राणाकालीन समयको परिवेश र प्रजातन्त्र स्थापनाका सुरुका वर्षसम्म काठमाडौंस्थित विदेशी कूटनीतिक उपस्थितिलाई दृष्टिगत गर्दा १८१६ देखि लगातार यहाँ रहेका ब्रिटिस राजदूतावास र १९४७ मा स्थापित भारतीय राजदूतावासका गतिविधि स्वाभाविक रुपमा सक्रिय थिए । दीक्षितको सेवा अवधिमा दुई जना ब्रिटिस राजदूत कार्यरत रहे । अघिल्ला राजदूत सर जर्ज ए फकनर (१९४४ देखि १९४७ अवधिमा ब्रिटिस लिगेसन रहँदा मिनिस्टर स्तर र १९४७ मा दुवै देशले एकअर्का राष्ट्रमा कूटनीतिक प्रतिनिधित्वको स्तरोेन्नति गर्ने निर्णयअनुसार १९४७–१९५१ अवधिमा पूर्णरुपेण राजदूत) नेपालमा काम गर्ने उच्च कूटनीतिक प्रतिनिधिमध्ये लामो समय सेवा गर्नेमा पर्थे । राजदूतावास स्थापनापछि फकनरभन्दा अघि नेपालमा अन्य पाँच जना प्रतिनिधिले योभन्दा लामो अवधि सेवा गरेका थिए । यी अधिकारी ११ देखि १५ वर्षसम्म काठमाडौंमा नियोग प्रमुख बनेका थिए ।
५७ वर्षका फकनरले स्वास्थ्यका कारण ‘आराम गर्न जरुरी’ भएको जनाउँदै सरुवा मागेका थिए । उनका स्थानमा अलेक्जेन्ड्रियाका लागि कन्सल जनरल पदमा काम गरिसकेका ५५ वर्षीय कूटनीतिज्ञ क्रिस्टोफर समरहेज १९५१ मा नेपालका लागि राजदूत नियुक्त भएका थिए । १९५५ सम्म काठमाडौंमा रहेका उनी प्रभावकारी व्यक्ति मानिन्थे । दीक्षितकोे सेवाकालमा काठमाडौंमा तीन जना भारतीय राजदूत रहे । पहिलो दुई राजदूत- सरदार सुरजित सिंह मझिठिया (अगस्ट ८, १९१२–सेप्टेम्बर २७, १९९५) र सर चन्द्रेश्वरप्रसाद नारायण सिंह (अप्रिल १८, १९०१–१९९३) राजनीतिक नियुक्तिवाला व्यक्ति थिए ।
मझिठिया १९५२–१९६२ अवधिमा भारतका रक्षा उपमन्त्री थिए । सिंह पञ्जाब (१९५३–१९५८) र उत्तरप्रदेश (१९८०–१९८५) का राज्यपाल र जापानका लागि राजदूत बनेका थिए । सिंहको नेपालको कार्यकाल विवादास्पद रह्यो । उनका उत्तराधिकारीमा प्रशासनिक अधिकारी भालचन्द्र कृष्ण गोखले १९५२ मा नियुक्त भएका थिए । आफ्ना दुई पूर्वाधिकारी र विशेषतः सिंहका तुलनामा गोखले बढी व्यवस्थित र नियमबद्ध थिए ।
चर्चा गरिएको अवधिमा अमेरिकाका तर्फबाट नेपालका लागि गैरआवासीय राजदूत पदमा कार्यरत व्यक्तिमा तीन विशिष्ट कूटनीतिज्ञ डा. हेनरी फ्रान्सिस ग्रेडी, ल्वाय वेस्ले हेन्डर्सन तथा चेस्टर ब्लिस वाउल्स थिए । यसअघि दुई देशबीच सम्पर्कसूत्र जर्ज रोबर्ट मेरेलले गाँसेका थिए ।
१९५२–१९५३ अवधिमा भारत र नेपालका लागि १८ महिना राजदूत रहेका बाउल्स (अप्रिल ५, १९०१–मे २५, १९८६) १९६३–१९६९ अवधिमा दोस्रो पटक भारतमा राजदूत बनेका थिए । उनी आफ्नो पहिलो राजदूत अवधिको संस्मरणात्मक विवरणसहितको महङ्खवपूर्ण पुस्तक राजदूतको प्रतिवेदन (आम्बसेडर्स रिपोर्ट)का लेखक हुन् । ४१५ पृष्ठको आठ भाग र २३ अध्यायमा विभाजित उनको पुस्तकमा अमेरिकी परराष्ट्र नीतिका सिद्धान्त, कूटनीति, विश्व राजनीति र अन्तर्राष्ट्रिय सम्बन्ध, ब्रिटिस साम्राज्यको उत्थान र पतन तथा विशेषतः भारतको इतिहास, भूगोल, प्रजातन्त्र, सामुदायिक विकास, परराष्ट्र नीति, धर्म र संस्कृति एवम् दक्षिण एसिया तथा दक्षिणपूर्ण एसियाबारे विस्तृत अध्ययन–विश्लेषण पाइन्छ ।
बाउल्सको पुस्तकको भाग ६ अन्तर्गत ‘नेपाल ब्युँझन्छ’ (नेपाल अवेकन्स) शीर्षक छ । यस भागमा दुई अध्याय (१७ अन्तर्गत अ रिभोल्युसन कम्स ओभर दी माउन्टेन्स अर्थात् ‘पहाडमा क्रान्ति आउँछ’ र १८ मा प्वाइन्ट फोर इन दी हिमालयाज अर्थात् २६१ देखि २९५ पृष्ठ नेपालसँग विशेष सम्बन्धित छन् । पहिलो अध्यायमा उनी बाटोको यात्रा गरी आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्न काठमाडौं पुगेको विषयमा वर्णन गरिएको छ । नेपालको इतिहास, भूगोल, संस्कृति र अपार प्राकृतिक सौन्दर्यबारे उनले विस्तृत चर्चा गरेका छन् । तत्कालीन समयको भारत सरकारको सोच, यसप्रति अमेरिकालगायत अन्य युरोपेली राष्ट्रको आम सहमति र नेपाल सरकारकै सतर्कताको परराष्ट्र नीतिको द्योतकका रुपमा काठमाडौंमा तत्कालीन परिवेशमा किन आवासीय अमेरिकी कूटनीतिक नियोग आवश्यक नरहेको भन्ने विषयमा उनले प्रकाश पारेका छन् ।
काठमाडौंमा रहँदा तत्कालीन राजदूतावास रहेको शीतल निवासमा भालचन्द्र कृष्ण गोखलेका तीनमध्ये जेठा छोरा केशव भालचन्द्रको विवाह भएको थियो, जसमा नेपालका गन्यमान्य सबैजसो व्यक्ति उपस्थित थिए
हुन त बाउल्सको पुस्तक भारतलाई मुख्य विषयवस्तुका रुपमा राखी लेखिएको हो । अन्य देश, व्यक्ति र विषयको वर्णन केवल प्रसङ्गवश वा सरसर्ती मात्र यसमा उल्लेख गरिएका छन् । यसका बाबजुद महङ्खवपूर्ण राष्ट्र अमेरिकाका राजदूतको आकलन, सुसङ्गठित र राम्रो सूचना सङ्कलन गर्ने उनको स्वभाव, कार्यदक्षता र विषयवस्तुमा पकड भएका कारण सायद दोस्रोे पटक भारतका लागि राजदूत (उक्त समय नेपालका लागि छुट्टै आवासीय राजदूतका व्यवस्था अमेरिकाले गरिसकेको थियो) बनी सेवा गर्ने अवसरलगायत कारण उनको पुस्तक बढी पढिने र चर्चित कूटनीतिक रचनामा गनिन्छ ।
यस दृष्टिले बाउल्सको पुस्तकले सीमित मात्रामै सही, त्यति बेला नेपालबारे राम्रो सूचना विश्वलाई दिन सहयोग गर्यो भन्नुपर्छ । जसरी १७९३ मा कर्णेल फ्रान्सिस हामिल्टन कर्कप्याट्रिकको पुस्तक र १९२८ मा चन्द्रशमशेरले लेखाएको पर्सिवल ल्यान्डनको दुई भागको पुस्तक अनेक सीमितता, आग्रह पूर्वाग्रह र स्तुतिगान भए पनि विश्वसामु नेपाललाई चिनाउन सहयोगी भयो । अमेरिकी राजदूतको पुस्तकले भने भरखरै राजनीतिक सङ्क्रमणका साथ परराष्ट्र सम्बन्धको दायरा बढाउन र आफ्नो अन्तर्राष्ट्रिय व्यक्तित्व अभिवृद्धि एवम् प्रक्षेपणमा लागेकोे नेपाललाई कूटनीतिक रुपमा धेरै सहयोग गर्यो ।
“काठमाडौंमा छुट्टै र स्थायी राजदूतावास राख्नु अमेरिकी पक्षका लागि व्यावहारिक र आर्थिक दुवै हिसाबले आवश्यक नठानेको” राजदूत बाउल्सको कथन छ । यसप्रति नेपालकै पनि मौन सहमति र यसले अपनाएको पुरानो अभ्यास अनुकूल भएको उनको तर्क छ । यस परिप्रेक्ष्यमा १७९२ को बेत्रावती सन्धिअन्तर्गत नेपालले सय वर्षभन्दा बढी चलन चलाई पछि बन्द गरेको प्रत्येक पाँच वर्षमा चीनमा एक पटक राजदूत पठाउने ‘आंशिक राजदूतको प्रणाली’लाई बाउल्सले उदाहरणका रुपमा प्रस्तुत गरेका छन् ।
बाउल्सका पाँच जना परिवार र छ जना कूटनीतिक कर्मचारीसहितको टोली दिल्लीबाट लखनऊसम्म जहाजमा, लखनऊबाट रक्सौल रात्रिरेल र रक्सौलबाट अमलेखगन्जसम्म तीन ओटा कार भएको विशेष रेलबाट अमलेखगन्ज आएको थियो । त्यहाँबाट भीमफेदीसम्म गाडी, त्यसपछि घोडाबाट मानिस र सामान रोपवेबाट काठमाडौं पठाइएको थियो । नेपालका उपत्यकाको जलवायु जत्तिको सौम्य र रमणीय विश्वका कमै ठाउँमा हुने उनको आकलन छ ।
नेपालमा भव्य स्वागत पाएका राजदूतको बसाइ त्रिपुरेश्वरस्थित सरकारी अतिथि भवनमा मिलाइएको थियो । परराष्ट्र सचिव दीक्षित, प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालगायत सरकारी अधिकारीले उनको राम्रो आतिथ्य देखाएका थिए । ओहदाकोे प्रमाणपत्र प्रस्तुतिका समयमा बाउल्सले राजा त्रिभुवनसमक्ष राष्ट्रपति ह्यारी एस ट्र्युमनका तर्फबाट पठाइएको मित्रताको पत्र बुझाएका थिए । अमेरिकी राजदूतका तर्फबाट नेपालका राष्ट्राध्यक्षलाई दिइएको उपहारमा विश्वकोष (इन्साइक्लोपेडिया), टेप रेकर्डर र सन्देश प्राप्त गर्न र पठाउने सुविधासहितको वाकीटकी समावेश थियो ।
राजदूत बाउल्सले ओहदाको प्रमाणपत्र बुझाएपछि प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले आयोजना गरेको रात्रिभोजमा श्री ५ त्रिभुवन, दुई महारानी र सरकारी उच्च अधिकारी उपस्थित थिए । राजदूतले आयोजना गरेको प्रत्युत्तर समारोहमा राजा र दुवै रानीको उपस्थिति थियो । राजदूतकी पत्नी स्टेभ (कुमारी हुँदाको नाम डोरोथी स्टेबिन्सबाट छोटकरी रुप)ले भारतमा आएपछि हिन्दी सिकेकी कारण रानीहरुसँग सरल ढङ्गले कुरा गर्न सकिन् । राजदूत र रानीहरुबीचको कुराकानीमा भने भाषागत असहज परिस्थिति देखी प्रधानमन्त्री कोइरालाले दोभासेको काम गरेका थिए । काठमाडौंस्थित ब्रिटिस राजदूत सर क्रिस्टोफर समरहेज तथा भारतीय राजदूत भालचन्द्र कृष्ण गोखलेले पनि अमेरिकी राजदूतको सम्मानमा छुट्टै समारोह आयोजना गरेका थिए ।
बाउल्सको आकलनमा ३९ वर्षमा प्रधानमन्त्री भएका मातृकाप्रसाद कोइराला “ठूलो संयम, इमानदार र मेधावी” गुणका व्यक्ति थिए । यद्यपि दुई कोइराला दाजुभाइको मतभेदले नेपालमा राजनीतिक समस्या बढ्यो भन्ने उनको अनुमान थियो । खड्गमान सिंह बस्न्यातप्रति पनि उनले लामै विवरण लेखेका छन् । उनको आकलनमा १९५४ को सुरुमा नेपालमा पहिलो आमनिर्वाचन हुने भने पनि पछि यो कार्य १९५९ मा मात्र भयो । यस कार्यका लागि भारतमा पहिलो आमनिर्वाचन सफलतापूर्वक गराएबापत वाहवाही कमाएका प्रमुख निर्वाचन आयुक्त सुकुमार सेन नेपाल आएका थिए ।
तत्कालीन परिस्थितिको अमेरिका–चीन सम्बन्ध, तिब्बतमा भएको स्थिति विकास, तत्कालीन सोभियत सङ्घको अगुवाइमा विश्वमा साम्यवादले दिएको चुनौती र अमेरिका–भारत सम्बन्धका कारण सायद समष्टिगत रुपमा भारतप्रति बढी सकारात्मक भए पनि यसअघि उल्लेख गरिए झैं बाउल्सको यस पुस्तकले तत्कालीन समयको नेपाललाई विश्वसामु चिनाउन प्रशंसनीय कार्य गर्यो
नेपालमा भारतीय सैनिक नियोग रहेको र नेपालसँगको व्यवहारमा भारतीयहरु असंवेदनशील (‘ट्याक्टलेस’) भएका कारण अमेरिका एसियाप्रति धेरै संवेदनशील नभए सरह भारतीय हस्तक्षेपको आरोप सुनिने गरेको उनको विश्लेषण छ । त्यति बेला कार्यरत भारतीय राजदूत भालचन्द्र कृष्ण (बिके) गोखले र उनकोे समूहको राम्रो प्रयासका कारण १९५२ मा रहेको भारतविरोधी लाञ्छना घट्दै गएको पनि उनले उल्लेख गरेका छन् ।
लेखक तथा शिक्षक कृष्णकेशव गोखलेका छोराका रुपमा जुलाई २३, १८९२ मा तत्कालीन बम्बै प्रेसिडेन्सी (हालको महाराष्ट्र) मा जन्मिएका भालचन्द्र कृष्ण गोखलेले भारत र क्याम्ब्रिजमा अध्ययन पूरा गरी १९१४ मा परीक्षा दिई १९१५ देखि आइसिएस (भारतीय निजामती सेवा) प्रवेश गरेका थिए । उनलाई बिहार–उडिसा क्याडरमा खटाइएको थियो । सेवाको बढी समय बिहारमा बिताएका कारण उनी नेपालसँग परिचित थिए । उनी पटना र भागलपुर डिभिजनका कमिसनरसमेत थिए । १९४६ मा उनी केन्द्रीय सरकारमा निर्माण, ऊर्जा र खानी हेर्ने सचिवमा नियुक्त भए । १९५१ मा सेवाबाट अवकाश हुनुअघि पहिला राष्ट्रपति डा. राजेन्द्रप्रसादका सचिव बने । यसपछि चन्द्रेश्वरप्रसाद नारायण सिंहको बदला उनलाई नेपालका लागि तेस्रो राजदूतका रुपमा भारत सरकारले नियुक्त गरेको थियो ।
संस्कृतमा राम्रो ज्ञान भएका गोखले श्रीमद्भगवद्गीता तथा अन्य हिन्दू ग्रन्थहरु नियमित रुपमा वाचन गर्न रुचाउँथे । श्री ५ त्रिभुवन, उनका दुवै रानी, राजपरिवारका अन्य सदस्य र प्रधानमन्त्री मातृकाप्रसाद कोइरालासँग उनी र उनकी पत्नी मनोरमा गोखले (फेब्रुअरी ९, १९०३ मा तत्कालीन सेन्ट्रल प्रोभिन्सेज र हालको महाराष्ट्रको अकोलामा जन्मी जुन ६, १९०९ मा पुनामा विवाह तथा जुन ६, १९८४ मा मृत्यु) को राम्रो हिमचिम थियो । उनले त्रिभुवन राजपथ निर्माणमा विशेष भूमिका खेलेका थिए । साथै नेपाल–भारत सहयोग बढाउन पनि उनी विशेष अभिरुचि राख्दथे । तीनै जना परराष्ट्र सचिव नरेन्द्रमणि दीक्षित, रामप्रसाद मानन्धर र शोभागजङ्ग थापासँग उनको राम्रो कार्यगत सम्बन्ध थियो ।
काठमाडौंमा रहँदा तत्कालीन राजदूतावास रहेको शीतल निवासमा उनका तीनमध्ये जेठा छोरा केशव भालचन्द्र गोखलेको विवाह भएको थियो, जसमा नेपालका गन्यमान्य सबैजसो व्यक्ति उपस्थित थिए ।
राजदूत गोखले नेपालबाट फर्किएपछि कर्णाटक (त्यति बेलाको मैसुर राज्य) को तुङ्गभद्रा जलविद्युत तथा सिंचाइसम्बन्धी बाँध परियोजनामा १९६७ मा स्वास्थ्यका कारण राजीनामा गर्नु अघि लामो समयसम्म अध्यक्ष रहे । अक्टोबर १०, १९७३ मा पुनामा मृगौलाको रोगबाट निधन भएका उनी आफ्नो लामो निजामती सेवाका दौरान उडिसा राज्यपालका सल्लाहकार पनि भए । उनी फर्किएको छोटो समयमै श्री ५ त्रिभुवनको मृत्यु भई गद्दीनसिन नरेश श्री ५ महेन्द्रको १९५६ मा भएको राज्याभिषेकमा उनलाई आमन्त्रण गरिएको थियो । जब कि निम्तो सूचीमा उनका पूर्वाधिकारी सिंहलाई सामेल गरिएको थिएन । यो गोखलेको राजदूत कार्यकालको लोकप्रियताको प्रमाण हो ।
अध्याय १८ मा नेपालको आर्थिक स्थिति, अमेरिकाको सानो गाउँलाई समेत अपर्याप्त हुने केवल दुई हजार आठ सय २५ किलोवाट विद्युत् उत्पादन, यातायात र पूर्वाधारको कमी, गरिबी, भूमि वितरणमा असमानता, शिक्षा र स्वास्थ्य सुविधाको न्यूनता र परम्परागत कृषिलाई सुधार्न अमेरिकाबाट सुरुमा नौ जना ‘प्वाइन्ट फोर’ प्राविधिज्ञ, कृषि विशेषज्ञ र सार्वजनिक स्वास्थ्य विज्ञ नेपाल आएको र काठमाडौंस्थित प्वाइन्ट फोर नियोगका प्रमुख पल रोजकोे निर्देशनमा काम गरिरहेको उल्लेख गरिएको छ । फेब्रुअरी १९५३ को नेपालको अन्तिम भ्रमणका अवसरमा कृषि क्षेत्रमा तालिम, बीज उत्पादन र कृषि विकासमा प्रगति भएको, मलेरिया उन्मूलन तथा सामुदायिक विकासमा राम्रो कार्य भएको र काठमाडौंस्थित अमेरिकी पुस्तकालय नेपालीसामु लोकप्रिय भएको उनले उल्लेख गरेका छन् ।
तत्कालीन परिस्थितिको अमेरिका–चीन सम्बन्ध, तिब्बतमा भएको स्थिति विकास, तत्कालीन सोभियत सङ्घको अगुवाइमा विश्वमा साम्यवादले दिएको चुनौती र अमेरिका–भारत सम्बन्धका कारण सायद समष्टिगत रुपमा भारतप्रति बढी सकारात्मक भए पनि यसअघि उल्लेख गरिए झैं बाउल्सको यस पुस्तकले तत्कालीन समयको नेपाललाई विश्वसामु चिनाउन प्रशंसनीय कार्य गर्यो ।
राजनीतिज्ञ, कूटनीतिज्ञ, सांसद र व्यापारीको पृष्ठभूमि भएका चेस्टर बाउल्स (बोलाउँदा चेट बाउल्स पनि भनिने) राष्ट्रपति जोन एफ केनेडी सरकारका विदेशमन्त्रीका लागि अन्य व्यक्ति सरह पहिलो छनोटमा परेको विश्वास गरिन्थ्यो । तर यसैबीच यस सूचीमा परेका उनीहरु कोही नभई डेभिड डिन रस्क (फेब्रुअरी ९, १९०९–डिसेम्बर २०, १९९४) विदेशमन्त्री पदमा नियुक्त भए ।
भारतमा लोकप्रिय राजदूतमध्ये एक मानिने बाउल्स पछि पार्किन्सन रोगबाट थलिँदा १९७८ मा प्रधानमन्त्री मोरारजी देसाई (फेब्रुअरी २९, १८९६–अप्रिल १०, १९९५)ले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । उक्त अवसरमा बाउल्सको स्वास्थ्यबारे सोधपुछ गर्न देसाई वासिङ्टनबाट ग्रोटोनसम्म विमानबाट र त्यहाँबाट उनको निवास इसेक्ससम्म सडकको बाटो पुगेका थिए । २००० मा राष्ट्रपति बिल क्लिन्टन (अगस्ट १९, १९४६–)को भारतको राजकीय भ्रमणका दौरान दिल्लीको एक सडक राजदूत बाउल्सको नाममा नामकरण गर्न पूर्वविदेश सचिव जगत मेहताले विदेशमन्त्री जस्वन्त सिंह (जनवरी ३, १९३८–सेप्टेम्बर २७, २०२०)समक्ष प्रस्ताव गरेका थिए । विदेशमन्त्रीले तुरुन्त सहमति जनाए पनि दिल्ली म्युनिसिपल कर्पाेरेसनको प्रक्रियागत व्यवधानले यो कार्य लागू हुन सकेन ।
पूर्वपरराष्ट्रसचिव तथा लेखक मदनकुमार भट्टराईलिखित नयाँ पुस्तक ‘नेपालको परराष्ट्र सम्बन्ध : संक्रमणकाल र प्रो नरेन्द्रमणि दीक्षित’को एक अंश