धरान शहरले विभिन्न कालखण्डमा भिन्न भिन्न र विशिष्ट परिचय बनायो । तर धेरै अघिबाटै निर्माण भएको एक्लिएको शहरका रूपमा यसको परिचय भने समयक्रमसँगै झन्झन् बलियो हुँदैछ ।
धरानको प्रत्येक सफा र चिल्ला सडक भएका गल्ली र टोलहरूमा सयर गर्दा देख्न सकिन्छ – अत्यन्त सुन्दर शैलीमा बनेका घरका रित्ता बरन्डा, ड्याम्म लागेको दैलो र झ्यालहरू, मानिसको संगती नपाएर हाँस्न बिर्सिएका फूलबारी र रित्ता पिङ । हङकङ , सिंगापुर र युकेबाट नक्सा बनाएर बनेका विशाल घर, एक वा दुई व्यक्तिले रुङेर बसेको परिदृश्य सामान्य बनेको छ यो शहरमा ।
जीवन भरको कमाइ खन्याएर बनाएको घरलाई रित्तै छाडेर कहाँ गए यी घरका सदस्यहरू/घरधनीहरू ? जो कोहीको मस्तिष्कमा सलबलाउन सक्छ यो प्रश्न ।
र यी प्रश्नहरू पनि- कुन मृगतृष्णाले डोर्याउँदै डोर्याउँदै मानिसलाई आफ्नो थातथलोबाट हजारौं कोष टाढा पुर्याउँछ ? आफ्नो परिवार, साथीसंगी छोड्न उत्प्रेरित गर्ने सपनाको रङ चाहिँ कस्तो हुन्छ ? आवश्यकता र बाध्यताको झरीले निथ्रुक्क भएको हृदय आफ्नो प्रियजनबाट दूर जानुपर्दा कुन गति र लयमा घड्किन्छ होला ?
विल्बर जेलेन्स्कीको ‘माइग्रेसन ट्रान्जिसन थ्योरी‘ ले मानिसहरू आप्रवासन हुनुको मुख्य कारण आर्थिक पाटोसँग जोडिएको दाबी गरेको छ । यो थ्योरीको अनुसार ‘आप्रवासन आर्थिक विकासको चरणहरूसँग जोडिएको छ । ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा राम्रो आर्थिक अवसर र जीन स्तरको सुधारको खोजीमा मानिसहरू बसाइ सर्ने गर्दछन् ।’
सायद यिनै कारणले नै होला अनगिन्ति पाइलाहरू आफ्नो गाउँघर रित्याएर धरान शहर आए । फेरि यो शहरलाई एक्ल्याएर कतै दूर देश गए । जहाँबाट नियालिरहेका छन् ती स्मृति कोषमा टाँसिएर रहेका आफ्नो शहरको धुमिल अवशेषहरू ।
यो शहरलाई जीवन दिनेहरू र यसलाई जीवन्त बनाइ रहनेहरू पनि आफ्ना प्रियजनलाई छोडेर आउनेहरू नै थिए । कष्टका भारीले थिचिएकाहरू, कष्ट बिसाउने आशामा रोजेका थिए यो शहरलाई । थाप्लोमा आफू जत्रै भारी बोकेकाहरू ओहोर-दोहोर गरिबस्थे धरान–धनकुटा हुँदै भोजपुर, संखुवासभा र तेह्रथुम ।
ती व्यक्तिको जीवनशैली धरानका श्रमप्रेमी मेयर हर्कराज साम्पाङ्गको पहलमा बनेको श्रम संस्कृति पार्कमा राखिएका मूर्तिहरूमा देख्न सकिन्छ–ढाकर बोकेका, बाटोमा तीन ढुंगा जोरेर भात पकाइराखेका मानिसहरू । लाग्छ अहिले पनि तिनले पकाएको भात र माड हालेर बनाएको गुन्द्रुकको तरकारीको बासना हाम्रो नाकमा ठोकिन आइपुग्छ, रसिलो बन्छ मुख । प्रत्यक्ष त्यही जीवन भोगेर आउने वृद्ध आमाबुबाको परेला भिज्छ । पार्कमा प्रतिबिम्बित तिनको बिगतले विह्वल हुन्छन् ती ।
धरान शहरलाई तिनले आफ्नो बलियो पाखुरो चलाएर, तिनको हृदय जस्तै संग्लो पसिनाले सिन्चेर गुलजार बनाए । सहज जीवनयापन गर्ने सपना जो थियो हरदम आँखामा झुन्डिएको । तर किन हुन्थ्यो सपनाको श्रृङ्खलाको अन्त्य ? हाम्रो जीवनलाई डोर्याउने सपना नै त हो । सपना पानी जस्तै हो, पिइराख्नु पर्छ जीवन धान्न । यसको तरलपनाले गर्दा यो स्थिर रहँदै रहँदैन बगिरहन्छ निरन्तर ।
यिनै पानी जस्तै तरल सपनालाई पछ्याउँदै हिँडे ती, जब धरानमा गोर्खा भर्ती सुरु भयो । लाहुरे बन्नु धरानका अधिकांश युवाको लक्ष्य बन्यो । धरानमा २०१० सालमा पूर्वी पहाडका युवालाई ब्रिटिस सेनामा भर्ती गराउनका लागि ब्रिटिस गोर्खा भर्ती केन्द्र (घोपा क्याम्प) स्थापना भयो । महेन्द्र बहुमुखी क्याम्पस धरानका इतिहासका विषयका प्राध्यापक हरि शर्मा भन्नुहुन्छ, ‘जब धरानमा गोर्खा भर्ती सुरु भयो त्यस बेलादेखि नै लाहुर जानु धरानमा रहेका जनजाति समुदायको अभिन्न अंग बन्यो । धरानमा लाहुर जाने संस्कृतिको विकास भयो ।’
निबन्ध ‘ह्वाई गो टु युनिभर्सिटीमा’ मोती निशानीले भनेका छन्, ‘विभिन्न संस्कृतिहरूले पुरुषलाई भिन्नभिन्न स्तरमा महत्त्व दिने गर्छन् । र उनीहरूको भूमिकाहरू ऐतिहासिक, सामाजिक र सांस्कृतिक मान्यतामा आधारित हुन्छन् । यी फरक-फरक मूल्याङ्कनहरूले पुरुषहरूलाई के प्राप्त गर्नुपर्छ र समाजमा उनीहरूको मूल्य के हो भन्ने कुरा निर्धारण गर्छ ।’
लाहुरेले कोशेली ल्याइदिएको विदेशी सारी र सुनको गहना लगाएका लाहुरिनीको मुहारमा टिक्न पाउदैनथ्यो खुशीको आभा – हुरुरु उडाएर लैजान्थ्यो एक्लोपनको पश्चिमे बतासले । अवकाश भएर लोग्ने पूर्णकालीन रूपमा नफर्किउन्जेल रुझाइरहन्थ्यो एक्लोपनको झरीले । बरु कहिले काहीँ परदेशबाट बज्ने टेलिफोनको घण्टीले उदाउँथ्यो तिनको मुहारमा खुसीको घाम । तर त्यो घाम तिनको लोग्ने बस्ने देशको जस्तै क्षणिक हुन्थ्यो ।
त्यसबेलाको समाजले र धरानमा निहित संस्कृतिले लाहुरे गएको पुरुषलाई अत्यन्त महत्त्व दिन थाले । जनजाति समुदायका मात्र होइन, क्षेत्री/ब्राह्मण समुदायका समेत कतिपय पुरुष लाहुरेमा भर्ती भएर गए । र त्यसबेलादेखि नै एक्लोपन धरानका बासिन्दाको नियति बन्यो । र एक अविच्छिन्न सिलसिलाको रूपमा कायमै छ ।
ठाँटिएर आउने गर्थे लाहुरेहरू छुट्टीमा घर । तिनलाई छोरी दिन एक प्रकारको होडबाजी नै चल्थ्यो । आफ्नी छोरीको वैभवपूर्ण जीवनको कल्पना गर्थे यो शहरका प्रत्येकजसो बुबाआमा । अनि सहजै सुम्पन्थे तिनका कलिला छोरी लाहुरे ज्वाइँको पोल्टामा । तर वैभवले अतीव अन्धकार पनि सँगै लिएर आउने गर्थ्यो–एक्लोपनको अन्धकार। ६ महिनाको छुट्टी बिताएर लाहुरे लाहुर फर्किएपछि पूरै तीन वर्षसम्मका लागि लोग्नेको प्रतीक्षा पर्याय बन्थ्यो तिनको जीवनमा । अझ घरको जिम्मेवारी समेत थपिएको हुन्थ्यो काँधमा । उता लाहुरे पराय देशको सुरक्षाको जिम्मेवारी बोकेर एक्लिने, यता लाहुरिनी परिवार र घरको जिम्मेवारी बोकेर एक्लिने ।
लाहुरेले कोशेली ल्याइदिएको विदेशी सारी र सुनको गहना लगाएका लाहुरिनीको मुहारमा टिक्न पाउदैनथ्यो खुशीको आभा – हुरुरु उडाएर लैजान्थ्यो एक्लोपनको पश्चिमे बतासले । अवकाश भएर लोग्ने पूर्णकालीन रूपमा नफर्किउन्जेल रुझाइरहन्थ्यो एक्लोपनको झरीले । बरु कहिले काहीँ परदेशबाट बज्ने टेलिफोनको घण्टीले उदाउँथ्यो तिनको मुहारमा खुसीको घाम । तर त्यो घाम तिनको लोग्ने बस्ने देशको जस्तै क्षणिक हुन्थ्यो । जीवनमा फेरि एक्लोपनकै बादल डम्म लाग्थ्यो ।

विजय गुरुङको ‘असारे महिनामा पानी पुर्यो रुझाउने, एक्लो यो मेरो मन कसरी बुझाउने’ भन्ने गीत सुन्दा लाग्छ, यो गीतले तिनका जीवनलाई दर्पणमा सर्लक्कै उतारेको छ । त्यही भएर त धरानका लाहुरेका घरमा गुन्जिरहन्थ्यो लाहुरबाट ल्याएको ठूला ठूला ट्रान्जिस्टरमा बारम्बार यो गीत । यो गीत त धरानको पेवा जत्तिकै भएको थियो ।
तिनको जीवनमा करिब करिब स्थायी डेरा जमाएर बस्थ्यो शून्यतासँगै असुरक्षा पनि । जीवनमा आइपर्ने प्रत्येक अप्ठ्यारोको तिनले शारीरिक र मानसिक रूपमा एक्लै सामना गर्नुपर्थ्यो, एक्लै लड्नुपर्थ्यो । त्यसैले तेस्री छोरीको जन्मपश्चात बन्ध्याकरण गरेर घर फर्किएपछि भनिरहन्थिन् छिमेकी लाहुरेनी दिदी, ‘छोरा भएको भए उसको मोटरसाइकलको पछाडि बसेर शानले हिँड्ने थिए म ।’ के गर्नु अब त्यो सपना पनि अपरेसन गरेर सिलाएको पाठेघरभित्रै छोडिराखेर आएँ । सायद छोरा आफ्नो एक्लोपनको ढाल बनेर उभिन्छ भन्ने आशा थियो ती दिदीको ।
सोचेकी थिइन होला र्याल काँड्दै उनको वैंशमा गाडिन खोज्ने आँखाहरूमा झिर बनेर गाडिने छ छोरोको उपस्थिति । उनले छोराको रूपमा समाजमा एउटा सुरक्षा कवच चाहेकी थिइन् । उनले जति कसले बुझेको थियो होला र ? एक्लो हुनु भनेको नारीको निम्ति असुरक्षित हुनु मात्र होइन । प्रत्येक क्षण आइपर्न सक्ने लांक्षना हो । चरित्र प्रतिको ठडिएका औंलाहरू पनि हो ।
शुन्यताले खर्लप्पै निलेको तिनको जीवनमा चाडपर्वले पनि ल्याउन सक्तैनथ्यो उमंगको संगीत । तिहारमा घरमा झुन्डिएका विदेशी झिलिमिली बत्तीले घरलाई उज्यालो त पार्थ्यो नि । तर अँन्धकारले घ्याप्प छोपे झैँ हुन्थ्यो तिनको मन ।
चन्द्रमाको अनुपस्थिति आकाशमा केवल केही दिनको निम्ति हुन्थ्यो । केही दिन मै फर्केर आइहाल्थ्यो नि मुस्कुराउँदै जून आकाशको आँगनमा । तर तिनको परदेशिएको लोग्नेलाई वर्षाैं लाग्थ्यो आफ्नो घर आँगनमा आउन । कति धेरै कुर्नुपर्ने तिनले आफ्नो जीवनको जूनलाई । दुई दशक अघिसम्म धरानमा तिहारमा दियो मात्र बालिन्थ्यो । झिलिमिली बिजुली बत्ती बाल्ने चलन थिएन । माथ्लो टोलमा बलेको लाहुरिनिको घरमा मात्र बलेको देख्न पाइन्थ्यो झिलिमिली बिजुली बत्ती । बत्तीको उज्यालोमा पनि कायम रहन्थ्यो लाहुरेको अनुपस्थितिमा अन्धकार भएको तिनको चाड ।
परदेशिएकाहरूको जीवनमा वैभवको वरदान त प्राप्त हुन्छ । तर शून्यता र एक्लोपन नबोलाएको, नचाहएको पाहुना बनेर आउछन् अनि स्थायी भएर रहिरहन्छन् घरका सदस्यको मन मस्तिष्कमा सधैं सधैं ।
डम्बरकृष्ण श्रेष्ठले ‘नेपाली प्रवासन, नियति र रहर’ मा लाहुरेका परिवार प्रवासीने कुरा उल्लेख गर्नुभएको छ । सन् १९९७ मा ब्रिटेनको उपनिवेशबाट हङकङ मुक्त भएर चाइनालाई हस्तान्तरण गरे पश्चात ब्रिटिस सेनामा कार्यरत नेपालीका परिवारले पनि हङकङको आईडी प्राप्त गरे । त्यसै सालदेखि नै हो धरान शहरको एक्लोपनको यात्रा झन् तीव्र रफ्तारमा अघि बढेको । त्यस्तै भागिरथी श्रेष्ठका अनुसार ‘सन् २००९ मा ब्रिटिस सरकारले ब्रिटिस सेनामा कम्तीमा चार वर्ष सेवा गरिसकेका भूतपूर्व गोर्खा सैनिकहरू र तिनका परिवारलाई बेलायतमा स्थायी बसोबास गर्न दिने घोषणा गरेको थियो ।‘
त्यो घोषणा पश्चात धरान शहरका अधिकांश लाहुरेका घर रिक्तताको पर्याय नै बन्यो । अहिले तिनले आफ्नो जीवन भरको कमाइले बनाएका ठूला ठूला घर, फराकिलो आँगन तिनको अनुपस्थितिमा सातो हराएको बालक झैं देखिन्छन् । कैयौं वर्षको अन्तरालमा शहर फर्कँदा घर आँगनमा ती लिएर आउँछन् – मधुर ध्वनि, स्पन्दित उपस्थिति, स्फूर्ति । देखिन्छ तिनको उपस्थिति – रोगन लगाएर चिटिक्क पारेका घरका भित्ताहरूमा, लहलह फूल्दै गरेका फूलहरूमा ।
ती परदेश फर्किएपछि तिनको प्रेमको अवशेष मात्र रहन्छ– तिनले जतनले आँगनमा हुर्काएको हरियो चाइनिज दुबोमा । तिनका पदचापहरू महक रहिरहन्छ तिनका आफन्तजनको ह्रदयमा, एक्लो भएको शहरमा ।
भविष्य बनाउने सपना र परिवारको सुखमय दिन देख्ने चाहना बोकेर, शहरलाई एक्लोपनको कहिल्यै नटुंगिने भासमा हुत्याएर गइ रहेछन् परदेश– धरानको मुटुलाई चलायामान बनाउने ढुक्ढुकी । त्यसैले धरानमा हिजोआज, विद्यार्थी भर्ना भएको केही महिनासम्म गुलजार रहने ब्याचलर्स लेभलका कक्षाकोठा विस्तारै रित्तिदै जान्छन् । ती लाहुरे भर्ती केन्द्रको चहलपहल बढाइरहेको देखिन्छन् । भर्खरै १८ वर्ष पुगेका युवा सडकमा लाइन लागेर कुँदिरहेका, डोको बोकेर दौडिरहेको भेटिन्छन् । लाहुरे भर्तीको लागि जोडबल गरेका युवा ब्रिटिस आर्मीमा, सिंगापुर पुलिसमा भर्ना हुन आफ्नो सम्पूर्ण ऊर्जा खन्याइरहेका हुन्छन् । भर्ना हुन असफल भएकाहरूको गन्तव्य बनेको छ – खाडी मुलुक वा मलेसिया ।
हिजोआज धरान शहरको प्रत्येकजसो घरमा भेटिन्छन् परदेशिएका सन्तान को पर्खाइमा ओछिएका रुग्ण आँखाहरू । घण्टाघरको वरिपरि राखेका रित्ता बेन्च, विदेशएका जिग्रीको अभावमा न्यास्रिएको मित्रमण्डली । शून्यमै सुस्केरा हालिरहेको भानुचोक ।