१५ जेठ, जनकपुरधाम । रौतहटको यमुनामाई गाउँपालिका-४ सरुअठाका ८४ वर्षीय श्रीनारायण सिंह राति राम्ररी निदाउन सकेनन् । बुधबार अपराह्न उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई सफाइ दिएको सुनेर श्रीनारायण बेचैन भए ।
रिहाइको खुसियालीमा आलमका आफन्त र समर्थकले साँझदेखि गाउँमा पड्काएको पटाकाको आवाजले उनलाई सताइरह्यो । यो देशमा जन्म लिएकोमा श्रीनारायणले आफ्नै भाग्यलाई धिक्कारिहरेका छन् ।
‘मेरो दुर्भाग्य, अघिल्लो जन्ममा कुन पाप गरेको रहेछु र यो देशमा जन्मिन पुगें । जुन देशमा कानुन छैन, न्याय छैन,’ उनले भने, ‘राति पटाका पड्कायो, नारा जुलुस लगायो ।’
संविधानसभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा श्रीनारायणका कान्छा छोरा २२ वर्षीय त्रिलोकप्रताप सिंह र स्थानीय ओशी अख्तरसहित घाइते भएका थिए । घाइतेहरूलाई उपचारको साटो जिउँदै इँटाभट्टामा लगेर जलाएर हत्या गरेको आरोप आलममाथि छ ।
भारतको सीतामढीस्थित गोयन्का कलेजमा बीएस्सी दोस्रो वर्ष अध्ययनरत त्रिलोक १७ चैत २०६४ मा घर आएका बेला विस्फोटमा परेका थिए ।
स्थानीय प्रहरीले प्रमाण नष्ट गरेको र राजनीतिक संरक्षणका कारण लामो समय उन्मुक्ति पाएका आलमसहितका व्यक्तिलाई कारबाही गराउन श्रीनारायणले अनवरत १६ वर्ष जिल्लादेखि सर्वोच्चसम्म धाएर संघर्ष गरेका थिए ।

जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा आलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएपछि उनले न्याय महसुस गरिरहेका थिए । तर एक वर्षपछि उच्च अदालत जनकपुरको इजलास वीरगञ्जले जिल्लाको फैसला उल्ट्याएर सफाइ दिएपछि श्रीनारायणसहित उनको परिवारजन अधीर बनेको छ । आलमको उन्मुक्तिले आफूलाई डर नभए पनि परिवारमा जोखिम बढेको चिन्ता उनलाई छ ।
‘म त ८४ वर्षको भएँ । मरे/मारे डर छैन । तर मेरो परिवारमाथि जोखिम बढेको छ । आलम राक्षसी प्रवृत्तिको मान्छे हो । कति बेला के गर्छ थाहा छैन । हाम्रो परिवारको सुरक्षाको व्यवस्था गराइदिनूस् हजुर,’ अनलाइनखबरकर्मीसँग उनले आग्रह गरे, ‘अहिले त कांग्रेस र एमालेको सरकार छ । प्रहरी प्रशासन पनि उसैको छ । हाम्रो पुकार सुन्दैन ।’
श्रीनारायणले आलम पक्राउको बेला कांग्रेस सभापति शेरबहादुर देउवाले भनेको कुरा झलझली सम्झिरहेका छन् । त्यस बेला देउवाले ‘आलमलाई छुटाउन लागिरहन्छु’ भनेका थिए । तर देउवाले त्यति भने पनि जिल्ला अदालतले आलमसहितलाई जन्मकैदको फैसला सुनाएपछि श्रीनारायणलाई देशमा साँचै न्याय नमरेको आभाष भएको थियो ।
‘जिल्ला अदालतको फैसलापछि देउवाको भनाइले केही फरक परेन । देशमा न्याय रहेछ भन्ने महसुस भएको थियो । तर न्याय लामो समय महसुस गर्न सकिनँ । देउवाकै बोली सत्य भयो,’ श्रीनारायण भन्छन् ।
उच्च अदालतको फैसलाले श्रीनारायणका छोरा सत्येन्द्र सिंह बुधबार अपराह्नदेखि असुरक्षित महसुस गर्न थालेका छन् । ‘हिजोसम्म त ठिकै थियो, तर उच्च अदालतको फैसला सुनेदेखि जोखिम बढेको महसुस हुन थालेको छ,’ सत्येन्द्रले अनलाइनखबरसँग भने, ‘उच्च अदालतले हामीलाई ठूलो जोखिममा पारिदियो । अब के हुन्छ, अनुमान गर्न सकिँदैन ।’
एक वर्षअघि जिल्ला अदालतको फैसलाले न्यायप्रति उनको परिवारमा बढेको विश्वास उच्च अदालतको फैसलाले चकनाचुर गरिदिएको छ ।
‘लामो संघर्षपछि लाग्यो- नेपालमा कानुनको हात साँच्चै लामो छ । तर हिजोको फैसलाले न्याय मरेको अनुभूति भइरहेको छ । यहाँ न्याय पैसामा किन्न सकिन्छ,’ सत्येन्द्रले थपे ।
२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौटहटमा विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा तत्कालीन सांसद मोहम्मद आफताव आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सेराज र बद्री सहनीसहित ४ जनालाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको थियो ।

बुधबार उच्च अदालतका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमसहित चारैजनालाई सफाइ दिएको छ । आदेशपछि ललितपुरस्थित नख्खु कारागारमा रहेका आलम रिहा भएका छन् ।
आलम छुटेको खुसियालीमा उनको गाउँ राजपुर, सरुअठासहित यमुनामाई गाउँपालिकाका विभिन्न ठाउँमा उनका आफन्त, समर्थक र कांग्रेसका कार्यकर्ताले खुसियाली मनाइरहेका छन् । सत्येन्द्रका अनुसार राति ठाउँ-ठाउँमा पटाका पड्काउँदै नारा लगाउँदै खुसियाली मनाइएको छ ।
आलमका समर्थकले खुसियाली मनाइरहँदा मृतकका परिवार भने त्रसित बनेका छन् । असुरक्षित महसुस गर्न थालेका छन् । अदालतले सफाइ दिएपछि आलमविरुद्ध बोल्ने मान्छे पनि डराउन थालेको सत्येन्द्र बताउँछन् ।
‘जेल गएपछि आफताबको विरुद्धमा थोरबहुत मान्छे बोल्थे । तर अब त झन् कुनै पीडित परिवार बोल्न तयार हुँदैनन् । हामी ज्यानको जोखिममा पारेर बोलिरहेका छौं । पहिले पनि बोलेका थियौं । अब गाह्रो छ,’ सत्येन्द्रले भने ।

संविधानसभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो । घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा उनलाई पक्राउ गरेको थियो ।
सत्येन्द्रका अनुसार त्यतिबेला आलम मुख्य आरोपी रहेकाले डरले रौतहटमा कुनै स्थानीय वकिलले पीडितको पक्षमा वकालत गर्न तयार भएनन् । बाध्य भएर काठमाडौँबाट वकिल झिकाएर आफन्तहरूले मुद्दा लडे ।
न्यायको लागि अदालत धाउन र मुद्दा मामिला गर्न श्रीनारायणले ३ बिघा जमिन बेचिसकेका छन् । दुई छोरामध्येका त्रिलोक कान्छा थिए । जेठा सत्येन्द्रप्रताप सिंह सञ्चारकर्मी छन् ।
श्रीनारायणसँगै छोरा ओशी अख्तरको न्यायको लागि लडिरहेकी आमा रुक्साना खातुनको अज्ञात समूहले हत्या गरिसकेका छन् । श्रीनारायणलाई पनि अनेकौं धाकधम्की, दबाबसँगै ठूलो रकम प्रलोभन दिए पनि उनी छोराको न्यायको लागि अनवरत लडिरहेका छन् । ज्यान रहेसम्म न्यायको लागि लड्ने श्रीनारायाणको भनाइ छ । उनले अब सर्वोच्च जाने बताए ।
‘कयौं धाकधम्की, दबाबको सामना गरेको छु । तीन बिघा जग्गा बेचिसकें । धेरै प्रलोभन आयो । तर पनि म विचलित भइनँ । छोराको न्यायको लागि निरन्तर लडें,’ श्रीनारायणले भने, ‘शरीरमा सास रहेसम्म लड्छु । न्यायको लागि अब सर्वोच्च जान्छु ।’