राष्ट्रिय वनको ३.२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

९. २०८१ माघ २९ देखि फागुन १ गतेसम्म संयुक्त अरब ईमिरेट्सको दुबईमा आयोजना हुने द वल्र्ड गभरमेन्ट समिट, २०२५ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

१०. नापी कार्यालयहरू स्थापना गर्न संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने ।

११. सहरी विकास मन्त्रालय शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूको लागि आर्थिक वर्ष २०८१/८२ मा अधिकृतस्तरका थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

१२. विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली, २०८१ स्वीकृत गर्ने।

१३. आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८१ स्वीकृत गर्ने ।

१४. सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०८१ स्वीकृत गर्ने

१५. नेपाल सरकार (कार्यसम्पादन) (आठौं संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।

१६. सुशासन (व्यवस्थापन तथा सञ्चालन) (तेस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।

१७. विशेष आर्थिक क्षेत्र (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।

१८. बढुवा समितिको सिफारिसबमोजिम निजामती सेवाका विभिन्न सेवा, समूह तथा उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणीका सात जना अधिकृतहरूलाई सम्बन्धित सेवा, समूह तथा उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सोसरहको पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने ।





Source link

उपभोक्ता अदालत गठन गर्ने सरकारको निर्णय – Online Khabar


२२ साउन, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा उपभोक्ता सरोकारसम्बन्धी मुद्दाहरू हेर्नेगरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका मुद्दाहरू हेर्नेगरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको हो ।

१२ कार्तिकमा न्यायपरिषद्ले काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालाई अध्यक्ष तोकेर उपभोक्ता अदालत गठनको सिफारिस गरेको थियो । उक्त अदालतको सदस्यमा सर्वोच्च अदालतका उपरजिष्ट्रार गेहेन्द्रराज रेग्मी रहनेछन् । उनी हाल विशेष अदालतमा कार्यरत छन् ।

उपभोक्ता अदालतले हाललाई तीनवटा मुद्दा हेर्नेछ । उपभोक्तालाई हानी पुगेको हकमा क्षतिपूर्तिको मुद्दा, उपभोक्ता संरक्षण ऐन बमोजिमका कसुरका मुद्दा र सरकारले तोकेका उपभोक्ता हित सरोकारका अरु मुद्दा उपभोक्ता अदालतले हेर्नेछ ।

अहिलेलाई काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला अदालतमा विचाराधिन उपभोक्ता हित सरोकारसँग सम्बन्धित मुद्दाहरू उपभोक्ता अदालतमा सर्नेछन् ।





Source link

विराटनगरबाट पूर्वराष्ट्रपतिको सन्देश- खोपीको देउता भएर बस्दिनँ


२२ माघ, विराटनगर । एक साताको विराटनगर बसाइ टुंग्याएर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार राजधानी फर्किएकी छन् । गत १४ माघमा विराटनगर आएकी पूर्वराष्ट्रपति भण्डारीको यो भ्रमण र भेटवार्तालाई राष्ट्रिय राजनीतिक वृत्तमै चासोका साथ हेरिएको छ ।

किनकि विराटनगरबाट पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन गरेरै राष्ट्रिय राजनीतिमा सक्रिय रहेको सन्देश मात्र दिइनन्, अधिकांश भेटवार्ता पनि राजनीतिसँगै सम्बन्धित गरिन् ।

१९ माघको एउटा भेटवार्तामा सहभागी एक नेताका अनुसार पूर्वराष्ट्रपति भण्डारीले विराटनगरको यो भ्रमणबाट प्रष्ट सन्देश दिएकी छन्– म खोपीको देउता भएर बस्दिनँ ।

सार्वजनिक अभिव्यक्तिहरूमा पनि उनले राष्ट्रिय राजनीतिका विषयहरूमा आफू सधैं सक्रिय रहेको बताइन् । धेरैले चासोका साथ हेरेको विषयमा भने पत्रकार सम्मेलनमार्फत पूर्वराष्ट्रपति भण्डारीले भनिन्– मैले पार्टीको सक्रिय राजनीति गर्दा नेकपा एमालेबाटै गर्ने हो ।

विराटनगर, पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक यात्रा थालेको शहर पनि हो । २०३० सालतिर भोजपुरबाट विराटनगर झरेकी विद्या भण्डारीले महेन्द्र मोरङ क्याम्पसबाटै विद्यार्थी राजनीति थालेकी थिइन् । उक्त क्याम्पसमा उनी स्ववियू कोषाध्यक्ष समेत भइन् ।

स्ववियु कोषाध्यक्ष भएर बढेको उनको राजनीति एमालेको दुईपटक केन्द्रीय उपाध्यक्ष, रक्षा मन्त्री हुँदै दुईपटक राष्ट्रपतिसम्म पुग्यो । अहिले (२०७९ फागुनदेखि) पूर्वराष्ट्रपतिको हैसियतमा रहेकी भण्डारीले यसपटक विराटनगर जाँदा महेन्द्र मोरङ क्याम्पसमा आफू कोषाध्यक्ष रहँदाका विद्यार्थी नेताहरूसँग पनि भेटिन् ।

पुराना दिन सम्झाउनेगरी उनले पूर्व घरबेटीलाई भेटिन् । तर भेटघाटको अधिकांश समय राजनीतिक नै थियो । एमाले मोरङका एक नेताका अनुसार एक साताको विराटनगर बसाईमा भएको भेटवार्ता विश्लेषण गर्दा भण्डारीले सक्रिय राजनीतिमा फर्कने तयारी रहेकै सहज अनुमान लगाउन सकिन्छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तत्कालै चिढ्याउने पक्षमा भने पूर्वराष्ट्रपति भण्डारी देखिँदैनन् । तर परिस्थिति हेरेर अघि बढ्ने संकेत दिएकी छन् । आफू सक्रिय राजनीतिमा आउँदा वाम ध्रुवीकरणको वातावरण बन्ने भण्डारीको विश्लेषण छ ।

Bidhya Bhandari 2

‘स्वभाव र शैलीका कारण केपी शर्मा ओलीको नेतृत्वमा वाम ध्रुवीकरण सम्भव छैन, तर विद्या कमरेड आउँदा त्यो वातावरण बन्छ,’ ती नेताले भने, ‘विद्या कमरेडप्रति माओवादी केन्द्र र एकीकृत समाजवादी सफ्ट छ ।’

भण्डारी राजनीतिमा आउँदा ओलीबाट पेलिएका नेताहरुमा संरक्षण पाउने आश रहेको ती नेताको भनाई छ । विराटनगरमा रहदा उनले ओलीको साथ नपाएका नेताहरूसँग पनि भेटघाट गरिन् । भेटघाटको वातावरण एमाले नेता विनोद ढकालले मिलाएका थिए ।

व्यस्त साता

१४ माघमा विराटनगर आएलगत्तै पूर्वराष्ट्रपति भण्डारीले महिला अगुवा कार्यकर्तासँग भेटघाट गरिन् । त्यसपछि पत्रकार सम्मेलन गरेर आवश्यक परेको खण्डमा सक्रिय राजनीतिमा आउने बताइन् ।

पत्रकार सम्मेलनपछि विद्यार्थीसँग भेटघाट गरिन् । पार्टीका जिल्ला र केन्द्रीय नेताहरूसँग अलग–अलग संवाद भयो ।

भोलिपल्ट, १५ माघमा एमाले निकट प्राध्यापक संघको टोलीसँग भेटघाट गरिन् । यसपछि इटहरीको जनता माध्यमिक विद्यालयको वाषिकोत्सव कार्यक्रमम सहभागी भइन् ।

कार्यक्रमपछि इटहरीमै कार्यकर्ता भेला गरेर केही समय छलफल गरिन् । फर्किएर विराटनगर आएपछि पनि केही नेतालाई भेटिन् ।

१६ माघमा उनी मनमोहन प्राविधिक विश्वविद्यालय र प्रतिष्ठानको अवलोकन गरिन् । त्यसैदिन स्मृति बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा सहभागी भइन् ।

१७ माघमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भेटे । यो भेटपछि मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी र मदन भण्डारी स्मृति प्रतिष्ठान अवलोकन गरिन् । सोही क्रममा मामालाई भेट्न पुगिन् । विराटनगर आएर उनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका पूर्वविद्यार्थीसँग छलफल गरिन् । यो छलफलमा महेन्द्र मोरङबाट विद्यार्थी राजनीति सुरु गरेका एमाले र कांग्रेसका नेताहरु पनि सहभागी थिए ।

१८ माघमा आदिवासी जनजाति समुदायका अगुवा नेताहरुसँग भेटघाट गरिन् । त्यसपछि सरस्वती माध्यमिक विद्यालय झोराहाटको कार्यक्रममा सहभागी भइन् । सोही दिन उनी इन्जिनियरिङ क्याम्पस धरानमा विद्यार्थीको भेलालाई सम्बोधन गर्न पुगिन् । धरानमा पनि कार्यकर्ता भेला गरेर छलफल गरिन् ।

१९ माघमा उनको निर्धारित कार्यक्रम एनटिभी इटहरीको वार्षिकोत्सव मात्र थियो । कार्यक्रममा सहभागी भएर उनी विराट एक्स्पो अवलोकनका लागि पुगिन् ।

सोही दिन संघीय संसदका सभामुख देवराज घिमिरेसँग बिग होटलमा भेटवार्ता भयो । त्यसैदिन कांग्रेस नेता ज्ञानेन्द्र कार्कीसँग लामो संवाद भयो ।

कार्कीसँगको सम्वादपछि मदन भण्डारी फाउन्डेशन प्रदेशको टोलीसँग र लगत्तै वाम बुद्धिजिवीसँग छलफल भयो । राजधानी फर्कने दिन पनि नेताहरुसँगको संवादमै थिइन् ।

एमाले मोरङका सहसचिव सोमराज थापा, पूर्वराष्ट्रपति भण्डारीको यो भ्रमण उपलब्धिमुलक बनेको बताउँछन् । ‘पूर्वनिर्धारित कार्यक्रम बाहेक उहाँले समाजका विभिन्न पक्षसँग छलफल गर्नुभयो । विराटनगरबाट सकारात्मक भएर फर्कनु भएको छ’, थापाले भने ।





Source link

११औं एक्सेल्सियर कप बुधबारदेखि सुरू हुँदै – Online Khabar


२२ माघ, काठमाडौं । द एक्सेल्सियर स्कुलको आयोजनामा ११औं एक्सेल्सियर कप बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा फाइभ ए साइड फुटसल र बास्केटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

ब्वाइज फुटसलमा विभिन्न ४ उमेर समूहमा खेल हुनेछ । बास्केटबलमा २ विधामा प्रतिस्पर्धा हुनेछ । फुटसलको यू–९ मा ९, यू–११ मा १४, यू–१४ मा १२ र यू–१६ मा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

बास्केटबलको सिनियर ब्वाइजमा १६ तथा सिनियर गर्ल्समा १२ टिमले सहभागिता जनाउने बास्केटबल प्रशिक्षक आशिष महर्जनले जानकारी दिए ।

ग्रासरुटदेखि भविष्यका प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले यू–९ उमेर समूहको फुटसल पहिलोपटक समावेश गरिएको एक्सेल्सियरका खेलकुद विभाग प्रमुख महेश मल्ल ठकुरीले बताए ।

प्रतियोगिताका खेलहरु स्वयम्भूस्थित आयोजककै हातामा खेलाइने छ ।





Source link

पाख्रिनसहित एकीकृत समाजवादीका नेताहरू एमाले फर्किए


केन्द्रीय सदस्य शान्ता पाख्रिन


२२ माघ, सिन्धुली । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शान्ता पाख्रिनसहित नेताहरु नेकपा एमाले फर्किएका छन् ।

२०७८ मा पार्टी विभाजन एकीकृत समाजवादीतर्फ लागेका पाख्रिन सहित नेताहरू एमालेमै फर्किएका हुन् । सिन्धुली एमाले प्रचार विभाग प्रमुख कर्ण घिसिङका अनुसार पाख्रिनसहित गीता कटुवाल, भरत कटुवाल, सम्झनाकुमारी श्रेष्ठ, माया देवी थापा लगायत एमाले फर्किएका छन् ।

उनीहरूलाई बागमती एमालेका अध्यक्ष कैलाश ढुंगेल, केन्द्रीय नेताहरू मनोजजंग थापा, गणेशकुमार पहाडी लगायतले स्वागत गरे ।

तीन महिने जरा अभियान अन्तर्गत एमालेले अहिले ‘पुराना जगाउँ, नयाँ बढाउ’ नाराका साथ पार्टी प्रवेश कार्यक्रम चलाइरहेको छ ।





Source link

अमरकान्ति, बुद्ध र साँग्रिला अन्तर विद्यालय सेभेन ए साइड फुटबलको क्‍वाटरफाइनलमा


२२ माघ, काठमाडौं । लेलेको अमरकान्ति माध्यमिक विद्यालय, बाँडेगाउँको बुद्ध मावि र चापागाउँको साँग्रिला स्कूल दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको क्‍वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ढोलाहिटीस्थित विनायक स्पोर्ट्स कम्प्लेक्समा मंगलबारबाट सुरू प्रतियोगितामा समूह सी बाट दुई खेल जित्दै अमरकान्तिले अन्तिम आठमा स्थान बनायो । अमरकान्तिले बज्र एकेडेमीलाई २–० ले तथा बालअंकुरलाई २–१ ले हरायो ।

यो समूहको बज्र एकेडेमी दुवै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबारको अन्तिम खेलमा रिदभान स्कूल र बालअंकुर माविले २–२ गोलको बराबरी खेल्दै क्‍वाटरफाइनलको सम्भावना दुवैले कायमै राखेका छन् ।

समूह डी बाट बुद्ध मावि बाँडेगाउँले गंगा जमुना स्कूल लेलेलाई १–० ले तथा भिमसेन स्कूल देवीचौरलाई २–१ ले हराएको छ । बुद्ध मावि गत संस्करणको विजेता टोली हो । यो समूहबाट लिटिल स्टार लगातार दुई खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ भने भिमसेन र गंगा जमुनामध्ये एउटा स्कूल अर्को चरणमा पुग्नेछन् ।

५ वटा विद्यालय रहेको समूह बी बाट साँग्रीला स्कूलले लगातार दुई खेल जित्दै अन्तिम आठमा पुगेको छ । साँग्रिलाले टीकाभैरबको बुद्ध माविलाई ४–१ ले तथा लेलेको सरस्वती माविलाई ३–० ले हराएको छ । सांग्रिलाका सविन चेपाङले प्रतियोगितामा ४ गोल गरिसकेका छन् ।

यो समूहमा वशिष्ठ माविले नेवा स्कूललाई २–१ ले हराउँदा बुद्ध माविले वशिष्ठलाई हराएको छ । यसैगरी नेवा स्कुल र सरस्वती स्कूलले ३–३ खेलको बराबरी खेलेका छन् ।

समूह ए बाट एभेरेष्ट इंग्लिस स्कूलले पनि क्‍वाटरफाइनलमा स्थान बनाएको छ । एभरेष्टले इन्द्रेणी स्कूल र सूर्य शिक्षा सदनलाई हराएको हो । इन्द्रेणीले भने टीकाभैरब बोर्डिङ स्कूलसँग बराबरी खेल्दा टीकाभैरबले सूर्य शिक्षालाई १–० ले हरायो ।

दुवै खेल हार्दै सूर्य शिक्षा सदन प्रतियोगिताबाट बाहिरिएको छ । इन्द्रेणी र टीकाभैरबमध्ये एक स्कूलको अर्को चरणमा जाने सम्भावना कायमै छ ।

नगरपालिकाभित्रका १७ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइनेछ । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

बुधबार समूह चरणका बाँकी खेल र क्‍वाटरफाइनलका खेलहरु हुनेछन् । प्रतियोगिताको विजेताले नगद ५० हजार प्राप्त गर्दा उप विजेताले २५ हजार पाउने छ ।





Source link

मुख्यमन्त्री पाण्डे – Online Khabar


२२ माघ, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सीमित स्रोत र साधनको दायरामा रहेर पिन प्रदेशको समन्यायिक विकासलाई प्राथमिकतामा राखेको बताएका छन् ।

प्रदेशको आठौं स्थापना दिवसको अवसरमा उनले सीमित स्रोत र साधनको दायरामा रही नागरिकका असिमित चाहना पूरा गर्न सहज नभएको पनि बताए ।

मुख्यमन्त्री पाण्डेले प्रदेश स्थापनाको यो ७ वर्षको अवधिमा भौतिक र कानुनी आधार निर्माण गर्दै अधिकारका लागि संघ सरकारसँग जुधिरहनुपरेको पनि बताए । ‘संघीय शासन व्यवस्थाको सबलीकरणका लागि गण्डकी प्रदेश सरकारले सुरुदेखि नै अगुवाइ गर्दै आएको छ’, उनले भने ।

०८० असारमा गण्डकी प्रदेश सरकारको अग्रसरतामा पोखरामा राष्ट्रिय समन्वय परिषद र अन्तरप्रदेश मुख्यमन्त्रीको पहिलो बैठक भएको थियो । जसमा प्रहरी समायोजन, वित्तीय समानीकरण, निजामती कर्मचारी ऐन, विद्यालय शिक्षा ऐन, जग्गा प्राप्ति लगायत विषयमा विभिन्न निर्णय भएका थिए । ‘तर कार्यान्वयनमा खासै प्रगति हुन सकेको छैन । जसका कारण जनअपेक्षा अनुरुप कार्य गर्न कठिनाइ रहेको छ’, उनले भने ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशबाट हालसम्म विभिन्न ७२ कानुन, २५ नियमावली र अन्य आवश्यक मापदण्ड जारी गरेको जानकारी दिए । उनले अझै केही विधेयक संसदमा छलफलकै क्रममा रहेको र केही टेबल हुने क्रममा रहेको बताए ।

क्यान्सर, पक्षघात जस्ता घातक रोगबाट पीडित नागरिकका लागि चालु आर्थिक वर्षमा एक करोड ६४ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको पनि प्रदेश सरकारले जानकारी दिएको छ । त्यस्तै यसै वर्ष आँपपिपल र बुर्तिबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरी प्रदेश सरकार मातहत ल्याइएको र लमजुङ अस्पताल पनि प्रदेश सरकार माहतहत आएको मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।

यसअघि माघ २२ मा गण्डकी प्रदेशसभा र फागुन ४ मा प्रदेश सरकारको स्थापना दिवस गरी छुट्टाछुट्टै मनाउँदै आए पनि यसवर्षदेखि स्थापना दिवसमात्रै मनाउने निर्णय गरेको हो । २०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउन थालेको हो ।





Source link

नक्कली नाफा देखाउने नेफ्स्कुन सञ्चालकलाई १० वर्षसम्म कैद हुन सक्ने


२२ माघ, काठमाडौं । वित्तीय विवरणमा नै छेडखानी गरी नक्कली देखाउने नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन) का पदाधिकारीलाई १० वर्षसम्म कैद हुन सक्ने देखिएको छ ।

नेफ्स्कुनले खराब कर्जाबापत गर्नुपर्ने नोक्सानी व्यवस्था (लोनलस प्रोभिजनिङ) नराखी नक्कली नाफा देखाएर लाभांश बाँड्ने निर्णय गरेको थियो ।

आफ्ना सदस्यहरूले लाभांश दिनुपर्ने माग गरेपछि वित्तीय विवरणमा हुँदै नभएको नाफा देखाएर प्रतिफल दिने निर्णय गरेको नेफ्स्कुन अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि स्वीकार गरेका छन् ।

यसरी नक्कली विवरण तथा मिति, अंक वा बेहोरा फरक पार्ने कसुर गरे १० वर्षसम्म कैद हुने सहकारी ऐन २०७४ को दफा १२२ र १२४ मा छ ।

‘सहकारी संस्थाको कुनै कागजात वा खातामा लेखिएको कुनै कुरा कुनै तरिकाले हटाइ वा उडाइ अर्कै अर्थ निस्किने बेहोरा पारी मिलाइ लेख्ने वा अर्को भिन्नै श्रेस्ता राख्नेजस्ता काम गरेबाट आफूलाई वा अरू कसैलाई फाइदा वा हानि नोक्सानी गर्ने उद्देश्यले किर्ते गर्न वा अर्काको हानि नोक्सानी गर्ने उद्देश्यले नगरे वा नभएको झुट्टा कुरा गरे वा भएको हो भनी वा मिति, अंक वा बेहोरा फरक पारी सहीछाप गरी गराइ कागजात बनाइ वा बनाउन लगाइ जालसाजी गरे वा गराएमा’ मा त्यो कसुर गरेको मानिने ऐनको दफा १२२ को खण्ड (ढ) मा उल्लेख छ ।

गलत वित्तीय विवरण प्रकाशित गरेको भन्दै संस्थाको लेखा परीक्षकले नै विपरीत राय लेखेको छ ।

त्यस्तै, दफा १२२ को खण्ड (ढ) अनुसार कुनै कसुर गरे १० वर्षसम्म कैद हुने व्यवस्था ऐनको दफा १२४ को दफा १ मा उल्लेख छ ।

सहकारी संघ तथा प्रारम्भिक संस्थाले तोकिए बमोजिम असल ऋणमा १ प्रतिशत, १२ महिनासम्म भाखा नाघेको ऋणमा कुल ऋणको ३५ र १२ महिनाभन्दा बढी भाखा नाघेको ऋणमा शतप्रतिशत ऋण हानि व्यवस्था (लोनलस प्रोभिजनिङ) गर्नुपर्ने सहकारी विभागको निर्देशनमा उल्लेख छ ।

नेफ्स्कुनले यो व्यवस्था अनुसार ४ अर्ब १७ करोड १० लाख ९० हजार कुल कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेमा जम्मा ५१ करोड ४० लाख १९ हजार मात्रै कर्जा नोक्सानी व्यवस्था गरेको खुलेको छ ।

यसरी गलत वित्तीय विवरण प्रकाशित गरेको भन्दै संस्थाको लेखा परीक्षकले नै विपरीत राय (एडभर्स अपिनियन) लेखेको छ ।

यसरी संघले कानुन अनुसार गर्नुपर्ने भन्दा ३ अर्ब ६५ करोड ७० लाख ७१ हजार कर्जा नोक्सानी व्यवस्था गर्द संघको सम्पत्तिमा त्यसको असर देखिने लेखा परीक्षण प्रतिवेदनमै उल्लेख छ ।

गर्नुपर्ने पूरै रकम प्रोजिभनिङ गरेको भए संस्थाको पूँजीकोष नै माइनसमा जाने थियो । संस्थाको कूल पूँजीकोष २ अर्ब २६ करोड ६३ लाख रुपैयाँ छ । ३ अर्ब ६६ करोड रुपैयाँ प्रोभिजनिङ गरेको भए संस्थाको पूँजीकोष नै १ अर्ब ४० करोडले माइनसमा जाने थियो । त्यति ठूलो मात्रामा पूँजीकोष घाटामा हुनु भनेको संस्था करिब धराशायी हुने अवस्थामा पुग्नु हो ।

तर, नेफ्स्कुनले वित्तीय विवरणमै छेडखानी गरेर प्रोभिजनिङ गर्नुपर्ने रकम नाफामा जोडी वित्तीय विवरणमै अदलबदली गर्ने कार्य जालसाजीमा पर्ने अधिवक्ता तथा सर्वोच्च अदालत बार एसोसिएसनका सचिव रमण कर्ण बताउँछन् ।

‘यहाँ वास्तविक स्रेस्ता नराखी गलत स्रेस्ता र हिसाबकिताब राखेर नक्कली नाफा देखाएको देखियो । यो सहकारी ऐनको दफा १२२ को खण्ड (ढ) अनुरूपको कसुर हो । त्यस्तो कसुर गर्नेलाई १० वर्षसम्म कैद हुने व्यवस्था ऐनमा छ,’ अधिवक्ता कर्णले भने ।

यस्तो कार्यमा सञ्चालक समिति र लगायत वित्तीय विवरणमा हस्ताक्षर गर्नेहरू दोषी हुने अधिवक्ता कर्ण बताउँछन् ।

लेखा परीक्षकले नै वित्तीय विवरण विश्लेषण गर्दा अधिकांश भाखा नाघेको कर्जा भएको र त्यसरी भाखा नाघेको कर्जाको जोखिम व्यवस्थाका लागि आवश्यक रकम व्यवस्था नभएको पाइएको उल्लेख गरेको छ ।

यसरी कर्जा नोक्सानी व्यवस्था नगरी सेयर लाभांश वितरण गरे वितरण गरिएको लाभांश सञ्चालक समिति र व्यवस्थापकबाट दामासाहीले असुल उपर गरिने पनि सहकारी विभागको निर्देशनमा छ ।

‘दफा १२२ को कसुर गर्ने वा त्यस्तो कसुर गर्न मद्दत पुर्‍याउने कुनै निकाय वा संघसंस्था भए त्यस्तो निकाय वा संघसंस्थाको प्रमुख कार्यकारी वा पदाधिकारी वा कार्यकारी हैसियतमा कार्य सम्पादन गर्ने व्यक्तिलाई यस ऐन बमोजिम सजाय हुनेछ,’ भन्ने व्यवस्था ऐनको दफा १२४ को उपदफा ३ मा उल्लेख छ ।

सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरे पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरी लाभांश बाँड्ने निर्णय गरेकोमा त्यसलाई सच्याउन निर्देशन दिएको तर यो काम ऐनको दफा १२२ अनुरूपको कसुर हो कि होइन भन्नेमा विभाग अझै स्पष्ट नभएको बताउँछन् ।

‘विभागले दिएको निर्देशनमा कर्जा नोक्सानी व्यवस्थाबारे उल्लेख छ, वित्तीय विवरणमा त्यसअनुसार गरेको नपाइएकाले तत्काल प्रोभिजनिङ गरेर विभागलाई रिपोर्टिङ गर्न भनेका छौं,’ उनले भने ।

पर्याप्त लोनलस प्रोभिजनिङ नगरी नाफा देखाएको र त्यस अनुसार लाभांश वितरण निर्णय गरेको विषय सहकारी ऐन अनुरूप कसुरमा पर्ने हो कि होइन भन्नेबारे थप अध्ययन र अनुसन्धान गर्नुपर्ने देखिएको उनले बताए ।

‘लेखा परीक्षकले नै पनि एडभर्स अपिनियन दिएको रहेछ, त्यसअनुसार हामीले नेफ्स्कुन र लेखा परीक्षकलाई बोलाएर पनि छलफल गर्‍यौं । विभागको निर्देशन उल्लंघन गरेकोमा त्यसलाई सच्याउन भनेको छौं, नगरे स्पष्टीकरण सोध्छौं,’ उनले भने, ‘दफा १२२ अनुरूपको कसुरमा दफा १२४ अनुरूप कानुनी कारबाही हुनुपर्ने हो कि होइन भन्नेमा दुई थरी मत आएकाले स्पष्ट भइरहेको अवस्था होइन ।’

नेफ्स्कुन अध्यक्ष ढकालले फेरि पनि सेयरधनीको मनोबल उकास्न त्यस्तो विवरण तयार गरेको बताए ।

‘सेयरधनीको मनोबल पनि उकास्नुपर्ने थियो । यस विषयमा अडिटरलाई सोधेका थियौं, उहाँले पनि प्रोभिजनिङ चाहिँ गर्नुपर्ने तर लाभांश वितरण गर्न रोक्ने कानुनी व्यवस्था नभएको भनेपछि त्यो पारित भएको हो,’ ढकालले दाबी गरे ।

‘तपाईं यसरी हाकाहाकी गलत वित्तीय विवरण बनाएको स्वीकार गर्नुहुन्छ, यसमा त सहकारी ऐनको दफा १२४ अनुरूप १० वर्षसम्म कैद हुनसक्छ नि ?,’ भन्ने प्रश्नमा उनले फेरि पनि पैसा वितरण गरी नसकेकाले कारबाही हुनु नपर्ने दाबी गरे ।

तर, यो पैसा वितरण गर्नेभन्दा पनि गलत विवरण तयार गरेको विषय भएको बताएपछि उनले प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवजी सापकोटासँग कुरा गर्न भने ।

नेफ्स्कुन सीईओ सापकोटाले पनि लाभांश नदिँदा सेयर लगानीकर्तामा वितृष्णा आउने भएकाले त्यसलाई रोक्न लाभांश वितरण गर्न मिल्ने वित्तीय विवरण तयार गरिएको स्वीकार गरे ।

‘लाभांश दिँदा सदस्यहरूलाई राहत हुने र समग्र सहकारी अभियानमा पनि सकारात्मक सन्देश जान्छ भन्ने सल्लाह भएर त्यस्तो गरिएको हो, तर सहकारी विभागले त्यसलाई सच्याउनु भनिसकेको अवस्थामा सच्याउँदै छौं,’ उनले भने ।

संस्थाको कर्जा असुली सकारात्मक पनि बनेको अवस्थामा लाभांश वितरण गर्नुपर्छ भनेर त्यस्तो रिपोर्ट बनाइएको र साधारणसभामा लगिएको उनले बताए ।

बचत ऋण सहकारीको नियामकीय भूमिका समेत पाएको केन्द्रीय संघ नेफ्स्कुनले त्यसमा सुधार गर्नुको सट्टा त्यही गल्ती पटक–पटक दोहोर्‍याउँदै आएको छ ।

‘लेखा परीक्षकले पनि लाभांश वितरण गर्न नमिल्ने कुरा ऐनमा छैन, निर्देशनमा छ । तपाईंहरूले विचार गर्नुस् भनेपछि बाँड्ने निर्णय गरिएको हो, यसमा कुनै व्यक्तिगत वा समूहको स्वार्थ छैन,’ सीईओ सापकोटाले दाबी गरे ।

नेफ्स्कुनको लेखा परीक्षण गर्ने एनएआरएस एसोसिएट्सका म्यानेजिङ पार्टनर राजन अधिकारीले केही समयअघि अनलाइनखबरसँग कुरा गर्दै आफूले कैफियत र संस्थाको अवस्थाका सन्दर्भमा आफ्नो राय लेखा परीक्षण प्रतिवेदनमा नै लेखेको बताएका थिए ।

पर्याप्त प्रोभिजन नगरी नाफा देखाएर लाभांश वितरण गरेको भए अर्को वर्षको लेखा परीक्षण प्रतिवेदनमा आफ्नो राय दिने भन्दै त्यस विषयमा अहिले आफूले कुनै टिप्पणी नगर्ने उनको भनाइ थियो ।

यसअघि नेफ्स्कुनले खराब कर्जाबापत प्रोभिजनिङ गर्नुपर्ने पौने ४ अर्ब रुपैयाँ नाफामा देखाएको विषयमा अनलाइनखबरले समाचार प्रकाशित गरेपछि सहकारी विभागले त्यसलाई सच्याउन निर्देशन दिएको थियो ।

तर, नेफ्स्कुनले पहिलो पटक यस्तो गल्ती गरेको होइन । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि खराब कर्जाबापत गर्नुपर्ने भन्दा साढे ५ अर्ब रुपैयाँ कम प्रोभिजनिङ गरी नाफामा लेखांकन गरेको थियो ।

राष्ट्र बैंकसहित विभागको अनुगमन टोलीले नेफ्स्कुनको वित्तीय विवरण विश्लेषण गर्दा अधिकांश भाखा नाघेको कर्जा भएको र त्यसरी भाखा नाघेको कर्जाको जोखिम व्यवस्थाका लागि आवश्यक रकम व्यवस्था नभएको पाइएको उल्लेख छ ।

त्यसबेला पनि लेखा परीक्षकले वित्तीय विवरणमै विपरीत राय (एडभर्स अपिनियन) दिएका थिए । सहकारी विभागले समेत त्यस्तो कार्य सच्याउन निर्देशन दिएको थियो ।

तर, बचत ऋण सहकारीको नियामकीय भूमिका समेत पाएको केन्द्रीय संघ नेफ्स्कुनले त्यसमा सुधार गर्नुको सट्टा त्यही गल्ती पटक–पटक दोहोर्‍याउँदै आएको छ ।

अघिल्लो पटक जस्तै यसपालि पनि त्यसरी प्रोभिजनिङ गर्नुपर्ने रकमबाट कागजी नाफा देखाएर नेफ्स्कुनले सेयरधनीलाई लाभांश बाँड्न साधारण सभाबाट पारित पनि गरेको थियो ।

पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरी मुनाफा देखाएर सेयर लाभांश कोषमा रकम छुट्याउने कार्य सहकारी विभागले जारी गरेको सहकारी संघसंस्था सुशासन प्रवर्द्धनका लागि एकीकृत निर्देशन २०७९ समेतको विपरीत हुन्छ ।

विभागले जारी गरेको उक्त निर्देशनको २० नम्बर बुँदामा तोकिए अनुसार कर्जा नोक्सानी व्यवस्था नगरी सेयर लाभांश वितरण गरे त्यस्तो रकम सञ्चालक समितिबाट उठाउने व्यवस्था छ ।

गत वर्ष नै लेखा परीक्षकले संघको वित्तीय अवस्था जोखिमपूर्ण रहेको देखाएपछि नेपाल राष्ट्र बैंकबाट विज्ञ जनशक्ति समेत मगाएर सहकारी विभागले नेफ्स्कुन अनुगमन गरेको थियो ।

अनुगमन क्रममा पर्याप्त कर्जा नोक्सानी व्यवस्था नभएको वाह्य लेखा परीक्षकको प्रतिवेदन समेतका आधारमा संघमा वित्तीय रूपमा समस्यामा रहेको निष्कर्ष निकालिएको थियो ।

सोही अनुगमन प्रतिवेदन आधारमा सहकारी विभागले कर्जा नोक्सानी व्यवस्था पर्याप्त गर्नुपर्ने निर्देशन सहित ६ महिना समय दिएर सुधार गर्न निर्देशन दिइएको थियो ।

राष्ट्र बैंकसहित विभागको अनुगमन टोलीले नेफ्स्कुनको वित्तीय विवरण विश्लेषण गर्दा अधिकांश भाखा नाघेको कर्जा भएको र त्यसरी भाखा नाघेको कर्जाको जोखिम व्यवस्थाका लागि आवश्यक रकम व्यवस्था नभएको पाइएको उल्लेख छ ।





Source link