उत्कृष्ट प्रदर्शन गर्दै पूरा समय खेले पनि नेपालकी देवकीमाया श्रेष्ठ थाइल्याण्डमा भएको एसियाली जुडो च्याम्पियनसिपमा पराजित भएकी छन्। थाइल्याण्डको बैंककमा सम्पन्न च्याम्पियनसिपमा महिला ५२ केजीमुनि देवकी बलियो प्रतिद्वन्द्वी मंगोलियाकी नान्दिन इर्दिने म्यागमारसुरेनसँग पराजित भएकी हुन्।
उत्कृष्ट प्रदर्शन गरे पनि देवकी गोल्डेन स्कोरमा पराजित भएको प्रशिक्षक मोहन सुनुवारले जानकारी दिए। नान्दिन विश्व च्याम्पियनसिपकी कांस्य विजेतासमेत हुन्। बन्दी सहायता नियोग (पाम) की उत्पादन देवकी विश्व वरीयतामा ३०४औं तथा नान्दिन ७५औं स्थानमा छन्। बैंककमा भएको च्याम्पियनसिपमा देवकीसहित नेपालबाट ६ खेलाडीले चुनौती दिएका थिए। महिला ५७ केजीमुनि ओलम्पियन मनीता श्रेष्ठ प्रधानको यात्रा पनि दोस्रो चरणमा नै समाप्त भयो।
उनी दोस्रो चरणमा काजाकिस्तानकी खेलाडीसँग पराजित भइन्। त्यसअघि पहिलो चरणमा भने मनिताले फिलिपिन्सकी खेलाडीलाई हराएकी थिइन्। महिला ७० केजीमुनि पनि रञ्जना खड्का भारतीय खेलाडीसँग पराजित भइन्।
पुरुष ६० केजीमुनि विकास विक दोस्रो चरणबाट माथि उठ्न सकेनन्। उनी दोस्रो चरणमा बहराइनका खेलाडीसँग पछि परे। त्यसअघि उनले तुर्कमिनिस्तानका खेलाडीलाई हराएका थिए। पुरुष ६६ केजीमुनि विशेष विक तुर्कमिनिस्तान र ९० केजीमुनि विपिन तामाङ भियतनामका खेलाडीसँग पराजित भए।
प्रकाशित: १६ वैशाख २०८२ ०८:०६ मंगलबार