उदयपुर १७ घण्टा अन्धकारमा, विद्युत अवरुद्धले जनजीवन अस्तव्यस्त

1745845833 light


शनिबार अन्धकारमा बिताएका उदयपुरबासी सोमबार पनि १७ घण्टा लामो अन्धकार सहन बाध्य भए। आइतबार राति करिब १२ बजे चट्याङसँगै आएको हावाहुरी र वर्षाले विद्युत आपूर्ति अवरुद्ध भएपछि सोमबार दिउँसो ४:४५ बजेसम्म उदयपुर अन्धकारमै थुनिएको हो।

नेपाल विद्युत प्राधिकरण गाईघाट वितरण केन्द्रका अनुसार त्रियुगा नगरपालिका–६ जलजेलस्थित सबस्टेशनमा चट्याङले ट्रान्समिटरसहित विभिन्न उपकरणमा गम्भीर क्षति पुर्‍याउँदा विद्युत आपूर्ति अवरुद्ध भएको हो। क्षतिग्रस्त सबस्टेशन मर्मत गर्न १५ घण्टा लागेपछि मात्र विद्युत सुचारु गरिएको वितरण केन्द्र प्रमुख माधवप्रसाद यादवले जानकारी दिए।

चट्याङले सबस्टेशनको पावर हाउसमा गम्भीर क्षति गरेपछि रातिदेखि नै प्राविधिक टोली मर्मतमा खटिएको यादवले बताए। ‘राति नसुती मर्मत कार्यमा जुट्यौँ,’ उनले भने, ‘तर एउटा आवश्यक सामान स्थानीय बजारमा नपाएर विराटनगरबाट मगाउनुपर्‍यो, जसले विद्युत सुचारुमा ढिलाइ भयो।’

सबस्टेशनमै क्षति पुगेकाले गाईघाट सदरमुकामसहित पूरै उदयपुर जिल्ला १७ घण्टा लामो अन्धकारमा बस्नुपरेको हो।

गर्मी मौसममा लामो समयसम्म विद्युत अवरुद्ध हुँदा सर्वसाधारणदेखि सरकारी कार्यालय, बैंक तथा अनलाइन सेवा प्रदायक संस्थासमेत प्रभावित भए। विशेषगरी बालबालिका, वृद्धवृद्धा र बिरामीहरू बढी समस्यामा परे।

छ महिनापछि केही दिनअघि मात्र सञ्चालनमा आएको उदयपुर सिमेन्ट उद्योगसमेत विद्युत अवरुद्धको चपेटामा परेको छ।

उद्योगका निमित्त महाप्रबन्धक महेश साहका अनुसार बिहीबार १०:४० बजे किल्न फायरिङ गरी उत्पादन थालिएको थियो। तर, १२ घण्टा नबित्दै विद्युत अवरुद्ध भई उत्पादन रोकिएको उनले बताए।

‘हिजो राति नै पुनः फायरिङको तयारी सकिएको थियो,’ साहले भने, ‘तर सबस्टेशनमा चट्याङ लागेपछि फेरि काम रोकियो।’ उनका अनुसार पहिलो २४ घण्टामा उद्योगले २५० मेट्रिक टन क्लिङ्कर उत्पादन गरेको थियो भने दोस्रो २४ घण्टामा विद्युत अवरुद्धका कारण मात्र १५० मेट्रिक टन क्लिङ्कर उत्पादन हुन सकेको छ।

साहका अनुसार एकपटक फायरिङ गर्दा कच्चा पदार्थ, डिजेल र अन्य सामग्रीमा करिब डेढ लाख रुपैयाँ खर्च हुन्छ। विद्युत नियमित नभएकाले उद्योगलाई पटक–पटक लाखौँ रुपैयाँ घाटा लाग्ने गरेको उनले बताए। ‘विद्युत नियमित नभएसम्म उद्योग सञ्चालन कठिन छ,’ उनले भने।

प्रकाशित: १५ वैशाख २०८२ १८:३१ सोमबार





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *