२६ माघ, काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा अन्तर्राष्ट्रिय थ्री बाई थ्री नेपाल बास्केटबल च्याम्पियनसिप (एनबीसी) हुने भएको छ । नेपाल बास्केबल संघले शनिबार पत्रकार सम्मेलन गर्दै तीन दिने प्रतियोगितामा ३२ टिम सहभागी हुने जानकारी गराएको हो ।
प्रतियोगितामा नेपालबाट २२ टिम सहभागी हुनेछन् । त्यस्तै, बंगलादेशबाट ४, भारत ३ र १ पाकिस्तानबाट टिम सहभागी हुने बास्केबल संघका महासचिव नरेन्द्र थापाले जानकारी गराएका हुन् । दुई टिमको टुंगो लाग्न बाँकी छ ।
महासचिव थापाका अनुसार नेपाली टिमले दुई जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउँनेछन् । जसमध्ये १ खेलाडीमात्रै कोर्टमा उत्रने नियम रहेको छ ।
प्रतियोगिताको सबै म्यानेजमेन्टको जिम्मेवारी आइडिया पिक्सेसले गरेको छ । थी बाई थ्री का कोर्डिनेटर तथा केन्द्रीय सदस्य शरद बिष्टले प्रतियोगिता गर्न अनुमानित खर्च १२ देखि १५ लाख लाग्ने बताए ।
संघले प्रतियोगिताको अन्तिम दिन भारत र पाकिस्तानबीच मैत्रिपूर्ण खेल आयोजना हुने जनाएको छ ।
२६ माघ, काठमाडौं । शाइन रेसुंगा राष्ट्रिय १० हजार मिटर रन प्रतियोगिता फागुनको ११ गते आयोजना हुने भएको छ । शाइन रेसुंगा डेभ्लपमेन्ट बैंकले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराएको हो ।
‘रन टू शाइन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता रुपन्देहीको बुटवलमा आयोजना गरिनेछ । राष्ट्रियस्तरका धावक सहभागी हुने प्रतियोगितामा महिला/पुरुष खुल्ला, स्थानीय र ५० वर्षमाथि गरी तीन विधा समावेश गरिएको छ । प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ रहेको छ ।
खुल्लातर्फको महिला/पुरुष विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । एथलेटिक्सको १० किलोमिटर विधामा राखिएको रकम नेपालकै सर्वाधिक पुरस्कार रकम समेत हो ।
खुल्लातर्फ दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथों हुनेले १५ हजार र पाँचौं हुने धावकले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । स्थानीय र ५० वर्षमाथिको विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार ५ सय रुपैयाँ सहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
इच्छुक सहभागीले शाइन रेसुंगा डेभ्लपमेन्ट बैंकको वेबसाइटमा गएर निशुल्क नाम दर्ता गर्न सक्नेछन् । बुटवलस्थित बैंकको केन्द्रीय कार्यालयमा समेत भौतिक रुपमा फारम गरी नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
बुटवल कालिकानगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु हुने दौड मणिग्राम चोकमा पुगेर पुन केन्द्रीय कार्यालय परिसरमै पुगेर समापन हुनेछ । राष्ट्रिय खेलकुद परिषद र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिताको अपरेसन र व्यवस्थापन कखरा इभेन्टले गर्नेछ ।
२६ माघ, काठमाडौं । हमासले युद्धविराम सम्झौताअनुसार शनिबार ३ इजरायली बन्धकहरूलाई रिहा गरेको छ। समाचार संस्था एपीका अनुसार यी बन्धकहरू एली शराबी (५२), ओहद बेन अमी (५६) र ओर लेभी (३४) हुन्।
हमासले यी तीनै बन्धकहरूलाई रेडक्रसको जिम्मा लगाएको हो । रेडक्रसले उनीहरूलाई गाजाबाट इजरायल लैजानेछ। रिहाइपछि तस्बिरहरू सार्वजनिक गरिएका छन्, जसमा उनीहरू निकै दुब्लाएका र अस्वस्थ देखिन्छन्।
बन्धकहरू इजरायल पुगेपछि इजरायलले १८३ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ । १९ जनवरीमा कतारमा भएको युद्धविराम सम्झौता अन्तर्गत यो पाँचौं अदला-बदली हो। सम्झौता लागु भएयता हालसम्म १६ इजरायली र ५ थाई बन्धकहरूलाई रिहा गरिएको छ।
७ अक्टोबर २०२३ मा हमासका हजारौं लडाकुहरूले इजरायलमा आक्रमण गर्दा १२०० जना मारिएका थिए । सो आक्रमणमा २५० भन्दा बढी व्यक्तिहरूलाई बन्धक बनाइएको थियो। त्यसको केही घन्टाभित्रै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासविरुद्ध युद्धको घोषणा गरेका थिए।
एली शराबीलाई किबुत्ज बेरी क्षेत्रबाट बन्धक बनाइएको थियो। हमासले त्यहाँ आक्रमण गरी उनकी पत्नी लियान र छोरीहरूको हत्या गरेको थियो। ओहद बेन अमीलाई उनकी पत्नीका साथ किबुत्ज अकाउन्टेन्टबाट अपहरण गरिएको थियो। उनकी पत्नीलाई सन् २०२३ को युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिएको थियो।
कम्प्युटर प्रोग्रामर ओर लेभीलाई दक्षिण इजरायलमा रहेको नोभा म्युजिक फेस्टिभलबाट बन्धक बनाइएको थियो। आक्रमणका क्रममा उनकी पत्नीको मृत्यु भएको थियो।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयका अनुसार अदला-बदली प्रक्रिया पूरा भएपछि युद्धविरामबारे थप छलफल गर्न इजरायली प्रतिनिधिमण्डल कतारको राजधानी दोहा जानेछ।
इजरायल र प्यालेस्टाइनबीच कैदीहरू अदला-बदली गर्ने यो सम्झौता १९ जनवरीदेखि सुरु भएको हो। सम्झौता तीन चरणमा पूरा हुनेछ, जसमा ४२ दिनसम्म बन्धकहरूको अदला-बदली गरिनेछ।
पहिलो चरणमा १९ जनवरीदेखि १ मार्चसम्म गाजामा पूर्ण युद्धविराम रहनेछ। यो अवधिमा हमासले ३३ इजरायली बन्धकहरूलाई रिहा गर्नेछ।
इजरायलले हरेक इजरायली बन्धकको सट्टा ३३ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ भने हरेक इजरायली महिला सैनिकको सट्टा ५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिनेछ।
यदि पहिलो चरणको १६औँ दिन अर्थात् ३ फेब्रुअरीसम्म सबै कुरा ठीक रहँदामात्रै दोस्रो चरणबारे छलफल हुने समझदारी छ । यस अवधिमा कुनै पनि हमला गरिने छैन। यही अवधिमा बाँकी जिउँदा बन्धकहरूलाई रिहा गरिनेछ।
इजरायलले १ हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ, जसमा झण्डै १९० जना १५ वर्षभन्दा बढी समयदेखि जेलमा रहेका छन्।
सम्झौताको अन्तिम चरणमा गाजामा पुनः बसोबास गराइनेछ, जसका लागि ३ देखि ५ वर्षसम्म समय लाग्नेछ।
इजरायल र हमासबीच बन्धकहरूको अदला-बदली भइरहँदा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजामा कब्जा गर्ने प्रस्ताव राखेका छन्। ट्रम्पका अनुसार उनी गाजामा कब्जा गरी सिटी रिसोर्ट बनाउन चाहन्छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस योजनालाई समर्थन जनाएका छन्।
पहिलो विश्वयुद्धमा डेनमार्कले कसैको पनि पक्ष लिएर लडेन। डेनमार्क तटस्थ थियो, तर अधिकांश डेनिस युवा भने जर्मन सेनामा भर्ती भएका थिए। सन् १८६४ को दोस्रो ‘श्लेस्विग युद्ध’मा डेनमार्कले प्रशिया (हालको जर्मनी) सँग ठूलो पराजय बेहोर्नु परेको थियो, त्यस युद्धमा पराजित भएपछि, डेनमार्कले आफ्नो दक्षिणी भूभागको ठूलो क्षेत्र गुमाउन पुगेको थियो। त्यसपछि डेनमार्कले आफ्नो स्वतन्त्रता जोगाउनका लागि तटस्थ रहनु नै उचित ठान्यो। तर, धेरै भाग जर्मनीको अधीनमा भएको हुँदा त्यहाँ बस्ने मान्छेहरूलाई जर्मनीले जबरजस्ती आफ्ना सेनामा भर्ती गराए।
युद्धमा प्रत्यक्ष रूपमा सहभागी नभए पनि डेनमार्कले सुरक्षाका लागि आफ्नो सेना तयारी अवस्थामा राखेको थियो। यदि कुनै देशले हमला गरेमा आफ्नो बचाउ गर्न सकियोस् भनेर उसले सीमामा सेना खटाएको थियो। त्यस बखत डेनमार्कले थुप्रै चुनौतीको सामना गर्नुपरेको थियो। ब्रिटेन र जर्मनीले डेनमार्कलाई आफ्नो पक्षमा लिन नाकाबन्दी नै गरेका थिए, जसको कारण देशमा खाद्य संकट र कालोबजारी मौलाएको थियो। अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको थियो।
लगभग चार वर्ष चलेको पहिलो विश्वयुद्धमा डेनमार्क तटस्थ भए पनि, देशको भित्री सामाजिक संरचना भने अन्य युरोपेली देशहरूको जस्तै संकुचित थियो; विशेषगरी, अविवाहित महिलाहरूका लागि समाज निकै नै कडा थियो, त्यतिबेलाको डेनिस समाज गहिरो रूपमा धार्मिक र नैतिक रूपले एकदमै कठोर थियो। अझ युद्धमा मारिएका सैनिक तथा अपाङ्ग भएर घर फर्किएकाहरूको श्रीमतीहरूका लागि त्यो समय झनै निर्मम थियो।
उनीहरूले भावनात्मक, आर्थिक, सामाजिक र कानुनी धेरै कठिनाइहरूको सामना गर्नुपर्यो। केही देशले युद्धमा मारिएका सैनिकका श्रीमतीहरूलाई राहत रकम उपलब्ध गराए पनि, त्यो पर्याप्त भने थिएन। काम गर्ने अवसर कम भएको डेनमार्क जस्ता देशमा झन् विधवा महिलाहरू गरिबीको चपेटामा परेका थिए। उनीहरूका लागि नयाँ काम खोज्ने, बच्चा हुर्काउने र समाजमा आफ्नो स्थान बनाउने चुनौती निकै कठिन थियो। पहिलो विश्वयुद्धपछि थुप्रै पुरुष मरेका वा अशक्त भएकाले काम गर्ने महिला मजदुरहरूको संख्या ह्वात्तै बढेको थियो।
अझ त्यो समय विवाह अगाडि महिलाहरू गर्भवती हुनु सामाजिक रूपमा अस्वीकार्य मानिन्थ्यो। यदि कुनै अविवाहित महिला गर्भवती हुन्थिन् भने, उनीहरूलाई लज्जास्पद, अनैतिक र पतित मानिन्थ्यो। परिवार र समाजबाट बहिष्करण हुने डरले उनीहरू आफ्नो गर्भावस्था लुकाउने प्रयास गर्थे। गर्भ रहँदा समाजले धिक्कार्ने डरले उनीहरू गर्भपतन, बच्चा लुकाउने वा ‘बेबी फार्मिङ’जस्ता जोखिमपूर्ण तरिका अपनाउँथे। त्यो समयमा अविवाहित महिलाहरू मात्र नभएर विभिन्न कारणले बच्चा नचाहने विवाहित तथा विधवा महिलाहरूले आफ्नो बच्चालाई बेबी फार्मिङमा दिने गर्थे। बेबी फार्मिङ यस्तो प्रणाली थियो, जहाँ नवजात शिशुहरूलाई पैसाको बदलामा अभिभावकत्व लिने संस्था वा व्यक्तिलाई जिम्मा लगाइन्थ्यो। त्यो निर्मम समयमा त्यस्तो परिस्थितिको फाइदा उठाइरहेकी थिइन् ‘डागमार ओभरबाई’ले।
लेखक ‘स्टिफन किङ’को सन् १९८७ मा प्रकाशित उपन्यास ‘मिजरी’ मा एउटा पात्र छ, ‘एनी विल्क्स’, जो कुनै समय एक अस्पतालमा प्रसूति विभागकी प्रमुख नर्सको रूपमा काम गर्थिन्; त्यो बेला उनको हेरचाहमा रहेका एघार नवजात शिशुहरू रहस्यमय परिस्थितिमा मृत अवस्थामा फेला परेका थिए। ‘डागमार ओभरबाई’लाई फिल्म ‘द गर्ल विद द निडल’ मा हेरिरहँदा कता-कता मलाई तिनै काल्पनिक पात्र ‘एनी विल्क्स’को सम्झना आएको थियो।
डेनिस लेखिका ‘कारेन सोनडेर्गार्ड कोल्डस्टे’ डागमार ओभरबाईमाथि आधारित रहेर ‘एङ्गल मागेर्स्केन’ नामक उपन्यास पनि लेखेकी छिन्। त्यो बाहेक उनको जीवनमा आधार रहेर डेनमार्कमा ‘हत्यारा/आमा’ नामक नाटक पनि मञ्चन भइसकेको छ।
‘डागमार ओभरबाई’ सन् १९१५ मा कोपेनहेगन (डेनमार्कको राजधानी) आएकी थिइन्, जहाँ उनले अवैध रूपमा नवजात बच्चाहरूलाई एडप्ट गर्ने संस्था खोलिन्। उनले त्यहाँ वर्षौंसम्म व्यावसायिक रूपमा बच्चा हेरचाह गर्ने काम थालिन्, ती बच्चाहरू विशेषगरी अविवाहित महिलाहरूका समाजले बहिष्कृत गरेका सन्तान हुन्थे। त्यो समयमा महिलाहरूका लागि प्रजनन् अधिकार भन्ने कुरा अस्तित्वमै थिएन, त्यसैले उनीहरू आफ्ना बच्चाहरूलाई अज्ञात व्यक्ति तथा कुनै धनी परिवारलाई सुम्पिने गर्थे।
पहिलो विश्वयुद्धको समयमा ‘डागमार ओभरबाई’ले विभिन्न कारण तथा परिस्थितिले गर्दा बाध्य भएका महिलाहरूबाट त्यस्ता थुप्रै बच्चाहरूलाई आफ्नो जिम्मेवारीमा लिए। उनले त्यसको बदलामा ती महिलाहरूबाट पैसा पनि लिने गर्थे। तर, उनको स्याहारमा पुगेका ती निर्दोष बच्चाहरू कुनै राम्रो वा धनी परिवारको शरणसम्म पुग्दैनथे। उनीहरूको के हुन्थ्यो ? उनले ती बच्चाहरूलाई घाँटी थिचेर, पानीमा डुबाएर, विष खुवाएर, आगोमा जलाएर मार्ने गर्थिन्। उनी केही शवलाई गाड्थिन्, केहीलाई घरको माथिल्लो कोठामा लुकाउँथिन्।
सन् १९२० मा एक महिलाले आफ्नो सन्तानको बारेमा अनुसन्धान गर्न थालेपछि ‘डागमार ओभरबाई’को अपराध पत्ता लागेको थियो। थुप्रैले मान्ने गर्छन्, ‘डागमार ओभरबाई’ले बच्चाहरूलाई मार्ने सिलसिला आफ्नै बच्चाबाट सुरू गरेकी हुन् भनेर। पछि उनलाई ९ वटा बच्चाको हत्याको आरोपमा दोषी ठहर्याइयो, तर उनले १६ जनालाई मारेको स्वीकारोक्ति दिएकी थिइन्। धेरै आशंका गर्छन्, उनले पच्चीसभन्दा बढी नवजात शिशुहरूको हत्या गरेकी थिइन्।
उनको वकिलले ओभरबायले सानैमा दुर्व्यवहार भोगेकी थिइन् भन्ने आधारमा बचाउ गर्न खोजे, तर कानुनले सुनेन। ३ मार्च १९२१ मा, उनलाई मृत्युदण्डको सजाय सुनाइयो। उनी २०औं शताब्दीमा डेनमार्कको कानुनी इतिहासमा मृत्युदण्डको सजाय पाउने तीन महिलामध्ये एक थिइन्, तर पछि उनको सजायलाई आजीवन कारावासमा परिवर्तन गरियो। ६ मे १९२९ मा, ४२ वर्षको उमेरमा उनले जेलमै मृत्यु भोगिन्।
‘म्याग्नस भोन होर्न’ निर्देशित डेनिस फिल्म ‘द गर्ल विद द निडल’ तिनै कुख्यात सिरियल किलर ‘डागमार ओभरबाई’मा आधारित छ, जसलाई अर्की पात्र ‘करोलिन’को नजरबाट देखाइएको छ। फिल्मको कथा पहिलो विश्वयुद्ध सकिएको केही समयपछि सुरु हुन्छ। १९२० को दशकमा डेनमार्कमा सामाजिक रूपमा ठूलो परिवर्तन भइरहेको थियो। युद्धपछिको कठिनाइका कारण देश आर्थिक संकटमा परेको थियो।
करोलिन आफ्नो कोठाको भाडा तिर्न नसकेर कोठा छाड्न बाध्य हुन्छिन्। युद्ध लड्न गएका उनका लोग्ने अझै फर्केर आएका हुँदैनन्। उनी मृत घोषित भएको पनि आधिकारिक रूपमा कतै उल्लेख भएको हुँदैन, त्यसैले करोलिनले सरकारबाट पाउनुपर्ने विधवा अथवा राहत भत्ता पाउँदिनन्। उनी आफ्नी साथीसँग मिलेर सिलाईको काम गर्न थाल्छिन्, जहाँ आफ्नो मालिकसँग उनको प्रेम-सम्बन्ध सुरू हुन्छ।
उनी गर्भवती हुन्छिन्। दुवैले विवाह गर्ने योजना बनाउँछन्, तर करोलिनलाई उनको प्रेमीको परिवारले स्वीकार्दैनन्। उनलाई सिलाईको कामबाट पनि निकालिन्छ। त्यसैबीच करोलिनको लोग्ने युद्धबाट फर्किन्छ, तर उनको अनुहार युद्धमा गम्भीर रूपमा क्षत–विक्षत भएको हुन्छ। उनले आफ्नो अनुहारलाई नकाबले ढाकेका हुन्छन्।
करोलिन आर्थिकसँगै मानसिक रूपमा कमजोर हुँदै जान्छिन्, यसले त्यो समयको डेनमार्कमा युद्धपछिको सामाजिक र पारिवारिक तनाव कस्तो थियो भन्ने झल्काउँछ। त्यस समयमा युद्धबाट शारीरिक वा मानसिक रूपमा क्षत–विक्षत भएर फर्किएका आफ्ना लोग्नेहरूको पनि जिम्मेवारी थपिने हुँदा उनीहरूलाई उनका श्रीमतीहरूले मिश्रित भावनाका साथ हेर्ने गर्थे। कसैले माया, सहानुभूति र हेरचाहका साथ स्वीकार गर्थे भने केहीले स्वीकार्न गाह्रो मान्थे। करोलिनले पनि आफ्नो लोग्नेलाई स्वीकार्दिनन्, उनले लोग्नेलाई घृणाको दृष्टिले हेर्न थाल्छिन्।
उनको लोग्ने झन् धेरै मानसिक समस्याबाट ग्रस्त हुन्छन्। करोलिन आफ्नो लागि गर्भावस्थामा नयाँ काम खोज्न थाल्छिन्। एकदिन सार्वजनिक स्नानगृहमा, उनी सुईको प्रयोग गरेर गर्भमा रहेको बच्चा तुहाउने प्रयास गर्छिन्, तर त्यहाँ एक महिला आएर उनलाई रोक्छिन्। ती महिला हुन्छिन्, ‘डागमार ओभरबाई’ जसले करोलिनको घाउको उपचार गर्छिन् र उनलाई बच्चा जन्मिएपछि आफ्नो पसलमा लिएर आउन सुझाव दिन्छिन्।
करोलिनले बच्चा जन्माउँछिन्, उनको लोग्नेले बच्चाको हेरचाह गर्न चाहन्छन्, तर करोलिन कोठाबाट बच्चा लिएर डागमार कहाँ जान्छिन्। आफ्नो बच्चा कुनै धनी परिवारले लिने आशले उनी खुसी हुन्छिन्। उनले डागमारलाई पूरा पैसा तिर्न नसके पनि, उनको पसलमा काम गर्न थाल्छिन्। उनको नयाँ जीवन सुरू हुन्छ। उनले त्यहाँ डागमारकी छोरीको स्याहार गर्न थाल्छिन्, उनलाई स्तनपान गराउन थाल्छिन्।
करोलिनले डागमारलाई बच्चाहरूको भविष्यको बारेमा सोध्दा उनी जहिल्यै अस्पष्ट जवाफभित्र लुक्ने हुन्छिन्। विस्तारै करोलिन डागमारको व्यवहारलाई लिएर असहज महसुस गर्न थाल्छिन्, उनमा शंका पैदा हुन थाल्छ। एक बिहान उनी डागमारलाई गुपचुप रूपले पछ्याउँछिन्, अँध्यारो गल्लीमा उनले डागमारलाई बच्चाको घाँटी थिचेर हत्या गरेको देख्छिन्।
फिल्मले सन् १९१९ को कोपेनहेगनको अँध्यारो, संकुचित र भयावह वातावरणलाई प्रभावशाली रूपमा उतारेको छ। पटकथा सुस्त गतिमा हिंडे तापनि त्यसले हामीलाई पात्रको यात्रासँग भावनात्मक रूपमा जोड्न राम्रोसँग मद्दत गरेको छ। जब डागमारको क्रूर वास्तविकता पत्ता लाग्छ, त्यसपछि भने फिल्मको गतिमा परिवर्तन आउँछ।
करोलिनको पात्र सामाजिक अन्यायको शिकार मात्र नभएर संघर्ष गर्दै आफूलाई बचाउने साहसी पात्रको रूपमा विकसित भएको छ। उनी मार्फत एकल महिलाहरूलाई समाजले गर्ने व्यवहार, असुरक्षा, आर्थिक रूपमा निर्भर र समाजले पारित गरेको कठोर नियतिले थिचोमिचोमा परेको वर्गको रूपमा चित्रण गरिएको छ। निर्देशकले डागमार ओभरबायको चरित्रलाई एकैसाथ करुणामयी र डरलाग्दो बनाइदिएका छन्। उनको चरित्रमा बढ्दो मानसिक असन्तुलन, आफूले गरेको हत्यालाई सही ठान्ने जिद्दी र सामाजिक अन्यायले उनको मनोदशामा पारेको गहिरो र नकारात्मक प्रभाव देखिन्छ। करोलिनको लोग्नेको चरित्र मार्फत युद्धपछिको पुरुषहरूको मानसिक र शारीरिक अवस्थालाई समाजले हेर्ने दृष्टिकोण उजागर गरेको छ। आफ्नो बच्चालाई डागमार जस्ता अपराधीलाई सुम्पिनुलाई सामाजिक बाध्यता, गरिबी र असहायपनको उपजका रूपमा देखाइएको छ। फिल्मको मुख्य तत्त्व नै मातृत्व हो, त्यसको परीक्षण हो।
फिल्ममा डागमारले यस्ता ‘निर्दोष बच्चाहरूलाई यो कठोर र निर्मम दुनियाँमा ल्याउनु ठीक होइन’ भनेर आफ्नो तर्क राख्छिन्। उनले सामाजिक नैतिकताको उल्टो परिभाषा दिन्छिन्, जसले हामीभित्र नैतिक प्रश्नहरू उम्रिन सक्छन्।
ब्ल्याक एण्ड ह्वाइट रङ्गमा पोतिएको ‘द गर्ल विद द निडल’ ७७औं कान्स फिल्म महोत्सवमा ‘पाल्मे डी’ओर’का लागि प्रतिस्पर्धामा छानिएको थियो, यसलाई ‘नेशनल बोर्ड अफ रिभ्यु’द्वारा २०२४ का शीर्ष पाँच अन्तर्राष्ट्रिय फिल्महरूमध्ये एकको दर्जा दिइएको थियो। ९७औं एकेडेमी अवार्डमा सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्मका लागि पनि मनोनयन प्राप्त गरेको यस फिल्मको नामले नै मलाई सुरूमा आकर्षित गरेको थियो, ‘द गर्ल विद द निडल’।
‘द गर्ल विद द निडल’को शीर्षकमा रहेको ‘सुई’ केवल शाब्दिक अर्थमा मात्र सीमित रहेको छैन; यसले गहिरो प्रतीकात्मक अर्थ बोकेको छ, जुन फिल्मको कथा, पात्रहरू र मुख्य विषयवस्तुसँग जोडिएको छ। मुख्य पात्र ‘करोलिन’लाई फिल्मको सुरुवातमा एक सिलाई-बुनाई गर्ने कामदारको रूपमा देखाइन्छ। सिलाईले पुराना चिजहरूलाई पुनः जोड्ने, फाटेका कपडालाई सुधार्ने र नयाँ वस्त्र बनाउने काम गर्छ, यसले करोलिनको पुनर्निर्माण गर्ने प्रयासलाई दर्शाउँछ, ऊ आफ्नै जीवनलाई नयाँ तरिकाले बुन्न खोजिरहेकी छिन्, पुरानो पीडा र घाउबाट उम्कन प्रयास गर्दैछिन्।
सुईले उनको आत्मनिर्भरता र संघर्षको प्रतिनिधित्व गरेको छ, जहाँ उनी पुरुषप्रधान समाजमा आफूलाई जोगाउन, जीविकोपार्जन गर्न र जीवन चलाउन संघर्ष गरिरहेकी छिन्। सुईले घोचेपछि दुख्छ पनि, यो त्यसको अर्को पाटो हो। यसलाई हतियारको रूपमा पनि देख्न सकिन्छ। करोलिनले गर्भपतनको प्रयास गर्दा सुई नै प्रयोग गर्छिन्, उनी आफ्नै शरीरमाथि पनि नियन्त्रण गर्न सक्दिनन्। डागमारले शिशुहरूलाई क्रूरतापूर्वक हत्या गर्छिन्, तर फिल्ममा सुई प्रत्यक्ष रूपमा हत्या गर्ने हतियारको रूपमा प्रयोग गरिंदैन। त्यसले डागमारको काम (हत्या) र करोलिनको काम (सिलाइ) बीचको परस्पर विरोधाभासलाई मज्जासँग देखाएको छ, एउटीले सिर्जना गर्छे, अर्कीले जीवन समाप्त गर्छे।
फिल्ममा करोलिन आफैं एक सामाजिक प्रणालीको ‘सियो-धागो’ जस्तै अल्झिरहेकी हुन्छिन्, जहाँ उनी चाहेर पनि आफ्नो नियति बदल्न सक्दिनन्। फिल्मले सुईलाई एक किसिमले नियति परिवर्तन गर्ने साधन पनि बनाएको छ, करोलिनले सिलाईको माध्यमबाट जीविका चलाउने प्रयास गर्छिन, तर जब उसको जीवन चक्र बिग्रिन्छ, उनी त्यही सुईलाई नकारात्मक रूपमा प्रयोग गर्न बाध्य हुन्छिन्। यसरी ‘म्याग्नस भोन होर्न’ले ‘सुई’लाई केवल भौतिक वस्तु मात्रै नभएर फिल्मको कथासँग शक्तिशाली रूपमा गाँसिदिएका छन्।
फिल्मले कुनै व्यक्तिको मात्र नभएर देश, समाज र त्यहाँ रहेका आम मान्छेहरूका विशेषगरी महिलाहरूको दशालाई चित्रित गरेको छ। फिल्मले सामाजिक यथार्थवाद, महिला उत्पीडन, मातृत्व र अपराधको गहिराइमा हामीलाई पुर्याउँछ।
पहिलो विश्वयुद्ध समाप्त भएपछि डेनमार्कले जर्मनीसँग पहिले गुमाएका आफ्नो भू-भाग मात्र फिर्ता पाएन, उसले अंगभंग भएका आफ्ना सैनिकहरू पनि पाए। फिल्ममा ती अशक्त सैनिकहरूको प्रतिनिधित्व कुरूप अनुहार लिएर फर्केका करोलिनका लोग्नेले गरेका छन्। उनको त्यो विरूप अनुहार पहिलो विश्वयुद्धको हिंसा, समाजको अस्वीकृति, प्रेम, विनाश र मानवीय मूल्य गुमाउनुको भयावह प्रभाव तथा स्वीकृतिको द्वन्द्वको प्रतीक हो। युद्ध र समाजले शारीरिक रूपमा मात्र नभएर मानसिक रूपमा पनि व्यक्तिलाई कसरी विकृत पार्दै लैजान्छ, फिल्मले देखाएको छ।
सुरूमा लोग्नेको कुरूप अनुहारमा आफ्नो भोगाइ र पीडा देखेकी करोलिनले पछि त्यही अनुहारलाई चुम्छिन्, जसले करोलिनको आत्म-स्वीकृतिलाई पनि दर्साउँछ। उनको लोग्ने केवल एक पात्र मात्र नभएर समाजले युद्धपीडितहरूप्रति देखाउने विभेद र करोलिनको मानसिक सङ्घर्षको भौतिक रूप पनि हो।
डागमार ओभरबायको उक्त जघन्य अपराध डेनमार्कको समाजमा मात्र नभएर विश्वमा नै गहिरो रूपमा प्रभावित पारेको थियो। त्यसैको परिणामस्वरूप: जताततै नवजात शिशुहरूलाई अभिभावकत्व दिने प्रक्रियाहरूमा कानुन कडा बनाउन थालियो। सन् १९१५ मा डेनमार्कमा महिलाहरूले मतदानको अधिकार पनि पाए। अविवाहित आमाहरूको हकमा सुधार आउन भने चाहिं केही ढिलो भयो। १९३० को दशकपछि मात्र सरकार र सामाजिक संस्थाहरूले एकल आमाहरूको सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउन थाले। एउटा घटनाले देशलाई कसरी प्रभाव पार्छ, यो तगडा उदाहरण हो।
मनोवैज्ञानिक थ्रिलर ‘द गर्ल विद द निडल’ एक ऐतिहासिक अपराधकथा मात्र होइन, यो समाजले युद्धपछि भोगेको कठोर यथार्थको कलात्मक प्रस्तुति पनि हो। यो फिल्म मनोवैज्ञानिक रूपमा प्रभावशाली, दृश्यात्मक रूपमा डरलाग्दो र भावनात्मक रूपमा मन छुनेछ। यो फिल्म हेर्न म तपाईंहरूलाई सिफारिस गर्छु।
२६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले अपराधिहरूले नेपाल प्रहरीलाई पनि नटेर्ने गरेको बताएका छन् ।
नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पहिले प्रहरीसँग सोझो आँखाले हेर्न नसक्ने अपराधीले अहिले लाज सरम नमानी हाँकाहाँकी हिड्ने गरेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले यतिमात्रै नभइ अहिले सुन तस्करीले त भेट्यो भने प्रहरीलाई नै हप्काइदिने बताए । ‘सुन तस्करले भेट्यो भने पुलिसलाई हप्काइदिन्छ । ओए… किन हेरेको भनेर ?’ उनले अघि भने, ‘झोलाभरि सुन हुन्छ तर, किन हेर्या भन्छ ? उल्टै हप्काउँछ ।’
उनले जमाना नै फेरिएको बताउँदै भलाद्मीर सोझासाझा बनेर तस्करी गर्ने गरेको संकेत गरे । ‘हामी जस्ता भलाद्मी सोझा सिधा इमान्दारलाई किन हेरेको छ हँ भनेपछि के हो के हो.. ? को हो म चिन्या छ हँ.. भने पछि झन् के हो के हो… यस्तो खाल्को जमाना छ’, उनले भने ।
प्रधानमन्त्री ओलीले त्यसा प्रवृतिविरुद्ध निश्पक्षता र स्वतन्त्रताका साथ कठोर बनेर प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिए ।
२६ माघ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नीतिगत र कानुन सुधार गृह मन्त्रालयकाे पहिलाे काम भएको बताएका छन् । नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गृहमन्त्रालयले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गर्को बताएका हुन् । सोही अनुसार गृह मन्त्रालयले नेपाल प्रहरी…
२६ माघ, काठमाडौं । वीर अस्पतालमा चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।
अस्पतालको शल्यक्रिया कक्षमा शुक्रबार अपराह्न साढे ४ बजे चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले बताए ।
निर्देशक पौडेका अनुसार शल्यक्रिया सेवामा खटिएका प्राध्यापक डाक्टर शरद पोख्रेल र सानुमाया मगरलगायत अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हो ।
घटनामा रामेछापको गोकुलगंगा गाउँपालिका-६ का २१ वर्षीय रामचन्द्र खड्का संलग्न भएको अस्पतालले जनाएको छ । उनलाई हदैसम्मको कारबाही गर्न निर्देशक पौडेलले माग गरेका छन् ।
२६ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरेको छ ।
आगामी फागुन १९, २० र २१ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको पार्टीको बैठकका एजेन्डा तय गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ ।
बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक कार्ययोजनालगायतका एजेन्डामा बैठक केन्द्रित हुने भएको छ ।
२६ माघ, काठमाडौं । एसियन एम्प्युटी फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा शनिबार उज्बेकिस्तानसँग खेल्दै छ । बंगलादेशको ढाकामा एसियन एम्प्युटी फुटबल च्याम्पियनसिप २०२५ शुक्रबार देखि सुरु भएको हो ।
दोस्रो खेल नेपालले बंगलादेशसँग माघ २७ गते बिहान ११ः३० बजे, तेस्रो खेल माघ २८ गते दिउँसो ३ बजे इराकसँग र अन्तिम खेल २९ गते दिउँसो ३ बजे इन्डोनेसियासँग खेल्ने छ ।
एम्प्युटी फुटबल शारीरिक अपाङ्गता (एउटा खुट्टा नभएका र एउटा हात नभएका ) खेलाडीहरूले खेल्ने खेल हो । एम्प्युटी खेलकुद समाज नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको छ ।
‘यो नेपालका लागि एक इतिहास नै हो’ एम्पुटी खेलकुद समाज नेपालका निवर्तमान अध्यक्ष एवं टिम व्यवस्थापक मदनमान सिंह रोकायाले बताए ।
नेपाल पनि बलियो रहेको हुँदा नतिजा राम्रो ल्याउने रणनीति बनाई त्यही अनुसार टिमको सेट तयारी गर्ने प्रशिक्षक चक्रबहादुर तामाङले बताए ।
फेब्रुअरी ७ देखि १२ तारिखसम्म बंगलादेशको ढाकामा रहेको बसुन्धरा रंगशालामा आयोजना हुने प्रतियोगितामा सहभागी हुन १३ पुरूष खेलाडी ७ अफिसियल सहित २० सदस्यीय नेपाली टोली माघ २२ गते गएको थियो ।
नेपाल टिमका खेलाडीमा डिल्लीबहादुर विष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुंगाना, सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता, लक्ष्मीप्रसाद अधिकारी, सुदीप चापागाईं, राज पौडेल र प्रकाश सिंह रहेका छन् । नेपाल टिमको क्याप्टेनको जिम्मेवारी डिल्ली बहादुर बिष्टले समाल्ने छन् ।
प्रशिक्षकमा चक्रबहादुर तामाङ, व्यवस्थापकमा मदनमान सिंह रोकाया तथा अफिसियलमा कल्पना खड्का, श्यामबहादुर रावल, प्रकाश चिलुवाल, सुरेश थापा र विपिन पौडेल छन् ।
इन्डोनेसिया र उज्बेकिस्तानबीच भएको प्रतिस्पर्धात्मक खेलमा उज्बेकिस्तान ८–१ गोलको फराकिलो गोलअन्तरले विजयी भयो ।
काठमाडौं । ‘वर्ल्ड अफ डान्स नेपाल’को भव्य फिनाले समारोह सम्पन्न भएको छ । विश्वप्रसिद्ध अमेरिकी फ्रेन्चाइजको नेपाली संस्करणमा उपाधिका लागि ३३ समूहले प्रतिस्पर्धा गरेका थिए ।
‘अपर टिम’तर्फ बुटवलको द ब्रेभ गोरखा विजेता बन्यो । यो विधामा काठमाण्डूको ग्रुभ ओभरडोज फस्ट रनरअप र ललितपुरको वाई स्ट्यांड क्रू सेकेन्ड रनरअप घोषित भए
‘जूनियर टिम’तर्फ काठमाण्डौंको नेपा डान्स एकाडेमी पहिलो, मोरङको ह्यान्ड टु ह्यान्ड क्रू दोस्रो र ललितपुरको क्रिएटर क्रू तेस्रो बने ।
अपर डिभिजनतर्फ कैलालीको बब्लू एण्ड रोहित पहिलो, काठमाडौंका स्वस्तिक अर्याल दोस्रो र झापाको एसएनएस क्विन्स तेस्रो भए । विजेताले जुलाईमा अमेरिकामा आयोजना हुने विश्व प्रतिस्पर्धामा मुलुकको प्रतिनिधित्व गर्नेछन् ।
स्वदेशी नृत्यकारलाई विश्वसामु परिचित गराउने र नेपाली कलासंस्कृति उजागर गर्नको निम्ति कार्यक्रम आयोजना गरिएको शोका राष्ट्रिय निर्देशक रोशन गहतराजले बताए ।
कन्टेम्पोररी नृत्यकार जेडी तमु, एभरेस्ट क्रूका निशान्त गौचन र पपर मुकेश ढकाल जुरीको रुपमा थिए । सुस्ताएको नेपाली नृत्य क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिता नयाँ सुरुवात भएको शोका कला निर्देशक समेत रहेका तमुले बताए ।
समारोहमा काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल प्रमुख अतिथिको रुपमा थिइन् । उनले विजेतालाई पुरस्कार प्रदान गरिन् । मण्डला इन्टरटेनमेन्टकोे आयोजनामा भएको कार्यक्रममा भारतको चर्चित डान्स रियालिटी शो ‘डान्स इण्डिया डान्स’, लिटलमास्टर, झलक दिखलाजाका विजेता तेरिया मगर, भ्वाइस अफ नेपालका होस्ट सुशील नेपाल लगायत उपस्थित थिए ।
२५ माघ, दाङ । केही वर्षअघिसम्म हिउँदमा सुक्खा देखिने यहाँको घोराही उपमहानगरपालिकाका खेतबारी अहिले हरियाली देखिन्छन् । स्थानीय तहले पानीको स्रोत संरक्षण गर्दै सिँचाइ सुविधाका लागि कृत्रिम जलाशय निर्माण गरेपछि हरियाली खेतबारी हरियाली हुन थालेको हो ।
‘एक वडा, एक जलाशय’ अभियानअन्तर्गत प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा हालसम्म ४३ वटा जलाशय निर्माण भइसकेका छन् । घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाहीमा ठूलो कृत्रिम जलाशय निर्माण गरिएको छ ।
प्रदेश सरकारको रु ४५ लाख, स्थानीय सरकारको रु ५० लाख र उपभोक्ताको रु ५ लाख गरी जम्मा रु एक करोडमा उक्त जलाशय निर्माण गरिएको हो । एक बिघाभन्दा धेरै क्षेत्रफलमा फैलिएको कृत्रिम जलाशय निर्माण गर्नुपूर्व सानो खोल्साका रुपमा रहेको सो सिमसार क्षेत्र हाल विशाल जलाशय बनेको छ ।
जलाशयबाट सिँचाइको व्यवस्था गरेपछि सो क्षेत्रमा पानीको समस्या हटेको स्थानीयको भनाइ छ । पानीको सुविधा भएपछि तीन वर्षदेखि व्यावसायिक तरकारीखेती सुरु गरेको स्थानीय रिता चौधरीले बताइन् ।
श्रीमान्को मृत्युपछि आम्दानीको स्रोत नभएकी उहाँलाई हिजोआज जिविका चलाउन समस्या छैन । मासिक रु १० देखि १५ हजार तरकारी बिक्रीबाट आम्दानी लिने गरेको उनले बताइन् ।
‘जलाशय निर्माण हुनु पहिले पिउने पानीकै समस्या थियो खेती गर्ने त कल्पना मै थिएन । जलाशय बनेपछि व्यावसायिक तरकारीखेती सुरु गरेँ।’
‘जमिन र समयको सदुपयोग भएको छ, आम्दानी पनि भएको छ’, उनले भनिन्, ‘जलाशयको पानीले सिँचाइ हुने भएपछि बाह्रै महिना तरकारी खेतीमार्फत आम्दानी गरिरहेकी छु ।’
कर्जाही आसपासका ९५ बिघाभन्दा धेरै जमिनमा जलाशयको पानीमार्फत सिँचाइ पुगेको छ । घोराही उपमहानगरपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नम्बर १ र २ को सीमाक्षेत्र सुर्केडाँगीमा (चेपे ताल)मा तीन वर्षअघि सात बिघा क्षेत्रफलमा कृत्रिम जलाशय निर्माण गरेको थियो । उक्त जलाशय निर्माणपश्चात् खेती गर्न सहज भएको स्थानीय जुगानी चौधरीको भनाइ छ ।
‘जलाशय निर्माण हुनु पहिले पिउने पानीकै समस्या थियो खेती गर्ने त कल्पना मै थिएन । जलाशय बनेपछि व्यावसायिक तरकारीखेती सुरु गरेँ’, उनले भने, ‘तरकारी बिक्री गरेर मासिक रु १५ देखि २० हजार आम्दानी गरिरहेकी छु।’
जलाशय संरक्षण समितिका अध्यक्ष एवं वडा नं १ का अध्यक्ष राममणि पाण्डेले भने, ‘जलाशय ठूलो छ, पानी पनि प्रशस्त छ । सिँचाइ गरेर स्थानीयले आम्दानी गरेका छन् ।’ दुई बाली खेती हुने जमिनमा अहिले तीन बाली खेती हुन थालेको छ। पशुचौपाया, वन्यजन्तु, चराचुरुङ्गीको बासस्थान सुरक्षित गर्न र सिँचाइका लागि कृत्रिम जलाशय निर्माण गरिएको उनले बताए ।
नगरलाई सुक्खा हुनबाट बचाउन जलाशय निर्माण प्रभावकारी बनेको घोराही उपमहानगरका नगरप्रमुख नरुलाल चौधरी बताउँछन् । उनले नगरमा पानीका स्रोत बचाउन पानी सङ्कलन केन्द्रमार्फत ‘रिचार्ज’ गरिएको बताए ।
‘पानीको अभावलाई कम गर्न र जनतालाई प्रत्यक्ष आम्दानीमा जोड्न कृत्रिम जलाशय निर्माण गरेका हौँ’, उनले भने, ‘जलाशयले कृषिसँगै जमिन र पारिस्थितिक प्रणालीमा पनि सन्तुलन ल्याउने अपेक्षा छ।’
२५ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालयका संस्थापक हुन्, प्रा.डा. सुरेशराज शर्मा । ६ कार्यकाल अर्थात् २० वर्ष उपकुलपति भएर उनले केयूलाई उत्कृष्ट विश्वविद्यालय बनाए ।
सन् १९९१ मा स्थापना भएको विश्वविद्यालय अहिले उनकै ‘लिगेसी’ले चलिरहेको छ ।
उपकुलपतिबाट बाहिरिएपछि पनि अब बन्ने नयाँ उपकुलपति छनोट समितिमा उनै छन् । उनैले उपकुलपतिको नाम सिफारिस गरिरहेका छन् ।
केयूमा शर्मालाई सबैले अभिभावक मान्छन् । तर यसपटकको उपकुलपति छनोटमा उनको अति सक्रियताले केयूका प्राध्यापकहरू प्रश्न गर्न थालेका छन् ।
‘१९९१ मा जसरी स्थापना भयो । २०२५ मा आइपुग्दा पनि त्यो सोचमा परिवर्तन भएको छैन । त्यतिबेला गुणस्तरीय शिक्षाको परिकल्पना गरेर सुरेश सरको नेतृत्वमा एउटा समूहले गर्यो,’ केयूका प्रा.डा मनप्रसाद वाग्ले गुनासो राख्दै सुनाउँछन्, ‘एकदमै मान्नुपर्ने कुरा छ । ठूलै विश्वविद्यालय बन्यो । तर आज २०२५ मा आइपुग्दा पनि लिगेसीमा परिवर्तन भएन ।’
प्रा.डा. वाग्ले अब संस्थापक उपकुलपति शर्माको लिगेसीमा परिवर्तन आवश्यक देख्छन् । छैटौंपटक उपकुलपति हुँदा तत्कालीन कुलपति बाबुराम भट्टराईले हटाएपछि प्रत्येक उपकुलपति छनोट समितिमा प्राडा शर्मा रहेका कारण उनको लिगेसी कायम रहेको निष्कर्ष उनको छ ।
‘छैटौंपटक पनि उपकुलपतिमा सुरेश सर नियुक्त हुनुभएको छ । तर एक वर्षमा नै कुलपति बाबुराम भट्टराई आउनुभयो । उहाँले हटाएको हो । राजीनामा दिन बाध्य पारिएको हो,’ प्रा.डा. वाग्ले थप्छन्, ‘सुरेश सर उपकुलपतिबाट बाहिरिएपछि प्रत्येक छनोट समितिमा रहनुभयो । १९९१ को लिगेसी अहिलेसम्म छ । लिगेसी परिवर्तन भएन भने केयूमाथि उठ्न सक्दैन ।’
लिगेसीमा परिवर्तन नगर्ने हो भने अरु विश्वविद्यालय जस्तै बन्ने तर्क प्रा.डा. वाग्लेको छ । ‘मेरो केयूमा १८ वर्षको अनुभवले भन्छ– लिगेसी परिवर्तन नगर्ने हो भने अरु विश्वविद्यालय जस्तै हुन्छ,’ उनले भने ।
केयूका कामु उपकुलपति प्रा.डा. अच्युत वाग्ले पनि विगतका १२ वर्षसम्म नेतृत्व संकटमा आएको बताउँछन् ।
बिहीबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमै उनले भनेका छन्, ‘सुरेशराज सर र सिताराम सरले छोडेपछि उपकुलपति र रजिस्ट्रारको कहीँ न कहीँ बेमेल भइरह्यो । असमझदारी, स्वार्थको टकराव, घमण्डको टकराव भयो ।’
उनले अझै यसलाई प्रष्ट पार्दै भनेका छन्, ‘लिडर थिए तर लिडरसिप दिन सकेनन् ।’
केयूका प्रा.डा. बालचन्द्र लुँइटेल, अच्युत वाग्ले र मनप्रसाद वाग्ले ।
सार्वजनिक कार्यक्रममा मात्रै होइन । अनौपचारिक कुराकानीमा पनि केयूका प्राध्यापकहरू भन्न थालेका छन्, ‘सुरेश सरलाई अहिले पनि विश्वविद्यालय आफ्नै निजी हो भन्ने लाग्छ ।’
केयूकै अर्का एक प्राध्यापकको टिप्पणी छ, ‘हरेक निर्णयमा सुरेश सर नै हाबी बन्नुहुन्छ ।’
ती प्राध्यापकले गरेको टिप्पणी र पछिल्लो उपकुलपति छनोटमा देखिएको शर्माको अति सक्रियताले पनि शर्मामाथि प्रश्न उठ्नु स्वाभाविक देखिन्छ ।
गत ६ माघमा प्रा.डा. भोला थापाको कार्यका सकिँदै थियो । केयूको सभाले प्रा.डा. शर्माको संयोजकत्वमा सिफारिस समिति गठन गर्यो । समितिले १८ पुसमा उपकुलपतिका लागि खुला आह्वान गर्यो ।
र, उपकुलपति छनोट कार्यविधिमा पनि उनी हाबी भए । आफू अनुकूलको कार्यविधि बनाएको केयूका प्राध्यापकहरूको आरोप छ । केयूको मेडिकल संकायलाई नसमेट्नेगरी कार्यविधि बनाएपछि डाक्टरहरू सर्वोच्च अदालतदेखि प्रधानमन्त्री एवं कुलपति केपी ओलीसम्मलाई गुहार माग्न पुग्ने स्थिति बन्यो ।
अन्ततः कुलपतिको निर्देशनपछि कार्यविधि परिवर्तन गरेर १८ माघमा पुनः दोस्रो पटक आवेदन माग गरियो । ‘सुरेश सरको हठले गर्दा यस्तो भएका हो,’ उपकुलपतिका लागि आवेदन दिएका अधिकांश उम्मेद्वारहरू भन्छन् ।
यतिसम्म कि सिफारिस समितिका संयोजक शर्माले प्रा.डा. भोला थापालाई नै कामु उपकुलपति तोक्न कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेको पत्र बाहिरियो ।
यसपछि झन् उपकुलपतिका उम्मेद्वारहरू सशंकित बने । र, उपकुलपतिका ७ उम्मेद्वारले कुलपतिलाई नै ध्यानकर्षण पत्र बुझाए । उपकुलपतिका लागि संयोजक शर्माका भान्जाहरूको पनि आवेदन पर्नुले थप प्रश्नैप्रश्न उठे ।
‘सिफारिस समितिले आफैँले जारी गरेको कार्यविधि अनुसार नै सुम्पिएको कार्य गर्ने सन्दर्भमा उक्त समितिका संयोजकका दुई जना भान्जाहरू आवेदक भइरहँदा पनि प्रारम्भिक आवेदनको छनोटमा उहाँहरू पर्नुबाट समितिले कार्यविधिका परिधिमा रही कार्य सम्पन्न गरेको देखिएन,’ ७ उपकुलपतिका उम्मेद्वारले कुलपतिलाई लेखिएको पत्रमा भनिएको छ ।
समिति संयोजक शर्माका भन्जा प्रा.डा. नवीन पोखरेल र प्रा.डा. मनीष पोखरेलले पनि उपकुलपतिका लागि आवेदन दिएका छन् ।
पहिलो कार्यविधिमा समितिका कुनै सदस्य वा समितिबाट गठित उपसमिति वा कुनै विज्ञका नजिकका नातेदारले उपकुलपतिको पदमा दरखास्त पेश गरेको अवस्थामा त्यस्तो सदस्य वा विज्ञ मूल्यांकन प्रक्रियामा सहभागी नहुने भनिएको थियो ।
काठमाडौं विश्वविद्यालय
यो विषयमा धेरै प्रश्न उठेपछि संयोजक शर्माले आफू अनुकूलको कार्यविधि संशोधन गरे । संशोधन गरिएको कार्यविधिमा नजिकका नातेदारको मूल्यांकन प्रक्रियामा सहभागी नहुने उल्लेख छ । र, अरु उम्मेद्वारको मूल्यांकनमा सहभागी हुनेगरी कार्यविधि संशोधन गरिएको छ । यसमा पनि उपकुलपतिका उम्मेद्वारहरूले असन्तुष्टि जनाएका छन् ।
उपकुलपति छनोटमा आपत्ति जनाउँदै स्कुल अफ एजुकेसनका डिन बालचन्द्र लुईंटेलले प्रश्न राखेका छन् । ‘व्यक्ति को आउँछ को बन्छ गौण कुरा हो । गर्न सक्ने आओस् । लिगेसीमा परिवर्तन गर्नुपर्छ,’ उनले बिहीबार पत्रकार सम्मेलनमा भने ।
‘नजिकका नातेदारकोको मूल्यांकनमा नबस्ने । अरु उम्मेद्वारकोमा बसेर कम अंक दिइयो भने के हुन्छ ? स्वार्थको द्वन्द्व हुन्छ । यसमा पुनरावलोकन हुनुपर्छ,’ उपकुलपतिका दौडमा रहेका प्राध्यापकहरूको एकै स्वर छ ।
कुलपतिलाई स्मरण गराएको पत्रमा संयोजक शर्मा अनधिकृत रुपमा प्रवेश गरेको आरोप लगाइएको छ ।
‘विश्वविद्यालयको विधिविधानले स्पष्ट गरेको प्रावधानमा अनधिकृत प्रवेश गरी अन्यथा सिफारिस गर्ने संयोजकले निष्पक्षता र पारदर्शिता कायम गरेर विश्वविद्यालयको हितमा हुनेगरी उपकुलपतिको नाम सिफारिस गर्ने आधार देखिएन,’ ध्यानकर्षणपत्रमा भनिएको छ ।
समितिमा संयोजक शर्माको नेतृत्वमा सदस्य डा. अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल छन् ।
विवादका बीच पनि समितिले उपकुलपतिका लागि २० जनाको आवेदन स्वीकृत गरेको छ । पहिलो पटक पुस १८ मा आवेदन माग गर्दा १७ जनाको आवेदन परेकोमा १६ जनाको स्वीकृत भएको थियो ।
तर, केयूका मेडिकल संकायकाले कार्यविधिका कारण आवेदन दिन नपाएपछि १८ माघमा दोस्रो पटक आवेदन माग गर्दा ४ जनाको स्वीकृत भएको हो ।
अब उम्मेदवारहरूले अन्तर्वार्तासँगै आफ्नो सोचपत्र पनि प्रस्तुत गर्नेछन् ।
सबै मूल्यांकन गरेपछि छनोट समितिले कुलपतिलाई ३ जनाको नाम सिफारिस गर्नेछ । त्यसमबाट एक जनालाई कुलपतिले उपकुलपतिमा नियुक्त गर्ने छन् ।
२५ माघ, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले नेपाली कांग्रेसका नेता मीन विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् ।
कांग्रेसका प्रचार विभाग प्रमुख समेत रहेका विश्वकर्माविरुद्ध साम्पाङले आयोगको इटहरीस्थित कार्यालयमा उजुरी हालेका हुन् । उजुरीमा उनले विश्वकर्माले २१ करोड रुपैयाँको हिसाब किताब देखाउनुपर्ने समेत माग गरेका छन् ।
विश्वकर्माले एक टीभी अन्तर्वार्तामा एडीबीबाट ऋण र अनुदानमार्फत १ अर्ब ५० करोड रुपैयाँ ल्याएर धरानमा खानेपानी योजना सञ्चालन गरेको बताए पनि उपमहानरको लेखा शाखाले १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्रै खर्च गरेको साम्पाङको उजुरीमा छ ।
बाँकी २१ करोड ९३ लाख २४ हजार ३७९ रुपैयाँ के, कसरी, कहाँ खर्च भयो त्यसको हिसाब विश्वकर्माले दिनुपर्ने साम्पाङको माग छ । हिसाब नदेखाएमा कानुन बमोजिम कारबाही गर्न भन्दै उनले अख्तियारमा उजुरी दिएका हुन् ।
२५ माघ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले पनि देश विकास गर्न नसके कहिले पनि नहुने चासो र चिन्ता नागरिकमा रहेको बताएकी छिन् ।
शुक्रबार अरुणोदय माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले विगतमा तीन/तीन महिनामा सरकार परिवर्तन हुने समस्या भएकोमा अहिलेको सरकारलाई शुभकामना दिनुपर्ने बताइन् ।
‘अहिले अनुकुल समय पनि छ । सरकार पनि स्थायी भएर चलिरहेको छ । नत्र यहाँ त हामीलाई समस्या, तीन/तीन महिनामा सरकार फेरिएर एउटा काम गर्न खोज्यो कहिले पनि पाइला नै अगाडि नसर्ने परिस्थिति थियो,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘अहिले दुई वटा ठूला राजनीतिक दलहरू मिलेर त्यसलाई स्थायित्व दिने, आर्थिक प्रगति गर्ने भनेर लागिरहनुभएको छ । मेरो त उहाँहरूलाई शुभकामना छ । अब पनि गर्न सकिएन भने के उपाय गर्ने भन्ने चासो जनताको बीचमा पनि छ ।’
साथै, उनले शिक्षा राष्ट्र निर्माणको मुल खम्बा हुनुपर्नेमा त्यसो हुन नसकिरहेको पनि बताइन् ।
अब कस्तो विकासको नमुना प्रस्तुत गर्ने ? भन्नेमा सोच्न जरुरी रहेको बताउँदै उनले देशमै परिवारसँग बसेर केही गरौँ भन्ने स्थिति निर्माण गर्न जरुरी रहेको बताइन् ।
‘शिक्षा क्षेत्र बरालिएको हो की भन्ने अनुभव मैले गरेको छु । जसरी शिक्षा एउटा राष्ट्र निर्माणको मुल खम्बा भएर त्यसबाट राज्यका विभिन्न अंगहरू बलियो भएर र भावी पुस्तालाई जस्तो खालको हामीले योगदान दिनुपर्ने हो त्यो हुन सकेको छैन,’ भट्टराईले भनिन् ।
२५ माघ, काठमाडौं । तीन वटा ठगी कसुरका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–११ का २६ वर्षीय सुवास चालिसे छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीविरुद्ध तीन वटा ठगीका उजुरी रहेको छ ।
प्रहरीका अनुसार उनीविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा ३ लाख ६१ हजार, परिसर काठमाडौंमा २ लाख ७५ हजार र वैदेशिक रोजगारसम्बन्धी कसुरमा ८६ हजार ठगीको उजुरी रहेको छ ।
२५ माघ, काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुलले ११औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार दोहोरो जित हात पारेको छ । एक्सेल्सियरको सिनियर ब्वाइज/गर्ल्स दुवै टोली जित हात पार्न सफल भए ।
सिनियर ब्वाइजमा एक्सेल्सियरले रेडियन्ट रिडर्सलाई ४२–२१ ले पराजित गर्यो । एक्सेल्सियरका छिरिङ गुरुङले २० अंक जोडे । सिनियर गर्ल्समा एक्सेल्सियर ‘रातो’ ले श्री नवीन ज्योतिलाई १३–२ ले हरायो । एक्सेल्सियर ‘रातो’ की अकिना घिमिरेले ४ अंक जोडिन् ।
सिनियर ब्वाइजको अन्य प्रतिस्पर्धामा पिपुल्स एकेडेमीले श्री नवीन ज्योतिलाई ६–२, स्वर्णिमले संस्कृति इन्टरनेशनल स्कुललाई ४१–१३ र निःसर्ग वाटिकाले न्यु जेनिथलाई २१–१५ ले हराए । पिपुल्सका आयुशले ४, स्वर्णिमका प्रतीक महर्जनले १८ र निःसर्ग वाटिकाका अर्नव खत्रीले ७ स्कोर गरे ।
गर्ल्समा स्वर्णिमले एक्सेल्सियर ‘नीलो’ लाई १५–४ तथा रेडियन्ट पब्लिकले राई स्कुललाई १९–४ ले पाखा लगाए । स्वर्णिमकी नितिशा महर्जनले ४ तथा रेडियन्ट पब्लिककी सिना खनालले ६ अंक बटुले ।
त्यस्तै ब्वाइज फुटसलको यू–९ मा विद्यावाणीले काभ्यालाई २–०, काभ्याले ग्यालेक्सी पब्लिक स्कुललाई ६–१ र एक्सेल्सियरले ग्यालेक्सीलाई ६–० गोलले पराजित गरे । यू–११ मा काभ्याले राई स्कुललाई १–० गोलले हरायो ।
यू–१४ मा एक्सेल्सियरले मेगसलाई २–०, इम्पेरियल वल्र्डले ग्यालेक्सीलाई १–० र एक्सेल्सियरले होली भिजनलाई ५–० गोलले पाखा लगाए । काभ्या र मेगसले गोलरहित बराबरी खेले । यू–१६ मा ग्यालेक्सीले स्वस्तिश्रीलाई २–० गोलले पन्छायो ।
२५ माघ, काठमाडौं । झापाबाट काठमाडौं आउने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ मा दुर्घटनामा परेको ईभी गाडीमा सवार घाइतेमध्ये एक जनालाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) गोविन्द काफ्लेका अनुसार घाइते भएका ५ जनामध्ये एक जनालाई काठमाडौं र अर्को एक जनालाई धरान रिफर गरिएको छ ।
काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–५ का सञ्जय रोक्कालाई थप उपचारका लागि काठमाडौं लाने तयारी भइरहेको एसपी काफ्लेले बताए ।
त्यस्तै, इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङलाई धरान रेफर गरिएको छ । उनलाई पनि अस्पतालतर्फ पठाउने तयारी भइरहेको छ ।
अन्य तीन जना घाइतेको सिन्धुली अस्पतालमै उपचार भइरहेको छ ।
मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बू, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी र झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डलको
सिन्धुली अस्पतालमा उपचार भइरहेको एसपी काफ्लेले बताए ।
‘अरु तीन जनाकै उपचार जारी छ । चिकित्सकहरूले अहिले उहाँहरूको यहीँ उपचार हुन्छ भन्नुभएको छ,’ काफ्लेले अनलाइनखबरसँग भने ।
शुक्रबार बिहान बागमती प्रदेश ०१ ०३० च ९६४२ नम्बरको ईभी गाडी अनियन्त्रित भएर बीपी राजमार्गभन्दा ४ सय मिटर तल खसेको थियो ।
सो दुर्घटनामा परेर दोलखाको कालिञ्चोक गाउँपालिका–२ धारापानीका अन्दाजी २०/२२ वर्षीय सुशान्त नेपाली रहेको प्रहरीले जनाएको छ ।
‘उहाँका आफन्तहरू आइपुग्नुभएको छैन,’ एसपी काफ्लेले भने, ‘बिहान ७ बजे मृत घोषणा गरिएको हो । आफन्तहरू आएपछि प्रक्रिया पूरा गरेर शव हस्तान्तरण गर्छौं ।’
२५ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा २५ करोड रुपैयाँ बराबर रकम निक्षेपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले शुक्रबार सूचना जारी गरी उक्त परिमाण बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।
केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम निक्षेपमा लगानी गरिने छ ।
वाणिज्य बैंकमा २० करोड, विकास बैंकमा ३ करोड ७५ लाख र वित्त कम्पनीमा १ करोड २५ लाख निक्षेपमा लगानी गरिने छ ।
६ फागुन २०८१ देखि ६ फागुन २०८२ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा २५ करोड रुपैयाँ लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा/निक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने सर्त राष्ट्र बैंकको छ ।
त्यसैगरी निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिबाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि सर्त छ ।
त्यस्तै राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने भएको भए फुकेवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ ।