रुसको आक्रामक नीति र अमेरिकी सुरक्षा संरक्षणमा सम्भावित कमीको चुनौती खेपिरहेको युरोपेली सङ्घ (इयु) ले बुधबार सदस्य राष्ट्रहरूलाई आफ्नो सुरक्षा सुदृढ गर्न सहयोग गर्ने योजनाहरूमा काम गर्न प्रयास गर्नेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोमा वासिङ्टनको मुख्य भूमिकाप्रति शङ्का व्यक्त गर्दै र युक्रेनमा रुसप्रति नरम नीति देखाउँदा युरोपमा हतियार वृद्धिको आह्वान तीव्र भएको छ। इयुका २७ देशलाई खर्च बढाउन सहयोग गर्ने उद्देश्यले ब्रसेल्सले यस महिना आठ खर्ब युरो (आठ खर्ब ७५ अर्ब डलर) सम्म परिचालन गर्न सक्ने प्रस्तावहरूको मस्यौदा पेस गरेको छ।
अब अधिकारीहरूले ती योजनाको खाका तयार गर्दैछन् र सदस्य राष्ट्रहरूले प्रतिक्रिया दिन अर्को महिनादेखि सुरु हुने समयसीमा तोकिरहेका छन्। ‘यदि युरोप युद्धबाट जोगिन चाहन्छ भने युरोपले युद्धका लागि तयार हुनुपर्छ,’ युरोपेली आयोगका प्रमुख भोन डेर लेयनले मङ्गलबार भने, ‘सन् २०३० सम्ममा युरोपसँग बलियो रक्षा स्थिति हुनुपर्छ।’ यो योजनाले ब्लकका वित्तीय नियमहरू लचिलो बनाएर राज्यहरूलाई रक्षामा बढी खर्च गर्न अनुमति दिने प्रस्ताव गरेको छ। आयोगका अनुसार यसले चार वर्षमा छ खर्ब ५० अर्ब युरोसम्म उपलब्ध गराउन सक्छ।
एएफपीले हेरेको मस्यौदाअनुसार बुधबार प्रस्तुत हुने श्वेतपत्रमा ब्रसेल्सले इयु देशहरूलाई अप्रिलसम्म यो प्रक्रिया सुरु गर्न आह्वान गर्ने तयारी गरेको छ। मस्यौदाले इयुको केन्द्रीय बजेटद्वारा समर्थित एक खर्ब ५० अर्ब युरोसम्मको ऋण दिने पहललाई ‘आपत्कालीन विषय’ का रूपमा स्वीकृत गर्नुपर्ने उल्लेख गरेको छ। तर, केही इयु देशले कोभिड महामारीबाट पुनर्प्राप्तिका लागि प्रयोग भएको ठूलो नगद प्रवाहको आवश्यकता रहेको तर्क गरे पनि मस्यौदाले संयुक्त ऋणको ठूलो कार्यक्रम सिफारिस गर्नबाट पछि हटेको छ।
कुनै ठूलो परिवर्तन छैन
यस हप्ताको अन्त्यमा हुने इयु नेताहरूको शिखर सम्मेलनमा युरोपको रक्षा सुदृढीकरण मुख्य एजेन्डा बन्नेछ। एक महिनाभन्दा कम समयमा दोस्रो पटक उनीहरूले यो विषयमा छलफल गर्नेछन्। ब्रसेल्सका प्रस्तावहरू सरकारहरूले कार्यान्वयन गर्ने प्रयासको एउटा हिस्सा मात्र हुन्, किनभने उनीहरूले संयुक्त राज्य अमेरिकाको साथ अब नपाउने सम्भावनालाई स्वीकार्दैछन्।
पोल्यान्ड र बाल्टिक राज्यहरूले पहिल्यै आफ्नो खर्चलाई नेटोको दुई प्रतिशत जिडिपीको सीमाभन्दा बढी पुर्याएका छन्। आर्थिक महाशक्ति जर्मनीका सांसदहरूले मङ्गलबार चान्सलर बन्न लागेका फ्रेडरिक मेर्जले प्रस्ताव गरेको ठूलो रक्षा र पूर्वाधार खर्च प्याकेजका लागि महत्त्वपूर्ण कदम चालेका छन्। इयुका एक कूटनीतिज्ञले श्वेतपत्रले ब्लकले सामना गर्ने चुनौतीको ‘खतरा र तत्कालीनता’ समेटेको तर कोष वृद्धिका उपायमा खास प्रगति नभएको बताए। ‘समग्रमा कुनै ठूलो परिवर्तन छैन,’ उनले भने।
तर, अरूले प्रस्तावहरू केहीको अपेक्षाभन्दा कम भए पनि पछिल्ला हप्तामा इयुले रक्षाप्रति अपनाएको दृष्टिकोणमा क्रान्तिकारी परिवर्तन आएको तर्क गरेका छन्। ‘यो राम्रो सुरुवात हो,’ अर्का कूटनीतिज्ञले भने। इयुको प्रस्तावको मुख्य हिस्सा रुसको खतरा सामना गर्न सेना सुसज्जित गर्नु मात्र नभई युरोपेली रक्षा कम्पनीहरूलाई लगानीमार्फत बलियो बनाउनु पनि हो।
भोन डेर लेयनले ब्रसेल्सले एक खर्ब ५० अर्ब युरोको कार्यक्रममार्फत देशहरूलाई ‘संयुक्त र युरोपेली खरिद’ मा जोड दिन चाहेको बताए। उनले योजनाअन्तर्गत खरिद हुने हतियारको ६५ प्रतिशत सामग्री ‘युरोपेली मूल’ को हुनुपर्ने उल्लेख गरे। ‘हामीले यी अर्बौं युरो रक्षा लगानीमा खर्च गर्यौँ भने युरोपमा भएको लगानीको प्रतिफल चाहिन्छ,’ उनले भने। एएफपी
प्रकाशित: ६ चैत्र २०८१ १५:२३ बुधबार