नेपाली प्रशिक्षक रहेका दुई टिम चितवन र पोखरा भिड्दै – Online Khabar

nsl chitwan pkr


१८ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा विदेशी प्रशिक्षकहरुको संख्या धेरै छ । ७ टिममध्ये ४ टिम अर्थात आधा भन्दा बढी टिममा विदेशी प्रशिक्षक छन् । तीन टिममा मात्र नेपाली प्रशिक्षक छन् ।

त्यसमध्ये नेपाली प्रशिक्षकले सम्हालेका दुई टिम एफसी चितवन र पोखरा थण्डर्सबीच आज खेल हुँदैछ । खेल साँझ ६ बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ ।

चितवनको प्रशिक्षकमा नविन न्यौपाने छन् भने नविनकै पूर्व टिम पोखराको प्रशिक्षण सुमन श्रेष्ठले सम्हालेका छन् । सुमन श्रेष्ठ पहिलो पटक एनएसएल टिमको प्रशिक्षक बनेका हुन् ।

यस्तै टिममा फरवार्ड कप्तान छन् । राष्ट्रिय टिमका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका अनज्न विष्टले चितवनको कप्तानी गर्दैछन् । अन्जन मार्की प्लेअर समेत हुन् । अन्जन तीन फरक सिजनमा तीन फरक क्लबलको मार्की र कप्तान हुने एक मात्र खेलाडी हुन् । उनी पहिलो सिजन ललितपुर सिटी तथा दोस्रो सिजन झापा एफसीका मार्की र कप्तान थिए ।

उता पोखराको कप्तानी नवयुग श्रेष्ठले गर्नेछन् । पहिलो सिजन पोखराको मार्की रहेका नवयुगले दोस्रो सिजन चितवनको जर्सीमा खेलेका थिए । पोखराले यस सिजन युवा फरवार्ड समिर तामाङलाई मार्की बनाएको थियो ।

यसअघिका दुई सिजन खासै राम्रो प्रदर्शन गर्न नसकेको चितवनले यस सिजन मार्की देखि कोचिङ स्टाफसम्म परिवर्तन गर्दै नयाँ टिम बनाएको छ । राष्ट्रिय टिमका अन्जनसहित सुमित श्रेष्ठ र अभिषेक लिम्बु चितवनको टिममा छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका गोलकिपर विशाल श्रेष्ठ र छिरिङ गुरुङ छन् भने युवा मिडफिल्डरहरु जय गुरुङ, रोशन राना मगर र शिशिर लेखी पनि छन् ।

चितवनले विदेशी खेलाडीमा अघिल्लो सिजनमा टोरिक जेबरिनलाई निरन्तरता दिँदा मोफसलको फुटबल खेलेको फरवार्ड युसुफ मिलाकलाई पनि अनुबन्ध गरेको छ । यस्तै जमैकाको राष्ट्रिय टिमबा६ खेलेका गोलकिपर अमल नाइट, अमेरिकाको उमेर समूहबाट खेलेका भिक्टोमार मानसारे पनि छन् । यस बाहेक अमेरिकन जोनाथान क्याम्पबेल र उज्वेकिस्तानका नोदिरबेक माभलोनोभ छन् ।

चितवन अहिलेसम्म प्लेअफ पुग्न सकेको छैन र यस सिजन प्लेअफ पुग्दै उपाधि जित्ने लक्ष्य राखेको छ । उता पोखराले भने अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिगमा शीर्ष स्थानमा रहेपनि प्लेअफमा दुवै खेलमा पराजित हुँदा उपाधि जित्न सकेन ।

यस सिजन पोखरामा युवा खेलाडीहरु धेरै छन् र उनीहरुमै टिमको भरोसा छ । पोखरामा हाल राष्ट्रिय टिममा रहेका मध्ये आयुष घलान छन् । यस बाहेक कप्तान नवयुग, सुरज ज्यू ठकुरी र समिरले राष्ट्रिय टिमबाट खेलिसकेका छन् । सुरजले अघिल्लो सिजन पनि पोखराबाटै खेलेका थिए ।

ढिला विदेशी खेलाडी अनुबन्ध गरेको पोखराले अन्तिम समयमा गोलकिपर प्रिसो र फरवार्ड जोए वाइडुलाज्ञ भित्र्याएर टिम सन्तुलित बनाएको छ । दुवैले यसअघि दोस्रो सिजन पोखराबाट खेलेका थिए ।

यस्तै नेपालको ए डिभिजन लिग र एनएसएलको अनुभव भएका स्टेफेन समिर बिनोङ पनि पोखराको टिममा छन् । पोखराले एनआरएन कवटाका सुदिल राईलाई अनुबन्ध गरेको छ ।

एफसी चितवन स्क्वाड
गोलकिपर: विशाल श्रेष्ठ, प्रदिप भण्डारी, अमल नाइट*
डिफेण्डर : अभिषेक लिम्बु, सुमित श्रेष्ठ, छिरिङ गुरुङ, विवेक गुरुङ, शिशिर चौधरी, विशाल स्याङ्गतान, जोनाथन क्याम्पबेल*
मिडफिल्डर : रोशन राना मगर, मिलन राई, शिशिर लेखी, जय गुरुङ, निरज चौधरी, नोदिरबेक माभलोनोभ*, टोरिक जेबरिन*
फरवार्ड : अन्जन विष्ट, मलिक युसुफ*, भिक्टोर मानसारे*
क्याटेगोरी डी : रोजल दाहाल
रुकी प्लेअर : गणेश नेपाली

पोखरा थण्डर्स स्क्वाड
गोलकिपर : कृशल मोक्तान, प्रिसो*
डिफेण्डर : पदम भट्टराई, एकराज बुढाथोकी, नरेन्द्र चौधरी,गौरव श्रेष्ठ, सकल रेग्मी, प्रविन कुमार सुनार
मिडफिल्डर : आयुष घलान, सुरज ज्यु ठकुरी, विशाल तामाङ, चन्दन दास, बिएस्सी न्याक्वे*, साइददोस्तोन जाफारोभ*, सुदिल राई (एनआरएन)
फरवार्ड : समिर तामाङ, नवयुग श्रेष्ठ, स्टेफेन समिर बिनोङ*, माइकल इजेजी चुक्वुबुन्ना*, जोए वाइडु*
क्याटेगोरी डी : रोशन भुजेल
रुकी प्लेअर : समीर तन्डुकार





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *