asmita bista

मुगलान–मजदूरका लामा हिक्काहरू – Online Khabar


News Summary

Generated by OK AI. Editorially reviewed.

  • उपन्यास ‘कोइलाखाद’ ले मेघालयका मजदूरहरूको दुःख–दर्द र विस्थापनको पीडा देखाएको छ।
  • लेखक श्याम सिंघकले सामाजिक यथार्थ र पर्यावरणीय चेतना व्यक्त गरेका छन्।
  • उपन्यासले जीवनको संघर्ष, प्रेम, र प्राकृतिक संरक्षणको सन्देश प्रवाह गर्दछ।

‘कोइलाखाद’ गइरहेका, ‘कोइलाखाद’ बाट आइरहेका मान्छेको लस्कर उस्तै छ यहाँ । हजारौं सपना सुदूर गाउँमै छाडेर ती गइरहेकै छन्-कोइलाखादतिर । शोकमग्न ती जनहरूको जीवन–गाथा भन्छ, उपन्यासकार श्याम सिंघकको उपन्यास ‘कोइलाखाद’ ले । मेघालयका मजदूरको दुःख–दर्पण जस्ताको तस्तै देखाएको छ किताबले । एकै लाइनमा भन्ने हो भने ‘कोइलाखाद’ मुगलानका मजदूरका लामा हिक्काहरूको दुःख–बयान हो ।

त्यसो त नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा देश छाड्नेको भीड छ । त्यो भीड बनिरहन्छ, समाचारको हेडलाइन । त्यसले खिचिरहन्छ, मानिसलाई । देश छाड्ने त्यो भीडसँग कम्तीमा हवाई टिकट किन्ने र समाचारको हेडलाइन बन्ने हैसियत छ । तर, नेपाली समाजमा त्यस्तो पनि एउटा वर्ग छ, जसको राजधानीसम्म पुग्ने हैसियत पनि छैन । तर तीप्रति कोही जिम्मेवार छैन, न कसैले चासो नै राख्छ । ती भुईंमान्छे सधैं ‘भुईंमान्छे’ नै रहिरहन अभिशप्त छन् । संवेदना–शून्य समाज ती ‘भुईंमान्छे’ तिर एक नजर पनि दिंदैन । समाज-सोपानको पिंधमा रहेका अनि अभाव र गरिबीबाट सधैं लखेटिएर भाग्दै–भाग्दै भारतको मेघालय पुगेका र त्यतै जिन्दगी–घिसारिरहेका (वा मेघालयमै हराएका) मान्छेहरूको दुःखको वर्णमाला पढ्ने फुर्सद कसलाई यहाँ ?

युगले खोकिलामा लुकाएर राखिछाडेको कमलो हृदय रहेछ लेखक श्याम सिंघकसँग । त्यसैले त उनी शहरका कस्मेटिक कथाको खोजीमा सामेल छैनन् । यी लेखक सुनाउँछन्– युगले बिर्सेको, दुनियाँले नदेखेको (वा देखेरै पनि आँखा चिम्लिदिएको) दुःखी–जीवन बाँचिरहेका मान्छेहरूको पसिना र सुस्केराको युगौं लामो आख्यान । र, उज्यालोको खोजीमा नीरव अन्धकारमा विलीन भएका, समाजको पिंधमै छाडिएका भुईंमान्छेका जीवन र गाथा । किताबले सुनाउँछ– मेघालयको कोइला मजदूरले भोगेको चरम पीडा, अभाव र असुरक्षाको फेहरिस्त ।

‘कोइलाखाद’ मा लेखिएको कथा–संसार कुनै लोककथामा चित्रित वैभवशाली राजकुमारको जस्तो छँदै छैन । यो आख्यान कुनै कल्पना–संसार वा स्वैरकल्पना होइन । यो किताब त नेपाली समाजको यथार्थ–वृत्तान्त हो, जसलाई आख्यानमा जीवन्त शब्दमा सर्लक्कै उतारेका छन्– कुनै खप्पिस चित्रकारले झैं लेखक सिंघकले । यो आख्यानमा छ– पूर्वाेत्तर भारतको मेघालयमा आर्थिक समृद्धिको सपना बोकेर पुगेको लामो मानव लस्कर । त्यही लस्करमा मिसिएको छ– २० वर्षे किशोर लोचनबहादुर लिम्बू ।

उपन्यासमा व्याप्त छ चरम निराशाको टोन । उपन्यासको पहिलो अध्यायमै बथानबाट छुट्टिएको भाले मयूरले घना जङ्गलतिर हेर्दै कराएको चीत्कारमा प्रतिबिम्बित भएको छ, आफ्नो थातथलो र परिवारबाट विछोडिएका पात्रहरूको पीडा । बाटोमाथिको एक्लो झुपडीबाट निस्किरहने दुई ताराको विरक्तलाग्दो धुनको वर्णनले पनि पात्रहरूको जीवनको निराश संवेदनालाई उपन्यासको पानाभरि पोतेको आभास दिएको छ ।

लेखक स्वयम्ले त्यस भूमिमा रहेका मानिसलाई नजिकबाट नियालेर, तिनको पीडालाई तिनले साँचेको अलिकति खुशीलाई हृदयमा उतारेर लेखेको यो पुस्तक, पाठकको मनमा छपक्क बस्ने दुःखी लोकको वर्णन हो

जीवनमा उज्यालो खोज्दै यस परदेशी भूमिमा आइपुगेका नेपालीहरू झन् झन् अँध्यारोमा धकेलिएका छन् । तिनको जीवन पनि ती बसाइँ सरी आइपुगेको परिवेशकै अंश जस्तो अस्तव्यस्त र अनिश्चित छ । अँध्यारो घना जंगल, हरबखत कालो बादलले ढाकेको आकाश, दिक्क लाग्दो अनवरत झरी, जताततै खाल्डो पारिएका जमिन, कोपरिएर कुरुप पारिएका पहाडका भित्ता, छरिएका ढुंगा अनि जथाभावी थुपरिएका कोइलाको थुप्रोको सेरोफेरो घुमिरहन्छ तिनको जीवन । जीवन जिउनु युद्ध लड्नु जत्तिकै छ तिनको लागि । “कुनबेला मरिने हो, तालले किचिएर मरिने हो कि, भर्‍याङबाट लडेर, फल्लर भएर या अक्सिजन थुनिएर टुङ्गो छैन । जंगलको बास छ । न कुनै कानून, न कुनै अधिकार ।”

जीवनमा कहिल्यै नसकिने दुःखको शृंखला देखेर सोचिबस्छ लोचन– जीवन पनि एउटा झुल हो । आफ्नै विगत र भविष्यका कालखण्डहरू पनि यस्तै पत्रैपत्र हुन् । जिन्दगीका पत्रैपत्र खन्दैखन्दै कति गहिराइमा पुगेर जीवनको सार प्राप्त हुने हो ? यस्तो धराप झुलबाट ओर्लेर जीवन खोज्नु छ । कति भर्‍याङ ओर्लेर जीवनको कोइला भेटिएला ? एक दिन सबै कोइला निकालेपछि हाम्रो जीवन पनि यही छाडिएको झुल जस्तै हुनेछ ।

यी पंक्तिमै लेखकले प्रस्तुत गर्न खोजेको जीवन दर्शनको गहिराइ स्पष्टिन्छ । कोइलाखाद केवल एक मजदूरको कथा मात्र होइन, श्रमको मूल्य, विस्थापनको पीडा र जीवनका कठोर यथार्थहरूलाई आत्मीय ढंगले उजागर गरिएको सशक्त कृति हो । लेखकले कोइलाखादमा काम गर्न गएका मजदूरहरूको मनोविज्ञानलाई सूक्ष्म र सहानुभूतिपूर्ण दृष्टिकोणबाट चित्रण गरेका छन्, जसले उपन्यासलाई सामाजिक यथार्थवादको बलियो उदाहरण बनाएको छ । टेरि इगल्टन भन्छन्–“सामाजिक यथार्थवादी उपन्यासले समाजको यथार्थ अवस्थालाई देखाउँछ, श्रमिक वर्गको संरचनालाई उजागर गर्छ । यस्तो साहित्यले सामाजिक परिवर्तनको चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्दछ ।” लाग्छ, सिंघक उद्यत छन्, उपन्यास मार्फत समाजमा यी सीमान्तकृत वर्गमा आफ्नो अधिकार र न्यायपूर्ण जीवनप्रति सचेतना फैलाउन ।

कोइलाको उत्खननपछि सुनसान बनेका क्वाटरहरू, शून्यताले भरिएको परिवेशको वर्णनले पाठकको हृदय विचलित हुन्छ । काम सकिएपछि कोइला झैं जीवन पनि क्रमशः खत्तम हुँदै जान्छ, अनि बाँकी रहन्छ– त्यही छाडिएको झुल र कोइलाखाद— जहाँ दुःख, श्रम, परित्याग र मौनताबीच मान्छेहरूले जीवनको अर्थ खोजिरहेका हुन्छन् ।

तिनको जीवनबाट संगीत खोसिएको छ र, मृत्युबाट पहिचान । तिनले न आफ्नो धर्म–संस्कृति अनुसारको दाहसंस्कार पाउँछन् न त मृत्युमा रुने आफन्तका स्नेहयुक्त आँखा । तिनले कहिल्यै सुन्न पाउँदैनन् दशैंको मालश्री धुन, साकेलामा बज्ने ढोल । न त फुकिन्छ तिनको मृत्युमा कुनै शंख । तिनको कानमा हरबखत एउटै मात्र आवाज गुञ्जिरहन्छ– कोइला खन्दा गैंतीको प्रहारबाट एकनाशले आइरहने आवाज भुङ भुङ भुङ भुङ । त्यो भुङभुङ आवाजमा प्रतिध्वनित विरक्ति र दुःख बुझ्न, सुन्न र महसुस गर्न सक्षम देखिएका छन् लेखक सिंघक । उनले बुझेका छन्– त्यो केवल गैंतीको आवाज होइन, त्यो नेपाली मजदूरले विदेशी भूमिमा भोगेको दुःखको चीत्कार हो ।

१४ वर्षको कलिलो उमेरमा बुबाले पल्टनबाट ल्याइदिएको हाते घडीबाट निस्किएको बोझिल आवाज धान्न नसकेर यो भुङभुङ आवाजसम्म आइपुगेको छ– बीस वर्षको लक्का जवान लोचनबहादुर । उसैको जीवनलाई केन्द्रमा राखेर कथानक अघि बढेको छ । ऊ वेगले पछ्याउँछ– बुबाले उसको लागि देखेका सपना, फुल्न दिंदैन आफ्नो आँखामा सपनाको फूल । तर बुबाले देखेको सपना पूरा हुने सम्भावना नदेखेपछि, भाखा नाघेको ऋणी साहुबाट भागे जसरी भागेर, आफ्नो श्रीमती र दुई बच्चा छोडेर, पितापुर्खाले कहिल्यै नटेकेको भूमिमा आइपुग्छ । यही शरणागत भएको ठाउँमा उसको जीवन क्यामोफ्ल्याज हुन्छ– जब उसको भेट रुथसँग हुन्छ ।

लोचन र रुथको भेट दुई व्यक्तिबीचको भेट मात्र होइन । दुई अलग संस्कृति बीचको अन्तरघुलन पनि हो । यी दुईको सम्बन्धले मजबुत इमारत बन्नको निम्ति थुप्रै रसायनिक प्रक्रियाबाट गुज्रिनु परेको छ । दुई अलग नेपाली र खासी जातिको संस्कृतिका मानिसबीच प्रेम अंकुराउन जति सहज छ त्यसले सम्बन्धको वृक्ष खडा गर्न त्यति नै कठिन छ भन्ने कथाले देखाएको छ । मेघालयमा गएर बसोबास शुरू गरेका नेपाली कोइला उत्खनन गर्ने क्षेत्रको सेरोफेरोमा कोइलाखादको मजदूरको संस्कृति र जीवनशैली निर्माण हुन गएको छ । अभावको अन्धकार खाल्डोमा फसेको जीवनबाट आत्तिएको यो समुदायले ‘कमाउ र मोज गर’ भन्ने जीवन दर्शनलाई आत्मसात् गरेको छ । तिनलाई लाग्छ– जंगल र बादल लागिरहने ठाउँमा मान्छेलाई छिट्टै उदासीले समात्छ । त्यसैले उदासीबाट उम्किन चाहन्छन् ती । मानिसको जीवनको क्षणभंगुरताको प्रत्यक्ष साक्षी भएका छन् यी । त्यसैले यिनका लागि रक्सी र जुवातास, उद्देश्यहीन लागेको आफ्नो जीवनमा केही उद्देश्य थप्ने माध्यम बनेको छ ।

पर्यावरणवादी वन्दना शिवाले भनेकी छिन् कि आदिवासीहरूले प्रकृतिलाई केवल स्रोतको रूपमा होइन, जीवनको अभिन्न अङ्गको रूपमा हेरेर यसको संरक्षण गर्छन् । उनीहरूको जीवनशैली नै प्रकृतिसँग सहअस्तित्वमा आधारित हुन्छ । जङ्गली खानेकुरा सङ्कलन गर्ने खासी जातिको जीवनशैलीले शिवाको दाबीलाई पुष्टि गरेको छ । प्रकृति र मानवको अन्योन्याश्रित सम्बन्धलाई कायम राखिरहनु तिनको जीवन दर्शन हो । जीवनलाई धान्न चाहिने खाद्यान्नदेखि जीवन बचाउने औषधि समेतको स्रोत प्रकृति नै हो तिनको निम्ति । त्यसैले उनीहरूको दैनिकी जङ्गलमै बित्छ । रुथ भन्छे “हामी खसियाहरूले त जङ्गललाई हरेक कुराको भण्डार मान्छौं । यहींबाट खानेकुरा, दाउरा, अरू सामान पाउँछौं । अझ खेती पनि जङ्गलमै गर्छाैं र चौपायाहरू पनि हुर्काउँछौं । यही जङ्गलमा निर्भर भएरै हाम्रा पुस्तौं पुस्ता बितिरहेका छन् ।”

तर गाउँमा विकास पसेसँगै बदलिन्छ प्राकृतिक छटा अनि जीवनशैली र जीवनदर्शन । सजीव चित्रण गरेका छन् सिंघकले विकासले विरुप हुँदै गएको छेरुपी र वरपरका स्थानको– “हरदम धुवाँ उडाउँदै गरेका सिमेन्ट फ्याक्ट्रीका चिम्नीले चारैतिरबाट मानव बस्तीलाई पहरा दिएझैं लाग्थ्यो, मानौं त्यहाँका सबै बासिन्दा कैदी हुन् । त्यहाँ बग्ने नदीको रंग पनि नीलोबाट पहेंलो भएको छ । स्वच्छताबाट रुग्णतातर्फ धकेलिरहेको नदीनाला, धूलो उडाउँदै गुडिरहेका ठूला–ठूला डम्पर, बढ्दै गएको लामखुट्टे र सर्पको बिगबिगी आधुनिकताको नाममा त्यस ठाउँमा भित्रिएका अभिशापको रूपमा वर्णन छ उपन्यासमा । लेखक पर्यावरणीय चेतले ओतप्रोत देखिन्छन् ।

लेखक स्वयम्ले त्यस भूमिमा रहेका मानिसलाई नजिकबाट नियालेर, तिनको पीडालाई तिनले साँचेको अलिकति खुशीलाई हृदयमा उतारेर लेखेको यो पुस्तक, पाठकको मनमा छपक्क बस्ने दुःखी लोकको वर्णन हो । त्यसैले यसमा मखमली महक छैन । बरु खस्रो संघर्ष छ ।

यसको बाबजुद सम्बन्धको न्यानोपन अवश्य छ । विमुग्धकारी समर्पण छ जीवनप्रति, प्रेमप्रति । ठाउँठाउँमा जोडिएका मिथक र उपकथाले उपन्यासलाई विशिष्ट बनाएको छ । उपन्यासमा करिब २६ वर्षको समयावधिमा घटित घटनाहरू प्रस्तुत गरिएको छ । विभिन्न स्रोत, समाचार, इतिहास, कोर्सबुक, सूक्तिहरूको प्रयोग गरेर मेघालय राज्यको इतिहास र संस्कृति समेटिएको छ । सोही इतिहासका सशक्त पात्र हुन् नेपालबाट सपनाको खोजीमा निस्किएका युवाहरू । जो कृषि र पशुपालनको व्यवसाय गर्दै कोइलाखादको सरदार समेत भएका छन् । तर अधिकांश चाहिं मजदुर नै छन् । ती शोषणको माखेसाङ्लोमा जेलिएका छन् । तिनलाई त्यस बन्धनबाट मुक्ति मिल्ने सम्भावनाको कतै संकेतसम्म छैन । परदेशमा मालिकबाट र स्थानीय खासी जाति समेतको दमनबाट उम्किने कुनै आधार छैन तिनको ।

लाग्छ- लेखकभित्र कथाका चाङ छन् । ती सयौं कथाबाट केही कथाहरू पटकथा बनाएर उपन्यासमा प्रस्तुत गर्नु साँच्चिकै चुनौतीपूर्ण छ । सयौंको संख्यामा रहेका पात्र र ठाउँको वर्णनले पाठकलाई रनभुल्ल पार्न सक्छ । ‘कोइलाखाद’ मजदूरको कथा, आम मानिसको कथा हो । तर कथाको लय चाहिं केवल खास (बौद्धिक) जमातले मात्र बुझ्न सकिने गरी जटिल भएको महसुस गर्न सक्ने छन् पाठकहरूले । विशेषतः यसमा प्रयोग गरिएको ऐतिहासिक र वैज्ञानिक तथ्यहरूले उपन्यास पठनलाई केही जटिल बनाएको छ । यो उपन्यास प्लट केन्द्रित भन्दा पनि पात्र केन्द्रित भएकोले सनसनीपूर्ण छैन । बरु कोइलाखानीमा बितेका मजदूरहरूको एकै प्रकारको दैनिकीको वर्णनले कतिपय ठाउँमा कुनै मजदूरको डायरी पढेको भान हुन्छ न कि साहित्य ।

साधारण मानिसको कथालाई टिपेर आफ्नो लेखकीय कौशलताको क्यानभासमा सजाएको एक अनुपम कृति हो ‘कोइलाखाद’ । कोइलाखाद उपन्यास पढ्दै गर्दा नेपाली साहित्य पनि नाम चलेका विदेशी लेखकको हाराहारीमा पुगेको आभास र गर्वानुभूति हुन्छ ।





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *