
मंगलबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा (तस्वीर : चन्द्रबहादुर आले)
२९ माघ, काठमाडौं । प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ । स्थगित हुनु अगाडि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा बोलेका थिए ।
प्रतिनिधि सभामा जब आकस्मिक र शून्य समय सकिएर विशेष समय सुरु हुन लाग्दै थियो तब खतिवडाले उठेर समय मागे ।
आफूले बोल्नका लागि समय पाएको तर नपाएको बताए ।
सभाध्यक्षको आसनमा रहेकी उपसभामुख इन्दिरा रानाले आकस्मिक र शून्य समय दुवै सकिएको बताइन् । तर, आफूले समय मागेको खतिवडाले दोहोर्याए । त्यसबेला सभामुखको आसनको दायाँ बायाँ रहेका संसद् सचिवालयका अधिकारीहरूले नाम टिपाएको तर, नाम बोलाउन बिर्सिएको स्मरण गराए ।
त्यसपछि उपसभामुख रानाले दुई मिनेट समय दिइन् ।
त्यसपछि खतिवडा बोल्न थाले । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लक्षित गर्दै अभिव्यक्ति दिए ।
नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने समाचार सुन्नमा आएको उल्लेख गर्दै उनले भने, ‘तर, हामीले को गृहमन्त्री हुँदा देखेका थियौं– एक नम्बरकोलाई नबनाएर १५ नम्बरकोलाई प्रमोशन गरेको हामीले हिजो देख्यौं ।’
खतिवडाले अगाडि भने, ‘आईजीलाई समितिमा बोलाएर निर्दोष छ भन्देन भनेर कानेखुसी गरेको पनि सुन्यौं । कल्ले सदुपयोग गर्यो, कल्ले दुरुयोग गर्यो ? हामीले हेर्नुपर्ने बेला भएको छ ।’
तर, खतिवडाले नाम भने कसैको लिएनन् । उनले विगतका गृहमन्त्रीको कार्यका स्मरण गर्दै भने, ‘प्रहरीमा हाइजम्प, लङजम्प लागू गरियो । दुई ब्याच पछाडिकोलाई प्रमोसन गरियो ।’
यति मात्रै नभएर प्रहरीमा ५२ दिन नपुगी सरुवा गरेर आफ्ना मान्छे लाने काम भएको भनेर उनले यसको पनि जवाफ खोजिनुपर्ने बताए । बहस गर्ने वकिलाई गालामा हानिएको भनेर कटाक्ष गरे ।
अदालतमा मुद्दा चलिरहँदा बाहिर जिन्दावाद र मुर्दावाद भन्ने प्रचलन सुरु भएको उल्लेख गर्दै उनले यो कसले गरेको हो भनेर जवाफ खोजिनुपर्ने बताए ।
सदनमा एउटा कुरा, बाहिर अर्को कुरा गर्ने, सरकारमा हुँदा एउटा कुरा गर्ने र सरकारमा नहुँदा अर्को कुरा गर्ने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताए ।
खतिवडा बोलिरहँदा रास्वपाका सांसद गणेश पराजुलीले प्रश्न उठाए । खतिवडालाई कुन समयमा बोल्न दिइएको भनेर सोध । उपसभामुख रानाले आकस्मिक समयमा बोल्न दिन नाम छुटेकाले पछि समय दिइएको बताए । तर, यो विधि अनुसार नभएको भनेर रास्वपाका सांसदहरू उठे । त्यसपछि रास्वपालाई प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसदहरूले साथ दिए ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले खतिवडालाई कुन नियमावली अनुसार बोल्न दिइयो भनेर सोधे । यसको जवाफ नआए आफूहरुले नमान्ने बताए ।
उपसभामुख रानाले संसद सचिवालयलाई अध्ययन गर्न आदेश गरिन् । तर, विपक्षी दलहरूले मानेनन् ।
लिस्ट लामो भएकाले झुक्किएर नाम छुटेकाले खतिवडालाई बोल्न दिइएको र नियतवश नगरिएको प्रष्टीकरण दिइन् । फेरि पनि विपक्षी दलहरूले मानेनन् ।
त्यसपछि ड्यासमा सभामुख देवराज घिमिरे आए । घिमिरेले खतिवडालाई बोल्न दिइएकोबारे अध्ययन गर्न आदेश दिइएकाले यसअनुसार अगाडि जान आग्रह गरे । संसद सचिवालयको रिर्पोटपछि आगामी दिनमा के गरेर जाने भन्ने समेत तय गर्न सकिने भनेर कन्भिन्स गराउन खोजे ।
तर, विपक्षी दलहरूले बोल्न समय मागे । त्यसपछि सभामुख घिमिरे पनि झोक्किए, ‘यहाँहरूलाई समय दिँदा प्रश्न उठ्छ कि उठ्दैन ? यहाँहरूले ख्याल गर्नुस् ।’
विपक्षी दलका सांसदहरूलाई सभामुख घिमिरेले प्रश्न गरे, ‘यहाँहरुलाई समय दिँदा प्रश्न नउठ्ने, अरुलाई समय दिँदा प्रश्न उठ्ने यस्तो हुन सक्दैन ।’
यत्ति भनेर सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक १५ मिनेटकालागि स्थगित गरिदिए ।