1739250415 USA20Ban

टिकटकपछि डिपसिकलाई रोक्ने प्रयास | Nagarik News


अमेरिकामा टिकटकपछि डिपसिकलाई रोक्ने प्रयास भइरहेको छ। अमेरिकी सांसदहरूले डिपसिकलाई कुनै पनि सांसद र अमेरिकी कर्मचारीले चलाउन नपाउने गरी कानुन बनाउनुपर्ने आवाज उठाइरहेका छन्। खासगरी सरकारले लगानी गरेका वा सरकारी कम्प्युटरहरूमा उक्त एप प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कानुन बनाउन उनीहरूले आग्रह गरेका हुन्।

चिनियाँ कम्पनी डिपसिकले अमेरिकी सरकारी कर्मचारी र त्यसमा राखिने सबै सूचना चिनियाँ सरकारलाई बुझाउने भएकाले उक्त एपलाई सरकारी कम्प्युटरमा प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको हो। कानुन बनाउन आवाज उठाउनेहरू रिपब्लिकन र डेमोक्रेट दुवै पार्टीका सांसदहरू छन्। न्युजर्सीबाट निर्वाचित डेमोक्रेट सांसद जोस गोथेमरले इलिनोइसबाट निर्वाचित रिपब्लिकन सांसद डारिन लाहुडसँग मिली यसबारे विस्तृत जानकारीयुक्त निवेदन तयार पारेका छन्। गोथेमरले द वाल स्ट्रिट जर्नलसँग भनेका छन्, ‘हाम्रा सूचना चोरी हुनुअघि नै हामीले कानुन बनाएर ती सूचना चिनियाँ सरकारको हात पर्नबाट रोक्नुपर्छ।’

डिपसिकको खुला मोडलका कारण यो व्यापार, ग्राहक तथा प्राविधिकहरूमाझ निकै लोकप्रिय भएको छ। यो अमेरिकामा सबैभन्दा बढी डाउनलोड हुने एपमध्ये एक बन्न पुगेको छ। डिपसिकमा साइन इन गर्नेबित्तिकै चाइना मोबाइलको सर्भरमा सारा सूचनाहरू पुग्ने गर्छ। चाइना मोबाइललाई अमेरिकाले धेरै अघिदेखि अमेरिकामा प्रतिबन्ध लगाइएको छ। डिपसिक टुलमा एक पटक जोडिइसकेपछि उसले अमेरिकी प्रयोगकर्ताका सारा सूचनाहरू एकै झमटमा संकलन गरिसक्ने हुनाले यो खतरनाक हुने साइबर सेक्युरिटी र तथ्यांक सुरक्षामा काम गरिरहेकाहरूले बताइरहेका छन्। सोको जानकारी हालै एसोसिएटेड प्रेसले खुलासा गरेको थियो। त्यसलाई तल्लो संसद् (हाउस अफ रिप्रेजेन्टेटिभ) का दुई सांसदले विस्तारपूर्वक प्रतिवेदन लेखी हाउस सेलेक्ट कमिटी अन इन्टेलिजेन्समा बुझाएका छन्। काम सजिलो बनाउने निहुँमा सारा सरकारी सूचना चीनको जिम्मा लगाउनु घातक हुने सांसदहरूको दाबी छ।

अस्ट्रेलियाले सुरुमै डिपसिकलाई सरकारी कम्प्युटरमा प्रयोग गर्न नपाइने नियम बनाइसकेको छ। यस्तै दक्षिण कोरियाले यसै साता सरकारी कम्प्युटर प्रयोगमा बन्द गरिसकेको छ भने इटालीले जनवरीमा नै यो नियम कार्यान्वयन गरिसकेको छ। डिपसिकले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन। अमेरिकाको नेभी र नेनसल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसनले सो एपलाई सुरक्षा र निजत्वको श्रेणीमा राख्दै प्रतिबन्ध लगाइसकेको छ।

यस्तै अमेरिकाको टेक्सस राज्यले सुरुमै राज्यस्तरका सरकारी कम्प्युटर तथा मोबाइल, ट्याब्लेटहरूमा प्रयोगमा प्रतिबन्ध लगाएको छ। त्यसको कारणमा राष्ट्रिय सुरक्षा भनी खुलाइएको छ। सन् २०२२ देखि अमेरिकी संसद्ले टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको थियो। टिकटकले अमेरिकी सूचना चिनियाँ सरकारलाई बुझाउने डरका कारण पहिलो पटक प्रतिबन्ध लगाएको थियो र पछि अदालतले देशभरि नै यसलाई प्रयोगमा रोक लगाएको थियो।

प्रकाशित: २९ माघ २०८१ १०:५२ मंगलबार





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *