भोलि नाउपा-जनमत एकीकरण घोषणा | Nagarik News

1745681481 Resham20Ck20Ranjeeta20 20Nagarik


नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीले बुधबार औपचारिक रूपमै पार्टी एकता घोषणा गर्दै छन्। पार्टी एकीकरण घोषणा प्रज्ञा प्रतिष्ठानको हलमा हुँदै छ। दुवै पार्टी लामो समयदेखि एकीकरण प्रक्रियामा जुटेका थिए। एकीकरण प्रक्रियालाई दुवै पार्टीले करिब-करिब टुंगो लगाएका छन्।

‘सबै प्रक्रिया टुंगिसकेको छ। अब औपचारिक घोषणा गर्न मात्रै बाँकी छ,’ नाउपाका उपमहासचिव राजन गुरुङले भने। उनका अनुसार एकीकृत पार्टीको पहिलो वरीयतामा रेशम चौधरी हुनेछन्। उनी संरक्षकका रूपमा रहनेछन्। दोस्रोमा सिके राउत हुनेछन्। उनको पद कार्यकारी समितिको अध्यक्ष हुनेछ। रञ्जिता श्रेष्ठ तेस्रो वरीयतामा हुनेछिन्। उनको पद सहअध्यक्ष हुनेछ। दुई पार्टी मिलेपछि नाम नागरिक जनमत पार्टी हुनेछ। 

चुनाव चिह्न नाउपाकै ढकिया हुनेछ। झन्डाका हकमा हाल नाउपा र जनमत दुवैले प्रयोग गरिरहेकालाई मिश्रण गरी बनाइनेछ। पार्टी एकीकृत कार्यक्रममै २५ सदस्यीय सचिवालय सदस्य तथा ५१ सदस्यीय कार्यसम्पादन समिति घोषणा गरिनेछ। केन्द्रीय समिति सात सय सदस्यीय हुन सक्ने तर यसको टुंगो लागिनसकेको गुरुङले जानकारी दिए।

प्रतिनिधिसभामा जनमत पार्टीका एक प्रत्यक्ष निर्वाचितसहित ६ जना सदस्य र नाउपाका चार सदस्य छन्। पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनबाट जनमत राष्ट्रिय पार्टी बनेको हो। नाउपा भने राष्ट्रिय पार्टी बन्न सकेको छैन। जनमत र नाउपाबिच एकीकरणपछिको पार्टी तराई-मधेस केन्द्रित ठुलो दल हुनेछ।

प्रकाशित: १६ वैशाख २०८२ ०७:२७ मंगलबार





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *