काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्था ध्वस्त पार्न खोजेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा प्रसाईंलाई लक्षित गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
ओलीले संसदमा सम्बोधन गर्ने क्रममा दुर्गा प्रसाईंको नाम नै किटान नगरे पनि उनको अभिव्यक्ति प्रसाईं लक्षित हो भन्ने स्पष्ट बुझ्न सकिन्छ ।
प्रसाईंले पछिल्लो एक वर्षदेखि ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का नाममा बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनको नेतृत्व गर्दै आएका छन् ।
‘ऋण तिर्न पर्दैन भन्दै ऋणीहरुको भावनात्मक संवेदनामाथि खेल्ने र बैंक तथा वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्त्व सक्रिय थियो ।’, दुर्गा प्रसाईंलाई लक्षित गर्दै ओलीले भने, ‘त्यही तत्त्वले धर्म, संस्कृति र परम्पराजस्ता संवेदनशील विषयमा अनावश्यक टिप्पणी गरेर साम्प्रदायिक सद्भाव बिथोल्ने काम गर्दै थियो ।’
नाम नतोके पनि प्रसाईंलाई नै लक्षित गर्दै ओलीले ऋण नतिर्ने र तिर्नु पर्दै भन्दै ऋणीहरुको भावनामाथि खेलेर बैंक तथा वित्तीय संस्था ध्वस्त पार्न खोजेको आरोप लगाएका छन् ।