पहिलो विश्वयुद्धमा डेनमार्कले कसैको पनि पक्ष लिएर लडेन। डेनमार्क तटस्थ थियो, तर अधिकांश डेनिस युवा भने जर्मन सेनामा भर्ती भएका थिए। सन् १८६४ को दोस्रो ‘श्लेस्विग युद्ध’मा डेनमार्कले प्रशिया (हालको जर्मनी) सँग ठूलो पराजय बेहोर्नु परेको थियो, त्यस युद्धमा पराजित भएपछि, डेनमार्कले आफ्नो दक्षिणी भूभागको ठूलो क्षेत्र गुमाउन पुगेको थियो। त्यसपछि डेनमार्कले आफ्नो स्वतन्त्रता जोगाउनका लागि तटस्थ रहनु नै उचित ठान्यो। तर, धेरै भाग जर्मनीको अधीनमा भएको हुँदा त्यहाँ बस्ने मान्छेहरूलाई जर्मनीले जबरजस्ती आफ्ना सेनामा भर्ती गराए।
युद्धमा प्रत्यक्ष रूपमा सहभागी नभए पनि डेनमार्कले सुरक्षाका लागि आफ्नो सेना तयारी अवस्थामा राखेको थियो। यदि कुनै देशले हमला गरेमा आफ्नो बचाउ गर्न सकियोस् भनेर उसले सीमामा सेना खटाएको थियो। त्यस बखत डेनमार्कले थुप्रै चुनौतीको सामना गर्नुपरेको थियो। ब्रिटेन र जर्मनीले डेनमार्कलाई आफ्नो पक्षमा लिन नाकाबन्दी नै गरेका थिए, जसको कारण देशमा खाद्य संकट र कालोबजारी मौलाएको थियो। अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको थियो।
लगभग चार वर्ष चलेको पहिलो विश्वयुद्धमा डेनमार्क तटस्थ भए पनि, देशको भित्री सामाजिक संरचना भने अन्य युरोपेली देशहरूको जस्तै संकुचित थियो; विशेषगरी, अविवाहित महिलाहरूका लागि समाज निकै नै कडा थियो, त्यतिबेलाको डेनिस समाज गहिरो रूपमा धार्मिक र नैतिक रूपले एकदमै कठोर थियो। अझ युद्धमा मारिएका सैनिक तथा अपाङ्ग भएर घर फर्किएकाहरूको श्रीमतीहरूका लागि त्यो समय झनै निर्मम थियो।
उनीहरूले भावनात्मक, आर्थिक, सामाजिक र कानुनी धेरै कठिनाइहरूको सामना गर्नुपर्यो। केही देशले युद्धमा मारिएका सैनिकका श्रीमतीहरूलाई राहत रकम उपलब्ध गराए पनि, त्यो पर्याप्त भने थिएन। काम गर्ने अवसर कम भएको डेनमार्क जस्ता देशमा झन् विधवा महिलाहरू गरिबीको चपेटामा परेका थिए। उनीहरूका लागि नयाँ काम खोज्ने, बच्चा हुर्काउने र समाजमा आफ्नो स्थान बनाउने चुनौती निकै कठिन थियो। पहिलो विश्वयुद्धपछि थुप्रै पुरुष मरेका वा अशक्त भएकाले काम गर्ने महिला मजदुरहरूको संख्या ह्वात्तै बढेको थियो।
अझ त्यो समय विवाह अगाडि महिलाहरू गर्भवती हुनु सामाजिक रूपमा अस्वीकार्य मानिन्थ्यो। यदि कुनै अविवाहित महिला गर्भवती हुन्थिन् भने, उनीहरूलाई लज्जास्पद, अनैतिक र पतित मानिन्थ्यो। परिवार र समाजबाट बहिष्करण हुने डरले उनीहरू आफ्नो गर्भावस्था लुकाउने प्रयास गर्थे। गर्भ रहँदा समाजले धिक्कार्ने डरले उनीहरू गर्भपतन, बच्चा लुकाउने वा ‘बेबी फार्मिङ’जस्ता जोखिमपूर्ण तरिका अपनाउँथे। त्यो समयमा अविवाहित महिलाहरू मात्र नभएर विभिन्न कारणले बच्चा नचाहने विवाहित तथा विधवा महिलाहरूले आफ्नो बच्चालाई बेबी फार्मिङमा दिने गर्थे। बेबी फार्मिङ यस्तो प्रणाली थियो, जहाँ नवजात शिशुहरूलाई पैसाको बदलामा अभिभावकत्व लिने संस्था वा व्यक्तिलाई जिम्मा लगाइन्थ्यो। त्यो निर्मम समयमा त्यस्तो परिस्थितिको फाइदा उठाइरहेकी थिइन् ‘डागमार ओभरबाई’ले।
लेखक ‘स्टिफन किङ’को सन् १९८७ मा प्रकाशित उपन्यास ‘मिजरी’ मा एउटा पात्र छ, ‘एनी विल्क्स’, जो कुनै समय एक अस्पतालमा प्रसूति विभागकी प्रमुख नर्सको रूपमा काम गर्थिन्; त्यो बेला उनको हेरचाहमा रहेका एघार नवजात शिशुहरू रहस्यमय परिस्थितिमा मृत अवस्थामा फेला परेका थिए। ‘डागमार ओभरबाई’लाई फिल्म ‘द गर्ल विद द निडल’ मा हेरिरहँदा कता-कता मलाई तिनै काल्पनिक पात्र ‘एनी विल्क्स’को सम्झना आएको थियो।
डेनिस लेखिका ‘कारेन सोनडेर्गार्ड कोल्डस्टे’ डागमार ओभरबाईमाथि आधारित रहेर ‘एङ्गल मागेर्स्केन’ नामक उपन्यास पनि लेखेकी छिन्। त्यो बाहेक उनको जीवनमा आधार रहेर डेनमार्कमा ‘हत्यारा/आमा’ नामक नाटक पनि मञ्चन भइसकेको छ।
‘डागमार ओभरबाई’ सन् १९१५ मा कोपेनहेगन (डेनमार्कको राजधानी) आएकी थिइन्, जहाँ उनले अवैध रूपमा नवजात बच्चाहरूलाई एडप्ट गर्ने संस्था खोलिन्। उनले त्यहाँ वर्षौंसम्म व्यावसायिक रूपमा बच्चा हेरचाह गर्ने काम थालिन्, ती बच्चाहरू विशेषगरी अविवाहित महिलाहरूका समाजले बहिष्कृत गरेका सन्तान हुन्थे। त्यो समयमा महिलाहरूका लागि प्रजनन् अधिकार भन्ने कुरा अस्तित्वमै थिएन, त्यसैले उनीहरू आफ्ना बच्चाहरूलाई अज्ञात व्यक्ति तथा कुनै धनी परिवारलाई सुम्पिने गर्थे।
पहिलो विश्वयुद्धको समयमा ‘डागमार ओभरबाई’ले विभिन्न कारण तथा परिस्थितिले गर्दा बाध्य भएका महिलाहरूबाट त्यस्ता थुप्रै बच्चाहरूलाई आफ्नो जिम्मेवारीमा लिए। उनले त्यसको बदलामा ती महिलाहरूबाट पैसा पनि लिने गर्थे। तर, उनको स्याहारमा पुगेका ती निर्दोष बच्चाहरू कुनै राम्रो वा धनी परिवारको शरणसम्म पुग्दैनथे। उनीहरूको के हुन्थ्यो ? उनले ती बच्चाहरूलाई घाँटी थिचेर, पानीमा डुबाएर, विष खुवाएर, आगोमा जलाएर मार्ने गर्थिन्। उनी केही शवलाई गाड्थिन्, केहीलाई घरको माथिल्लो कोठामा लुकाउँथिन्।
सन् १९२० मा एक महिलाले आफ्नो सन्तानको बारेमा अनुसन्धान गर्न थालेपछि ‘डागमार ओभरबाई’को अपराध पत्ता लागेको थियो। थुप्रैले मान्ने गर्छन्, ‘डागमार ओभरबाई’ले बच्चाहरूलाई मार्ने सिलसिला आफ्नै बच्चाबाट सुरू गरेकी हुन् भनेर। पछि उनलाई ९ वटा बच्चाको हत्याको आरोपमा दोषी ठहर्याइयो, तर उनले १६ जनालाई मारेको स्वीकारोक्ति दिएकी थिइन्। धेरै आशंका गर्छन्, उनले पच्चीसभन्दा बढी नवजात शिशुहरूको हत्या गरेकी थिइन्।
उनको वकिलले ओभरबायले सानैमा दुर्व्यवहार भोगेकी थिइन् भन्ने आधारमा बचाउ गर्न खोजे, तर कानुनले सुनेन। ३ मार्च १९२१ मा, उनलाई मृत्युदण्डको सजाय सुनाइयो। उनी २०औं शताब्दीमा डेनमार्कको कानुनी इतिहासमा मृत्युदण्डको सजाय पाउने तीन महिलामध्ये एक थिइन्, तर पछि उनको सजायलाई आजीवन कारावासमा परिवर्तन गरियो। ६ मे १९२९ मा, ४२ वर्षको उमेरमा उनले जेलमै मृत्यु भोगिन्।
‘म्याग्नस भोन होर्न’ निर्देशित डेनिस फिल्म ‘द गर्ल विद द निडल’ तिनै कुख्यात सिरियल किलर ‘डागमार ओभरबाई’मा आधारित छ, जसलाई अर्की पात्र ‘करोलिन’को नजरबाट देखाइएको छ। फिल्मको कथा पहिलो विश्वयुद्ध सकिएको केही समयपछि सुरु हुन्छ। १९२० को दशकमा डेनमार्कमा सामाजिक रूपमा ठूलो परिवर्तन भइरहेको थियो। युद्धपछिको कठिनाइका कारण देश आर्थिक संकटमा परेको थियो।
करोलिन आफ्नो कोठाको भाडा तिर्न नसकेर कोठा छाड्न बाध्य हुन्छिन्। युद्ध लड्न गएका उनका लोग्ने अझै फर्केर आएका हुँदैनन्। उनी मृत घोषित भएको पनि आधिकारिक रूपमा कतै उल्लेख भएको हुँदैन, त्यसैले करोलिनले सरकारबाट पाउनुपर्ने विधवा अथवा राहत भत्ता पाउँदिनन्। उनी आफ्नी साथीसँग मिलेर सिलाईको काम गर्न थाल्छिन्, जहाँ आफ्नो मालिकसँग उनको प्रेम-सम्बन्ध सुरू हुन्छ।
उनी गर्भवती हुन्छिन्। दुवैले विवाह गर्ने योजना बनाउँछन्, तर करोलिनलाई उनको प्रेमीको परिवारले स्वीकार्दैनन्। उनलाई सिलाईको कामबाट पनि निकालिन्छ। त्यसैबीच करोलिनको लोग्ने युद्धबाट फर्किन्छ, तर उनको अनुहार युद्धमा गम्भीर रूपमा क्षत–विक्षत भएको हुन्छ। उनले आफ्नो अनुहारलाई नकाबले ढाकेका हुन्छन्।
करोलिन आर्थिकसँगै मानसिक रूपमा कमजोर हुँदै जान्छिन्, यसले त्यो समयको डेनमार्कमा युद्धपछिको सामाजिक र पारिवारिक तनाव कस्तो थियो भन्ने झल्काउँछ। त्यस समयमा युद्धबाट शारीरिक वा मानसिक रूपमा क्षत–विक्षत भएर फर्किएका आफ्ना लोग्नेहरूको पनि जिम्मेवारी थपिने हुँदा उनीहरूलाई उनका श्रीमतीहरूले मिश्रित भावनाका साथ हेर्ने गर्थे। कसैले माया, सहानुभूति र हेरचाहका साथ स्वीकार गर्थे भने केहीले स्वीकार्न गाह्रो मान्थे। करोलिनले पनि आफ्नो लोग्नेलाई स्वीकार्दिनन्, उनले लोग्नेलाई घृणाको दृष्टिले हेर्न थाल्छिन्।
उनको लोग्ने झन् धेरै मानसिक समस्याबाट ग्रस्त हुन्छन्। करोलिन आफ्नो लागि गर्भावस्थामा नयाँ काम खोज्न थाल्छिन्। एकदिन सार्वजनिक स्नानगृहमा, उनी सुईको प्रयोग गरेर गर्भमा रहेको बच्चा तुहाउने प्रयास गर्छिन्, तर त्यहाँ एक महिला आएर उनलाई रोक्छिन्। ती महिला हुन्छिन्, ‘डागमार ओभरबाई’ जसले करोलिनको घाउको उपचार गर्छिन् र उनलाई बच्चा जन्मिएपछि आफ्नो पसलमा लिएर आउन सुझाव दिन्छिन्।
करोलिनले बच्चा जन्माउँछिन्, उनको लोग्नेले बच्चाको हेरचाह गर्न चाहन्छन्, तर करोलिन कोठाबाट बच्चा लिएर डागमार कहाँ जान्छिन्। आफ्नो बच्चा कुनै धनी परिवारले लिने आशले उनी खुसी हुन्छिन्। उनले डागमारलाई पूरा पैसा तिर्न नसके पनि, उनको पसलमा काम गर्न थाल्छिन्। उनको नयाँ जीवन सुरू हुन्छ। उनले त्यहाँ डागमारकी छोरीको स्याहार गर्न थाल्छिन्, उनलाई स्तनपान गराउन थाल्छिन्।
करोलिनले डागमारलाई बच्चाहरूको भविष्यको बारेमा सोध्दा उनी जहिल्यै अस्पष्ट जवाफभित्र लुक्ने हुन्छिन्। विस्तारै करोलिन डागमारको व्यवहारलाई लिएर असहज महसुस गर्न थाल्छिन्, उनमा शंका पैदा हुन थाल्छ। एक बिहान उनी डागमारलाई गुपचुप रूपले पछ्याउँछिन्, अँध्यारो गल्लीमा उनले डागमारलाई बच्चाको घाँटी थिचेर हत्या गरेको देख्छिन्।
फिल्मले सन् १९१९ को कोपेनहेगनको अँध्यारो, संकुचित र भयावह वातावरणलाई प्रभावशाली रूपमा उतारेको छ। पटकथा सुस्त गतिमा हिंडे तापनि त्यसले हामीलाई पात्रको यात्रासँग भावनात्मक रूपमा जोड्न राम्रोसँग मद्दत गरेको छ। जब डागमारको क्रूर वास्तविकता पत्ता लाग्छ, त्यसपछि भने फिल्मको गतिमा परिवर्तन आउँछ।
करोलिनको पात्र सामाजिक अन्यायको शिकार मात्र नभएर संघर्ष गर्दै आफूलाई बचाउने साहसी पात्रको रूपमा विकसित भएको छ। उनी मार्फत एकल महिलाहरूलाई समाजले गर्ने व्यवहार, असुरक्षा, आर्थिक रूपमा निर्भर र समाजले पारित गरेको कठोर नियतिले थिचोमिचोमा परेको वर्गको रूपमा चित्रण गरिएको छ। निर्देशकले डागमार ओभरबायको चरित्रलाई एकैसाथ करुणामयी र डरलाग्दो बनाइदिएका छन्। उनको चरित्रमा बढ्दो मानसिक असन्तुलन, आफूले गरेको हत्यालाई सही ठान्ने जिद्दी र सामाजिक अन्यायले उनको मनोदशामा पारेको गहिरो र नकारात्मक प्रभाव देखिन्छ। करोलिनको लोग्नेको चरित्र मार्फत युद्धपछिको पुरुषहरूको मानसिक र शारीरिक अवस्थालाई समाजले हेर्ने दृष्टिकोण उजागर गरेको छ। आफ्नो बच्चालाई डागमार जस्ता अपराधीलाई सुम्पिनुलाई सामाजिक बाध्यता, गरिबी र असहायपनको उपजका रूपमा देखाइएको छ। फिल्मको मुख्य तत्त्व नै मातृत्व हो, त्यसको परीक्षण हो।
फिल्ममा डागमारले यस्ता ‘निर्दोष बच्चाहरूलाई यो कठोर र निर्मम दुनियाँमा ल्याउनु ठीक होइन’ भनेर आफ्नो तर्क राख्छिन्। उनले सामाजिक नैतिकताको उल्टो परिभाषा दिन्छिन्, जसले हामीभित्र नैतिक प्रश्नहरू उम्रिन सक्छन्।
ब्ल्याक एण्ड ह्वाइट रङ्गमा पोतिएको ‘द गर्ल विद द निडल’ ७७औं कान्स फिल्म महोत्सवमा ‘पाल्मे डी’ओर’का लागि प्रतिस्पर्धामा छानिएको थियो, यसलाई ‘नेशनल बोर्ड अफ रिभ्यु’द्वारा २०२४ का शीर्ष पाँच अन्तर्राष्ट्रिय फिल्महरूमध्ये एकको दर्जा दिइएको थियो। ९७औं एकेडेमी अवार्डमा सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्मका लागि पनि मनोनयन प्राप्त गरेको यस फिल्मको नामले नै मलाई सुरूमा आकर्षित गरेको थियो, ‘द गर्ल विद द निडल’।
‘द गर्ल विद द निडल’को शीर्षकमा रहेको ‘सुई’ केवल शाब्दिक अर्थमा मात्र सीमित रहेको छैन; यसले गहिरो प्रतीकात्मक अर्थ बोकेको छ, जुन फिल्मको कथा, पात्रहरू र मुख्य विषयवस्तुसँग जोडिएको छ। मुख्य पात्र ‘करोलिन’लाई फिल्मको सुरुवातमा एक सिलाई-बुनाई गर्ने कामदारको रूपमा देखाइन्छ। सिलाईले पुराना चिजहरूलाई पुनः जोड्ने, फाटेका कपडालाई सुधार्ने र नयाँ वस्त्र बनाउने काम गर्छ, यसले करोलिनको पुनर्निर्माण गर्ने प्रयासलाई दर्शाउँछ, ऊ आफ्नै जीवनलाई नयाँ तरिकाले बुन्न खोजिरहेकी छिन्, पुरानो पीडा र घाउबाट उम्कन प्रयास गर्दैछिन्।
सुईले उनको आत्मनिर्भरता र संघर्षको प्रतिनिधित्व गरेको छ, जहाँ उनी पुरुषप्रधान समाजमा आफूलाई जोगाउन, जीविकोपार्जन गर्न र जीवन चलाउन संघर्ष गरिरहेकी छिन्। सुईले घोचेपछि दुख्छ पनि, यो त्यसको अर्को पाटो हो। यसलाई हतियारको रूपमा पनि देख्न सकिन्छ। करोलिनले गर्भपतनको प्रयास गर्दा सुई नै प्रयोग गर्छिन्, उनी आफ्नै शरीरमाथि पनि नियन्त्रण गर्न सक्दिनन्। डागमारले शिशुहरूलाई क्रूरतापूर्वक हत्या गर्छिन्, तर फिल्ममा सुई प्रत्यक्ष रूपमा हत्या गर्ने हतियारको रूपमा प्रयोग गरिंदैन। त्यसले डागमारको काम (हत्या) र करोलिनको काम (सिलाइ) बीचको परस्पर विरोधाभासलाई मज्जासँग देखाएको छ, एउटीले सिर्जना गर्छे, अर्कीले जीवन समाप्त गर्छे।
फिल्ममा करोलिन आफैं एक सामाजिक प्रणालीको ‘सियो-धागो’ जस्तै अल्झिरहेकी हुन्छिन्, जहाँ उनी चाहेर पनि आफ्नो नियति बदल्न सक्दिनन्। फिल्मले सुईलाई एक किसिमले नियति परिवर्तन गर्ने साधन पनि बनाएको छ, करोलिनले सिलाईको माध्यमबाट जीविका चलाउने प्रयास गर्छिन, तर जब उसको जीवन चक्र बिग्रिन्छ, उनी त्यही सुईलाई नकारात्मक रूपमा प्रयोग गर्न बाध्य हुन्छिन्। यसरी ‘म्याग्नस भोन होर्न’ले ‘सुई’लाई केवल भौतिक वस्तु मात्रै नभएर फिल्मको कथासँग शक्तिशाली रूपमा गाँसिदिएका छन्।
फिल्मले कुनै व्यक्तिको मात्र नभएर देश, समाज र त्यहाँ रहेका आम मान्छेहरूका विशेषगरी महिलाहरूको दशालाई चित्रित गरेको छ। फिल्मले सामाजिक यथार्थवाद, महिला उत्पीडन, मातृत्व र अपराधको गहिराइमा हामीलाई पुर्याउँछ।
पहिलो विश्वयुद्ध समाप्त भएपछि डेनमार्कले जर्मनीसँग पहिले गुमाएका आफ्नो भू-भाग मात्र फिर्ता पाएन, उसले अंगभंग भएका आफ्ना सैनिकहरू पनि पाए। फिल्ममा ती अशक्त सैनिकहरूको प्रतिनिधित्व कुरूप अनुहार लिएर फर्केका करोलिनका लोग्नेले गरेका छन्। उनको त्यो विरूप अनुहार पहिलो विश्वयुद्धको हिंसा, समाजको अस्वीकृति, प्रेम, विनाश र मानवीय मूल्य गुमाउनुको भयावह प्रभाव तथा स्वीकृतिको द्वन्द्वको प्रतीक हो। युद्ध र समाजले शारीरिक रूपमा मात्र नभएर मानसिक रूपमा पनि व्यक्तिलाई कसरी विकृत पार्दै लैजान्छ, फिल्मले देखाएको छ।
सुरूमा लोग्नेको कुरूप अनुहारमा आफ्नो भोगाइ र पीडा देखेकी करोलिनले पछि त्यही अनुहारलाई चुम्छिन्, जसले करोलिनको आत्म-स्वीकृतिलाई पनि दर्साउँछ। उनको लोग्ने केवल एक पात्र मात्र नभएर समाजले युद्धपीडितहरूप्रति देखाउने विभेद र करोलिनको मानसिक सङ्घर्षको भौतिक रूप पनि हो।
डागमार ओभरबायको उक्त जघन्य अपराध डेनमार्कको समाजमा मात्र नभएर विश्वमा नै गहिरो रूपमा प्रभावित पारेको थियो। त्यसैको परिणामस्वरूप: जताततै नवजात शिशुहरूलाई अभिभावकत्व दिने प्रक्रियाहरूमा कानुन कडा बनाउन थालियो। सन् १९१५ मा डेनमार्कमा महिलाहरूले मतदानको अधिकार पनि पाए। अविवाहित आमाहरूको हकमा सुधार आउन भने चाहिं केही ढिलो भयो। १९३० को दशकपछि मात्र सरकार र सामाजिक संस्थाहरूले एकल आमाहरूको सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउन थाले। एउटा घटनाले देशलाई कसरी प्रभाव पार्छ, यो तगडा उदाहरण हो।
मनोवैज्ञानिक थ्रिलर ‘द गर्ल विद द निडल’ एक ऐतिहासिक अपराधकथा मात्र होइन, यो समाजले युद्धपछि भोगेको कठोर यथार्थको कलात्मक प्रस्तुति पनि हो। यो फिल्म मनोवैज्ञानिक रूपमा प्रभावशाली, दृश्यात्मक रूपमा डरलाग्दो र भावनात्मक रूपमा मन छुनेछ। यो फिल्म हेर्न म तपाईंहरूलाई सिफारिस गर्छु।