मन्त्रिपरिषद्ले स्वास्थ्य बीमा बोर्डको भुक्तानी मूल्यांकनमा देखिएको जनशक्ति अभाव समाधान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव स्वीकृत गरेको छ।
यो निर्णयसँगै बोर्ड र विभिन्न अस्पतालहरूमा एक हजार अस्थायी जनशक्ति थपिने भएका छन्। गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डका लागि ४०२ जनशक्तिको अस्थायी दरबन्दी स्वीकृत गरेको हो।
जसमा अधिकृत स्तरका ५६ र सहायक स्तर तथा श्रेणीविहीन ३४६ जना छन्। बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले थप जनशक्तिले चालु आर्थिक वर्षभित्र बाँकी दाबी मूल्यांकन सम्पन्न गर्ने लक्ष्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। हाल जनशक्ति अभावका कारण गत साउनसम्मको दाबी मात्र मूल्यांकन भएको छ।
यस्तै, मन्त्रिपरिषद्को निर्णयअनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा १२९, गेटा अस्पताल धनगढीमा १४१ र डडेलधुरा अस्पतालमा ३१३ अस्थायी जनशक्तिको दरबन्दी स्वीकृत भएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यो निर्णयले अस्पतालहरूको सेवा सञ्चालनमा सहजता ल्याउने र संगठन तथा व्यवस्थापन संरचना पूरा नहुँदासम्म बोर्ड र अस्पतालहरूमा सुधार हुने बताए।
प्रकाशित: २० वैशाख २०८२ १७:५२ शनिबार