२५ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालयका संस्थापक हुन्, प्रा.डा. सुरेशराज शर्मा । ६ कार्यकाल अर्थात् २० वर्ष उपकुलपति भएर उनले केयूलाई उत्कृष्ट विश्वविद्यालय बनाए ।
सन् १९९१ मा स्थापना भएको विश्वविद्यालय अहिले उनकै ‘लिगेसी’ले चलिरहेको छ ।
उपकुलपतिबाट बाहिरिएपछि पनि अब बन्ने नयाँ उपकुलपति छनोट समितिमा उनै छन् । उनैले उपकुलपतिको नाम सिफारिस गरिरहेका छन् ।
केयूमा शर्मालाई सबैले अभिभावक मान्छन् । तर यसपटकको उपकुलपति छनोटमा उनको अति सक्रियताले केयूका प्राध्यापकहरू प्रश्न गर्न थालेका छन् ।
‘१९९१ मा जसरी स्थापना भयो । २०२५ मा आइपुग्दा पनि त्यो सोचमा परिवर्तन भएको छैन । त्यतिबेला गुणस्तरीय शिक्षाको परिकल्पना गरेर सुरेश सरको नेतृत्वमा एउटा समूहले गर्यो,’ केयूका प्रा.डा मनप्रसाद वाग्ले गुनासो राख्दै सुनाउँछन्, ‘एकदमै मान्नुपर्ने कुरा छ । ठूलै विश्वविद्यालय बन्यो । तर आज २०२५ मा आइपुग्दा पनि लिगेसीमा परिवर्तन भएन ।’
प्रा.डा. वाग्ले अब संस्थापक उपकुलपति शर्माको लिगेसीमा परिवर्तन आवश्यक देख्छन् । छैटौंपटक उपकुलपति हुँदा तत्कालीन कुलपति बाबुराम भट्टराईले हटाएपछि प्रत्येक उपकुलपति छनोट समितिमा प्राडा शर्मा रहेका कारण उनको लिगेसी कायम रहेको निष्कर्ष उनको छ ।
‘छैटौंपटक पनि उपकुलपतिमा सुरेश सर नियुक्त हुनुभएको छ । तर एक वर्षमा नै कुलपति बाबुराम भट्टराई आउनुभयो । उहाँले हटाएको हो । राजीनामा दिन बाध्य पारिएको हो,’ प्रा.डा. वाग्ले थप्छन्, ‘सुरेश सर उपकुलपतिबाट बाहिरिएपछि प्रत्येक छनोट समितिमा रहनुभयो । १९९१ को लिगेसी अहिलेसम्म छ । लिगेसी परिवर्तन भएन भने केयूमाथि उठ्न सक्दैन ।’
लिगेसीमा परिवर्तन नगर्ने हो भने अरु विश्वविद्यालय जस्तै बन्ने तर्क प्रा.डा. वाग्लेको छ । ‘मेरो केयूमा १८ वर्षको अनुभवले भन्छ– लिगेसी परिवर्तन नगर्ने हो भने अरु विश्वविद्यालय जस्तै हुन्छ,’ उनले भने ।
केयूका कामु उपकुलपति प्रा.डा. अच्युत वाग्ले पनि विगतका १२ वर्षसम्म नेतृत्व संकटमा आएको बताउँछन् ।
बिहीबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमै उनले भनेका छन्, ‘सुरेशराज सर र सिताराम सरले छोडेपछि उपकुलपति र रजिस्ट्रारको कहीँ न कहीँ बेमेल भइरह्यो । असमझदारी, स्वार्थको टकराव, घमण्डको टकराव भयो ।’
उनले अझै यसलाई प्रष्ट पार्दै भनेका छन्, ‘लिडर थिए तर लिडरसिप दिन सकेनन् ।’

सार्वजनिक कार्यक्रममा मात्रै होइन । अनौपचारिक कुराकानीमा पनि केयूका प्राध्यापकहरू भन्न थालेका छन्, ‘सुरेश सरलाई अहिले पनि विश्वविद्यालय आफ्नै निजी हो भन्ने लाग्छ ।’
केयूकै अर्का एक प्राध्यापकको टिप्पणी छ, ‘हरेक निर्णयमा सुरेश सर नै हाबी बन्नुहुन्छ ।’
ती प्राध्यापकले गरेको टिप्पणी र पछिल्लो उपकुलपति छनोटमा देखिएको शर्माको अति सक्रियताले पनि शर्मामाथि प्रश्न उठ्नु स्वाभाविक देखिन्छ ।
गत ६ माघमा प्रा.डा. भोला थापाको कार्यका सकिँदै थियो । केयूको सभाले प्रा.डा. शर्माको संयोजकत्वमा सिफारिस समिति गठन गर्यो । समितिले १८ पुसमा उपकुलपतिका लागि खुला आह्वान गर्यो ।
र, उपकुलपति छनोट कार्यविधिमा पनि उनी हाबी भए । आफू अनुकूलको कार्यविधि बनाएको केयूका प्राध्यापकहरूको आरोप छ । केयूको मेडिकल संकायलाई नसमेट्नेगरी कार्यविधि बनाएपछि डाक्टरहरू सर्वोच्च अदालतदेखि प्रधानमन्त्री एवं कुलपति केपी ओलीसम्मलाई गुहार माग्न पुग्ने स्थिति बन्यो ।
अन्ततः कुलपतिको निर्देशनपछि कार्यविधि परिवर्तन गरेर १८ माघमा पुनः दोस्रो पटक आवेदन माग गरियो । ‘सुरेश सरको हठले गर्दा यस्तो भएका हो,’ उपकुलपतिका लागि आवेदन दिएका अधिकांश उम्मेद्वारहरू भन्छन् ।
यतिसम्म कि सिफारिस समितिका संयोजक शर्माले प्रा.डा. भोला थापालाई नै कामु उपकुलपति तोक्न कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेको पत्र बाहिरियो ।
यसपछि झन् उपकुलपतिका उम्मेद्वारहरू सशंकित बने । र, उपकुलपतिका ७ उम्मेद्वारले कुलपतिलाई नै ध्यानकर्षण पत्र बुझाए । उपकुलपतिका लागि संयोजक शर्माका भान्जाहरूको पनि आवेदन पर्नुले थप प्रश्नैप्रश्न उठे ।
‘सिफारिस समितिले आफैँले जारी गरेको कार्यविधि अनुसार नै सुम्पिएको कार्य गर्ने सन्दर्भमा उक्त समितिका संयोजकका दुई जना भान्जाहरू आवेदक भइरहँदा पनि प्रारम्भिक आवेदनको छनोटमा उहाँहरू पर्नुबाट समितिले कार्यविधिका परिधिमा रही कार्य सम्पन्न गरेको देखिएन,’ ७ उपकुलपतिका उम्मेद्वारले कुलपतिलाई लेखिएको पत्रमा भनिएको छ ।
समिति संयोजक शर्माका भन्जा प्रा.डा. नवीन पोखरेल र प्रा.डा. मनीष पोखरेलले पनि उपकुलपतिका लागि आवेदन दिएका छन् ।
पहिलो कार्यविधिमा समितिका कुनै सदस्य वा समितिबाट गठित उपसमिति वा कुनै विज्ञका नजिकका नातेदारले उपकुलपतिको पदमा दरखास्त पेश गरेको अवस्थामा त्यस्तो सदस्य वा विज्ञ मूल्यांकन प्रक्रियामा सहभागी नहुने भनिएको थियो ।

यो विषयमा धेरै प्रश्न उठेपछि संयोजक शर्माले आफू अनुकूलको कार्यविधि संशोधन गरे । संशोधन गरिएको कार्यविधिमा नजिकका नातेदारको मूल्यांकन प्रक्रियामा सहभागी नहुने उल्लेख छ । र, अरु उम्मेद्वारको मूल्यांकनमा सहभागी हुनेगरी कार्यविधि संशोधन गरिएको छ । यसमा पनि उपकुलपतिका उम्मेद्वारहरूले असन्तुष्टि जनाएका छन् ।
उपकुलपति छनोटमा आपत्ति जनाउँदै स्कुल अफ एजुकेसनका डिन बालचन्द्र लुईंटेलले प्रश्न राखेका छन् । ‘व्यक्ति को आउँछ को बन्छ गौण कुरा हो । गर्न सक्ने आओस् । लिगेसीमा परिवर्तन गर्नुपर्छ,’ उनले बिहीबार पत्रकार सम्मेलनमा भने ।
‘नजिकका नातेदारकोको मूल्यांकनमा नबस्ने । अरु उम्मेद्वारकोमा बसेर कम अंक दिइयो भने के हुन्छ ? स्वार्थको द्वन्द्व हुन्छ । यसमा पुनरावलोकन हुनुपर्छ,’ उपकुलपतिका दौडमा रहेका प्राध्यापकहरूको एकै स्वर छ ।
कुलपतिलाई स्मरण गराएको पत्रमा संयोजक शर्मा अनधिकृत रुपमा प्रवेश गरेको आरोप लगाइएको छ ।
‘विश्वविद्यालयको विधिविधानले स्पष्ट गरेको प्रावधानमा अनधिकृत प्रवेश गरी अन्यथा सिफारिस गर्ने संयोजकले निष्पक्षता र पारदर्शिता कायम गरेर विश्वविद्यालयको हितमा हुनेगरी उपकुलपतिको नाम सिफारिस गर्ने आधार देखिएन,’ ध्यानकर्षणपत्रमा भनिएको छ ।
समितिमा संयोजक शर्माको नेतृत्वमा सदस्य डा. अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल छन् ।
विवादका बीच पनि समितिले उपकुलपतिका लागि २० जनाको आवेदन स्वीकृत गरेको छ । पहिलो पटक पुस १८ मा आवेदन माग गर्दा १७ जनाको आवेदन परेकोमा १६ जनाको स्वीकृत भएको थियो ।
तर, केयूका मेडिकल संकायकाले कार्यविधिका कारण आवेदन दिन नपाएपछि १८ माघमा दोस्रो पटक आवेदन माग गर्दा ४ जनाको स्वीकृत भएको हो ।
अब उम्मेदवारहरूले अन्तर्वार्तासँगै आफ्नो सोचपत्र पनि प्रस्तुत गर्नेछन् ।
सबै मूल्यांकन गरेपछि छनोट समितिले कुलपतिलाई ३ जनाको नाम सिफारिस गर्नेछ । त्यसमबाट एक जनालाई कुलपतिले उपकुलपतिमा नियुक्त गर्ने छन् ।