1740800893 Lu20fast

गुन्द्रुक: नेपालको रैथाने गुणकारी परिकार


गुन्द्रुक रायो, तोरी, मुला आदिको सागबाट बनाइने परम्परागत तरकारी हो। यसलाई नेपालीको विशेष खानाका रूपमा विदेशीले समेत चिनेका छन्। यो विशेषगरी जाडो याममा खाने गरिन्छ। झुपडीदेखि महलसम्मको भान्सामा अटाउने गुन्द्रुक नचाख्ने नेपाली बिरलै होलान्। नेपाली जहाँ पुगेका छन्, त्यहाँ गुन्द्रुक पुगेको छ।

ढिँडो र गुन्द्रुकलाई हामी रैथानी परिकार पनि भन्छौं। ढिँडो र गुन्द्रुक एकअर्काका परिपूरक हुन्। कुनै बेला यो दुःखको छाक टार्ने मेलो थियो। उहिले ढिँडो र गुन्द्रुक भन्नासाथ अभावका बेला भोको पेट भर्ने खान्की मानिन्थ्यो।

अहिलेको अवस्था फरक छ। ढिँडो–गुन्द्रुक अहिले सहरिया पुस्तामा प्रवेश गरेको छ। अहिले ढिँडो–गुन्द्रुक खोजी खोजी खाइन्छ। अहिलेको पुस्ता गुन्द्रुक भनेपछि हुरुक्कै हुन्छ। ढिँडो र गुन्द्रुक चाख्न अब गाउँ होइन, सहरका तारे होटल अनि रेस्टुरेन्टमा खोज्नुपर्छ। विदेशी पर्यटकले पनि नयाँ स्वादको खोजी गर्दै गर्दा गुन्द्रुक लोकप्रिय बन्दैछ। अर्थात् ढिँडो र गुन्द्रुक फरक परिकारका रूपमा ब्रान्डिङ भएका छन्।

गुन्द्रुकसँग सम्बन्धित एउटा पुरानो उखान ‘गुन्द्रुकलाई पकाउनुपर्दैन, सालीलाई फकाउनुपर्दैन’ हामीबिच लोकप्रिय पनि छ। विश्वमा नेपालको चिनारी दिने परिकार हो गुन्द्रुक। तिब्बत, भुटान, सिक्किम, दार्जिलिङमा पनि गुन्द्रुकको प्रचलन छ। कतार, मलेसियादेखि युरोप, अमेरिकासम्मका नेपालीले कोसेलीका रूपमा गुन्द्रुक बोक्ने गर्छन्।

गुन्द्रुक बनाउने तरिका

धेरैलाई गुन्द्रुक बनाउने तरिका थाहा हुनुपर्छ। गुन्द्रुक बनाउन गाह्रो पनि छैन। रायो, तोरी आदिको सागलाई सफा पानीले राम्ररी पखाल्नुपर्छ। त्यसलाई घाममा ओइलाउनुपर्छ। यसरी ओइलाएको सागलाई कुटेर बाँसको ढुंग्रो वा प्लास्टिकको बोत्तलमा राम्ररी खाँदेर राख्नुपर्छ। उक्त ढुंग्रो वा बोत्तलबाट हावासमेत नजानेगरी बिर्को लगाउनुपर्छ। १० देखि १२ दिनसम्ममा साग बिस्तारै अमिलो हुँदै जान्छ। त्यसपछि डिब्बा वा प्लास्टिकलाई खोलेर केही दिन घाममा सुकाउनुपर्छ। घाममा सुकेर झुरुमझुरुम भएपछि गुन्द्रुक तयार हुन्छ। यसरी सजिलैसँग बनाइने गुन्द्रुक महिनौंसम्म राखेर सेवन गर्न सकिन्छ।

उहिले उहिले छिप्पिएको रायो, तोरी, मुलाको पात टिपेर घाममा केही दिन सुकाइन्थ्यो। गहिरो खाडल खनेर आगो बालेर तताइन्थ्यो। माटो नलागोस् भनेर वरिपरि बाँसका खबटा, पराल, कोदाको नल लगाएर बिचमा मुस्लीले खाँदेर छोपिन्छ। कहिलेकाहीं कुनै भाँडो वा सफा टिनमा पनि राख्ने गरिन्छ। त्यसको दुईतीन हप्तापछि बाहिर निकाली निकै दिन घाममा सुकाएर राखिन्छ।

यसरी सुकेको गुन्द्रुकलाई हावा नपस्ने गरी बट्टालाई बिर्को लगाएर वर्षौंसम्म राख्ने गरिन्छ। यसरी राख्दा गुन्द्रुक लामो समयसम्म पनि सुरक्षित हुन्छ। अनि आवश्यक परेको बेला तिहुन–तरकारी बनाएर खाने गरिन्छ।

गुन्द्रुकका परिकार

तिक्खर रैथाने स्वादका लागि गुन्दु्रक उत्तम विकल्प हो। यो नितान्त मौलिक भोजन हो। हाम्रा पुर्खाको खानपान चेत र सिप पनि यसमा मिसिएको छ। हरियो सागपातलाई घाममा ओइलाएर बनाउने गुन्द्रुक लामो समय भण्डारण गरेर खान सकिन्छ। विशेषगरी पानी परेको समयमा र जाडो याममा गुन्द्रुकको महत्त्व बढी हुन्छ। गुन्द्रुकको अचार र झोल बनाएर खाने चलन छ।

ढिँडो र गुन्द्रुक सँगै खाइने हुनाले गुन्द्रुकको झोल बनाइन्छ। नेपालीको राष्ट्रिय खाना भनेर चिनिने परिकार आजभोलि भने धेरै कम मान्छेका घरमा पाक्ने गर्छ। यद्यपि ढिँडो र गुन्द्रुकको लोकप्रियता घटेको भने होइन। ठुला ठुला तारे होटलमा कैयौं परिकारको मेनुमा ढिँडो र गुन्द्रुक पनि राखिएको हुन्छ।

सामान्यतया गुन्द्रुकलाई झोलका रूपमा प्रयोग गर्ने प्रचलन छ। दालको ठाउँमा गुन्द्रुकको झोल खाने चलन छ। यसरी झोल बनाउँदा सुरुमा भटमास भुटेर बनाउन सकिन्छ, एकमुट्ठी भटमासले गुन्द्रुकको स्वाद नै परिवर्तन हुन्छ। कागती, टिमुर, नुन, खुर्सानी, भुटेको भटमास, धनिया, भुटेको तोरीको तेल राखी गुन्द्रुकलाई साँधेर पनि खान सकिन्छ। यसरी तयार पारेको परिकारलाई कोदो, फापरको रोटी वा नेवारी मासको बारासँग खाँदा पनि निकै स्वादिष्ट हुन्छ।

आलु र गुन्द्रुकको जोडी पनि मिठो र स्वादिष्ट हुन्छ। आलु र गुन्द्रुकको तरकारी तयार पार्न ध्यान पु¥याउनुपर्छ। सुरुमा आलु राम्ररी पकाउनुपर्छ। त्यसपछि मात्र गुन्द्रुक हाल्नुपर्छ। गुन्द्रुक सुरुमै हालियो भने आलु पाक्दैन। गुन्द्रुक हाल्नुभन्दा पहिला एकछिन भिजाउनुपर्छ। तर, यसलाई अरू पनि स्वादिष्ट परिकारका रूपमा तयार पारी सेवन गर्न सकिन्छ। मस्यौरा, सिन्की, माछाको ग्रेभी बनाउँदा पनि यो निकै स्वादिष्ट हुन्छ।

गुन्द्रुकका फाइदा

गुन्द्रुक गुणी खान्की पनि हो। गुन्द्रुकमा विभिन्न पौष्टिक तत्त्व पाइन्छ। गुन्द्रुकमा पर्याप्त कार्बोहाइड्रेट र प्रोटिन पाइन्छ। प्रतिसय ग्राम गुन्द्रुकमा दुई सय ३५ मिलिग्राम क्याल्सियम पाइन्छ, जो सागमा पाइनेभन्दा धेरै हो। त्यस्तै प्रतिसय ग्राम गुन्द्रुकमा ६ सय ७७ मिलिग्रामसम्म पोटासियम तत्त्व पाइन्छ। शरीरमा रसजन्य पदार्थको नियमन गर्न र रक्तचापलाई सामान्य अवस्थामा राख्न पोटासियम नभई हुँदैन।

गुन्द्रुकमा फलाम तत्त्व पनि प्रशस्त पाइन्छ, जुन हाम्रो शरीरलाई आवश्यक हुन्छ। गुन्द्रुकमा शरीरलाई चाहिने प्रशस्त मात्रामा खनिज तत्त्व हुन्छ। त्यस्तै गुन्द्रुकमा सोडियम पनि प्रशस्त हुन्छ। यसमा रेसादार तत्त्व पनि मनग्य हुने हुँदा कोलेस्ट्रोललाई घटाउन निकै मद्दत गर्छ। जाडोमा तात्तातो गुन्द्रुकको झोल पिउँदा शरीर फुर्तिलो हुने र चिसोबाट पनि जोगिन सकिन्छ।

गुन्द्रुक हरियो सागबाट बनाइने भएकाले यसमा भिटामिन ए, सी, डी र के पनि प्रशस्त पाइन्छ। गुन्द्रुकमा भिटामिन ए हुनाले आँखाको स्वास्थ्यका लागि उपयोगी हुन्छ। गुन्द्रुकको नियमित सेवनले आँखा चिलाउने, आँखा दुख्ने, आँखा सुक्खा हुनेजस्ता समस्यामा कमी आउँछ। त्यसैले गुन्द्रुकको सेवनले आँखालाई फाइदा गर्छ। त्यस्तै गुन्द्रुकमा भिटामिन ‘डी’ र ‘के’ हुनाले हड्डीलाई समेत मजबुत बनाउँछ।

गुन्द्रुकको नियमित सेवनले तौल घटाउन पनि मद्दत पुर्‍याउँछ। गुन्द्रुकमा चिल्लो पदार्थ हुँदैन। त्यसैले शरीरमा चिल्लो जम्मा भई बोसो लाग्ने समस्या रहँदैन। सन्तुलित आहारका लागि खानामा गुन्द्रुक पनि सामेल गर्न सकिन्छ। गुन्द्रुकले पाचन क्षमता बढाउँछ। रेसायुक्त हुने भएकाले यसले कब्जियतका रोगीलाई फाइदा गर्छ। यसले खास गरी पेटलाई सफा राख्न मद्दत गर्छ। साथै गुन्द्रुकको झोलसँग भात खाएका बेला पेट हल्का महसुस हुन्छ।

कोलेस्ट्रोरको समस्या भएकाले पनि गुन्द्रुकको सेवनबाट लाभ उठाउन सक्छन्। ग्यास्ट्रिक र अल्सरका बिरामीले पनि गुन्द्रुकको सेवन गर्दा फाइदा गर्छ। स्मरणशक्ति कम हुनेहरूले रायोको गुन्द्रुक सेवन गर्दा राम्रो हुन्छ।

त्यस्तै गुन्द्रुक नियमित सेवन गर्दा तौल घटाउनमा मद्दत पुग्छ। यसले क्यान्सरको सम्भावनालाई समेत पर धकेल्ने काम गर्छ। अधिक कोलस्ट्रोलको समस्या छ भने पनि त्यसलाई कम गर्नका लागि रायोको गुन्द्रुक सेवन गर्न सकिन्छ। गुन्द्रुक जाडो मौसममा लोकप्रिय छ। यसले ‘कोल्ड लु’बाट बचाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।

नेपालको मौलिक खाना भएकाले तथा आधुनिक पुस्तामा पनि लोकप्रिय हुँदै गरेकाले गुन्द्रुकलाई प्रवर्धन गर्न सके यसले राम्रो बजार पाउँन सक्छ। अहिले गुन्द्रुकको माग राम्रो छ। अझै मागअनुसार स्वदेशी गुन्द्रुकको पुर्‍याउन नसकेर चीनबाट पनि विदेशी गुन्द्रुक आयात गर्नुपरेको छ। यो हाम्रा लागि लाजमर्दो कुरा हो।

मागअनुसार गुन्द्रुकको आवश्यकता पूर्ति गर्न सके नाफा पनि हुन्छ। गुन्द्रुकको आफ्नै ब्रान्ड या ‘प्याटेन्ट राइट’ लिएर विदेशसमेत निर्यात गर्न सकिन्छ। यसो गर्नका लागि घरेलु उद्योग पनि सञ्चालन गर्न सकिन्छ। यसबाट थोरै लगानीमा धेरै नाफा कमाउन सकिन्छ। बारी र तरकारी बजारमा खेर जाने काउलीको पात र ओइलिएको सागबाट पनि गुन्द्रुक बनाउन सकिन्छ। यसरी सागको पात खेर जानबाट पनि बच्ने अनि गुन्द्रुक बनाएर खान र व्यापार गरेर रकम कमाउन पनि सकिन्छ।  

प्रकाशित: १७ फाल्गुन २०८१ ०९:३१ शनिबार





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *