Dr. Mashusunda Subedi.jpg

‘हिँड्ने अभ्यास घट्यो, नसर्ने रोग बढ्यो’ – Online Khabar


आजभन्दा झन्डै ३० वर्ष अगाडि नसर्ने रोगको बारेमा खासै सुनिँदैनथ्यो । केही फाट्टफुट्ट बिरामी भेटिए पनि किन भयो भन्ने पनि थाहा हुँदैनथ्यो । नसर्ने रोगको परीक्षण, जनशक्ति र स्रोतसाधन नहुँदा खासै चर्चा हुँदैनथ्यो ।

गाउँघरतिर मुटुको समस्या भएर मृत्यु भएका मानिसलाई ‘बोक्सी’ ले मुटु नै हानिदिएछ भन्थे । आजभोलि उच्च रक्तचाप वा अन्य स्वास्थ्य समस्याका कारणले मृत्यु भयो भन्नेसम्मको जनचेतना छ ।

तर पछिल्ला दिनमा दैनिक एक–दुई घन्टा हिंड्ने बानी भएका मान्छे अब मोटरसाइकल र स्कुटर नभई नसक्ने भएका छन् । साथसाथै हिँड्ने र कसरत गर्ने अभ्यास ह्वात्तै घट्यो । शारीरिक श्रम घटेको छ । जीवन शैलीमा आएको यस्तो परिवर्तनले अधिकांश नेपालीमा मोटोपन बढ्दो छ । यो सबैको परिणाममा नसर्ने रोगको भार पनि थपिएको छ ।

विकसित देशले नसर्ने रोगको प्रकोप नियन्त्रणमा ल्याउँदै छन् । तर, हाम्रो जस्तो विकासोन्मुख मुलुकमा नसर्ने रोग महामारीको रूपमा फैलिइरहेको छ । हामी प्रतिस्पर्धी समयमा काम नगरी हुँदैन भन्दै दगुरिरहेका छौं ।

हिजोका दिनमा नसर्ने रोगको भार कम थियो । तर आजभोलि तीन दशक अगाडि सरुवा रोगको भार नसर्ने रोगले लियो । हाम्रो बसाइमा बढी शहरीकरण भयो । पहिला गाउँघरमा लेक–बेसी गर्ने, खेतीपाती गर्दा शारीरिक व्यायाम पर्याप्त हुन्थ्यो । अहिले मानिसहरू शारीरिक रूपमा निष्क्रिय छन् ।

अनि खानपानमा परिवर्तन आएको छ । शहरी खाना प्याकिङ गरेका, महिनौंसम्म एउटै तेलमा पकाएका खानेकुरा खाँदा मुटु सम्बन्धी रोग तथा नसर्ने रोगलाई असर पारिरहेको छ । शरीरलाई चाहिने गतिलो चिजभन्दा पनि हामी बजारमा उपलब्ध भएको चिल्लोयुक्त खानेकुरा बढी खाने भयौं । कुर्सीमा बसेर काम गर्ने मानिसको संख्या बढ्यो ।

शहरमा शारीरिक व्यायाम गर्ने ठाउँ पनि छैनन् । खानाको गुणस्तर छैन, जस्तो बनेको छ, त्यस्तै खानुपर्ने बाध्यता छ । शारीरिक व्यायाम–कसरत नगर्ने, सागसब्जी, फलफूल, तरकारी सेवन कम गर्ने, ‘फास्ट फुड’ र विषादी प्रयोग गरेर फलाइएका तरकारी, नुनको बढी प्रयोग गर्ने गरिन्छ ।

हामीले यसो हेर्दा दिनहुँ फलफूल पनि खाएको छु, म त ठिक हुनुपर्ने हो भनेर सोचिन्छ । तर हामीले खाने फलफूल, तरकारीमा विषादी भएका प्रमुख कारणले पनि नसर्ने रोगको भार बढाएको छ । अर्को कुरा शहरमा खासगरी वायु प्रदूषण खराब छ । काठमाडौं उपत्यका कचौरा जस्तो भएकाले दूषित हावा बाहिर निस्कनै सक्दैन । जसले सीधै फोक्सोमा असर गर्ने हुन्छ ।

पछिल्लो तथ्यांकमा नसर्ने रोगबाट हुने मृत्युदर बढेर ७१ प्रतिशत पुगेको छ । अहिले नसर्ने रोगमा उच्च रक्तचाप, मुटु तथा रक्तनलीको समस्या, मधुमेह, दम, क्यान्सर, मिर्गौलाको समस्या आदि छन् । यस्ता रोग एउटा निश्चित कारकतत्व भन्दा पनि धेरै कारणको असरबाट लागिरहेको छ ।

विकसित देशले नसर्ने रोगको प्रकोप नियन्त्रणमा ल्याउँदै छन् । तर, हाम्रो जस्तो विकासोन्मुख मुलुकमा नसर्ने रोग महामारीको रूपमा फैलिइरहेको छ । हामी प्रतिस्पर्धी समयमा काम नगरी हुँदैन भन्दै दगुरिरहेका छौं । तर अलिकति पनि स्वास्थ्यलाई ख्याल गर्न सकेका छैनौं । हामी आफैंको कमजोरीको कारणले नसर्ने रोगले ग्रसित बनाएको हो ।

यी समग्र कारणले गर्दा हिजोका दिनमा भन्दा नसर्ने रोग बढ्दो छ । यदि राज्यले खाद्य सुरक्षा, वायु प्रदूषण घटाउन पहल नगर्ने हो भने अबको दुई दशकपछि भयावह नै अवस्था आउँछ । यो कुरा व्यक्तिले मात्रै चाहेर हुँदैन, राज्य संयन्त्र बलियो भएर लाग्नुपर्ने देखिन्छ ।

राज्यले तरकारीमा विषादी हाल्दा स्वास्थ्यलाई हानिकारक बनाएर नहाल्न भन्न सक्नुपर्‍यो । तीन दशक अगाडिसम्म गाउँघरका मानिस खेतीपातीमै व्यस्त हुन्थे । बजारको खानेकुरा खाने चलन थिएन । गाउँघरमै उत्पादन गरेको खानेकुरा विषादी रहित नै हुन्थ्यो । पहिला हामी मकै, गहुँ, रोटी जस्ता खानेकुरा खाने गथ्र्यौं । तर, अहिलेका बालबालिकाले जंकफुड (चाउचाउ, बिस्कुट, कुरकुरे) खाने गर्छन् । अहिलेको आहारविहार नै गलत भएपछि नसर्ने रोग त बढ्ने नै भयो । अन्य कुराको भागदौडमा लागिरहँदा व्यक्तिगत स्वास्थ्यलाई हेर्न छाडियो । आफ्नो स्वास्थ्य ख्याल गर्ने कुरा कलिलै उमेरदेखि नै भनेर सचेत गराउनुपर्छ ।

यी केही व्यक्तिगत पक्ष छन् । तर व्यक्तिले भन्दा धेरै काम राज्यले गर्नुपर्नेछ । राज्यले खानेकुराको गुणस्तर कायम गर्नुपर्‍यो । उदाहरणकै लागि, बजारमा राखिएको समोसा व्यापारीले ताजै भन्छन् । हामीले त्यही समसा खान्छौं । बिहानदेखि एउटै तेलमा अन्य खानेकुरा पनि पकाएको हुन्छ । त्यो कुरा हामीलाई थाहा हुँदैन । जुन लेबलसम्म त्यो तेललाई प्रयोग गर्नुपर्छ, त्यसपछि प्रयोग गर्न हुँदैन भन्ने कुरा राज्यले नियम बनाउने र अनुगमन गर्नुपर्छ ।

स्वास्थ्य नीतिमा भएका कुरा कार्यान्वयन गर्दा नसर्ने रोग रोकथाम गर्न सकिन्छ । तर यतातर्फ सरकारको ध्यानै जान सकेको छैन । यसो हेर्दा दक्षिणएशियाको देशमध्ये नेपाल नीति, ऐन, निर्देशिकामा पहिलो नम्बरमा छ । तर कार्यान्वयनको पक्ष हेर्दा सबैभन्दा फितलो अवस्थामा छ ।

खानेकुरा लगायत सबै वस्तुको अनुगमन गर्ने काम राज्यको हो । वायु प्रदूषण घटाउन २० वर्ष अगाडिका सवारी साधन काठमाडौं उपत्यका बाहिर लैजाने कुरा भएको थियो । तर त्यो कार्यान्वयन भएन । नसर्ने रोगको भारलाई घटाउन राज्यले विभिन्न राम्रा नीति ल्याएको छ । तर त्यसलाई लागू गर्न सकेको छैन ।

ट्रकले धुवाँको मुस्लो फालिरहेको हुन्छ । तर यस्ता कुराको चेकजाँच हुँदैन । राज्यले पैसा लिएर छोडिदिएको हुन्छ । यसले गर्दा व्यक्तिगत हिसाबमा हेर्दा आम जनतालाई प्रभाव पार्ने कुरा हामीले ख्याल गरिरहेका छैनौं । यसको दूरगामी प्रभाव बारेमा राज्य बढी जिम्मेवार हुनुपर्छ । राज्यले नियम बनाएपछि जनतालाई मान्न कर लाग्छ नि ! राज्यले संरचनागत रूपमा ध्यान नदिंदा नसर्ने रोगको अवस्था भयावह नै हुन्छ । जतिबेला राज्यले अर्बौं रुपैयाँ खर्च गर्दा पनि यो न्यूनीकरण गर्न गाह्रो पर्छ ।

त्यसकारण अब राज्यले नसर्ने रोगको उपचारमा भन्दा पनि रोकथाममै जोड दिनुपर्छ । नसर्ने रोगको स्क्रिनिङ गर्ने, नागरिकलाई जनचेतना तथा रोकथाम गर्ने विषयमा जोड दिनुपर्छ । तर, रोगको स्क्रिनिङ गर्ने काम अहिलेसम्म हुनसकेको छैन ।

स्वास्थ्य मन्त्रालयमा रहेको नेतृत्व तह कसरी चर्चित हुन सकिन्छ वा धेरैले ताली कसरी बजाउँछन् भन्नेतिर गएका छन् । स–साना मसिनो गरी गर्ने काममा जाँदै गएका छैनौं । जस्तो कि सरकारी जग्गालाई मिलाएर शारीरिक व्यायाम गर्ने ठाउँ बनाउँदा त्यसको दूरगामी सकारात्मक प्रभाव पर्छ ।

तर राज्यलाई त्यहाँ १५ बेडको अस्पताल नै बनाउनुपर्ने भन्ने भयो । फलानोको पालोमा यहाँ अस्पताल बनेको हो, यसलाई भोट दिनुपर्छ भन्ने बनाउने मानसिकता बन्यो । सरकारी जसरी दीर्घकालीन सोचका कारण काम गर्नुपथ्र्यो, त्यो भएको छैन ।

हामीले राष्ट्रिय स्वास्थ्य नीतिमा धेरै कुरा लेखेका छौं । हाम्रा संविधान, ऐन पनि राम्रा छन् । तर समस्या कार्यान्वयन पक्ष कमजोर छ । स्वास्थ्य नीतिमा भएका कुरा कार्यान्वयन गर्दा नसर्ने रोग रोकथाम गर्न सकिन्छ । तर यतातर्फ सरकारको ध्यानै जान सकेको छैन । यसो हेर्दा दक्षिणएशियाको देशमध्ये नेपाल नीति, ऐन, निर्देशिकामा पहिलो नम्बरमा छ । तर कार्यान्वयनको पक्ष हेर्दा सबैभन्दा फितलो अवस्थामा छ ।

(पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सा समाजशास्त्री प्रा.डा. सुवेदीसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित ।)





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *