कोहोलपुरमा परेन बन्दको असर | Nagarik News

1744116724 sadak20koholpur


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोहलपुर चौराहलाई केन्द्र बनाइ पूर्व–पश्चिम र उत्तर–दक्षिण सडक बन्दको आह्वान गरेको थियो । 

मंगलबार बिहान ८ देखि साँझ ४ बजेसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको प्रवेशद्वार चौराह बन्द गर्ने राप्रपाले सोमबार नै विज्ञप्तिमार्फत जानकारी गराइसकेको थियो । सोहीअनुसार राजावादीहरू चौराहमा जम्मा भए । जहाँ मुस्किलले सय जनजाति स्थानीय नेता तथा कार्यकर्ता उपस्थित थिए ।

८ बजेभन्दा केही ढिलो गरी उनीहरुले सडक अवरुद्ध गर्न खोजे तर, त्यो सफल भएनन् । चौराहदेखि पश्चिमतर्फ टायर बाले । पूर्वतर्फ टायर बाल्ने प्रयास भए पनि प्रहरीले सफल हुन दिएन । राजावादी समर्थक तथा राप्रपाका सबै कार्यकर्ता आन्दोलनमा उपस्थित नहुनु, स्थानीयले बन्दको अवज्ञा गर्नु र आन्दोलनकारीभन्दा दोब्बर प्रहरी परिचालन भएपछि बन्द असफल भयो ।  साँझ ४ बजेसम्मलाई निर्धारण गरेको बन्द कार्यक्रम झन्डै तीन घण्टामै कोणसभामा परिणत भई सम्पन्न भयो ।

उनीहरु आन्दोलित हुँदा आवागमन पूर्णरुपमा ठप्प भएन । आएका सवारी साधनलाई प्रहरीले सहजै गन्तव्यतर्फ पठायो । अर्थात्, यात्रुले बन्दको मार खेप्नु परेन । आन्दोलनकारीलाई चौराहमा गोल घेरा बनाइ प्रहरीले घेरेको थियो । उनीहरुलाई घेरेपछि खाली भएको सडकबाट प्रहरीले सवारी साधन पास गरायो । 

अन्य दिनभन्दा मंगलबार आवागमन भने कम थियो । यसको कारण थियो अघिल्लो दिन राजावादी समूहको बन्द भन्ने प्रचार । जसका कारण अत्यावश्यकबाहेकका सवारी साधन सडकमा थिएनन् । छोटो दुरीका सवारी साधन निर्बाध चले पनि लामो दुरीका यातायातका साधन भने कमै मात्रामा चलेका थिए । 

प्रहरीले शान्तिपूर्ण आन्दोलनलाई दमन गर्दा पूर्णरुपमा बन्दको कार्यक्रम सफल हुन नसकेको संयुक्त आन्दोलन परिचालन समितिका संयोजक नरेन्द्रकुमार पौडेलले जानकारी दिए । ‘प्रहरी दमन भएपछि पूर्वनिर्धारित समयसम्म बन्दको कार्यक्रम गर्न सकेनौँ,’ उनले भने, ‘शान्तिपूर्ण आन्दोलनको फाइदा उठाउँदै प्रहरीले हाम्रो आन्दोलनलाई प्रभावित बनायो यसको भर्त्सना गर्दछौँ ।’ सबै राजावादी र राप्रपाका कार्यकर्ता उपस्थित हुन नसकेको भन्दै उनले भने, ‘हाम्रा नेता तथा कार्यकर्तालाई बिनासर्त रिहाइ गर्नुपर्छ । हाम्रो आन्दोलनको माग यही हो ।’

प्रहरीले ठूलो जनशक्ति परिचालन गरेर आन्दोलन दबाएको राप्रपाकी लुम्बिनी प्रदेश उपाध्यक्ष नीता शाहले बताइन् । ‘बन्दको कार्यक्रम पूर्णरुपमा विफल भयो त भन्न मिल्दैन,’ उनले भनिन्, ‘प्रहरी दमनले पूर्ण सफल पनि हुन सकेन ।’ जनताले बन्द हडतालको राजनीतिलाई स्वीकार गरेनन्, जो आफैँ बन्दको कार्यक्रमलाई अवज्ञा गर्दै सडक सवारी साधन चलाए भन्ने नागरिकको प्रश्नमा उनले भनिन्, ‘त्यस्तो होइन । सबै व्यक्तिहरूसम्म बन्दको सूचना पनि नहुन सक्छ। त्यही भएर उहाँहरू आउनु भयो । बरु कोहलपुरका कतिपय व्यापारीले पसल बन्द गरेर आन्दोलनलाई सघाउनु भयो।’

काठमाडाै‌ं तीनकुनेमा राजावादी समूहले हिंसात्मक घटना गरेको र उक्त भीडलाई उत्तेजित बनाएको भन्दै राप्रपाका उपाध्यक्ष मिश्र, महामन्त्री राणालगायतका राजावादी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । उक्त प्रदर्शन हिंसात्मक भएपछि सो हिंसा भड्काउन भूमिका खेलेका राप्रपाका दुई नेता मिश्र र राणालगायतलाई राजद्रोह र सङ्गठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ५० मा राजद्रोहको कसुरसम्बन्धी व्यवस्था छ, जसमा अधिकतम २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

‘बन्दको मार हामीले खेप्नु पर्ने अनि राजनीति यिनीहरूले गर्नुपर्ने,’ कोहलपुरका एक जना व्यापारीले भने, ‘आजको आन्दोलनले के सन्देश दियो भने, अब बन्द हडतालको राजनीति स्वीकार्य छैन ।’ बन्द, हडतालदेखि जनता आजित भइसकेकाले अब सिर्जनशीलखालको आन्दोलन गर्न जरुरी रहेको उनको भनाइ छ ।

प्रकाशित: २६ चैत्र २०८१ १८:३७ मंगलबार





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *