सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले चैत १५ गतेको राजावादी आन्दोनले नयाँ पुस्तालाई थोरै भए पनि राजतन्त्रको निरङ्कुशताबारे बुझ्ने मौका दिएको प्रतिक्रिया दिएका छन्।
‘राजावादीहरूको कार्यक्रम हिंसात्मक, प्रतिशोधात्मक र अराजक रह्यो। व्यवस्थाको विकल्प दिन्छौँ भन्नेहरू आन्दोलनका माध्यमबाट अपिल गर्न र सन्देश दिन सक्नु पर्दछ। त्यसमा राजावादीहरू पूर्णतःअसफल भए। बरु उल्टै उनीहरूका क्रियाकलापले राजतन्त्रको निरङ्कुशता र दमन बेहोर्न नपरेको नयाँ पुस्तालाई त्यसबारे थोरै भए पनि बुझ्ने मौका मिल्यो,’ महासचिव पोखरेलले फेसबूकमा लेखेका छन्।
महासचिव पोखरेलले आन्दोलनका क्रममा भएका आपराधिक कार्यमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग मागसमेत गरेका छन्।
सुरक्षा निकायको संयमताले राजावादीहरूको असलियत उदाङ्गिएको उल्लेख गर्दै उनले भनेका छन्, ‘आन्दोलनका नाममा नियोजित रूपमा परिचालित आपराधिक जत्थाको तोडफोड, आगजनी र लुटपाटबाट पीडित भएकाहरूलाई राज्यका तर्फबाट यथोचित सम्बोधन आवश्यक छ। जनतालाई आतङ्कित बनाउने आपराधिक घटनामा संलग्न व्यक्ति तथा तिनलाई उक्साउने र निर्देशन दिने सबैलाई अविलम्ब कारबाहीको दायरामा ल्याउनु आवश्यक छ।’
प्रकाशित: १६ चैत्र २०८१ ०८:०४ शनिबार