१३ फागुन, काभ्रेपलाञ्चोक । गत असोजमा परेको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ठूलो क्षति भयो । बाढीपहिरोबाट ७८ जनाको मृत्यु, ६ जना बेपत्ता र ७९ जना घाइते भए ।
स्थानीयका घर भत्किए, कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत् क्षेत्रमा क्षति पुग्यो । काभ्रेका स्थानीयमध्ये पनौती, रोशी, बेथानचोक र नमोबुद्धमा बाढी र पहिरोले धेरै क्षति पुर्यायो । त्यसबेला अधिक वर्षा त छँदै थियो त्यसलाई मुख्य सहयोगी मानिएको अवैध खानी र क्रसरका कारण धेरै क्षति पुग्यो ।
जिल्लामा धेरै क्षति पुर्याउने कारण मानिएको खानी र क्रसर भने अध्ययनबिना नै सञ्चालनमा आएको पाइएको छ । जिल्ला समन्वय प्रमुखको नेतृत्वमा रहेको जिल्ला अनुगमन समितिको ६ कात्तिकमा बसेको बैठकले बाढीपहिरो प्रभावित स्थलको भौगर्भिक अध्ययन गराइ उक्त अध्ययन प्रतिवेदनका आधारमा खानी तथा क्रसर सञ्चालन गर्ने निर्णय गरेको थियो ।
१४ कात्तिकमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठकले समेत गैरकानुनी सञ्चालित ढुंगा तथा क्रसरबाट ठूलो जनधन क्षति भएको जनगुनासो आएकाले अवैध सञ्चालन रहेका ढुंगा र क्रसर उद्योग बन्द गराउने निर्णय गरेको थियो ।
समिति बैठकले बाढीपहिरोपछि खोलाको बहाबले धार परिवर्तन गरेको, बस्तीहरू जोखिममा परेको, वरिपरिका भूभागसमेत भत्किएको/बगाएको/पहिरो गएको, डस्ट (धुलो) र गेग्य्रानले खोलाहरूको सतह बढेको उल्लेख गर्दै हालको अवस्थामा बस्ती, खानी, खोला वन क्षेत्र भौगर्भिक अवस्था लगायत सरोकार राख्ने सबै पक्षमा गम्भीर एवं विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
त्यस्तै १४ कात्तिकमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठकले समेत गैरकानुनी सञ्चालित ढुंगा तथा क्रसरबाट ठूलो जनधन क्षति भएको जनगुनासो आएकाले अवैध सञ्चालन रहेका ढुंगा र क्रसर उद्योग बन्द गराउने निर्णय गरेको थियो ।
तर, दुवै निर्णय कार्यान्वयन नगरी स्थानीय पालिकामा रहेका खानी तथा क्रसर उद्योग अनुमतिबिना पुनः सञ्चालन आएका हुन् । मापदण्ड अनुरूप खानी तथा क्रसर उद्योग सञ्चालनका लागि सम्बन्धित उद्योगीलाई पटक–पटक जानकारी गराइएको र नियमन गर्न स्थानीय तहलाई निर्देशन दिइए पनि कार्यान्वयन नभएको जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला अनुगमन समिति संयोजक दीपककुमार गौतमले बताए ।
‘गत असोजमा आएको बाढीपहिरोले अत्यधिक क्षति गर्नुमा मापदण्ड विपरीत सञ्चालित खानी तथा क्रसर उद्योग पनि प्रमुख कारण हो, यदि अवैध रूपमा चलेका छन् भने कारबाही र बन्द गर्छौ,’ गौतमले भने ।
उनले भूगर्भविदले रिपोर्ट दिएपछि मात्र खानी तथा क्रसर चलाउने भन्ने निर्णय भए पनि कार्यान्वयन नभएको बताए । ‘खानी तथा क्रसर व्यवस्थापनमा स्थानीय पालिकाहरू नै जिम्मेवार हुने भएको र जिल्ला समन्वय समितिको अनुगमन गर्ने काम भएकाले के आधारमा स्थानीय पालिकाहरूले खानी तथा क्रसर सञ्चालन गरे पुनः अनुगमन गर्दै छौ,’ गौतमले भने ।
प्रमुख जिल्ला अधिकारी ढकालले मापदण्ड पालना नगरेका खानी र क्रसर उद्योगलाई कारबाही गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको बताए । ३ माघमा जिल्लाका सबै पालिकालाई गैरकानुनी रूपमा सञ्चालित ढुंगाखानी र क्रसर बन्द गर्न पत्राचार भएको बताए ।
तर, पत्रचार भएको एक सातासम्म पनि खानी तथा क्रसर निर्वाध चलिरहेका छन् । जिल्ला प्रशासन कार्यालयले डिभिजन वन कार्यालयलाई वन क्षेत्रमा सञ्चालित उद्योगको अध्ययन गर्न तथा जिल्ला प्रहरी कार्यालयलाई अवैध क्रसर तथा खानी पुनः सञ्चालन भइरहेको गुनासो आएकोले अवैधलाई बन्द गर्न आदेश भएको थियो ।
प्रमुख जिल्ला अधिकारी ढकालले खानी र क्रसरबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्र लेख्दै नदीजन्य तथा खानीजन्य क्रसर तथा उद्योग समेतका कारण विपद्जन्य घटनामा बढी क्षति भएको, खोलाको बहाबले धार परिवर्तन गरेको, बस्तीहररू जोखिममा परेको, डस्ट र गेग्र्यानले खोलाहरूको सतह बढेको अवस्था रहेकाले उक्त बस्ती, खानी, खोला र वन क्षेत्रको भौगर्भिक तथा वातावरणीय विज्ञ समूहको माग गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख बसुन्धरा खड्काले अवैध क्रसर तथा खानी बन्द गराउन प्रहरी तयारी अवस्थामा रहेको जानकारी दिइन् । ‘नियामक निकायको अनुगमन तथा कारबाहीका लागि प्रहरी स्ट्यान्डबाइ छ,’ उनले भनिन्, ‘आदेश आउने बित्तिकै प्रहरी परिचालन भइहाल्छन् ।’
उनले निर्माण सामग्री बोकेका ओभरलोड ट्रक÷टिपरलाई कारबाही गर्ने काम प्रहरीले गरिरहेको बताइन् । पछिल्लो समय मात्रै ५ सय हाराहरीमा निर्माण सामग्री बोकेका ओभरलोड ट्रक/टिपरलाई कारबाही गरिएको जानकारी दिइन् ।
क्रसर उद्योग सञ्चालनसम्बन्धी मापदण्डमा राजमार्ग, खोला, नदी, पुल, तालतलैयाबाट ५ सय मिटर टाढा, शिक्षण संस्था, स्वास्थ्य संस्था, बस्ती, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक स्थान र सुरक्षा निकायबाट २ किलोमिटर टाढा सञ्चालन हुनुपर्ने उल्लेख छ ।
बालुवा तथा ढुंगा प्रशोधन उद्योगमा साइड ड्रेन, हिलो थिग्रने पोखरी, वायु प्रदूषण नियन्त्रणका लागि व्यवस्था गर्ने जिम्मा सम्बन्धित व्यवसायीको हुने उल्लेख छ । तर, काभ्रेमा सञ्चालित नदीजन्य तथा खानीजन्य उद्योग कुनैको पनि मापदण्ड पुग्दैन ।
नदीजन्य तथा खानीजन्य उद्योगको काभ्रे जिल्लास्तरीय अनुगमन कार्यदलले २०७९ मा स्थलगत अनुगमन गरी तयार गरेको प्रतिवेदनमा समेत काभ्रेका कुनै पनि खानी तथा क्रसर उद्योगले मापदण्ड पालना नगरेको उल्लेख छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी १५ नम्ब्र हेडक्वार्टर, डिभिजन वन, नापी, पूर्वाधार विकास, घरेलु तथा साना उद्योग र आन्तरिक राजस्व कार्यालयका प्रतिनिधि रहेको समितिले अनुगमन गरेको थियो ।
विशेषगरी बाढी प्रभावित रहेका पालिकाहरू पनौती, रोशी, बेथानचोक र नमोबुद्धमा बढी क्रसर तथा खानी छन् । पनौतीमा १४ क्रसर तथा खानीमध्ये विपद्पछि ७ खानी र ५ क्रसर उद्योग खुलेका छन् ।
समितिले जिल्लामा रहेका ४८ खानी तथा क्रसर उद्योगमध्ये ४२ को अनुगमन गरेको थियो । ती खानी तथा क्रसरमा अनुगमन क्रममा उद्योगको दर्ता नभएको, हरहिसाबको कागजात नभेटिएको, उद्योगबाट निस्किने फोहोर व्यस्थापन नगरेको, उत्खनन गर्ने क्षेत्र नछुट्याइएको, अत्यधिक उत्खनन भइरहेको जस्ता पक्ष अनुगमन प्रतिवेदनमा औंल्याइएको थियो ।
अनुगमनका क्रममा समस्या भएका उद्योगलाई त्रुटि सुधार्न र नियमभित्र काम गर्न निर्देश गरिएको थियो । कतिपय क्रसर र खानीले अनुमति दिइएको क्षेत्रभन्दा बाहिर पनि उत्खनन गरेको पाइएको थियो । त्यस्ता खानीलाई तत्कालै बन्द गर्न अनुगमन समितिले स्थानीय तहलाई सुझाव दिएको थियो । तर, ती पालिकाले अनुगमन प्रतिवेदन कार्यान्वयन गरेनन् । तीनै मापदण्ड विपरीतका खानी र क्रसरले धेरै क्षति पुग्यो ।
विशेषगरी बाढी प्रभावित रहेका पालिकाहरू पनौती, रोशी, बेथानचोक र नमोबुद्धमा बढी क्रसर तथा खानी छन् । पनौतीमा १४ क्रसर तथा खानीमध्ये विपद्पछि ७ खानी र ५ क्रसर उद्योग खुलेका छन् । बेथानचोक गाउँपालिकामा तीन खानी र क्रसर उद्योग सञ्चालनमा छन् । नमोबुद्ध नगरपालिकामा रहेका ४ खानी र क्रसर उद्योगमध्ये विपद्बाट ३ वटामा क्षति पुगेको थियो । अहिले एउटामात्र सञ्चालनमा छ । रोशीमा रहेका ५ मध्ये २ वटा चलेका छन् ।
त्यस्तै मण्डनदेउपुर नगरपालिकामा विपद्पछि ३ उद्योग चलिरहेका छन् । भुम्लु गाउँपालिकामा ४ क्रसर र ७ खानी सञ्चालनमा छन् । विपद्अघि पनौतीमा १०, रोशीमा ५, नमोबुद्ध र भुम्लुमा ४, बेथानमा ३, मण्डनमा २, बनेपा, तेमाल र चौरीमा १/१ खानी तथा क्रसर सञ्चालनमा थिए । जिल्लाका १३ पालिकामध्ये पाँचखाल, धुलिखेल, महाभारत र खानीखोलामा भने खानी तथा क्रसर छैनन् ।
पुनः अनुगमन सञ्चालनमा रहेका खानी र क्रसर उद्योगले मापदण्ड पालना नगरेको पाइएकाले स्थलगत अनुगमनका लागि कार्यदल गठन भएको छ । अहिले समितिले पुनः अनुगमनको काम गरिरहेको खानी तथा क्रसर उद्योगको स्थलगत अनुगमनका लागि गठन कार्यदलका सदस्य सचिव तथा जिल्ला समन्वय समितिका सूचना अधिकारी भरत सापकोटाले जानकारी दिए ।
पहिलो चरणमा पनौती र बेथानको अनुगमन गरेको समितिले अधिकांश उद्योगले मापदण्ड पूरा नगरेको र सञ्चालकले बाढीपहिरोबाट कागजात क्षति भएको भन्दै देखाउन नसकेको जानकारी दिए ।
‘हामी अध्ययनकै क्रममा छौं । अनुगमन गर्दै छौं, सबै खानी तथा क्रसरको अनुगमनपछि प्रतिवेदन तयार हुन्छ,’ उनले भने, ‘त्यही प्रतिवेदनका आधारमा खानी तथा क्रसरलाई के गर्ने भन्ने निर्णय हुन्छ ।’
अनुगमन क्रममा अधिंकाश क्षेत्रमा भूधरातलमा परिवर्तन देखिएकाले उक्त स्थानमा नयाँ आईई प्रतिवेदन बनाइ उक्त जमिनको भौगर्भिक अध्ययनपछि मात्र खानी तथा क्रसर सञ्चालन गर्नुपर्ने देखिएको सापकोटाले बताए ।
क्षतिको अझै आएन पूर्णविवरण
बाढीपहिरोका कारण के कति क्षति पुग्यो भनेर अझै पूर्णविवरण आएको छैन । प्रारम्भिक अनुमान अनुसार जिल्लामा ३ हजार ३ सय २८ निजी आवासमा क्षति पुगको छ भने १२ सरकारी भवन पूर्णरूपमा तथा १ सय ३५ वटामा आंशिक क्षति पुगेको छ । आठ सार्वजनिक भवन पूर्णक्षति भएका छन् भने १ सय ३४ वटामा आंशिक क्षति पुगेको छ ।
जिल्लाका विभिन्न स्थानका ६८ घरपरिवार स्थानान्तरणका लागि सिफारिस भएका छन् । जिल्लाभित्र विभिन्न सडक खण्डमा १६ किलोमिटर सडक पूर्णरूपमा क्षति भएको छ । उक्त स्थानमा अस्थायी डाइभर्सन गरी यातायात सञ्चालन भएको छ ।
जिल्लाका १९ प्रमुख ग्रामीण सडकको अधिकांश खण्डमा पहिरो गई करिब ६ सय ५५ किलोमिटर सडक अवरुद्ध भएकोमा स्थानीय पालिका सडक खुलाउने क्रममै छन् । जिल्लाका ४८ पुलमा क्षति पुगेको मध्ये ७ पूर्णरूपमा र ३ मा आंशिक क्षति भएको छ भने ३८ वटाको सामान्य मर्मत गरिएको छ ।
त्यस्तै सिँचाइका ९६ आयोजनामा २१ करोड ५० लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छ भने ३६ तटबन्ध योजनामा २० करोड रुपैयाँको क्षति भएको छ । खानेपानी तथा सरसफाइका आयोजनामा सबैभन्दा बढी क्षति भएको पाइएको छ । प्रारम्भिक क्षतिको विवरण अखनुसार तीन नगर समेटिएका काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको दुई किलोमिटर पाइप बगाएको छ ।
धुलिखेल खानेपानी उपभोक्ता समितिको तीन किलोमिटर पाइप बगेको तथा अन्य संरचनामा क्षति पुगेको छ । हाल धुलिखेल खानेपानी आंशिक मर्मत गरेर सञ्चालनमा आएको छ । तेमाल बृहत खानेपानी आयोजना, बृहत नमोबुद्ध खानेपानी आयोजना, बृहत सुनकोशी पाँचखाल खानेपानी आयोजना सहित करिब १ सय खानेपानी आयोजनामा क्षति पुगेको छ ।
त्यस्तै चार स्वास्थ्य संस्था, नेपाल टेलिकमका करिब दुई दर्जन टावर तथा अप्टिकल फाइबर, टेलिफोन पोल, तारमा क्षति भएको छ । १० तहमा ७ सय ७४ विद्युत् एचटी लाइनका ११ मिटर अग्ला पोल र नौ मिटर अग्ला एमटी लाइन भएको १ हजार १ सय ४९ पोल पूर्णरूपमा क्षति भएका छन् । ४४ मध्ये २२ ट्रान्सफर्मरमा पूर्णक्षति पुगेको जनाइएको छ ।
जिल्ला कृषि कार्यालयका अनुसार बाढीपहिराले ७ हजार १ सय ३० परिवार प्रभावित भएका छन् । २ हजार ९ टन धान, ८४ टन मकै, ४ हजार २ सय ७८ टन तरकारी तथा अन्य बाली गरी ६ हजार ३ सय ७१ टन उत्पादनमा क्षति पुगेको छ । कुल उत्पादनमा ४२ करोड ६३ लाख रुपैयाँ बराबर क्षति पुगेको जनाइएको छ ।
त्यसैगरी १२ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबरको पशुपन्छी क्षति भएको अनुमान छ । १३ स्थानीय तहमध्ये १२ मा रहेका १ सय ७९ विद्यालयमा क्षति पुगेको शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेपलाञ्चोकले जानकारी दिएको छ ।