जवजलाई युवा पुस्तामा हस्तान्तरण गर्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

1743246349 bidhya20bhandari


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जवज) को सिद्धान्त र मार्गदर्शनलाई युवा पुस्तामा हस्तान्तरण गरे मात्र गणतन्त्र र राष्ट्रियता जीवन्त रहने बताएकी छन्।

शनिबार हेटौँडामा मदन भण्डारी फाउन्डेसन मकवानपुरको चौथो साधारणसभा तथा श्री चन्द्र शर्मा स्मृति सम्मान कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो धारणा राखिन्।

भण्डारीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरी नयाँ सोच र चिन्तनका साथ जनताको सामाजिक र आर्थिक रुपान्तरणका लागि राजनीतिक दलहरूले समीक्षा गर्दै अघि बढ्नुपर्ने बताइन्।

“जनताले जवजलाई निर्वाचनमार्फत अनुमोदन गरिसकेका छन्। दलहरूले सत्ता प्रतिस्पर्धाभन्दा जनताका समस्या समाधानमा केन्द्रित भएर विकासका लागि राजनीति गर्नुपर्छ,” उनले भनिन्।

उनले फाउन्डेसनलाई गरिब, विपन्न र अल्पसंख्यक महिलाहरूको पाठेघर उपचार र जवजको सैद्धान्तिक प्रशिक्षण कार्यक्रम सञ्चालनमा जोड दिन आग्रह गरिन्।

नेकपा (एमाले) ले २०४७ को संविधानलाई २७ बुँदे आलोचनात्मक समर्थन गरेको र २०६२/६३ को जनआन्दोलनबाट गणतान्त्रिक व्यवस्था स्थापना भएको स्मरण गर्दै भण्डारीले यसलाई उपलब्धिको रूपमा प्रस्तुत गरिन्।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले २०७२ को संविधानअनुसार सङ्घीय, प्रदेश र स्थानीय सरकारले जनताका आधारभूत आवश्यकता, विकास र आर्थिक रुपान्तरणका लागि राष्ट्रिय गौरवका आयोजना र बहुवर्षीय योजनामा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए। उनले प्रदेश सरकारले कृषि र पशुपालनलाई प्राथमिकता दिएको जानकारी दिए।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरू रामेश्वर राना र केदार न्यौपाने, बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालले जवजले कम्युनिष्ट र प्रजातान्त्रिक शक्तिहरूबीच सहकार्यको प्रेरणा दिएको बताए। उनीहरूले सङ्घीय सरकारलाई कमजोरी सुधारेर सुशासनमा ध्यान दिन सुझाव दिए।

फाउन्डेसनका अध्यक्ष खुलालले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्रवती पनेरुले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। साधारणसभाले आजै नयाँ पदाधिकारी र सदस्यहरूको निर्वाचन गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: २० वैशाख २०८२ १८:२८ शनिबार





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *