‘दाइ, दाइ मेरो भाइबर चल्यो । म खतरा ठाउँमा छु है !’
यसो भनिरहँदा सुरेश रजकको आवाज केही हडबडाएको सुनिन्छ । उनी क्यामेरा बोकेर एउटा ल फर्मको कार्यलयभित्र छिरेका छन् । त्यहाँ प्रदर्शनकारीहरूले उत्पात मच्याइसकेका छन् । टेबल–कुर्सी भाँच्ने, कागजात फ्याँक्ने क्रम जारी छ ।
केही अघिसम्म सो भवनमा तिनीहरूले तोडफोड गरिरहेका थिए । भवनका झ्याल कुनै सद्दे रहेनन् । झर्यामझुरुम भयो । त्यसरी नै फुटाइएको झ्यालबाट प्रदर्शनकारीसँग सुरेश पनि उक्त कोठामा छिरेका देखिन्छन् ।
संभवत सुरेश त्यो जोखिमयुक्त ठाउँबाटै प्रत्यक्ष प्रसारण गर्ने प्रयासमा छन् । एभिन्युज टेलिभिजनका क्यामेरापर्सन उनी राजावादी प्रदर्शनको दृश्यहरू पछ्याउँदै त्यहाँसम्म पुगेका हुन् ।
००० ०००
बाहिर चर्को हो–हल्ला, हुलदङ्गाको ध्वनि । यतिबेला त्यो कार्यलयभित्र सुरेश मात्र बाँकी छन् । सुरेशले काँधमा क्यामेरा भिरेका छन् र हातले दुईवटा मोबाइल चलाइरहेका छन् । उनी भिडियो लाइभ गर्ने प्रयासमा थिए ? मोबाइलको नेटवर्क खोज्दै थिए ? कसैसँग सम्पर्क गर्दै थिए ? स्पष्ट हुँदैन ।
कसैले सुरेशको भिडियो ‘जुम’ गरेर खिच्छ । त्यसपछि चेनगेट देखाउँछ र फेरि जुम गरेर ताल्चा लगाइएको देखाउँछ । अर्थात् उनी बन्द कोठामा छन् । त्यसभन्दा तलको कोठाभित्र आगो लाग्न सुरु गरिसकेको छ ।
००० ०००
तीनकुनेको सो भवनमाथि ढुङ्गा प्रहार भइरहँदा र त्यसको सिसाहरू फुटिरहँदा सुरेश त्यही भित्रबाट भिडियो खिचिरहेका देखिन्छन् । संभवतः उनी एक्सक्लुसिभ फुटेज खिच्ने यत्नमा छन् ।
केही पछि भवन दनदनी आगोमा जल्न थाल्छ । आगो निभाउन आएका दमकललाई प्रदर्शनकारीले लखेट्छन् ।
त्यसपछि ?
भग्न भवनको तेस्रो तलामा उक्लिएर आफू कार्यरत टेलिभिजनमा विशेष दृश्यहरू प्रत्यक्ष प्रसारण गर्न खोजिरहेका सुरेश एकाएक सम्पर्कविहीन हुन्छन् ।
००० ०००
चैत १५, शुक्रबार ।
राजावादी प्रदर्शनले उग्र रूप लिइसकेको छ । अनलाइन पत्रिका ‘लोकपथ’का लागि भिडियो खिच्दै तीनकुनेमा आइपुग्छन्, दिनेश रजक । नाताले उनी सुरेशका साख्खै दाइ हुन् ।
यतिबेला तोडफोड गरिएको भवनमा आगो सल्किसकेको हुन्छ र त्यसको लप्का हावा जसरी सर्वत्र फैलिन्छ । उनी आगोले जल्दै गरेको भवनको दृश्यहरू खिच्न थाल्छन् ।
यतिनै बेला एभिन्युज टेलिभिजनका केही रिपोर्टर कराउँछन्, ‘एउटा क्यामेरापर्सन माथि नै छ, माथि नै छ ।’
हठात् उनका भान्जा राजेश रजक अत्तालिदै र रुँदै आइपुग्छन् । उनी भनिरहेका छन्, ‘माथि… माथि ।’
दिनेश सोध्छन्, ‘को ?’
‘हाम्रो मामा, हाम्रो मामा’ भन्दै ऊ रुन थाल्छ । भान्जा पनि एभिन्युजकै क्यामेरापर्सन हुन् । मामा भान्जा दुवै राजावादी प्रदर्शनको भिडियो खिच्न खटिएका हुन्छन् ।
भान्जाले जल्दै घरको भवनलाई संकेत गरेर ‘माथि हाम्रो मामा छ’ भनेको सुनेपछि दिनेशको नौनाडी गल्छ । मुटुको चाल नै रोकिए जस्तो हुन्छ । सास अड्किन्छ । भाउन्न हुन्छ ।

उनीहरूले प्रहरीलाई गुहार गर्छन्, सहयोगका लागि । तर प्रहरी भन्छ, ‘हामीले माथि सबै खोजिसक्यौं, कोही छैनन् ।’
तीन पटकसम्म माथि उक्लिएर खोज्दा मान्छे नभेटिएको जवाफ दिन्छन् । प्रहरीको कुरा सुनेपछि दिनेशको मनमा केही आसा जाग्छ । उनले आफूलाई केही हल्का महसुस गर्छन् ।
यद्यपि यसबेलासम्म उनका भाइ सुरेश भने सम्पर्कमा आएका छैनन् । सबैतिर सोधीखोजी गर्दा भेटिएका छैनन् । नजिकैको कान्तिपुर अस्पताल, सिभिल अस्पतालदेखि आसपासका सबै अस्पतालमा हेर्न र बुझ्न जाँदा फेला परेका छैनन् ।
केही समयपछि सशस्त्र प्रहरी आएर भवनको आगो निभाउँछन् । अनि दिनेश, उनका भान्जा र एभिन्युजकै अरु रिपोर्टर भवनभित्र पसेर माथिसम्म खोजतलास गर्छन् । भुँइतलामा खरानीको रास हुन्छ । दिनेशलाई कताकता शंका लाग्छ, त्यही रासभित्र पो आफ्नो भाइ छ कि । त्यहाँ आगोको राप र धुँवाले उकुसमुकुस हुन्छ ।
भवनभित्र धेरै समय बस्न सहज नभएपछि उनीहरू फेरि बाहिर सडकमा निस्कन्छन् ।
००० ०००
साँझ पर्नै लाग्छ । भवनको भुँइतलाको आगो फेरी सल्किएर दनदनी बल्न थाल्छ । जसोतसो दमकल आइपुग्छ र आगो निभाउँछ ।
दिनेश भित्र पसेर भाइको खोजी गर्न थाल्छन् । भुँइतला हुँदै दोस्रो तलासम्म पुग्दा भान्जा तेस्रो तलामा उक्लिसकेका हुन्छन् ।
यत्तिकैमा भान्जा जोडजोडले रुँदै कराउँछन्, ‘मामा... मामा !’
दिनेश दौडँदै माथिल्लो तलमा पुग्छन् । त्यहाँको दृश्य देखेर उनको मुटुको चाल नै रोकिए जस्तो हुन्छ । झ्यालको ठीकमुनि एउटा जलेको मान्छे देखिन्छ । ऊ भित्तामा अडिएको अवस्थामा छ । हात–खुट्टा कुप्रिएको छ ।
केही संकेतबाट प्रष्ट हुन्छ, त्यो उनकै भाइ सुरेश रजक हुन् ।
तर, उनी त्यहाँसम्म गएर किन निस्किएनन् ? जबकि जुन झ्यालबाट प्रदर्शनकारीसँगै उनी प्रवेश गरेका थिए त्यहाँबाट निस्कनका लागि उसलाई केले रोक्यो ?
आगो एकै पटक सल्किएको थिएन । भूँइतलामा आगो लागिरहँदा सुरेश किन चुपचाप बसिरह्यो ? आगोको राप र धुँवाले पोल्न थालेपछि मान्छे छटपटाउनु वा चिच्याउनुपर्ने हो ।
संभव भएसम्म आफूलाई बचाउन खोज्नुपर्ने हो । माथिको तलाबाट हाम फाल्नुपर्ने हो । यताउता दौडनुपर्ने हो । के उनले त्यसो गरे ?
दिनेशलाई लाग्दैन आगोले पोल्नुअघि भाइ दौडिए, चिच्याए वा आफ्नो ज्यान बचाउनतर्फ लागे । त्यसो हुँदो हो त केही न केही संकेत देखिने थियो । धुँवाको मुस्लोले अचानक बेहोस हुने स्थिति पनि त्यहाँ देखिंदैन । त्यसो भए उक्त कोठाभित्र, त्यो पनि भित्तामा अडेसिएको अवस्थामा उनी कसरी जल्न पुगे ?
यतिबेला शोकमा बसिरहेका दिनेशलाई यही प्रश्नहरूले घोचिरहेको छ । उनलाई लाग्छ, यो स्वभाविक छैन । रहस्यमयी छ ।
००० ०००
शुक्रबार बिहान करिब ८ बजे ।
सधै झै सुरेश त्यसदिन पनि बिहानै उठेर फूर्तिसाथ आफू कार्यरत एभिन्युजतर्फ लागे । बिहान चाँडै उठ्ने, घरायसी कामकाज सिध्याउने र अफिस निस्कने निश्चित तालिका थियो उनको ।
घरबाट निस्कँदै गर्दा उनले दाइ दिनेशलाई भने, ‘म छिटै आउँछु । तँ पनि काम सकाएर छिटै आउनु, रमाइलो गर्नुपर्छ ।’
त्यसदिन घरमा भोज हुँदै थियो ।
त्यसै त रौसे मान्छे, त्यसमाथि भोज । भोज खानु वा खुवाउनु, केही विशेष परिकार तयार गर्नु, आगन्तुकलाई तृप्त बनाउनु, हाँसीमजाक गर्नु उनको मूल स्वभाव थियो । उनी रसिक थिए, झोंकी थिए र जोखिमसँग खेल्न रुचाउने पनि । त्यसअघि उनले ‘हेम सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार’ पाएका थिए ।
यसवर्ष घरमा आयोजना हुने सबैजसो भोजको जिम्मा उनकै भागमा थियो । किनभने तीन दाजुभाइले वर्षैपिच्छे पालैपालो भोजभत्तेर गर्ने भावनात्मक सहमति थियो ।
सुरेश तीन दाजुभाइमध्ये कान्छो । जेठो दाइ चागलको पुर्ख्यौली घर बस्छन् भने सुरेश र दिनेशले चन्द्रागिरिमा नयाँ घर बनाएर सरेका थिए ।
यसपाली घोडोजात्रासँगै भोजभतेरको याम सुरु हुँदै थियो र त्यसको पहिलो दिन सुरेशले सबै बन्दोबस्त गरिसकेका थिए । त्यसदिन सबै भाइ मिलेर चन्द्रागिरिस्थित घरमा भोज खाने, अर्को दिन चेलीहरूलाई निम्तो गर्ने तय भएको थियो ।
सुरेशले घरमा भनेका थिए, ‘राजावादी प्रदर्शनको काम सकाएर जात्राको भिडियो खिच्छु, त्यसपछि सोझै घर फर्कन्छु ।’
तर, उनी फर्किएनन् ।
००० ०००
हामी चागलको पुर्ख्यौली घरमा पुग्यौं, जहाँ सुरेश जन्मिहुर्के । घरमा सन्नाटा थियो । भुँइतलामा केही आगन्तुकसँगै सुरेशकी श्रीमती थिइन्, विक्षिप्त अवस्थामा ।
हामी माथिल्लो तलमा उक्लियौं, जहाँ सुरेशका दाइहरू भेटिए । सुरेश त्यसदिन घरबाट के भनेर निस्किएका थिए ? कसरी सम्पर्कविहीन भए ? कसरी जले ?
हामीसँग यस्तै आधारभूत प्रश्नसँगै अरु केही जिज्ञसा थियो । ऊ कस्तो स्वभावको थियो ? कार्यशैली कस्तो थियो ?
बाहिर के सुनिएको थियो भने, सुरेशले कति महिनादेखि आफ्नो कामको पारिश्रमिक पाएका थिएनन् । पारिश्रमिक नपाएपनि उनी नियमित अफिस जान्थे । निर्धारित समयमा काम सकाउँथे ।
हामीले कतिपय भिडियो फुटेजमा देख्यौं, उनी ढुङ्गामुडा भइरहेको भवनमा छिरेर भिडियो खिच्दैछन् । प्रदर्शनकारीले तोडफोड गरेकै ठाउँबाट प्रत्यक्ष प्रसारण गर्ने तयारी गर्दैछन् । त्यतिका उग्र हुलदङ्गालाई पछ्याउँदै झ्यालबाट छिरेर कोठासम्म पुगेका छन् ।
‘ऊ अलि एक्स्ट्रा नै थियो’ माइला दाइ दिनेशले सुनाए, ‘जे कुरा पनि अलि फरक ढंगले गर्न खोज्ने, अरुभन्दा फरक बन्न खोज्ने ।’
त्यसपछि उनले हामीलाई सुरेशको सम्पूर्ण बेलिबिस्तार लगाए ।
००० ०००
‘जसोतसो प्लस टुसम्म पढ्यो । तर, पूरा गरेनन् । खर्चपर्चका लागि उसले मलेसिया जान्छु भन्यो । हामीले उसलाई मलेसिया पठायौं । त्यहाँ गाडीको पार्ट्स बनाउने ठाउँमा काम गर्यो ।
आमाको मानसिक स्वास्थ्य ठीक थिएन । बुवा बितिसकेका थिए । हामी दुवैलाई जेठा दाजु र भाउजुले हुर्काए । पढाए । जेठा दाइले बिहे गर्दा भाइ सुरेरश राम्ररी भात खान पनि नसक्ने बालक थियो । दाजु र भाउजुले नै स्यहारसुसार गरे ।
त्यसबेला हाम्रो परिवारको अवस्था नाजुक थियो । सुरुमा त दाइले हामीलाई निजी स्कुलमै भर्ना गरिदिए । त्यसपछि सरकारीमा । हामीले राम्ररी पढ्न सकेनौं ।
विनासकारी भूकम्पअघि आमा बितिन् । केही दिनमा सुरेश मलेसियाबाट फर्किए । त्यसपछि उनीसँग कुनै कामधन्दा थिएन ।
मैले उसलाई माउन्टेन टेलिभिजनमा बोलाएँ, जहाँ म काम गर्थें । त्यहाँ सुरुको केही महिना उसले इन्टर्नसीप गर्यो, मसँगै काम सिक्यो ।
पछि हामी १५ जनाले एकसाथ माउन्टेन टेलिभिजन छाड्यौं, त्यसमा सुरेश पनि थियो ।
पछि उसले एभिन्युज टेलिभिजनमा काम सुरु गर्यो । र, एक वर्ष भित्रमै आफ्नो विभागको सम्पूर्ण जिम्मेवारी सम्हाल्न थाल्यो । कामप्रति उनको एकदमै लगाव थियो । चाहे त्यो अफिसमा होस् वा घरमा ।
उसले बिहे गरेको धेरै भएको छैन । बिहेपछि दुवै जना आ–आफ्नो काममा जान्थे । घरको काम पनि मिलीजुली गर्थे । उसलाई खाना पकाउन, लुगा धुन, घर सफा गर्न कहिल्यै अल्छी नलाग्ने ।
बिहान ५ बजेतिर उठिसक्ने । त्यसपछि घरायसी काम सक्ने । भात पकाउने । अनि खाना हटकेसमा राखेर एउटै समयमा अफिस निस्कने ।
प्रायः ८, ९ बजेतिर ऊ घरबाट हिंडिसकेको हुन्थ्यो । घरबाट लगेको खाना अफिसमै खान्थ्यो । र, राति ७–८ बजे मात्र घर फर्कन्थ्यो ।
उसलाई अलि जोखिमपूर्ण काम गर्न मन लाग्ने । अरुले नगरेको, अरुले नसकेको काम । अरुभन्दा पृथक देखिन खोज्ने । यस्तो खतरा काम गर्न मन छ भन्ने गर्थे । ऊ खतरासँगै खेल्ने खालको थियो । साथै बलियो र फुर्तिलो पनि ।
दुई–तीन जनासँग त सजिलै भिड्न सक्ने । झोंकी पनि । तर, त्यसदिन कसरी उसले कुनै प्रतिकार नै गरेन ? किन आगो लाग्दा बाहिर निस्किएन ? मलाई अचम्म लागिरहेको छ । ऊ त हाम फालेर पनि निस्कन सक्ने मान्छे हो । वा भिड्न पनि सक्ने मान्छे हो ।
ऊ चन्चले, रमाइलो पनि थियो । घरमा सुरेश भएपछि सबैजना खुसी देखिन्थे । भोजभत्तेरमा अझ रमाइलो गर्ने । पाहुनालाई नयाँ कुरा बनाएर चखाउन मन पराउने । सबै जना खुसी भएको देख्दा ऊ रमाउँथ्यो । तर, आज उसले घरलाई शुन्य बनाएर गयो ।
फोटो : चन्द्रबहादुर आले