४ वैशाख, काठमाडौं । एक वर्षमा उपभोक्ताले फलफूलमा महँगो मूल्य तिरेका छन् ।
मुलुकको सबैभन्दा ठूलो फलफूल तथा तरकारी बिक्री केन्द्र कालीमाटी फलफूल तथा तरकारी बजारको तथ्यांकले फलफूलको मूल्य औसतमा ३१ प्रतिशतसम्म बढेको देखाएको छ ।
कालीमाटी बजारको तथ्यांकअनुसार १२ प्रकारका फलफूलको मूल्यवृद्धि भएको छ । सबैभन्दा बढी मूल्यवृद्धि हुने फलम मौसम रहेको छ ।
१ वैशाख २०८१ मा किलोको १ सय ४५ रुपैयाँ रहेको मौसम चैतमा १ सय ९० रुपैयाँ पुगेको कालीमाटी तरकारी बजारको तथ्यांकले देखाएको छ । यो मूल्य एक वर्ष अवधिमा ३१ प्रतिशत बढेको हो ।
यस्तै एक वर्षमा झोले स्याउको मूल्य १४ प्रतिशत बढेको छ भने फुजी स्याउ ०.५१ प्रतिशतले बढेको छ । १ वैशाखमा झोले स्याउको मूल्य किलोको २ सय १० रुपैयाँ रहेकामा ३१ चैत आइपुग्दा २ सय ४० रुपैयाँ कायम छ । यस्तै फुजी स्याउ ३ सय २५ रुपैयाँ रहेकामा चैतमा ३ सय २६ रुपैयाँ छ ।
मूल्यवृद्धि हुने अरू फलफूलमा केरा, अनार, हरियो अंगुर, तरबुजा हरियो, भुइँकटहर, रुख कटहर, नास्पाती (चाइनिज), भारतीय मेवा, किवी र एभोकाडो छन् ।
१ वैशाखमा १ सय ३६ रुपैयाँ दर्जनमा बिक्री भएको केरा ३१ चैतमा आइपुग्दा दर्जनमा १ सय ५० रुपैयाँ पुगेको थियो । एक वर्षमा केरा ९.७५ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ ।
यस्तै एक वर्षमा अनारको १८.७९ प्रतिशत मूल्यवृद्धि भएको छ । वैशाखमा प्रतिकिलो २ सय ७५ रुपैयाँ मूल्य रहेको अनार चैतमा ३ सय २६ रुपैयाँ पुगेको छ ।
वैशाखमा हरियो अंगुर १ सय ६० रुपैयाँ किलो रहेकोमा चैतमा १ सय ९० रुपैयाँ कायम छ । हरियो अंगुर एक वर्षमा १८.७५ प्रतिशतले बढेको हो ।
यसैगरी हरियो तरबुजामा ३० प्रतिशत मूल्यवृद्धि भएको छ । वैशाखमा ५० रुपैयाँ किलोमा किनबेच भएको तरबुजा चैतमा ६५ रुपैयाँ पुगेको कालीमाटी बजारको तथ्यांकले देखाउँछ ।
मूल्यवृद्धि हुने अरू फलफूलमा केरा, अनार, हरियो अंगुर, तरबुजा हरियो, भुइँकटहर, रुख कटहर, नास्पाती (चाइनिज), भारतीय मेवा, किवी र एभोकाडो छन् ।
एक वर्ष अवधिमा भुइँकटहर पनि १५.१५ प्रतिशतले बढेको छ । वैशाखमा प्रतिगोटा १ सय ६५ रुपैयाँ रहेकोमा चैतमा आउँदा उक्त मूल्य बढेर १ सय ९० रुपैयाँ कायम छ ।
यस्तै नास्पाती (चाइनिज) को मूल्य पनि १९ प्रतिशतले बढेको छ । वैशाखमा प्रतिकिलो २ सय १० रुपैयाँमा किनबेच भएको नास्पाती चैतमा २ सय ५० रुपैयाँ पुगेको तथ्यांकले देखाउँछ ।
भारतीय मेवा प्रतिकिलो ९६ रुपैयाँ भएकामा त्यसको मूल्य बढेर चैतमा १ सय १० रुपैयाँ कायम छ । यस्तै एक वर्ष अवधिमा एभोकाडो करिब ८.९९ प्रतिशतले बढेको छ । वैशाखमा ५ सय ७५ रुपैयाँ किलोमा किनबेच भएको एभोकाडो चैतमा ६ सय २६ रुपैयाँमा किनबेच भएको थियो ।
किवीको मूल्य गत वर्ष वैशाखमा प्रतिकिलो ४ सय २५ रुपैयाँ रहेकोमा चैतमा ४ सय २६ रुपैयाँमा कारोबार भएको तथ्यांकमा उल्लेख छ ।
कालीमाटी बजारको तथ्यांक केलाउँदा ३ वटा फलफूलको मूल्य भने घटेको छ ।
वैशाखमा प्रतिकिलो २ सय ५५ रुपैयाँ रहेको कालो अंगुरको मूल्य चैतमा घटेर २ सय ४० रुपैयाँमा किनबेच भएको थियो । एक वर्ष अवधिमा कालो अंगुरको मूल्य ५.८८ प्रतिशत घटेको छ ।
यस्तै भारतीय सुन्तलाको मूल्य पनि २१.५७ प्रतिशतले घटेको छ । वैशाखमा भारतीय सुन्तला प्रतिकिलो १ सय ७० रुपैयाँमा कारोबार भएकामा चैतमा १ सय ३३ रुपैयाँमा कारोबार भइरहेको तथ्यांकले देखाउँछ ।
वैशाखमा २ सय ५५ रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको जुनार चैतमा १ सय ९० रुपैयाँ कायम छ । एक वर्षमा जुनारको मूल्य २५.४९ प्रतिशतले घटेको कालीमाटी बजारको तथ्यांकमा उल्लेख छ ।