बजारमा अनेकथरी घिउ, मनलाग्दी भाउ – Online Khabar

Ghee byanner 1


२४ चैत, काठमाडौं । अनामनगरकी अञ्जु प्रधान शनिबार घर छेउकै एक डेरी पसलमा घिउ किन्न गइन् । त्यसअघि उनले केही ठूला स्टोर र ठूला किराना स्टोरमा विभिन्न ब्रान्डका घिउको भाउ सोधेकी थिइन् ।

उनले नेपाली ब्रान्डकै घिउ अधिकतम १ लिटरको २ हजार ४ सय रुपैयाँसम्म र भारतीय कम्पनीले उत्पादन गरेका घिउ १ हजार ५ सय रुपैयाँसम्म पर्ने थाहा पाइन् ।

‘यति महँगो घिउ त किन्न सकिँदैन’ भन्दै उनले बरु ‘लोकल’ घिउ लाने सोच बनाइन् ।

उनले ठूला स्टोर र केही ठूला पसलमा सोधेको घिउको भाउ अत्यधिक महँगो लागेपछि लोकल नै किन्ने विचार गरेकी थिइन् । उनले सोधेका ठूला स्टोरमा नेपालमै उत्पादित १ लिटर घिउको भाउ २ हजार ४ सय रुपैयाँसम्म थियो । भारतीय कम्पनीका घिउ भने लिटरको १ हजार ५ सय रुपैयाँसम्म रहेको उनले बताइन् ।

त्यसपछि अञ्जुले घरछेउकै डेरी पसल पुगेर आधा लिटर लोकल घिउ किनिन् । त्यसका लागि पनि उनले ६ सय ५० रुपैयाँ तिरिन् । यो भनेको १ लिटरको १ हजार ३ सय रुपैयाँ बराबर हो ।

साँझ खाना खाने बेला ३ चम्चा घिउ तताइन् । घिउ तताउँदा ह्वास्सै आएको गन्ध उनको नाकमा ठोक्कियो । फेरि, उनले नतताएको घिउको बट्टा नै सुँघिन् । नतताएको घिउबाट पनि अलि–अलि गन्ध आएजस्तो लाग्यो ।

‘डेरीवालाले मलाई आफैंले उत्पादन गरेको ताजा, गुणस्तरीय र अर्गानिक घिउ भनेर बेचेका थिए,’ अञ्जुले अनलाइनखबरसँग भनिन्, ‘ताजा घिउ नै भए त्यसरी गन्ध नआउनुपर्ने हो, त्यसमा डाल्डा मिसाएको जस्तै गन्ध थियो । म ठगिएँ ।’

अञ्जुले आफ्नो गाउँ सिन्धुलीबाट घिउ मगाएर खाने गरेकी थिइन् । गाउँबाट ल्याएको घिउ सकिएको हुँदा नजिकैको डेरीबाट ल्याएको उनले बताइन् ।

‘पछि मैले डेरीवालालाई घिउ त गन्हाएको छ, फिर्ता गर्नुस् भनेँ,’ उनले सुनाइन्, ‘तर, पसलेले मैले राम्रो नै घिउ बेचेको हो भनेर जिद्दी गरे । त्यो घिउलाई मैले ६ सय ५० रुपैयाँ तिरेकी थिएँ । हामीजस्ता उपभोक्ता जहिले ठगिनुपर्ने ?’

‘उपभोक्ता अदालत स्थापना भएको छ नि, तपाईं ठगिनुभयो भने त्यहाँ उजुरी गर्दा त्यहाँबाट तपाईंले न्याय पाउनुहुन्छ,’ अनलाइनखबरको सुझावपछि अञ्जुले भनिन्, ‘एक पटकलाई भइहाल्यो, अब अर्को पटक पनि यस्तै ठगिनुपर्‍यो भने चाहिँ उपभोक्ता अदालत जान्छु ।’

घिउको खास भाउ कति हो ?

अनलाइनखबरले शनिबार अनामनगरदेखि बुद्धनगरसम्मका दर्जन बढी डेरी पसलमा गरेको स्थलगत रिपोर्टिङले घिउको भाउ प्रतिलिटर १ हजार ३ सयदेखि १ हजार ५ सय ५० रुपैयाँसम्म तोकिएको पाइयो । डेरी पसलेहरूले दिएको जानकारी अनुसार आधा लिटर घिउलाई नै ६ सय देखि ७ सय ५० रुपैयाँसम्म पर्छ ।

उक्त मूल्य निर्धारण गरिएका घिउ उनीहरू आफैंले उत्पादन गरेको बताउँछन् । उक्त घिउ एकदमै ताजा, गुणस्तरीय र स्वास्थ्यलाई हानि गर्ने कुनै पनि तत्व मिसावट नगरिएको उनीहरूको दाबी छ । त्यस्ता घिउमा लेबलिङ गरिएको छैन । डेरीमा उत्पादित घिउ ६ महिनादेखि १ वर्षसम्म खान मिल्ने उनीहरूको तर्क छ ।

यस्तै खुद्रा पसलेहरूले भने विभिन्न ब्रान्डका घिउ बेच्ने गरेको पाइयो । खुद्रा पसलमा ब्रान्ड अनुसार मूल्य निर्धारण गरिएको छ । सोही मूल्य अनुसार बेच्ने गरेको उनीहरू बताउँछन् ।

बुद्धनगरमा रहेको एक किराना स्टोरका सञ्चालकले कृष्ण बेकरीले उत्पादन गरेको ‘गोकुल’ ब्रान्डको घिउ बेच्दै आएका छन् । उनले उक्त घिउ आधा लिटरको ४ सय ५० र १ लिटरलाई ८ सय रुपैयाँमा बेच्ने गरेको बताए ।

उनका अनुसार काठमाडौंमा शुद्ध गाईको घिउ प्रतिलिटर १ हजार २ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म पर्न जान्छ । गाउँको घिउ अझै महँगो हुने उनी बताउँछन् । यहाँ आउने प्रत्येक ब्रान्डका घिउमा मिसावट भएको उनको दाबी छ ।

उनका अनुसार उक्त घिउ होटल तथा बेकरी पसलहरूले धेरै लैजाने गरेका छन् । सस्तो र कम गुणस्तरको घिउ खोज्ने र काम चलाउनका लागि मात्रै खोज्नेले उक्त घिउ धेरै लैजाने उनले बताए ।

‘हाम्रो पसलमै अर्गानिक भन्दै बेच्न आउनेको भीडै लाग्छ । यी सबै घिउ यतैका डेरीको घिउलाई लेबलिङ, प्याकेजिङ गरेर ल्याइएको हो,’ उनले भने, ‘इलाम, धनकुटातिरबाट आउने घिउको बास्ना र स्वाद नै फरक हुन्छ । इलामले आफ्नै क्षेत्रलाई घिउ पुर्‍याउन सकेको छैन । काठमाडौं पठाउने गरेको भन्ने त हल्ला मात्रै हो ।’

उनका अनुसार काठमाडौंमा शुद्ध गाईको घिउ प्रतिलिटर १ हजार २ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म पर्न जान्छ । गाउँको घिउ अझै महँगो हुने उनी बताउँछन् । यहाँ आउने प्रत्येक ब्रान्डका घिउमा मिसावट भएको उनको दाबी छ ।

घिउको भाउमा मनलाग्दी छ : डेरी एसोसिएसन

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल अहिले घिउको भाउ ठ्याक्कै यति नै हो भनेर किटान गर्न सकिने अवस्था नरहेको बताउँछन् ।

‘बजारमा त जसले जतिमा सक्यो त्यतिमै बिक्री गरिरहेका छन्,’ अध्यक्ष दाहालले भने, ‘सरकारले तोकेको मूल्य लिटरको १२ सय रुपैयाँ छ, तर जसको शक्तिले जति भ्याउँछ त्यतिमै बिक्री भइरहेको छ ।’

यता, नेपाल खुद्रा व्यापार संघले भने एक लिटर घिउको मूल्य १ हजार ४ सय रुपैयाँ तोकेको छ ।

तर, डेरी एसोसिएसन अध्यक्ष दाहाल भने खुद्रा व्यापार संघले तोकेको  मूल्यमा घिउ बेच्न नमिल्ने बताउँछन् । ‘कसरी तोकियो घिउको मूल्य १४ सय ?,’ दाहाल प्रश्न गर्छन् ।

डेरी एसोसिएसनका अनुसार हाल देशभरि हिसाब गर्दा ५ लाख किलो बराबर घिउ स्टक छ ।

‘राम्रो गुणस्तरको घिउ लिटरको १२ सयसम्म’

चितवन दुग्ध उत्पादन सहकारी संघ अध्यक्ष किशोर बगाले अहिले राम्रो गुणस्तरको घिउको मूल्य प्रतिलिटर १ हजार १ सयदेखि १ हजार २ सय रुपैयाँसम्म भएको बताउँछन् ।

‘बजारमा अहिले विभिन्न प्रकारका घिउ पाइन्छन्, सस्तो मूल्यका घिउ पनि छन्, कसैले नौनी लगेर घिउ बनाएर बेच्ने गरेका छन्, नौनी ८ सय रुपैयाँ किलो छ,’ अध्यक्ष बगाले भन्छन्, ‘नौनीको मात्रा कति प्रतिशत छ, मोइस्चर कति छ भन्नेले घिउको गुणस्तर निर्धारण गर्छ ।’

उनका अनुसार घिउको गुणस्तर हेर्नुपर्दा प्याकेजिङमा लेबलिङ गरिएको हुन्छ, त्यसमा फ्याट, प्रोटिनको मात्रा र उपभोग्य मिति उल्लेख गरिएको हुन्छ ।

wide ghee room temp

उद्योगीले नै निर्धारण गर्छन् घिउको भाउ : दुग्ध विकास बोर्ड

राष्ट्रिय दुग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक तथा प्रवक्ता बालक चौधरी घिउको मूल्य निर्धारण उद्योगी आफैंले गर्ने बताउँछन् । उनका अनुसार दुग्ध विकास बोर्ड र सरकारले प्रशोधित दूधको मूल्यमात्र नियमन गर्छ ।

‘प्रशोधित दूधबाहेक अन्य दुग्ध पदार्थमा सरकारले हस्तक्षेप गर्दैन,’ प्रवक्ता चौधरी भन्छन्, ‘उद्योगीहरूले आफ्नो उत्पादन, उत्पादन लागत, बिक्रीका आधारमा कम र बढी मूल्य निर्धारण गर्ने हुन् ।’

घिउ लिटरमा बढ्यो २ सय

दसैंतिहार जस्ता ठूला चाडयता घिउको भाउ बढेको छ । त्यो बेला लिटरको १ हजार २ सय रुपैयाँ परेको घिउको भाउ अहिले २ सय रुपैयाँ बढेको छ ।

खुद्रा व्यापार संघले १५ चैतमा सार्वजनिक गरेको मूल्यसूची अनुसार घिउ प्रतिलिटर १ हजार ४ सय रुपैयाँ कायम छ । यो मूल्य मंसिर–पुसयता स्थिर छ ।

संघ अध्यक्ष पवित्र बज्राचार्य घिउको गुणस्तर अनुसार भाउ निर्धारण हुने बताउँछन् ।

‘कम्पनी अनुसार घिउको भाउ फरक–फरक हुन्छ, बजारमा प्रतिलिटर १२ सयदेखि १४ सय रुपैयाँसम्म मूल्य छ,’ उनले भने, ‘हामीले औसतमा मूल्य निर्धारण गर्ने हो, घिउको ब्रान्ड नै हेर्ने हो भने सय थरी छन् । अधिकतम खुद्रा मूल्य (एमआरपी) तोक्ने जिम्मा या त उत्पादकको हो, या त आयातकर्ताको हो । हामीले उनीहरूले उपलब्ध गराएको मूल्यसूची औसतमा राख्ने हो ।’

यस्ता छन् थरीथरी घिउको भाउ

केही नाम चलेका अनलाइन प्लेटर्फमहरूमा नेपालमा उत्पादितदेखि भारतबाट आयातित विभिन्न ब्रान्डका घिउ बिक्रीका लागि राखिएको पाइन्छ । यस्ता घिउको मूल्य ३ सयदेखि ३ हजार रुपैयाँसम्म तोकिएका छन् ।

‘शुद्ध गाईको घ्यु’ नामक आधा लिटर घिउको भाउ ६ सय ५० रुपैयाँ छ । यस्तै, ‘माटो’ ब्रान्डको शुद्ध गाईको घिउ आधा लिटरको ७ सय २५ र १ लिटरको १ हजार ३ सय ९९ रुपैयाँ छ । यही ब्रान्डकै ‘एटू पियोर अर्गानिक’ घिउको मूल्य भने २ हजार ४ सय ५० रुपैयाँ छ ।

त्यस्तै ‘इलामको घिउ’ आधा लिटरको ७ सय, ‘हिमचुली गाईको घिउ’ ६ सय ७०, ‘इलामेली गाईको घिउ’ ६ सय तथा ‘सीताराम घिउ’ आधा लिटरको ७ सय १५ र १ लिटरको १ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

त्यसैगरी भारतबाट ‘पतञ्जली’, ‘गोवद्र्धन’ र ‘अमुल’ ब्रान्डका गाईको घिउ नेपाल ल्याउने गरिन्छ । जसमा पतञ्जली गाईको घिउ आधा लिटरको ७ सय ६१ र १ लिटरको १ हजार ४ सय ९८, १ हजार ३ सय ७७ र १ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै गोवद्र्धन घिउ १ लिटरको १ हजार ३ सय ७५ देखि १ हजार ५ सय ४ रुपैयाँसम्म तोकिएको छ । अमुल घिउ एक लिटरको १ हजार ४ सय ९० रुपैयाँ छ ।

उपभोक्ता सचेत नहुँदा व्यापारीलाई काइदा

वस्तु उपभोग गर्ने उपभोक्ता सचेत नहुँदा, गुणस्तरबारे प्रश्न नगर्दा, उत्पादन मिति, उपभोग्य मिति नहेर्दा उनीहरू दिनहुँ ठगिने गरेका छन् ।

दूध तथा दुग्धजन्य पदार्थमा किसानले बारम्बार मूल्य पाएनौं भनेर चिन्तित भइरहँदा बिचौलियाले भने अर्काले उत्पादन गरेको वस्तुको मूल्य बढाएर उपभोक्ता ठगी गर्दा पनि सरकार मुकदर्शक बनेको उनी बताउँछन् ।

उपभोक्ताहरू दैनिक उपभोग्य वस्तु र सामानको गुणस्तरबारे सचेत नहुँदा व्यापारीहरूले फाइदा उठाइरहेको पाइन्छ ।

सीमित व्यापारीहरूले बजार ‘कब्जा’ गरेका कारण उपभोक्तासँग सेवा र उपभोग्य वस्तु खरिदमा धेरै विकल्प छैनन् । ‘सिन्डिकेटवाला’ र ‘बिचौलिया’ हाबी हुँदा उपभोक्ताले ज्यादती सहनुपरेको हो ।

बजार अनियन्त्रित भयो : उपभोक्ता अधिकारकर्मी

बजार नियन्त्रण गर्न सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री गर्ने निकाय नहुँदा बजार अनियन्त्रित भएको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन् ।

‘खुला बजार भए पनि राज्यका निकायले कन्ट्रोल (नियन्त्रण) गर्नुपर्छ,’ तिमल्सिना भन्छन्, ‘त्यो व्यवस्था नहुँदा बजारमा लुटतन्त्र छ ।’

दूध तथा दुग्धजन्य पदार्थमा किसानले बारम्बार मूल्य पाएनौं भनेर चिन्तित भइरहँदा बिचौलियाले भने अर्काले उत्पादन गरेको वस्तुको मूल्य बढाएर उपभोक्ता ठगी गर्दा पनि सरकार मूकदर्शक बनेको उनी बताउँछन् ।

उनका अनुसार अहिलेको गम्भीर प्रश्न मूल्यभन्दा पनि गुणस्तरको हो । ‘विशेषगरी लोकल डेरीले उत्पादन गरेका प्याकेजिङ मिति, उपभोग्य मिति, तौल, ब्याच नभइकन यो गाईको, यो भैंसीको भन्दै बेचिरहेका छन्, यसको जिम्मा कसले लिने हो ?,’ उनी भन्छन्, ‘वास्तवमा त्यसमा मिसावट के छ, खानयोग्य हो कि होइन, उपभोक्ता स्वास्थ्यमा असर गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न छ । यसमा सरकारले निर्मम भएर अनुसन्धान र अनुगमन गर्नुपर्छ ।’





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *