फ्लाई ओभरभन्दा पहिले व्यवस्थित सार्वजनिक यातायात

nagdhunga flyover 7


कतिपय सडकका संरचनाहरु असान्दर्भिक भइसकेको अहिलेको अवस्थामा हाम्रा योजना तिनै पुराना संरचनामा केन्द्रित हुनु समयको गति र आवश्यकताअनुसार चल्न नसक्नु हो । नेपालमा निकै प्राथमिकता दिइएको फ्लाईओभर समेत अहिले पुरानो अवधारणा भइसकेको छ ।

सवारी साधनको संख्या नबढ्ने हो भने चौडा सडकले दीर्घकालीन रुपमा ट्राफिक व्यवस्थापन गर्छ । तर यो सम्भव छैन । गाडीको आयातमा रोक लगाउने अवस्था पनि छैन । दिनप्रतिदिन सवारी साधनको संख्यामा वृद्धि हुने भएकाले ट्राफिक समस्या फेरि आउने निश्चित छ ।

ट्राफिक इन्जिनियरिङको सामान्य सिद्धान्तअनुसार साँघुरा सडकमा थोरै संख्यामा सवारी साधनको उपस्थिति हुन्छ । सडक चौडा भयो भने मानिसहरु निजी सवारी लिन उत्प्रेरित हुन्छन् ।

काठमाडौं लगायत ठूला शहरमा बस्ने सवारी चालकलाई हरेक दिन ट्राफिक जाम झेल्नुपर्ने बाध्यता छ । दैनिक करिब १४ लाख सवारी साधन गुड्ने काठमाडौं उपत्यकामा हालका वर्षमा सवारी व्यवस्थापन ठूलो चुनौती बन्दै आएको छ । बढ्दो सवारीका कारण उत्पन्न भएको यो समस्या तत्काल सजिलै समाधान हुने पनि देखिँदैन ।

उपत्यकाका कोटेश्वर, बानेश्वर, थापाथली, चाबहिल, गौशाला, जडिबुटी, महाराजगन्ज, सिंहदरबार लगायतका प्रमुख चोक र आसपासका क्षेत्रमा सवारी जाम अत्यधिक हुने गर्छ । जाम कम गर्न कलंकीमा सडकमुनि सुरुङ निर्माण भएपछि तत्कालका लागि सवारी आवत–जावतमा सहजता आएको छ र अन्य स्थानमा भने समस्या उस्तै छ ।

सामान्य मानिसले बुझ्दा चौंडा सडक, सुरुङ, फ्लाइओभर वा थप सडक लेन निर्माण गरेर सवारी जामको समस्या समाधान गर्न सकिन्छ भन्ने जस्तो लाग्छ । वास्तवमा अन्य धेरै देशको अनुभवले यस्ता संरचना मात्र सामाधानका उपाय होइनन् । दीर्घकालीन समस्या समाधानका लागि यी संरचनाले काम गर्छन् कि गर्दैनन् भनेर गहिरो बहस र विश्लेषण हुनु जरुरी छ ।

हालैमात्र सरकारले कोटेश्वरको ट्राफिक जाम व्यवस्थापन गर्न भक्तपुर जाने सडकमा लेन थपेको छ तर जाम ज्युका त्यूँ छ । ग्वार्कोमा फ्लाईओभर निर्माणाधीन छ ।

Gwarko Fly over
ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभर

तर, यी समस्या समाधानका उपाय होइनन् भन्ने कुरा बोगर्टा, कोलम्बियाका पूर्वमेयर तथा ट्राफिक योजनाकार एनरिके पेनालोजाकाको भनाइबाट पनि पुष्टि हुन्छ । ‘ट्राफिक समस्या समाधानका लागि सडक चौडा बनाउनु भनेको आगो निभाउन मट्टितेल प्रयोग गर्नुजस्तै हो,’ उनको यो भनाइलाई सडक व्यवस्थापनमा समस्या र चुनौती भोगिरहेका हामीले बेलैमा सोच्ने मात्र होइन, सडक व्यवस्थापनको प्रयासलाई दाँज्न सकिन्छ ।

अहिले उपत्यकमा ट्राफिक जामको समस्या समाधान गर्न सडकको क्षमता बढाइँदैछ । किनकि नयाँ, चौडा र राम्रो सडकले ट्राफिक जाम हुँदैन भन्ने कुरामा हामी विश्वस्त छौं । तर, यसले निजी सवारी साधन किन्न मानिसहरुलाई प्रोत्साहन गर्छ । यसले सवारी साधनको संख्यामा दिनानुदिन वृद्धि हुने मात्र होइन, सडक क्षमताभन्दा गाडीको चाप बढी हुने अवस्था सिर्जना भई ट्राफिक जामको समस्या फेरि उस्तै हुन्छ । सडकको क्षमता मात्र वृद्धि गर्नु भनेको अल्पकालीन समस्याको समाधान मात्र हो ।

Aashish Gajurel 1
आशिष गजुरेल

अवश्य पनि चौडा सडकले ट्राफिक जामको समस्याबाट केही समयका लागि राहत दिन्छ । तर प्रश्नहरु आउँछन्, के यो अब सधैंभरि यस्तै रुपमा चल्छ त ? के अब काठमाडौंमा फ्लाईओभर निर्माणपछि ट्राफिक जाम हुँदैन त ? के अब काठमाडौंको ट्राफिक समस्या समाधान दीर्घकालीन हुने हो त ? यी प्रश्नहरुको उत्तर अहिले नै खोज्नुपर्छ ।

सवारी साधनको संख्या नबढ्ने हो भने चौडा सडकले दीर्घकालीन रुपमा ट्राफिक व्यवस्थापन गर्छ । तर यो सम्भव छैन । गाडीको आयातमा रोक लगाउने अवस्था पनि छैन । दिनप्रतिदिन सवारी साधनको संख्यामा वृद्धि हुने भएकाले ट्राफिक समस्या फेरि आउने निश्चित छ ।

उपाय के हो ?

जब सडकको क्षमताभन्दा गाडीको माग धेरै हुन्छ, जाम सुरु भइहाल्छ । आज संसारमा नै ट्राफिक व्यवस्थापनका लागि सडकको क्षमता वृद्धिका साथसाथै सार्वजनिक सवारी साधनको राम्रो विकास र यसको क्षमता वृद्धि नै उपयुक्त माध्यम मानिएको छ । हालसालै काठमाडौंका सडकहरु चौडा गर्ने कामलाई ठूलो उपलब्धि मान्नुपर्छ । अब एउटा निकाय चाहियो जसले सार्वजनिक यातायातको विकास र यसको क्षमता वृद्धि गर्ने ठोस कार्यक्रम ल्याउन सकोस् ।

आज संसारभरिनै ट्राफिक जाम नियन्त्रण गर्न चौडा सडक र बढ्दो निजी गाडीको नियन्त्रण प्राथमिकतामा परेको देखिन्छ । विकसित राष्ट्रमा सवारी साधनको राम्रो व्यवस्था हुँदा त्यहाँको ट्राफिक समस्या हल नै भएको देखिन्छ ।

सडक आउजाउको माध्यम हो । मुख्यतः सडकहरु सवारी साधनका लागि विकास भएको देखिन्छ । तर सडक भनेको सवारी साधन, पैदल यात्री, साइकल यात्री, सबैको साझा थलो हो भन्ने कुरा बिर्सनु हुँदैन । निजी सवारी साधन हुने व्यक्तिहरु निकै थोरै जनसंख्याको प्रतिनिधित्व गर्छन् । तर राजनीतिक शक्तिहरु उनीहरुकै हितमा निर्णय गर्छन् किनकि उनीहरुसँग पहुँच र प्रभाव छ । त्यसैले सडकको विकास गर्दा निजी सवारीलाई प्राथमिकतामा राखेर विकास गरिन्छन् ।

उदाहरणका लागि, सडक चिल्ला र चौडा बनाइन्छ तर पैदलयात्री मार्ग साँघुरा र सडक बनाएपछि मात्र बनाउन सुरु गरिन्छ । सुरक्षाको दृष्टिकोणबाट हेर्दा पनि पहिले पैदलयात्री मार्ग बनाउनुपर्छ त्यसपछि सवारी सवारी साधनका लागि सडक । साइकल लेनको त खासै मतलब गरिएको देखिँदैन ।

traffic jam cover
काठमाडौंका सडकमा सवारी साधनको चाप

ट्राफिक इन्जिनियरिङको सामान्य सिद्धान्तअनुसार जब सवारी साधनका लागि सडक साँघुरा हुन्छन् तब सडकमा थोरै संख्यामा सवारी साधनको उपस्थिति हुन्छ । चौडा सडक भयो भने मानिसहरु निजी सवारी लिन उत्प्रेरित हुन्छन् किनभने ट्राफिक जाम कम हुन्छ र मानिसहरु आनन्दका साथ ड्राइभिङ गर्छन् ।

यसरी गाडीको संख्यामा वृद्धि हुन्छ र फेरि ट्राफिक जाम सुरु हुन्छ । त्यसपछि के फेरि सडक चौडा गर्न सम्भव हुन्छ त ? जमिन भनेको सीमित हुन्छ । त्यसैले चौडा गर्ने कार्य पनि कही समय पछि  टुंगिन्छ । त्यसैले व्यवस्थित र वैज्ञानिक ट्राफिक व्यवस्थापन र सडक चौडा गर्ने कार्य सँगै लैजानुपर्छ ।

ट्राफिक इन्जिनियरिङको दृष्टिबाट हेर्ने हो भने यस्तो नीति विकास गर्नुपर्छ जसले निजी गाडी किन्न निरुत्साहित र सार्वजनिक यातायातको प्रयोगलाई प्रोत्साहित गरोस् । सडकमा कम सवारी साधन भयो भने व्यवस्थापन कार्यमा निकै सहजता आउँछ । नेपाल जस्तो देश जहाँ आज २१औं शताब्दीमा पनि ट्राफिक प्रहरीले हात र सिट्ठीको भरमा ट्राफिक व्यवस्थापन गर्छन् । त्यस्तो देशमा चौडा सडकले झन् ट्राफिक समस्यका साथसाथै सडक दुर्घटनामा पनि वृद्धि हुने सम्भावना निम्त्याउँछ ।

मोटरसाइकल व्यवस्थापन

नेपालका सन्दर्भमा मोटरसाइकल यस्तो सवारी माध्यम हो जसको वृद्धिले व्यवस्थापनमा निकै चुनौती बनेको छ । हाम्रो सवारीको कूल संख्याको ८० प्रतिशत मोटरसाइकल हो । समाधान गर्न यसको प्रयोगमा प्रतिबन्ध गर्ने समाधान हैन, तर मोटरसाइकल प्रयोगकर्तालाई सार्वजनिक यातायात प्रयोग गर्न उत्प्रेरित गर्न सक्नुपर्छ ।

ग्वार्कोमा फ्लाईओभर बन्नु भनेको त्यहाँको समस्या पश्चिमतिर सातदोबाटो र पूर्वतिरको बालकुमारीमा सर्नु जस्तै हुन्छ ।

वर्षाको समयमा पानीमा रुझेर, गर्मीको समयमा पसिना गाढ्दै र जाडोको समयमा जाडो सहेर मोटरसाइकलमा सवारी गर्नुपर्ने बाध्यता हुदाँहुदै पनि विश्वासिलो सार्वजनिक यातायातको सुविधा नहुँदा मोटरसाइकल नै चढ्नुपर्ने बाध्यता छ । भरपर्दो सार्वजनिक यातायात भयो भने उनीहरुले सवारीको माध्यम परिवर्तन गर्छन् । यो संसारकै विकसित देशको उदाहरणले प्रष्ट पारेको छ ।

दक्षिण कोरियालाई फ्लाईओभर घाँडो

कतिपय सडकका संरचनाहरु अहिले असान्दर्भिक भइसकेको अवस्थामा हाम्रा योजनाहरु तिनै पुराना संरचनामा केन्द्रित हुनु समयको गति र आवश्यकता अनुसार चल्न नसक्नु हो । नेपालमा निकै प्राथमिकता दिइएको फ्लाईओभर समेत अहिले पुरानो अवधारण भइसकेको छ ।

ग्लोबल रिसर्च इन्स्टिच्युुटका रेजित म्याथ्यूजका अनुसार फ्लाईओभरहरू बनाउनुको कुनै अर्थ छैन किनभने तिनले समस्यालाई केवल अर्को ट्राफिक चोकमा धकेल्छन् र यदि फ्लाईओभर निर्माण गरियो भने केही वर्षभित्रै सवारी र मानिसको भीड हुन थाल्छ, त्यसपछि अर्को फ्लाईओभरको लागि योजना बनाउनुपर्नेछ । हाम्रो देशकै कुरा गर्दा पनि ग्वार्कोमा फ्लाईओभर बन्नु भनेको त्यहाँको समस्या पश्चिमतिर सातदोबाटो र पूर्वतिरको बालकुमारीमा सर्नु जस्तै हुन्छ ।

कुनै बेला फ्लाईओभर निर्माणको अभियान नै चलाएको दक्षिण कोरियालाई तिनै फ्लाईओभर घाँडो सावित भएको छ । जसका कारण सोउलका फ्लाईओभरहरू भत्काउन थालिएको छ । फ्लाईओभर बनाउँदा यातायात व्यवस्थाको दीर्घकालीन समाधान हैन रहेछ भन्ने कोरियाको उदाहरण काफी छ ।

पूर्वाधारको विकास (जस्तैः लेन थप्ने वा चौडा बनाउने) र सार्वजनिक यातायातको विकाससँगै लानुपर्ने हाम्रो आवश्यकता देखिएको छ । स्रोतका कारण यी दुवै उपाय अपनाउन नसिकने भएमा सार्वजनिक यातायातको विकास पहिलो रोजाइ हुनुपर्छ । सरकारका योजनाहरुमा काठमाडौंमा मेट्रो रेल प्रणाली निर्माण पनि रहेकोले यो विषय पनि ख्याल गर्नुपर्ने हुन्छ ।

सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण शक्तिशाली बनाऊँ

९ असोज २०७९ मा शहरी क्षेत्र सार्वजनिक (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ प्रमाणीकरण भएको छ । सार्वजनिक यातायातको व्यवस्थापन यसै ऐनअनुसार गर्नुपर्छ । दुई वर्ष बितिसक्यो यस ऐनलाई लागू गर्ने निकाय बनेको छैन, नियमावली बनेको छैन र प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया पनि अगाडि बढेको छैन । सरकारले अविलम्ब यस ऐनअन्तर्गत नियमावली पास गरी प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरी कार्यालय स्थापना गर्नुपर्छ ।

सार्वजनिक यातायातलाई अब पनि व्यवस्थित गर्न लागिनपर्ने हो भने धेरै ढिला हुनेछ । सार्वजनिक यातायातको व्यवस्थापन यही ऐनको परिधिभित्र रही गर्नुपर्छ । व्यवस्थित शहरहरुका सार्वजनिक यातायातको मोडलहरु अध्ययन गरी हाम्रो देशको लागि उपयुक्त मोडेल पहिचान गरी लागू गर्नु नै व्यवस्थापनका लागि बुद्धिमानी हुन्छ । प्राधिकरणलाई जति सुस्त राखिन्छ त्यति नै यातायात प्रणाली बिग्रनेमा दुईमत छैन ।

(गजुरेल यातयात विज्ञ हुन् ।)





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *