गत हप्ता यो पङ्तिकारलाई कोशी प्रदेशका केही ठाउँहरू घुम्ने अवसर मिल्यो । “केही विद्यालय, क्याम्पस र विश्वविद्यालयका कार्यक्रमहरूमा सहभागी हुन पूर्व जानुछ, तपाईं जाने हो? तपाईँसँग सम्बन्धित इन्जिनियरिङ क्याम्पस पनि हेर्नु छ । तपाईँलाई पनि उपयोगी हुन सक्छ, मिल्छ भने समय मिलाउनुस् ।” पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यूसँगको एक भेटमा उहाँले यो कुरा मलाई बताउनु भएको थियो ।
शिक्षा क्षेत्र र त्यसमा पनि प्राविधिक क्षेत्रका विद्यार्थीहरू, ग्र्याजुएटहरू र सम्बन्धित स्टार्टअपहरूले भोगिरहेका समस्याहरूको सन्दर्भमा मेरो भेट थियो, उहाँसँग । समस्याहरू ध्यानपूर्वक सुन्ने र सानो–सानो कुराहरूमा समेत गहिरो चासो राख्ने उहाँको बानी रहेछ । उहाँले आफ्नो यात्रामा सँगै हिंड्न गर्नुभएको प्रस्ताव मेरो लागि एक हिसाबले अभूतपूर्व थियो ।

१४ माघको एक धमिलो अपरान्ह हामी विराटनगर ओर्लियौँ । विराटनगर धुम्म थियो । पूर्व राष्ट्रपतिको विराटनगरसँग गहिरो सम्बन्ध रहेछ भन्ने कुराको झलक विराटनगर एयरपोर्टमा देख्न पाइयो । उहाँलाई स्वागत गर्न आतुर देखिन्थे स्थानीय ।
त्यही दिन उहाँको त्यस क्षेत्रका विज्ञान तथा प्रविधि क्षेत्रका युवा वैज्ञानिक, युवा प्राध्यापक र युवा विद्यार्थीहरूसँग भेटघाट कार्यक्रम रहेछ । ठिक समयमा सुरु भएको कार्यक्रममा तीनवटा उमेर समूहका महिला र पुरुष उस्तै उस्तै सङ्ख्यामा उपस्थिति देखिन्थ्यो । १५ देखि २० वर्ष, २५ देखि ३० वर्ष र ३० देखि ४० वर्षतिरका देखिने समूह समग्र युवाहरूको प्रतिनिधित्व गर्ने खालको देखिन्थ्यो ।
अधिकांश समय उनीहरूकै कुरा सुन्नु भएकी पूर्व राष्ट्रपतिले अन्तिममा छोटो भनाइ राख्नु भएको थियो । मूलत: अनुसन्धानमा रकम नभएको, गतिलो प्रयोगशाला नभएको, स्नातकोत्तर गरेपछि पनि गतिलो जागिर नपाइने र पाए पनि जीवन धान्नै मुश्किल भएकोले आफ्ना साथीहरू जस्तै आफूहरू पनि मुलुक छोड्ने कि जस्तो लागिरहने, तर अवसर पाउँदा यतै सेवा गर्न मन लाग्ने पीडाहरू पोखिरहेका देखिन्थे ।
विज्ञानमा स्नातकोत्तर गरेपछि पनि लोकसेवा गरेर खरिदारको जागिर खानु पर्ने, निजी विद्यालयमा पढाउन जाँदा न्यून तलब दिने, सरकारीमा पढाउन लाइसेन्स चाहिने । यो कस्तो खालको परिस्थिति हो ? उनीहरूका भावनाहरू मार्मिक थिए ।
पूर्व राष्ट्रपतिज्यूले छोटोमा भन्नुभयो, “हामी सबैको सामुहिक प्रयत्नमा सबै समस्याको समाधान सम्भव छ । त्यसमा आफ्नो यथेष्ट चासो र सरोकार छ । म तपाईँहरूसँगै छु । तपाईँहरू निराश नहुनुस् र आफ्ना पहलहरूलाई निरन्तरता दिनुहोस् । ‘
त्यहाँका उठेका सवालहरू कहिले र कसरी सम्बोधित होलान् ? उहाँको अनुहारमा यस्तै भावहरू छचल्किरहेको अनुमान गर्न सकिन्थ्यो ।
दोस्रो दिन, उहाँको भेट त्यही क्षेत्रका बुद्धिजीवी र प्राध्यापकहरूसँग थियो । उहाँले अघिल्लो दिनको जस्तै महेन्द्र मोरङ क्याम्पसको प्रसङ्ग निकाल्नु भयो । हजारौँ विद्यार्थी रहेको क्याम्पसबाट कसरी विद्यार्थीहरू सयौँको सङ्ख्यामा झरे र कसरी फेरि त्यहाँ विद्यार्थी सङ्ख्या हजारौँमा पुगे भन्ने कुरा उहाँले बताइरहनु भएको थियो ।
शिक्षामा रुपान्तरण त भनियो, क्याम्पस / विश्वविद्यालय पनि बनाइयो । तर हाम्रा उत्पादित जनशक्तिले देशभित्रै आशा देख्न नसक्ने कस्तो शिक्षा बनेछ? अब समीक्षा गरौँ । उहाँको बुद्धिजीवीहरूसँगको अपिल थियो ।
पूर्वाधार बनाउन रकम माग्दा पनि रकम नपाइने, रकम पाउँदा पनि काम गर्न नसक्ने र काम गर्न अत्यन्तै धेरै समय लाग्ने यो `डेड लक´ तोड्नु पर्छ भन्ने उहाँको आशय देखिन्थ्यो । कतिपय बुद्धिजीवीहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमहरूमा चासो देखिन्थ्यो । तर उहाँको ध्यान त्यतै महेन्द्र मोरङ क्याम्पस, त्यहाँका पुराना भवन, विद्यार्थी सङ्ख्या किन घटे, त्यतै त्यतै केन्द्रित देखिन्थ्यो । लाग्थ्यो, उहाँ अहिले त्यही क्याम्पसको स्ववियुको कोषाध्यक्ष हो ।
बुद्धिजीवीहरूका कुरा ध्यानसँग सुनेपछिको उहाँको प्रतिक्रिया थियो, आजभन्दा ४० वर्ष अगाडिका कतिपय सवालहरू अझै पेचिला भएछन् । हामी कहाँ कहाँ पुग्यौँ, मुद्दाहरू जहाँको त्यहीँ । हामीले भौतिक पूर्वाधारमा त फड्को मारेका छौँ, तर मानव विकास र उत्पादनमा हामी कति चिप्लेका रहेछौँ । हाम्रा क्याम्पस / स्कुल नबन्ने, तर पुल र बाटो मात्र बन्ने भएछन् । पुल र बाटो बन्दा त राम्रै भयो, तर त्यहाँ गुड्ने ट्रकले बोक्ने सामान हाम्रो आफ्नो नहुने । हामीले खाने अन्न, फलफुल, तरकारी पनि अरबौँको किन्नु पर्ने, कस्तो विकास गरिएछ? उहाँको दिक्दारी थियो ।
शिक्षामा रुपान्तरण त भनियो, क्याम्पस / विश्वविद्यालय पनि बनाइयो । तर हाम्रा उत्पादित जनशक्तिले देशभित्रै आशा देख्न नसक्ने कस्तो शिक्षा बनेछ? अब समीक्षा गरौँ । उहाँको बुद्धिजीवीहरूसँगको अपिल थियो ।
अर्को दिन, एक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा उहाँको सहभागिता थियो । इटहरीको जनता मा.वि.ले आफ्नो ६८ औ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिको रूपमा उहाँलाई आमन्त्रण गरेको रहेछ । कार्यक्रममा अतिथि र वक्ताको भिडले मञ्च भरिएको थियो । विद्यार्थीहरूका प्रतिभाहरू प्रस्तुत भएका थिए, त्यहाँ ।
करिब ३००० विद्यार्थी सङ्ख्या रहेको पूर्व क्षेत्रकै अब्बल सामुदायिक विद्यालयहरूमा पर्दोरहेछ, इटहरीको जनता माध्यमिक विद्यालय । त्यहाँ उपस्थित विद्यार्थीहरूको अनुहार हेर्दा लाग्थ्यो, यिनीहरूको प्रतिभा र क्षमता देशले उपयोग गर्न पाउला? पूर्व राष्ट्रपतिको मन्तव्यको सार त्यस्तै थियो । आजका यी कोपिलाहरू फुल्न र फक्रन पाउनु पर्दछ । त्यसको लागि के के नीतिगत र संरचनात्मक परिवर्तन आवश्यक पर्ने हो, सबै मिलेर गरौँ ।
उहाँले आफ्नो मन्तव्यमा मुख्य गरी शिक्षा, रोजगार, स्वास्थ्य र जलवायु परिवर्तन अहिलेका ज्वलन्त मुद्दा भएकाले सबैको ध्यान यिनमा केन्द्रित हुनु पर्नेमा जोड दिनुभयो । यी साझा मुद्दाका लागि साझा पहल, व्यक्तिगत इमानदारी र प्रयत्नको जोड मिल्नु पर्ने उहाँको निचोड थियो ।
सोही दिनको अपरान्ह, कोशी प्रदेश सरकार मातहत सञ्चालित मनमोहन बहुप्राविधिक विश्वविद्यालयको अवलोकन भ्रमणको कार्यक्रम रहेको थियो । त्यहाँको पूर्वाधार र शैक्षिक कार्यक्रमको जानकारी लिएपश्चात् उहाँले प्राविधिक क्षेत्रको पढाइलाई स्थानीय माग र आवश्यकताका आधारमा परिमार्जन गर्दै लानुपर्ने कुरा व्यक्त गर्नुभयो । प्रविधि पढ्नेले समाज पनि बुझ्नुपर्ने भन्दै समाजलाई कसरी प्रविधिसँग जोड्ने, त्यतातिर विश्वविद्यालयको ध्यान जानुपर्ने उहाँको भनाइ थियो ।
अर्को दिन दुईवटा कार्यक्रम तय रहेछन्, उर्लाबारीमा– जननेता मदन भण्डारीको नाममा सञ्चालित प्रदेश सरकारको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर र मदन भण्डारी प्रतिष्ठानको अवलोकन । पूर्व–पश्चिम राजमार्गको उर्लाबारीमा स्थापना भएको ट्रमा सेन्टरमा बिरामीको चाप थेगी नसक्नु देखिन्थ्यो । सानो ठाउँमा, सिमित स्रोत साधनका बिच सञ्चालन भएको ट्रमा सेन्टर, त्यो क्षेत्रको लागि साँच्चिकै लाइफलाइन रहेछ भन्ने कुरा त्यहाँ देखिएको विरामीको घुइँचोबाट प्रष्ट हुन्थ्यो ।
त्यसको भौतिक पूर्वाधार विकास र सेवा विस्तारमा पूर्व क्षेत्र कस्सिएर लागेको कुरा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बताउनुभयो । त्यहाँबाट फर्कने बेला पूर्व राष्ट्रपतिको चासो अस्पताललाई विस्तार गर्ने र क्षमता बढाउन खुद्राभन्दा पनि प्रष्ट खाका बनाएर काम गर्दा खर्च पनि मितव्ययी हुने र काम पनि दिगो हुने भन्ने रहेछ । जुन कुरा उहाँले त्यहाँका सरोकारवालाहरूसँग व्यक्त गरिरहनु भएको थियो ।
त्यस क्षेत्रमा गरिएको एक सर्वेक्षणको तथ्याङ्कअनुसार ट्रमा सेन्टरको आसपासमा रहेका तीनवटा पालिकाभित्र ४०० जना मिर्गौलाका बिरामीहरू रहेछन् । त्यसैले उक्त ट्रमा सेन्टरमा डायलासिस मेसिन राख्ने हो भने सयौँ मृगौलाका बिरामीहरूको ज्यान बचाउन सकिने रहेछ । तसर्थ हेर्दा सानो देखिने, तर यति ठूलो र महत्वपूर्ण कामका लागि उहाँले राज्यको ध्यान आकृष्ट गर्नुभयो ।
उर्लाबारीमै रहेछ, मदन भण्डारी प्रतिष्ठानको केन्द्रिय कार्यालय । जननेता मदन भण्डारीको राजनीतिक जीवनको सबैभन्दा उर्वर ठाउँ मोरङ र सुनसरी क्षेत्रनै रहेछ भन्ने कुराको छनक त जहाँ जहाँ पुगियो, त्यहाँ त्यहाँ उहाँलाई जनताले सम्झिएको देख्दा प्रष्ट देखिन्थ्यो नै, मदन भण्डारीको स्मरणलाई चिरस्थायी बनाउन जनतासँग जोड्ने प्रतिष्ठानको अभियान अन्तर्गत नै उर्लाबारीमा प्राविधिक क्याम्पस सञ्चालनमा रहेछ ।
ठूलो क्षेत्रफलमा फैलिएको प्रतिष्ठानको हाताभित्र प्रवेश गर्दा देखिएको मदनको शालिकले उहाँ यतै कतै हुनु हुन्छ भन्ने छनक दिइरहेको आभास हुँदो रहेछ । त्यहाँभित्र मदन भण्डारी सङ्ग्रहालय पनि रहेछ । मदनका व्यक्तिगत सरसामानदेखि अध्ययन सामग्री, अडियो–भिजुअल रेकर्डहरू, तस्वीरहरू, विभिन्न राजनैतिक दस्तावेज, उहाँले सेल्टर लिएका ठाउँहरूका डमी कपि, उहाँले प्रयोग गर्ने साइकल लगायतका सामग्रीहरूले सङ्ग्रहालयलाई जीवन्त र पुग्नैपर्ने गन्तव्य बनाउन सफल भएको आभास हुन्थ्यो ।
सङ्ग्रहालयको अवलोकनपश्चात पूर्व राष्ट्रपतिको अनुहारमा भावुकता र एक प्रतिवद्धताको सम्मिश्रण जस्तो भाव देखिन्थ्यो । लाग्थ्यो, उहाँको सङ्कल्प छ, मदनका अपूरा सपनाहरू पूरा गर्ने । मदन भण्डारी सङ्ग्रहालयको बाहिर रहेको बगैँचा, वाटर पार्क, बाल खेलमैदानले त्यस क्षेत्रका जनतालाई मदनसँग सामिप्यताका लागि उम्दा वातावरण बनाएको रहेछ भन्ने अनुभूति भयो ।
यसैगरी, प्राविधिक क्याम्पसले त्यस क्षेत्रका मात्र नभई देशभरका विद्यार्थीहरूलाई इन्जिनियरिङ, कृषि, पशु विज्ञान लगायतका विषयमा शिक्षा दिइरहेको रहेछ । शुल्क तिर्न सक्नेले पनि र तिर्न नसक्नेले पनि प्राविधिक विषय पढ्न पाउने उक्त विद्यालयले प्राविधिक शिक्षामा महत्वपूर्ण योगदान पुर्याएको सहजै अनुमान गर्न सकिन्थ्यो । पूर्व–पश्चिम राजमार्गमा रहेको उक्त प्रतिष्ठान, क्याम्पस, सङ्ग्राहलय र वाटर पार्क देशकै अब्बल शैक्षिक र राजनैतिक भ्रमण केन्द्रको रूपमा विकसित भइरहेको देख्न सकिन्थ्यो ।
करिब एक हप्ता लामो बसाइ सकिनै लाग्दा अरु एक विद्यालय र एक साहित्यिक प्रतिष्ठानले आयोजना गरेका शैक्षिक कार्यक्रमहरूमा पूर्व राष्ट्रपतिसँग विद्यार्थीहरूले भेटघाट गर्ने कार्यक्रमहरू थिए नै, महत्वपूर्ण कार्यक्रम थियो, पूर्व क्षेत्रको सबैभन्दा ठूलो इन्जिनियरिङ क्याम्पस, धरान स्थित पूर्वाञ्चल क्याम्पसको । त्यहाँका विद्यार्थीहरूले आयोजना गरेको राष्ट्रिय प्राविधिक महोत्सव (डेल्टा ५.०) को उद्घाटन कार्यक्रम ।
नेपाली इन्जिनियरिङ विद्यार्थीहरूको कल्पना, सिप र क्षमता विश्वका कुनै मुलुकसँग तुलना गर्न लायक रहेको कुरामा सन्देह थिएन । तुलना गर्न नसकिने थियो त पूर्वाधार र लगानीमा ।
नेपाली इन्जिनियरिङ विद्यार्थीहरूको कल्पना, सिप र क्षमता विश्वका कुनै मुलुकसँग तुलना गर्न लायक रहेको कुरामा सन्देह थिएन । तुलना गर्न नसकिने थियो त पूर्वाधार र लगानीमा । कार्यक्रममा त्यहाँका क्याम्पस प्रमुखको मन्तव्य मार्मिक थियो । पैसाको अभावमा चुहिएका भवन टाल्न गाह्रो छ, जग्गा छ, छात्रावास र प्रयोगशाला व्यवस्थित गर्न पैसा छैन ।
त्यहाँको अवस्था देख्दा लाग्थ्यो, यस्तोमा त यति गर्न सक्ने हाम्रा इन्जिनियरहरू, स्रोत हुँदा के गर्थे होलान्? पूर्व राष्ट्रपतिज्यू नेपालका क्याम्पसहरूको यस्तै अवस्थासँग परिचित हुनुहुन्थ्यो नै । अन्यत्र जस्तै त्यहाँ पनि उहाँले पूर्वाधार र गुणस्तरमा राज्यको लगानी बढाउनु आवश्यक रहेको र स्थानीय र प्रदेस सरकारले पनि क्याम्पस र विश्वविद्यालयहरूलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
क्याम्पस र विश्वविद्यालयलाई जनता र उद्यमसँग जोड्न आवश्यक रहेकोले त्यस काममा सबै मिलेर लाग्नु पर्ने उहाँको जोड थियो । कार्यक्रमबाट निस्कदै गर्दा हामीले रोबो वार हेर्यौँ । मौजुदा स्रोतमा यति बनाउन सक्ने हाम्रा प्रतिभाहरू साँच्चिकै फुल्न र फक्रन पाउँदा कस्तो हुन्थ्यो होला ? पूर्व राष्ट्रपतिको चासो, चिन्तन र सरोकार यस्तै थियो ।
करिब एक हप्ताको बसाइ, कहिले धुम्म बादल लागेको, कहिले आकाश खुलेको, कहिले अलिक चिसो र कहिले अलिक न्यानो थियो । यस अवधिमा उहाँले त्यस क्षेत्रका आफ्ना समकालिन, अग्रज पुस्ता र नयाँ पुस्ताका मानिसहरूलाई भेट्नुभयो ।
उहाँसँग भेट्नेहरूका अनेक जिज्ञासा थिए । कोही तस्वीरका लागि मात्र भए पनि भेट्न पाए हुन्थ्यो भन्ने थिए । कोही मुलुक बिग्रियो, लौन अगाडि सर्नुस् भन्नेहरू थिए । कोही पूर्व राष्ट्रपति राष्ट्रकै अभिभावक हो, त्यही भूमिकामा रहनु पर्दछ भन्नेहरू थिए । कोही राष्ट्रपति पद पनि त राजनैतिक पद नै हो, त्यसैले पूर्व राष्ट्रपति गैरराजनैतिक कसरी हुन सक्दछ भन्नेहरू थिए ।
उहाँले तिनलाई सुन्ने र मनन गर्ने काम त पक्कै गर्नु भएकै होला, तर उहाँको ध्यान राष्ट्रिय मुद्दाहरूको रूपमा शिक्षा, रोजगारी, स्वास्थ्य र जलवायु परिवर्तनका चुनौतिहरूलाई कसरी सामना गर्ने र त्यसको लागि सामुहिक रूपमा लाग्नु पर्ने कुरामा जोड यत्र तत्र अभिव्यक्त भएको थियो ।
विद्यालयमा पोषण कार्यक्रमलाई स्थानीय उत्पादनसँग जोड्न सक्दा कृषि उत्पादन प्रणालीलाई पुनर्स्थास्थापित गर्न सकिन्छ कि भन्ने उहाँको अपेक्षा रहेछ । शिक्षामा पाठ्यक्रम, संरचना र स्रोत साधनको सिंहावलोकन गर्नु पर्दछ भन्ने मत उहाँमा देखिन्थ्यो । राष्ट्रिय अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउनका लागि कम्तीमा स्वदेशमै उत्पादन गर्न सकिने चिज मुलुकभित्रै उत्पादन गर्नका लागि आवश्यक नीति, प्राविधिक ज्ञान र सिपमा पुनरावलोकन गर्नु पर्दछ भन्ने उहाँको ठहर रहेछ ।
स्वास्थ्य सेवा विस्तारमा लगानी र पूर्वाधार मात्र होइन, जनशक्ति उत्पादनमा नीतिगत उल्झनहरू छन्, तिनलाई सच्याउनु पर्दछ भन्ने उहाँको मान्यता देखिन्थ्यो । समग्रमा शिक्षामा तत्काल सुधार प्रारम्भ गर्दा त्यसले सिर्जना गर्ने सीप र प्रविधिमार्फत उद्यम र रोजगारी सिर्जना हुन्छ भन्ने आत्मविश्वास उहाँमा देखिन्थ्यो ।
यसैगरी, जलवायु परिवर्तनको कारकका रूपमा रहेको हरित गृह ग्यास उत्सर्जनमा नेपालको भूमिका नगण्य रहेता पनि यसको नकारात्मक असरबाट प्रभावित हुने प्रमुख देशहरूमा नेपाल परेको हुनाले हामीले अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्ना कुराहरू बलियोसँग राख्नुपर्दछ भन्ने मान्यताहरू अभिव्यक्त गर्दै हुनुहुन्थ्यो ।
उहाँको समग्र देशको चासो र चिन्तामा व्यक्त अव्यक्त भावहरूको सार भनेको समयानुकूल शैक्षिक प्रणालीमा सुधार, उपलब्ध प्राकृतिक स्रोतको दिगो उपयोग गरी उद्योग र उद्यमशीलताको विकास, रोजगारीको सिर्जना गरी सबल र सुदृढ राष्ट्रिय अर्थतन्त्रको निर्माण गरी जनताको जीवनमा समृद्धि ल्याउँने कुरामा केन्द्रित देखिन्थ्यो ।
उहाँको प्राथमिकतामा साना साना बालबालिका र विद्यार्थीहरू देखिन्थे । लाग्थ्यो, उहाँको यात्राको उद्देश्य बिग्रिएका, छोडिएका, परित्यक्त अथवा ओझेलमा परेका सा–साना कुराहरू, जसको राष्ट्रिय जीवनमा ठूलो महत्व हुन्छ, तिनलाई ब्युँताउनु हो ।
यो यात्राले जनजीवनलाई अझै गहिरोसँग बुझ्ने अवसर मेरो लागि पनि महत्वपूर्ण हुने नै भयो । साना साना कुराको सम्बोधन मार्फत ठूलो लक्ष्य प्राप्त हुन्छ र अबको ध्यान त्यसमा केन्द्रित हुनुपर्दछ भन्ने गहिरो अनुभूति सहित हामीले यय पटकको यात्रालाई बिट मार्यौँ ।