यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्युबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

ramesh lekhak 1


३ वैशाख, काठमाडौं । सिरहामा यौन दुर्व्यवहारमा परेकी एक महिलाको मृत्युबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले बुधबार बिहान प्रहरी महानिरीक्षक (आईजी) दीपक थापालाई टेलिफोन गर्दै घटनाबारे छानबिन गर्न निर्देशन दिएको लेखकको सचिवालयले जनाएको छ । ‘यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्युबारे खबर सार्वजनिक भएपछि आजै मन्त्रीज्यूले प्रहरी प्रमुखलाई छानबिनका लागि निर्देशन दिनु भएको हो’, लेखकको सचिवालयले भन्यो ।

आफूमाथि बलात्कारको प्रयास भएको बताएकी नरहा गाउँपालिका बर्छवा गाउँकी २५ वर्षीया आनन्दी देवी सदाय मृत अवस्थामा भेटिएकी थिइन् । उनी हिजो मंगलबार सिरहाकै नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतीघरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

गत ९ पुसमा आफूमाथि दुई युवाले बलात्कार प्रयास गरेको उनले बताउँदै आएकी थिइन् । प्रहरीमा जाहेरी दिँदा समेत नलिएको उनको आरोप थियो ।

यता प्रहरीले भने अनुसन्धान नै नभएको भन्ने विषयलाई अस्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्तराम शर्माले अनुसन्धान भइहरेको दाबी गर्दै भने, ‘जाहेरी लिएर अनुसन्धान भइरहेको छ । पक्राउ पुर्जी पनि आएको छ । तर, उनीहरू फरार भएकाले पक्राउ गर्न नसकिएको हो । हाम्रो प्रयास जारी छ ।’

नवराजपुर गाउँपालिका-३ जगतपुरकै २२ वर्षीय सञ्जिवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले घेरा हालेर बलात्कारको प्रयास गरेको आरोप छ । उनीहरु दुवै जना भागेर भारत पुगेकाले पक्राउ गर्न समस्या भएको एसपी शर्माले बताए ।

जाहेरी दिएकी महिला (हाल मृत)को त्यतिबेलै मेडिकल जाँचको काम समेत भएर कानूनी प्रक्रिया अनुसार कारबाही समेत अघि बढाइएको उनको दाबी छ ।





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *