News Summary
Generated by OK AI. Editorially reviewed.
- प्रोफेसर जेरोनिमो लोपेज मार्टिनेजले नेपालसँगको ५२ वर्षको सम्बन्ध र हिमाल अध्ययनको महत्त्व व्यक्त गरे।
- उनले भने, ‘हिमाल चढ्नु जित होइन, हिमालको बुझाइ नै सफलता हो।’ र नेपाललाई अध्ययन र जीवनको गन्तव्य बनाएको बताए।
- कार्यक्रममा नेपाली प्रेम र सांस्कृतिक सम्बन्धलाई सम्मान गर्दै नेपाली हिमाल, संस्कृति र पर्यटकिय गन्तव्यहरूको चर्चा गरियो।
बार्सिलोना। ‘हिमाल चढ्नु जित होइन, हिमालको बुझाइ नै सफलता हो।’ स्पेनी पर्वतारोही तथा भूगर्भविद् प्रोफेसर जेरोनिमो लोपेज मार्टिनेजको यो भनाइ केवल शब्द होइन- नेपालसँग बिताएका पाँच दशकको सम्बन्धको सार हो ।
शुक्रबार बार्सिलोनामा आयोजित ‘एभरेष्ट उत्सव’ कार्यक्रममा जब उनले यो वाक्य उच्चारण गरे, त्यसमा उनीले देखेको, चिनेको र माया गरेको नेपाल प्रतिविम्बित भइदियो । सन् १९७५ मा मनास्लुबाट सुरु भएको उनको हिमाल यात्राले उनलाई केवल शिखरसम्म होइन-नेपाली भूगोल, संस्कृति र गाउका झुपडीसम्म पुर्याएको थियो ।
‘५२ वर्षअघि पहिलोपटक नेपाल पुगेको थिएँ,’ उनले मुस्कुराउँदै भने, ‘त्यसयता म थुप्रै पटक पुगिसकेको छु । दुई हप्ता अघि मात्रै नेपालबाट फर्किएको हुँ-जहाँ नेपाली अनुहारमा मलाई मेरो आफ्नोपन भेटिन्छ।’
उनको अनुभव सायद अरु आरोहीको जस्तै हुँदो हो-त्यो केवल आरोहणसम्म सीमित हुदो हो।तर लोपेजका लागि नेपाल भनेको हिमाल मात्र होइन,त्यो त अध्ययनको प्रयोगशाला र जीवनको गन्तव्य नै बनिसकेको छ ।
आज उनी हिमालहरू चढ्दैनन्, तिनीहरूलाई पढ्छन्।हिमालयको भू-आकृति, वातावरणीय चाप, आरोहणमा बढ्दो व्यवसायिकता र त्यसले ल्याउने संकटबारे उनी गहिरो अनुसन्धानमा गरिरहेका छन् ।
सन् १९७५ मा गेरार्डो ब्लास्केजसँगै मनास्लु हिमालको सफल आरोहण गर्दै इतिहास रचेका लोपेज आठ हजार मिटरभन्दा अग्लो हिमाल चढ्ने पहिलो स्पेनी हुन्। त्यसपछि उनले सगरमाथा पनि चढे। सम्भवत-उनी विश्वको सर्वोच्च शिखरमा पाइला राख्ने पहिलो २०५ आरोहीहरूमध्ये एक हुन् ।
नेपाली राजदूतावास म्याड्रिडद्वारा आयोजित ‘एभरेष्ट उत्सव’ केवल एक समारोह थिएन, त्यो नेपालप्रेमीहरूको आत्मीय पुनर्मिलन थियो।त्यहाँ,स्पेनी भूमिमा नेपाली हावाको झल्को चल्यो।हिमालहरू सम्झिए-सगरमाथा मात्र होइन, हाम्रो पहाड, पाखा र ती गुमनाम गाउँहरू जसले हरेक आगन्तुकलाई आफ्नो बनाए । त्यहाँ नेपाली भेषमा देखिएका अनुहारहरूमाथि स्पेनी आत्माहरू झुके ।
कार्यक्रमका वक्ताहरूका स्वर एउटै लयमा बगे-नेपाल कुनै एकपटक घुमेर सकिने देश होइन,त्यो त हृदयमा घर बनाउने स्मृतिको भूगोल हो।एकचोटि भेटिएपछि कहिल्यै छुट्टिन नखोज्ने अनुभूतिको देश।
नेपालप्रति यस्तो प्रेम केवल लोपेजमा सीमित थिएन।कार्यक्रममा स्पेनी आरोहीहरूको अनुहारमा उस्तै चमक थियो-जुन शिखर पुगेपछि होइन, शिखर बुझिसकेपछि आउने हो । जौमे अल्तादिल क्लूआ-क्याटालान पर्वतारोही र चलचित्रकर्मी।
उनले निर्देशन गरेको ‘एभरेष्ट ९३’ डकुमेन्ट्रीले शिखरभन्दा ठूलो कथा भन्यो-प्रकृतिप्रति श्रद्धा र संरक्षणको। यही फिल्मले उनलाई अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवमा स्पेनका उत्कृष्ट निर्माता बनायो।
सन् १९८४।खुम्बुको आकाशमा ६,७८२ मिटर अग्लो काङ्गटेगा।यस शिखरमा पाइला टेकिन् मेरी पुइग रेबुस्तेस।यो केवल महिला नेतृत्वमा सम्पन्न एक आरोहण थिएन, यो एक युगको उद्घोष थियो-जहाँ महिला आत्मबल हिमालभन्दा कम थिएन।
सन् १९८८ मा उनी फेरि नेपाल फर्किन् र पहिलो स्पेनी महिलाका रूपमा सगरमाथा आरोहण प्रयास गरिन्।उनका हरेक पाइला इतिहास थियो।
समारोहमा सम्मानित अर्का व्यक्तित्व थिए-लुईस बेलभिस डेल रियो।नेपालसँग उनको सम्बन्ध धेरै पुरानो र आत्मीय छ ।
सन् १९८० को दशकतिर, जब नेपालमा ट्रेकिङ संस्कृति विस्तार हुँदै थियो, उनी त्यही बेला नेपालका दुर्गम हिमाली भेगहरूमा पुगेका थिए। सन् १९८२ मा उनले क्याटालान पर्वतारोहीहरूलाई सगरमाथासम्म पुर्याउने अभियानको नेतृत्व गरे।उनी लामो समयसम्म बार्सिलोनाबाट नेपाली कन्सुलरको भूमिका पनि सम्हाल्दै आएका थिए।सगरमाथा सफाइ अभियानमा पनि उनको योगदान उल्लेखनीय छ।नेपालका थुप्रै ठाउँ घुमिसकेका बेलभिस भन्छन्,’नेपाल मेरो दोस्रो घरजस्तै हो।’
कूटनीति, पर्यटन र संस्कृति एकै ठाउँमा
कार्यक्रममा स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले सहभागिलाई स्वागत गर्दै भने,‘नेपालले विश्वलाई हिमाल मात्रै दिएको छैन,आत्मीयता, साहस र सांस्कृतिक समृद्धिको सन्देश दिएको छ।’ राजदूत नेपालले नेपालको विविधता, प्रकृति र संस्कृतिको सन्तुलनलाई स्मरण गर्दै थपे, ‘नेपाल एउटा यस्तो देश हो, जहाँ प्रकृति, अध्यात्म र साहस एकसाथ पाइन्छ । यही कारणले संसारभरका मानिस नेपालसँग भावनात्मक रुपमा जोडिन्छन्।’
कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्माले दुई चरणमा प्रस्तुति दिए।पहिलो चरणमा उनले नेपालका प्रमुख पर्यटन गन्तव्य, पदयात्रा मार्ग, र गाउँघरमा पाइने आतिथ्यता बारे चर्चा गरे । उनी भन्छन्, ‘नेपाल घुम्न आउनु केवल दृश्य हेर्नु होइन,अनुभव बटुल्नु हो।यहाँको हिमाल, संस्कृति र मानिसहरूले मन छुन्छन्।’ दोस्रो चरणमा उनले सगरमाथाका हालका विषयहरूबारे बोले।जलवायु परिवर्तनको असर, भीड बढ्दै गएको अवस्था, र त्यसले पारिरहेको असरबारे उनले तथ्यसहित बताए ।
कार्यक्रममा एनआरएनए स्पेनको संयोजनमा विभिन्न जातजातिका कलाकारहरूले आफ्ना परम्परागत भेषभूषामा नाच प्रस्तुत गरे। त्यो नृत्य केवल मनोरञ्जन थिएन, त्यो नेपाली पहिचानको उत्सव थियो । नेपाली हस्तकलाका सामग्री-धातुका मूर्ति,लोककला र काठका शिल्पहरूले पनि दर्शकको ध्यान खिचे ।
एनआरएनए स्पेनका अध्यक्ष पेशल कुमार कोईरालाले भने, ‘एभरेष्ट डेको सन्दर्भमा बार्सिलोनामा यति आत्मीय कार्यक्रम आयोजना गरेर नेपालीपनको गर्वलाई जीवित बनाइदिनु भएकोमा राजदूतावासलाई धन्यवाद दिन चाहन्छु।’