२२ माघ, काठमाडौं ।
स्थान : राष्ट्रिय किताबखाना (शिक्षक) को कार्यालय, ताहाचल । कोठा नं. ४, शाखा अधिकृत धनेश्वर प्रसाईंको कार्यकक्ष ।
मिति : १४ पुस, २०८१ ।
समय : दिउँसो ३ बजे ।
झन्डै दुई सातादेखि पेन्सनपट्टा बनाउन किताबखाना धाइरहेका शिक्षक भोजराज भट्टराई शाखा अधिकृत धनेश्वर प्रसाईंको टेबुलको अघिल्तिर सानो थैलो राख्छन् ।
शिक्षक भट्टराई भन्छन्, ‘सर नमस्कार । भनेको कुरा ल्याएको छु, यो खुल्लै पो छ है !’
शाखा अधिकृत प्रसाईं भन्छन्, ‘बुढा, यो त प्लास्टिकमा हालेर, छोपेर पो……!’
शिक्षक भट्टराई भन्छन्, ‘यसो हेरेर राख्नु न !’
शाखा अधिकृत प्रसाईंले पोको समात्छन् र नजिकै आफ्नो दराजको भित्री खापाभित्र राख्दै भन्छन्, ‘यसरी काम गरेको भनेर भोलि हल्ला चैं नगर्नु नि फेरि ।’
केहीबेरमा प्रहरी, जनप्रतिनिधिसहित पुगेको अख्तियारको टोलीले प्रसाईंलाई ३ लाख रुपैयाँ घुससहित पक्राउ गर्छ । झट्ट सुन्दा एकाध घण्टामै टुंगिएजस्तो देखिने यो घटनाको पृष्ठभूमि अलि लामो छ ।
कम्तीमा पनि डेढ/दुई साताको रस्साकस्सीपछि शिक्षक भट्टराई थैलो बुझाउन र शाखा अधिकृत प्रसाईं पेन्सनपट्टाको काम अघि बढाइदिन सहमत भएका थिए ।
जीवनभर कालोपाटीमा चक घोटेर हजारौं विद्यार्थीलाई सुखद भविष्यतिर डोर्याउने शिक्षकहरू अवकासपछि पेन्सनपट्टा बनाउन अनेक झण्झट र हैरानी खेप्नुपर्छ । ताहाचलस्थित किताबखानाका कोठा कोठामा हुने हैरानी र झण्झटबाट पार पाउन अवकाश प्राप्त शिक्षकहरूले बाध्यतावश ‘घुस’ बुझाउनुपर्छ, अनि मात्रै काम हुन्छ ।
त्यही परिस्थिति भोगेका थिए कोशी प्रदेशका शिक्षक भोजराज भट्टराईले पनि । तर, घुस बुझाउन बाध्य पार्ने शाखा अधिकृत धनेश्वर प्रसाईं भने गत पुसको दोस्रो साता अख्तियारको फन्दामा परे ।
‘जे मन लाग्छ, त्यही गर्नू’
४ पुस, २०८१ मा शिक्षक भट्टराईले पेन्सनपट्टा बनाउन निवेदन दिए । अख्तियारले विशेष अदालतमा बुझाएको आरोपपत्र अनुसार, मागेको कागजात बुझाएपछि काम बन्नुपर्नेमा शाखा अधिकृत प्रसाईंले कहिले के कागजात पुगेन, कहिले के मिलेन भनेर हैरान दिइरहेका थिए ।
पटकपटक जाँदा पनि काम नभएर हैरान भट्टराई किताबखानाको गेटबाट निस्कन लाग्दै थिए, सुदर्शन न्यौपाने नाम गरेका व्यक्ति ढोकामै आइपुगे र भने, ‘तपाईंंको के काम थियो ? काम किन भएन ? भित्र सरहरूले के भन्नुभएको थियो ?’
शिक्षक भट्टराईले भोग्दै आएको हैरानी एकै सासमा सुनाए । त्यसपछि न्यौपानेले नम्बर लिए अनि भने, ‘भित्र सरहरूसँग मेरो राम्रो सम्बन्ध छ, कामको कुरा बुझेर खबर गर्छु ।’
तिनै न्यौपानेको समन्वयमा शिक्षक भट्टराई र शिक्षक किताबखानाका शाखा अधिकृत प्रसाई एक ठाउँमा भेला भए ।
प्रसाईंले मुख फोरे, ‘तपाईंंको काम असजिलो छ, सबैलाई मिलाउनुपर्ने हुन्छ, पाँच लाख जति खर्च गर्नुभयो भने पेन्सनपट्टा बन्छ ।’
शिक्षक भट्टराईले जवाफ फर्काए, ‘मैले यतिका धेरै रकम त जुटाउन सक्दिनँ, अलि मिलाइदिनुस् ।’
अख्तियारले बिचौलिया भनेर आरोप–पत्रमा नाम उल्लेख गरेका सुदर्शन न्यौपाने ताहाचलस्थित शिक्षक किताबखानामा दिनभर घुमफिर गरिरहने व्यक्ति हुन् । उनकी पत्नी भवानी अधिकारी त्यही किताबखानामै कार्यालय सहयोगी छिन् ।
न्यौपाने र शाखा अधिकृत प्रसाईंले मुखामुख गरे, अनि तीन लाख रुपैयाँ दिने भए काम अघि बढाइदिने प्रस्ताव राखे । प्रसाईले भने, ‘यो भन्दा तल जाने ठाउँ छैन ।’ उनले शिक्षक भट्टराईलाई पैसाको जोहो गरेपछि भेट्न भन्दै न्यौपानेतिर इशारा गरे ।
अख्तियारले बिचौलिया भनेर आरोप–पत्रमा नाम उल्लेख गरेका सुदर्शन न्यौपाने ताहाचलस्थित शिक्षक किताबखानामा दिनभर घुमफिर गरिरहने व्यक्ति हुन् । उनकी पत्नी भवानी अधिकारी त्यही किताबखानामै कार्यालय सहयोगी छिन् ।
यसअघि शाखा अधिकृत धनेश्वर प्रसाईमाथि घुस खाएको आरोपमा मुद्दा दायर हुँदा अख्तियारले सुदर्शन न्यौपानेलाई पनि प्रतिवादी बनाएको थियो । उनी त्यतिबेला किताबखाना हाताभित्र क्यान्टिन चलाउँथे ।
केही दिनपछि न्यौपानेले छाउनीस्थित किताबखाना नजिकैको कोठामा शिक्षक भट्टराईलाई बोलाए । त्यहाँ शाखा अधिकृत प्रसाईसहित अर्कै एक कर्मचारी थपिइन् । ती कर्मचारी सुदर्शनकी श्रीमती एवं किताबखानाकी कार्यालय सहायक भवानी अधिकारी थिइन् ।
प्रसाईले भने, ‘यो फाइलमा तीनजनाले टिप्पणी उठाउनुपर्छ । उहाँहरूको पनि चित्त बुझाउनुपर्छ । तपाईंं अब चुप्प लागेर बस्नुपर्छ । अरुलाई लेनदेनको कुरा गर्नु भो भने फाँटवालालाई मिलाउनै सकिँदैन ।’
शाखा अधिकृत प्रसाईले पेन्सनपट्टाको अन्तिम निर्णय गर्ने उपसचिव ईश्वरीप्रसाद ज्ञवालीसँग पनि केही कुरा नगर्न सल्लाह दिन्छन् ।
बिचौलियाको भूमिकामा रहेका न्यौपानेलाई देखाउँदै प्रसाई भन्छन्, ‘तपाईंंले पैसा ल्याएर यहाँ दिनुस्, चिठ्ठीको उत्तर ल्याएर उसलाई दिने हो । तपाईंं यहिँ बस्ने, पेन्सन पट्टा यहिँ आउँछ, तपाईं यहिँ ल्याप्चे लगाउने अनि मैले सही गरिदिन्छु । वहाँ (सुदर्शन) र मदेखि बाहेक तपाईंंले अन्त पैसाको कुरा गर्नु भयो भने पट्टामै सही गर्दिनँ, टिप्पणी मै सही गर्दिनँ ।’
पीडित शिक्षकले भने, ‘तीन लाख अलि बढी भयो, दुई लाख दिन्छु ।’
जवाफमा शाखा अधिकृत धनेश्वर प्रसाईले भने, ‘अरु कुरा नगर्नु । हामीले धेरै पैसा भन्या जस्तो लाग्छ भने तपाईंं आफू जे मनलाग्छ त्यही गर्नु भन्नु ?’
‘बुढा, क्यूआरमा पैसा हाल’
शिक्षक भट्टराईसँग शाखा अधिकृत प्रसाईं, बिचौलियाको आरोप लागेका सुदर्शन न्यौपाने र किताबखानाकी कार्यालय सहायक अधिकारीसँग पटकपटक फोनमा संवाद हुन्छ ।
एक दिन न्यौपानेले शिक्षक भट्टराईलाई फोन गरे, पैसाको जोहो भए/नभएकोबारे सोधे । शिक्षक भट्टराईले आफूसँग पैसा नभएको, दुई लाख जुटाएको र एक लाख आउन बाँकी रहेको बताए ।
त्यसपछि न्यौपानेले भने, ‘तपाईंंले त्याँ ठ्याक्कै हुने बित्तिकै मलाई याँ ट्याक्कै मोबाइलमा फोन गर्नु है त !’
शिक्षक भट्टराई भन्छन्, ‘ल त्यो उल्लाई (शाखा अधिकृत धनेश्वर प्रसाईं)लाई चाहिँ ढुक्क हो भन्नु नि ! काम चाहिँ त्या सक् भन्नु ।’
केही दिनमा फेरि अर्को फोन वार्तालाप हुन्छ । शिक्षक भट्टराईले सबै कागजात तयार भइसकेको भन्दै अनाहकमा आफूलाई दुःख नदिन आग्रह गर्छन् ।
बिचौलिया न्यौपाने भन्छन्, ‘तपाईंंको पो पेन्सन रोकिने हो नि बुढा, (प्रक्रिया मिचेर पेन्सनपट्टा बनाइदिए) यिनीहरूलाई त लान्छन् ।’
शिक्षक भट्टराईले शिक्षक किताबखाना र त्यहाँको बिचौलियाहरूसँग पटकपटक भएको कुराकानीको रेकर्ड र भिडियो अख्तियार बुझाएका थिए, जुन विशेष अदालतमा पेश भएको छ ।
घुस बुझाउन आनाकानी गरिरहेका शिक्षकलाई फेरि न्यौपानेले भेट्छन् । उनले शाखा अधिकृत प्रसाईभन्दा माथिल्लो तहमा उपसचिव ईश्वरी ज्ञवाली र उपमहानिर्देशक युवराज पौडेल रहेको भन्दै सबैलाई चुप बनाउन खर्च गर्नुपर्ने प्रस्ताव राख्छन् ।
मागेजति पैसा पाउने निश्चित भएपछि शाखा अधिकृत प्रसाई भन्छन्, ‘तपाईंले अरु हाकिमसहरूसँग पैसाको कुरा गर्नुभयो भने यो काम हुँदैन फेरि । तपाईं त चुप्प लाग्ने ।’
त्यसपछि शिक्षक भट्टराई भन्छन्, ‘पेन्सनपट्टा तयार भएपछि पैसा लगेर दिए हुँदैन ?’
जवाफमा न्यौपाने भन्छन्, ‘पहिला (पैसा) लगेर दिएपछि काम भएन भने तपाईंंको सामान नै फिर्ता दिन्छ ।’
अनि शिक्षक भट्टराई झोक्किन्छन्, ‘के प्रमाण हुन्छ र मैले (पैसा) फिर्ता माग्नु ?’
जवाफमा न्यौपाने भन्छन्, ‘ म छु त…….. तिमी बुढाको मात्रै हो र यस्तो काम ? नहुने भए नगर्न सक्ने भए लान्थें ?’
अन्तिममा न्यौपानेले थप्छन्, ‘क्यू आर गरेर पैसा मगाऊ बुढा, अनि मेरो क्यू आरमा हाल ।’
भट्टराई सोध्छन्, ‘पैसा नभई उसले गर्दै गर्दैन त ?’
न्यौपाने भन्छन्, ‘गर्दै गर्दैन उल्ले । धनेश्वरको कोठामा लगेर फ्याल्दिने हो, उसले उल्लाई लगेर फ्याल्दिन्छ, उल्ले अर्कोलाई फ्याल्दिन्छ ।’
‘बाटो फराकिलो रैछ’
भट्टराईले शाखा अधिकृत प्रसाईलाई फोन गर्छन् । उनी भन्छन्, ‘प्रमाणित गरेको कुरामा पनि ईश्वरी सर (ईश्वरीप्रसाद ज्ञवाली, उपसचिव) ले अलिकति दुःख दिने काम गर्नुभयो ।’
शिक्षक भट्टराईले अनलाइनखबरलाई बताए अनुसार उनी प्रधानाध्यापकबाट अवकाश भएपछि व्यवस्थापन समितिले उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा हाल्यो, मुद्दा चलुञ्जेल उनले पेन्सनपट्टा बनाएनन् ।
भट्टराईले मुद्दा जिते । त्यतिबेला देशभर कोरोना संक्रमण उत्कर्षमा थियो, उनले पट्टा बनाउन हतार गरेनन् । अहिले मात्रै उनी पेन्सनपट्टा बनाउन काठमाडौं आएका थिए ।
शिक्षक भट्टराईले अनलाइनखबरसँग भने, ‘किन ढिलो पेन्सनपट्टा बनाउन खोजेको भन्दै अल्मल्याइरहे । कहिले यो, कहिले त्यो कागजात पुगेन भनेर दुःख दिए । अनि अख्तियारमा उजुरी दिएको हुँ ।’
आफूले सबै कागजात प्रमाणित गरेर पेश गर्दा पनि पेन्सनपट्टा नबनेकोमा उनको आक्रोश थियो । प्रक्रिया लम्ब्याउन शाखा अधिकृत प्रसाईंले सम्बन्धित जिल्लाको शिक्षा इकाइलाई चिठी लेखेर विस्तृत विवरण मगाएका थिए । जवाफमा प्रसाईंले भनेका थिए, ‘हाम्रोमा आएपछि एकचोटी चिठी लेख्नै पर्ने नियम छ ।’
शिक्षक भट्टराई निस्किएको केहिबेरमै पुगेको अख्यितार टोलीले दराजबाट पैसाको थैलो बरामद गर्छ । शाखा अधिकृत प्रसाई कार्यकक्षबाटै पक्राउ पर्छन् ।
शिक्षक भट्टराईले फोन गरेर प्रसाईंलाई ‘काठमाडौं बसेको धेरै भयो, सहयोग गरिदिनु न’ भनेर बल गरिरहन्छन् ।
रकम घटाउन आग्रह गर्दै भने, ‘तीनबाट अलि घटाउन भन्नु न । दुई जति गरौं । तनाव भयो ।’
शाखा अधिकृत प्रसाई भन्छन्, ‘अरु कुरा गर्ने भए मसँग कुरै नगर्नु ।’
शिक्षक भट्टराई भन्छन्, ‘पेन्सन पट्टा बनाउने काम पनि झण्झट रैछ हाकिम साप, के गर्नु ?’
प्रसाई भन्छन्, ‘तपाईंलाई उहींबाट दुःख दिएका रहेछन् । हामीले दुःख दिएको हो र ? हामी त माझको बाटो हिँड्न खोजिराख्या छौं ।’
शिक्षक भट्टराईले व्यंग्यात्मक शैलीमा जवाफ दिए, ‘माझको बाटो त हो । माझको बाटो पनि अलि फराकिलो भयो ।’
प्रसाई ‘हा हा हा’ गरेर हाँस्छन् ।
‘हल्ला भयो भने सही गर्दिनँ’
फेरि उनीहरूबीच भेट हुन्छ । मागेजति पैसा पाउने निश्चित भएपछि शाखा अधिकृत प्रसाईं भन्छन्, ‘तपाईंले अरु हाकिमसहरूसँग पैसाको कुरा गर्नुभयो भने यो काम हुँदैन फेरि । तपाईं त चुप्प लाग्ने ।’
पटकपटकको फोनवार्तापछि प्रसाईं र भट्टराईबीच कार्यालय सहयोगी भवानी अधिकारीको कोठामा भेट हुन्छ । जसको भिडियो रेकर्ड अख्तियारले फेला पारेको थियो, त्यसमा स्पष्ट कुराकानी सुनिन्छ ।
भट्टराई भन्छन्, ‘अनि मलाई सोधे भने ? मैले के भन्ने त अनि ?’
प्रसाईं जवाफ दिन्छन्, ‘केही नभन्ने, मैले जे गर्नु छ मैले उहि गरिसकेको छ भन्ने ’
शिक्षक भट्टराई पुनः सोध्छन्, ‘लेनदेनको कुरा नगर्ने ?’
अधिकृत प्रसाईं जवाफ दिन्छन्, ‘लेनदेनको कुरा गर्नुभयो भने फाँटावालालाई मिलाउन सकिँदैन ? काम हुँदैन ।’
प्रसाईले सिधासिधा भन्छन्, ‘तपाईं काम गर्ने (पेन्सनपट्टा बनाउने) हो भने…तपाईंले पैसा ल्याएर यहाँ तीन लाख दिनु । चिठीको उत्तर ल्याएर उल्लाई दिने…तपाईं यही बस्ने …पेन्सनपट्टा यहीँ आउँछ । मैले सहि गर्दिन्छु, तपाईं यही ल्याप्चे लगाउने । पेन्सनपट्टा बोकेर घर जाने ।’
शाखा अधिकृत प्रसाईं थप्छन्, ‘तपाईं धेरै चोटी (कार्यालयमा) छिर्नु भयो भने कतिजनालाई पैसा बुझाउन सकिन्छ हाम्ले ?’ त्यही कोठामा रहेकी भवानी अधिकारी भन्छिन्, ‘यहाँ सीसी क्यामेरा छ ।’
शिक्षक भट्टराईले उनीहरूलाई किचकिच गरिरहन्छन्, ‘अनि मलाई त तनाव भो नि त । त्यत्रो दिन भो पट्टा बन्दै बन्दैन । अनि….’
धनेश्वर धम्क्याउँछन्, ‘तपाईं त्यहाँ नछिर्नु, भनेको काम गर्नु । अन्त पैसाको कुरा गर्नु भा छ भने म पट्टामा सही गर्दिनँ । टिप्पणीमै सही गर्दिनँ ।’
रंगेहात पक्राउ
अन्ततः शिक्षक भट्टराईले तीन लाख रुपैयाँ जोहो गर्छन् अनि सोझै किताबखानास्थित शाखा अधिकृत धनेश्वर प्रसाईंको कार्यकक्षमा जान्छन् ।
त्यसपछि हो, उनले थैलोमा खुला पैसा दिएर ‘यसो हेरेर राख्नु न’ भनेको ।
अनि भट्टराई भन्छन्, ‘यसो हेरेर राख्नु न ।’
शाखा अधिकृत प्रसाई आवाज परिक्षण, अडियो र भिडियो उतार गरिएको विवरणमा हस्ताक्षर गर्न तयार भएनन् । उनले पोलिग्राफ परिक्षण गर्न पनि मानेनन् ।
पैसा पाएपछि अधिकृत प्रसाईं ‘भोलि फेरि यसरी काम गरेको भनेर हल्ला चै नगर्नु नि फेरि’ भन्दै सतर्क गराउँछन् ।
त्यसपछि शिक्षक भट्टराईको फाइल अघि बढ्छ । उनीहरू उपसचिव ईश्वरी ज्ञवालीको कार्यकक्षमा पुग्छन् । उपसचिवले निर्णय हुनुअघि शिक्षकले तिर्न व्यहोर्न बाँकी नरहेको भनी लेख्ने व्यहोरा सिकाउँछन् । शाखा अधिकृतले त्यसलाई सटिक बनाउने व्यहोरा थप्छन् ।
कार्यालय सहयोगी भवानी अधिकारी झन् बीचमा आएर अरु व्यहोरा थप्नुपर्ने भन्छिन् । त्यहीँबाट ढोकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरूसहितको समूह प्रवेश गर्छ । प्रहरी वृत्त, स्वयम्भु, स्थानीय जनप्रतिनिधिसहितका टोली प्रवेश गर्नुअगावै प्रसाईंले ३ लाख रुपैयाँ भएको थैलो दराजभित्र थन्काइसकेका हुन्छन् ।
शिक्षक भट्टराई निस्किएको केहीबेरमै पुगेको अख्यितार टोलीले दराजबाट पैसाको थैलो बरामद गर्छ । शाखा अधिकृत प्रसाईं कार्यकक्षबाटै पक्राउ पर्छन् ।
‘काम परे आउनू’
अख्तियारमा बयान दिँदा धनेश्वर प्रसाईंले आफूले घुस लिएको आरोप अस्वीकार गरेका छन् । उनले आफूलाई सुदर्शन न्यौपानले पैसा राख्न दिएको र त्यही पैसा दराजमा राखिदिएको बयान गरेको अख्तियारको भनाइ छ ।
कार्यालय सहयोगी भवानी अधिकारीले आफ्नो डेरामा शिक्षक भट्टराई र कार्यालयका हाकिमहरूबीच कुराकानी भएको तर पैसा र मोलमोलाइको विषय आफूले थाह नपाएको बताएकी छन् ।
अख्तियारले प्रमाणको रुपमा पेश भएको सबै अडियो र भिडियो अख्तियारले लिपिबद्ध गरेकाे छ ।
शाखा अधिकृत प्रसाईं आवाज परिक्षण, अडियो र भिडियो उतार गरिएको विवरणमा हस्ताक्षर गर्न तयार भएनन् । उनले पोलिग्राफ परीक्षण गर्न पनि मानेनन् । अख्तियारले अडियोमा नाम मुछिएका उपसचिव ईश्वरी ज्ञवाली र उपमहानिर्देशक युवराज पौडेललाई पनि बोलाएर बयान लियो, तर प्रमाण नभेटिएको भन्दै उनीहरूमाथि मुद्दा चलाएन ।
शाखा अधिकृत धनेश्वर प्रसाईं, कार्यालय सहयोगी भवानी अधिकारी अनि बिचौलियाको भूमिका खेलेका सुदर्शन न्यौपानेमाथि विशेष अदालतमा दोस्रो मुद्दा दायर भयो । प्रसाईं र न्यौपानेले विशेष अदालतबाट जितेको पहिलो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
चार वर्षअघि अख्तियारले शाखा अधिकृत प्रसाईलाई ५२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । त्यतिबेला क्यान्टिन सञ्चालक सुदर्शन न्यौपानेले सेवाग्राहीसँग घुस मागेका थिए । अहिले पनि शिक्षक भट्टराईलाई काम गरिदिने आश्वासन दिएर घुस माग्ने न्यौपाने नै हुन् ।
चार वर्षअघिका सुदर्शन न्यौपाने र अहिलेका सुदर्शन न्यौपाने एउटै व्यक्ति हुन् कि फरक ? विशेष अदालतमा पेश भएको आरोप–पत्रमा खुल्दैन ।
मुद्दामा प्रतिवादी बनाइएका सुदर्शन न्यौपानेले आफू उही व्यक्ति भएको बताए ।
‘मैले पहिले क्यान्टिन चलाउँथें, अहिले छाडिदिएको छु’ उनले भने, ‘म किताबखानामै हुन्छु, केही काम पर्यो भने आउनु न । यसो मिलाएर बनाइदिउँला ।’