काठमाडौं । नेपाल प्रहरीले ठुलो संख्यामा जागिर खुलाएको छ । नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि जागिर खुलाउँदै दरखास्त माग गरेको हो ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग एवं भर्ना छनोट शाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो ।
प्रहरी निरीक्षकतर्फ ७७ जना र प्रहरी सहायक निरीक्षकतर्फ ३१६ जना आवश्यक परेको सूचनामा जनाइएको छ ।
काठमाडौँ । ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासनमा रोक लगाउने निर्णय सच्याउन स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आग्रह गरेको छ । शुक्रबार सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पत्र लेख्दै इप्पानले निर्णय सच्याउन आग्रह गरेको हो ।
नेटवर्थ ९० भन्दा कम भएका कम्पनीलाई आईपीओ निष्कासन गर्न नदिने समितिको निर्णयका कारण मर्कामा परेको इप्पानको भनाई छ ।
इप्पानले सोही निर्णयका कारण जलविद्युत कम्पनीहरु पूँजी जुटाएर आयोजना अगाडि बढाउनबाट बञ्चित भएको पत्रमा उल्लेख गरेको छ । सोही कारण उक्त निर्णय सच्याउन इप्पानले लेखा समितिलाई आग्रह गरेको इप्पानका एक अधिकारीले बताएका छन् ।
सार्वजनिक लेखा समितिले डुबेका कम्पनीहरुले समेत आईपीओ निकाल्न थालेपछी ९० भन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओ निष्कासनमा रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार समितिले नेपाल धितोपत्र बोर्डलाई पनि निर्देशन दिइसकेको छ । समितिको निर्देशनपछि बोर्डले पनि ९० भन्दा कम नेटवर्थ भएका दुई दर्जन कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छैन ।
समितिको निर्देशनका कारण आईपीओ निष्कासन गर्न नपाएपछि हाइड्रो व्यवसायीहरु तनावमा परेका छन् । सो निर्णयविरुद्ध उनीहरु कहिले शक्तिकेन्द्र धाउने र कहिले नेताहरुलाईबिन्ती बिसाउने गरिरहेका छन् । यहीबीच इप्पानले सार्वजनिक लेखा समितिलाई निर्णय सच्याउन आग्रह गरेको छ । घुमाउरो पारामा घुसको अफरसमेत गरिएको इप्पानका एक अधिकारीले दाबी गरेका छन् । ‘समितिको निर्देशनले हाइड्रो व्यवसायी मर्कामा छन् । दर्जन बढी कम्पनीको आईपीओ रोकिँदा झन् मर्का झन् थपिएको छ ।’, ती अधिकारीले भने, ‘सहजै रुपमा निर्णय सच्चिए विवाद नै सक्कियो, नभएर घुमाउरो पारामा घुसको अफर पनि गरिएको छ ।’
काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल पे टाइमको लाइसेन्स खारेज गरेको छ । २०७६ भदौ १९ गते भुक्तानी सेवा प्रदायकको रुपमा लाइसेन्स लिएको उक्त वालेटको लाइसेन्स राष्ट्र बैंकले शुक्रबार खारेज गरेको हो ।
वालेटले लामो समयदेखि सेवा बन्द गरेको, प्ले स्टोरबाट हराएकोसँगै संस्थागत सुशासनमा साह्रै कमजोर रहेको निष्कर्ष निकाल्दै लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।
लाइसेन्स खारेज गरेसँगै राष्ट्र बैंकले पे टाइमलाई ग्राहकसँगको केही लेनदेन बाँकी भए आगामी ३० दिनभित्र मिलाउन पनि निर्देशन दिएको छ ।
त्यस्तै, राष्ट्र बैंकबाट दिइएका निर्देशनहरुको कार्यान्वयनका लागि प्रतिबद्धता अनुसार कार्य अघि नबढाएको भन्दै भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा १३ (४) अनुसार नवीकरण नगरिएको पनि राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यता नेपाल पे टाइमको लाइसेन्स खारेज भएपछि बिग्रिरहने इसेवा पनि राष्ट्र बैंकको निगरानीमा परेको छ । केही समयअघि इसेवा पनि प्ले स्टोरबाट गायब भएको थियो । त्यसयता इसेवामा अनेक समस्या देखिइरहेका छन् । कहिले वालेट नै नचल्ने, ट्रान्जेक्सन नहुने, भए पनि पछि आफैँ क्यान्सिल हुने, एयरलाइन्स टिकट आफैँ रद्द हुने वा बिहानको टिकट काट्दा बेलुकाको काटिने लगायतका समस्या इसेवामा देखिँदै आएको छ । अझ पछिल्लो समय इसेवामा ग्राहकको पैसा चोरी हुने समस्या झन् बढी देखिन थालेको छ ।
इसेवा अत्याधिक बिग्रिन थालेपछी र ग्राहकको गुनासो बढ्न थालेपछी राष्ट्र बैंकलेइसेवालाई निगरानीमा राखेको स्वयम् राष्ट्र बैंकका एक अधिकारीले बताएका छन् ।
काठमाडौँ । गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुलाई सिप विकास तालिम प्रदान गरेको छ । लघुवित्तले सदस्यहरुको सीप तथा क्षमता विकास गर्ने उद्देश्यले फरक फरक शिर्षकका दुई वटा एक दिवशिय तालिम प्रदान गरेको हो ।
शाखा कार्यालय गोबरडिहा दाङले एक दिने तरकारी खेती तालिम तथा बीउ बिजन वितरण कार्यक्रम गोबरडिहामा सम्पन्न गरेको छ । संस्थाको तालिम विकास तथा प्रवर्तन विभाग प्रमुख प्रभुराज थापाको प्रमुख आतिथ्यता र शाखा प्रबन्धक पबित्रा गिरिको अध्यक्षतामा भएको तालिमको प्रशिक्षण सम्बन्धित विषयविज्ञ रविता कुमारी यादवले दिएकी थिइन् ।
उक्त तालिममा कर्जा असुली तथा जोखिम व्यवस्थापन विभागका कायम मुकायम अधिकृत गोकुल पाण्डे अतिथिको रुपमा उपस्थित थिए भने कार्यक्रमको संचालन तथा समन्वय सहायक प्रकाश भण्डारीले गरेका थिए । उक्त तालिममा ३४ जना सदस्यहरुको सहभागीता रहेको थियो ।
त्यसैगरी, शाखा कार्यालय सल्यानटार धादिङले पनि एक दिने व्यवसायिक बाख्रा पालन तालिम सल्यानटारमा सम्पन्न गरेको छ । शाखा प्रबन्धक प्रकाश खनालको अध्यक्षतामा भएको तालिमको प्रशिक्षण सल्यानटारका पशु चिकित्सक जेटिए नविन बसौलाले दिएका थिए ।
२५ जना सदस्यहरुको सहभागीतामा उक्त तालिम सम्पन्न भएको थियो । तालिमको संचालन तथा समन्वय सुपरिवेक्षक महेश बोहराले गरेका थिए । दुवै तालिमका सहभागीहरुलाई प्रमाणपत्रको समेत व्यवस्था गरिएको थियो ।
काठमाडौँ । नेपाल सम्पति शुद्धीकरणको ग्रे लिस्टमा परेको छ । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को दोश्रो प्लेनरीले नेपाललाई आगामी दुई वर्षका लागि ग्रे लिष्टमा पारेको हो ।
एफएटिएफले नेपाल र लाओसलाई ‘ग्रे’ लिष्टमा राख्ने निर्णय गरिसकेको छ । त्यसको औपचारिक घोषणा भने एफएटिएफ प्रेसिडेन्ट एलिजा डे अन्दा मड्राजोले नेपाली समय अनुसार शुक्रबार साँझ ८:१५ बजे पत्रकार सम्मेलन मार्फत गर्ने तयारी गरिएको छ ।
नेपाल ‘ग्रे’ लिष्टमा परेपछि नेपालले दुई वर्षको समयवधि दिइनेछ । सो अवधिमा नेपालले गर्नुपर्ने कामहरुको सूची एफएटीएफले नेपाललाई दिनेछ । यो अवधिमा सन्तोषजनक काम गर्ने सकेको खण्डमा मात्रै नेपाल ग्रे लिष्टबाट हट्नेछ, अन्यथा कालो सूचिमा पर्नेछ ।
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म कुल बजेटको २४.९१ प्रतिशत खर्च गरेको छ । चालु वर्षमा रु ३८ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको थियो । यसमा पुँजीगततर्फ २४ अर्ब ५८ करोड र चालु खर्चतर्फ ११ अर्ब २४ करोड विनियोजन गरिएको थियो ।
प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहीबार आयोजना गरेको अर्धवार्षिक समीक्षामा चालु आर्थिक वर्षको फागुन ३ गतेसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च २२. ८३ प्रतिशत र चालु खर्च २८.४७ प्रतिशत रहेको सार्वजनिक गरिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अर्धवार्षिक समीक्षामा मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्षमा विनियोजन भएको पुँजीगत बजेटको कार्यान्वयन र भुक्तानीलाई विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिए । उनले प्रदेश सरकारले पुँजीगत खर्च गर्न नसकेको भन्ने आलोचनालाई चिर्न खर्चलाई प्रभावकारी रूपमा बढाउनुपर्नेमा जोड दिए । ‘बैशाख महिनालाई अन्तिम भुक्तानीको महिना बनाउन सक्ने हो भने धेरै समस्या हल भएर जाने थिए,’ मुख्यमन्त्री आचार्यले भने, ‘अन्य प्रदेशको तुलनामा माघ मसान्तसम्म लुम्बिनी प्रदेशको पुँजीगत खर्च सबैभन्दा राम्रो छ । तर यसलाई निरन्तरता दिनेगरी काम गरौँ ।’
सङ्घीय सरकारबाट प्राप्त समानीकरण, ससर्त तथा विशेष अनुदानका कार्यक्रम कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । सङ्घबाट प्राप्त भएको बजेट कार्यान्वयन नभएमा फिर्ता नहुने गरी कार्यान्वयन गर्न जोड दिनैपर्ने उनेल बताए ।
मुख्यमन्त्री आचार्यले टुक्रे आयोजना निरुत्साहित गर्न योजना छनोटमा कठोर बन्नुपर्ने धारणा राख्दै प्रदेश सरकारले बहुवर्षीय आयोजनालाई प्राथमिकता दिने स्पष्ट पारे । ‘हामीले टुक्रे आयोजनालाई निरुत्साहित गर्न बहुवर्षीय आयोजनालाई प्राथमिकतामा राख्नुपर्छ’, उनले भने, ‘राजनीतिक तहबाट पनि यसबारे छलफल अघि बढाउनुपर्छ ।’
आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीको अध्यक्षता कार्यक्रममा स्वास्थ्यमन्त्री खेमबहादुर सारु, वन तथा वातावरणमन्त्री देवकरण कलवार, प्रमुख सचिव बाबुराम अधिकारी, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याललगायत मन्त्रालयका सचिवहरूले अहिलेसम्मका उपलब्धि र भावी योजनाका बारेमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थीले समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था सुखद् नरहेको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय खासगरि कोभिड यता मुलुकको अर्थतन्त्रमा ठूलो दबाबमा परेको भन्दै मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताएका हुन् ।
‘पछिल्लो समय खासगरि कोभिड यता मुलुकको अर्थतन्त्रमा ठूलो दबाब परेको छ । मुलुकको आर्थिक स्थिति सुखद नरहेको अवस्था छ ।’, उनले भने, ‘केही समय यतादेखि हामी देशको आर्थिक अवस्थालाई सुधार तर्फ लिएर जाने र मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने काममा लागेका छौँ र त्यो काम गर्न चाहन्छौँ ।’
त्यस्तै, उनले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको उद्देश्य पूरा गर्नको लागि वर्तमान सरकार बनेको बताएका छन् ।
‘अहिले नयाँ सरकार गठन गर्नको लागि नयाँ समीकरण बनायौँ । नेपाली काङ्ग्रेस र नेकपा एमालेका बीचमा ७ बुँदे सहमति भयो, नयाँ समीकरण भयो र त्यसको आधारमा अहिलेको सरकार बनेको छ जसले सात महिना सम्पन्न गरेको छ । यो सरकार बिग्रिँदो आर्थिक अवस्थालाई सुधार गर्दै मुलुकलाई समृद्धितर्फ लैजाने उद्देश्यका साथ यो सरकार बनेको हो ।’, उनले भने, ‘मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको उद्देश्य पूरा गर्नको लागि वर्तमान सरकार बनेको हो ।’
काठमाडौँ । वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला झापा दमक नगरपालिका वडा नं ५ घर भई काठमाडौँ महानगरपालिका वडा नं ७ बस्ने २७ वर्षीय डाईमण्ड सम्बाहाम्फे रहेका छन् ।
उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि चेक रिपब्लिक लैजाने भन्दै एक लाख ३८ हजार रुपैयाँ ठगी गरेका थिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले सम्बाहाम्फेलाई फागुन ८ गते पक्राउ गरेको हो ।
हाल उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
काठमाडौँ । नेपाल प्रेस युनियनले ‘बोल्न दे सरकार’ भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।
युनियनले सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ अगाडि बढाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन खोजेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले सामाजिक संजाल विधेयक २०८१ फिर्ता गर, प्रेस तथा अभिव्यक्त स्वतन्त्रता खोस्न पाइँदैनलगायत पम्लेट तथा ब्यानरको प्रदर्शन गरेका थिए । बाँकि तस्विरमा हेर्नुहोस्:
काठमाडौँ । मलेसियाली केन्द्रीय बैंकले सन् २०२४ मा देशको अर्थतन्त्र ५.१ प्रतिशतले बढेको बताएको छ ।
अर्थतन्त्र बढ्नुको कारण घरेलु मागमा निरन्तर विस्तार र निर्यातमा आएको सुधार भएको मलेसियाको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकनेगारा मलेसियाले घरेलु मोर्चामा, वृद्धि मुख्यतया बलियो घरेलु खर्च, अनुकुल श्रम बजार अवस्था, घरपरिवारलाई सहयोग गर्ने नीतिगत उपायहरू र स्वस्थ घरेलु ब्यालेन्स पानाहरू प्रतिबिम्बित गरेर सञ्चालित भएको हो ।
यसका साथै बलियो लगानी स्वीकृति र निजी र सार्वजनिक क्षेत्रहरूद्वारा बहुवर्षीय परियोजनाहरूको थप प्रगति, जसमा राष्ट्रिय गुरुयोजनाहरू अन्तर्गत उत्प्रेरक पहलहरू समावेश छन् । लगानी वृद्धिलाई थप प्रोत्साहन प्रदान गरेको छ ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।
युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ७१ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६५ पैसा तय गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ २६ पैसा र बिक्रीदर ८८ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ८९ पैसा र बिक्रीदर ९८ रूपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ४७ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ९१ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ १५ पैसा र बिक्रीदर नौ रूपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३७ रूपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रूपैयाँ २५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८० पैसा र बिक्रीदर ३७ रूपैयाँ ९६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २३ पैसा र बिक्री दर ३१ रूपैयाँ ३६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६४ पैसा र बिक्रीदर नौ रूपैयाँ ६८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३ रूपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४८ पैसा र बिक्री दर १९ रूपैयाँ ५६ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७ रूपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४९ रूपैयाँ ८७ पैसा र बिक्रीदर चार सय ५१ रूपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६८ रूपैयाँ ३८ पैसा र बिक्रीदर तीन सय ६९ रूपैयाँ ९७ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रूपैयाँ ५९ पैसा र बिक्रीदर तीन सय ६२ रूपैयाँ १५ पैसा निर्धारण भएको छ ।
यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ । विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।
काठमाडौँ । नेप्सेमा सूचीकृत देवी भगवानको नाममा एउटा झुर हाइड्रो कम्पनी छ, त्यो हाइड्रो भन्दा त हाम्रो गाउँको पानीघट्ट नै ठूलो होला । कानून मिचेर अडिट भएको छ, नेटवर्थ नेगेटिभ छ । लगानी गरेका भनिएकाहरु करोडौँ कमाएर बाहिरिसके, डुब्न घोषणा मात्र हुन बाँकी कम्पनीको सेयर सर्वसाधार्णसँग छ । एउटा, नाममा स्टार झुन्ड्याएको अर्को त्यस्तै कम्पनी छ । हिसाब पुरै बिग्रेको छ, संचालक मनपरी गर्छन् । महंगोमा किनेको सेयर सर्वसाधारणको हातमा छ, तर कम्पनीको बिजोग छ । र यी दुई मात्र उदाहरण हुन् । यस्ता कम्पनी नेपालमा धेरै छन्, जसका सुरुवाती लगानीकर्ताले करोडौँ कमाईसके डुब्ने पालोमा सोझा जनता छन् ।
यही तथ्य बुझेर प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वास्तविक नेटवर्थ ९० भन्दा बढी भएका कम्पनीलाई मात्रै आईपीओ अनुमति दिनु भन्दै नियामक नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो । अर्थात, वास्तविक नेटवर्थ ९० भन्दा कम भएका कम्पनीहरुलाई आईपीओ निष्कासनमा रोक लगाउन समितिले निर्देशन दिएको थियो । समितिको निर्देशनपछि धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गर्नेसमेत तयारी थालिसकेको छ ।
तर, सार्वजनिक लेखा समितिले नेटवर्थ ९० भन्दा कम भएका कम्पनीहरुलाई आईपीओ निष्कासन गर्न नदिन भन्दै निर्देशन दिएपछि उर्जा व्यवसायीको एउटा समूह आत्तिएको छ । डुबेका, डुब्न ठिक्क परेका कम्पनीहरुको आईपीओ निकाल्ने र जनताबाट पैसा उठाएर कम्पनीबाटै बाहिरिनेहरुको होस् ठेगानमा छैन । जनताबाट यसरी पैसा उठाउन र कुम्ल्याउन पल्किएकाहरुको नेता र मन्त्रीसँग भेटघाट बाक्लिएको छ । कहिले पत्रकार सम्मेलन गरेर समितिको निर्देशनको विरोध गर्छन्, कहिले सत्तापक्ष दलका नेताहरुलाई भेटेर के के न भयो जसरी बडेमानको ध्यानाकर्षण पत्र बुझाउँछन् । केही दिनअघि मात्रै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले ९० भन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओ रोक्नु भन्दै दिएको निर्देशनमा नेपाली काँग्रेस संसदीय दलको ध्यानाकर्षण गराएको थियो । उर्जा व्यवसायीहरुको एउटा समूहले काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई भेटेर ध्यानाकर्ष पत्र बुझाएका हुन् ।
उनीहरुले लेखा समितिले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदा ४२ कम्पनीको आईपीओ र ३० भन्दा बढी कम्पनीको हकप्रद सेयर गरी ५० अर्ब रुपैयाँ भन्दा बढीको सार्वजनिक निष्कासन रोकिएको दाबी गरेका छन् ।
तर, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले भने डुबेका र डुब्न लागेका कम्पनीहरुले पनि आईपीओ जारी गर्न थालेपछि लगानीकर्ताको लगानी सुरक्षित गर्न नेटवर्थ ९० को निर्देशन दिएको बताएका छन् ।
एकछिनका लागि मानौँ, उर्जा व्यवसायीहरुले भनेजस्तै सार्वजनिक लेखा समितिले आफ्नो अधिकार भन्दा बाहिर गएर नेटवर्थ ९० को निर्देशन दियो रे ! तर, लगानीकर्तालाई झुक्याएर, गलत विवरण देखाएर, जालसाझी गरेर, निभ्न लागेको मैनबत्तिजस्तो धिपधिप गरिरहेका कम्पनीको आईपीओ निष्कासन गरेर जनताबाट पैसा उठाउनु चाहिँ ठिक हो त ? जनताको गोजी खाली गरेर आफ्नो दुनो सोझ्याउनु सही भयो त ? डुबेका कम्पनीले आईपीओ ल्याउने आफू उम्किन र ऋण तिर्नकै लागि हो भन्ने कुरा त घामजत्तिकै छर्लंग छ । गाउँ बस्तीमा यस्ता हाइड्रोको बिगबिगी छन् । जसले सुरुमा अनेक लोभ देखाएर सस्तोमा जग्गा लिन्छन्, पछि लखेट्न खोज्छन्, बस्नै नदिनेगरी तनाव दिन्छन् । केही भन्यो भने नेताको पावर देखाउँछन । घरगाउँका नेता भनौदाहरु तिनकै पकेटमा हुन्छन् । दोलखामा रहेको युनिभर्सल हाइड्रो त्यसैको उदाहरण हो । अनि यसरी जनतालाई दुख दिएर यता आइपिओमार्फत कमाउन पल्केकाहरुलाई पछिल्लो निर्णय चित्त नबुझ्नु सामान्य हो ।
समितिले गरेको निर्णय र दिएको निर्देशन लगानीकर्ताको हितमा छ भन्ने कुरामा दुईमत छैन । हामीलाई उम्किन समितिले रोक्यो भन्दै नेताका शरणमा पर्नुभन्दा आफ्नो कम्पनी बलियो कसरी बनाउने भन्नेतर्फ लागे सबैको भलो हुनेछ । नेताले पनि चुनावमा खर्च पाइन्छ भनेर तीनैका पछि लागेर ‘हो, सही हो’ भन्दै तीनैको बोली बोल्नु कदापी सही हुँदैन । नेतृत्वको काम जनता जोगाउनु हो, न की व्यवसायी पोस्ने । व्यवसायीहरुले पनि मेरा गोरुको बाह्रै टक्का भनेझैँ लेँडेढिपी कस्नुभन्दा विकल्प खोज्नु नै बेस । र हामी फेरि भन्छौँ, कमजोर कम्पनीको आईपीओ चाहिँदैन, जनतालाई ऋणको भारी बोकाएर आफू उम्किन पाइँदैन । (भिडियो)
काठमाडौँ । नेपालमा एमसीसी परियोजना स्थगित भएको छ । अमेरिकी साहयता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ अन्तर्गतका सबै परियोजना स्थगित भएका हुन् ।
एमसीसी परियोजना स्थगितबारे नेपाल सरकारलाई फागुन २ गते इमेलमार्फत जानकारी आएको बताइएको छ ।
एमसीसी परियोजना कार्यान्वयनबारे नेपाल सरकार र अमेरिकी साहयता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ बीच २०७४ भदौ २९ गते सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि एमसीसी परियोजना ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ ।
त्यस्तै, अमेरिकी सरकारले यूएसएड अन्तर्गतका विभिन्न ६ परियोजना पनि रद्द गर्ने निर्णय गरेको छ । यूएसएआईडी बन्द भए नेपालमा हजारौँ एनजिओकर्मीको उठिबास लाग्ने निश्चित छ ।
काठमाडौँ । श्रीलंकाको सेयर बजार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार श्रीलंकाको कोलम्बो स्टक एक्सचेन्जको बेन्चमार्क ‘एएसपीआइ’ र ‘एसएन्डपी एसएल २०’ दुबै इन्डेक्स हालसम्मकै उच्च बिन्दुमा पुगेका हुन् ।
एएसपीआइ सूचक इन्ट्रा डे हाई १७ हजार ३२२ बिन्दुसम्म पुगेको थियो भने एसएन्डपी सूचक ५ हजार १७७ बिन्दुको हाईमा पुगेको थियो ।
तर, बजार बन्द हुँदा एएसपीआइ सूचक ३७.७४ अंकले बढेर १७१९३.७९ बिन्दुमा पुगेको छ । त्यस्तै, एसएन्डपी सूचक ३०.१८ अंकले बढेर ५१३६.५८ बिन्दुमा पुगेको छ ।
राजनीतिक स्थिरता, आर्थिक सुधार, विदेशी लगानीको प्रवाह, वित्तीय क्षेत्रको मजबुतीकरण र प्रविधिगत सुधारका कारण श्रीलंकाको सेयर बजारमा बढोत्तरी देखिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
काठमाडौँ । काठमाडौं महानगरपालिकाले अहिले अभियानकै रुपमा सवारी प्रदुषण चेकजाँच गरी रहेको छ । प्रदुषण चेकजाँचका क्रममा सडकमा गुड्ने अधिकांश सवारीसाधनहरु प्रदूषण मापदण्ड विपरीत भेटिएका छन् ।
महानगरपालिकाले ९४५ वटा सवारी साधनमध्ये ५१५ वटा (५४ प्रतिशत) सडकमा गुडिरहेका सवारी साधनहरूको परीक्षण गरेको हो । यसमा २४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र ६९६ वटा डिजेलबाट चल्ने सवारी साधनको परीक्षण गर्दा ४७१ वटा फेल भेटिएका हुन् ।
महानगरपालिकाले वातावरणीय सुधार गरेर सहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड २०८१’, ‘फोहर मैला सङ्कलन तथा ढुवानी कार्यविधि २०८१’ जारी गरेको छ । यी कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारी साधनको प्रदूषण परीक्षण गरिएको हो । बाँकि तस्विरमा हेर्नुहोस्:
काठमाडौँ । नेपाल एसबिआई बैंकले आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडा नं ७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको हो ।
बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले आदर्श बालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यलाई एक कार्यक्रमकाबीच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति थियो ।
बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२३ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
काठमाडौँ । इतिहास साक्षी छ, नेपालमा साना साना बहाना बनाएर ठूलाठूला दुर्घटना घटाइएका छन् । मदन भण्डारीको निधन भयो वा उनलाई मारियो, अहिलेसम्म खुलेको छैन । बाहिर आएका कुरा जनताले पत्याएका छैनन् । आज पनि स्वर्गीय राजा बिरेन्द्रको बंशनास दिपेन्द्रले गरेका हुन् भन्ने जति किताब लेखिए पनि, जति डकुमेन्ट्री बने पनि जनताले पत्याएका छैनन् । सुशील कोइरालाको निधन सामान्य निधन थियो वा अरु केहि, यस विषयमा खोजिनिधि नै गरिएन, प्रचण्डपुत्र प्रकाश दाहालको निधन सामान्य थियो वा अरु केहि,खोजिनिधि नै गरिएन । तत्कालीन पर्यटनमन्त्रीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । सो दुर्घटना मौसम खराबका कारण मात्र थियो वा अरु केहि, बाहिर नै आएन । पछिल्लो समय, यति एयरलाइन्सको दुर्घटना दुर्घटना थिएन, बरु गम्भीर लापरवाही थियो भन्ने तथ्य बाहिर त आयो, तर यो तथ्य बाहिर आउने बेलामा थुप्रै नेपालीले ज्यान गुमाइसकेको पनि वर्ष पुगिसकेको थियो । यसपालि पोखरामा बेलुन पड्किनु पनि फगत दुर्घटना थियो, वा भित्री षड्यन्त्रकेही थियो भन्ने विषय बाहिर आउन जरुरी छ ।२० लाख आन्तरिक पर्यटन भित्र्याउने भन्दै सुरु गरिएको पोखरा भ्रमण वर्ष उद्घाटनको कार्यक्रममा जसरी बेलुन पड्कियो, जसरी पोखराका मेयर र अर्थमन्त्री विष्णु पौडेलको ज्यान जल्नेगरी घटना घट्यो, सो घटना सामान्य दुर्घटना थियो वा नियोजित षड्यन्त्र भन्ने विषय अव खोतलखाताल गर्नुपर्ने बेला आएको छ । हुन त यस विषयमा छानविन समिति पनि गठन भएको छ,तर यो छानविन समिति पनि उही दरबार हत्याकाण्ड छानविन गर्न बनेको समितिले भटटट बन्दुक पड्केको भनेजस्तै हुरुरुरु आगो बल्यो भन्ने प्रतिवेदन नआओस् । र यसका लागि हामी सबैको खबरदारी आवश्यक छ ।
कुरा शनिबारको हो । २० लाख आन्तरिक र वाह्य पर्यटक भित्र्याउने लक्ष्य राख्दै शनिबार अपराह्न कास्कीस्थित पोखराको प्रदर्शनी केन्द्रमा ‘पोखरा भ्रमण वर्ष’ घोषणा समारोह हुँदै थियो । समारोह उद्घाटन र भ्रमण वर्ष घोषणा कार्यक्रमका प्रमुख अतिथि थिए- नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । उद्घोषककै आग्रहमा अर्थमन्त्री पौडेल र मेयर आचार्य मञ्चको अगाडि उभिएर भ्रमण वर्ष उद्घाटन र लोगो अनावरण गर्न खोज्दै थिए । कार्यक्रममा यतिसम्म लापरवाही गरिएको थियो कि प्रविधिका नाममा कुनै पनि सुरक्षाको व्यवस्था नै गरिएको थिएन । बरु आगोसँग खेल्न खोजिएको थियो । स्टेजमा जताततै आगोको लप्का छोड्ने फायर मेसिन चलाइएको थियो । त्यसैको नजिक हाइड्रोजन ग्यास भरिएको बेलुनको दुई ठूला झुप्पा नचाइँदै थियो । फायर मेसिनले फालिरहेको आगोको झिल्का र त्यसै नजिक नचाइँदै गरिएको हाइड्रोजन बेलुनका झुप्पा घर्षण हुँदा ठुलै दुर्घटना हुन्छ भन्ने सामान्य विषयलाई पनि नजरअन्दाज गर्दा आगो बल्यो, अर्थमन्त्रीलाई पोल्यो, मेयरमाथि आगो सल्कियो ।
धन्न भाग्य बलियो रहेछ, अर्थमन्त्री र मेयर साप बाँचे । तर बेलुन पड्किएर, आगो लागेर अर्थमन्त्री र मेयर हायल कायल हुँदा पनि स्टेजमा बसेकाहरु मुसुमुसु हाँस्दै थिए, उद्घोषक प्राविधिक कारण भनिरहेका थिए, कसैमा पनि आकस्मिकताको आभास थिएन । यसले घटनालाई थप रहस्यमयी बनाएको छ । यो घटना बारे भित्री तहसम्म पुगेर अनुसन्धान हुनैपर्छ । कुरा दुर्घटनाको मात्र होइन, कुरा दुर्घटनाभित्र कतै अदृश्य शक्तिले गलत योजना त बुनेको थिएन भन्ने विषय हो । यस विषयमा अनुसन्धान होस्, हुनुपर्छ ।
दुर्घटना त भयो, षड्यन्त्र भए पनि, मात्र दुर्घटना भए पनि । तर पोखरामा मेयर र अर्थमन्त्रीलाई आगोले छोप्दा देशको बिकासको स्थिति भने नाङ्गो देखियो । पोखराजस्तो शहरमा जलनको उपचार हुने एउटा गतिलो अस्पताल पनि बनाएको रहेनछ सकरारले । र त अर्थमन्त्री र मेयरलाई उपचारका लागि काठमाडौँ ल्याइयो । यसबाट अन्तराष्ट्रिय क्षेत्रमा के सन्देश जान्छ । त्यहि पोखरा हो, जहाँ हट एयर बेलुनको प्रचार गरेर व्यवसाय गरिंदैछ । त्यस्तो कहिले पनि नहोस्, तर पर्यटक पनि यसरी नै जले भने उनीहरुलाई त्यहीं उपचार गर्ने ठाउँ नै रहेनछ भन्ने सन्देश जाँदा पोखराको पर्यटनले कसरी बिकास पाउँछ ? अहँ पाउँदैन । पोखरामा भ्रमण बर्ष नमनाउदा पनि देशविदेशबाट लाखौँ पर्यटक आईरहेका छन् । यस्तो ठाउँमा एउटा गतिलो जलन उपचार केन्द्र पनि नहुने भएपछि देशमा सरकार हुनुको के अर्थ भयो र ?
अहिले अर्थमन्त्री र मेयर सापको सुस्वास्थ्यको कामना गरौँ । सामाजिक संजालमा उनीहरुलाई गाली नगरौं । कारण मेयर र अर्थमन्त्री अहिले गाह्रो अवस्थामा छन् । उनीहरुलाई गाली गर्न पूरा जिन्दगी बाँकी छ, त्यसैले अहिले हतार नगरौं । तर जनताको प्रश्नको जवाफ सरकारले जरुर दिनुपर्छ, के पोखरामा एउटा गतिलो जलन उपचार केन्द्र आवश्यक छैन र ? उनीहरु त मन्त्री थिए, मेयर थिए र त सुरक्षाकर्मी समेतले उद्दार गरी पोखरास्थित फिस्टेल अस्पताल पुर्याए । अनुहार र हात जलेर घाइते भएका उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पुर्याइयो, त्यहाँ नभए पछि काठमाडौँ आकस्मिक रुपमा हेलिकोप्टरमा ल्याइयो । चिकित्सकहरुका अनुसार आगोले छाला पोल्ने बित्तिकै समयमै उपचार गरे ठिक हुने तर उपचारमा ढिलाई गरे छालामा दाग बस्ने, संक्रमण हुने र बिरामीको मृत्युसमेत हुनसक्छ । यस्तो अवस्थामा आम जनताको चिन्ता कसलाई छ ? काठमाडौँको सानदार मममा काम गर्ने मजदुरहरुको ज्यान जल्दा उनीहरुलाई थोत्रो गाडीमा राखेर अस्पताल पुर्याइयो । यस विषयमा कोहि बोलेनन् । अन्ततः उनीहरुको प्राण गयो । आगोले मान्छे चिन्दैन, के मजदुर, के मन्त्री, सरकार पनि त त्यस्तै हुनुपर्ने होइन र ?
सरकारले कान खोलेर सुनोस्, जनता र सरकारबीच यति ठुलो खाडल हुने भए सरकार हुनु र नहुनुको खास भिन्नता छैन । जनतालाई आगोले पोल्दा जति पोल्छ, जति दुख्छ, त्यहाँ भन्दा बढी सरकार नहुँदा पोल्छ, सरकार नहुँदा दुख्छ । यो घटनाबाट पाठ सिकेर, जनतालाई पोल्दा पनि उपचार हुने अस्पताल बनुन्, मन्त्री र मजदुरबीच आगोको मामलामा भेदभाव नहोस् । पोखरामा हटएयर बेलुनका नाममा चलिरहेको व्यवसाय कतिको सुरक्षित छ ? त्यहाँ बेलुन भित्र कुन ग्याँस भरिएको छ ? यस विषयमा पनि सरकारले ध्यान देओस् ।
विज्ञहरुका अनुसार मेला, महोत्सव र विभिन्न समारोहमा प्रयोग गरिने हाइड्रोजन भरिएका बेलुन जोखिमपूर्ण हुन्छ । हाइड्रोजन हल्का हुने भएकाले बेलुनमाथि उड्छ । यस विषयमा सबै सचेत हुनुपर्छ । किनकि आगोले शरीर मात्र पोल्दैन, मन पनि पोल्छ ।
जे नहुनु त्यो भयो, छानविन होस् । यहि बेला आगोले पोलिहाल्यो भने तपाईं हामीले के गर्ने भन्ने विषय पनि बुझौँ ।
विज्ञका अनुसार आगोले छाला पोल्नेबित्तिकै सबैभन्दा पहिला पोलेको भाग चिसो बनाउनुपर्छ । तापक्रमले झन् खराब गर्ने भएकाले आइस लगाएर वा पानीले भिजाएर भएपनि चिसो बनाउनुपर्छ । पोलेको ठाउँमा घ्यूकुमारी लगाउँदा पनि पोलेको भागमा सितल प्रदान गर्छ । तर, पोलाइ बढी नै छ भने घरेलु उपचारमा अल्झिनु हुँदैन । छिटो भन्दा छिटो अस्पताल नै जानुपर्छ ।
जलनको प्राथमिक उपचारका बारेमा पनि सबैले ध्यान दिनुपर्छ । सबैभन्दा पहिले आगोले छाला कत्तिको गहिराई र भाग पोलेको छ भनेर बिचार गर्नुपर्छ । भने छालाको धेरै भाग पालेको छैन भने चिसो लगाउने या पानीले सफा गरेर एन्टीबायोटिक क्रिम लगाउँदा हुन्छ । पोलाई गहिरो हुँदा पनि समयमै उपचार भएन भने छालामा दाग बस्ने, छाला कस्सिने लगायतका समस्या हुन्छ, यो विषयमा ख्याल गर्नुपर्छ ।
आशा गरौँ, हाम्रा अर्थमन्त्री र मेयरलाई छिट्टै निको हुनेछ । अपेक्षा गरौँ यो घटनाबाट पाठ सिकेर सरकारले जलन उपचार केन्द्र सातै प्रदेशमा निर्माण गर्नेछ । आशा गरौँ, पोखराको बेलुन पड्केको घटनाको पनि निष्पक्ष छानविन हुनेछ । कोहि दोषी प्रमाणित भए उनीहरुलाई सजाया हुनेछ । र फेरी पनि भन्छौँ- आगो सँग नखेलौं । पानी रिसाए पछि बाढीको बितण्डा निम्त्याउँछ, आगो रिसाएपछि त कसैले आथ्था पनि भन्न नपाई सिद्धिने अवस्था आउन सक्छ । सबै सबैलाई चेतना भया । (भिडियो)
काठमाडौँ । खुलेर भन्न नसके पनि नेपालमा प्राइभेट बैंकमा जागिर खानेको दैनिकी यस्तै छ- बिहान जुरुक्क उठ्यो, हातमुख धोयो, खाना पकायो, खायो, अफिस कुदिहाल्यो । दिउँसो कामको तनाव, टार्गेटको प्रेसर, क्लाइन्टको किचकिच, कस्टमरको रिस, हाकिमको गाली सहनु नै छ । बेलुकी अबेर घर फर्कियो, खाना पकायो, खायो सुतिहाल्यो, किनकी भोलि फेरि अफिस जानू नै छ ।
जबजब मसान्त लाग्छ, मन उसै असान्त हुन्छ । रिकभरीको तनाव, बढेको कामको तनाव, के के हो के के ? तलव आउने दिनदेखि दुईचार दिन खुसी भयो, यताउता तिरोतारो, सरसपट उधारो तिर्दातिर्दै तलव सकिहाल्यो, पाँचौँ दिनदेखि फेरि तनाव । धन्न बोनसले श्वास भरिएको छ । बल्ल बल्ल पाएको जागिर नगरेर के गर्नु ? र त मनै नलागे पनि जागिर गरिएकै छ ।
बैंकका जागिरेको तनाव यतिकैमा रोकिँदैन । सँगै पढेको साथी विदेशमा छ, दिनभर मस्काउने, चम्काउने, टल्काउने काम गरे पनि रात परेपछी सामाजिक संजालमा उसको फुर्ती बेग्लै हुन्छ । बल्ल बल्ल बिदाको दिन पारेरै भए पनि समुन्द्र छेउ फोटो खिचेर हाल्छ । यता आफ्नो बल्ल बल्ल शनिबार बिदा हुन्छ, त्यही दिन बैंकले ट्रेनिङ भनेर बोलाउँछ । काम नगरौँ टार्गेटको प्रेसर, काम गरौँ कुन बेला कुन गलत ठाउँमा गरेको सहिले जिवनभर पोल्ने हो थाहा छैन । यति मरेर काम गर्दा पनि प्रमोसनका बेला कुमचाहिँ हाकिमको चाप्लुसी गर्नेले उछिन्छ । रात विरात नसुती पढेर बल्ल बल्ल पास गरेर खाएको जागिरमा पावर लगाउनेकै रबैया छ, पावर लगाउनेकै छिटो प्रमोसन छ ।
ओहो ! जिन्दगीमा तनाव छ कि तनावको थुप्रोमा एक थान जिन्दगी छ भनेजस्तै भएको छ आजकल धेरै बैंकरलाई । अनि त्यसपछी के हुन्छ ? के हुनु नि ? बरु ह्या ! विदेश नै जान्छु भन्छ एउटा बैंकर । अनि एक, दुई, १०, ५०, सय हुँदै हजार, हजार हुँदै हजारौँ बैंकरहरु ह्या जागिर ! भन्दै विदेशिन थालेका छन् ।
अहिले विदेश भासिने बैंकरको संख्या यति बढेको छ कि ३० वर्षभन्दा कम उमेर समूहका बैंकर आज विकास बैंकमा, भोलि वाणिज्य बैंकमा र अर्को महिना एयरपोर्टमा भेटिन थालेका छन् । जुनियर अधिकृतहरु त झन्न विदेश जाने क्रम यसरी बढेको छ कि अब केही वर्षपछि बैंकमा मध्यम तहका दक्ष जनशक्तिकोको चरम अभाव हुने देखिन्छ । जागिर खाने समयमा ३ वर्ष बैंक छोड्दिन भन्नेहरु त्यही बैंकमै बसेर विदेशमा अप्लाई गर्छन्, भिसा झरेपछी राजिनामा दिन्छन् ।
अब यो समस्याको समाधान खोज्न आवश्यक छ । कतै हामीले बैंकिङलाई आवश्यक भन्दा ‘टफ’ बनायौँ कि ? बैंकिङ गर्दागर्दै जिन्दगी जिउन नै बिर्सने पो गरायौँ कि ? गम्भीर समीक्षा गर्न आवश्यक छ । बाँच्नलाई जागिर खाने हो, जागिर खानलाई बाँच्ने होइन भन्ने सत्य पो बिर्सियौँ कि ? एक पटक घोत्लिएर सोच्ने बेला भयो कि ? सम्बन्धित सबैको ध्यान पुगोस् । बैंकरका समस्याभित्रै पुगेर हल खोज्ने प्रयत्न गरियोस् ।