लमजुङको प्रसिद्ध पर्यटकीय गन्तव्य घलेगाउँले गाउँ पर्यटनको २५ वर्षे यात्रा स्मरणीय ढंगले मनाउँदै छ।
‘घलेगाउँ पर्यटन रजत जयन्ती’ को अवसरमा आयोजित कार्यक्रमको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गरे।
घलेगाउँ पर्यटन व्यवस्थापन समितिको आयोजनामा सुरु भएको रजत जयन्ती समारोहले पर्यटन क्षेत्रको यात्रामा घलेगाउँले गरेको योगदानलाई उजागर गर्दै गाउँ पर्यटनको महत्त्वलाई पुनः स्मरण गराउने उद्देश्य राखेको छ।
कार्यक्रम उद्घाटन गर्दै मन्त्री गुरुङले घलेगाउँको यात्रा विकटता, अभाव र संघर्षबाट सुरु भएर आजको ‘स्मार्ट भिलेज’ मा रूपान्तरण भएको सुनाए। उनले भने, ‘‘परिवर्तनको मूल रहस्य समुदायको एकता, नेताहरूको अठोट र जनसहभागिता हो।’’
मन्त्री गुरुङले घलेगाउँलाई विश्वसामु चिनिएको गाउँको रूपमा उल्लेख गर्दै यसको सफलताको मोडेललाई देशभर फैलाउन सकिने धारणा राखे। उनले भने, ‘‘घलेगाउँ नेपालको उत्कृष्ट होमस्टे गन्तव्य हो। यहाँबाट सुरु भएको होमस्टे अभ्यास अहिले देशभर फैलिएको छ।’’
उनका अनुसार लमजुङ जिल्ला अहिले ७७ वटै जिल्लामा गाउँ पर्यटन विस्तार गर्ने नेतृत्त्वदायी जिल्लाका रूपमा परिचित भइरहेको छ। ‘‘गण्डकी प्रदेशमा मात्रै ३०६ वटा होमस्टे दर्ता भइसकेका छन्। तीमध्य धेरै सफलतापूर्वक सञ्चालनमा छन्।’’ उनले भने।
उनले नेपालका गाउँहरूलाई ‘जीवन्त सङ्ग्रहालय’ को रूपमा परिभाषित गर्दै विविधता, प्रकृति र संस्कृतिको मिश्रणले देशलाई अन्तर्राष्ट्रिय पहिचान दिन सक्ने विश्वास व्यक्त गरे। उनले थपे, ‘‘भाग्य र भविष्य थाहा हुँदैन, तर कसैको अठोट, नीति र कार्यक्रमले नै भाग्य कोर्न सक्छ।’’
कार्यक्रममा स्थानीय बासिन्दा, होमस्टे सञ्चालक, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
आयोजकका अनुसार आगामी दिनहरूमा सांस्कृतिक कार्यक्रम, पर्यटनसम्बन्धी छलफल, स्थानीय उत्पादनको प्रदर्शनी र अनुभव आदानप्रदान हुनेछन्।
प्रकाशित: १ वैशाख २०८२ १४:४९ सोमबार