पाल्पाका किसानलाई चैते धान रोप्न चटारो

1743138498 ropai


आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ। यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका अधिकांश किसान एक सातायता चैते धानको रोपाइँमा व्यस्त छन्।

पूर्वखोला गाउँपालिका–३ कलौलीकी गोमाया कामु अहिले चैते धान रोप्न व्यस्त छिन्। गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उनको परिवारलाई भने कुलोको पानीले सिञ्चित भएको पाँच रोपनी खेतमा चैते धान रोप्न भ्याइनभ्याइ छ। पानीको सुविधा भएको र उत्पादन पनि हुने भएकाले बर्सेनि चैते धान रोप्दै आएको कामु बताउँछिन्।

‘चैते धानका लागि पानीको समस्या हुँदैन। उत्पादन पनि राम्रै हुन्छ,’ उनले भनिन्, ‘त्यसैले वर्षौंदेखि निरन्तर हामीले चैते धान रोप्दै आएका छौँ।’ चैते र बर्खे धान गरेर वर्षमा दुई बाली धान खेती गर्ने कामु बर्खे धानभन्दा चैते धान पर्याप्त उत्पादन हुने बताउँछिन्।

गोमाया जस्तै डढेटाका सोमबहादुर थापालाई पनि चैते धान रोप्ने चटारो छ। खेत जोत्ने, पानी मिलाउने, ब्याड काट्नेदेखि धान रोप्न उनको परिवारलाई भ्याइनभ्याइ छ। उनले करिब दुई कट्ठा खेतमा चैते धान रोप्न थालेको बताए।  

‘फागुनमा राखेको धानको ब्याड हो। चैतको अन्तिमतिर रोपिसक्नुपर्ने हुन्छ,’ थापाले भने, ‘धान रोपेर सक्ने तयारीमा छौँ।’ बेमौसमी खेतीका रूपमा रोपिने चैते धानबाट मनग्य आम्दानी हुने भएपछि आफ्नो परिवारले धेरै पहिलेदेखि नै चैते धान रोप्दै आएको उन बताउँछन्। उनीहरू जस्तै यहाँका डढेटा, लाबे, सातबिसे, खैरेनी, आठबिसे, कलौली, चेवा मङ्गला, सुखौरा लगायतका फाँटका प्रायः किसानलाई चैते धानको रोपाइँको हतारोले एकैछिन फुर्सद छैन।

महिला हरियो धानको बीउ काँढ्न र रोप्नमा व्यस्त देखिन्छन् भने पुरुष खेत हिलाउन, आली गरा मिलाउनमै व्यस्त छन्। कतै किसानले हल गोरु लगाएर खेत जोतिरहेका छन् भने कतै गोरुको सट्टा ट्र्याक्टरको प्रयोग गरी हिलो फेटेको देखिन्छ। सिँचाइ सुविधा भएकाले चैत र बर्खा गरी दुईपटक धान रोप्ने चलन रहेको छ। यहाँ फागुन महिनामा बीउ राखेर चैत महिनामा हिउँदे धान रोप्ने प्रचलन रहेको छ। ‘सबै छिमेकी जम्मा भएर आपसमा रोपाइँको मेलापातमा सघाइरहेका छौँ। यो बेला हाम्रा लागि व्यस्त समय हो,’ डढेटाका किसान मनु दिसुवाले भने, ‘यहाँ पानीको स्रोतको समस्या नभएकाले धमाधम रोपाइँ भइरहेको छ।’

यहाँका अधिकांश किसान वर्षाैंदेखि चैते धानमा आकर्षित हुँदै आएका छन्। पूर्वखोलावासीले घरको धान प्रयोग गर्न कात्तिक महिना नै कुर्न पर्दैन, असार साउनमा पनि नयाँ धान भित्र्याएर आम्दानी गर्न सक्छन्। आफूले जानेदेखि नै हिउँदे धान रोप्दै आएको कलौलीकी किसान अग्निश्वरा बाह्रघरेले बताइन्। अधिकांश ठाउँका युवा विदेश गइरहेका बेला डढेटाका केही युवा भने कृषिमै लागेका छन्। डढेटा फाँटमा आली गरा मिलाउँदै गरेको अवस्थामा युवा देखिन्थे। 

आली लगाउँदै गरेका शिव दिसुवाले पुस्तौँदेखि आमाबुबाले लगाउँदै आएको धानखेतीलाई आफूले पनि निरन्तरता दिँदै आएको बताए। असारमा हुँदै आएको धान रोपाइँ चैत महिनामा पनि देख्न पाउँदा त्यहाँ पुग्ने नयाँ पुस्ता भने दङ्ग छन्। कृषिमा आधुनिक प्रविधिसँगै बेमौसमी खेतीको प्रयोग बढ्दै गएको पाइन्छ।

विशेष गरी यहाँका वडा नं २, ३ र ४ मा रहेका फाँटमा चैते धान रोपाइँ हुने गरेको गाउँपालिकाकी कृषि शाखा प्रमुख चाँदनी चौधरीले बताइन्। उनका अनुसार यहाँ १५ हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुने गरेको छ। यस वर्ष सोमबारसम्म १० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको उनले बताइन्। यहाँका अधिकांश फाँटमा पर्याप्त मात्रमा सिचाँइको सुविधा भएकाले कृषक दुई याम नै धानखेतीतर्फ आकर्षित हुने गरेका छन्।  

कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउने गरेको पालिका अध्यक्ष नुनबहादुर थापाले बताए। उनले भने, ‘हामीले बीउविजन, मल, प्राविधिक सहयोग कृषि क्षेत्रमा गर्दै आएका छौँ, त्यसैले पनि कृषक कृषि कर्म गर्न उत्साहित हुनुहुन्छ।’ यहाँका खोलाबाट कुलो बनाएर कृषकले धान रोप्ने गरेको अध्यक्ष थापाले बताए।

विगतमा स्थानीय जातको धान लगाउँदा कृषकले उत्पादन कम गरे पनि पछिल्लो समय उन्नत जातको बीउ लगाउन थालेपछि उत्पादनमा समेत वृद्धि भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए। उनले बाँझो जग्गाको सदुपयोग गर्ने गरी कृषकलाई पालिकाले प्रोत्साहनका कार्यक्रम समेत ल्याउने गरेको बताए।

पाल्पाका अन्य फाँटहरूमा पनि यति बेला चैते धान रोप्ने चटारो छ। फागुन महिनामा बीउ राखेर चैत महिनामा हिउँदे धान रोप्ने चलन रहेको छ। पाल्पामा नियमित रूपमा कुलो लाग्ने र प्रशस्त पानी भएका खोला नालाका फाँटमा चैते धान रोप्ने गर्छन्। 

जिल्लामा धानबाली लगाइने फाँटमध्ये ६२० हेक्टरमा चैते धानको खेती गरिन्छ भने ७०० कृषकले चैते धान लगाउँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ। हिउँदे धानखेती गरेपछि चामल किन्न नपर्ने यहाँका किसानको भनाइ छ। 

बेमौसमी कृषि खेती गर्ने प्रचलन बढे पनि हिउँदे धान रोपाइँ भने परम्परादेखि हुँदै आएको हो। हिउँदे धानको उत्पादनले धेरै परिवारलाई राहत मिलेको छ। बाह्रैमास सिँचाइको सुविधा विस्तार गर्न सकेमा पाल्पाका अन्य फाँटमा पनि हिउँदे धान रोप्न सकिने हावापानी रहेकाले सरकारले सिँचाइ सुविधा उपलब्ध गराउन ध्यान दिन जरुरी छ।

प्रकाशित: १५ चैत्र २०८१ १०:५३ शुक्रबार





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *