anfa 0407

एन्फाले ए डिभिजन क्लबहरुको नकआउट फुटबल प्रतियोगिता गर्ने


२५ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

एन्फाले ए डिभिजन क्लबहरु समावेश हुने नकआउट प्रतियोगिता २०८२ साल वैशाख २० गतेदेखि गर्ने जनाएको छ ।

‘अखिल नेपाल फुटबल संघले यहि २०८२ बैशाख २० गतेबाट ए डिभिजनका क्लबहरु सहभागी हुने लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।’ एन्फाले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ ।

नेपाली फुटबलको लिग साइकल पूरा नभएकोले पछिल्लो पटक भएको शहीद स्मारक ए डिभिजन लिगमा खेलेको १४ वटा क्लबलाई नै यस नकआउट फुटबल प्रतियोगितामा सहभागी गराउने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । ‘एन्फाको विधान अनसार ए, बी र सी डिभिजनमा १४-१४ क्लब हुने व्यवस्था छ । तर बी डिभिजन लिग जारी रहेकोले ए मा बढुवा हुने क्लबको टुङ्गो नलागेको त्यो ग्याप फुलफिल गर्नका लागि यसअघि ए डिभिजन लिग खेलेकै १४ क्लबलाई नकआउट प्रतियोगिता खेलाउन लागेका हौँ ।’ प्रवक्ता शाहले भने ।

पछिल्लो पटक भएको ए डिभिजन लिगबाट विभागीय टोली एपीएफ र खुमलटार युथ क्लब अन्तिम दुई स्थानमा रहेर बी डिभिजनमा घटुवा भएको थियो । तर थ्री स्टारले जावलाखेल युथ क्लब विरुद्ध जित हात पार्दा भिसा नभएको खेलाडी खेलाएको भन्दै उक्त खेलको नतिजा जावलाखेलको पक्षमा दिनुपर्ने भन्दै एपीएफले एन्फाको अनुशासन कमिटीमा उजुरी गरेको थियो । एपीएफले थ्री स्टारको अंक खोसिँदा आफू ए डिभिजन लिगमै रहने दावी थियो । तर एन्फाले थ्री स्टारलाई कारवाही गर्दै ५० हजार जरिवाना लगाएपनि अंक भने खोसेन । यो निर्णयपछि एपीएफ पुन: एन्फाको अपिल कमिटीमा गएको थियो । अनुशासन कमिटीको निर्ण चित्त नबुझेको भन्दै थ्री स्टार पनि अपिल कमिटीमा गएको थियो । तर यो विषयमा एन्फाले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन ।

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा र ए डिभिजनका १४ क्लबहरुबीच एएफसी क्लब कम्पिटिसन २०२५/२६ को सिजनको बारेमा छलफल भएको थियो ।

त्यसमा एन्फा महासचिव किरण राईले बैशाख २० गतेबाट लिगकम नकआउट फुटबल प्रतियोगिता आयो गर्ने र सो प्रतियोगिताको विजेताले एएफसी क्लब कम्पिटिसन २०२५/२६ सिजनमा भाग लिन पाउने प्रस्ताव गरेको र क्लबहरु सकरात्मक भइ सहमति जनाएको एन्फाले उल्लेख गरेको छ ।

लामो समय ए डिभिजन लिग नहुँदा ग्याप भएकोले एएफसी क्लब प्रतियोगितामा नयाँ क्लब पठाउनका लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको एन्फा प्रवक्ता शाहले जानकारी दिए ।

‘लिग साइकल पूरा नभएको र लामो ग्याप भएकोले एएफसीको क्लब प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने क्लब पठाउनका लागि यो प्रतियोगिता गर्न लागिएको हो’ प्रवक्ता शाहले भने, ‘अर्को ए डिभिजन लिग भएपछि लिगकै विजेतालाई एएफसीको क्लब प्रतियोगितामा पठाइनेछ।’

यसैगरी प्रतियोगिताको लागि वैशाख १० गतेभित्र टिम दर्ता गर्ने र वैशाख १५ गतेभित्र न्यूनतम खेलाडी दर्ता गर्ने विषयमा सहमति पनि भएको एन्फाले जनाएको छ ।

प्रतियोगितासँग सम्बन्धित अन्य सबै पक्षहरूको बारेमा आगामी दिनमा छलफल जारी राख्ने निर्णय भएको एन्फाले जनाएको छ ।





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *