नेपालको तथ्यांक सम्बन्धी पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक

facts Nepal


४ वैशाख, काठमाडौं । फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स (फ्याक्ट्स नेपाल) ले नेपालका विभिन्न क्षेत्रको जानकारी र तथ्यांक संकलन गरी तयार पारेको १०औं संस्करणको वार्षिक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक गरेको छ ।

नेपालका प्रमुख क्षेत्र तथा प्रवृत्तिको गहिरो अध्ययन र विश्लेषण गरी संकलन गरिएको तथ्यांकको यस संग्रहले पाठकलाई विभिन्न क्षेत्रगत विषयमा गहिरो अन्तरदृष्टि प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

डेटा र इन्फोग्राफिक केन्द्रित यस पुस्तकमा क्षेत्रगत तथ्यांकको अन्तरदृष्टि र विश्लेषण समावेश गरिएको प्रकाशकले जनाएको छ ।

पुस्तकमा नेपाल प्रोफाइल, प्रादेशिक प्रोफाइल, समष्टिगत आर्थिक परिदृश्य, प्रमुख आर्थिक क्षेत्र, पूर्वाधार र सञ्चार, सामाजिक आयाम, सार्वजनिक सुरक्षा, लगायतका ८ खण्ड तथा ६४ उपखण्ड समेटिएका छन् ।

यस संस्करणको पुस्तकमा नेपाल प्रोफाइल र प्रादेशिक प्रोफाइल खण्ड तथा २०७२ सालको भूकम्प र कोभिड–१९ माहामारीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई छुट्टै खण्डमा विभिन्न क्षेत्रगत तथ्यांकबाट चित्रित गरिएको छ ।

स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीका रूपमा रहेको फ्याक्ट्स नेपालले अनुसन्धान र विश्लेषणात्मक परियोजना सञ्चालन गर्नुका साथै आफ्नो स्थापनाकाल (सन३ २०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यममार्फत आमजनताका लागि दैनिक, साप्ताहिक र मासिक सूचनामूलक तथ्यांकीय चित्र प्रस्तुत गरिरहेको छ ।

संस्थाले नेपालको अनुसन्धान क्षेत्र तथा संस्कृतिमा उल्लेखनीय भूमिका निर्वाह गरेको जनाएको छ । संस्थाले विभिन्न छलफल र इन्फोग्राफिक्स मार्फत राष्ट्रिय टेलिभिजन, समाचारपत्र, जर्नल र अनलाइन समाचार पोर्टल जस्ता विभिन्न मिडिया आउटलेटसँग सहकार्य गरी तथ्यांक र तथ्य सार्वजनिक गर्ने गर्दछ ।

पुस्तकको मूल्य ५ सय रुपैयाँ तोकिएको छ । पाठकका लागि ‘फ्याक्ट्स अफ नेपाल २०२५’ पुस्तक अनलाइन प्लेटफर्म मार्फत खरिदका लागि उपलब्ध हुनेछ भने पुस्तकको वितरण साझेदार कथालय छ । प्रक्षेपण सम्झौताका रूपमा यसमा निश्चित समयका लागि ३० प्रतिशत छुट पनि उपलब्ध छ ।





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *