जापानमा चामल अभावले कसरी बढाइरहेछ राजनीतिक संकट ? – Online Khabar

drying rice 2107462 1280


News Summary

Generated by OK AI. Editorially reviewed.

  • जापानमा चामलको मूल्य अप्रिलमा ९८.४ प्रतिशतले बढेको सरकारी तथ्याङ्कले देखाएको छ।
  • प्रधानमन्त्री शिगेरु इशिबाले मूल्यवृद्धि रोक्न सकिएको छैन भन्नुभयो।
  • मूल्य वृद्धिका कारण जापानभरि उपभोक्ताहरूले सस्तो आयातित चामल किन्ने थालेका छन्।

१७ जेठ, काठमाडौं । जापानी बजारमा पछिल्लो समय चामल अभाव चुलिएको छ । यहाँको सबैभन्दा मनपर्ने मुख्य खाद्यान्न चामलको मूल्य गत वर्षको तुलनामा लगभग दोब्बर भएको जापान टाइम्सले जनाएको छ।

शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार, अप्रिलमा जापानी चामलको मूल्य ९८.४ प्रतिशतले बढेको छ, जुन वृद्धि मार्चमा ९२.५ प्रतिशत थियो।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार मूल्य वृद्धिले जापानी उपभोक्ताहरूको खर्च बढेपछि प्रधानमन्त्री शिगेरु इशिबा र उनको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीप्रतिको जनसमर्थन थप घटाइरहेको छ ।

सरकारले भण्डारणमा रहेको चामल प्रयोग गर्ने आपतकालीन उपाय अपनाए पनि यसले मूल्यवृद्धि रोक्न सकेको छैन । लोकप्रिय कोशिहिकारी ब्रान्डको ५ किलोग्राम चामलको मूल्य यस महिनाको सुरुवातमा ५,००० येन (झन्डै ३५ अमेरिकी डलर) पुगेको छ भने अरु चामलको मूल्य ४,२०० येन (झन्डै २९ अमेरिकी डलर) पुगेको जापानी सञ्चार माध्यमले जनाएका छन्।

‘हामीले किन मूल्य घटाउन सकिरहेका छैनौं, थाहा छैन,’ प्रधानमन्त्री इशिबाले संसदको प्रश्नोत्तर सत्रमा भने, ‘हामी पहिले कति चामल छ र त्यो कहाँ छ भनेर यकिन गर्नेछौं ।’ 

Japan Shopping Mall

सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजीको पब्लिक पोलिसी एण्ड गभर्नेन्स इन्स्टिच्युटका प्रमुख अर्थशास्त्री टिम हार्कर्टका अनुसार चामलको मूल्य बढ्नुका पछाडि थुप्रै कारणहरू छन्।

‘पहिलो, जापानमा ठूलो भूकम्पको हल्लाका कारण मानिसहरूले आतङ्कित भएर थोकमा किनमेल गरिरहेका छन्,’ उनले अल जजिरासँग भनेका छन्, ‘दोस्रो, रुस-युक्रेन युद्धका कारण गहुँको अभाव भएपछि गहुँको सट्टामा चामल प्रयोग भएको छ। तेस्रो, जापानमा पर्यटन पुनःवृद्धि र पर्यटन क्षेत्र फस्टाउँदा चामलको माग उच्च भएको छ।’

२०२३ को असामान्य तापक्रम वृद्धिले जापानी कृषि उपज उत्पादन घटेसँगै आपूर्ति समस्या झनै चर्किएको छ।

मूल्य बढेपछि जापानभरि रेस्टुरेन्टहरू र केही उपभोक्ताहरूले परम्परागत रूपमा रोजिने जापानी चामलको सट्टा सस्तो आयातित चामल किन्न थालेका छन्।

यदि यो ‘चामल संकट’ नियन्त्रणमा लिन नसकिए विशेषगरी यो वर्षको अन्त्यमा हुने संसदीय चुनावमा प्रधानमन्त्री इशिबाको अल्पमत सरकारको भविष्य अन्योलमा पर्न सक्नेछ । 

मूल्यवृद्धिको मार उस्तै 

टोकियोमा उपभोक्ता मूल्यहरू दुई वर्षयताकै उच्च बिन्दुमा पुगेका छन् । खासगरी खाद्यवस्तुहरूका मूल्य चुलिएपछि बैंक अफ जापानले आगामी महिनाहरूमा ब्याजदर बढाउने सम्भावनामा थप बलिएको भएको संकेत गरेको छ ।  

शुक्रबार जापानको आन्तरिक मामिला मन्त्रालयले दिएको जानकारीअनुसार, मे महिनामा ताजा खाद्यबाहेकको उपभोक्ता मूल्य सूचकांक (सीपीआई) अघिल्लो वर्षको तुलनामा ३.६ प्रतिशतले वृद्धि भयो, जुन अप्रिलको ३.४ प्रतिशत वृद्धिभन्दा उच्च हो। 

यो वृद्धि अर्थशास्त्रीहरूले अपेक्षा गरेको ३.५ प्रतिशतभन्दा पनि बढी थियो र जनवरी २०२३ यताकै सबैभन्दा ठूलो वृद्धि हो। समग्र मुद्रास्फीति दर ३.४ प्रतिशतमा रह्यो, जुन अप्रिलको संशोधित दरसँग मेल खान्छ।

तर यी तथ्यांकहरू केही सरकारी नीतिसँग सम्बन्धित कारणले प्रभावित भएका छन् । जस्तै अघिल्लो वर्ष विद्यालय शुल्कमा गरिएको कटौतीको प्रभाव क्रमशः हराउँदै गएको छ। यद्यपि टोकियोको सीपीआईI राष्ट्रिय मुद्रास्फीति प्रवृत्तिको प्रमुख पक्ष मानिन्छ, उच्च विद्यालयका अनुदान भने राजधानीमै सीमित थिए।

ताजा तथ्यांक अनुसार, ताजा खाद्यबाहेकको खाद्यवस्तु मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ । अप्रिलको ६.४ प्रतिशतबाट बढेर मेमा ६.९ प्रतिशत पुगेको छ। चामलको मूल्य वृद्धिदर ९३.७ प्रतिशतको आसपास करिब स्थिर रह्यो ।

जापानमा चामलको लोकप्रियता

चामल प्रायः प्रत्येक भोजनमा खाइन्छ । सुशी बनाउन प्रयोग गरिन्छ । मिठाई बनाइन्छ । मदिरा बनाउन पनि प्रयोग गरिन्छ । धार्मिक समारोहहरूमा देवता र आत्माहरूलाई चढाउन पनि यसकै प्रयोग गरिन्छ । 

त्यसैले चामल जापानको भोजन संस्कृतिमा सर्वत्र आवश्यक छ । सीएनएनका अनुसार चामल यति लोकप्रिय छ कि जापानमा म्याकडोनाल्ड्सले आफ्नो मेनुमा चामलबाट बनेको बर्गर बन पनि समावेश गरेको छ।

Japan Rice Crisis

तर यो आधारभूत अन्न चामलमा यति धेरै निर्भर हुनु संसारको चौथो ठूलो अर्थतन्त्र भएको देशलाई कहिलेकाँही समस्या बनिदिन्छ । किनकि यसको आपूर्ति प्रणालीमा सामान्य असन्तुलन हुँदा पनि राजनीतिक समीकरण नै बदलिन सक्छ ।

पछिल्ला केही वर्षका खराब मौसम, गर्मीको लहर, आँधीबेहरी र भूकम्पको आतंकजस्ता अनेकौं कारणहरूले १२ करोड ४० लाख जनसंख्या भएको देशमा अनेकपटक हतारहतार सामान थुपार्ने प्रवृत्ति देखिएको छ।

जापान सरकारले सन् १९९५ मा आफ्नो चामल भण्डारण प्रणाली निर्माण गर्‍यो । किनकि दुई वर्षअघि अप्रत्याशित चिसो र गर्मीले चामलको उत्पादन घटेपछि त्यतिबेला विदेशी चामल आयात गर्नुपर्ने बाध्यता आइपरेको थियो ।  

उक्त भण्डारण प्रणालीलाई सन् २०११ को विनाशकारी भूकम्प र सूनामीपछि प्रयोग गरियो । ती प्रकोपहरूमा २० हजार मानिस मारिए वा बेपत्ता भए । सन् २०१६ को कुमामोटो भूकम्पपछि पनि यसको प्रयोग गरियो।

जापानको चामल संकटलाई कतिपयले अहिले अमेरिकाले व्यहोरिरहेको अण्डा संकटसँग पनि तुलना गर्छन् । जसले राजनीतिक व्यवस्थालाई पनि तरंगित बनाउन सक्छ । 

राजनीतिमा तरंग

‘चामल जापानमा अति नै प्रिय खाद्यान्न भएकाले आर्थिक संकटले सिधै राजनीतिक संकट निम्त्याउँछ,’ अर्थशास्त्री हार्कर्टले भने।

जापानी सञ्चार माध्यमको पछिल्लो सर्वेक्षण अनुसार, इशिबा सरकारको जनसमर्थन यो महिनामा २७.४ प्रतिशतमा झरेको छ, जुन अप्रिलको तुलनामा ५ प्रतिशतले कम हो।

कृषि मन्त्री ताकु एतो त यसै साता राजीनामा दिन बाध्य भए । उनले यही संकटका बीच आफूलाई चामल किन्नु नपरेको अभिव्यक्ति दिएसँगै आलोचना खेप्नुपरेको थियो । उनले भनेका थिए, ‘समर्थकहरूले उपहारस्वरूप दिएको चामलले नै पुगेको छ, मलाई त कहिल्यै चामल किन्नु परेको छैन ।’ 

Japan Rice Culture

उक्त टिप्पणीले अहिले उच्च मुद्रास्फीति र जीवनयापन खर्चको संकट सामना गरिरहेका मतदाता भड्किएका थिए । 

नयाँ कृषि मन्त्रीको जिम्मेवारी पाएका शिन्जिरो कोइजुमीले शुक्रबार भने, ‘५ केजी चामलको झोलाको मूल्य झन्डै ३,००० येन (करिब २० अमेरिकी डलर) मा झार्ने लक्ष्य लिएको छु ।‘

बैंक अफ जापानको नयाँ तथ्यांकअनुसार, जापानको आधारभूत मुद्रास्फीति दर अप्रिलमा ३.५ प्रतिशतमा पुगेको छ, जुन पछिल्लो दुई वर्षभन्दा बढी समययताकै तीव्र वार्षिक वृद्धिदर हो। 

तेलको मूल्य समेत समावेश हुने उपभोक्ता मूल्य सूचकांक (सीपीआई) अघिल्लो वर्षको तुलनामा यो अप्रिलमा ३.५ प्रतिशतले बढेको छ । सीपीआईमा ताजा खाद्यवस्तुहरू मूल्य भने समावेश हुँदैन ।

सरकारी तथ्यांकअनुसार, जापानमा नयाँ आर्थिक वर्ष सुरु भएसँगै मूल्य वृद्धि बढिरहेको छ । अप्रिलमा ६.२ प्रतिशत रहेको खाद्यवस्तुहरूको मूल्य वृद्धि अप्रिलमा ७.० प्रतिशत पुग्यो ।  

सधैं न्यून मुद्रास्फीति भएको देशको रूपमा चिनिएको जापानमा सन् २०२२ मा कोभिड-१९  महामारी र युक्रेन युद्धले दशकौं लामो प्रवृत्ति बदलियो ।  

कामदार अभावले यो समस्यालाई झन् जटिल बनाइरहेको छ।

मूल्य नियन्त्रण गर्न वा मूल्य वृद्धिको असर कम गर्न सरकारी प्रयास असफल भएमा जनआक्रोश थप बढ्ने देखिन्छ । यसले वर्तमान सरकारप्रति घट्दो जनसमर्थनले छलाङ मार्न सक्छ । 

  • अल जजिरा र अन्य समाचार एजेन्सीहरूको सहयोगमा

 





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *