रामबहादुर बम्जनले दुई अदालतबाट कसरी पाए सफाइ ? – Online Khabar

Rambahadur majan 2


४ वैशाख, काठमाडौं । रामबहादुर बम्जन भनिने रामलाल बम्जन करिब एक महिनाअघि सिन्धुपाल्चोक कारागारबाट रिहा भए ।

२४ पुस २०८० मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई पक्राउ गर्दा ठूलो चर्चा भएको थियो । हाई प्रोफाइल अभियुक्त बम्जनलाई पक्राउ गर्न प्रहरीलाई लामो समय लागेको थियो ।

उनै बम्जन करिब एक महिनाअघि ७ चैतमा कारागारबाट रिहा हुँदा एक महिनासम्म भने घटना गुपचुपमै रह्यो ।

७ चैत बिहान उनकी श्रीमती दीप शिखाले बम्जनलाई लगेको सिन्धुपाल्चोक कारागारका निमित्त कारागार प्रशासक निरजराम दमाई बताउँछन् । ‘अदालतले सफाइ दिएको कागजात लिएर उहाँकी श्रीमती ७ चैत बिहान कारागार आउनुभएको थियो । उहाँले नै बुझेर बम्जनलाई लानुभएको हो ।’

कारागारबाट छुटेको एक महिना भए पनि बम्जनको गतिविधि भने सार्वजनिक रूपमा देखिएको छैन । प्रहरी अधिकारीहरू पनि अदालतले नै सफाइ दिएपछि उहाँको बारेमा बुझ्न नमिल्ने भएकाले यसबारे केही जानकारी नभएको बताउँछन् ।

२४ पुस २०८० मा पक्राउ परेका बम्जनलाई जिल्ला अदालत सर्लाहीले दोषी ठहर गरेको थियो । यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषणको कसुरमा बम्जनलाई १० असार २०८१ मा सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले दोषी ठहर गरेको थियो । त्यतिबेला उनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो ।

उक्त फैसलाविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेका थिए । उच्च अदालत जनकपुरकै न्यायाधीशद्वय नरिश्वर भण्डारी र खेमराज भट्टको ६ चैतको इजलासले बम्जनलाई सफाइ दिएको हो ।

उच्च अदालत जनकपुरले बम्जनलाई सफाइ दिनुको मुख्य कारणमा हदम्यादको विषय उठाएको छ । बम्जनविरुद्ध बलात्कार कसुर नभई बाल यौन शोषण (दुरुपयोग) को कसुरमा मुद्दा दर्ता भएको थियो ।

बम्जनलाई बालबालिकासम्बन्धी ऐन,२०७५ अन्तर्गत रहेका सम्बद्ध कसुरमा आवद्ध गर्ने र यसमा रहेको हदम्यादको व्यवस्था लागू गर्ने भन्ने नै प्रष्ट हुन आउँछ ।

बम्जनविरुद्ध फूलमाया रुम्बालाई बेपत्ता पारेको जाहेरी परेको थियो । तर अदालतले फूलमायालाई बेपत्ता पारेको वस्तुनिष्ठ आधार र प्रमाण नभेटिएको भन्दै बम्जनलाई सफाइ दियो ।

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६(३)(छ) र (ज) बमोजिमको कसुर गरेकोले बम्जनलाई सोही ऐनको दफा ७२ को उपदफा (३)(छ) मा पारिभाषित मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (३) (ग) बमोजिम सजाय हुने भन्ने उल्लेख भएको देखिन्छ ।

हदम्यादको हकमा दफा ६६ अन्तर्गतको कसुरको सम्बन्धमा प्रचलित कानुनमा कुनै हदम्याद तोकिएकोमा त्यस्तो हदम्यादभित्र र हदम्याद नतोकिएकोमा सो कसुर भए/गरेको मितिले एक वर्षभित्र मुद्दा दायर गरिसक्नुपर्ने उल्लेख छ ।

यो मुद्दामा भने बालबालिका विरुद्धका कसुरको सम्बन्धमा मुद्दा दायर गर्ने हदम्याद त्यस्तो बालबालिका १८ वर्ष पूरा भएको मितिले एक वर्षसम्म कायम रहने भन्ने व्यवस्थालाई टेकी मुद्दा दायर भएको थियो ।

यो व्यवस्था नयाँ बालबालिका ऐन,२०७५ को दफा ६६ मा उल्लिखित कसुरका हकमा मुद्दा दायर गर्नुपर्ने भएमा लागू हुने हो । ‘२०७३ साउन २० मा बालबालिकासम्बन्धी ऐन, २०४८ लागू रहेको, त्यसमा यौन सन्तुष्टि प्राप्त गर्ने र बालयौन दुरुपयोग गर्ने कसुरका परिभाषित व्यवस्था नरहेको र बालबालिकासम्बन्धी ऐन,२०७५ लागू भएपश्चात् उक्त ऐनको दफा ६६ अन्तर्गत त्यस प्रकृतिका कसुरको कानुनी व्यवस्था भई ती कसुरका सम्बन्धमा उक्त दफा ७४ को हदम्यादको व्यवस्था रहे भएकोले उक्त हदम्यादको व्यवस्था प्रस्तुत मुद्दामा आकर्षित हुन सक्दैन,’ फैसलामा व्याख्या गरिएको छ ।

Ram bahadur Bamjan3

यो मुद्दामा वारदात हुँदाका बखतको प्रचलित कानुनबमोजिम तोकिएको हदम्यादभित्र अभियोगपत्र दायर हुन नसकेको फैसलामा उल्लेख गरिएको छ ।

हदम्यादविहीन अभियोगपत्रको विषयवस्तुमा प्रवेश गरी अभियोग दाबी पुग्ने वा नपुग्ने भनी व्याख्या र विश्लेषण हुन आवश्यक नै छैन । सुरु अदालतले प्रस्तुत मुद्दामा लागू नै हुन नसक्ने बालबालिकासम्बन्धी ऐन,२०७५ को दफा ७४ अनुसार हदम्याद कायम गरी अभियोगको विषयवस्तुमा प्रवेश गरी इन्साफ गरेको भए पनि उक्त नमिलेको उच्चको फैसलामा उल्लेख छ ।

कुनै विषयवस्तुमा प्रवेश गर्ने प्रस्थान विन्दु(हदम्याद) नै गलत छ भने त्यसपछि गरिएका र गर्न खोजिएका सबै काम/कारबाही कानुनसम्मत नभई त्रुटिपूर्ण हुने अदालतले व्याख्या गरेको छ । यही हदम्यादलाई देखाउँदै बम्जनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको छ ।

उच्च अदालत जनकपुरले सफाइ दिँदा बम्जन भने सिन्धुपाल्चोक कारागारमा थिए । उनलाई करिब ८ महिनाअघि नै सरुवा गर्दै सिन्धुपाल्चोक कारागारमा पठाइएको जलेश्वरका कारागारका सूचना अधिकारी रविन ठाकुरले बताए ।

बम्जनविरुद्ध सिन्धुपाल्चोक जिल्ला अदालतमा पनि मुद्दा थियो । त्यहाँ भने बम्जनविरुद्ध व्यक्ति बेपत्ता पारेको आरोप थियो । सिन्धुपाल्चोक आश्रममा भिक्षु फूलमाया रुम्बालाई बेपत्ता पारिएको आरोप उनीमाथि थियो । यो अभियोगमा उनी सुरुमा ३ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । पछि फैसलामा भने यसमा समेत बम्जनले सफाइ पाएको खुलेको छ ।

२५ कात्तिकमा सिन्धुपाल्चोक जिल्ला अदालतका न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले बम्जनलाई व्यक्ति बेपत्ता आरोपमा सफाइ दिएको हो ।

फूलमाया रुम्बालाई बेपत्ता पारेको भन्दै वीरबहादुर रुम्बाले जाहेरी दिएका थिए । तर फूलमाया रुम्बालाई बेपत्ता पारेको भन्ने वस्तुनिष्ठ आधार र प्रमाण नभेटिएको भन्दै बम्जनलाई सफाइ दिइएको छ ।

फूलमाया रुम्बालाई बेपत्ता पारेको भन्ने वस्तुनिष्ठ प्रमाणको अभाव रहेको, बाडेगाउँ आश्रममा देखेको हुँ भनी सरोज तितुङले मौकामा घटना विवरण कागज गरे पनि अदालतसमक्ष फूलमायालाई चिनेको छैन भनी बकपत्र गरेको, सुन्तली गोले, सुनबहादुर रुम्बा समेतले बकपत्र गर्दा प्रतिवादीले नै बेपत्ता पारेको हो भन्नसम्म नसकेको फैसलामा उल्लेख गरिएको छ ।

‘प्रतिवादीसँग फूलमाया रुम्बाको फोटो पेस भएको भए पनि उक्त फोटो कहिले र कहाँ खिचेको हो भन्नेसमेत खुल्न सकेको नदेखिएको यस अवस्थामा प्रतिवादी उपरको अभियोग दाबी शंकारहित तवरबाट पुष्टि हुन सकेको नदेखिँदा केवल शंका र अनुमानको भरमा मात्र प्रतिवादीलाई दोषी ठहर गर्नु न्यायोचित नहुँदा प्रतिवादी रामबहादुर बम्जनलाई अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ,’ फैसलामा उल्लेख छ ।





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *