स्वैरकल्पनाको ढाँचाभित्र विचार र सम्वेदना  – Online Khabar

Bhanu bokhil 1230


मुना मदनको डिभोर्स पार्टी हालसालै प्रकाशित दिपक समिरको पहिलो कथा संग्रह हो । कथा संग्रह पहिलो भएपनि लेखनको क्षेत्रमा समिरको परिचय नौलो हैन । रेडियो र टेलिभिजनको क्षेत्रमा सुपरिचित नाम दिपक समिर लेखनमा पनि परिचित नाम हो । केवल संग्रहको हिसाबले उनको यो पहिलो कृति हो ।

विधागत हिसाबले यो कथा संग्रह हो । अंग्रेजी साहित्यको हिसाबले यसलाई सर्ट फिक्सन भनिन्छ जो आख्यान विधाभित्र पर्छ । आख्यान विद्याअन्तर्गत परेपनि यि कथाहरुले निबन्धपरक लेखन शैली र विशेषता बोकेका छन् । हुन त दिपक समिरको लेखन शैलीसँग परिचितको लागि यो नौलो कुरा हैन । लेखकले कुनै पनि कथाको विषयवस्तुलाई स्वैरकल्पनामा डुबेर निबन्धपरक शैलीमा लेख्दै आएका थिए ।

समयको अनन्त श्रृंखलामा पात्रको उपस्थिति देखाएर लेखिएका यी कथाले कुनै पात्र विशेषको मिहीन क्रियाकलाप देखाउदैनन् । बदलामा ती पात्रमार्फत लेखक गहिरो विचार, अवधारणा र आफ्नो दृष्टिकोणहरू अभिव्यक्त गर्छन् । तसर्थ यो कथा संग्रह हामीले बाँचेको समाजको घटनाहरुको परावर्तन मात्र हैन ।

यसले वर्तमानमा अल्झिएका र बल्झिएका जीवन र समाजको ऐनामात्र देखाउँदैन । समाजले भोगिरहेको समस्या र चुनौतीलाई सचेत गराउने दस्तावेज पनि हो, जसले इतिहासदेखि वर्तमानसम्म मानवता, समानता र स्वतन्त्रता माथि खतरा भएका पक्षमाथि औला उठाएको छ, जसले समाज र मानिसको मनोविज्ञानको विभिन्न आयामलाई उठाएको छ ।

माया शास्वत छ । मस्तिस्कको अवचेतन तह  (जसलाई हामी मन पनि बन्दै आएका छौ ) बाट पलाएको माया वा प्रेम शास्वत अनुभूति हो । माया मानवता हो । माया समानता हो । माया जीवन हो । तसर्थ माया छैन भने केही पनि छैन । त्यो महान अनुभूति लिएर समिरको कथामा जाजरकोटमा नवराज विक, कुनै समय सैनिकलाई प्रेम गर्न नदिने तानशाहको पथमा उभिएका भ्यालेन्टाइनको पक्षमा उभिएका छन् ।

प्रेमीहरु वा मायाका पक्षधरता जनाउनेहरु समानतको धरातलमा उभिन खोज्छन् । तर समाज कुनै न कुनै रुपमा समानताको विरोधी छ । तर समानताको पक्षमा उभिनु हरेक सचेत नागरिकको कर्तव्य हो, जसको वकालत दिपक समिरले आफ्नो निवन्धपरक कथाको माध्यम गरेका छन् ।

दिपकले संकेत गरेका छन् कि जातीय विभेदको कारण प्रेममा ज्यान गुमाएका नवराजको कथा वर्तमानमा एउटा दुःखद कथा हो । यसले समाजको चेतनास्तर र मानवता माथि नै प्रश्न उठाएको छ । तर समिरले भोलिको दिनमा यो नै त्याग र प्रेमको महान कथा हुने संकेत गरेका छन् ।

दिपक समिरको कथा भन्ने शैली स्वैरकल्पना भए पनि यिनले परिकथाहरु भनिरहेका छैनन् । बरु राजनीतिक विकृति र सामाजिक चेतमाथि बेजोड प्रहार गरिरहेका छन् ।

स्वैर परिकल्पनाको माध्यम मार्फत लेखक समिर कथाको लागि देशको भूगोल बाहिर पनि टहलिएका छन् । दिवंगत व्यक्तित्वलाई आजको परिवेशमा पात्र बनाएर उभ्याएका छन् । ति पात्रहरुलाई सम्वादमा सरिक गराएका छन् । निश्चय नै ति चर्चित पात्रको बारेमा सबैका आफ्ना आफ्ना धारणाहरु छन् । ति धारणाहरु केही हदसम्म एकतर्फी छन् । तर त्यसको अर्काे पाटो के हुन सक्छ भनेर पनि समिरले आफ्नो कथा मार्फत नियाल्ने प्रयास गरेका छन् ।

जस्तो कि आजकल हिटलर दार्शनिक भएका छन् । किन डायनाले राजपरियारको सुखसयल त्यागेर सामान्य नागरिक बनिन् । त्यसमा उनीमाथि लागेको आरोपको तर्क वा जवाफहरु के थिए ? यी परिदृश्य लेखक समिरका तर्क मात्र हैनन् । फरक दृष्टिकोण मात्र हैनन् । बदलिदै गएको समय र परिवेश तिनै पात्र भएका भएपनि कसरी व्यवहार गर्थे भन्ने संकेत हुन् । जो बदलिदो समय र परिवेशमा पालन गर्नुपर्ने सन्देस पनि हो ।

समग्रमा समिरले ऐतिहासिक पात्रले बाँचेका भए के गर्थे भन्ने आफ्नो दृष्टिकोण मात्र दिएका छैनन् । उनले समाजमा सीमान्तकृत र संकटासन्न समुदाय, लिंग वा समूहको पक्षमा आफूलाई उभ्याउने कोसिस गरेका छन् । उनीहरुको दुःख, पीडा केलाएर सुमसुम्याउने प्रयास गरेका छन् । निश्चय नै कमजोरको दुःख, पीडामा शक्तिशालीको भूमिका हुन्छन् ।

शक्तिशालीले गरेका नजरअन्दाज तथा उनीहरुको मनमौजी चरित्रले कसरी सीमान्तकृतलाई अझ किनारामा पार्छ । यी कुराहरुलाई पनि दिपक समिर आफ्नो कथाहरु मार्फत उजागर गरेका छन् । साथै शीर्ष कथामार्फत समाजको चरित्र, सँस्कारलाई चुनौती दिदै परिवर्तनको आवश्यकता औल्याएका छन् । जसको मुख्य उदेश्य र मर्म हो कि अवको दुनियाँमा बोझिलो सम्बन्धभन्दा स्वतन्त्र जीवन महत्वपूर्ण छ । त्यसको लागि कुनै पनि सम्बन्ध आफ्नो स्वतन्त्रालाई तिलाञ्जली दिएर जोगाउन जरुरी छैन ।

दिपक समिरको कथा भन्ने शैली स्वैरकल्पना भए पनि यिनले परिकथाहरु भनिरहेका छैनन् । बरु राजनीतिक विकृति र सामाजिक चेतमाथि बेजोड प्रहार गरिरहेका छन् । हिजोको दिनमा हिटलर जस्ता पात्रले तबाई मच्चाए । साँगुरो सोचको कारण जसरी हिटलरले बर्बरता मच्चाए, आजको नेताहरु पनि त्यस्तै छन् । आजको नेताहरु पनि आत्मकेन्द्रित छन् ।

त्यसमा हाम्रै नेताहरु पनि छन्, जसले वृहत्तर नागरिकको हित सोच्न सकिरहेका छैनन् । आफ्नो व्यक्तिगत श्वार्थ र इर्ष्याभन्दा माथि उठ्न सकेका छैनन् । केवल आफ्नै सत्ता श्वार्थको लागि केन्द्रित छन् । जसमाथि व्यङ्गे प्रहार गर्न पनि दिपक समिर मृत वैज्ञानिक लुईस पाश्चरलाई पात्र बनाएर उभिएका छन् । तसर्थ मृत र जिवित पात्रको मिलन र सम्वाद समिरको कथाहरु विशेषता हो ।

स्वैर परिकल्पना लेखिएका समिरका १४ वटा कथाभित्र पात्रले बाँच्ने निश्चित समय सीमा छैनन् । भाषाका निश्चित सीमाहरु छैनन् । प्राय धेरै कथामा आफूलाई एक पात्रको रुपमा सहभागी गराएका छन् । जसको लागि उनले एक विधिको प्रयोग गरेका छन् । जहाँ उनी कार्यरत संस्था नेपाल टेलिभिजन विश्वव्यापी रुपमा फैलिएको छ । त्यसमा उनी यस्ता पत्रकार हुन्, जो मृत पात्रसँग पनि कुरा गर्न सक्छन् । धेरै कथामा प्रयोग भएको यो विधि लेखकको एक माध्यम वा चलाखीको रुपमा लिन सकिन्छ । तर यो माध्यमभन्दा समिरले पेस गरेका तर्क वा फरक दृष्टिकोण महत्वपूर्ण छन् ।





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *