Category Archives: नेपाल समाचार

सञ्चारमन्त्रीले भने- ज्ञानेन्द्रलाई राजा बनाउनु सर्पको बच्चा पाल्नुजस्तै


सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्रको मृत्यु भएको दिन नै राजतन्त्रको अन्त्य भइसकेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित हुलाक टिकट प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले वीरेन्द्र र दीपेन्द्रको निधनपछि ज्ञानेन्द्रलाई राजा बनाउनु नेपाली नेताहरूको ठूलो गल्ती भएको टिप्पणी गरे।

‘भइरहेको राजालाई दरबारबाटै मारियो, त्यसपछि हुने युवराज पनि मारियो। राजतन्त्र त्यही दिन सकिएको थियो। जनताले होइन, दरबार आफैंले राजतन्त्र समाप्त गर्‍यो,’ मन्त्री गुरुङले भने।

ज्ञानेन्द्रलाई राजा बनाउनु ‘सर्पको बच्चा पाल्नुजस्तै’ भएको उनले टिप्पणी गरे। ‘नभएको राजालाई बनाएर सबै खाइदियो। अन्ततः जनताले आन्दोलन गरे, राजतन्त्र परास्त भयो। अब राजालाई बोकेर देश विकास हुँदैन,’ उनले थपे।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि राजतन्त्र खोज्नु ‘बिजुलीको साटो अगुल्टो खोजे सरह’ भएको उनले बताए।

उनले राष्ट्रवादीको नाममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको फोटो ल्याउनेहरू राष्ट्रवादी कसरी हुन सक्छन् ? भन्दै प्रश्न गरे।

प्रकाशित: २७ फाल्गुन २०८१ १९:०३ मंगलबार





Source link

स्वास्थ्य विभागको महानिर्देशक बन्दै डा. टंक बाराकोटी


२७ फागुन, काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा अतिरिक्त सचिव डा. टंक बाराकोटीलाई नियुक्त गर्ने तयारी गरेका छन् ।

तत्कालीन महानिर्देशक डा. विकास देवकोटालाई सरकारले बिहिवार स्वास्थ्य सचिवमा बढुवा गरेसँगै विभागको महानिर्देशक पद रिक्त छ । मन्त्री पौडेलले डा. बाराकोटीलाई जिम्मेवारी दिन लागेको मन्त्रालय स्रोतले जानकारी दियो ।

बाराकोटीलाई महानिर्देशक बनाउने टिप्पणी तय भएर मन्त्री पौडेलकोमा पुगेको छ ।

‘डा. बाराकोटीलाई नै बनाउने भनेर टिप्पणी उठेको छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘सायद भोलि नै निर्णय हुने देखिन्छ ।’

लोकसेवा आयोगले अतिरिक्त सचिव डा संगिता मिश्रा, डा बाराकोटी र डा. देवकोटालाई सचिवका लागि सिफारिस गरेका थियो ।

डा. देवकोटा सचिव भएकोमा डा. मिश्राले असन्तुष्टि जनाउँदै मन्त्रालयमा हाजिर गरेकी छैनन् । मन्त्री पौडेलले बाराकोटीलाई सचिव पछिको दोस्रो शक्तिशाली पद महानिर्देशकको जिम्मेवारी दिन लागेका हुन् ।

अहिलेसम्म नियुक्ती पत्र भने नपाएको डा. बाराकोटीले बताए । ‘फाइल अगाडी बढेको मन्त्रालयमा सुनेको हो । तर अहिलेसम्म नियुक्तिपत्र भने पाएको छैन,’ डा. बाराकोटीले अनलाइनखबरसँग भने ।

डा. बाराकोटी पनि मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक समेत भएका छन् ।

लामो समय मेची अस्पतालमा काम गरेका डाक्टर टंक १२औं तह बढुवा भएपछि मात्र मन्त्रालयमा आएका हुन् ।





Source link

दुर्घटनामा एकको मृत्य, दुई घाइते


पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७  रमनटारमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

चितवनबाट मनहरीतर्फ आउँदै गरेको ग११प ९६२८ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फबाट आउँदै गरेको बा प्र ०३–००१ क ०८२७ नम्बरको खाली मिक्सर ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार बाराको कोल्बी नगरपालिका–५ निवासी ३४ वर्षीया सरितादेवी चौधरीको मृत्यु भएको छ।  

दुर्घटनामा परी गम्भीर घाइते सरितालाई उपचारको लागि हेटौँडा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। 

सोही दुर्घटनामा परेर घाइते मोटरसाइकल चालक मृतक सरिताका श्रीमान् ३५ वर्षीय शिवकुमार चौधरी र चौधरीको साढुभाइको छोरा ५ वर्षीय अंशकुमार चौधरीको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  

मोटरसाइकललाई दिने मिक्सर ट्रक र  ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे निवासी ४९ वर्षीय धनबहादुर सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए। रासस

प्रकाशित: २७ फाल्गुन २०८१ १९:१० मंगलबार





Source link

जनकपुरमा कलभर्टमुनि भेटियो पुरुषको शव – Online Khabar


२७ फागुन, जनकपुरधाम । जनकपुरमा कलभर्टमुनि एक पुरुषको शव फेला परेको छ ।

हुलाकी राजमार्ग अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका–१८ भोइलस्थित सडक कल्भर्टमुनि अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।

शव सडेगलेको अवस्थामा मंगलबार दिउँसो फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार घटनास्थलबाट केही शंकास्पद सामानहरू पनि बरामद भएको छ ।

शवको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका प्रहरीको छ ।

घटनास्थलबाट मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सिंहले बताए ।





Source link

उपभोक्ता अदालत चैत २ गतेदेखि सञ्चालनमा आउने


उपभोक्ता अदालत आगामी चैत २ गतेदेखि सञ्चालनमा आउने भएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले मंगलबार प्रतिनिधिसभा बैठकमा उपभोक्ता अदालत गठनसम्बन्धी सूचना टेबुल गर्दै चैत २ गतेदेखि अदालत सञ्चालनमा आउने जानकारी दिए।

उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्थाअनुसार यो अदालत गठन भएको हो। सरकारले काठमाडौं उपत्यका मुकाम रहने गरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्रका उपभोक्तासम्बन्धी मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन थियो छ।

उपभोक्ता अदालतमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालाई अध्यक्षको जिम्मेवारी दिइएको छ। त्यस्तै, न्याय समूहअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत गेहेन्द्रराज रेग्मी र सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत आनन्दराज पोखरेललाई सदस्य तोकिएको छ।‍

प्रकाशित: २७ फाल्गुन २०८१ १९:१० मंगलबार





Source link

भारत भित्रियो मस्कको स्पेसएक्स, उच्च गतिको इन्टरनेटका लागि एयरटेलसँग सम्झौता


२७ फागुन, काठमाडौं । एलन मस्कको कम्पनी स्पेसएक्स र एयरटेलले भारतमा उच्च गतिको इन्टरनेट सेवा ल्याउने उद्देश्यले सम्झौता गरेका छन्।

एयरटेलले आफ्ना सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत यसबारे जानकारी सार्वजनिक गरेको छ।

एयरटेलको आधिकारिक भनाइअनुसार, ‘एयरटेलले स्पेसएक्ससँग सम्झौता गरेको छ, जसअनुसार भारतका ग्राहकहरूका लागि स्टारलिंकको उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराइनेछ।’

एयरटेलले भनेको छ, ‘यो भारतमा भएको पहिलो सम्झौता हो, तर यसको कार्यान्वयन स्पेसएक्सलाई भारतमा स्टारलिंक सेवा सञ्चालन गर्न आवश्यक अनुमति प्राप्त भएपछि मात्र हुनेछ।’

सम्झौताअनुसार, एयरटेल र स्पेसएक्सको सहकार्यमा स्टारलिंक सेवाले एयरटेलको इन्टरनेट सेवालाई कसरी थप प्रभावकारी बनाउन सक्छ भन्ने मूल्याङ्कन गर्नेछन्।

साथै, एयरटेलको भारतीय बजारसम्बन्धी अनुभवको सहायताले स्पेसएक्सका सेवाहरूलाई अझ प्रभावकारी बनाइने पनि सम्झौतामा उल्लेख छ ।

सम्झौतामा विद्यालय, स्वास्थ्य केन्द्र र दुर्गम क्षेत्रहरूमा इन्टरनेट जडान विस्तार गर्ने लक्ष्य पनि समेटिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वासिङ्गटनमा मस्कसँग भेटवार्ता गरेको केही हप्तापछि यो सम्झौता भएको हो ।





Source link

विराट गोल्डकप: उपाधिका लागि भिड्दै चर्च ब्वाइज र थ्रीस्टार


विराटनगरमा जारी ९ औं विराट गोल्डकपको उपाधि भिडन्तमा बुधबार काठमाडौंका दुई ठूला क्लब चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब आमनेसामने हुने भएका छन्।

विराट गोल्डकप ट्रष्टद्वारा आयोजित प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यसहित दुवै टोली मैदानमा उत्रनेछन्। मंगलबार विराटनगरमा आयोजित प्रि-म्याच कन्फ्रेन्समा दुवै क्लबका प्रशिक्षक र कप्तानले उपाधि जित्ने दाबी गरे।

चर्च ब्वाइज हालै सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन टोली हो भने थ्रीस्टार विराट गोल्डकपको ५ औं संस्करणको विजेता हो। चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको फाइनल पुगेको टोली हो भने थ्रीस्टार उपाधि जित्दै प्रतियोगिताको इतिहासमा दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ।

थ्रीस्टारले सेमिफाइनलमा त्रिभुवन आर्मीलाई ३–२ र क्वार्टरफाइनलमा मच्छिन्द्रलाई २–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। चर्च ब्वाइजले एनआरटीलाई २–० र नेपाल पुलिसलाई १–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेको छ।

यो सिजन चर्च ब्वाइजले ९ वटा प्रतियोगितामा ८ पटक फाइनल यात्रा गरेको छ। जसमा फिदिम फाल्गुनन्द, झापा कप र बागमती गोल्डकप जितिसकेको छ।

चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले सुरुदेखि नै उपाधि जित्ने लक्ष्यसाथ अघि बढेको बताउँदै, ‘यो गोल्डकपसहित यो सिजन चौथो उपाधि जित्ने,’ योजन रहेको सुनाए।

चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकीले घरेलु दर्शकको साथले फाइनल जित्ने विश्वास व्यक्त गर्दै भने, ‘थ्रीस्टार बलियो टोली हो, तर हामी टेक्निकल खेल खेल्छौं र उपाधि जित्छौं।’

थ्रीस्टारका प्रशिक्षक गणेश खड्काले विराट गोल्डकप मोफसलको प्रतिष्ठित प्रतियोगिता भएको उल्लेख गर्दै, ‘हाम्रो टोलीले उपाधि जित्दै इतिहास दोहोर्याउने,’ बताए।

तर, फाइनल खेलअघि थ्रीस्टारका कप्तान योगेश गुरुङ निलम्बित भएका छन्। उनले दुई पहेंलो कार्ड पाएकाले मैदान बाहिर बस्नुपर्नेछ। प्रशिक्षक खड्का भने ‘उनको अभाव नहोस् भनेर उत्कृष्ट खेलाडी मैदानमा उतार्नेछौं। नयाँ कप्तानबारे खेलअघि टिमले निर्णय लिन्छ।,’

थ्रीस्टारका कप्तान गुरुङले आफू मैदानमा नउत्रे पनि टिम वर्कले उपाधि जित्नेमा विश्वस्त रहेको बताए।

विजेता टोलीले ११ लाख रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ नगद पाउनेछ। श्रेष्ठ प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता जनही १५–१५ हजार रुपैयाँबाट पुरस्कृत हुनेछन्।

प्रकाशित: २७ फाल्गुन २०८१ १९:१५ मंगलबार





Source link

एकाध मान्छेका स्वार्थको पछि देश लाग्न सक्दैन : प्रधानमन्त्री – Online Khabar


कोशी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली (तस्वीर : सचिवालय)


२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरूको स्वार्थको पछि देश लाग्न नसक्ने बताएका छन् ।

मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा उनले पछिल्लो समय व्यवस्था र संविधानका विरुद्धमा आवाज उठ्न लागेको भन्दै त्यसतर्फ आपत्ति जनाए ।

प्रधानमन्त्री ओलीले अहिलेको भन्दा राम्रो प्रणाली के हो ? भन्दै प्रश्न गरे ।

‘अहिले व्यवस्था र संविधानका विरुद्धमा पनि केही आवाज उठ्न थालेको छ । स्पष्ट के हो भने, चाहियो के त ? यो भन्दा बेटर प्रणाली कुनै छ भने ठिक छ । यो भन्दा राम्रो प्रणाली के हो ?,’ प्रधानमन्त्री ओलीले भने, ‘एकाध मान्छेका स्वार्थहरूको पछाडि देश लाग्न सक्दैन । बेटर प्रणालीका लागि संविधान र सरकार तयार छ । जनता तयार छन् ।’

त्यसका लागि शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक प्रणालीको बाटोमा सरकार रहेको जिकिर गरे ।

‘शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक प्रणाली, बाटो त्यसका लागि तयार गरेका छौं । आजको हाम्रो तरिका त्यो हो । सामाजिक मूल्यमान्यतालाई दखल नपारि अघि बढ्ने बाटो हो । त्यो गर्छौं । यसरी हामी राजनीतिक हिसाबले स्पष्ट छौं,’ प्रधानमन्त्री ओलीले भने ।

उनले अहिलेको प्रणाली नै नागरिक सर्वोच्चता भएको भन्दै अहिले सरकार समाजवादतर्फ उन्मुख भएको जिकिर गरे ।





Source link

पूर्वराजा ज्ञानेन्द्रको सक्रियताले सल्बलाएको राजतन्त्रको बहस, दिवा सपना कि यथार्थ ?


आइतबार काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूको उपस्थिति उल्लेख्य देखियो, जसमा हजारौं मानिसहरूले उनलाई पोखराबाट फर्कंदा स्वागत गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा सुरु भएको यो प्रदर्शन निर्मल निवाससम्म पुग्यो। यसले सर्वसाधारण नागरिकहरूबीच बहस सिर्जना गरेको छ कि निकट भविष्यमा राजतन्त्र पुनःस्थापित हुन सक्छ कि सक्दैन।

राजनीतिक विश्लेषकहरूका अनुसार, पूर्वराजा ज्ञानेन्द्रले यो शक्ति प्रदर्शनलाई रणनीतिक रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भहरूलाई ध्यानमा राखेर गरेको देखिन्छ। यदि यो स्वःस्फूर्त समर्थनमात्रै हुन्थ्यो भने, उनी वैकल्पिक मार्ग पनि अपनाउन सक्थे। तर, उनी आफैं समर्थकहरूका बीच पुगेर अभिवादन स्वीकार गर्दै माला लगाउनुको अर्थ उनी अझै पनि नेपालको राजनीतिक परिदृश्यमा सान्दर्भिक रहेको सन्देश दिनु नै हो।

यो प्रदर्शन त्यस्तो समयमा आएको छ जब धेरै नेपाली नागरिकहरू महँगो संघीय संरचनाको औचित्यमाथि प्रश्न उठाइरहेका छन्। सातवटा प्रदेश सरकार र ७५३ स्थानीय तहहरूको प्रशासनिक खर्चलाई लिएर आलोचना भइरहेको छ। कतिपयले प्रश्न गरेका छन्, ‘एउटा राजा हटाएर सयौं साना राजाहरू (स्थानीय तथा प्रादेशिक नेताहरू) ल्याउनुको औचित्य के थियो ?’

प्रदर्शनकारीहरूको मागः नेपालमा पुनः हिन्दू राज्य स्थापना हुनुपर्छ

आइतबारको र्‍यालीमा सहभागीहरूले वर्तमान राजनीतिक नेतृत्वका कारण नेपालको अस्तित्व नै जोखिममा परेको दाबी गरे। उनीहरूले राजतन्त्रलाई अभिभावकीय संस्थाका रूपमा पुनःस्थापना गरी नेपाललाई फेरि हिन्दू अधिराज्य बनाउनु उपयुक्त हुने माग गरेका छन्। त्यस्तै, प्रदेश सरकार खारेज गरी सीमित स्थानीय तहहरू कायम गर्नुपर्ने माग राखियो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मुख्य मागहरू

राप्रपाले शासन व्यवस्था, आर्थिक सुधार, भ्रष्टाचार नियन्त्रण, र सामाजिक न्यायसँग सम्बन्धित विभिन्न ४० माग अघि सारेको थियो। प्रमुख मागहरू यसप्रकार छन्:

१, संवैधानिक राजतन्त्र पुनःस्थापना – राजा परामर्शदाताको भूमिकामा रहने तर लोकतान्त्रिक प्रणाली कायम राखिने।

२, नेपाललाई वैदिक सनातन हिन्दू राज्य घोषणा गर्ने – धार्मिक स्वतन्त्रतालाई कायम राख्दै नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने।

३, संघीयता खारेज गर्ने – हालको सात प्रदेश हटाई, संघीय सरकार र सीमित स्थानीय तहहरूको दुई(स्तरीय शासन प्रणाली लागू गर्ने।

४, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली – सरकारको स्थिरता कायम गर्न कार्यकारी प्रधानमन्त्रीलाई प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था ल्याउने।

५, कार्यकारी पदको कार्यकाल सिमित गर्ने – कुनै पनि प्रधानमन्त्री वा राष्ट्रपति बढीमा दुई कार्यकाल मात्र पदमा बस्न पाउने।

६, सरकारी खर्च कटौती गर्ने – सरकारी कर्मचारीको संख्या घटाउने, राजनीतिक नियुक्तिहरू रोक्ने र पारदर्शिता बढाउने।

७, भ्रष्टाचार विरुद्ध कठोर कदम उठाउने – एनसेल कर विवाद, ललिता निवास प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरणलगायतका ठूला भ्रष्टाचार मुद्दामा संलग्न नेता र कर्मचारीलाई कारबाही गर्ने।

८, आर्थिक सुधार र उद्यमशीलता प्रवर्द्धन गर्ने – कृषि, उद्योग, र व्यवसायका लागि अनुदान, सहुलियतपूर्ण ऋण, र कर लाभको व्यवस्था गर्ने।

९, शिक्षा र स्वास्थ्य सुधार गर्ने – निःशुल्क गुणस्तरीय शिक्षा, स्वास्थ्य बीमा, र सार्वजनिक स्वास्थ्य प्रणाली सुधार गर्ने।

१०, विदेश नीति सन्तुलित बनाउने – नेपाललाई शान्ति क्षेत्रका रूपमा पुनःस्थापित गर्ने, छिमेकी देशहरूसँग सम्बन्धलाई सन्तुलित राख्ने।

अब राप्रपाले के गर्छ?

आइतबारको विशाल जनसहभागिताबाट उत्साहित हुँदै, राप्रपाले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले मुख्यधारका राजनीतिक दलहरूलाई चुनौती दिँदै भने, ‘यदि तपाईंहरूका नीति लोकप्रिय छन् भने, यति ठूलो जनसहभागिता देखाएर देखाउन सक्नुहुन्छ?

सोमबार बसेको राप्रपाको पदाधिकारी बैठकले आइतबारको प्रदर्शनलाई ऐतिहासिक सफलता भन्दै आन्दोलनलाई थप तीव्र बनाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठले भने, ‘फेब्रुअरी २१, २०२३ मा ४० बुँदे माग सरकारलाई बुझाइएको थियो। तर, सरकार मौन रहेकाले हामी सडक आन्दोलनमा उत्रन बाध्य भयौं।’

चैतको पहिलो साता बस्ने पार्टीको कार्यसम्पादन समितिको बैठकले नेपाललाई पुनः हिन्दू अधिराज्य बनाउने लक्ष्यका साथ थप प्रदर्शनहरूको योजना सार्वजनिक गर्नेछ।

राजतन्त्र पुनःस्थापना सम्भव छ?

राजनीतिक विश्लेषकहरूका अनुसार, हाल राजतन्त्रको पुनःस्थापना चाहने नागरिकको सङ्ख्या कम भए तापनि, संघीय संरचना, हिन्दू राष्ट्र पुनःस्थापना, सरकारको खर्च कटौती र प्रजातन्त्र पुनःस्थापनापछि सत्तामा रहेका नेताहरूको सम्पत्ति छानबिन जस्ता मुद्दाहरूले ठूलो जनसमर्थन पाइरहेका छन्।

मुख्यधारका दलहरूले राजावादी आन्दोलनलाई खासै गम्भीर रूपमा नलिएको भए तापनि, विश्लेषकहरू भन्छन् ‘कि बढ्दो असन्तुष्टि लामो समयसम्म रहिरहेमा नेपालको गणतन्त्रात्मक प्रणालीलाई चुनौती दिन सक्छ।’

भारतको भूमिका

नेपालको मुख्यधारका राजनीतिक दलहरू राजावादी आन्दोलनलाई नेपालभित्रकै असन्तुष्टिको परिणाम भनेर व्याख्या गरिरहेका छन्। तर, कतिपय विश्लेषकहरूले भारतीय प्रभावको आशङ्का गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्रको बारम्बार भारत भ्रमण, भारतीय जनता पार्टी (भाजपा) का नेताहरू तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथद्वारा नेपाललाई हिन्दू राष्ट्रमा फर्काउनुपर्ने अभिव्यक्तिहरूले भारतीय समर्थनको अड्कललाई थप बल दिएको छ। आइतबारको र्‍यालीमा योगी आदित्यनाथको तस्बिर भएका प्लेकार्डहरू समेत देखिएका थिए, जसले भारतीय संलग्नताको सम्भावनालाई झन् गहिरो बनाएको छ।

निष्कर्ष

नेपालले २००८ मा २४० वर्ष लामो राजतन्त्र अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरेको थियो। तर, त्यसयता १४ वटा सरकार परिवर्तन भइसकेका छन्, जसले राजनीतिक अस्थिरता झन् बढाएको छ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल भन्छन्, ‘काठमाडौंमा देखिएको राजावादी प्रदर्शन हालको राजनीतिक व्यवस्थाप्रति बढ्दो असन्तोषको संकेत हो।’ वर्तमान राजनीतिक नेतृत्वले नागरिकका समस्या समाधान गर्न सकेन भने, ‘निकट भविष्यमा राजावादी आन्दोलनले झन् ठूलो गति लिन सक्ने सम्भावना छ।’



Source link

राप्रपा सांसद प्रधान – Online Khabar


२७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले पूर्वराजाको नामबाट संसद् तरंगित हुनु खुसीको कुरा भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरजिम्मेवारपूर्ण कुराहरू राखेको भन्दै आपत्ति जनाए ।

भविष्यमा जनताले सदनमा नपस्ने व्यवस्था गर्नसक्ने कुराको हेक्का राख्न चेतावनी दिए ।

संविधानमा व्यवस्था परिवर्तन नहुने भन्नेकुरा नरहेको उल्लेख गर्दै उनले अहिलेको वर्तमान व्यवस्थाले देशको संरक्षण गर्न नसक्ने जिकिर गरे ।

‘आज सदन राजाको नामले तरंगित छ, अति खुसीको कुरा हामी हर्षित छौँ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा फागुन ७ गत राजाबाट शुभकामना व्यक्त हुँदै आफ्नो अभिभावकीय भूमिका बिर्सि बक्सिएन,’ प्रधानले भने, ‘आफ्नो बाटोबाट अन्यत्र लगिरहेको अहिलेको वर्तमान व्यवस्थाले देशको संरक्षण गर्न सक्दैन, जनताको हित गर्न सक्दैन, त्यसकारण यो सन्दर्भमा सबै जना एकसाथ जुटौँ भन्ने सन्देशलाई सबै नेपालीले आत्मसात गरे । २५ गते पोखराबाट फिर्ती सवारी हुँदा स्वतःस्फुर्त जनता स्वागत गर्न एयरपोर्टबाट निर्मलनिवाससम्म सरिक रह्यो ।’

उनले आफूहरुले राम्रोसँग संविधान अध्ययन गरेको पनि बताए । राजसंस्थाको उपस्थिति नभएसम्म लम्पसारवादी व्यवहार जारी रहने बताए ।





Source link

भर्खर ७४ लागे, म बुढो भएको छैन: प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भर्खर ७४ वर्षमा प्रवेश गरेको भन्दै आफू ‘बुढो नभएको’ बताएका छन्।

मंगलबार कोशी प्रदेशसभामा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे प्रस्ट पार्दै भने, ‘म धेरै पटक अपरेशन गरिसकेको छु, दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु। अपरेशन गरेर बाँचिरहेको मान्छे हुँ। भर्खरै आयोजित कार्यक्रममा प्रमुख अतिथि १०१ वर्षका हुनुहुन्थ्यो। म त भर्खर ७४ लागेँ, ठिकै छु, बुढो भए भन्न मिल्दैन।’

प्रधानमन्त्री ओलीले सरकारले जनताको आवाज सुन्ने भएकाले चर्को स्वर निकाल्न आवश्यक नरहेको बताए।

उनले जनताको चाहना पूरा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै भने, ‘यो सरकारलाई चर्को स्वरले केही भन्नुपर्दैन, सानो स्वरमै सरकारले सुन्छ। यो सरकार, सरकार बन्न मात्रै बनेको होइन, जनताको लागि बनेको हो।’

उनले सरकारले देशको मुहार बदल्ने अठोटका साथ काम गरिरहेको बताउँदै अनावश्यक विवादमा आफू संलग्न हुन नचाहेको उल्लेख गरे।

उनले आफ्नो संघर्षपूर्ण पृष्ठभूमिबाट देश परिवर्तनको अठोटसहित अघि बढेको बताउँदै भने, ‘म देशको मुहार फेर्ने, राम्रो कामको अगुवाइ गर्ने लक्ष्यसहित सरकारमा आएको हुँ। मलाई कुनै लफडा गर्न मन छैन, वादविवाद गर्न चाहन्नँ। म जनताको कुरा सुन्ने, जनताको लागि काम गर्ने पक्षमा छु।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको महत्वबारे पनि जोड दिँदै भने, ‘मानिसले कहिलेकाहीं कुरा बुझ्दैनन्, त्यो छुट्टै कुरा हो। तर, म सधैं राष्ट्रिय एकताको कुरा गर्छु, किनकि यही नै देशको समृद्धिको आधार हो।’

प्रकाशित: २७ फाल्गुन २०८१ १६:४३ मंगलबार





Source link

चार टिममा विदेशी प्रशिक्षक अनुबन्ध, नेपाली प्रशिक्षक तीनजना – Online Khabar


नेपालको राष्ट्रिय टिमका लागि समेत प्रो लाइसेन्स प्राप्त प्रशिक्षक रोज्न हम्मे हम्मे परेको बेला एनएसएलका फ्रेन्चाइज टिमहरुले भने युइएफए प्रो लाइसेन्स भएका विदेशी प्रशिक्षक अनुबन्ध गरिरहेका छन् ।

२७ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) नेपालको एक मात्र फ्रेन्चाइज फुटबल प्रतियोगिता हो । सन् २०२१ मा सुरु भएको एनएसएलको तेस्रो संस्करण आउने चैत १६ गतेदेखि (मार्च २९) देखि सुरु हुँदैछ ।

तेस्रो सिजनका लागि मिनी अक्सन र ड्राफ्ट सम्पन्न भएपछि अहिले टोलीहरु विदेशी खेलाडी अनुबन्ध गर्ने क्रममा छन् । सबै टोलीले आफ्नो प्रशिक्षक पनि घोषणा गरिसकेका छन् । केही टिमले तयारी पनि थालिसकेका छन् भने केही टिम विदेशी खेलाडीहरु अनुबन्ध गरिरहेका छन् ।

केही टिमले अक्सनअघि नै प्रशिक्षक घोषणा गरिसकेपनि केही टिमले भने अक्सनपछि मुख्य प्रशिक्षकको नाम सार्वजनिक गरेका छन् । अक्सनपछि प्रशिक्षक सार्वजनिक गर्ने दुई टिम थिए काठमाडौं रेजर्स र धनगढी एफसी । दुवैले विदेशी प्रशिक्षक नै रोजे । त्यसमा पनि युइएफए प्रो लाइसेन्स भएका ।

नेपालको राष्ट्रिय टिमका लागि समेत प्रो लाइसेन्स प्राप्त प्रशिक्षक रोज्न हम्मे हम्मे परेको बेला एनएसएलका फ्रेन्चाइज टिमहरुले भने युइएफए प्रो लाइसेन्स भएका विदेशी प्रशिक्षक अनुबन्ध गरिरहेका छन् ।

सुरुमा साविक विजेता ललितपुर सिटी एफसीले विदेशी प्रशिक्षक अनुबन्ध गरेको घोषणा गरेको थियो । त्यसपछि बुटवल लुम्बिनी, काठमाडौं रेजर्स र धनगढी एफसीले पनि विदेशी नै अनुबन्ध गरे ।

ललितपुरले इन्डियन सुपर लिग (आईएसएल) मा समेत प्रशिक्षण सम्हालिसकेका अनुभवी इंग्लिस प्रशिक्षक साइमन ग्रेसलाई अनुबन्ध गरेको छ । यस्तै बुटवल लुम्बिनीले भुटानी क्लब पारो एफसीका मुख्य प्रशिक्षक रहिसकेका पुष्पलाल शर्मालाई अनुबन्ध गरेको छ ।

काठमाडौं रेजर्स र धनगढी एफसीले पनि यस पटक युरोपियन प्रशिक्षक नै रोजेका छन् । काठमाडौंले बेल्जियमका अनुभवी प्याट्रिक डे विल्डे र धनगढीले स्पेनका जुवान मानुएल मार्टिनेज सेजलाई प्रशिक्षकको भूमिकामा अनुबन्ध गरेको छ ।

विदेशी प्रशिक्षक बढ्दै

एनएसएलको पहिलो संस्करणमा ७ टिम सहभागी हुँदा एक टिमले मात्र विदेशी प्रशिक्षक अनुबन्ध गरेको थियो । विराटनगर सिटी एफसीले भारतको यान ल लाई अनुबन्ध गरेको थियो ।

दोस्रो संस्करणमा विराटनगर सिटीले खेलेन । तर तीन नयाँ टिम थपिएको थियो र ९ टिमले प्रतिस्पर्धा गर्दा तीन टिमले विदेशी प्रशिक्षक भित्र्याएको थियो ।

त्यस बेला नयाँ टोली झापा एफसीले स्पानिस कोच ओरिएल मोहेडानोलाई अनुबन्ध गरेको थियो । यस्तै ललितपुर सिटीले अष्ट्रेलियाका इयान आन्द्रे गिलियन र एफसी चितवनले भारतका मेहराजुद्दिन वाडुलाई अनुबन्ध गरेको थियो ।

इयान आन्दरे गिलियनले ललितपुरलाई दोस्रो संस्करणमा च्याम्पियन नै बनाए । विदेशी प्रशिक्षक ल्याएका झापा र चितवन भने प्लेअफमै पुग्न सकेनन् ।

अहिले तेस्रो संस्करणमा आइपुग्दा टिम संख्या घटेर फेरि ७ मै आएको छ भने विदेशी प्रशिक्षकको संख्या भने बढ्दैछ ।

७ टिम मध्ये तेस्रो संस्करणका लागि चार टिमले विदेशी प्रशिक्षक रोज्दा तीन टिममा मात्र स्वदेशी प्रशिक्षक नियुक्त गरेका छन् ।

नेपालको प्रशिक्षक ३ मात्र

एनएसएलको तेस्रो संस्करणमा सात फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । जसमध्ये आधा भन्दा बढीले विदेशी प्रशिक्षक भित्र्याउँदा नेपालका भने तीन प्रशिक्षक मात्र मुख्य प्रशिक्षकको भूमिकामा छन् । तिन हुन् नविन न्यौपाने, प्रवेश कटुवाल र सुमन श्रेष्ठ । तीनै प्रशिक्षक एएफसी ए लाइसेन्स प्राप्त हुन् ।

न्यौपाने एफसी चितवन, कटुवाल झापा एफसी र श्रेष्ठ पोखरा थण्डर्सको मुख्य प्रशिक्षकमा छन् । न्यौपानेले यसअघि पोखरा थण्डर्सको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् भने कटुवाल र श्रेष्ठले पहिलो पटक एनएसएल टिम हेर्न लागेका हुन् ।

nepali coaches

कटुवाल र श्रेष्ठका लागि एनएसएल नयाँ अनुभव हुनेछ । घरेलु फुटबलमा भने यी तीनै जनाले लगातार प्रशिक्षकको भूमिकामा काम गरिरहेका छन् । न्यौपाने र कटुवालले नेपाली पुरुष राष्ट्रिय टिमको अन्तरिम मुख्य प्रशिक्षकको भूमिकामा पनि काम गरिसकेका छन् । प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक समेत थिए ।

प्रवेश कटुवाल र सुमन श्रेष्ठले ए डिभिजन लिग समेत जितेका छन् भने नविन न्यौपाने प्रशिक्षकको रुपमा लिग उपविजेता समेत बनेका छन् ।

प्रवेश कटुवालले मुख्य प्रशिक्षकको रुपमा मछिन्द्र एफसीलाई लगातार दुई सिजन ए डिभिजन लिगको च्याम्पियन बनाएका थिए । यस्तै मनाङ मर्स्याङ्दी क्लबले ए डिभजन लिग जित्दा सुमन श्रेष्ठ प्रशिक्षक थिए । त्यसबेला उनलाई विदेशी प्रशिक्षक फुजा तोपेले पनि सघाएका थिए ।

सातै टिमको प्रशिक्षक परिवर्तन

एनएसएलको तेस्रो संस्करणमा आइपुग्दा सबै ७ टिमले प्रशिक्षक परिवर्तन गरेका छन् । यसअघि पहिलो र दोस्रो संस्करणमा केही टिमले प्रशिक्षकलाई निरन्तरता दिएपनि तेस्रो संस्करणमा आइपुग्दा भने सबैले नयाँ प्रशिक्षक रोजेका हुन् ।

पहिलो सिजन काठमाडौंलाई च्याम्पियन बनाएका बालगोपाल महर्जनलाई दोस्रो संस्करणमा निरन्तरता दिएको थियो । तर दोस्रो सिजन ठिकठाक भएपछि तेस्रो सिजन काठमाडौंले विदेशी प्रशिक्षक रोज्यो । काठमाडौंले घरेलु प्रशिक्षक मेघराज केसीलाई टेक्निकल डिरेक्टर नियुक्त गरेको छ ।

यस्तै ललितपुरलाई दोस्रो सिजन च्याम्पियन बनाएका इयान गिलयनको स्थानमा तेस्रो संस्करणमा इंग्लिस प्रशिक्षक साइमन ग्रेसनलाई भित्र्याएको छ ।

युगल किशोर राईले धनगढी एफसीलाई लगातार दुई उपविजेता बनाएका थिए । उपाधि जित्न प्रतिक्षा गरिरहेको धनगढीले पनि यस पटक विदेशी प्रशिक्षक रोजेको छ । स्पानिस प्रशिक्षक जुवान मानुएलको प्रशिक्षणमा धनगढीले राम्रो नतिजा ल्याउने विश्वास राखेको छ ।

यस्तै बुटवल लुम्बिनीले पनि यस पटक विदेशी प्रशिक्षक नै राखेको छ । एएफसी प्रो लाइसेन्स प्राप्त भुटानका पुष्प लाल शर्मालाई बुटवलले नयाँ प्रशिक्षक बनाएको हो । यसअघि बुटवल लुम्बिनीको प्रशिक्षकमा विजय महर्जन थिए ।

गत सिजन एनएसएल डेब्युमै स्पानिस प्रशिक्षक ल्याएको झापा एफसीले भने यस पटक घरेलु प्रशिक्षक नै रोजेको छ । त्यसमा पनि झापाले स्थानिय प्रवेश कटुवाललाई रोजेको हो । मछिन्द्र एफसीलाई लगातार दुई पटक ए डिभिजन लिगको उपाधि जिताएका कटुवालले राष्ट्रिय टिमको कार्यवाहक र सहायक प्रशिक्षक बनेर समेत काम गरिसकेका छन् ।

यसैगरी चितवनले पनि विदेशी प्रशिक्षक छाडेर नेपाली नै रोजेको छ । दोस्रो सिजन भारतमा मेहराजुद्दिनलाई प्रशिक्षक बनाएको चितवनले यस सिजन नविन न्यौपानेलाई मुख्य प्रशिक्षक बनाएको छ । चितवनले न्यौपानेको प्रशिक्षणमा नयाँ टिम बनाएर एनएसएलमा राम्रो नतिजा ल्याउने विश्वास राखेको छ । न्यौपाने यसअघि पोखरा थण्डर्सको मुख्य प्रशिक्षक थिए ।

यस्तै पोखराले भने यसपटक नयाँ प्रशिक्षक भित्र्याएको छ सुमन श्रेष्ठ । सुमन श्रेष्ठको प्रशिक्षकको रुपमा मनाङ मर्स्याङ्दी क्लबाट ए डिभिजन लिग जितेका छन् । यस सिजन भने उनले मोफसलको गोल्डकपहरुमा ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडको प्रशिक्षण सम्हालिरहेका छन् ।





Source link

लेखनाथ युथलाई टी-२० क्रिकेट उपाधि


पोखरा महानगरपालिका दोस्रो अन्तरक्लब पुरुष टी–२० क्रिकेट उपाधि लेखनाथ युथ क्रिकेट क्लबले जितेको छ। पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा आयोजित प्रतियोगिताको फाइनलमा माछापुच्छ्रे क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै लेखनाथले उपाधि जितेको हो।

इडेन हेभन क्रिकेट मैदानमा सोमबार लेखनाथ युथ क्लबले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रनको योगफल तयार ग¥यो। लेखनाथका लागि पुष्पेन्द्र झाले ३२ बलमा ३२ रन, दीपक बरालले २३ बलमा २८ रन र मार्सल बरालले १८ बलमा २२ रनको योगदान दिएका थिए। लेखनाथलाई ठूलो स्कोर बनाउन नदिन रीतेश बरालले २२ रन खर्चेर ३ विकेट तथा धीरज अधिकारीले २५ रन खर्चेर २ विकेट लिएका थिए।

१५१ रनको मध्यम लक्ष्य भेट्टाउन जबाफी ब्याटिङमा उत्रिएको माछापुच्छ्रे क्रिकेट क्लब निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२० रनमै सीमित भएपछि उपविजेतामा चित्त बुझाउन बाध्य भयो। माछापुच्छ्रेका आशिष न्यौपानेले २७ बलमा २३ रन र पूर्णबहादुर जिटीले १५ बलमा २२ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्। फाइनलमा माछापुच्छ्रेलाई कम रनमा समेट्न लेखनाथका मार्सल बरालले १४ रन खर्चेर २ विकेट लिएका थिए। फाइनल खेलको प्लेयर अफ दी म्याच मार्सल बराल बने।

बेस्ट प्लेयर अफ द टुर्नामेन्ट उपाधि विजेता लेखनाथ युथ क्लबका दीपक बराल बने। त्यस्तै, माछापुच्छ्रे क्रिकेट क्लवका प्रमोद बास्तोला बेस्ट बलर तथा कास्की क्रिकेट क्लवका आदित्य थापा बेस्ट ब्याट्सम्यान  घोषित भए।

उपाधि विजेता तथा विभिन्न विधामा उत्कृष्ट भएकाहरूलाई पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष वीरेन्द्र पुन, सदस्य अभिनय श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: २७ फाल्गुन २०८१ ०८:३८ मंगलबार





Source link

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. काफ्ले नियुक्त


२७ फागुन, काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।

स्वास्थ्य मन्त्रालयले डा. काफ्लेसहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा डा. काफ्ले सदस्य थिए ।

यसअघि डा.काफ्ले गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी समेत भएका थिए ।

बोर्डमा रहँदा डा. काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी कार्यक्रम सुरु गरेका थिए । राहत रकममा चार सय प्रतिशत वृद्धि तथा बीमामा शतप्रतिशत वृद्धि गर्ने निर्णय उनको नेतृत्वमा भएको थियो । गम्भीर रोगका लागि श्रमिक बिमा कार्यक्रम पनि उनैले सुरु गरेका थिए ।

डा काफ्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत उनी विकास रणनीति निर्माणमा संलग्न थिए छ । अर्थशास्त्रमा विद्यावारिधि डा. काफ्लेले लामो समय प्राध्यापनसमेत गरेका थिए ।





Source link

युक्रेनमा इन्टरनेट बन्द गर्ने मस्कको धम्की


टेस्ला र स्टारलिङ्कका सीईओ एलोन मस्कले युक्रेनको इन्टरनेट बन्द गर्ने धम्की दिएका छन्। आइतबार मस्कले युक्रेनमा आफ्नो स्टारलिङ्क इन्टरनेट प्रणाली बन्द गर्ने धम्की दिँदै भने, ‘युक्रेनको रक्षा रेखा ध्वस्त हुनेछ।’

मस्कको स्टारलिङ्क इन्टरनेट प्रणाली युक्रेनलाई सैन्य सञ्चार कायम राख्न सहयोगी भएको छ। मस्कले एक्समा पोस्ट गर्दै लेखे, ‘स्टारलिङ्क प्रणाली युक्रेनी सेनाको मेरुदण्ड हो। युक्रेनले अन्ततः हार्ने युद्ध र नरसंहारको बारेमा म चिन्तित छु।’

यद्यपि, पछि उनले अर्को एक्स पोस्टमा स्पष्ट पार्दै भने, ‘म युक्रेनको नीतिको जतिसुकै विरुद्धमा भए पनि, म त्यहाँ स्टारलिङ्कको टर्मिनल कहिल्यै बन्द गर्ने छैन। म स्टारलिङ्क इन्टरनेटलाई मोलमोलाईको रूपमा प्रयोग गर्दिनँ।’

यसअघि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेको छ। न्यूयोर्क टाइम्सका अनुसार यसले एक अर्ब डलर बराबरको हतियार र गोला बारुद सहायतालाई असर गर्न सक्छ। यी चाँडै युक्रेनमा पुर्‍याइने थियो।

ट्रम्पको आदेशले युक्रेनले अमेरिकी रक्षा कम्पनीहरूबाट सिधै नयाँ सैन्य हार्डवेयर खरिद गर्न प्रयोग गर्न सक्ने सहायतालाई पनि रोक लगाएको छ। अमेरिकी सहायता निलम्बन गर्ने विषयमा राष्ट्रपति जेलेन्स्कीबाट कुनै प्रतिक्रिया आएको छैन।

ह्वाइट हाउसका एक अधिकारीले सीएनएनलाई भने, ‘यो निर्णय जेलेन्स्कीको खराब व्यवहारका कारण भएको स्पष्ट छ। यदि जेलेन्स्कीले युद्ध अन्त्य गर्न वार्ता गर्ने प्रयास गरे भने सायद यो प्रतिबन्ध हटाउन सकिन्छ।’

यस्तै अमेरिकाले मार्च ५ देखि युक्रेनसँग गोप्य जानकारी साझा गर्न प्रतिबन्ध लगाएको थियो। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) माइक वाल्ट्जले युक्रेनसँग गुप्तचर जानकारी साझा गर्ने सन्दर्भमा हामी एक कदम पछि हटेको बताएका छन्। एजेन्सी

प्रकाशित: २७ फाल्गुन २०८१ ०८:५३ मंगलबार





Source link

हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबलमा जेभियर र हेराल्डको दोहोरो जित


२७ फागुन, काठमाडौं। जेभियर र हेराल्ड इन्टनरनेसनल कलेजले हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबल च्याम्पियनसिप २०२५ को पहिलो दिनमै दोहोरो जित निकालेका छन्।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार सम्पन्न समूह ‘ए’ को खेलमा जेभियरले दोहोरो जित हासिल गरेको हो। जेभियरले पहिलो खेलमा ऋत एकेडेमीलाई ५८–३५ को स्कोरमा पराजित गर्‍यो। जेभियरको जितमा प्रीतम थिङले १० अंक जोडे।

जेभियरले दोस्रो खेलमा काठमाडौं वर्ल्ड स्कुललाई ५४–१३ स्कोरले पराजित गर्‍यो। यो खेलमा भने असीम थापाले सर्वाधिक १५ अंक दिलाए।

समूह ‘सी’ मा हेराल्डले पहिलो खेलमा काठमाडौं भ्याली कलेजलाई ५३–२८ तथा दोस्रो खेलमा जया मल्टिपल कलेजलाई ४२–१५ को स्कोरमा हरायो। अर्को खेलमा टाइम्स इन्टरनेसनल कलेजले ऋत एकेडेमीलाई ४३–११ र डिएभीले हिमालयन कलेज ३८–१० को स्कोरले पराजित गर्‍यो।

ग्रिनफिल्ड कलेजले काठमाडौं भ्याली कलेजलाई ४५–३१ ले हराउँदा वर्नहार्ट कलेजले हिमालयन कलेजमाथि ५१–१७ को स्कोरमा जित निकाल्यो।

आगामी बुधबारसम्म चल्ने प्रतियोगितामा उपत्यकाका १६ वटा कलेजको सहभागिता छ। सहभागी कलेजलाई चार समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा टाइम्स, ऋत, जेभियर र काठमाडौं वर्ल्ड स्कुलछन्। समूह ‘बी’ मा ग्रिनफिल्ड, डिएभी, सिसिआसी र नाइटिङ्गेल कलेज छन्।

समूह ‘सी’ मा जया, गोल्डेन कलेज, नाइटिङ्गेल स्कुल, हेराल्ड र काठमाडौं भ्याली कलेज रहेका छन् भने समूह ‘डी’ मा हिमालयन कलेज, लालिगुँरास कलेज, एन्जल हार्ट र वर्नहार्ट छन्।

हरेक समूहको विजेता र उपविजेता क्‍वाटरफाइनलमा प्रवेश गर्नेछन्।





Source link

महिला न्यायाधीश सम्मेलन: यौनजन्य दुर्व्यवहार सुनुवाइको संयन्त्र बनाइने


महिला न्यायाधीशहरूको सम्मेलनले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारको तत्काल सुनुवाइका लागि गुनासो सुन्ने संयन्त्र निर्माण गर्न पहलकदमी गर्नेसहितको प्रतिबद्धता जारी गरेको छ। यो प्रतिबद्धताले न्यायसेवामा कार्यरत महिलामा पनि यौनजन्य दुर्व्यवहार हुने गरेको अनुमान गर्न सकिन्छ।

ललितपुरमा सोमबार सम्पन्न सम्मेलनले ‘यौनजन्य दुव्र्यवहारसम्बन्धी नीति बनाउन र कार्यान्वयनका लागि अदालतको नियमावली संशोधन गरी तीनै तहका अदालतहरूमा महिला समिति गठनका लागि पहल गर्ने’ प्रतिबद्धता जाहेर गरेको छ।

अदालतमा कार्यरत महिला न्यायाधीश, कर्मचारी, सेवाग्राही महिलाको अवस्था र आवश्यकता अनुकूलको कार्यस्थल व्यवस्था गर्ने, कार्यस्थलमा लैंगिक संवेदनशीलता कायम गर्दै यौनजन्य हिंसा वा दुर्व्यवहार हुन नदिनेतर्फ विशेष सजगता अपनाउने पनि प्रतिबद्धतामा उल्लेख छ।

उच्च मनोबलका साथ कार्यसम्पादन गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग सहयोगको पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। साथै विभिन्न मुद्दामा सर्वोच्च अदालतले गरेका व्याख्या, प्रतिपादन गरेका सिद्धान्त, विधिशास्त्रीय दृष्टिकोण तथा मार्गनिर्देशन अनुकरणीय रहेको भन्दै त्यस्ता नजिरमा सुसूचित हुन सामूहिक संयन्त्र निर्माण गर्ने भएको छ। न्यायको गुणस्तरीयता, पहुँचमा वृद्धि, दक्षता अभिवृद्धि गरी समानतामा आधारित न्यायपूर्ण समाज स्थापनाका लागि महिला न्यायाधीशले बाह्रबुँदे प्रतिबद्धता व्यक्त गरेका हुन्।

अदालत र न्यायिक निकायमा कार्यरत महिला न्यायाधीश, अधिकृत, महिलाबिचको विविधतालाई ध्यानमा राख्दै व्यावसायिक क्षमता, दक्षता र नेतृत्व विकासका लागि आवश्यक नीति, रणनीतिक कार्यक्रम बनाउने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ। साथै महिला न्यायाधीशको संख्यामा मात्रै नभएर काममा गुणस्तरीय र क्षमतामा पनि दक्खल हुनुपर्ने भन्दै उद्घाटन सत्रमा सुझाव दिइएको छ।

महिला न्यायाधीशको संख्या थोरै भएको प्रसंग र भइरहेकालाई कसरी दक्ष बनाउने भन्नेमा छलफल हुँदा यस्तो सुझाव आएको हो। सम्मेलनमा महिलाको संख्याका साथै क्षमताको सन्दर्भ उठेको हो। न्यायको कुर्सीमा बसेर निर्णय दिँदा कुनै महिला र पुरुषले नभई न्यायाधीशले दिएको हुने सबैको साझा निष्कर्ष छ।

हाल सर्वोच्चमा दुईजना, उच्चमा २२ र जिल्ला अदालतमा २६ जना गरी देशभर ५० महिला न्यायाधीश छन्। न्याय परिषद्को तथ्यांकअनुसार यो समग्र न्यायपालिकाको १२ प्रतिशत प्रतिनिधित्व हो। गत पुस मसान्तसम्मको तथ्यांक हेर्दा देशभर चार सय ६८ न्यायाधीशको दरबन्दी छ भने ३२ न्यायाधीशको पद रिक्त छ।

सम्मेलन उद्घाटन गर्दै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरू नेपालको न्याय प्रणालीको गौरव हुनुपर्ने बताए। ‘महिला न्यायाधीशको गौरव त्यसै आउँदैन। न्याय सम्पादनमा अविचलित अडान राख्दा, निष्पक्षता कायम गर्दा, विवेकपूर्ण निर्णय गर्दा, स्वच्छता कायम गर्दा मात्रै त्यो गौरव कायम हुन्छ’, प्रधानन्यायाधीश राउतले भने।

उनले घर, परिवार लगायत चौतर्फी जिम्मेवारी हुँदा महिलाले व्यवस्थापन गर्ने विषय धेरै भएको प्रसंग कोट्याए। हाल न्यायिक सुधारको एजेन्डा अघि सारेकाले त्यसमा लाग्न आग्रहसमेत गरे।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा नहुने बताएकी छन्। ‘महिलामा क्षमता हुनैपर्छ, साहस हुनैपर्छ र अध्ययन गर्नैपर्छ। अझै न्यायाधीशले दिनरात अध्ययन गर्नैपर्छ’, उनले भनिन्।

न्यायपालिकामा काम गर्नेले कसले के भन्छ भन्नेतर्फ नलाग्न पनि उनले सुझाव दिइन्। ‘न्यायपालिका त्यस्तो क्षेत्र हो, कसले के भन्दै छ भनेर पछाडि फर्केर नहेर्नुस्। १० हजार मुद्दा छन् भने २० हजार मान्छे त संलग्न हुन्छन्’, उनले भनिन्, ‘१० हजारले जिते भने १० हजारले मुद्दा हार्छन्। हार्नेले अदालतलाई कहिल्यै जस दिँदैनन्।’ तर पनि आफूले गर्ने निर्णयमा सही गरेको छु भन्ने दृढता हुनैपर्नेमा उनको सुझाव छ। ‘जस्टिस डेलिभरी महिला र पुरुष होइन न्यायाधीशले दिने हो’, उनले भनिन्।

आफू न्यायाधीश हुँदा सातजना मात्रै न्यायाधीश रहेको उनले विगत सुनाएकी थिइन्। हाल भइरहेको संख्यालाई पनि गुणस्तरीय बनाउनुपर्ने उनले बताइन्। सुरुसुरुमा महिला न्यायाधीशको कल्पना नै नगरिएको न्यायपालिकामा अहिले उपस्थिति बढ्दो रहेको वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले बताइन्। उनले महिला मात्रै होइनन्, सबै न्यायाधीश लैंगिक संवेदनशील रहेको बताइन्।

महिलामा अलि बढी सक्षमताको प्रश्न उठ्ने उनको अनुभव छ। ‘महिलाको उपस्थिति केही बढेको छ तर पर्याप्त छैन। उपस्थिति कसरी बढाउने भन्ने चुनौती छ’, उनले भनिन्, ‘महिलालाई क्षमतावान् कसरी बनाउने भन्ने पनि छ। हामी सक्षम छौं, योग्य छौं भन्ने प्रमाणित पनि हामी आफैंले गर्नुपरेको छ।’

न्याय सेवा, सरकारी वकिललगायत महिलाको उपस्थिति बढ्दै गएको तथ्यांकले देखाएको उल्लेख गरिन्।

सम्मेलनमा न्यायमा पहुँच, न्यायापालिकामा समावेशिता र महिला न्यायाधीशको प्रतिनिधित्व: चुनौती र सम्भावना, न्यायपालिकामा मिसोजिनी सोच र प्रभावलगायत विषयमा छलफल भएको थियो। विभिन्न जिल्ला, उच्च अदालतका महिला न्यायाधीशले आफूले न्यायिक निरूपणमा भोग्नुपरेका कानुनी समस्याका विषयमा उजागरसमेत गरेका थिए। कतिपय कानुनी कठिनाइ भएकाले न्यायाधीशको स्वविवेकमा पनि न्याय भर पर्ने विषयमा अन्तक्रयायासमेत भएको थियो।

प्रकाशित: २७ फाल्गुन २०८१ ०९:०९ मंगलबार





Source link

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने, एमाले-कांग्रेसले लगाए ह्विप


२७ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । प्रधानमन्त्रीको सचिवालयले भने दिउँसो साढे २ बजेबाट सम्बोधन गर्ने तयारी रहेको जनाएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह सकिएपछि ओलीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्नेछन् ।

कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यका अनुसार प्रधानमन्त्रीको सम्बोधनका लागि दिउँसो २ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

आजको प्रदेशसभा बैठकमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।

प्रतिपक्षी दलहरुले भने सरकारले छलफल नगरेको भन्दै बैठकमा सहभागी हुन प्रधानमन्त्रीले राख्ने मन्तव्यका बारेमा अग्रिम जानकारी हुनुपर्ने सर्त राखेका छन् । प्रतिपक्षी दलले सर्त राखेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलका नेतालाई सम्पर्क गरेर सहयोग गर्न आग्रह गरेका छन् ।

केके छन् प्रधानमन्त्रीका कार्यक्रम ?

मोरङमा आज प्रधानमन्त्री ओली दुई स्थानका कार्यक्रममा सहभागी हुने तयारी छ ।  प्रधानमन्त्री ओली आज साढे १० बजे हेलिकप्टर मार्फत मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आउनेछन् । साढे ११ बजे विश्वविद्यालय परिसरमा निर्माण भएको गिरिजा प्रसाद कलेज अफ एग्रिकल्चर रिसर्च शैक्षिक भवनको उदघाटन गर्नेछन् । त्यसलगतै पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एण्ड साइन्स शैक्षिक भवनको उदघाटन गर्नेछन् ।

दिउँसो १२ बजेबाट पूर्वाञ्चल विश्वविद्यालयको ४० औं विशेष सभा बैठक तथा १३ औं दीक्षान्त समारोहमा सहभागी हुनेछन् । दिउँसो साढे २ बजे कोशी प्रदेशसभालाई सम्बोधन गरी उनी साढे ४ बजे हेलिकप्टर मार्फत काठमाडौं फर्कने कार्यतालिका छ ।





Source link