काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानविन समिति नबनेसम्म आन्दोलन जारी राख्ने बताएको छ । शुक्रवार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताएका हुन् ।
उनले जिम्मेवार राजनीतिक पार्टीको हिसाबमा बिहीवार संवैधानिक दायित्व महसुस गरेर संसद्मा बजेट प्रस्तुत गर्न दिएको जिकिर गरे ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, सरकारको जवाफ र उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ भन्ने मुद्दाहरूमा आफूहरूले अडिग रहेको परियारले बताएका छन् । उनले आफूहरूको मुद्दालाई सम्बोधन गरेपछि मात्रै सदन अगाडि बढ्ने बताएका छन् ।
त्यस्तै, सांसद परियारले उक्त प्रकरणसँग जोडिएका केही नयाँ सूचना तथा सन्देशहरू प्राप्त भएको भन्दै ती विषयलाई सदनमा जानकारी गराउने समेत बताएका छन् । भिजिट भिसामा विदेश जानेहरूसँग लाखौँ असुली गरेको प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै गृहमन्त्रीको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन् ।