नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजापुरमा पछिल्लो ११ वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताएका छन्।
सोमबार राजापुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले सडक, पुल र अन्य विकास निर्माणका कार्यले क्षेत्रको कायापलट भएको उल्लेख गरे।
“एक दशकअघि यहाँ बाटो–घाटोको अवस्था निकै कमजोर थियो, तर अहिले सडक र पुलहरू बनेका छन्। यो प्रगति देख्दा मलाई खुसी लागेको छ,” दाहालले भने।
सभामा उपस्थित खचाखच भीडलाई सम्बोधन गर्दै उनले करिब एक घण्टा लामो भाषण गरे।
अध्यक्ष दाहालले राजापुरमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्वप्रति पनि चिन्ता व्यक्त गरे। “दिनहुँजसो वन्यजन्तुको आक्रमणका घटना भइरहेका छन्। यो समस्यालाई गम्भीरतापूर्वक लिनुपर्छ,” उनले भने।
उनले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
राजापुर नगरपालिकाका मेयर दिपेश थारुले अध्यक्ष दाहालको प्रतिबद्धताले स्थानीय समस्यालाई सम्बोधन गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
सभामा स्थानीय बासिन्दाले विकासका मुद्दाहरूसँगै वन्यजन्तुको समस्यालाई प्राथमिकतामा राख्न माग गरेका थिए।
प्रकाशित: १५ वैशाख २०८२ २०:१८ सोमबार