विवाह गरेको एक वर्ष पनि नपुग्दै हालै सम्बन्ध विच्छेद गरेको जोडीको कथा सामाजिक सञ्जाल, सञ्चारमाध्यमदेखि चियापसलसम्म गफको विषय बनेको छ । यही समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र धनाढ्य एलन मस्कले सम्बन्ध विच्छेद गर्ने महिलालाई श्रीमान्को सम्पत्ति दिनु नपर्ने गरी कानुन बनाउने भनेर गरेको मिडियाबाजी पनि भइरहेको छ ।
केही अगाडि सार्वजनिक भएको नेपालमा उकालो लागेको सम्बन्ध विच्छेदको ग्राफ पनि यो प्रसंगमा जोडिन आउँछ । जस अनुसार आर्थिक वर्ष २०७८/७९ मा सर्वोच्च अदातलमा ५४ वटा, उच्च अदालतमा ९०८ वटा र देशभरका जिल्ला अदालतमा ३६ हजार ४७२ गरी जम्मा ३७ हजार ४३४ वटा फिराद सम्बन्ध विच्छेद गरिपाऊँ भनी दर्ता भएका थिए । यीमध्ये सर्वाेच्चमा १३ वटा, उच्चमा ५११ वटा र जिल्ला अदालतमा २६ हजार ५५४ वटा मुद्दामा सुनुवाइ भएको थियो । आर्थिक वर्ष २०७९/८० मा यो संख्या बढेर सर्वोच्चमा ६५ वटा, उच्चमा १ हजार १२९ वटा र देशभरका जिल्ला अदालतमा ३८ हजार ९८९ गरी जम्मा ४० हजार १८३ फिराद दर्ता भएका छन् । तीमध्ये सर्वोच्चमा १४, उच्चमा ६६६ र जिल्ला अदालतहरूमा २९ हजार ४५० मुद्दा किनारा लागेका छन् । यसरी सम्बन्ध विच्छेदको फिराद बढ्नु एक-दुई मानिसको मात्रै कुरा रहेन । त्यसैले यो आम चासोको विषय बन्नु स्वनभाविक पनि हो ।
म मेरा विद्यार्थी, किशोरवयको छोरा र उसका साथी, आफ्नै सहकर्मी र चियापसल वा रेस्टुरेन्टमा गफ गरिरहने परिचित, अपरिचितका कुरा चासो दिएर सुनिरहन्छु । समाजमा चलेका यस्ता बहसले हामीले गरिरहेका वा गराइरहेका अनुसन्धानका विषयमा समेत असर गर्छन् । अनुसन्धानका कुरा हुँदा कसैले फ्याट्ट भन्छन्, ‘यत्रो सम्बन्ध विच्छेदको ग्राफ बढिरहेको छ, यसमा रिसर्च गर न ।’ दुई–तीन महिना घरेलु हिंसामाथि थेसिसको काम गरिरहेका विद्यार्थीले ‘म त घरेलु हिंसाको भन्दा, सम्बन्ध विच्छेदमा थेसिस गर्छु’ पनि भनिरहेका हुन्छन् । अनि फेरि उही लम्बेतान गफ, बजारमा सुनिरहेको, पढिरहेको वा हेरिरहेको कथा अनि अनुमानका आधारमा गरिने तर्क । यस्ता अनुमान र तर्क मानिसले आफ्नो आफ्नो ज्ञान, विवेकका आधारमा गरिरहेका हुन्छन् । यो लेखमा समग्र नेपाली समाजमा उकालो चढ्दो सम्बन्ध विच्छेदको ग्राफ र कसैको व्यक्तिगत कथाका बारेमा चलिरहेका गफका केही सामाजिक पक्षहरूलाई जोडेकी छु ।
सुरुमै भनौं, यो कुनै व्यवस्थित अनुसन्धानको निचोड होइन । म यस विषयमा अनुसन्धान गर्न पनि चाहन्न । सम्बन्ध विच्छेदको विषयमा काम गर्न नसक्ने मेरा केही कारण छन् । पहिलो सम्बन्ध विच्छेद व्यक्तिगत जीवनका केही पीडादायी घटनामध्ये एक हो । व्यक्तिका पीडाले भरिएका कथा सुन्दा मलाई मानसिक रूपमा नै असहज महसुस हुन्छ । ती कथाले मानसिक स्वास्थ्यमा पार्ने असरबाट म बच्न चाहन्छु ।
दोस्रो कारण हो, पीडा कसैको पनि कोट्याइरहने कुरा होइन । कसैका पीडालाई कोट्याएर फेरि आफैंले नै पीडा नथपौं भन्ने लाग्छ । तेस्रो पक्ष भने पछिल्ला नौ दश वर्षमा सर्भाइभरहरूसँग प्रत्यक्ष भेट्दा भेट्दै मैले के थाहा पाएँ भने, गहिरो विश्वास नभई वा गहिरो विश्वासको सम्बन्ध भएको व्यक्तिसँग पनि मानिसले सबै कुरा खुलेर बताउँदैन वा बताउन सक्दैन । त्यसैले एक–दुई पटक भेटेर अन्तर्वार्ता गरेको वा प्रश्नपत्र भरेको भरमा निकालिएका तथ्यांक कतिपय अवस्थामा सतही हुन्छन् ।
बजारका गफमा मुख्यगरी दुईथरीका तर्क रहेछन् । ती तर्कमा दुई खेमा रहेछन्, महिला र पुरुष । एउटै कथालाई महिला खेमाबाट हेर्दा पुरुषहरू खराब भएको कारण सम्बन्ध विच्छेद बढेको भन्ने बुझाइ रहेछ । त्यही कथालाई पुरुषहरूको खेमाबाट हेर्दा महिलाहरू खराब भएर सम्बन्ध विच्छेद भएको भन्ने बुझाइरहेछ ।
महिलाका नजरमा पुरुष दोषी
आज पनि धेरै पुरुषका नजरमा ‘महिला एक परावलम्बी, परजीवी हो । जो श्रीमान्को सम्पत्तिमा लोभ गर्छे । सम्पत्ति हेरेर विवाह गर्छे, अनि सम्पत्ति पाउनको लागि सम्बन्ध विच्छेद गर्छे’ भन्ने मान्यता जबर्जस्त छ ।
सम्बन्ध विच्छेदको कुरा आउँदा केही वर्षदेखि एउटा नारा सामाजिक सञ्जालमा आइरहन्छ, ‘मरेकी छोरीभन्दा डिभोर्सी छोरी स्वीकार’भन्ने । यसले समाजमा महिला त्यसमा पनि विवाहित महिलामाथि विविध प्रकारका हिंसा छन् । त्यो हिंसाले दिने मानसिक, शारीरिक पीडाले कतै महिला आफ्नै श्रीमान्बाट मारिने पो हो कि वा कतै मानसिक रुपमा दिएको पीडाको कारण आत्महत्या पो गर्ने हो कि भन्ने सवाल जोड्छ । समाजमा यस प्रकारका हिंसा छन् । त्यसैले यो सवाल सत्यको नजिक छ । अर्को राज्यले महिलाका अधिकारहरू सुनिश्चित गरेको छ । जसको कारण अहिले महिलाहरू पढेलेखेका, आफ्नो खुट्टामा उभिन सक्ने, पैतृक सम्पत्तिमा दाजुभाइ सरह हक भएका र आफ्ना अधिकारको बारेमा जानकार सशक्त महिला हुन् ।
तर महिलाको उक्त सशक्तीकरणको विषयमा पुरुषहरू नजाने जस्तो, थाहा नपाए जस्तो गर्न चाहन्छन् । किनभन्दा नजाने जस्तो गर्दा पुरुषलाई फाइदा छ । एकजना महिलाले पुरुषको भन्दा तीन–चार गुणा बढी काम गर्नुपर्ने बाध्यता छ । पुरुषले महिलाको भूमिका नलिने तर महिलाले महिलाका पनि पुरुषका पनि भूमिका निभाउन बाध्य बन्दा धेरै सम्बन्धमा क्लेस छ । यहाँसम्मको बुझाइ धेरै हदसम्म ठिक भए पनि महिलाका खेमाबाट आउने सबै पुरुष हिंस्रक भन्ने भाष्य भने सही छैन ।
पुरुषका नजरमा महिला दोषी
आज पनि धेरै पुरुषका नजरमा ‘महिला एक परावलम्बी, परजीवी हो । जो श्रीमान्को सम्पत्तिमा लोभ गर्छे । सम्पत्ति हेरेर विवाह गर्छे, अनि सम्पत्ति पाउनको लागि सम्बन्ध विच्छेद गर्छे’ भन्ने मान्यता जबर्जस्त छ । समाजमा महिला पनि पुरुष बराबरकै हैसियतकी व्यक्ति हो भन्ने धेरै मानिसलाई लाग्दैन । नेपालमा लिंगको आधारमा सम्पत्ति सम्बन्ध हेर्दा धेरै नै परिवर्तन आएको छ, सोचमा आएको छैन । तर, कानुन व्यवसायीहरूसँग कुरा गर्दा सम्बन्ध विच्छेदको फिराद दर्ता गर्न चाहने पढे–लेखेका महिलाहरूले आम रूपमा पुरुषको खेमामा भने जस्तो श्रीमान्को सम्पत्तिको माग त गर्दैनन् नै अदालती प्रक्रियामा लाग्ने शुल्क पनि आफैंले बेहोर्ने धेरै छन् ।
कानुन व्यवसायी महिलाहरूको एउटा गुनासो छ । पढेलेखेका सक्षम महिलाले कानुनी हकले पाएको अंश नलिंदा दुई प्रकारले घाटा हुन्छ । पहिलो विवाह भएपछि शारीरिक, मानसिक, भावनात्मक रूपमा उक्त घरमा गरेको महिलाको लगानीको अर्थ हुन्छ त्यो उनीहरूले अवमूल्यन गरिरहेका छन् । अंश नलिई सम्बन्ध विच्छेद गर्ने महिलाका कारण आम रूपमा गृहिणीको जीवन विताएका महिलाका हक कालान्तरमा खोसिने त हैनन् ? भन्ने सवाल पनि छ ।
सम्पत्तिको लोभमा विवाह गर्ने महिला पनि समाजमा छन् । तर, त्यस्ता महिला हिंसामा कति परेका छन् ? केही अपवादलाई लिएर महिलाहरूले सम्बन्ध विच्छेदको पहल गर्दा सबै सम्बन्ध विच्छेद गर्न चाहने महिलाहरू सम्पत्तिको लोभमा विवाह र सम्बन्ध विच्छेद गर्छन् भनेर सामान्यीकरण गर्न मिल्दैन । तर, सम्पत्तिको लोभमा विवाह र सम्बन्ध विच्छेद गर्ने महिला छैनन् नै भन्न पनि सकिन्न ।
दुवै असल भए सम्बन्ध विच्छेद हुन्न ?
महिला र पुरुषमध्ये दुवै असल हुँदाहुँदै पनि सम्बन्ध विच्छेद भएको छ कि छैन ? भन्ने विषयमा भने कमै मानिसको चासो रहने रहेछ । नेपाली समाजमा पछिल्लो वर्षहरूमा महिला–पुरुष एकअर्काका नराम्रो सम्बन्ध नभएर पनि सम्बन्ध विच्छेद गरिरहेका छन् । पहिलो त, विवाहभन्दा अगाडि जे सोचिएको थियो, सोही अनुसार एकअर्काको बीचमा तालमेल मिलेन । एकअर्काको लागि र आफ्नै लागि पनि किन अल्झिएर बस्ने भनेर सम्बन्ध विच्छेद गर्ने मानिस पनि समाजमा छन् ।
यसरी सम्बन्ध विच्छेद गर्नेका बानीव्यवहार, खानपान, प्रेम, यौनदेखि श्वास र पसिनाका गन्धसम्म पर्ने गरेका छन् । देखाउनलाई खास ठूलो समस्या त छैन तर एउटाले खाएको वा पिएको श्रीमान्श्रीमतीमध्ये अर्कोलाई मन पर्दैन । एउटाले लगाएको लुगा, मेकअप, फुर्तीफार्ती अर्कोलाई मन पर्दैन । अरूलाई भन्दै हिंड्न त भएको छैन यौन सम्बन्धमा दुवैको रुचि मिल्दैन जस्ता समस्याका कारण पनि विच्छेद गर्ने मानिसहरू छन् । यस प्रकारका समस्याले वैवाहिक सम्बन्धमा ल्याउने दरारको विषयमा मानिसको कम चासो रहेको पाइन्छ ।
दोस्रो नक्कली विवाह र नक्कली सम्बन्ध विच्छेद पनि ह्वात्तै बढेको वकालतमा रहेका व्यक्तिहरू बताउँछन् । विदेश जानका लागि श्रीमान्ले श्रीमतीको, श्रीमतीले श्रीमान्को अर्कैसँग नक्कली विवाह गराएर डिपेन्डेन्टमा पठाउन त्रिभुवन विमानस्थलमा राजीखुशी हाँस्दै रुँदै गएका कथा वा सासूससुराले छोरी ज्वाईं वा छोरा बुहारीलाई सम्बन्ध विच्छेद गराएर बुहारी वा ज्वार्इंलाई डिपेन्डेन्टमा लैजाने व्यक्ति खोज्दै हिंडेका कथा पनि नेपाली समाजमा अब आम कथा जस्तै भइसकेका छन् । जुन कथाका पात्रहरूको सामाजिक, सांस्कृतिक सम्बन्धमा केही पनि तलमाथि भएको हुँदैन ।
यस्तै कथा कतिपय भ्रष्टाचार वा गैर कानुनी क्रियाकलापमा संलग्न भएका श्रीमान्–श्रीमतीको बीचमा छन् । जो कानुनी रूपमा छ सम्बन्ध विच्छेद भएका व्यक्तिहरू हुन्, तर सामाजिक–सांस्कृतिक रूपमा उनीहरू श्रीमान्–श्रीमती नै हुन्छन् । यस्ता कथाहरूका फिराद पनि कानुनको नजरमा फिराद नै हुन् । तर, के यी पनि सम्बन्ध विच्छेदका घटना हुन् त ? भन्दा पक्कै होइनन् । तर, यस्ता कथाहरू वार्षिक रूपमा आउने तथ्यांकको कति प्रतिशत ओगट्छन् भनेर यसै भन्न सकिन्न ।
अन्त्यमा, कानुनी रूपमा गरिने तर नक्कली सम्बन्ध विच्छेद बाहेक सामाजिक, सांस्कृतिक र कानुनी सबै तवरमा सम्बन्ध विच्छेद हुनु भनेको व्यक्तिगत जीवनमा पीडादायी घटना हो । तर, व्यक्तिगत जीवनमा दुई वा दुई भन्दा बढी पीडा हुने अवस्था आएपछि व्यक्तिले पीडाको पनि प्राथमिकीकरण गर्दोरहेछ । अर्थात् मानिसले वैवाहिक सम्बन्धमा भोगिरहेको पीडाको तुलनामा सम्बन्ध विच्छेदबाट हुने पीडा सानो देख्दोरहेछ । तर, पीडा भए पनि सम्बन्ध विच्छेद भएका सबै व्यक्तिको श्रीमान्–श्रीमतीको बीचमा खराब सम्बन्ध नै थियो भन्न सकिन्न । सम्बन्ध विच्छेदको कानुनी व्यवस्थाले मन परे पनि मन नपरे पनि, कुरा मिले पनि नमिले पनि, हिंसा सहेरै भए पनि सँगै बस्न पर्दैन भनेर बाटो पनि त दिएको छ ।