मुख्य पर्यटकीय क्षेत्र लेकसाइडका अधिकांश होटल आन्तरिक र बाह्य पर्यटकले भरिभराउ छन्। कतिपय चल्तीका होटलमा त बेलैमा बुकिङ नगरे कोठा पाउन पनि मुस्किल छ। त्यस्तै अवस्था पोखरा आसपासका क्षेत्रका होटलमा पनि रहेको त्यहाँका व्यावसायीले बताएका छन्। पदमार्ग क्षेत्र पनि अहिले पाहुनाले भरिभराउ भएको त्यहाँका व्यावसायीले बताएका छन्।
विदेशी पर्यटकका लागि यो बेला मुख्य सिजन मानिन्छ। मार्चदेखि सुरु हुने पर्यटकीय सिजनमा कारण यो बेला पर्यटन क्षेत्रमा चहलपहल बढाएको छ। विदेशी पर्यटकका लागि मुख्य सिजन चलिरहँदा आन्तरिक पाहुना पनि थपिएका छन्। त्यसले गर्दा अहिले सबैतिरका पर्यटकीय गन्तव्यमा चहलपहल बढेको व्यावसायीको भनाई छ। पोखरा आसपासका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक र बाह्य पर्यटक पर्याप्त रहेको त्यहाँका व्यवासायीले बताएका छन्। सहरदेखि हिमाली क्षेत्रका पदमार्गमा समेत पर्याप्त पाहुना पुगेका छन्।
‘योबेला विदेशी पर्यटक भित्रिने सिजन पनि हो। त्यसबाहेक आन्तरिक पाहुनाले गर्दा पनि चलहपहल बढेको छ। विद्यालयमा बिदा परेको र नेपाली नयाँवर्षको छेको पारेर घुम्न निस्कँदा यो बेला पर्यटकीय गन्तव्य भरिभराउ भएका छन,’ लेकसाइडस्थित होटल एशियाका संचालक धर्मराज पन्थी भन्छन, ‘हुन त यो भीडभाड अस्थायी हो। पछिल्ला दुइदिन अधिकांश होटल भरिभराउ भएका थिए। अबको केहीदिनमै यो भीड कम हुन्छ। तर, सीमित समयको भीडभाडले पनि पर्यटन क्षेत्रमा चहलपहल बढाएको हो।’
उनका अनुसार अघिल्ला वर्षसम्म नेपाली नयाँवर्षमा पोखरामा घुम्न आउने आन्तरिक पाहुनाको भीड अहिलेजस्तो हुँदैनथ्यो। अंग्रेजी नयाँवर्षमा भने पर्याप्त आन्तरिक पाहुना पोखरा आउँदा यहाँ निकै नै भीड हुने गरेको छ। तर, यो पटक नेपाली नयाँवर्षमा पनि पोखरामा भीडभाड निकै नै बढेको उनले बताए। ‘राजमार्गको पहुँचमा केही सहज भएकोले पनि होला, यो पटक नेपाली नयाँवर्षमा पनि ठूलो संख्यामा आन्तरिक पाहुना पोखरा भित्रिए। त्यसले पनि चहलपहल बढाएको हो,’ पन्थीले भने, ‘सुस्ताएको पर्यटन क्षेत्र यतिबेला जागेको छ।’
होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि यो बेला पोखरामा आन्तरिक र बाह्य पर्यटकले गर्दा भीड बढेको बताउँछन्। लामो समय सुस्ताएको पर्यटन क्षेत्रमा यतिबेला चमक छाएको उनले बताए। व्यावसायीले अपेक्षा गरे भन्दा बढी पाहुना पोखरा भित्रिएको उनले बताए।
‘हामीले अपेक्षा गरेभन्दा बढी पाहुना भित्रिए। यसले व्यावसायीलाई राहत दिएको छ। पर्यटन क्षेत्रमा आशाको दीयो बलेको छ। होटलमा आन्तरिक र बाह्य पर्यटकको आगमनले उत्साही बनाएको छ’ उनले भने, ‘पाहुना आगमन यति धेरै भयो की व्यवस्थापन गर्न पनि हम्मेहम्मे परेको थियो।’ पर्यटन क्षेत्रमा केहीदिन अघिसम्म पनि सुनसान देखिएकोमा यो बेला आन्तरिक पाहुनाले गर्दा पनि पर्यटन क्षेत्रमा चमक छाएको उनले बताए।
‘राजमार्गको यात्रा सहज हुनासाथ आन्तरिक पाहुना पर्याप्त आउँछन्। पोहोरको तुलनामा यो वर्ष राजमार्ग सहज बनेको छ। अब मुग्लिन–काठमाडौं र नारायणगढ–बुटवल सडक सहज हुने हो भने आन्तरिक पाहुनाको आकार अझै बढ्नेछ,’ उनले भने, ‘पोखरा–मुग्लिन खण्ड सहज हुँदा पाहुना आउजाउ बढेको छ।’
उनका अनुसार यो बेला भारतीय पाहुना पनि राम्रै आएका छन। ‘नेपाली नयाँवर्षमा यो पटकको भीडभाड उत्साहजनक थियो। आन्तरिक पाहुनाका कारण पर्यटन क्षेत्रले लाभ लिन सक्यो,’ उनले भने।
पोखरा मात्र नभई पदमार्ग क्षेत्रमा पनि अहिले पाहुना पर्याप्त रहेको त्यहाँका व्यावसायीले बताएका छन्। अन्नपूर्ण आधारशिविर (एबिसी)का पर्यटन व्यावसायी जगनराज गुरुङका अनुसार अहिले त्यहाँ आन्तरिक र बाह्य पर्यटकको भीडभाड रहेको छ। ‘होटलमा बासै नपाउने समस्या त होईन। तर, भीडभाड राम्रै छ। पर्यटकीय सिजन लागेको अनूभुति भएको छ,’ उनले भने, ‘पदयात्राको समय भएकोले विदेशी पाहुनाको आगमन राम्रो छ। त्यसैमाथि स्वदेशी पनि थपिएका छन्। त्यसले पदमार्गलाई चलायमान बनाएको छ।’
माछापुच्छ्रे आधारशिविरका पर्यटन व्यावसायी दिलीप गुरुङ पनि दिनमा करिब ४ सय पाहुना आधारशिविरि उक्लिरहेका छन्। ती मध्ये ४० प्रतिशत आन्तरिक र बाँकी ६० प्रतिशत विदेशी पाहुना छन्। माछापुच्छ्रे आधारशिविर हुँदै पर्यटकहरु अन्नपूर्ण आधारशिविर उक्लिन्छन्। ‘दिनको ४ सयको हाराहारीमा पाहुना आउँदा हामीलाई राम्रो ब्यापार पुगेको छ। होटल खालि रहनुपरेको छैन। हुन त पछिल्लो समय अन्नपूर्ण आधारशिविर क्षेत्रमा बाह्रैमास पाहुना हुन्छन। यो बेला पर्यटकीय सिजन भएकोले पाहुना आउनु स्वभाविक हो,’ उनले भने।
पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने पनि पोखरा क्षेत्रका होटलको अकुपेन्सी करिब ९० प्रतिशतमा उक्लेको बताउँछन्। ‘यो सिजन विदेशी पाहुनाको पनि हो। विदेशी पाहुनाकै भीड लाग्ने बेलामा आन्तरिक पाहुना पनि भित्रिएपछि पर्यटन क्षेत्रको चहलपहल बढ्ने नै भयो। पोखरामा यो बेला पाहुनाको आगमनमा पर्याप्त सुधार देखिएको छ,’उनले भने, ‘पोखराका अधिकांश होटलले यो बेला पाहुना पाए। पोखरा मात्र नभई आसपासका क्षेत्रमा पनि पर्यटकको राम्रै चहलपहल देखिएको छ।’
पछिल्ला वर्ष आन्तरिक पाहुनाका घुमफिर बढिरहँदा बीचमा यात्रामा असहज हुँदा केही सुस्ताएको थियो। तर, अहिले भने पोखरासम्मको आउजाउमा खासै समस्या छैन। बिस्तार भईरहेको पोखरा–मुग्लिन सडकको अधिकांश खण्ड सहज भईसकेकोले पनि आउजाउमा सहजता हुँदा आन्तरिक पाहुनाको चहलपहल बढेको उनले सुनाए। ‘नेपाली नयाँवर्षमा यो पटक पोखराले राम्रो आकारमा आन्तरिक पाहुना स्वागत गर्ने मौका पाएको हो। विद्यालय बिदा हुँदा पनि परिवारैसहित घुम्न निस्कनेको हुल थियो। यो बेला पारिवारिक घुमघाम बढी हुन्छ,’ लामिछानेले भने।
प्रकाशित: १ वैशाख २०८२ १५:०६ सोमबार